विकासन्युज

श्रीकृष्ण प्रणामी धर्म जागनी अन्तर्राष्ट्रिय महोत्सवमा ८९ लाख सङ्कलन

भक्तपुर । पहिलो पटक आयोजना गरिएको ‘अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९’ आज सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा फागुन २४ गतेदेखि सञ्चालन भएको महायज्ञसहितको महोत्सवमा दाताहरुबाट ८९ लाख सङ्कलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं महोत्सव आयोजक समितिका सचिव धर्मराज कार्कीले जानकारी दिए । दैनिक १३ हजारसम्म भक्तजनको उपस्थिति रहेको महोत्सवमा नेपालका ७७ वटै जिल्ला र भारतका बिभिन्न प्रान्त एवं अमेरिकाबाट समेत आएका भक्तजनको सहभागिता रहेकोे उनले जानकारी दिए । महोत्सवमा जगतगुरु सूर्यनारायणले मन्दिरको गजुर प्रतिस्थापन एवं मन्दिर उद्घाटन गरेका थिए । महोत्सवमा करिब ६० लाख खर्च भएको सचिव कार्कीले जानकारी दिए । महोतसव मूल आयोजक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले आध्यात्मिक क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन महोत्सवका रुपमा यो महोत्सव आयोजना गरिएको जानकारी दिए । महोत्सवमा दैनिक पूजा, आरती, योग, ध्यान, पाठ पारायण, धार्मिक प्रवचन, श्रीकृष्णामृत कथा, सन्ध्या आरती र सांस्कृतिक कार्यक्रम गरिएको थियो । महोत्सव अवधिभरमा विशेष कार्यक्रमअन्तर्गत दैनिक तारतम मन्त्र प्रदान तथा आत्मा जागनी, सम्मान, रक्तदान र निःशुल्क स्वास्थ्य परीक्षण गरिएको उनले बताए । सङ्कलन भएको रकमलाई अक्षयकोषमा राखिने बताउँदै समितिका अध्यक्ष न्यौपानेले श्रीकृष्ण प्रणामी सेवा समितिले इटहरिमा सञ्चालन गरेको ४५ शय्याको प्राणनाथ अस्पताल, संस्कृत विद्यालय र चाहविलमा रहेको राधाकृष्ण सेवा संस्कृत पाठशालाका अनाथ तथा असाहय बालबालिकाको शिक्षादीक्षामा खर्च गरिने बताए । विसं २०५७ मा उक्त मन्दिर निर्माण भई आध्यात्मिक कार्यक्रम सञ्चालन हुनाका साथै अनाथ बालबालिका तथा वृद्धवृद्धाहरूको संरक्षण पठनपाठन एवम् भरणपोषण हुँदै आइरहेको छ । नेपालमा छाता संस्थाका रूपमा रहेको उक्त समितिको मुलुकभर दुई सय ५१ शाखाले आध्यात्मिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् । शाकाहारी र स्वास्थ्यको महत्वबारे प्रवचन, अहिंसाका लागि जनचेतना जगाउने, हिन्दू धर्मको मठ–मन्दिर संरक्षण र प्रवद्र्धधनमा जोड दिने, वृद्धवृद्धाको संरक्षण गर्ने, अनाथ बालबालिकालाई शिक्षादीक्षामा दिने, ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरलाई धार्मिक पर्यटनसँग जोड्ने र दुव्र्यसनमुक्त समाज निर्माणमा जोड दिने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । रासस

