विकासन्युज

सासु कोषका योगदानकर्ताले ४४ अस्पतालबाट सेवा लिँदा २० प्रतिशत रकम बुझाए पुग्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी कोषले देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । कोषको अनुसार सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषले जनाएको छ । कोषको अनुसार नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका ९, मधेस प्रदेशका ९, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका २ र लुम्बिनी प्रदेशका ४ वटा गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचय पत्र देखाएर सुविधा लिन सक्नेछन् । कोषले आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मक रुपमा बढाउँदै लैजाने प्रतिबद्धता जनाएको छ । यी हुन् सम्झौता भएका ४४ अस्पताल १. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल- बिर्तामोड, झापा २. बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल- बिर्तामोड, झापा ३. पशुपति मोडेल हस्पिटल- इटहरी, सुनसरी ४. हाम्रो अस्पताल- विराटनगर, मोरङ ५. विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल- टंकिसिनुवारी, विराटनगर ६. नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल- विराटनगर, मोरङ ७. मोरङ सहकारी अस्पताल- सोमबारे हाट, विराटनगर, मोरङ ८. ओखलढुंगा सामुदायिक अस्पताल- ओखलढुंगा ९. रामलाल गोल्छा आँखा अस्पताल- विराटनगर, मोरङ १०. नेसनल मेडिकल कलेज- वीरगन्ज, पर्सा ११. वीरगन्ज हेल्थ केयर अस्पताल- वीरगन्ज, पर्सा १२. गण्डक अस्पताल- वीरगन्ज, पर्सा १३. स्पर्स अस्पताल- वीरगन्ज, पर्सा १४. किरण आँखा अस्पताल- वीरगन्ज, पर्सा १५. नमुना सामुदायिक अस्पताल- हरिवन, सर्लाही १६. जानकी हेल्थ केयर- जनकपुर, धनुषा १७. छिन्नमस्ता अस्पताल- राजविराज, सप्तरी १८. शुभ स्वस्तिक अस्पताल- बर्दिबास, महोत्तरी १९. वीर अस्पताल- काठमाडौं २०. त्रिवि शिक्षण अस्पताल- महाराजगन्ज, काठमाडौं २१. मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल- स्वयम्भू, काठमाडौं २२. हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल- चाबहिल, काठमाडौं २३. काठमाडौं मेडिकल कलेज (केएमसी)- सिनामंगल, काठमाडौं २४. ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पताल- जोरपाटी, काठमाडौं २५. तिलगंगा आँखा अस्पताल- तिलगंगा, काठमाडौं २६. दृष्टि आई केयर- कलंकी, काठमाडौं २७. एभरेस्ट अस्पताल- नयाँ बानेश्वर, काठमाडौं २८. होप अस्पताल- सिनामंगल, काठमाडौं २९. शंकरापुर अस्पताल- गोकर्णेश्वर, काठमाडौं ३०. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल- सोह्रखुट्टे, काठमाडौं ३१. फ्रन्टलाइन हस्पिटल- पुरानो बानेश्वर, काठमाडौं ३२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)- ललितपुर ३३. शिर मेमोरियल अस्पताल- बनेपा, काभ्रे ३४. कलेज अफ मेडिकल साइन्सेस- भरतपुर, चितवन ३५. चितवन मेडिकल कलेज टिचिङ हस्पिटल- भरतपुर, चितवन ३६. मकवानपुर सहकारी अस्पताल- हेटौंडा, मकवानपुर ३७. चुरेहिल अस्पताल- हेटौंडा, मकवानपुर ३८. काठमाडौं क्यान्सर सेन्टर- ताथली, भक्तपुर ३९. चरक मेमोरियल अस्पताल- पोखरा, कास्की ४०. ग्यालेक्सी अस्पताल- पोखरा, कास्की ४१. लर्डबुद्ध एजुकेसनल एकडेमी (नेपालगन्ज मेडिकल कलेज)- कोहलपुर, बाँके ४२. लर्डबुद्ध एजुकेसनल एकेडेमी (नेपालगन्ज मेडिकल कलेज)- नेपालगन्ज, बाँके ४३. युनिभर्सल कलेज अफ मेडिकल साइन्स- भैरहवा, रुपन्देही ४४. गौतमबुद्ध मुटु अस्पताल- बुटवल, रुपन्देही सामाजिक सुरक्षा कोषबाट कस्ता-कस्ता सुविधा