सडक सुधारको प्रगति र प्राथमिकताबारे समिक्षा
काठमाडौं । काठमाडौं उपत्यकाका सडकसँग सम्बन्धित निकायहरू सम्मिलित उच्चस्तरीय समन्वयात्मक समितिको नियमित बैठक बिहिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको बैठकले यसबीचका कामहरूको प्रगति समिक्षा गर्दै थप आवश्यक निर्णयहरू समेत गरेको छ । केन्द्रीय, स्थानीय र विद्युत, खानेपानी जस्ता कयौं संस्थागत निकायहरूको समन्वय नहुँदा सडक भद्रगोल भइ जनताले सास्ती खेप्नुपरेको अवस्था सम्बोधनका लागि उपप्रधानमन्त्री श्रेष्ठको पहलमा उक्त समिति बनाइएको हो । जुनकुनै निकायका सडक केन्द्रित निर्माण वा विकासका कामलाई आपसमा समन्वय गरेर मात्र अगाडि बढाउने अनि छिटोभन्दा छिटो सडकलाई ‘क्लिएर’ गर्ने समितिको उद्देश्यमा सुरुवाती सफलता हासिल भएको समिक्षा बैठकमा गरिएको छ । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सम्बन्धित सबै निकायबाट सडक सुधारमा सराहनीय पहल भएको र त्यसबाट समस्या समाधानको प्रभावकारी सुरुवात भएकोमा खुशी व्यक्त गरे । यो पहललाई अझ तीब्र बनाएर समस्याको पहिचान र समस्याको समाधानमा सबै जुट्नुपर्ने उनले बताए । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले समन्वयले राम्रो प्रभाव देखाएको तर मेलम्ची खानेपानी आयोजनाले बनाएको हिलाम्मे र धुलाम्मे सडकलाई तत्काल कसरी ‘क्लिएर’ गर्ने भन्नेमा भने अप्ठेरो सिर्जना भएको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले सडक पुनस्र्थापना गर्दा गुणस्तरीय सामाग्री प्रयोग गर्न सुझाव दिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमाल घिसिङले तार भुमिगत गरेपछि सडकलाई तत्कालै पुनस्र्थापना गर्ने कामलाई प्राधिकरणले उच्च महत्व दिएको बताए । त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणकी जानुका ढकालले कामको ठेक्का लगाउदा देखिनै निकायगत समन्वय हुनुपर्ने बताए । मेलम्ची खानेपानी योजनाका राजेन्द्र सापकोटाले टाल्न बाँकी ुलिकेजुहरू तीनचार दिन भित्रै टालिसकिने बताए । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका रमेश केसीले खानेपानी र बिजुलीका तार एकै ठाउँमा भूमिगत गर्न नहुने बताए । नेपाल टेलिकमका झलक उपाध्यायले समन्वयले कामको प्रभावकारीता र गुणस्तरमा समेत चुस्तता थपेको बताए । बैठकमा समितिका सदस्य सचिव डा. बिजय जैशीले समन्वायात्मक क्रियाशीलताको प्रगति र प्राथमिकताबारे बुँदागत प्रस्तुति दिएपछि सहभागीहरूले अनुभव, सुधार प्रगति र अबका प्राथमिकताबारे उल्लेखित धारणा राखे । बैठकले समन्वय समितिमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल व्यवस्थापन शाखाका प्रतिनिधिलाई थप गर्ने, विद्युत, खानेपानी र अन्य निकायका केवलहरू एकै ठाउँबाट भूमिगत नगर्ने, मेलम्चीका ‘चेम्बर बक्स’को व्यवस्थापनमा एकमहिना भित्र सडक विभाग र सम्बन्धितहरूले समाधानको उपाय खोज्ने, विद्युत प्राधिकरण र मेलम्ची योजनाले दुबैतर्फ खनेका सडकको पुनस्र्थापना गर्दा आधाआधा रकम बेहोर्ने, विद्युत प्राधिकरणले १० दिनभित्रै पुनस्र्थापना कार्य सम्पन्न गर्ने र सडक बिभागले ुनेटवर्क बेसिसुमा मात्र तार राख्न अनुमति दिने महत्वपूर्ण निर्णयहरू गरेको छ ।
नेपाल पुनर्बीमाले बानेश्वरमा ८ तल्लाको व्यवसायिक भवन निर्माण गर्दै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले व्यवसायिक भवन निर्माण गर्ने भएको छ । कम्पनीले काठमाडौं महानगरपालिका ३१, शान्तिनगर बानेश्वरमा ८ तल्लाको व्यवसायिक भवन निर्माण गर्ने भएको हो । कम्पनीले बानेश्वरमा २३६२.८५ वर्ग मिटर अर्थात् ४ रोपनी १० आना जग्गामा उक्त भवन निर्माण गर्न लागेको हो । कम्पनीले निर्माण गर्ने उक्त भवन भुइँ तल्ला समेत गरी ८ तल्लाको ३० मिटर अग्लो हुनेछ । साथै, २ तल्लाको बेसमेन्ट र टु फ्लोर हाइट ३.७५ मिटर रहनेछ । भवन निर्माणको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी गर्ने भएकाले उक्त क्षेत्रको परिस्थितिकीय प्रणाली, प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, आर्थिक प्रणाली, साँस्कृतिक प्रणालीमा पार्ने प्रभावका बारेमा पेश गर्न कम्पनीले आग्रह गरेको छ । त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको राय सुझाव ७ दिन भित्र उपलब्ध गराउन कम्पनीले अनुरोध गरेको हो । नेपाल पुनर्बिमा कम्पनी प्रस्तावक रहेको छ भने परामर्शदाता स्याप वाटर एण्ड इनिजी डेभेलपर्स प्रालि रहेको छ ।
