सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा निर्वाचित
काठमाडौं । सुनसरी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालविक्रम थापा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका राजीव कोइरालालाई हराउँदै थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ५७ हजार ३४८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कोइरालाले १६ हजार ७१ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका सुजन लामाले ८३०३ मत ल्याउँदा श्रम संस्कृति पार्टीका चेतन राईले ७४८४ मत पाए । सुनसरी-२ मा विभिन्न १९ दल र स्वतन्त्रका नौसहित २८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
काभ्रे- २ बाट निर्वाचित भएपछि भण्डारीले भने- ठेक्का वा निजी लाभ बढाइदिन सहयोग नमाग्नू होला
काठमाडौं । काभ्रे- २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बदन कार्कीले कुनै पनि सार्वजनिक कार्यक्रममा अनावश्यक तडकभडक, महँगो स्वागत नगर्नलाई अनुरोध गरेका छन् । उनले आफू सादगीमा विश्वास गर्ने बताएका छन् । भण्डारीले पार्टीको नाममा पैसा उठाउन, चन्दा असुल गर्न वा कसैलाई दबाब दिएर सहयोग लिने पक्षमा नरहेको र पारदर्शी राजनीतिको पक्षमा रहेको बताए । ‘सरकारी पदको प्रभाव प्रयोग गरेर आफ्नो व्यापार, ठेक्का वा निजी लाभ बढाइदिन सहयोग नमाग्नु होला,’ उनले भनेका छन्, ‘म पदलाई निजी स्वार्थका लागि प्रयोग गर्दिनँ ।’ कुनै पनि जात, धर्म, क्षेत्र वा समुदायविरुद्ध विभाजनकारी राजनीति गर्न आग्रह नगर्न भण्डारीले आग्रह गरेका छन्। उनले सबै नेपालीलाई बराबर ठान्ने पनि बताएका छन् ।
साढे ३ लाख रुपैयाँमै बजारमा आयो नयाँ पल्सर
काठमाडौं । बजाज मोटरसाइकल ब्रान्डले बजाज पल्सर १५० को नयाँ संस्करण सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ पल्सर १५० ले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । नयाँ संस्करणको पल्सर १५० मा आकर्षक नयाँ ग्राफिक्स, शक्तिशाली एफआई बीएस ६ इन्जिन, सिङ्गल–च्यानल एबीएस, एलईडी हेडल्याम्प तथा ब्लुटुथ सपोर्टसहितको फुल डिजिटल कन्सोल जस्ता आधुनिक फिचरहरू समावेश गरिएको छ । यी विशेषताले मोटरसाइकललाई अझ सुरक्षित, स्मार्ट र प्रयोगमैत्री बनाएको कम्पनीको भनाइ छ । मोटरसाइकलमा प्रयोग गरिएको इन्धन इन्जेक्सन (एफआई) प्रविधिले राम्रो माइलेज र सहज प्रदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी एबीएस प्रणालीले ब्रेकिङलाई अझ सुरक्षित बनाउनेछ भने डिजिटल कन्सोलले राइडिङ अनुभवलाई आधुनिक बनाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार नयाँ बजाज पल्सर १५० नेपालभरका बजाज अटोका आधिकारिक शोरुममार्फत उपलब्ध गराइएको छ । मोटरसाइकलको प्रारम्भिक मूल्य ३ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको छ । नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज मोटरसाइकलको आधिकारिक वितरकका रूपमा सेवा दिँदै आएको छ । कम्पनीले ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको जनाएको छ । त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले पहिलेझैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक नपर्ने कम्पनीले जनाएको छ । शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले अन–द–स्पट फाइनान्समार्फत सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् । नयाँ पल्सर १५० को आगमनसँगै नेपाली युवा र मोटरसाइकल पारखीहरूले अझ शक्तिशाली, स्टाइलिस र प्रविधिमैत्री राइडिङ अनुभव पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । इच्छुक ग्राहकहरूले नजिकैको बजाज शोरुममा गएर मोटरसाइकलबारे थप जानकारी लिन तथा टेस्ट राइड गर्न सक्नेछन् ।
