विकासन्युज

स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल

काठमाडौ । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्तिकारी० र अनेरास्ववियूबीच तालमेल गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले तीनवटै विश्वविद्यालयमा हुनगइरहेको स्ववियु निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष दिपेश पुनले जानकारी दिए । नेविसङ्घले नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, महाराजगन्ज क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनप्रशासन क्याम्पस, सरस्वती वहुमुखी क्याम्पस, ग्रामीण आर्दश क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस थलीको सभापतिपद पाउने सहमति भएको छ । यस्तै अनेरास्ववियु (क्रान्तिकारी) थापाथली इञ्जीनियरिङ क्याम्पस, सानोठिमी बहुमुखी क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिकयुथ क्याम्पस, विश्वभाषा क्याम्पस, नेशनल इञ्जीनियरिङ र हिमालयन इञ्जीनियरिङ पाउने सहमति भएको छ । अनेरास्ववियूले आरआर क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पसमा स्ववियु सभापति पाउने गरी सहमति भएको छ । क्रान्तिकारीका महासचिव पुनले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका सङ्गठनले तालमेलअनुसार नै फिर्ता लिने बताए । सहमतिअनुसार तीनवटै विद्यार्थी सङ्गठनको मातहतका कमिटीले कार्यान्वयन गर्न निर्देशनसमेत दिइसकेको छ । आगामी चैत ३ गते मध्यपश्चिम, चैत ५ गते त्रिवि र चैत ८ गते सुदूरपश्चिम विद्यालयमा स्ववियु निर्वाचन हुँदैछ । रासस

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन २९ गतेदेखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने भएको छ । यी इन्स्योरेन्सहरूको सेयर काराेबार १५ दिनका लागि रोक्का हुने भएको हो । मर्जरपश्चात गाभ्ने गाभिने कम्पनीको सेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनका लागि एकिकृत कारोबार भएको मितिबाट १५ दिनका लागि दुई कम्पनीकाे सेयर कारोबार रोक्का गरिन लागेको हो । साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपश्चात सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट फागुन २९ गतेदेखि एकिकृत कारोबार हुँदैछ । दुवै कम्पनीबीचमा भएको प्रारम्भिक सहमतिको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) क्रमश १००:८० कायम रहनेछ । साथै, दुवै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । त्यसैगरी, संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री नै रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।

तनहुँ जलविद्युत् आयोजना : डाइभर्सन टनेलको ब्रेक थ्रु

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ)को ‘ब्रेक थु्र’ भएको छ । आयोजनाले छ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको हो । उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने हुँदा उक्त टनेल खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । उनका अनुसार नदीको सतहमा टनेल निर्माण गरिएको छ । आयोजनाले गत माघमा प्रवेश सुरुङको ब्रेक थ्रु गरेको थियो । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र सात मिटर व्यास भएको प्रवेश सुरुङको ब्रेक थ्र भएको थियो । व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायीरूपमा प्रयोग गरिने छ । आयोजनाको निर्माण सम्पन्न भएपछि यही सुरुङ हुँदै बाँधतर्फ जान सकिने छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सो¬ङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् । पाँच सय ३९.८ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ को ब्रेक थु्र भइसकेको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणकार्य केइसी भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ साल असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । तीनवटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले हालसम्म १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार खर्च गरेको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत हेडवक्र्स निर्माणकार्यका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो । यो प्याकेजअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ–१ र २ को निर्माणकार्य जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । बाँधको माथिल्लो भागको स्लोप खन्ने कामअन्तर्गत हालसम्म इलिभेसन तह पाँच सय ४४ मिटरबाट चार सय ८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माणकार्य सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह चार सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ । प्याकेज–१ अन्तर्गतको कार्य विसं २०८३ जेठ १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएका हालसम्म दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भई समग्र भौतिक र वित्तीय प्रगति क्रमशः १२.६८ र ११.६७ प्रतिशत रहेको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज–२ को निर्माणकार्यका लागि सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते युएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ र नेपाली रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौताबमोजिम निर्माणकार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माणकार्य जारी राखेको छ । यो प्याकेज अन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको श्रेष्ठले बताए । आयोजनाको एक हजार चार सय ५६.९ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकबाट खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर खन्ने काम सकिएको छ । आयोजनाको दुई सय १०.९ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यअन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खन्ने कार्य सकिएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ वटा टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । छब्बीस वटा टावर जडानकार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ । ३४.७ किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड–१९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ । रासस