पाइन्छन् ? (क) औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना (१ प्रतिशत) १. योगदानकर्ता वा निजको पति या पत्नीको हरेक आर्थिक वर्ष १ लाख रुपैयाँसम्मको उपचार खर्च । २. तीन महिनासम्मको शिशुको उपचार खर्च । ३. १० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च । ४. योगदानकर्ता वा योगदानकर्ताकी पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक (हाल रु. १५,०००) बराबरको शिशु स्याहार खर्च । ५. महिला योगदानकर्ता भए आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदाबापतको रकम । ६. योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा डाक्टरको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदाबापतको रकम । (ख) दुर्घटना तथा अशक्तता सुरक्षा योजना (१.४ प्रतिशत) १. कामको सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्पूणर् उपचार खर्च । २. अन्य दुर्घटनाको हकमा वार्षिक सात लाख रुपैयाँसम्मको उपचार खर्च । ३. कामको सिलसिलामा हुने दुर्घटनाको कारण योगदानकर्ता अशक्त भएमा (अ) स्थायी पूणर् असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था) (आ) अस्थायी पूणर् असक्षमता भए काममा नफर्किउन्जेलसम्मका लागि पारिश्रमिकको मासिक ६० प्रतिशत । (इ) स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शतप्रतिशत मानेर आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था) (ग) आश्रित परिवार सुरक्षा योजना (०.२७ प्रतिशत) १. योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको सम्पूर्ण रकम प्रतिफलसहित फिर्ता पाउने । २. मृतक योगदानकर्ताका बालबच्चा (२ जनासम्म)ले पारिश्रमिकको ४० प्रतिशत रकम १८ वर्ष उमेर नपुग्दासम्म मासिक रुपमा पाउने । अध्ययन निरन्तर भए २१ वर्षको हुँदासम्म पाउने तर शारीरिक वा मानसिक रुपमा असक्षम सन्ततिको हकमा उमेर हद लागू नहुने । ३. योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था) ४. अविवाहित योगदानकर्ताको हकमा निजको आश्रित बाबु या आमाले सो सुविधा पाउने । ५. योगदानकर्ताको अन्तिम संस्कार खर्चबापत एकमुष्ठ रु. २५ हजार आश्रित परिवारले पाउने । (घ) वृद्ध अवस्था सुरक्षा योजना १. निवृत्तभरण योजना (२० प्रतिशत) (अ) योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि यस योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी आउने रकम मासिक रुपमा आजीवन निवृत्तभरण । (मुद्रास्फीति समायोजनको व्यवस्था) (आ) निवृत्तभरण लिन सुरु गरेको १८० महिना नपुग्दै मृत्यु भएमा निजको पति वा पत्नीले ५० प्रतिशत रकम आजीवन निवृत्तभरणबापत पाउने । २. अवकास सुविधा योजना (८.३३ प्रतिशत अनिवार्य र स्वेच्छिक) (अ) अन्य अवकास कोषमा भएको रकम हस्तान्तरण भई आएमा यसै योजनामा जम्मा हुने । (आ) योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गर्न चाहेमा रकम जम्मा गर्न सक्ने । (इ) सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणाभन्दा बढी रकम निवृत्तभरण सुविधा योजनामा जम्मा हुने भएमा बढी भएजति रकम अवकाश सुविधा योजनामा जम्मा गर्न सकिने । (ई) रोजगारीको अन्त्य हुँदा वा अवकास हुँदा यस योजनामा जम्मा भएको रकम प्रतिफलसहित भुक्तानी पाउने । (उ) योगदानकर्ता यस योजनाको रकमबाट जम्मा गरेको ३६ महिना पूरा भएपछि अधिकतम ८० प्रतिशतसम्म सापटी सुविधा पाउने । कर छुट सुविधा १. करयोग्य आयको एक तिहाइ वा ५ लाखमध्ये जुन कम हुन्छ, त्यो रकम सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा जम्मा गरेमा आयकर प्रयोजनका लागि घटाउन पाउने । २. कोषमा योगदान गर्ने योगदानकर्तालाई सामाजिक सुरक्षा कर छुट हुने ।

