सरकारको स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्न सकेन
घोराही । दाङका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले चार वर्षदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो । आर्थिक अभावका कारण समस्यामा परेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँज पु¥याउने उद्देश्यले कार्यक्रम लागु भए पनि जिल्लामा खासै आकर्षण नदेखिएको राष्ट्रिय बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले बताए । चार वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको भए पनि बीमा गर्नेको सङ्ख्या बढ्न नसकेको उनको भनाइ छ । प्रमुख वलीका अनुसार जिल्लाका दशवटै पालिकामा ३२ हजार आठ सय बढीले बीमा गरेका छन् । हालसम्म १६ हजार नौ सय ३३ महिला र १५ हजार आठ सय ६७ पुरुषले बीमा गरेका हुन् । सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा १५ हजार पाँच सय ९१ बिमित छन् । तुलसीपुर उपमहानगरपालिकामा सात हजार सात सय ३८, लमही नगरपालिकामा एक हजार सात सय ६७, बबई गाउँपालिकामा एक हजार चार सय ३९, बङ्गलाचुली गाउँपालिकामा छ सय ७५, दङ्गीशरण गाउँपालिकामा आठ सय ९७, गढवा गाउँपालिकामा सात सय ७९, राजपुर गाउँपालिकामा पाँच सय ३३, राप्ती गाउँपालिकामा एक हजार चार सय ४३ र शान्तिनगरमा एक हजार ४० बीमित रहेका प्रमुख वलीले जानकारी दिए । उनका अनुसार हालसम्म बीमा गर्नेमध्ये सामान्य परिवारका १७ हजार आठ सय ३३, ज्येष्ठ नागरिक १० हजार दुई सय ३६, अति अशक्त एक हजार तीन सय ५२, महिला स्वास्थ्य स्वयम्सेविका एक हजार एक सय ९१, एचआईभी सङ्क्रमित दुई सय २८, एमडिआर टिभी १० र लेप्रोसी रोगका चार जना छन् । ‘आर्थिक रूपमा समस्यामा परेका परिवारलाई उपचार सेवा लिन सहजताका लागि बीमा कार्यक्रम ल्याइएको भए पनि चेतनाको अभावका कारण बीमा गर्नेको सङ्ख्या बढ्न सकेको छैन’, प्रमुख वलीले भने । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र स्युजा र बङ्गलाचुली अस्पतालले बीमा गरे बापत उपचारका लागि रकम उपलब्ध गराउँदै आएका छन् । रासस
नेप्सेमा २ कम्पनीको १ करोड ६१ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सिद्धार्थ बैंक र बिन्धवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको गरी कूल १ करोड ६१ लाख ५५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस वापतको १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बिन्धवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस वापतको ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.०२६३ प्रतिशत नगद गरी कूल ५.०२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सरकारमा सहभागी हुने काँग्रेसकाे निर्णय
काठमाडौं । नेपाली काँग्रेसले सरकारमा जाने निर्णय गरेको छ । आईतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको पन जानकारी दिए । उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि सरकार विस्तार हुने बताए । ‘संविधानको रक्षा, संवद्र्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित काँग्रेस सरकारमा जाने निर्णय भएको छ, आज बस्ने संसद बैठकबाट काँग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने छ,’ उनले भने । यस्तै, प्रवक्ता महतले बैठकमा कसको निर्णयमा काँग्रेस सरकारमा सहभागी हुने भन्ने निर्णय भने नभइसकेको बताए । उनले काँग्रेसले मन्त्रीहरु सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर पठाउने बताए ।
एकैदिन २९ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । आइतबार सुन एकैदिन २९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य बढेर तोलाको एक लाख १० हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ आज प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कायम भएको छ । यस्तै, आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।
देशभरका १३ क्याम्पसमा रोकिए स्ववियु निर्वाचन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिए । चौध वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन् । बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् । प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखियता नियमित हुनसकेको छैन । उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सररस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इञ्जीनियरिङ क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पस मतदान सुरु भएको उनले जानकारी दिए । मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ । यी क्याम्पसमा स्ववियु निर्वाचन रोकिए उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्श क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध रहेको छ । नेपाल कमर्श क्याम्पसमा हिजो अन्तिम समयमा आएर निर्वाचन रोकिएको हो । यस्तै, सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै त्रिचन्द्र क्याम्पसमा यही चैत ९ गतेका लागि तोकिएको छ । रासस
सुदूरपश्चिममा सवारी दुर्घटना : तीन वर्षमा पाँच सय बढीको मृत्यु
बैतडी । सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौवटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन । गत तीन वर्षयता यहाँ एक हजार दुई सय ४६ सवारी दुर्घटना भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको देखिएको छ । उक्त सवारी दुर्घटनामा परेर यहाँ पाँच सय तीनको ज्यान गएको प्र्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल छन् । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै यहाँ एक सय ८७ सवारी दुर्घटना भएकामा एक सय २१ जनाले ज्यान गुमाएका छन् । यो आवमा एक सय ४६ गम्भीर र एक सय ५७ सामान्य गरी तीन सय तीन जना घाइते भएका छन् । यस्तै, गत आव २०७८/७९ मा पाँच सय एक सवारी दुर्घटनामा एक सय ९६ जनाले ज्यान गुमाएका छन् । आव २०७७/७८ मा पाँच सय ५८ सवारी दुर्घटनामा एक सय ८६ जनाको मृत्यु भएको छ । यी दुई वर्षमा पनि सवारी दुर्घटनामा परेर सयौँ जना अङ्गभङ्ग भएका छन् । दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको उल्लङ्घन नै देखिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए । उनले भने, ‘सवारी दुर्घटना हुने मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु नै हो, सबैले सवारी चालकले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना निकै कम हुने देखिन्छ ।’ सवारीसाधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरवाही र सडकको अवस्थाका कारण बर्सेनि सवारी दुर्घटना बढ्दै गइरहेका छन् । मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्नु, ग्रामीण क्षेत्रमा पनि सवारीसाधनको गति कम नहुनु, सडकमा सवारीको चाप बढ्दै जानु, सडक पुराना र साँघुरो हुनु र सवारीचालक तथा सवारीधनीले प्रहरीलाई छलेर भए पनि क्षमताभन्दा बढी भार बोक्नुलगायतले सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन, मोबाइल प्रयोग गरेर सवारी चलाउनु, यात्रु बोक्ने साधनमा सवारीचालक र सवारीधनीले जनावरदेखि खाद्यान्नसम्म बोकेर ग्रामीण क्षेत्रमा गाडी चलाउने र त्यसतर्फ प्रहरीको ध्यान कम जाँदा बढी दुर्घटना भइरहेको छ । यस्तै सवारीका कारण हुने दुर्घटनामा सवारीसाधनमा आउने यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्ती पनि कारण छन् । जस्तै चढ्दा र ओर्लँदा ख्याल नगर्दा, झुन्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होस नपुर्याएर पनि दुर्घटना भएका छन् । सडकका कारण हुने दुर्घटनामा भने खाल्डाखुल्डी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो-ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडकलगायत छन् । यस्तै हुस्सु, कुहिरो, बाढी-पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेका छन् । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के जाँच, टाइमकार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास भइरहेको प्रमुख गिरीको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेला-बेलामा सचेत गराउने कार्य गरेको छ । उनले भने, ‘नियमित जाँचसँगै जनचेतनामूलक सन्देश दिँदै आएका छौँ, प्रदेशभरि दुई सय बढी सचेतनामूलक होर्डिङ बोर्ड राखेका छौँ, चालकसँग एक मिनेट कार्यक्रम सञ्चालनमा छ ।’ रासस
क्याप्टेन आचार्यले आफ्नै हवाइ कम्पनी खोले, पौने १ अर्ब लगानीमा ९० जना बढीले रोजगारी पाउने
काठमाडौं । शिवम् एयरलाइन्स उद्योग विभागमा दर्ता भएको छ । आन्तरिक रुममा उडान गर्ने गरी कुल ८४ करोड ९१ लाख ७८ हजार ६२५ रुपैयाँ लगानी रहने गरी गत माघ ९ गते उद्योग विभागमा दर्ता भएको हो । शतप्रतिशत नेपाली लगानी रहेको शिवम् एयरलाइन्सले उद्योग सञ्चालनमा ल्याएपछि ९८ जनालाई रोजगारीसगैँ ३० किलोबाट विद्युत उपयोग गर्नेगरी उद्योगबाट स्वीकृति पाएको छ । शिवम् एयरलाइन्सका सञ्चालक क्यापटेन दिनेश आचार्य हुन । उनीसँग तीन दशक नेपाल तथा भारतका वायुसेवा कम्पनीका जहाज उडाएको अनुभव रहेको छ । लामो समय उडान अनुभव बोटुलेका आचार्य आफैले लगानी गरेर नयाँ एयरलाइन्सका रुपमा शिवम् एयरलाइन्स सञ्चालन गर्न लागेका छन् । आप्नो क्षमता र सीपको प्रयोग गर्न आफैले एयरलाइन्स कम्पनी खोलेको उनको भनाइ छ । ‘मैले हवाई क्षेत्रमा ३० वर्ष काम गरे, नेपाली तथा भारतीय वायुसेवा कम्पनीहरुमा क्यापटेन भएर लामो समय काम गर्न मलाई आफैले वायुसेवा कम्पनी खोल्न मन लाग्यो’, केही समय अघि उनले विकासन्युजसँग भने, ‘आप्नो सीप र क्षमताको प्रयोग गर्दै साथीको सहयोगमा नयाँ वायुसेवा कम्पनी सञ्चालन गर्दैछु।’ सौर्य एयरलाइन्सबाट काम छोडेर नयाँ एयरलाइन्स कम्पनी खोल्ने तयारी गर्दा नेपालमा कोभिड देखिएपछि बाँकी कामहरु रोकिएको उनको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले शिवम् एयरलाइन्सलाई उडान अनुमति दिएको छ । लामो समयको तयारी पश्चात् उक्त कम्पनीलाई मन्त्रालयले अनुमति दिएको हो । मन्त्रालयबाट अनुमति पाएको सो एयरलाइन्स कम्पनीले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) बाट एनओसी पाउन बाँकी छ । प्राधिकरणबाट उडानका लागि पाँच चरणको प्रक्रिया पूरा भएसँगै छिट्टै सेवा सुरु गर्ने योजना कम्पनी रहेको छ । शिवम् एयरलाइन्सका अध्यक्ष समेत रहेका क्यापटेन आचार्यले अमेरिकाबाट पाइलट कोर्श पूरा गरेका हुन् । अमेरिकाको पढाइ सकेर सन् १९९२ देखि नेपाली आकाशमा विमान उडाएका उनले भारतको जुन एयरमा समेत लामो समयसम्म काम गरे । निकोन एयरबाट हवाई उडानको सुरुवात गरेका उनले आकाशमा मात्रै १७ हजार घण्टाभन्दा धेरै उडान गरिसकेका छन् । निकोन एयरलाइन्सबाट उडानको सुरुवात गरेका उनले एभरेष्ठ एयर, बुद्ध, यती र सौर्य एयरलाइन्समा लामो समय क्यापटेनको रुपमा काम गरिसकेका छन् । नेपालका नाम चलेका एयरलाइन्स बाहेक उनले इन्डियाको जुन एयरमा समेत लामो समयसम्म काम गरे । तीन जहाजबाट दुर्गममा उडान गर्ने प्राधिकरणबाट एनओसी पाएपछि उडान सञ्चालनको तयारी गर्ने शिवम् एयरलाइन्सले जनाएको छ । सुरुवाती चरणमा तीन वटा साना जहाजमार्फत् दुर्गमका क्षेत्रमा उडान गर्ने गरी मन्त्रालयबाट अनुमति पाएको छ । ‘मन्त्रालयबाट आधिकारिक पत्र आएको छ, नागरिक उड्डयन प्राधिकरणबाट बाँकी प्रक्रिया पूरा गरी अबको एक वर्षभित्रै सेवा सञ्चालनमा ल्याउने योजना बनाएका छौँ,’ उनले भने । उनका अनुसार शिवम्ले पोखरालाई केन्द्रबनाएर जोमसोम, नेपालगन्जबाट सिमकोट, हुम्ला काठमाडौंबाट जुम्ला, लुक्ला लगायतका दुर्गमका गन्तव्यमा उडान भर्नेछ । कम्पनीमा आचार्य बाहेक व्यवसायी दिपक श्रेष्ठको लगानी रहेको छ । कम्पनीले ट्विनअटर–४०० (डीएच ६४००) सिरिज र लेट फोर–टेनमध्ये कुनै एक किसिमको जहाजमार्फत सेवा सुरु गर्ने योजना बनाएको बताइएको छ ।
सडक पूर्वाधारका लागि गुरुयोजना बनाउँदै अजिरकोट, निर्माण साढे दुई महिनामै सक्ने
फाइल फोटो गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सडक पूर्वाधार विकासका लागि गुरुयोजनाको काम अघि बढाएको छ । गाउँपलिकाले पालिकाको जनघनत्व, आवश्यकता, बढ्दो सहरीकरणलाई ध्यानमा राखेर सडक पूर्वाधार विकासको कामलाई तीव्ररूपमा अगाडि बढाउने उद्देश्यसहित यातायात गुरुयोजना नै निर्माणको थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । गुरुयोजना निर्माणका लागि अहिले पालिकाभित्रका सबै वडामा सार्वजानिक सुनुवाइको काम सुरु भइसकेको उनले बताए । ‘अहिले सबै वडामा सुनुवाइ हुने क्रम चलिरहेको छ,’ उनले भने, ‘कुन सडकलाई कस्तो मापदण्ड बनाउने, सडक निर्माण गर्न लागिएको ठाउँका जनताको गुनासो के छन् भनेर राय सुझाव सङ्कलनको काम भइरहेको छ ।’ लगत्तै परामर्शदाता, भूगर्वविद्, अमिन, इञ्जीनियरलगायतका प्राविधिकको टोलीले गुरुयोजना निर्माणका लागि सुझावसहितको प्रतिवेदन तयार पार्ने उनले बताए । करिब साढे दुई महिनाभित्रमा गुरुयोजना निर्माणको काम सम्पन्न भइसक्ने अध्यक्ष देवकोटाको भनाइ छ । ‘एकपटक निर्माण गरेको सडक दुई-चार वर्षमा भत्काएर पुनः नयाँ बनाउनुपर्ने बाध्यता सबैतिर छ, त्यसले समय र लगानीसमेत बर्बाद भइरहेको छ,’ उनले भने, ‘यसलाई रोक्न र विकासलाई दीर्घकालीन लक्ष्यसहित तीव्रगतिमा अघि बढाउन पालिकाले यातायात गुरुयोजना निर्माणको काम अघि बढाएको हो ।’ उनले पालिकाले आफ्नै यातायात गुरुयोजना बनाएपछि पालिकाभित्र सडक निर्माण गर्दा दीर्घकालीन लक्ष्य बनाएर योजनाबद्धरूपमा सडक निर्माणको थालनी गरिनेसमेत बताए । ‘गुरुयोजना निर्माण गर्दा पालिकाभित्रका सडकलाई चार भागमा वर्गीकरण गर्न लागिएको छ,’ अध्यक्ष देवकोटाले भने- ‘वर्गीकरणका क्रममा सडकका मापदण्डसमेत निर्धारण गरिनेछ र त्यसका आधारमा मात्र सडक निर्माणको काम अघि बढ्छ ।’ उनका अनुसार गाउँपालिकाले निर्माण गर्न लागेको गुरुयोजनामा ‘क’ वर्गको सडकको न्यूनतम मापदण्डअनुसार चौडाइ १४ मिटर रहनेछ भने ‘ख’ वर्गको सडकको न्यूनतम मापदण्डमा चौडाइ १० मिटर रहने व्यवस्था गरिनेछ । त्यस्तै ‘ग’ वर्गको सडकको चौडाइ न्यूनतम आठ मिटर र ‘घ’ वर्गको सडकको मापदण्ड चौडाइ न्यूनतम छ मिटर कायम गरिने अध्यक्ष देवकोटाले बताए । ‘हामीले एकपटक सडक निर्माण गरिसकेपछि अबको ५० वर्षसम्म अजिरकोटको भविष्य यसले सुनिश्चित गर्दछ,’ उनले भने- ‘यस्तो रणनीतिक महत्वका विषयवस्तुलाई ढिलाइ गर्दा हामीले भोलिको गाउँपालिकालाई व्यवस्थित गर्न सक्दैनौँ भनेर गुरुयोजना निर्माणको थालनी गरिएको हो ।’ गाउँपालिकाले यातायात गुरुयोजना निर्माण गर्दा जनघनत्व, आवश्यकता र महत्वका आधारमा सडकको वर्गीकरण गर्न लागेको उनको भनाइ छ । उनले गाउँपालिकाको बजेटबाट मात्र सबै सडक निर्माणको काम अघि बढाउन नसक्ने भएकाले पनि गुरुयोजना निर्माण गरेपछि समपूरक तथा सङ्घीय अनुदानलाई केन्द्रित गर्न सजिलो हुने तथा दीर्घकालीन योजनासहित सडक निर्माणको काम अघि बढाउन सजिलो हुने बताए । सडक योजना निर्माण गर्दा गाउँपालिकाका वडाहरू गाउँपालिकाको केन्द्र, अस्पताल तथा सहर र अन्य ठूला विकासका पूर्वाधारसँग जोडिएका सडकलाई पहिलो प्राथामिकताको सडकका रूपमा विकास गर्ने योजना गाउँपालिकाको रहेको अध्यक्ष देवकोटाको भनाइ छ । रासस