बिरामीलाई ठग्दै भक्तपुरका अस्पताल, औषधि ११० प्रतिशत महँगो

भक्तपुर । यहाँका निजी अस्पतालले बिरामीको उपचारदेखि औषधिमा समेत बढी मूल्य लिने गरेको पाइएको छ । अरनिको राजमार्गसँगै जोडिएका यहाँका ठूला निजी अस्पतालले औषधिमा समेत बिरामीलाई कानुनविपरीत एक सय १० प्रतिशतसम्म बढी मूल्य लिएर औषधि र उपचारका सामग्री बिक्री गर्ने गरेको पाइएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा यहाँका अस्पतालका औषधि पसलमा गरिएको आकस्मिक अनुगमनमा औषधिमा समेत बिरामीलाई ठगी गर्ने गरेको पाइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । उनले भने, ‘अनुगमनका क्रममा यहाँका निजी अस्पतालले सञ्चालन गरेका फार्मेसीले नियम विपरित चर्को मूल्यमा बिक्री गरेको र नार्कोटेकजस्ता आषधि पनि सँगै राखेर बिक्री गरेको पाइएको छ ।’ अनुगमन समितिले मध्यपुरथिमिमा सञ्चालित मध्यपुर अस्पताल, नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघर, भक्तपुर इन्टरनेसल अस्पताल कौशलटार र समिट अस्पताल लोकन्थलीमा अनुगमन गर्ने क्रममा अस्पतालका औषधि बिक्री कक्षले नियम विपरीत औषधि बिक्री गर्ने गरेको पाइएको हो । अनुगमनका क्रममा भक्तपुर इन्टरनेसल अस्पतालको फार्मेसीले नियमभित्र रहेर औषधि बिक्री गरेको तर मध्यपुर, नागरिक कम्युनिटी र समिट अस्पतालका फार्मेसीले भने चर्को मूल्य लिएर औषधि तथा औषधिजन्य पदार्थ बिक्री गरेको पाइएको उनले जानकारी दिए । यहाँका अस्पतालका फार्मेसी सञ्चालकले ३२ देखि एक सय १० प्रतिशतसम्म बढी मूल्य लिएको अनुगमनका क्रममा पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेशकुमार दाहालले जानकारी दिए । उनका अनुसार सर्जिकल सामग्रीमा अत्यधिक मूल्य वृद्धि गरेर बिक्री गरेको पाइएको छ । नागरिक अस्पताल फार्मेसीले लागूऔषधका रुपमा प्रयोग हुने नार्कोटेक लगायतका औषधि पनि एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको बताइएको छ । नियमानुसार यस्ता औषधि छुट्टै राख्नुपर्ने र चिकित्सकको अनुमति बिना बिक्री गर्न नपाइने भए पनि एकै ठाउँमा राखेर जथाभावी बिक्री गरेको पाइएको उनले बताए । अनुगमनमा समिट अस्पतालले म्याद नाघेका औषधि पनि सँगै बिक्री गर्ने गरेको पाइएको छ । यस अस्पतालले औषधि राखेको फ्रिजमा तरकारीसमेत राखेको बताइएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले औषधिमा तरकारी मिसाएर राख्नु गम्भीर लापरवाही भएको अनुगमनकै क्रममा बताएको छ । अनुगमन समितिका संयोजक एवं सहायक प्रजिअ शर्माले अरनिको राजमार्ग नजिक सञ्चालनमा रहेका अस्पतालका फार्मेसीमा बढी मूल्य लिएर बिरामीलाई औषधि बिक्री गरेको र प्राविधिक कमजोरी गरेको देखिएकाले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिइएको बताए । नियम विपरीत सञ्चालन भएका अस्पतालका फार्मेसीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए । फार्मेसी सञ्चालकले भने अहिलेसम्म अनुगमन नगरेको र फार्मेसीको नाफा अस्पतालका सञ्चालक समितिका सदस्यलाई समेत वितरण गर्नुपर्ने भएकाले महङ्गो लिनु परेको बताएका छन् । भक्तपुरमा अनुगमन हुन बाँकी रहेका निजी अस्पताल अभ्युदय अस्पताल, डा इवामुरा मेमोरियल अस्पताल, सिद्धिस्मृति बाल अस्पतालका साथै यहाँका क्लिनिक तथा औषधि पसलले औषधि र सर्जिकल सामग्रीमा बिरामी ठगेर मनोमानी रुपमा रकम असुल्ने गरेको बिरामीका आफन्तहरुले लामो समयदेखि गुनासो गर्दै आएका छन् । रासस

हेटौँडामा छिट्टै विद्युतीय तार भूमिगत गरिने

बाग्मती । बाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको विद्युतीय तारलाई भूमिगत गर्ने निर्णय गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको २०औं कार्यपालिका बैठकले यहाँको मुख्य बजार क्षेत्रका खम्बामा रहेका तारलाई भूमिगत गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै हेटौँडा नगर क्षेत्रबाट विस्तारै खम्बा र तार विस्थापित गरिने बताइएको छ । उपमहानगरपालिकाअनुसार वडा नं १, २, ४, ५ र १० का विभिन्न स्थानका खम्बामा रहेका तारलाई भूमिगत गरिने छ । तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई कार्यपालिकाको बैठकले गरेको निर्णयसँगै सिफारिसपत्रसमेत पठाउने तयारी रहेको नगरप्रमुख मीनाकुमारी लामाले बताइन् । रासस