एनसेलको १६ औं दरबारमार्ग सडक महोत्सव वैशाख २ गते हुने

काठमाडौं । नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते काठमाडौंको दरबारमार्गमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव आयोजना हुन लागेको हो । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको छ । गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरु सहित यो महोत्सव सो दिन बेलुका ८ः३० बजेसम्म आयोजना गरिने एनसेलले जनाएकाे छ । एनसेलकाे अनुसार महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरुको प्रस्तुति हुनेछन् । कलाकारहरु दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ–आफना प्रस्तुति राख्नेछन् । महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह–प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडीज् आइसक्रिम र केएफसी रहेका छन् ।

व्यापार बढाउन हामीले छिमेकी देशलाई नफकाई हुँदैन : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले व्यापार बढाउन छिमेकी देशलाई नफकाई नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा भइरहेको निर्यात व्ववसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘व्यवसाय गर्दा, सामान आयात निर्यात गर्द पक्कै पनि समस्या होला तर उनीहरुसँग सहकार्यको विकल्प छैन,’ उनले भने । यस्तै, उनले देशलाई समृद्ध तर्फ लिन व्यवसायीको भुमिका पनि महत्त्वपूर्ण हुने बताउँदै  सरकारले व्यवसायीलाई निर्यात प्रवर्द्धनमा सहयोग गर्ने प्रतिवद्दता जनाए । उनले निजगढ विमानस्थल बनेमा देशलाई धेरै फाइदा हुने तर यसमा विभिन्न बाधा रहेको पनि बताए ।

अर्थतन्त्र थप संकटमा नजाओस् भनेर सरकार सजक छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र थप संकटमा नजाओस् भनेर सरकार सजक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भइरहेको नेपाल–जर्मन उद्योग वाणिज्य संघको २९ औं साधारणसभामा उनले यस्तो बताएका हुन् । उनले अहिले अर्थतन्त्र अफ्ट्यारो अवस्थामा भएको र त्यसको लागि आफु आएको बताए । ‘एक दिन अवश्य अर्थतन्त्र लयमा फर्कने छ, त्यसको लागि हामी लागि रहेका छौं,’ उनले भने,’यसको लागि सबैले सहकार्य गर्नुपर्छ ।’ यस्तै, उनले निजि क्षेत्रको सल्लाह सुझावलाई मध्यनजर सरकार अगाडी बढ्जने बताए । सरकार र निजि क्षेत्रसँगसँगै अगाडि बढ्दै गए मात्र अर्थतन्त्र चलायमान हुन सक्ने उनको भनाइ छ । निजी क्षेत्रले उद्योग बन्द गर्न हैन, उत्पादन बृदिमा लाग्नु पर्छ । जसले रोजगारि सिर्जना लागायका कुरामा मदत गर्छ । अर्थमन्त्री शर्माले छोटो समयमा सबै कुरा राम्रोसँग समेटेर बजेट ल्याउनु पर्ने अवस्था रहेको र त्यसको लागि बजेट कमिटी पनि गठन भइसकेको बताएका छन् ।