ब्याज र डलरको मूल्य बढ्दा सरकारलाई पौने २१ खर्ब ऋण भुक्तानीमा सकस, अर्थलाई गरियो पत्राचार

काठमाडौं । सरकारलाई ऋण भुक्तानीमा पनि सकस परेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पछिल्लो समय बढिरहेको ब्याजदर र डलरको मूल्यमा आएको उतारचढावले ऋण भुक्तानीमा सकस परेको बताएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराम शर्मा विनियोजित रकमले ऋण भुक्तानी गर्न नपुग्ने देखिएको बताएका छन् । उनका अनुसार बजेट निर्माण गर्दा आन्तरिक ऋणको ब्याजदर ८ प्रतिशतको हाराहारीमा रहेकोमा हाल बढेर १२ प्रतिशत भएको र डलरको मूल्य बढ्दा समस्या देखिएको हो । ‘चालू आर्थिक वर्ष विनियोजन भएको रकमले आन्तरिक तथा वैदेशिक ऋण भुक्तानी गर्न नपुग्ने देखिएको छ, हामीले नपुग्ने रकमका बारेमा अर्थ मन्त्रालयमा जानकारी गराइसकेका छौं,’ उनले भने । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल ऋण करिब २१ अर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार नेपालको ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको हो । तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा (पुस मसान्तसम्म) सार्वजनिक ऋण बढेको देखिएको हो । पुस मसान्तसम्म नेपालको बाह्य ऋण ११ खर्ब दुई अर्ब ५१ करोड रुपैयाँ र आन्तरिक ऋण ९ खर्ब ६८ अर्ब एक करोड रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको ६ महीनाको अवधिमा ५७ अर्ब २४ करोड ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो । जसमध्ये बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड रुपैयाँ र आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ बराबर थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा ७६ अर्ब ६६ करोड ९९ लाख बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा १९ अर्ब ४३ करोड रुपैयाँले घटेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२.६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अहिले कूल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ बराबर छ । जीडिपी अनुपातमा आन्तरिक ऋण १९.९५ प्रतिशत र बाह्य ऋण २२.७२ प्रतिशत रहेको कार्यालयको तथ्याङ्कबाट देखिन्छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म नेपालले ४७ अर्ब २७ करोड रुपैयाँ बराबर ऋण उठाएको छ । जसमध्ये ३० अर्ब रुपैयाँ आन्तरिक र १७ अर्ब २७ करोड रुपैयाँ बाह्य ऋण उठाएको हो । यस्तै, सोही अवधिमा ४५ अर्ब ६१ करोड रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ । पुस मसान्तसम्म सरकारले भुक्तानी गरेको साँवा २८ अर्ब ३० करोड रुपैयाँ र ब्याज १७ अर्ब ३१ करोड रुपैयाँ बराबर छ । यो अवधिमा आन्तरिक ऋणको साँवा १९ अर्ब ५९ करोड २५ लाख रुपैयाँ र ब्याज १५ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ गरी कूल ३५ अर्ब २५ करोड रुपैयाँ भुक्तानी भएको छ । यस्तै, बाह्य ऋणको सावाँ ८ अर्ब ७१ करोड रुपैयाँ र ब्याज एक अर्ब ६५ करोड रुपैयाँ गरी १० अर्ब ३६ करोड भुक्तानी भएको छ । कूल सावाँ ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी ७७.२८ प्रतिशत र बाह्य ऋणको साँवा ब्याज भुक्तानी २२.७२ प्रतिशत बराबर छ । सरकारले चालू आर्थिक वर्ष २०७९/०८० का लागि १ खर्ब ८७ अर्ब २५ करोड ४८ लाख रुपैयाँ वैदेशिक र आन्तरिक ऋण भुक्तानी गर्न विनियोजन गरेको थियो ।

उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १२ बजेदेखि १ बजेसम्म नामावली प्रकाशन गर्ने जनाएको छ । साथै दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको थियो । रासस

सिन्धुलीमा बस दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौं जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस

एकैदिन १७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन अर्थात शुक्रबार  प्रतितोला एक लाख एक हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार ५ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन अर्थात शुक्रबार एक लाख १ हजार ३ सय सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

वर्षमा साढे ८ लाख टन खाद्यान्न अपुग, २१ प्रतिशत नेपालीले पेटभरी खान पाउँदैनन्

काठमाडौं । नेपाल विश्वको न्यून आय हुने विकसिल देशहरू मध्ये एक हो । विश्व बैंकले प्रतिव्यक्ति प्रतिदिन क्रयक्षमता अमेरिकी डलर ३.२ लाई गरिबीको रेखामा परिभाषित गरेको छ । नेपालमा यो सीमाभन्दा कम क्रयक्षमता रहेको गरिब जनसङ्ख्या करिब १५.८ प्रतिशत रहेको अनुमान गरिएको छ । यसले गर्दा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्कट (प्राकृतिक प्रकोप, महामारी, द्वन्द्व, आदि)मा आइपर्ने समस्याहरूप्रति नेपालको अनुकूलन क्षमता कमजोर रहेको छ । नेपालको समग्र खाद्य सुरक्षाको स्थितिलाई मुख्य गरी गरिबीले प्रभाव पारेको छ भने खाद्यान्न बालीको न्यून उत्पादकत्व, उत्पादनका साधनहरू उन्नत बीउ, मल, उपकरण, आदिको आपूर्तिको समस्या, रोजगारको अवसरहरू सिर्जना हुन नसक्नु, राष्ट्रिय नीतिहरू प्रभावकारी नहुनु र सुशासनलगायतका समस्याहरूले राष्ट्रिय खाद्य उत्पादन तथा वितरण प्रणालीमा असर गरेको सर्वविदितै छ । नेपालको पन्ध्रौँ योजनाअनुसार नेपालमा २१ प्रतिशत जनसङ्ख्याले अझै पनि पर्याप्त खाना खान पाएको अवस्था छैन भने खाद्य आवश्यकताको आधारभूत सुरक्षा स्थितिमा रहेका घरपरिवार केवल ४८.२ प्रतिशत मात्र रहेको छ । विश्व बैंक विकास सूचक (२०२०) अनुसार सन् २०२० सम्म नेपालको जनसङ्ख्याको १३.६ प्रतिशत गम्भीर खाद्य असुरक्षाको स्थितिमा रहेको छ । पोषणका हिसाबले नेपालको लागि प्रतिदिन प्रतिव्यक्ति न्यूनतम आवश्यक औसत शक्ति २ हजार २ सय ५० किलो क्यालोरी निर्धारण गरिएको छ । यद्यपि, खाद्य सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार औसत २ हजार ६ सय किलो क्यालोरी प्रतिव्यक्ति प्रतिदिन आवश्यक हुन्छ । तसर्थ, खाद्य सुरक्षाका दृष्टिले नेपालको हालको खाद्यवस्तुको उत्पादन तथा आपूर्तिको परिमाणले दैनिक २ हजार ६ सय किलो क्यालोरीे शक्ति प्राप्ति हुने अवस्था निकै टाढा रहेको छ । विश्व भोकमरी प्रतिवेदन २०२१ अनुसार भोकमरी इन्डेक्समा नेपाल खाद्य सुरक्षा स्थितिमा १९.१ स्कोरसहित ७६औँ स्थानमा रहेको छ । उक्त प्रतिवेदनअनुसार नेपालको भोकमरीको अवस्था मध्यम देखिन्छ । सन् २००० देखि २०२१ सम्मको २० वर्षमा भोकमरी इन्डेक्स १८.