आजदेखि हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज फागुन १२ गते सुरु हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर शुक्रबारदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो । हिमालयन बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एकीकृत कारोबार हुनेछ । दुवै बैंकले एकीकृत कारोबार निम्ति सिस्टम अपग्रेड गर्नका लागि २ दिन बैंकिङ्ग कारोबार बन्द गरिएको छ । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज भएका हुन् । अर्थात् सिभिल बैंकका सेयरधनीहरुले १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त गर्नेछन् । एकीकृत कारोबारपश्चात् हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ बन्नेछन् । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । पुँजीको आधारमा नेपालको छैटौं ठूलो बैंक भएको छ । त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल शाखा १८९ वटा भएको छ ।
बोटलर्स नेपाल तराई र बालाजुले जम्मा गर्यो सेयरधनीको खातामा लाभांश
काठमाडौं । बोटलर्स नेपाल तराई र बालाजुले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । दुवै कम्पनीलेलहितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको बैंक खातामा लाभांश जम्मा गरेको जनाएका छन् । बोटलर्स नेपाल तराईको गत पुस २७ गते सम्पन्न ३६ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले वितरण गरेको उक्त ६० प्रतिशत नगद लाभांश माघ २३ गतेदेखि नै सेयरधनीहरूको खातामा पठाइएको कम्पनीले जनाएको छ । यस्तै, बोटलर्स नेपाल बालाजुको गत पुस २७ गते सम्पन्न ४४ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले वितरण गरेको उक्त ६० प्रतिशत नगद लाभांश माघ २३ गतेदेखि नै सेयरधनीहरूको खातामा पठाइएको कम्पनीले जनाएको छ । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । मर्जर पश्चात गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीहरुको खाता नं. परिवर्तन हुने हुँदा नयाँ खाता नम्बर अद्यावधिक गराउनु कम्पनीले आग्रह गरेको छ । बैंक खातामा लाभांश जम्मा गर्दा कुनै शुल्क लाग्ने भएमा सेयरधनीहरुले नै व्यहोनुपर्नेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।
नेप्सेमा ३ कम्पनीको मूल्य समायोजन, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सबैको लघुवित्त वित्तिय संस्था, सिभिल लघुवित्त वित्तिय संस्था र प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो । यी तीन कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । सबैको लघुवित्तको १८ प्रतिशत प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ७११.८६ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ८४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, सिभिल लघुवित्तको ११ प्रतिशत बोनस सेयरूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६७४.७७ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ७४९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, प्रभु इन्स्योरेन्सडको ६.७० प्रतिशत बोनस सेयरमूलयमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ५२०.९९ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ५५५.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
हिमालयन बैंक बन्यो छैटौं ठूलो बैंक, पुँजी ३४ अर्ब रुपैयाँ
काठमाडौं । हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ भएको छ । सिभिल बैंक प्राप्ति पछि बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ नाघेको बैंकले जनाएको छ । पुँजीको आधारमा नेपालकाे छैटौं ठूलो बैंक भएको छ । त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल शाखा १८९ वटा भएको छ । सिभिललाई प्राप्तिपछि बैंकले शुक्रबारदेखि एकिकृत कारोबार गर्दैैछ । सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपाली व्यवसायीहरु प्रवद्र्धक भएर खुलेको पहिलो निजी क्षेत्रका बैंक हो । यस बैंकमा पाकिस्तानको हविव बैंक, कर्मचारी संचय कोष संस्थागत र ठूला लगानीकर्ता हुन् ।
ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता भएकाे छ । बैंक र महासंघबीच महासंघका सदस्यहरुलाई आवश्यक राजदुतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता भएको हाे । बिहीबार बैंकको कर्पोरेट कार्यालयमा उक्त सम्झौता कार्यान्वयन गर्नका निमित्त एक समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार दासले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुरुप नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघअन्तर्गतका संघका सदस्यहरुले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने कार्यको लागि अनिवार्य पर्फमेन्स बोन्डको लागि नेपालस्थित भारतीय राजदूतावासको नाममा जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण प्रयोजनका लागि बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्ण ढङ्गले पर्फमेन्स बैंक जमानत सुविधा प्राप्त गर्न सक्नेछन् ।