चिकित्सा शिक्षाको स्नातक तहमा २२ सय जनाले छात्रवृत्तिमा पढ्न पाउने

काठमाडौं । आगामी शैक्षिक शत्रबाट चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न संकायमा अध्ययन गर्ने २२२३ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले अध्ययनको लागि छुट्याइएका कोटाहरुको बाँडफाँड गर्दै २२२३ जना विद्यार्थीले स्नातक तहमा छात्रवृत्तिमा अध्ययन गर्न पाउने जनाएको हो । आयोगले छात्रवृत्तिमा ५५ प्रतिशत खुला र ४५ प्रतिशत शमावेशीतर्फ कोटा छुट्याएको छ । शमावेशीतर्फ छुट्याएको कोटामध्ये महिलालाई २८, दलित महिलालाई ३, मुस्लिम महिलालाई २, दलितलाई ९, आदिवासी जनजातीलाई १५, खस आर्यलाई १७, मधेसीलाई ९, मधेसी दलितलाई ३, थारुलाई ४, मुस्लिमलाई २, पिछडिएको क्षेत्रलाई ४, अपांगता भएकालाई २ र शहीद परिवारलाई २ प्रतिशत कोटा छुट्याइएको छ । जसमध्ये एमबिबिएसतर्फ छात्रवृत्तिमा २३७ जनाले खुलाबाट र १९३ जनाले समावेशीमा कोटा पाएका छन् । त्यस्तै, बीडीएसको छात्रवृत्तिमा १०८ सिट छुट्याइएको छ। जसमा खुल्लामा ५० र समावेशीतर्फ ४९ सिट तोकिएको छ। बीएसी नर्सिङतर्फ खुल्लामा २४१ र समावेशीतर्फ १९८ गरी ४३९ जनाले छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् । त्यस्तै, बिएसी एमआइटीमा २८, बि मिडवाइफ्री साइन्समा ८४, बि अप्टम ५२, बि फार्म एक सय ९०, बीएनएस ४९२, बिएसी एमएलटीमा १२१ र बिपिएचमा २१२ जनाले छात्रवृत्ति कोटामा अध्ययन गर्न पाउने भएका छन् । हेर्नुहोस कुन कलेजमा कुन शिर्षकका लागि कति कोटा छ ?

आयातित तरकारीको मूल्य बढ्यो

उदयपुर । हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरु उत्पादन घटदा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेकोे छ । फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र आयातित महँगो तरकारी किनेर खान बाध्य भइएको उपभोक्ताहरु बताउँछन् । केही समयदेखि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा उत्पादन भएको मौसमी तरकारी सकिएकाले अहिले जिल्ला गाईघाटका उपभोक्ताले आयात गरिएका महँगा सब्जी किनेर खान बाध्य हुन परेको गाईघाट शान्तिनगर टोलका रमा भट्टराईको गुनासो छ । उनी भन्छिन्, ‘स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारी सकियो, सब्जी व्यापारीहरुले बाहिरबाट विभिन्न रासायनिक पदार्थ हालिएका सब्जीहरु खरिद गरेर ल्याउँछन्, त्यो पनि दोब्बर महँगो मूल्यमा किनेर खान बाध्य भएका छौँ ।’ भट्टराईका अनुसार फागुन दोस्रो हप्तासम्म स्थानीयस्तरमा उत्पादन गरिएका हरियो तरकारीहरु सस्तो मूल्यमा नै उपलब्ध हुने गरेको थियो तर अहिले दोब्बर महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ । दश दिनअघिसम्म प्रतिकिलो काउली ४० देखि ५० मा खरिद गरिन्थ्यो तर अहिले आयातित काउलीको मूल्य प्रतिकिलो एक सयदेखि एक सय २५ पुगेकोे गाईघाट सङ्गमटोल निवासी देवकी थापा बताउँछिन् । प्रतिकिलो मूला ५० देखि ६० रहेकामा एक हप्तापछि एक सय प्रतिकेजी पुगेको छ भने अन्य हरियो सब्जीको मूल्य पनि दोब्बरभन्दा बढीले वृद्धि हुनाका साथै बासी, सडेगलेको सब्जी पनि किन्नुपर्ने अवस्था आएको उपभोक्ताले गुनासो गर्न थालेका छन् । गाईघाटका एक सब्जी व्यापारी सुकदेव साह भन्छन्, ‘फागुनको पहिलो हप्तासम्म जिल्लाभित्र नै उत्पादन भएका ताजा सब्जीहरु खरिद गरेर सस्तो मूल्यमा बिक्री गरियो अब जिल्लाभित्र उत्पादन भएको तरकारीहरु सकियो, जिल्ला बाहिरबाट सब्जी खरिद गरेर ल्याउँदा बढी मूल्य तिनुपरेकाले बिक्री गर्दा बढी मूल्य लिन बाध्य भएका छौँ ।’ आफूहरुले सब्जी तरकारी खरिद गर्न जिल्लाबाहिर सुनसरी झुम्का, फारवेसगन्ज, भीमनगरसम्म पुगेर ल्याउन पर्दा र खरिद गरिएका स्थानहरुमा नै बासी सब्जीहरु पाइने गरेकाले ताजा सब्जी बिक्री गर्न नसकिएको सब्जी व्यापारीहरु बताउँछन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले हिउँदे तरकारी पाँच सय ६८ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ भने बर्खे तरकारी सात सय ४६ हेक्टर जमिनमा उत्पादन हुने गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका बेलका र कटारी नगरपालिकाका विभिन्न क्षेत्रमा तरकारी खेती हुँदै आएको र त्यहाँका क्षेत्रलाई हरियो तरकारी पकेट क्षेत्र घोषणा गरिए पनि अझै पनि यो जिल्ला तरकारीमा आत्मनिर्भर बन्न सकेको छैन । कृषि ज्ञान केन्द्रका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले यो जिल्ला अहिलेसम्म पनि मौसमी तरकारी खेतीमा आत्मनिर्भर बन्न नकेका कारण चैत, वैशाख र जेठ महिना बाहिरी तरकारीमा भर पर्नु परेको बताउँछन् । अहिले जिल्लाभित्र काउली, बन्दा, टमाटर गाजर, मूला तथा भिन्डी जिल्ला बाहिरबाट आयात हुने गरेको एक सब्जी व्यापारी राजेश चौधरीको भनाइ छ । रासस