३ ले कमी आएको छ भने प्रतिशत अङ्कमा, ४८ प्रतिशतले ह्रास भएर खाद्य सुरक्षाको अवस्थामा केही सुधार भएको देखिन्छ । विश्व पोषण प्रतिवेदन २०१६ बमोजिम कुपोषणका कारणले एसिया र अफ्रिकाका गरिब देशहरूको कूल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशतसम्म नोक्सानी हुने देखाएको छ । उक्त प्रतिवेदन अनुसार पोषणमा गरिएको लगानीबाट १६ गुणासम्म प्रतिफल प्राप्ति हुने अनुमान गरिएको छ । यस सन्दर्भमा, यस खण्डमा नेपालमा खाद्य सुरक्षाको अवस्थाको वारेमा सङ्क्षिप्त रूपमा चर्चा गर्ने प्रयास गरिएको छ । नेपालमा कुपोषणको अवस्था नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार, पाँच वर्ष मुनिका बालबालिकाहरू मध्ये ३६ प्रतिशत बालबालिकामा पुड्कोपन, २७ प्रतिशत बालबालिकामा न्यून तौल, ९.७ प्रतिशत बालबालिकामा ख्याउटेपना र १.२ प्रतिशत बालबालिकामा अधिक तौल अर्थात् मोटोपना रहेको पाइएको छ । नेपाल राष्ट्रिय सुक्ष्म पोषकतत्व सर्वेक्षण २०१६ को प्रतिवेदनअनुसार, ५३ प्रतिशत बालबालिकाहरूको मृत्युको अप्रत्यक्ष कारण कुपोषण रहेको उल्लेख गरिएको छ । यसको अतिरिक्त प्रजनन् उमेरका महिलाहरू मध्ये अधिक तौल वा मोटोपना भएका महिलाहरू २२ प्रतिशत र दीर्घ रूपमा शक्तिको कमी भएका महिलाहरूको सङ्ख्या १७ प्रतिशत रहेको थियो। विश्व भोकमरी प्रतिवेदन २०२१ अनुसार नेपालको सन् २०२१ मा कुपोषणमा रहेको जनसङ्ख्या ३१ प्रतिशत, ख्याउटेपना तथा कुपोषित भएका पाँच वर्ष मुनिका बालबालिकाहरूको सङ्ख्या घटेर क्रमशः १२ प्रतिशत र ४.८ प्रतिशत झरेको छ भने बालबालिकाको मृत्युदर ३.१ प्रतिशत रहेको छ । नेपालमा सन् २००० देखि २०२१ सम्मको कुपोषणको प्रवृत्ति देखाइएको छ । उल्लिखित चित्रअनुसार कुपोषणका विभिन्न सूचकहरू मध्ये ख्याउटेपना/दुब्लोपना बाहेक अन्य सूचकहरूमा सुधार आएको छ । खाद्यवस्तुको आपुर्ति खाद्य तथा पोषण सुरक्षाका दृष्टिले नेपालमा आवश्यक प्रतिव्यक्ति न्यूनतम २ हजार २ सय ५० किलो क्यालोरी शक्तिको ७० प्रतिशत हिस्सा वनस्पतिजन्य पदार्थ र बाँकी ३० प्रतिशत पशपुन्छीजन्य पदार्थबाट आपूर्ति हुनुपर्दछ । तर, के.सी.र देवकोटा (२०७७) ले उल्लेख गरेअनुसार नेपालमा प्रतिदिन प्रतिव्यक्ति आवश्यक किलो क्यालोरीको ८७.३% अर्थात् १ हजार ९ सय ६४ किलो क्यालोरी खाद्यान्न र वनस्पतिजन्य पदार्थबाट र बाँकी १२.७ प्रतिशत अर्थात् २ सय ८६ किलो क्यालोरी दुध, दही, पनीर, माछा, मासु, अण्डा आदिजस्ता पशुपन्छी तथा मत्स्यजन्य पदार्थबाट आपूर्ति हुने गरेको छ । यसले नेपालमा पशुजन्य खाद्यवस्तुको उपभोग कमी भएको तथ्य उजागर गरेको छ । विश्व बैंकको प्रतिवेदनअनुसार सुक्ष्म पोषकतत्व र भिटामिन डी को कमीले मात्र नेपालमा कूल गार्हस्थ्य उत्पादनको २ देखि ३ प्रतिशत अर्थात् २ सय ५० देखि ३ सय ७५ मिलियन अमेरिकी डलर बराबरको नोक्सान भएको अनुमान गरिएको छ । नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभागको वार्षिक घरधुरी सर्वेक्षण (२०१६/०१७) ले प्रतिव्यक्ति प्रतिवर्ष चामल करिब १ सय १८ के.जी., मकै १७.६ के.जी., गहुँ २१.० के.