राष्ट्र बैंकबाट बिदा भए ढुङ्गाना र मिश्र, दुई कार्यकारी निर्देशक डेपुटी गभर्नर बन्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र पाँच वर्षे कार्यकाल सकाएर बिदा भएका छन् । कार्यकाल पूरा भएसँगै उनीहरू आइतबारदेखि विदा भएका हुन् । दुवै डेपुटी गभर्नरले विकासन्युजसँग कुरा गर्दै आजदेखि राष्ट्र बैंकबाट बिदा भएको जानकारी गराए । डा. ढुंगाना र मिश्रलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा डेपुटी गभर्नरमा नियुक्त गरेका थिए । उनीहरूको कार्यकाल समाप्त हुन लागेसँगै राष्ट्र बैंकको नयाँ डेपुटी गभर्नर को बन्ला भन्ने विषय चासोका रूपमा हेरिएको छ । नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर राष्ट्र बैंकका विशिष्ट श्रेणी (कार्यकारी निर्देशक–ईडी) स्तरका अधिकृतहरूमध्येबाट नियुक्त गरिने व्यवस्था छ । हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन् । ऐनअनुसार गभर्नरले ती कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम डेपुटी गभर्नर पदका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने हुन्छ । गभर्नरले सिफारिस गरेका चार जनामध्येबाट सरकारले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । राष्ट्र बैंकका अनुसार नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरु प्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमिल्सिना, चेत प्रसाद उप्रेती, रोशन कुमार सिग्देल, डा. राम शरण खरेल, डा. डिल्लीराम पोख्रेल, दीर्घराज रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजन विक्रम थापा र राजेन्द्र भट्टराई कार्यकारी निर्देशक पदमा कार्यरत छन् । राष्ट्र बैंक स्रोतका अनुसार अहिलेको राजनीतिक परिवेशले डेपुटी गभर्नर नियुक्ति प्रक्रियालाई प्रभावित पार्न सक्ने देखिएको छ । नयाँ सरकारले नियुक्ति गर्छ कि वर्तमान सरकारले नै प्रक्रिया अघि बढाउँछ भन्ने विषय अझै अन्योल छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नरले डेपुटी गभर्नरका लागि नाम सिफारिस गर्दा एकल अधिकार प्रयोग गर्न सक्ने व्यवस्था छ । तर, गभर्नरले स्वतन्त्र रूपमा नाम सिफारिस गर्ने कि अर्थमन्त्री र प्रधानमन्त्रीको राजनीतिक संकेतलाई ध्यानमा राख्ने भन्ने विषय पनि महत्त्वपूर्ण हुने देखिएको स्रोतको भनाइ छ । ‘विगतको अभ्यास हेर्दा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया कहिलेकाहीँ साढे दुई महिनासम्म लम्बिएको उदाहरण पनि रहेको छ । यदि नयाँ सरकारले नियुक्ति गर्ने अवस्था आयो भने एकल बहुमतको सरकारले छिट्टै निर्णय गर्न सक्ने सम्भावना पनि देखिन्छ,’ स्रोतले भन्यो, ‘यस्तो अवस्थामा हालको सरकारले नियुक्ति प्रक्रिया रोकिने सम्भावना पनि रहेको छ ।’ स्रोतका अनुसार यदि राजनीतिक तहमा समन्वय भयो भने अर्थमन्त्रीको पनि केही प्रभाव पर्न सक्छ । तर, अन्तिम निर्णय मन्त्रिपरिषद्को हुने भएकाले प्रधानमन्त्रीको भूमिका निर्णायक मानिन्छ । प्रधानमन्त्रीले स्पष्ट निर्देशन दिएपछि मन्त्रिपरिषदमा सोही अनुसार सिफारिस गर्ने सम्भावना बढी रहेको स्रोतको भनाइ छ । यस विषयमा अर्थमन्त्री रामेश्वर खनालले डेपुटी गभर्नर नियुक्ति प्रक्रिया रिक्त भएपछि मात्र अघि बढ्ने बताए । उनले भने, ‘डेपुटी गभर्नरको नियुक्ति सरकारले गर्ने हो र तर कुन सरकारले गर्ने भन्ने कुरा परिस्थितिमा भर पर्छ । अहिले नै यसबारे भन्न सकिँदैन । गभर्नरले सिफारिस गरिसकेपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने हो ।'
रामेछापमा रास्वपा कृष्णहरि बुढाथोकी विजयी
काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी विजयी भएका छन् । उनी २४ हजार ८०८ मतका साथ विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत ल्याएर दोस्रो भए । तेस्रोमा नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत ल्याएर चौथोमा सीमित भए ।
१५५ क्षेत्रको मतपरिणाम सार्वजनिक, हालसम्म कसले कति जिते ?
काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ११९ सिट जितिसकेको छ । अझै ६ क्षेत्रमा रास्वापाको अग्रता छ । १६५ मा रास्वपाले १२५ क्षेत्र जित्ने देखिएको छ । तर अघिल्लो निर्वाचनको चौथो शक्ति यसपटक जारी मतगणनामा ११९ मा विजयी हुँदा अघिल्लोपटकको ८९ सिट जितेको ठूलो दल कांग्रेस १७ सिटमा सीमित भएको छ । कांग्रेसले अग्रता लिएका सिटको मतगणना भइसकेको छ । अघिल्लोपटक ७९ सिट जितेको एमालेले यसपटक ७ सिट जितेको छ । तीन स्थानमा एमालेको अग्रता छ ।
हालसम्म ११ जिल्लाका ४६ निर्वाचन क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न क्षेत्रमा अभूतपूर्व सफलता हासिल गर्दै १० जिल्लामा ‘क्लिन स्वीप’ गरेको छ । राजधानी उपत्यकादेखि मधेस र तराईसम्म रास्वपाले ११ जिल्लाका सबै निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै नयाँ राजनीतिक लहर सिर्जना गरेको हो । सबैभन्दा ठूलो सफलता काठमाडौं उपत्यकामा देखिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सबै १५ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ सिटमा रास्वपाले विजय हासिल गर्दै उपत्यकामा पूर्ण वर्चस्व स्थापित गरेको हो । काठमाडौं–१ देखि १० सम्म क्रमशः रञ्जु दर्शना (न्यौपाने), सुनिल केसी, राजुनाथ पाण्डे, पुकार बम, सस्मित पोखरेल, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डोलप्रसाद अर्याल र प्रताप विष्ट निर्वाचित भएका छन् । भक्तपुर–१ मा रुकेश रन्जित र भक्तपुर–२ मा राजीव खत्री विजयी भएका छन् भने ललितपुर–१ मा बुद्धरत्न महर्जन, ललितपुर–२ मा जगदिश खरेल र ललितपुर–३ मा डा. तोसिमा कार्की विजयी भएका छन् । चितवनका तीनै निर्वाचन क्षेत्रमा पनि रास्वपाले विजय हासिल गर्दै क्लिन स्वीप गरेको छ । चितवन–१ मा हरि ढकाल, चितवन–२ मा पार्टी सभापति रवि लामिछाने र चितवन–३ मा सोविता गौतम विजयी भएका छन् । गौतमले भरतपुर महानगरकी मेयर रेनु दाहाललाई फराकिलो मतान्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेकी छन्। गण्डकी प्रदेशको कास्कीमा पनि रास्वपाले तीनै क्षेत्र जितेको छ । कास्की–१ मा खडकराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा विना गुरुङ विजयी भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीमा पाँचै निर्वाचन क्षेत्रमा रास्वपाले जित दर्ता गर्दै पुराना दलका गढ भत्काएको छ । रुपन्देही–१ मा सुनिल लम्साल, रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा लेखजंग थापा, रुपन्देही–४ मा कन्हैया बनियाँ र रुपन्देही–५ मा तौफिक अहमद खान विजयी भएका छन् । सुदूरपश्चिमको कैलालीमा पनि रास्वपाले पाँचै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–२ मा केपी खनाल, कैलाली–३ मा जगतप्रसाद जोशी, कैलाली–४ मा खेमराज कोइराला र कैलाली–५ मा आनन्दबहादुर चन्द विजयी भएका छन् । कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी, कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता विजयी भएका छन् । पूर्वी नेपालमा झापाका पाँचै निर्वाचन क्षेत्रमा पनि रास्वपाले क्लिन स्वीप गरेको छ । झापा–१ मा निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भुप्रसाद ढकाल र झापा–५ मा बालेन शाह विजयी भएका छन् । मधेस प्रदेशका सप्तरी र पर्सामा पनि रास्वपाको प्रभाव देखिएको छ । सप्तरीका चारै क्षेत्रमा क्रमशः पुष्पाकुमारी चौधरी, रामजी यादव, अमरकान्त चौधरी र सीताराम साह विजयी भएका छन् । पर्साका चारै क्षेत्रमा बुद्धिप्रसाद पन्त, सुशीलकुमार कानु, रामाकान्त चौरसिया र टेकबहादुर शाक्य निर्वाचित भएका छन् । त्यसैगरी, उदयपुरका दुवै निर्वाचन क्षेत्रमा पारशमणि गेलाल र सूर्यबहादुर तामाङ विजयी भएका छन् भने सिन्धुलीका दुईवटै क्षेत्रमा धनेन्द्र कार्की र आशिष गजुरेल निर्वाचित भएका छन् ।
धनुषा १ को मत परिणाम सार्वजनिक नगर्नूः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मत परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ। आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेजको रिटमा पेसी तोकिएको छ । आयोगले गत १८ गते मा बसेको बैठकले ‘उम्मेदवारी खारेज गर्ने’ निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा (रिट नं.०८२-WO-०९७२) विचाराधीन रहेको छ । अदालतबाट आदेश नहुँदासम्म निर्वाचन परिणाम सार्वजनिक नगर्न आयोगले निर्देशन दिएको हो । आयोगले यस सम्बन्धमा अदालतबाट आदेश नहुँदासम्म त्यस निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको मत परिणाम घोषणा नगर्नु नगराउनु हुन अनुरोध गरेको छ ।