नेप्सेमा प्रभु बैंकको १० करोड ७७ हजार कित्ता सूचीकृत, सेञ्चुरी बैंकको सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु बैंकको सेयर सूचीकृत भएको छ । साविकको सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरे पश्चात कामय सेयर नेप्सेमा प्रभु बैंकमा सूचीकृत भएको हो । साविकको सेञ्चुरी बैंकलाई प्रभु बैंकले १ः१ स्वाप रेसियो अनुपातमा प्राप्ति गरेपश्चात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली अनुसार दोस्रो बजारमा किनबेच गर्न मिल्ने गरी उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो । अब नेप्सेमा प्रभु बैंकको कूल २३ करोड ५४ लाख २४ हजार ८९९ कित्ता सेयर पुगेको छ भने नेप्सले सेञ्चुरी बैंकको सूचीकरण खारेज भएको छ ।

च्याउखेतीबाट २३ जनालाई रोजगारी, वार्षिक १० करोडको कारोबार

सर्लाही । बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागाईंले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताएका उनी तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौं ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित भएका हुन् । काठमाडौं उपत्यकामा च्याउ र गोलभेँडाको राम्रो मागदेखि पनि तत्कालीन समयमा एक लाख लगानीमा उनले ध्रुव कृषि फर्म प्रालि दर्ता गरी च्याउखेती सुरु गरेका हुन् । ‘जब मैले तराईका जिल्लाबाट ठूलो मात्रामा गोलभेँडा र च्याउ काठमाडौं लैजाँदै गरेको देखेँ तब यो सोच पलाएको थियो’, उनले भने, ‘त्यसपछि यो खेतीमा राम्रो सम्भावना छ देखेरै विदेशको जागिर छाडेर यसैमा सक्रिय भएको हुँ ।’ एक लाख लगानीमा एक सय ५० पोका च्याउबाट सुरु भएको व्यवसायमा हालसम्म ११ करोड भइसकेको छ भने १७ जनाले रोजगारी पनि पाएका छन् । उनले हाल अहिले एक बिघा जमिनमा ठूला आठ वटा अत्याधुनिक टनेलका बनाएका छन् । फर्ममा उत्पादित च्याउको थोक बिक्रीबाट वार्षिक १० करोडसम्म कारोबार गरेको उनको भनाइ छ । व्यवसायमा आमा, बुबा, श्रीमति र छोराको राम्रो साथ पाएका उनले कोरोना महामारीको समयमा विद्युत् सर्ट भएर फर्ममा आगलागी भइ क्षति हुँदा करिब नौ करोड ऋण लागेको बताए । कक्षा १२ सम्मको अध्ययन गरेका चौलागाईं बिहानदेखि रातिसम्म फर्ममा कर्माचारीसँगै खटिन्छन् । ‘च्याउबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पु¥याउनुपर्छ’, उनले भने, ‘फर्ममा कन्या र गोब्रे च्याउ उत्पादन भइरहेको छ ।’ हाल फर्ममा कन्या, गोब्रे, सिताके, ज्ञानडोर्न र पत्याको लगायतका च्याउका जातको बिउ उत्पादन गर्नुका साथै कम्पोष्ट बनाउने पनि काम भइरहेको जानकारी दिए । यहाँ उत्पादन हुने च्याउ स्थानीय बजारका साथै मकवानपुर, चितवन र काठमाडौंलगायतका बजारमा पुग्ने गरेको चौलागाईंको भनाइ छ । उनले च्याउ हाल प्रतिकिलो तीन सय ५० का दरले बिक्री गर्दै आएका छन् । २३ जनालाई जागिर चौलागाईंले प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सिटिइभिटी)बाट तालिम लिएका छन् । उनले तनहुँका दुई जना र बुटवलका पाँच जना गरी सात जनालाई आवासीय जागिर पनि दिएका छन् । फर्म हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्ने, बिउ उत्पादन गर्ने लगायतका काम गर्नुपर्छ । यो बाहेक आवश्यकता अनुसार अन्य काम गर्न स्थानीय १० जनालाई पनि फार्ममा राखेका छन् । आफू, श्रीमती, छोरा र आमाबुबाका साथै १७ जना मजदुर गरी २३ जनाले निरन्तर फर्ममा काम गरिरहेका छन् । उनले आफू यतिबेला उत्पादन वृद्धि गर्दै बजारीकरण बढाउने प्रयासमा छन् । सुरुमा बागमती नगरपालिकाले १० लाख अनुदान दिएको र त्यसपछि कही कतैबाट आफूले सहयोग नपाएको चौलागाईंले सुनाए । रासस