बैंकको ब्याज १० प्रतिशतभन्दा बढी हुनुहुँदैन : मुख्यमन्त्री कार्की
काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस भएको बताएका छन् । आज धरानमा सुरु भएको धरान एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्र सुधारका लागि सरकारले नयाँ योजना ल्याएर निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने बताए । पछिल्लो समय व्यवसायीहरूले विरोध गर्दै आएको बैंकको चर्को ब्याजदर नीतिप्रति सङ्घीय सरकार संवेदनशील हुनुपर्ने उनको भनाइ थियो । उनले यस विषयमा सङ्घीय सरकारले चाँडो आफ्नो धारणासमेत सार्वजनिक गर्न माग गरे । मुख्यमन्त्री कार्कीले १० प्रतिशतभन्दा बढी ब्याजदर नहुने गरी बैंकको ब्याजदर कम गर्न राष्ट्र बैंकलाई सुझावसमेत दिए । ‘दश प्रतिशतभन्दा माथि नहुने गरी ब्याजदर घटाउनु पर्छ । प्रदेश सरकार त्यसका लागि छलफल र बहस गर्न तयार छ’, मुख्यमन्त्री कार्कीले भने, ‘निजी क्षेत्रलाई धेरै बलियोरूपमा स्थापित बनाउनु जरुरी छ । निजी क्षेत्रलाई बलियो बनाउन सकेमात्र देशको विकास गर्न सकिन्छ । उनीहरूको हात समाएर अगाडि बढ्नुपर्छ ।’ उनले मुलुकको निर्यात घटेको र आयात झन्–झन् बढ्दै गएको बताउँदै सरकार यस विषयमा गम्भीर हुनुपर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य महासङघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र सङ्घईले बैंकको चर्को ब्याजदरका कारण उद्योगी–व्यावसायीलाई परेको समस्याको निकास छिट्टै निस्किने विश्वास व्यक्त गरे । खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको उल्लेख गर्दै उहाँले निकासको उपाय खोजेर सहजीकरणको बाटोमा अघि बढ्नुपर्ने बताएका हुन् । व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प नभएको उल्लेख गर्दै सङ्घईले सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानीको वातावरण तयार गर्नुपर्ने बताए । व्यवसायी प्रवद्र्धनका लागि सुनसरी उद्योग वाणिज्य सङ्घले औद्योगिक प्रदर्शनी गरेर राम्रो काम गरेको बताए । यसले यहाँको व्यापार व्यवासाय प्रवद्र्धनमा सहयोग पुग्ने बताए । आजदेखि सुरु भएको धरान एक्स्पो फागुन २० गतेसम्म चल्ने आयोजकले जनाएको छ । एक्स्पोमा धरान आसपास टाढाबाट आउने सर्वसाधारणका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । वराह क्षेत्र नगरपालिकाको चतराबाट समेत एक्स्पोमा आउन निःशुल्क बसको व्यवस्था गरिएको हो । धरानमा चार ठाउँबाट एक्स्पोस्थल धरान रङ्गशालासम्म निःशुल्क बस चलाइएको छ । एक्स्पोमा स्वास्थ्य परीक्षण शिविर पनि दैनिकरूपमा राखिएको छ । एक्स्पोमा पाकिस्तान, बङ्गलादेश र भारतका उत्पादनका स्टल ह्याङ्गर प्रविधिमा बनाइएको डोममा रहेका छन् । विदेशी सामग्रीका कुल १५ वटा स्टल एक्सपोमा रहेका छन् । पाकिस्तान जनावरको छालाबाट बनेको सामान उत्पादन गर्ने मुलुकका रूपमा विश्व प्रसिद्ध छ । नेपालबाट समेत छाला पाकिस्तान निर्यात हुन्छ । एक्स्पोमा महिला–पुरुष दुवैका लागि पाकिस्तानी लेदरको ज्याकेट, बेल्ट, क्याप आकर्षणको केन्द्र बन्ने आयोजक कमिटीका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । बङ्गलादेशको तयारी पोशाकका उत्पादन महिलाका कुर्ता, सलवार, साडी, बालबालिकाका पोशाक आकर्षणको स्टल राखिएको छ । बङ्गलादेशको तयारी पोशाक युरोप, अमेरिकी मुलुकमा निर्यात हुँदै आएको छ । भारतीय उत्पादन तयारी पोशाकका साथै दैनिक भान्सा तथा घरायसी कामधन्दामा आवश्यक उपकरण राखिएको छ । भारतीय साडी, कुर्ता सलवार किन्न जोगबनी पुग्नेहरूका लागि एक्स्पोले रङ्गशालामै बजार लगाएको छ । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न थालेको अल्लोका कपडा सङ्खुवासभाबाट ल्याई एक्स्पोमा राखिएको छ । एक्स्पोले जुम्लाको भिर मौरीको मह, माछाको अचारदेखि अग्र्यानिक र ब्राण्डेड वस्तु किनमेल गर्ने अवसर जुटाइएको छ । यस्तै पूर्वका कृषि अभियानकर्मी कृष्ण राईले कृषि प्रविधिको जानकारीसहित कृषि स्टल राख्नुभएको छ । विभिन्न प्रविधि प्रयोग गरेर उहाँले आफ्नो करेसाबारीको प्रविधिको प्रदर्शनी मेलामा गरेका छन् । रासस