नबिल बैंकको डीजीएम बने गणेश अवस्थी

काठमाडौं । नबिल बैंकका गणेश प्रसाद अवस्थी नायव महाप्रबन्धक (डीजीएम) पदमा बढुवा भएका छन् । बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीजीएममा नियुक्त गरेको बैंकले जनाएको छ । यसअघि बैंकको प्रमुख व्यापार अधिकृत अर्थात् सहायक महाप्रबन्धक रहेका अवस्थी डीजीएममा नियुक्त भएका हुन् । विभिन्न वाणिज्य बैंकमा २ दशक बढी काम गरेको अनुभव सँगालेका अवस्थी विगत ३ वर्षदेखि सहायक महाप्रबन्धक पदमा कार्यरत थिए । क्रेडिट तथा निक्षेप परिचालनमा दख्खल अवस्थीले सन् २००१ मा तत्कालिन एनआईसी बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका हुन् । कुमारी बैंकको शाखा प्रमुख भएर काम गरेका उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आइमएई बैंकमा १३ वर्ष बढी काम गरेपश्चात् नबिल बैंक प्रवेश गरेका हुन् । विभिन्न बैंकिङ्ग फोरमहरुमा सहभागी अवस्थी क्रेडिट व्यवस्थापन, व्यवसायीक क्षमता र ग्राहक सेवामा बढी केन्द्रित छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै उनले हार्वड विजनेश स्कुलबाट डिस्रप्टिभ स्ट्राटिजी विषय समेत अध्ययन गरेका छन् ।

अर्थतन्त्रमा सुधार नआए आउने दिन अझ भयावह हुनसक्छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रमा सुधार आउन नसके आउने दिन अझ भयावह हुन सक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भइरहेको नेपाल–जर्मन उद्योग वाणिज्य संघको २९ औं साधारणसभामा उनले यस्तो बताएका हुन् । उनले सरकारले महासंघको सुझाव लिएको भए अर्थतन्त्र हालको अवस्थामा नआउने बताए ।अर्थतन्त्र सुधारको लागि उद्योग वाणिज्य संघले सरकारलाई धेरै सुझाव दिए पनि सरकारले त्यसलाई वास्ता नगरेको उनको गुनासो छ । ‘महासंघको सुझावको ग्रहणा गरेको भए यस्तो अवस्थ आउँदैन थियो कि,’ उनले भने । त्यस्तै, उनले नीजि क्षेत्रलाई हेर्न दृष्टिकोण परिवर्तन हुनुपर्ने बताए । सरकारले सहयोग गरे निजि क्षेत्रले मात्र अर्थतन्त्रमा सुधार ल्याउन सक्ने उनको भनाइ छ ।