जहाज बिक्री नभएपछि चिनियाँ कम्पनीलाई नै फिर्ता पठाइँदै

काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट ल्याएका जहाज फिर्ता पठाउने तयारी थालेको छ । वि.स‌ं. २०६८ सालमा चीनबाट ल्याइएका ६ थान चिनियाँ जहाज बिक्री नभएपछि निगमले सम्बन्धित कम्पनी एभिक इन्टरनेशनललाई नै फिर्ता पठाउने तयारी थालेको हो । जहाजको आम्दानीभन्दा सञ्चालन खर्च बढी भएपछि निगम सञ्चालक समितिले २०७७ को साउन १५ गतेदखि चिनियाँ जहाज ग्राउण्डेड गरेको थियो । जहाज ग्राउण्डेड गरेपछि बिक्रीको तयारी थालेको थियो । अर्थ मन्त्रालयले निगमलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई उक्त जहाज भाडामा लगाउन नभए बिक्रीको प्रक्रिया थाल्न निर्देशन दिएको थियो । अर्थको निर्देशन अनुसार जहाज भाडामा लिन कुनै पनि कम्पनी नआएपछि निगमले सम्बन्धित कम्पनीलाई नै जहाज फिर्ता लिन पत्र पठाइसकेको छ । भाडामा नगएपछि अर्थ मन्त्रालयले नै गत डिसेम्बर १४ अर्थात मंसिर २८ गते निगमलाई पत्र पठाउँदै एभिक इन्टरनेशनललाई जहाज बिक्री गर्न पत्र पठाएको थियो । अर्थको सहमति अनुसार निगम सञ्चालकले जहाज लिनका लागि पत्र पठाइसकेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । ‘अर्थको स्वीकृति अनुसार निगम सञ्चालकले एभिक इन्टरनेशनललाई जहाज लिनका लागि पत्र पठाइसकेको छ, उताबाट अहिलेसम्म मन्त्रालयमा कुनै जानकारी आएको छैन’, मन्त्रालय स्रोतले भन्यो । ४० वर्षयता नेपाल वायुसेवा निगमले आन्तरिक सेवामा रहेका ट्वीनअटर डीएचसी ६ मोडलका जहाजहरुलाई विस्थापन गर्न भन्दै २०६८ सालमा चिनियाँ जहाज खरिद योजना अगाडि बढेको थियो । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री लोकेन्द्र विष्ट मगर र वर्षमान पुन अर्थमन्त्री रहेका बेला ६ थान चिनियाँ जहाज खरिद गरिएको थियो । पर्यटन मन्त्रालयले २०६८ कात्तिकमा निगमका नायव उप–महाप्रवन्धक गणेश ठाकुरको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको थियो । उक्त समितिमा निगमका वरिष्ठ क्याप्टेनद्वय विजय लामा र श्रवण रिजाल तथा तीनवटै मुख्य विभाग (इन्जिनियरिङ, कमर्शियल, अपरेशन) का वरिष्ठ अधिकारी सदस्य थिए । ऋण तिर्न बाँकी चीनको एक्जिम बैंकबाट तीन अर्ब ७२ करोड ऋण र दुई अर्ब ९४ करोड अनुदान गरी ६ अर्ब ६७ करोड रुपैयाँमा ६ थान चिनियाँ जहाज ल्याएको थियो । निगमले सरकारमार्फत चीनको एक्जिम बैंकलाई दुईवटा एमए–६० को एक अर्ब ६५ करोड आठ लाख ८३ हजार र चार वटा वाई–१२ को एक अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ ऋण तिर्नु बाँकी नै रहेको छ । ४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो  भने २ वटा जहाज अनुदान स्वरुप नेपाललाई दिईएको थियो । एक महिनाभित्र जहाज बिक्री जहाज बिक्रीका लागि भ्यालुएसनको काम भैरहेको जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्का अर्थ मन्त्रालयको स्वीकृति अनुसार जहाज बिक्रीको तयारी भएको बताउँछिन् । ‘हामीले जहाज बिक्रीका लागि अहिले भ्यालुएसनको काम गरिरहेका छौँ, अमेरिकाको कम्पनीले भ्यालुएसनको जिम्मा पाएको छ, अबको एक महिनाभित्र जहाज बिक्रीको टुंगो लाग्छ,’ उनले भनिन् उनले जहाज बिक्रीको प्रक्रिया सुरु भएको भन्दै एभिक इन्टरनेशनललाई फिर्ता पठाउन नलागिएको दाबी गरिन् । निगमले चिनियाँ जहाज भाडामा दिन २ पटकसम्म टेन्डर गरेको थियो । निगमको ६ वटा चिनियाँ जहाजमध्ये एउटा २०७६ चैतमा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएपछि उडान गर्न योग्य नभएको जहाज बाहेक ५ वटा जहाज भाडामा लगाउनका लागि २ पटकसम्म टेन्डर गरेको थियो । निगमले गरेको २ पटकसम्मको टेन्डरमा कसैले चासो नदेखाएपछि पुनः जहाज नै बिक्री गर्ने टेन्डर प्रक्रिया सुरु गरेको थियो । ६ वर्षमा आधा घट्यो खरिद मूल्य निगमको व्यवस्थापनले सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) गराउँदा निगमको सम्पत्तिअन्तर्गतको चिनियाँ जहाजको मूल्य ३ अर्ब ८१ करोड १० रुपैयाँ मात्रै मूल्यांकन गरिएको छ । चार्टर्ड एकाउन्टेन्ट फर्म एसएआर एसोसिएट्सले सम्पन्न गरेको निगमको डिडिए प्रतिवेदन अनुसार २०७६ असार मसान्तसम्म ६ थान चिनियाँ विमानको मूल्य मूल्यांकलन गरेको थियो । ६ अर्ब ६६ करोड रुपैयाँ मूल्यमा ल्याईएको उत्त जहाजको मूल्य पाँच वर्षमा नै दोब्बर घटेको हो । जहाज नउडाई ग्राउन्डेड गर्दै जाने हो भने अझै मूल्य घट्दै जानेछ । निगमले ५६ सिट क्षमताका २ थान एमए–६० र १९ सिट क्षमताका ४ थान वाई–१२ ई जहाज ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ६ वटा जहाज नेपाल ल्याईएको थियो । खरिद गरेर ल्याईएको तीन थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो । २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ वटामध्ये एक थान वाई १२ ई र एक थान एमए–६० अनुदान र तीन थान वाई १२ ई र एक थान एमए–६० जहाज ऋणमा खरिद गरिएको थियो । अनुदान बाहेकका तीन दुई वाई १२ ई र एउटा एमए ६० विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको हो ।