विकासन्युज

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट, ८ हजार ९५ जनालाई १० कित्ता

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ आज शुक्रबार बाँडफाँट हुने भएको छ । लघुवित्तको आईपीओ शुक्रबार बिहान ११ बजे बाँडफाँट गरिने बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी दिएको छ । लघुवित्तले फागुन १८ गते फागुन २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ भने १ हजार ५ सय कित्ता कर्मचारी, ४ हजार ८५० कित्ता सामूहिक लगानी कोष र ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३२ हजार ९७३ जना आवेदकले १ करोड ६७ लाख ६५ हजार कित्ताका लागि १ अर्ब ६७ करोड ६५ लाख रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो माग गरिएको भन्दा २ सय गुणा बढी आवेदन परेको हो । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ हजार ९५ जना आवेदकले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुने देखिन्छ ।

रिपोको ब्याजदर फेरि न्यून विन्दुमा

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाउने मौद्रिक औजार रिपोको ब्याजदर पनि घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार जारी गरेको १४ दिन अवधिको १५ अर्ब रुपैयाँ बराबरको रिपोमा औसत ७.७९ प्रतिशत ब्याजदर कायम भएको छ । यो चालू आर्थिक वर्ष (आव) कै दोस्रो न्यून ब्याजदर हो । यो वर्ष राष्ट्र बैंकले १३ पटक रिपो जारी गरी २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ बजारमा पठाएको छ । यसमा सबैभन्दा बढी पुस १५ गतेको रिपोमा औसत ८.५७ प्रतिशत ब्याजदर कायम भएको थियो । उक्त रिपोमा बैंकहरूले अधिकतम १०.१० प्रतिशतसम्म ब्याज बोलकबोल गरेका थिए । माघ ५ गते रिपोको ब्याजदर ७.५८ प्रतिशतसम्म ओर्लिएको थियो । बिहीवारको रिपोका लागि बैंकहरूले गरेको बोलकबोलमा अधिकतम ब्याजदर पनि ८.५० प्रतिशत मात्र छ । बिहीवार १६ ओटा बैंक, वित्तीय संस्थाले ६४ ओटामात्र बोलकबोल पेश गरेका छन् । चालू आवको मौद्रिक नीतिमा अन्तरबैंक ब्याजदर बैंकदरभन्दा २ प्रतिशत विन्दुले तलमाथि हुँदा रिपोररिभर्स रिपो जारी गर्नुपर्ने उल्लेख छ । बुधवार बजारमा अन्तरबैंक ब्याजदर ७.०१ प्रतिशत रहे पनि केन्द्रीय बैंकले रिपो जारी गरेर बजारमा पैसा पठाएको हो । राष्ट्र बैंकले यसअघि फागुन १८ गते १४ दिनको रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गरेको थियो । उक्त रिपो परिपक्व भएकै दिन १५ अर्ब रुपैयाँको रिपो जारी गरेको हो । प्रणालीमा साधारण तरलता अभावको अवस्थामा पनि मौद्रिक व्यवस्थापन विभागले रिपोररिभर्स रिपो जारी गर्न सक्ने प्रावधान छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

नेप्सेमा २ कम्पनीको बोनस सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । गुराँस लघुवित्तको ४ प्रतिशत बोनस वापतको ३९ हजार कित्ता सेयर सूचिकृत नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कूल ४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस वापतको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सहकारीमा बेथिति, करोडौँ रकम जोखिममा

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित केही सहकारी संस्थाहरू बेथितिका कारण संकटमा परेका छन्। विशेषगरी काठमाडौं केन्द्रीय कार्यालय भई मुलुकका विभिन्न सहरमा शाखा खोलेर कारोबार गर्दै आएका सहकारीमा बेथिति बढी छ । बेथितिका कारण सहकारी आर्थिक संकटमा परेसँगै बचतकर्ताको रकम पनि जोखिममा परेको छ । रकम डुब्ने भयले बचतकर्ता चिन्तित बनेका छन् । काठमाडौँमा मुख्य कार्यालय भई बुटवलमा शाखा सञ्चालन खोलेको शिवशिखर बहुउद्देश्यीय सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि सूचना टाँसेर कार्यालय बन्द गरेको छ । बुटवल उपमहानगरपालिका-१० योगीकुटीमा शिवशिखर सहकारीको शाखा कार्यालय छ । शिवशिखरले ग्राहक आकर्षित गर्न योगीकुटीमै सपिङ सेन्टरसमेत सञ्चालन गरेको थियो । तर उसले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सहकारीको कार्यालयसँगै गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स पनि बन्द गरेको हो । कार्यालय नै बन्द गरेर सञ्चालक, व्यवस्थापक सम्पर्कविहीन बनेपछि बचतकर्ता आत्तिएका छन् । बुटवलकी लक्ष्मी श्रेष्ठले शिवशिखरमा जम्मा गरेको १ लाख ३६ हजार रूपैयाँ डुब्ने चिन्ताले निदाउन नसकेको बताइन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

कामपाको कानून तर्जुमा बारे राष्ट्रियसभाको चासो

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्था समितिले काठमाडौँ महानगरपालिकाको कानून तर्जुमा प्रक्रिया र कार्यान्वयनको अवस्थाका बारे चासो देखाएको छ । समितिका सभापति वेदुराम भुसालको नेतृत्वमा बिहीबार कामपा आएको टोलीले कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसँग भेटर विधि निर्माण प्रक्रियाका विषयमा छलफल गरेको हो । छलफल विशेषगरी स्थानीय ऐन, कार्यविधि, निर्देशिका निर्माण कसरी भइरहेको छ ?, कुन कुन ऐन निर्माण भए ?, ती ऐन निर्माणको आधार के हो ?, कार्यान्वयन कसरी भइरहेका छन् ? भन्ने विषयमा केन्द्रित रहेको थियो । छलफलमा कामपा उपप्रमुख डङ्गोलले अन्तर सरकार समन्वय, साझेदारी र सहकारितालाई बलियो बनाउने तथा राष्ट्र सेवकलाई सेवाप्रति समर्पित हुन प्रोत्साहन गर्नेलगायत स्थानीय सरकार सञ्चालन गर्न सहज हुने विभिन्न क्षेत्रगत विषयमा सङ्घीय सरकारले कानून निर्माण गर्नुपर्ने धारणा राखे । छलफलमा विसं २०७२ अगाडि तर्जुमा गरिएका कानूनी प्रबन्ध कुन अवस्थामा छन् ? कानून निर्माण गर्दा सरोकारवालासँग छलफल गर्नु हुन्छ कि हुन्न ? अहिलेसम्म कतिवटा कानून बनाउनुभयो ? के सबै कानून कार्यान्वयनमा छन् ? लगायत प्रश्न राष्ट्रियसभाको विधायन व्यवस्था समितिबाट राखिएको थियो । कामपाले २०७२ को संविधान जारी भएपछि ऐन, कार्यविधि, नियमावली, कार्यविधि गरेर ८४ कानून तर्जुमा गरेको छ । यसमा केही संशोधन भएका पनि छन् । ८४ वटामध्ये ८० महानगरको आन्तरिक जनशक्तिबाट बनाइएको हो भने ४ प्राविधिक विषयका कानून परामर्शदातालाई मस्यौदा गर्न लगाएर प्रक्रिया अगाडि बढाएको कामपाले जानकारी दिएको छ । कामपाको कानून निर्माण अभ्यासका विषयमा जानकारी गराउँदै कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले भने, ‘कानून तर्जुमा गर्दा सङ्घीय सरकारले अवलम्बन गरेका सबै प्रक्रिया पूरा गर्ने गरेका छौँ ।’ विभागबाट कानून निर्माणका लागि आएका मागलाई नगरसभाअन्तर्गत ३ वटा समिति र कार्यपालिकाअन्तर्गत १३ विषयगत समितिमार्फत छलफल गरेर कार्यपालिका हुँदै विधेयकलाई नगरसभामा र मापदण्ड, कार्यविधि, निर्देशिकालगायत प्रबन्धलाई कार्यपालिकाबाट पारित गर्ने गरिएको जानकारी गराइएको थियो ।

स्रोत नखुलेको १० लाख भारतीय मुद्रासहित युवक पक्राउ

काठमाडौं । महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमाप्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । युवक पाण्डे भारतबाट ज ४ प ७०३४ नम्बरको मोटरसाइकलमा चढी पैसा बोकेर भारतबाट नेपाल आउँदै गर्दा प्रहरी चौकी भिट्टामोडलाई शङ्का लागि जाँच गर्दा उनी स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले ९ लाख ९८ हजार तीन सय भारतीय रुपैयाँ बरामद गरेको हो । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

उपराष्ट्रपति पदका लागि आज निर्वाचन, कसले मार्ला बाजी ?

काठमाडौं । मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ । उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसङ्केत गर्नुपर्नेछ । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ । निर्वाचनमा सङ्घीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो । उपराष्ट्रपतिको पदावधि ५ वर्षको हुनेछ । मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो । हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन छन् ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं भित्रका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग ए्यापबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइनेछ । एक पटकको खरिदको १०० सम्म र योजना अवधिभर ३०० सम्म डिस्काउन्ट पाइने बैंकले जनाएको छ । बैंकको अनुसार यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ । ग्लोबल आइएमई बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।