जी, कोदो ३.५ के.जी., र फापर ०.१ के.जी. र जौ ०.१ के.जी. गरी जम्मा १ सय ६० के.जी. उपभोग हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । यस सन्दर्भमा, नेपालमा उत्पादन हुने चामलले हाम्रो मागको ३ लाख ५७ हजार मे.ट. धान्न सकिरहेको छैन (के.सी.र देवकोटा, २०७७) । अर्कोतर्फ सबै खाले अन्न उपभोग भएको खण्डमा मात्र नेपालमा उत्पादन हुने खाद्यान्नले अन्नबालीबाट आपूर्ति हुने शक्ति पूरा हुने स्थिति देखिन्छ तथापि अनाजको उल्लेख्य परिमाण छिनछर्ति तथा भण्डारणमा हुने नोक्सानी र दाना तथा अन्य प्रयोजनमा समेत उपभोग हुने भएकाले खाद्यान्नको आपूर्ति आवश्यकताअनुसार पूरा नभएको देखिन्छ । तसर्थ, हालैका वर्षहरूमा खाद्यान्न को आयात तीब्र गतिमा बढिरहेको छ । तरकारी, आलु तथा कन्दमुलको प्रतिव्यक्ति प्रतिदिन आवश्यकताअनुसार आपूर्तिले पुग्ने देखिन्छ भने दाल, फलफूल, अण्डा तथा दुध र दुधजन्य पदार्थको आपूर्ति आवश्यकताअनुसार नपुग्ने देखिन्छ । सन् २०२० को तुलनामा खाद्यान्नको कमी सन् २०३५ मा अझ बढी हुने आकलन गरिएको छ । शर्मा एण्ड पुडासैनी (२०२०)का अनुसार, खाद्यान्न बालीमा अझ ३१.२ प्रतिशत, तरकारीमा ६५.६ प्रतिशत, दाल १६२.८ प्रतिशत, तेल वीउ २६.४ प्रतिशत र फलफूल ५९.४ प्रतिशत कमी हुने प्रक्षेपण गरिएको छ । खाद्यान्न उपलब्धताको अनुमान आर्थिक वर्ष २०७८/७९ को खाद्यान्न तथा पशुजन्य खाद्य वस्तुको उपलब्धताको अवस्थालाई अनुमान गर्न खाद्यान्न, फलफूल तथा तरकारी, माछामासु तथा दुग्ध पदार्थ आदिसम्बन्धी तथ्याङ्क कृषि तथा पशुपन्छी मन्त्रालयले प्रकाशन गरेको स्टाटिस्टीकल इन्फर्मेशन अन् नेप्लिज एग्रीकल्चर २०७७/०७८ बाट लिइएको हो । खाद्य वस्तुको उपलब्धताको अवस्थालाई अनुमान गर्नुपूर्व बीउको लागि चाहिने अनाज, छिन्छर्ती तथा नोक्सानी, दाना तथा घरायसी रूपमा अन्य प्रयोजनको लागि प्रयोग हुने खाद्यान्न घटाएर तोकिएको प्रशोधन दर अर्थात् निचोर दरलाई समेत आधार लिइएको छ । उपलब्ध तथ्याङ्कको आधारमा नेपालमा करिब ८ लाख ६० हजार टन खाद्यान्न्न प्रतिवर्ष अपूग हुने अनुमान गरिएको छ । यसैगरी, दाल करिब ६ लाख २० हजार टन, तरकारी ४ लाख टन, फलफूल ५ लाख ८१ हजार टन, दुध १३ लाख ७० हजार लिटर र २ हजार ६ सय १४ लाख गोटा अण्डा कम हुने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार, आलुको उत्पादनले पुग्ने देखिए पनि भन्सार विभागको तथ्याङ्कअनुसार आ.व. २०७८/७९ मा ६.८३ अर्बको २ लाख ७४ हजार किलो आलु भारत (९४ प्रतिशत) तथा बङ्गलादेश (६ प्रतिशत) बाट आयात भएको छ । नेपालबाट औपचारिक रूपमा ताजा आलुको निर्यात भएको छैन भने फ्रोजन आलु रू २५ हजार बराबरको २ सय ५ केजी मात्र निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । यसर्थ, नेपालको आलु उत्पादन तथ्याङ्कसँग तालमेल देखिँदैन । स्रोत : नीति अनुसन्धान प्रतिष्ठान