विकासन्युज

प्रिमियममा आईपीओ जारी गर्न सन नेपाल लाइफले बढायो प्रकृया, प्रतिकित्ता कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रकृयालाई अघि बढाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रकृयालाई अघि बढाएको हो । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा थप १५०.५५ रुपैयाँ प्रिमियम थप गरि सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । यससँगै कम्पनीले प्रतिकित्ता २५०.५५ रुपैयाँमा आईपीओ जारी गर्ने भएको हो । यदि बोर्डले अनुमति दियो भने कम्पनीले प्रतिकित्ता २५०.५५ रुपैयाको दरमा ९६ लाख कित्ता सेयर निष्काशन गर्ने छ । जसअनुसार कम्पनीले कूल २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको सेयर बजारमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ छ ।

एकीकृत कारोबार गर्न सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सले पाए अन्तिम स्वीकृति

फाइल फोटो : प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्दै दुई कम्पनीका सञ्चालक काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् । मर्जरको प्रकृयामा रहेका यी दुई जीवन बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति पाएका हुन् । ‘कम्पनीहरुलाई आज अन्तिम स्वीकृति दिएका हौं,’ प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । मर्जरमा जानको लागि यी दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका थिए । यी दुई कम्पनी बराबर हैसियत अर्थात एक बराबर एकको अनुपात (स्वाप रेसियो) मा मर्ज हुन लागेका हुन् । दुई कम्पनी एक आपसमा मर्ज हुने प्रस्तावलाई फागुन १२ गते सम्पन्न दुबै कम्पनीको साधारण सभाले पारित पनि गरिसकेको छ । हाल सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । १ः१ को अनुपातमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । जुन नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) ले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा १०५ सम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ९५ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

विभिन्न पाँच विषयमा गहन छलफल गर्दै दोस्रो नेपाल ट्रेड समिट सम्पन्न

काठमाडौं । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने दोस्रो नेपाल ट्रेड समिट बिहीबार सम्पन्न भएको छ । सम्मेलनमा स्टिल, सिमेन्ट र कोइला व्यवसायसम्बद्ध विभिन्न पाँच विषयमा गहन छलफल भएको छ । सम्मेलनको उद्घाटन बुधबार उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । पहिलो दिनको प्राविधिक सत्रमा युज अफ स्पन्ज आइरन फर द प्रडक्सन अफ फ्ल्याट एन्ड लङ प्रडक्ट्स थ्रु आईएफ रुट अफ स्टिल मेकिङ र स्टिल मेल्टिङ टेक्नोलोजिज एन्ड इम्प्रुभिङ इफिसिइन्सिज शीर्षकमा छलफल भएको थियो । दोस्रो दिनको सत्रमा र मेटेरियल सोर्सिङ अप्सन फर नेप्लिज स्टिल इन्डस्ट्रिज, आउटलुक अन नेप्लिज सिमेन्ट इन्डस्ट्रिज र ¥यासनलाइजेसन अफ इन्पुट कस्ट्स इन स्टिल मेकिङ शीर्षकमा सम्बन्धित क्षेत्रका विज्ञ र सहभागीबीच छलफल भएको थियो । नेपाल, भारत अन्य देशका गरी २७० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलताबारे पनि छलफल भएको थियो । सम्मेलन निकै फलदायी रहेको सहभागीहरुको प्रतिक्रिया छ । सम्मेलनको तेस्रो संस्करण सन् २०२५ मा काठमाडौंमा गर्ने स्टिलमिन्ट ग्रुपका सिएमओ सुमित अग्रवालले बताए । प्लाटिनम पार्टनर इलेक्ट्रोथर्म रहेको यो सम्मेलनमा गोल्ड पार्टनरको रुपमा विजय स्टिल, जीवानी फ्युल्स प्रालि र अशोक स्टिल थिए । त्यसैगरी, सिल्भर पार्टनरमा मेगाथर्म र इन्डक्टोथर्म ग्रुप थिए । समिटलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल सिमेन्ट उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र नेपाल उद्योग परिसंघको सहयोग थियो ।

युएईलाई हराउँदै नेपाल यू–१९ को विश्वकप खेल्ने सपना साकार

काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकपमा पुगेको छ । बिहीबार नेपालले यूएईलाई पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकप खेल्ने सपना साकार पारेको हो । १९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट ग¥यो । नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पु¥याएका हुन् । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।

सभापोखरी हाईड्रोपावर आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त

काठमाडौं । सभापोखरी हाईड्रोपावरले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्गसँग बुधबार सम्झौता गरेको छ । सो सम्झौतापत्रमा सभापोखरी हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा लंखुवा खोला साना जलविद्युत आयोजना निर्माण गर्दै छ । ५ मेगा वाट क्षमताको उक्त आयोजनाको निमार्ण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ । आरविवि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

कालोमोसो दल्नेविरुद्ध बैंकर्स एकजुट, ‘ऋण तिर्दिन भन्नु अराजक हो’

काठमाडौं । बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाविरुद्ध देशव्यापी आन्दोलन चर्केपछि बैंकिङ्ग क्षेत्रका ४ वटा संघले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । आर्थिक गतिविधिमा नै नकारात्मक असर पर्ने गरी आन्दोलन गरेको भन्दै बिहीबार प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस वक्तव्य जारी गरेका हुन् । बैंक तथा वित्तीय संस्था र लघुवित्तबाट ऋण लिएर कर्जा तिर्दैन भन्नु अराजक गतिविधि भएको उनीहरुले बताएका छन् । साथै, संस्थाबाट ऋण लिएपछि कर्जा र ब्याज भुक्तानी गर्नुपर्ने ऋणीको दायित्व रहेको उनीहरुको भनाइ छ । ‘ऋण लिएपछि कर्जाको साँवा र किस्ता तिर्नु पहिलो दायित्व हुन्छ, विभिन्न शर्तहरुको अधिनमा रही कर्जा लिएपछि तिर्दैन भन्नु अराजकता हो, यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने, असहज वातावरण सृजना गर्ने र आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने हुँदा यसप्रति सजग रहन आग्रह गर्दछौं,’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ । पछिल्लो समय केही व्यक्तिहरुले बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुविरुद्ध नकारात्मक टिप्पणी र आन्दोलनको घोषणा गरेका छन् । कर्मचारीहरुलाई हतोत्साही हुनेगरी धम्कीपूर्ण अभिव्यक्ति र अराजक गतिविधि गर्दै आएका छन् । ‘कुनै पनि विरोधको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिने अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यको ध्यान जानुपर्छ, नियामक निकायद्वारा जारी गरिएको नीति, निर्देशन तथा ऐनको अधिनमा रही बैंकिङ्ग सेवा प्रदान गर्दै आएका छन्, ग्राहकहरुको हकहिततर्फ सदैव सचेत रही कानून विपरित गतिविधिहरु नगर्न र केही समस्या भए सम्बन्धित संस्थासँग छलफल गरी अघि बढ्नु नै हितकारी हुनेछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विरोधको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिने अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यको ध्यान जानुपर्छ ।’ बैंक तथा वित्तीय संस्थाहरुले ४ करोड ८३ लाख भन्दा धेरै निक्षेप खाता मार्फत झण्डै ५४ खर्ब निक्षेप संकलन र १८ लाखभन्दा धेरै ऋणीहरुलाई ४८ खर्बभन्दा बढी कर्जा प्रवाह गरेको बताइएको छ । बैंकिङ्ग क्षेत्रले ५३ हजार बढीलाई प्रत्यक्ष रोजगारी दिएको र गत आर्थिक वर्ष ३४ अर्ब कर सरकारलाई तिरको बताइएको छ । साथै, कोरोना महामारीका बेलामा १० अर्ब बढी ब्याज छुट दिएको प्रेस विज्ञप्तिमा भनिएको छ । साथै, देशको दुरदराजमा लघुवित्त संस्थाहरुले झण्डै ६० लाख निक्षेप खाता तथा ३२ लाख भन्दा धेरै ऋणीहरुलाई सेवा प्रदान गर्नुका साथै २३ हजार रोजगारी दिएका छन् ।

डिशहोम ग्राहकलाई इन्टरनेटको नयाँ प्रविधि ‘आईपीभी सिक्स’

काठमाडाैं । डिशहोम फाइबरनेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा ल्याएको छ । कम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातबाट आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालिसकेकाे छ । याेसँगै नेपालमा आईपीभीसिक्स प्रयोग गर्ने इन्टरनेट सेवाप्रदायककाे सूचीमा डिशहोम फाइबरनेट पनि जाेडिएकाे छ । के हाे आईपीभीसिक्स ? इन्टरनेटले काम गर्नुमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्य भूमिका हुन्छ । हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आईपी एड्रेस जरुरत पर्दछ । इन्टरनेट प्रोटोकल भर्सन सिक्स त्यसैको नयाँ पुस्ता हो । विश्वभर भी फोरमा उपलब्ध सीमित आईपी एड्रेस वितरण भएर सकिएपछि आईपी भी सिक्स विकास गरिएको थियो । आईपीभीफोरमा ३.७ अर्ब युनिक आईपी एड्रेस रहेका छन्, जब कि आईपी भी सिक्समा आईपी एड्रेसको सङ्ख्या ३४०० खर्ब रहेको बताइन्छ । एनएटी प्रविधि आवश्यक नपर्ने हुँदा आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ । साथै सुरक्षाका दृष्टिकोणले समेत यसलाई बढी प्रभावकारी मानिन्छ ।