विकासन्युज

बझाङमा मदिरा नियन्त्रणको ३२ लाख रकमले विद्यालय भवन निर्माण

बझाङ । मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ । धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई/चार हजार समितिले असुल गरेपछि नियमित सेवन गर्नेहरूको पनि भागा भाग हुन्छ । दोस्रो पटक जरिवानामा पर्नेहरू त धेरै नै कम हुन्छन् तर बझाङको साविकको दौलिचौर गाविस (अहिलेको सुर्मा गाउँपालिका–१) मा भने मदिरा सेवन गरेर जरिवाना तिर्नेलाई खासै छोएन । जति जरिवाना तिरे पनि सेवन गर्ने र बिक्री गर्ने कम भएनन् । जिल्लामै दौलिचौर गाविस सबैभन्दा बढी अशान्त भइरह्यो । नेपाल प्रहरीले पनि ४५ जनासम्म सुरक्षाकर्मी राख्यो । जिल्लामै चुनौतीको विषय बनेको मदिरा र हिंसा केही वर्षपछि मात्रै साम्य हुँदै गयो । विसं २०६७ दौलिचौरमा मदिरा अत्यधिक भएपछि नियन्त्रण समिति बन्यो । समितिले मदिरा बेच्ने, सेवनलाई चर्को जरिवाना तोक्यो । सुरक्षाकर्मीलाई जँडिया समात्ने जिम्मेवारी दिइयो । समितिका अध्यक्ष बने गोरखबहादुर बोहरा । उनको कार्यकालमा मदिराको जरिवानाबाट ३२ लाख रुपैयाँ सङ्कलन भयो । विसं २०६७ देखि २०७४ सालसम्म मदिरा नियन्त्रण समितिले दौलिचौरमा सङ्कलन गरेको रकम जम्मा गरेर दौलिचौर माध्यामिक विद्यालयलाई हस्तान्तरण गर्‍यो । उनी भन्छन्, ‘त्यसबाट २५ प्रतिशतअर्थात् आठ लाख जँडिया समातेबापत प्रहरीलाई दियौँ । बाँकी सङ्कलन भएको रकमले विद्यालयको पक्की भवन बनायौँ ।’ उनका अनुसार जिल्लामै तत्कालीन सयममा मदिराको भण्डार दौलिचौरलाई मानिन्थ्यो । ‘जिल्लाभर अन्य ठाउँमा नपाइने मदिरा पनि दौलिचौरमा आउन थालेपछि हामीले मदिरा नियन्त्रण समिति बनायौँ,’ उनी भन्छन्, ‘समितिले सुरूमा मदिरा नियन्त्रणका लागि प्रत्येक गाउँ गाउँमा अभियान नै चलायो तर, मदिरा रोकिएन । पछि अनिवार्य जरिवानाको नियम बनायौँ ।’ मदिरासँगै क्यारेम, गुच्ची खेल्नेलाई पनि नियन्त्रणमा लिँदै जरिवाना तिराएको बोहरा सम्झन्छन् । मदिरा बेच्नेलाई २५ हजार रुपैयाँ, सेवन गर्नेलाई १० हजार रुपैयाँ, क्यारेमबोर्ड खेल्नेलाई १० हजार रुपैयाँ, गुच्ची खेल्नेलाई १५ सय रुपैयाँका दरले जरिवाना गराएपछि सात वर्षमै ३२ लाख रुपैयाँ सङ्कलन गरेर त्यस रकमले विद्यालयको पक्की भवन बनाएको उनले बताए । मदिराले नियन्त्रणको जरिवानाबाट दुई लाख ५० हजार रुपैयाँको विद्यालयमा मन्दिर र चौतारा, ३५ हजारको सोलार, २५ हजारको घेरबार, २० हजारको मन्दिरमा मूर्ति र घण्टीसहित दुई कोठे पक्की भवन बनाएको थियो । तत्कालीन दौलिचौर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक बोहरा पनि मदिरा नियन्त्रणको पैसा धेरै नै उठेर भवन बनाएको बताउँछन् । ‘विद्यालयका भवन त्यसै रकमले मात्रै त होइन तर पनि त्यति ठूलो रकम सङ्कलन भएको हुँदा धेरै काम भयो ।’ उनी भन्छन् । विद्यालयका अन्य भवन बनाउनका लागि छ/सात वर्षमै दौलिचौरबाट ७० लाख रुपैयाँ चन्दा उठाएको उनले बताए । ‘अहिले त भवन नै बनेका छैनन्’, उनले भने, ‘त्यस बेलामा धेरै ठाउँबाट स्रोत जुटाएर ६ कक्षादेखि १२ कक्षासम्म सञ्चालन गरेका हौँ ।’ विद्यालयमा खानेपानी, शौचालय, घेरबारलगायतका काम स्थानीय सरकार आउनुअगावै बनाएको उनले बताए । पहिलेको तुलनामा अहिले दौलिचौर निकै शान्त छ । सुर्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रप्रसाद जोशीले भने, ‘म पहिलो स्थानीय सरकार बनेपछि आएको हुँ । पहिले निकै अशान्त भन्ने सुनिन्थ्यो । मदिराकै कारण हत्या पनि भएको रहेछ । घरेलु हिंसा त घरैपिच्छे हुन्थ्यो भन्ने सुनिन्थ्यो । अहिले भने त्यस्ता घटना सुनेकै छैन ।’ उनका अनुसार अहिले सुर्मामा धेरै मान्छे आफ्नो काममा व्यस्त भएका छन् । ‘सुर्मामै अहिले फुर्सदिला मान्छे भेट्न मुस्किल पर्ला जस्तो छ । रातदिन आफ्नै काममा लागेका मान्छे भेटिन्छन् ।’ सुर्मा गाउँपालिकामा मदिरा सेवन गरेर हिँड्ने मान्छे धेरै कम भएको उनले बताए । दौलिचौरमा मदिरा नियन्त्रण समिति पनि अहिले निष्क्रिय भएको उनले बताए । रासस

पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनका छोरा डा जया श्रेष्ठले जानकारी दिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बनेका थिए। उनका छ छोरा र एक छोरी रहेका छन् । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

जुम्लाको तातोपानीमा औद्योगिक ग्राम स्थापना हुने

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ मा औद्योगिक ग्राम स्थापना हुने भएको छ । युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने ध्येयले तातोपानी–४ मा औद्योगिक ग्राम बन्न लागेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए । उनले स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारणका गर्न औद्योगिक ग्रामले सहयोग पुग्ने बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९ भदौ १० गते औद्योगिक ग्राम स्थापनाको लागि सार्वजनिक सूचना जारी गरेको थियो । मन्त्रालयको जारी सूचनाको आधारमा चाहिने सबै प्रक्रिया पूरा गरी गाउँ कार्यापालिकाबाट वडा नंं ४ लाई छनोट गरी पालिकाले औद्योगिक ग्राम स्थापनाका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको वडाध्यक्ष अमर रोकायाले जानकारी दिए। उनले भने, ‘सो वडाको रातेखोलामा रहेको करिब १५ हजार आठ सय ८२ वर्गमिटर क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापनाका लागि मन्त्री परिषद्को यही फागुन ४ को निर्णयबाट स्वीकृत भई पारित समेत भएको छ ।’ औद्योगिक ग्रामबाट स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी यहाँका स्थानीयवासीको रोजगारी सिर्जनामा टेवा पुग्ने वडाध्यक्ष रोकायाले बताए । संघीय सरकारले प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । छरिएर रहेको स्थानीय स्रोत साधन तथा प्रविधि परिचालन गरी स्थानीयस्तरमै रोजगारी सञ्चालन गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्राम घोषणा गर्दै आएको छ । रासस

लाभांश र मर्जर प्रस्ताव पारित गर्न सपोर्ट लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले ८ औँ वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको फागुन ७ गते बसेको बैठकले चैत्र ४ गते दुर्गा पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान साढे ९ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश गरी कूल ११.५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूह (समूह “ख“) बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक पदको निर्वाचन गर्नेछ । यस्तै, हाल कायम रहेको जारी पुँजी र चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँ पुर्याउने प्रस्तव पारित गर्नेछ । साथै, अन्य कुनै उपयुक्त लघुवित्त संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्य सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २१ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा हभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सडकमा फोहोर फाल्दा एनआईसी एशिया बैंकलाई ११ हजार जरिवाना

काठमाडौं । वीरगंज महानगरपालिकाले एनआईसी एशिया बैंकलाई जरिवाना तिराएको छ । महानगरपालिकाले पटक–पटक सडकमा फोहोर फ्याल्ने एनआईसी एशिया बैंकको वीरगंज शाखालाई ११ हजार जरिवाना तिराएको हो । महानगरपालिकाले यसअघि पनि बैंकको उक्त शाखा कार्यालयलाई कारवाही गरेको थियो । यसअघि महानगरपालिकाले पहिलो पटक फोहोर नफाल्न चेतावनी दिएको थियो भने दोस्रो पटक ५ हजार रुपैयाँ जरिवाना तिराएको थियो । महानगरपालिकाको सरसफाइको गाडीमा फोहोर नदिएर सडकमा फोहोर फ्याकेको भेटिएपछि पुनः तेस्रो पटक ११ हजार रुपैयाँ जरिवाना तिराएको महानगरपालिका सरसफाई अधिकृत सर्फुदिन मियाँले बताए । सरसफाइ पार्किङ संयोजक प्रकाश खेतानका अनुसार पटकपटक फोहोर गरेर कानुन र मर्यादाको विपरीत भएको छ । आगामी दिनमा पुनः बाटोमा फोहोर फालेको भेटिएमा २५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गरिने उनले बताए ।

आजसम्म यी ३ कम्पनीको सेयर खरिद गर्याे भने लाभांश पाइने

काठमाडौं । सोमबार विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन हो । यी ३ कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । फागुन ९ गते ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले यी ३ कम्पनीको लाभांश प्राप्त गर्नेछन् । कर्पोरेट डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/÷७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन २२ गते १५ औं वार्षिक साधारण सभा आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे बोलाएको छ । यस्तै, ङादी ग्रुप पावरले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ४.५७ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितररण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले फागुन २५ गते नवौं वार्षिक साधारण सभा यूनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे बोलाएको छ । यस्तै, स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको १५ प्रतिशत बोनस सेयर र ६.०५२ प्रतिशत नगद गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले फागुन १९ गते २१ औं वार्षिक साधारण सभा लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजे डोकेको छ ।

१० हजार कित्तासम्म खरिद गर्न मिल्ने दोल्ती पावरको आईपीओ बिक्री खुला

काठमाडौं । दोल्ती पावर कम्पनीले आज फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ३६ लाख ४८ हजार ६ सय रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र सािवक नौमुले र कालिका गा.वि.स.का स्थानियहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानियहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर बिक्री गरेको हो । यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेलन दिन सकिनेछ । तर, समयमा माग बमोजिम आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले चैत ७ गतेसम्म आवेदन दिने समय थप हुनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्न् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । कम्पनीलाई इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

भूगोल इनर्जिको आईपीओमा आजदेखि आवेदन दिन सकिने, कसले किन्न पाउँछन् ?

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आज फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँबाट आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखका स्थानियहरुका लागि २ लाख ७२ हजार २६ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख (नौमुले द्वारी ३ बाहेक)का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर छुट्याइएको छ । साथै, सर्वसाधारणहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ८ हजार ८११ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याएको सेयरमा सो अवधिमा पूर्ण आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।