विकासन्युज

एक वर्षमा ६८० अंकले घट्यो नेप्से परिसूचक, डेढ खर्बको धितोपत्र सूचीकृत

काठमाडौं । पछिल्लो एक वर्षमा नेप्से परिसूचक ६७९.७ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ माघको तुलनामा २०७९ को माघसम्ममा परिसूचक सो अंक अर्थात ३२.०३ प्रतिशतले घटेको हो । २०७८ माघ मसान्तमा २८०१.६ बिन्दुमा रहेको नेप्से परिसूचक २०७९ माघ मसान्तमा २१२१.९ मा झरेको छ । परिसूचक घटेसँगै बजार पुँजीकरणमा पनि संकूचन आएको छ । २०७८ माघ मसान्तमा ३९ खर्ब ५९ अर्ब पुँजीकरण भएको बजारमा २०७९ माघ मसान्तमा ३० खर्ब ६१ अर्ब ९६ करोडमा घटेको छ । २०७९ माघमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २४६ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ माघमा सूचीकृत कम्पनीहरूको संख्या २२६ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६५.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १२.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ । नेप्सेमा २०७९ माघ मसान्तमा सूचीकृत ७ अर्ब ११ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब १ अर्ब ६१ करोड रहेको छ । आर्थिक वर्ष २०७९/८० को सात महिनामा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ६४ अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर, १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको बोनस सेयर, ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल १ खर्ब ५० अर्ब ६८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब २० करोड बराबरको डिबेन्चर, ७ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण सेयर र ९५ करोड बराबरको हकप्रद सेयर गरी कुल २२ अर्ब ४८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । रासस

मुस्ताङमा एक महिनामा १८ सय विदेशी पर्यटक भित्रिए

म्याग्दी । बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए । ‘सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ, उनले भने, ‘थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ ।’ सन् २०२३ को मार्च महिनाभित्र ११ दिनको अवधिमा एक हजार आठ सय ४४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका एक्पाप जोमसोम शाखाले जनाएको छ । अङ्ग्रेजी वर्ष २०२३ सुरु भएयता तीन हजार छ सय ६९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । जनवरीमा एक सय ३१ र फेब्रअरीमा एक हजार छ सय ९९ पर्यटक आएका थिए । सन् २०२२ मा ४८ देशका ६५ हजार नौ सय ४० जनाले मुस्ताङ भ्रमण गरेकामा ४६ हजार सात सय २४ जना सार्क र १९ हजार दुई सय छ जना तेस्रो मुलुकका थिए । सार्क राष्ट्रका मध्ये धेरै पर्यटक भारतका हुन् । म्याग्दी भएर दैनिक ५० वटा बस र एक सय ५० जीप(पर्यटक सवारीसाधन)बाट मुस्ताङ भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अनुकुल मौसम, सडक यातायात र होटलको सहजतासँगै मुस्ताङमा पर्यटकको आगमन बढेको होटल व्यवसायी सम्झना थकालीले बताइन् । विदेशीको तुलनामा स्वदेशी पर्यटक बढी छन् । आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट पनि समूह बनाएर भ्रमणमा आएका छन् । चीनको सिमानास्थित कोरला नाकासम्म सडक पुगेको छ । यातायातको सहज पहुँचसँगै यात्राको खर्च घटेको र समय छोटिएको छ । मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीका व्यवसायीलाई पनि राहत मिलेको होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका जिल्लाअध्यक्ष बाबुराम आचार्यले बताउनुभयो । बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटल पाहुनाले भरिन थालेका छन् । रासस

पौने १४ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति, १० महिना बढीको आयात धान्ने

काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १३.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघ मसान्त सम्मको तथ्यांक अनुसार २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भई २०७९ माघ मसान्तमा रु.१३८३ अर्ब ३३ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ माघ मसान्तमा १०.२ प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६.२ प्रतिशतले वृद्धि भई रु.१२२८ अर्ब ५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ माघ मसान्तमा २.६ प्रतिशतले कमी आई रु.१५५ अर्ब २८ करोड कायम भएको छ । २०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.५ प्रतिशत, ७८.३ प्रतिशत र २४.० प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

सात महिनामा सवा ८ खर्ब व्यापार घाटा, घट्यो आयात निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको सात महिना महिनामा नेपालले ९३ अर्ब बराबरको निर्यात गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको  (गत साउनदेखि माघ मसान्तसम्म)  तथ्यांक अनुसार नेपालले ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको हो । बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अबधिमा ८८.३ प्रतिशतले निर्यातमा वृद्धि भएको थियो । गत आवको तुलनामा चालु आवको सो अवधिमा २९ प्रतिशतले निर्यातमा कमी आएको हो । सात महिनाको अबधिमा नेपालले भारत र चीनतर्फ गर्ने निर्यातमा कमी आएको छ भने अन्य देशको निर्यातमा बृद्धि भएको छ । भारतमा ३७.७, चीनतर्फ १३.४ प्रतिशतले निर्यातमा कमी आउँदा अन्य मुलुकतर्फको निर्यातमा ८ प्रतिशतले बृद्धि भएको तथ्यांकमा उल्लेख छ । सात महिनाको अबधिमा नेपालले जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । चालू आवको सात महिनाको अबधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब १९ अर्ब १७ करोड बराबरको विदेशी वस्तुको आयात गरेको छ । अघिल्लो आवकोे तुलनामा चालू आवको सो अबधिमा १९.९ प्रतिशतले आयातमा कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो । भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८ प्रतिशत, २४.३ प्रतिशत र २२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ । चालू आवको सात महिनाको अबधिमा नेपालको कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले कमी आई ८ खर्ब २५ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ७१ अर्ब ७८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२८ अर्ब १७ करोड बराबरको भएको थियो ।

सिन्धुली बस दुर्घटना अपटेड : थप एकजनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । ओखलढुङगाबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ । चालकको अवस्था सामान्य रहेको छ । उनको घुर्मीमा उपचार भइरहेको छ । बस अनियन्त्रित भइ भित्तामा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

पौने ७ खर्ब पुग्यो रेमिट्यान्स, विदेश जाने पनि बढे

काठमाडौं । चालू आर्थिक वर्षको माघ महिनासम्म पौने ७ खर्ब रुपैयाँ रेमिट्यन्स पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आव ७ महिनाको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भई ६८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३,१४,७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १,६७,७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई रु.७५९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।

नेपाल रेमिटबाट पठाएको पैसा राष्ट्रिय वाणिज्य बैंकबाट पाउन सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच वैदेशिक रेमिट्यान्स बैंकिङ्ग च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैंकिङ्ग च्यानल मार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धीत व्यक्तिलाई राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरु मार्फत सहज रुपमा भुक्तानी हुनेछ । यसले नेपालमा वैदेशिक मुद्रा आर्जन गर्न थप सघाउ पुग्ने विश्वास गरिएको बैंकले जनाएकाे छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु संचालनमा रहेका छन ।

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै रहने

काठमाडाैं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने भएकाे छ । निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी यादवको उम्मेदवारी कायमै राख्ने निर्णय गरेकाे हाे । शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो । उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको थियो ।