काठमाडौं र ललितपुर महानगरमै लागू भएन स्वास्थ्य बीमा, प्रभावकारी छैनन् अस्पतालका फार्मेसी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बस्यौलाले काठमाडौं र ललितपुर महानगरपालिकामा नै स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न कठिनाई भएको बताएका छन् । शुक्रबार सातौं स्वास्थ्य बीमा वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो बताएका हुन् । ‘प्रथम सेवा बिन्दुको अभावमा काठमाडौं र ललितपुर महानगरमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न कठिनाई छ, यसको लागि सम्बन्धित अधिकारीहरुसँग छलफल भैरहेको छ,’ उनले भने । त्यस्तै, उनले स्वास्थ्य बीमामा विभिन्न समस्याहरु रहेको जानकारी गराएका छन् । अस्पतालहरुको फार्मेसी प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा बीमितबाट कार्यक्रम प्रति गुनासो प्राप्त हुने गरेको उनले बताए । उनका अनुसार हालसम्म पनि स्वीकृत नभएको बोर्डको स्थायी संरचनाको प्रक्रिया भने अगाडी बढीरहेको छ । औपचारिक क्षेत्रहरुलाई बीमा कार्यक्रममा आबद्ध गराउन, अति विपन्न परिवारलाई बीमाको दायरा भित्र ल्याउन, समयमै दाबी परीक्षण गरी शोधभर्ना गर्न कठिनाई रहेको उनको भनाई छ । त्यस्तै, विपन्न नागरिक औषधी उपचार कार्यक्रममा भुक्तानी कार्य भैरहेको तर व्वस्थापकीय कार्यको लागि थप जनशक्ति व्यवस्थापन हुन नसकिएको उनले बताए । बीमा बोर्डले समय समयमा सेवा प्रदायक स्वास्थ्य संस्थाको अनुगमन तथा सुपरिवेक्षणका अनुशिक्षणको काम गरिरहेको छ । प्रेषण प्रक्रियाको कार्यविधि बनाउने तयारी भैरहेको बोर्डले जानकारी गराएको छ । दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि सुविधाको थैली अद्यावधिक काम शुरु भएको साथै दाबी परीक्षण गर्ने जनशक्ति थप गरिएको डा. बस्यौलाले बताए । ‘आर्यर्वेद तथा बैकल्पिक चिकित्सा सेवाको लागि सुविधाको थैली तयार गरी अन्तिम चरणमा रहेको, विपन्न नागरिक औषधी उपचार कार्यक्रमको निर्देशिका परिमार्जन गर्ने प्रक्रिया आगाडी बढेको, कैदी बन्दीहरुलाई कार्यक्रम आवद्धताको लागि आवश्यक कार्यविधि स्वीकृत गरी उनीहरुलाई आवद्धता गर्ने कार्य थालनी गरिएको छ,’ उनले भने । चालु आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य बीमा बोर्डको कार्यक्रमको लागि कूल १७ अर्ब ३२ करोड रुपैयाँ वार्षिक बजेट छुट्याइएको छ । जसमध्ये चालु आवको चैत १५ सम्म ५२ प्रतिशत अर्थात ९ अर्ब रुपैयाँ खर्च भएको छ । वार्षिक लक्ष्यको आधारमा समीक्षा अवधिमा ४६ प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै, चालु आवमा विपन्न कार्यक्रम अन्तर्गत २ अर्ब ४७ लाख ८१ हजार रुपैयाँ बराबरको वार्षिक बजेट छुट्याइएको छ । जसमध्ये १ अर्ब ९१ लाख रुपैयाँ खर्च भएका छन् । कुल १९ हजार ९४ जना बीमित परिवार रहेको उक्त बोर्डमा बीमितको जनसंख्या ६४ लाख ५४ हजार जना रहेका छन् । कुल बीमितमध्ये २८ हजार ९३ हजार बढीले सेवा लिएका छन् । त्यस्तै, गत वर्षसम्ममा ३८ लाख ७१ हजार बीमितले बीमा नवीकरण गरेका छन् । बोर्डले चालु आवको चैत १५ गतेसम्म कूल एक अर्ब १४ करोड ४१ लाख रुपैयाँ योगदान रकम संकलन गरेको छ । कुल दावी संख्या ४३ लाख ३७ हजार वटा छन् । ४५६ वटा सूचिकृत सेवा प्रदायक रहेकोमा बोर्डले ८ अर्ब ६४ करोड रुपैयाँ सेवा प्रदायकलाई भुक्तानी गरेको छ । स्वास्थ्य बीमा कोर्डको कार्यक्रममा लक्षित वर्गको आवद्धता भएकामध्ये अति गरिब बीमितहरु ४ लाख ९८ हजार जना र जेष्ठ नागरिक बीमितको संख्या ७ लाख ७७ हजार पुगेको छ । परिवारका सदस्य समेत एचआईभी संक्रमित बीमित संख्या ३२ हजार ५३० जना, अति अशक्त अपाङ्ग बीमितहरु एक लाख २२ हजार, कुष्ठरोग संक्रमित बीमितहरु ३ हजार २४२ जना, एमडीआर एक्सडीआर टीबी भएका बीमितको संख्या ३ हजार ०१७ जना र महिला स्वास्थ्य स्वयमसेविका बीमित १ लाख ९ हजार रहेका छन् ।

नेपाल टेलिकमका ग्राहकले हिमालयन बैंकको एप निःशुल्क चलाउन पाउने

काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो । यस सम्बन्धी गत चैत २० गते भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताहरुको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताए ।