फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य बढेको छ । सोमबार तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य ५०० रुपैयाँले बढेको हो । योसँगै मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको पनि मूल्य बढेर तोलाको १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
दुर्घटना बढेसँगै ट्राफिक प्रहरीको विशेष निगरानी, पाँच लाख बढी सवारीसाधन कारबाहीमा
फाइल फोटो काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन् । यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार आठ सय ९६ सवारी कारबाहीमा परेका छन् । यसैगरी, क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा सवारी चलाउने १६ हजार नौ सय ६८, सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार दुई सय ५९, लेन अनुशासन उल्लङ्घन गर्ने १९ हजार आठ सय १७, वानवेमा सवारी चलाउने २१ हजार एक सय २३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार आठ सय ९९, सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार दुई सय ४७ सवारीलाई कारबाही गरेको हो । पेटी र हेल्मेट नबाँधी सवारीसाधन चलाउने २१ हजार नौ सय ८१, लापरवाही साथ सवारी चलाउने ७२ हजार एक सय ४४, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४४ हजार ३८, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार छ सय ६५, जथाभावी हर्न बजाउने १२ हजार छ सय २२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार दुई सय ६५ र ओभर स्पिडमा सवारी चलाउने २५ हजार सात सय ८२ सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिए । ‘ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौं’, उनले भने । हाल काठमाडौं उपत्यकाभित्र २० लाख हाराहारीमा सवारीसाधन आवतजावत हुँदै आएको जनाइएको छ । उक्त सवारीसाधन व्यवस्थापनका लागि काठमाडौं उपत्यका ट्राफिक कार्यालयबाट एक हजार सात सय ट्राफिक प्रहरी परिचालन हुँदै आएको छ । रासस
नागरिकतामा २५ हजार खर्च गर्नुभन्दा दुई-चार महिनालाई चामल किन्न चाहन्छन् : अध्यक्ष बोहरा
बझाङ । बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो । साइपाल गाउँपालिका-५ मा पर्ने बलौडीकी स्थानीय हुन् केउडी बोहरा । उनीको उमेर एक हप्तापछि ठीक ६८ वर्ष पुग्दैछ । जन्मिएको ६७ वर्ष ११ महिना २१ दिन (जन्मः २०१२ वैशाख १३) पछि उनी नेपालको आधिकारिक नागरिक बनिन् । तर केउडीलाई भने यो विषयमा जानकारी छैन । शनिबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले केउडीलाई साइपालको धुलीमा पुगेर नागरिकता हातमा थमायो । उनको भाइ गोमाले सनाखत गरे । गोमाले विसं २०६३ मा काँडा पुगेको घुम्ती शिविरबाट नागरिकता लिएका रहेछन् । शिविरमा दिदीलाई नागरिकता दिनुपर्ने विषय न कसैले भन्यो, न गोमालाई नै जानकारी भयो । बोल्न नसक्नेदेखि सुस्त मनस्थितिकी बोहरालाई नागरिकता दिन्छन् या दिँदैनन् भन्ने गाउँमा कसैलाई थाहा भएन । ‘नागरिकता चाहिन्छ भन्ने नै थाहा भएन,’ गोमाले भने, ‘कसुइखी पन नागरिकता चाँइदो भनी थाच्योइन (बलौडीमा मान्छे कसैलाई पनि नागरिकताको आवश्यकताबारे थाहा थिएन) सबैले पोर परार (केही वर्षअघि) मात्रै नागरिकता लिएका हुन् ।’ गोमा पनि नागरिकता हुँदा-नहुँदाको अर्थ देख्दैनन् । ‘डेढ दशकअघि नागरिकता लिएको हुँ,’ गोमाले भने, ‘यो कतै काम लागेको छैन, जतन गरेर राख्नु भन्नुभएको थियो, राखेकै छु, यसको अर्थ पनि बुझेको छैन ।’ यतिमात्रै होइन, गोमालाई बझाङी भाषासमेत आउँदैन । उनी आफ्नै गाउँमा बोलिने भाषामात्रै बुझ्छन् । साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङका अनुसार पहिले गोमाको श्रीमती र एक सन्तान पनि छन् भन्ने सुनिन्थ्यो । ‘अहिले घरमा दिदीभाइ मात्रै रहेछन्, आयस्रोतविहीन, सहाराविहीन दिदीभाइलाई पालिकाबाट अब एकल पुरूष र वृद्धाभत्ता दिने तयारी गरेका छौं,’ उनले भने । बलौडीकी खिन्तुरी बोहराले ५१ वर्षमा पाइला टेके। वीरजित बोहरा र बसनादेवी बोहराकी छोरी खिन्तुरीलाई पनि सोही दिन जिल्ला प्रशासन कार्यालय बझाङले नागरिकता दियो । मानसिक समस्याले ग्रसित खिन्तुरीलाई नागरिकता त के आफ्नो बारेमा समेत केही जानकारी छैन । जन्मेको केही वर्षदेखि नै मानसिक समस्याबाट पीडित भएकी खिन्तुरीका पाँच दशक गाउँमा ओहोरदोहोर गर्दैमा बिते । ‘शनिबार नागरिकता दिने भनेर धुली माविमा ल्याउनु भनेका थियौं,’ साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले भने, ‘खिन्तुरी धुली माविबाट भाग्नुभएको रहेछ, पछि आफन्तले खोजेर ल्याए । रून थाल्नुभयो, सबैले सम्झायौं र नागरिकता हातमा थम्यायौं, हजार-बाह्र सय रुपैयाँ पनि दियौं ।’ खिन्तुरीले भने पैसाको कुनै मतलब गरिनन् । ‘उहाँलाई पैसा के हो भन्ने पनि थाहा रहेनछ, त्यसको आवश्यकताबारे झन् के थाहा हुनु ?’ अध्यक्ष बोहरा भन्छन् । बलौडीवासीले नागरिकता प्राप्त गरे पनि अधिकांशले त्यसको प्रयोग भने कतै गर्न पाएका छैनन् । सबलाङ्ग गोमाहरूका लागि पनि नागरिकता प्रयोगहीन भएको छ । गाउँमा राज्यको उपस्थिति नहुँदा गोमाहरू हरेक कुरामा अनभिज्ञ छन् । उनीहरूका लागि धुली, बलौडी, न्यूना नै संसार छ । राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार-व्यवसाय गर्नेजस्ता कानुनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारको उपभोग गर्ने महत्वपूर्ण आधार हो नागरिकता । नागरिकताविहीनले भने केही गर्न सक्दैन । ‘धुली, बलौडीमा धेरैले नागरिकताको महत्वबारे बुझेकै छैनन्’, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘खिन्तुरी र केउडीले जीवनको उत्तरार्द्धमा भए पनि नागरिकता प्राप्त गर्नुभयो । अब यसको महत्वको विषय स्थानीय सरकारले प्रत्याभूत गराउनुपर्छ ।’ नागरिकता भएपछि राज्यबाट पाउने सेवासुविधा प्राप्त गर्ने आधार तयार भएको उनले बताए । ‘राज्यको उपस्थिति नभए जनतामा चेतना पनि उब्जँदैन,’ उनले भने, ‘हामी २१औँ शताब्दीका नारा लगाइरहेका छौं, तर साइपालका केही गाउँमा भने अझै १५-१६औं शताब्दीका मान्छे बसिरहेका छन् । यो लामो दूरीलाई छोट्याउने सोचले हामी साइपाल पुगेका हौं,’ उनले पाँच-छ दशकसम्म पनि नागरिकता नपाएको सुन्नेबित्तिकै साइपाल जान तयार भएको बताए । ‘साइपाल जान कुनै अधिकारीहरू पनि तयार हुँदैनन्,’ उनले भने, ‘साइपालमा वृद्धाभत्ता खाने उमेरमा समेत नागरिकता पाएका छैनन् भने सुनेपछि जसरी नै साइपाल पुग्ने तयारीका साथ गएका हौं ।’ खिन्तुरी र केउडीलाई नागरिकता दिइरहँदा कार्यक्रम भइरहेको मञ्चको पछाडिपट्टि दर्जन बढी महिला बसेका थिए । नागरिकताको महत्व, सेवा सुविधाबारे प्रजिअ पाण्डेयले सुनाएपछि ती महिला कानेखुसी गर्न थाले । पाण्डेयले पछाडि फर्केर नागरिकताको विषयमा कुरा गर्दा दुई जना नागरिकता नलिएका भेटिए । वर्ष ४५-४५ का महिलाले नागरिकता नपाएको सुनेपछि उनलाई वडा कार्यालयमा सम्पर्क गरेर नागरिकता बनाउने प्रक्रियामा लाग्न प्रजिअले सुझाव दिए । ‘पहिलेको जसरी गाउँमै नागरिकता दिन घुम्ती शिविर ल्याउने सोच थियो’, प्रजिअ पाण्डेयले भने, ‘पहिलेको जस्तो हस्तलिखित नागरिकता छैन, डिजिटलमा गइसकेपछि इन्टरनेट, विद्युत् नभएको ठाउँमा कामै हुँदैन, दुई जनाको भने जिल्लाबाट सबै तयारी गरेर सनाखत गराउँदै नागरिकता दिएका हौं । नेपालको संविधानको भाग २ को धारा १० को उपधारा (१) मै भनिएको छ, ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन । धारा ११ को उपधारा (२) मा पनि संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक ठहर्ने र नागरिकता दिने’ भनेको छ । तर साइपाल भने निकै टाढा हुँदा राज्य र जनताको दूरी झनै लामो भएको छ । बाचुञ्जेल स्वास्थ्य समस्या साइपालमा बिरामी परेका मान्छेले चिकित्सकीय सेवा धेरै नै कम पाउँछन् । गाउँमै जडीबुटीको भर पर्ने ५०-५५ प्रतिशत बिरामीले ज्यानलाई दौडाइ रहेका छन् । सिटामोलको पहुँचमा समेत नभएका साइपालका केही गाउँ धामी झाँक्री, वैद्य, गाउँका मुखिया, प्रधानकै विश्वास गर्छन् । धामी-झाँक्रीकै विश्वासले खिन्तुरी मानसिक बिरामी परेको स्थानीय बताउँछन् । खिन्तुरी जन्मेको १० वर्षपछि नै बिरामीले थला परेकी थिइन् । चिकित्सकीय उपचार नपाउँदा अहिलेसम्म उनको अवस्था फेरिएन । खिन्तुरीले अस्पतालको ढोकासमेत देखेकी छैनन् । ‘सानातिना बिरामी त यता कति छन् कति,’ स्थानीय रायम बोहराले भने, ‘जिल्ला अस्पताल पुग्न हाम्रो क्षमता छैन, गाउँका अस्पतालमा पनि सिटामोलबाहेक केही पाइँदैन, त्यो पनि धेरै टाढा ।’ बोहराका अनुसार गएको वर्ष पालिका, प्रदेश सरकार तथा आँखा अस्पतालको समन्वयमा आँखा शिविर बसेको थियो । त्यसबाट धेरै जना लाभान्वित भएका थिए । त्यसपछि भने कुनै स्वास्थ्य शिविर भएको छैन । ‘पालिकामै ठूलो स्वास्थ्य शिविर भयो भने धेरै बिरामीको इलाज (उपचार) हुन्थ्यो,’ उनले भने । साविकको काँडा गाविस क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाविस हो । अहिले त्यो गाविस साइपाल गाउँपालिका भएको छ । साइपालले करिब आधा बझाङ ओगटेको छ । पाँच वडा रहेको पालिकामा एक गाउँबाट अर्को गाउँ पुग्नसमेत सात-घण्टासम्म समय लाग्ने गरेको बोहराले बताए । यता गाउँपालिकाका अध्यक्ष मानविर बोहरा भने सबै प्रकारका स्वास्थ्य समस्या भएका बिरामीको शिविरमार्फत नै उपचार सम्भव हुने बताउँछन् । ‘टाढाको ठाउँ भयो, स-साना बिरामी भएकाहरू वास्ता गर्दैनन्, ठूलो दुर्घटनामा परेका दुई-तीन जनालाई हेलिकोप्टर पनि बुकिङ गर्नुपरेको थियो, बढी बिरामी भएकालाई एक हप्ता लगाएरसमेत स्टेचरमा सदरमुकामसम्म ल्याउनुपर्छ,’ उनले भने । सदरमुकाम आउन-जान २५ हजार खर्च जिल्ला सदरमुकाम चैनपुरबाट साइपालका न्युना, धुली, बलौडीलगायतका गाउँ पुग्न छ दिन पैदलयात्रा गर्नुपर्छ । गत वर्षयता भने तलकोट हुँदै पनाल्तसम्म जीप सडक बनेको हुँदा पैदलयात्रा दुई दिन घटेको छ । जिल्ला सदरमुकाममै पुग्न साइपालवासीले १० हजारभन्दा बढी खर्च गर्नुपर्छ । ‘राज्यले निःशुल्क दिने एउटा नागरिकता बनाउनका लागि धुली-बलौडीका मान्छेले रु २०-२५ हजारसम्म छुट्याउनुपर्छ,- अध्यक्ष बोहराले भने – ‘त्यति पैसा नबोके अलपत्र परिन्छ, बाटोमा खान, बस्न, आउन, जान धेरै खर्च लाग्छ । त्यसैले पनि नागरिकताप्रति धेरै जना चासो देखाउँदैनन् ।’ साइपालमा धेरै परिवार अतिन्यून आयस्रोत भएको उनले बताए । ‘गाउँमा सबै हुनेखाने हुँदैनन्, तिनीहरूका लागि २५ हजार रुपैयाँ नागरिकतामा खर्च गर्नुभन्दा दुई-चार महिनालाई चामल खरिद गर्न चाहन्छन्,’ उनले भने । उनका अनुसार पालिकाभर उमेर पुगेका ३०-४० प्रतिशतले अझै नागरिकता पाएका छैनन् । रासस
डुब्यो स्विजरल्यान्डको क्रेडिट स्विस बैंक, सरकारको ग्यारेन्टीमा युबिएसले खरिद गर्दै
एजेन्सी । अर्बौं डलर पुँजी भएको स्विट्जरल्यान्डको प्रतिष्ठित स्विस क्रेडिट बैंक पूर्ण रुपमा फेल भएर बिक्री हुने भएको छ । एक सय ६५ वर्ष पुरानो सो बैंकलाई स्विजरल्याण्डको सबैभन्दा ठूलो बैंक युबिएस एजी ग्रुपले खरिद गर्ने घोषणा गरेको छ । रिपोर्टहरूका अनुसार बैंकिङ संकटको बीचमा देशको दोस्रो ठूलो निजी ऋणदाता युबिएसले क्रेडिट स्विसलाई ३.२ बिलियन डलरमा खरिद गर्नेछ। स्विस सरकार ग्यारेन्टी बस्ने स्विस नियामक स्विस नेशनल बैंकले युबिएस र क्रेडिट स्विस बैंक बीचको सम्झौतामा प्रमुख भूमिका खेलेको थियो। स्विजरल्याण्ड सरकारले पनि यो सम्झौतामा युबिएसलाई सहयोग गरिरहेको छ। स्विस सरकारले क्रेडिट सुइसको अधिग्रहणमा संलग्न जोखिमहरूका लागि युबिएसलाई ९ अर्ब फ्र्याङ्क ग्यारेन्टी प्रदान गरिरहेको छ । सरकारले १०८ अर्ब डलर ऋण पनि दिने युबीएस र क्रेडिट सुइस बैंकको यो सम्झौताका लागि सरोकारवालाको स्वीकृति पनि खारेज गरिएको छ । क्रेडिट सुइस बैंक किन्न युबिएसलाई सहयोग पुर्याउनेगरी स्विस नेशनल बैंकले एक सय अर्ब अर्ब स्विस फ्र्यांक ऋण पनि उपलब्ध गराउने जनाइएको छ । क्रेडिट स्विसका २२.४८ शेयर बराबर युबिएसको १ शेयर पाउने यस ‘अल शेयर ट्रान्जेक्सन’ अन्तर्गत क्रेडिट सुइसका शेयरहोल्डरहरुलाई प्रत्येक २२.४८ शेयर बराबर युबिएसको १ शेयर गर्ने सम्झौता भएको छ । यो सम्झौता करिब ३ अर्ब स्विस फ्रैंकमा गरिएको छ । यो सम्झौता मार्च १७ मा बन्द भएको बजारमा क्रेडिट सुइसको शेयरको अन्तिम मूल्यमा हुने बताइएको छ । क्रेडिट सुइसको शेयर अन्तिम कारोबार गत शुक्रबार १.८६ स्विस फ्रैंकमा भएर बन्द भएको थियो । यो सम्झौता बेलआउट होइन : स्विस अर्थमन्त्री ‘हेर्ने हो भने यो सम्झौता एकदमै सस्तो मूल्यमा भएको हो तर प्राविधिक रुपमा यो सम्झौता होइन उद्धार योजना हो’, एक पत्रकार सम्मेलनमा स्विस अर्थमन्त्री करिन केलर सटरले भनिन् । उनले दुई बैंकबीचमा भएको सम्झौता एक व्यावसायिक समाधान भएको तर बेलआउट नभएको बताएकी थिइन् । यूबीएसका अध्यक्ष कोल्म केहलरले स्विट्जरल्याण्डको वित्तीय ढाँचा बचाउन यो सम्झौता आवश्यक भएको बताएका छन् । विश्वव्यापी वित्तीय संरचनालाई बचाउन पनि उत्तिकै महत्त्वपूर्ण भएको, क्रेडिट बैंक युबिएससँग फिर्ता हुनुको विकल्प नभएको उनले बताएका थिए । बैंकको उद्धार प्रकृयामा सरोकारवालाको अनुमतिबाट बच्न स्वीस सरकारले आपतकालीन अध्यादेशको प्रयोग गरेको छ । क्रेडिट सुइस/यूबीएस सम्झौता यस वर्षको अन्त्यमा पूरा हुने अपेक्षा क्रेडिट सुइसले एक विज्ञप्ति जारी गरी यो वर्षको अन्त्यसम्ममा सम्झौता सम्पन्न हुने अपेक्षा गरेको छ । युबीएसका अनुसार यी दुई बैंकको मर्जरपछि बन्ने संयुक्त बैंकको सम्पत्ति ५ ट्रिलियन डलर बराबरको हुनेछ । केही समय अगाडि सम्म स्विस नियामकले क्रेडिट स्विस बैंकलाई स्वस्थ छ भनिरहेको तर भित्री पर्दामा स्विसका इलियट बर्गले सो बैंकलाई बचाउनको लागि गोप्य रुपमा तयारी गरिरहेको टिप्पणी रोयटर्सले गरेको छ । स्विस क्रेडिट बैंक सँग १.३ स्विस फ्र्यांक बरारबको सम्पत्ति रहेको अनुमान गरिएको छ ।
बजार अनुगमनले पायो तीव्रता, पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह
फाइल फोटो तुलसीपुर । दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिइन् । ‘हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्यौं, अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन,’ उनले भनिन् । मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको उनले बताइन् । उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उनको भनाइ छ । त्यस्तै, अनुगमनका क्रममा म्याद गुज्रेका सागम्री पनि भेटिने गरेको उनले बताइन् । म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यसमा पसल सञ्चालकले ध्यान दिनुपर्ने उनको भनाई छ । अनुगमनका क्रममा केही पसल दर्ता नभई सञ्चालन गरिएको पाइएका र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उनले जानकारी दिइन् । पछिल्लो समय तुलसीपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ । रासस
राजनीतिक अस्थिरता भइरहे आर्थिक क्षेत्रले फड्को मार्न सक्दैन : प्रदेश प्रमुख गुरुङ
गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिएका छन् । सोमबार पोखरामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरता भइरहे आर्थिक क्षेत्रले फड्को मार्न नसक्ने उल्लेख गरे । प्रदेश प्रमुख गुरुङले देशी-विदेशी लगानीकर्तालाई आकर्षित गर्न राज्यले उचित नीति र वातावरण तयार गर्नुपर्ने धारणा राखे । ‘देशमा राजनीतिक स्थायित्व भए ढुक्क भएर लगानी गर्ने वातावरण बन्छ, अर्थतन्त्र पनि उकासिन्छ,’ उनले भने, ‘उद्योग, व्यवसायको प्रवर्द्धनमा राजनीतिक नेतृत्व र राज्य संयन्त्र सहयोगी बन्नुपर्छ ।’ देशमै रोजगार सिर्जना र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको प्रदेश प्रमुख गुरुङले बताए । रासस
एभरेष्ट बैंकले कम्पाउण्ड सहितको २ तले घर बेच्दै
काठमाडौं । एभरेष्ट बैंकले गैह्र बैंकिङ्ग सम्पत्ति लिलामीमा बिक्री गर्ने भएको छ । बैंकको नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति (घरजग्गा) शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । बैंकले धुलाबारी नगरपालिका ८ झापा स्थित कित्ता नम्बर २३७ र ४७८ को क्रमशः ०–०–७–० र ०–०–७–० (११८.५२ र ११८.५२ वर्गमिटर) क्षेत्रफल भएको जग्गा र सो जग्गामा निर्मित १४७४.६८ वर्गफिट क्षेत्रफल भएको २ तले घर कम्पाउण्ड सहित बिक्री गर्ने भएको हो । बैंकले उक्त सम्पत्ति जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्नेछ । बैंकको उक्त सम्पत्ति खरिद गर्न इच्छुकले १५ दिन अर्थात् चैत २० गतेभित्र धुलाबारी शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । शिलबन्दी बोलपत्र चैत २१ गते मंगलबारका दिन दिनको साढे ३ बजे बैंकको धुलाबारी शाखामा खोलिनेछ । बिक्री गरिन लागेको घरजग्गा सम्बन्धी कागजातहरु, घरजग्गा हेर्न र बुझ्न तथा अन्य जानकारी चाहिएमा बैंकको शाखा कार्यालय धुलाबारीमा कार्यालय समयभित्र सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।
आजको मौसम : मेघगर्जन, चट्याङसहित वर्षा
काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भू-भागका थोरै स्थानमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धनगढीमा ३१ मिलीमिटर वर्षा भएको छ । काठमाडौंमा १७, वीरेन्द्रनगरमा १७, ओखलढुङ्गामा ११, घोराहीमा १० र लुम्लेमा २२ मिलीमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम १९ दशमलव नौ डिग्री सेल्सियस छ । रासस