विकासन्युज

कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने चिन्ता

काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाइन् । उनले साविककै अवस्थामा जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने बताए । सांसद रमा कोइराला पौडेलले भारत हुँदै ओमान जान हिँडेका नेपाली महिला मुम्बईमा अलपत्र परेको सम्बन्धमा जानकारी गराउँदै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए । साथै ती महिलालाई विदेशमा कानुनी लडाइँ लड्नुपर्ने भएकाले सहयोग गर्न उनले सरकारसँग आग्रह गरे । सांसद श्यामकुमार घिमिरले नेपालको नीजि क्षेत्रले भारतमा विद्युत् निर्यात गर्न पाउने सहमति भए पनि कानुनी अड्चन देखिएकाले तत्काल त्यस्तो कानुन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

बेवारिसे बन्यो निगमको बोइङ जहाज, कसैले खरिद नगर्दा लाखौँको आर्थिक भार

काठमाडौं । नेपाल वायुसेवा निगमको बोइङ जहाज लिलामीमा समेत बिक्री नभएको महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनले जहाज बिक्रीको निर्णय भएको ५ वर्षको अबधिसम्म जहाज बिक्री भएको छैन् । सन् १९८८ मा खरिद गरिएको निगमको बोइङ ७५७–९ एनएवीसी जहाज ३० वर्षको इन्जिनको म्याद भएको हुँदा सन् २०१९ सम्म बिक्री गरिसक्नुपर्ने थियो । सोही अनुसार निगम सञ्चालक समितिले २०७५ को जेठमा लिलामका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । जहाजको इन्जिनको ३० वर्षे अवधि सन् २०१९ मा नै सकिएकोले जहाज लिलाम बिक्री गर्ने प्रक्रियामा ढिलाइ भएको छ । सञ्चालन नै हुन नसक्ने उक्त जहाजको मर्मत खर्च र प्राविधिकको भत्ता तथा अन्य शुल्कबापत २०७९ सालमा मात्रै ३९ लाख १२ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ जहाज लिलामीको प्रक्रिया नटुङ्गिएको अवस्थामा उक्त खर्चको औचित्यपूर्ण नभएको भन्दै महालेखाले उक्त सुविधाको रकम भुक्तानी गर्ने गरी निर्णय गर्नेलाई जवाफदेही बनाउनुपर्ने उल्लेख गरेको छ । यस्तै, जहाज बिक्रीका लागि पहिलो पटक आह्वान गरिएको बोलपत्रभन्दा अन्तिम पटक आह्वान गरिएको बोलपत्रको रकम न्यून भएको उल्लेख छ । ‘मूल्याङ्कनकर्ताबाट विमान बिक्रीका लागि अमेरिकी डलर ५२ लाख ९६ हजार ७३० र अन्य बाह्य पार्टपुर्जाहरूको बिक्रीका लागि अमेरिकी डलर २३ लाख ८० हजारसमेत अमेरिकी डलर ७६ लाख ७६ हजार ७३० मूल्याङ्कन भएको देखियो । सोही मूल्याङ्कनका आधारमा ‘जे जस्तो अवस्थामा छ’ सिद्धान्तअनुरूप बिक्री गर्ने गरी जून २६, २०१९ मा बोलपत्र आव्हान गर्दा २ वटा मात्र बोलपत्र दर्ता भएको थियो । जहाजको अमेरिकी डलर ४२ लाख ५० हजार र पार्टपुर्जाको अमेरिकी डलर ५ लाख मात्र छुट्टाछुट्टै बोलपत्रबाट दर्ता हुन आएकोले मूल्याङ्कनभन्दा निकै न्यून गरी बोलपत्र प्राप्त भएको र दोस्रो पटक बोलपत्र आह्वान गर्दा कुनै बोलपत्र नपरेकोले पहिलो पटकको बोलपत्रको कबोल अङ्कलाई लागत अनुमान तयार गरेर वार्ताद्वारा विमान बिक्री गर्ने निर्णय गरे तापनि उक्त विमान बिक्री भएको छैन’, प्रतिवेदनमा उल्लेख छ । सन् १९८८ सेप्टेम्बर १५ मा बनेको बोइङ निगमले कम्पनीमा निर्माण हुँदाहुँदै खरिद गरेको थियो । एक सय ९० सीट क्षमताको यो जहाज सन् २०१८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड छ । निगमले वाइडबडी विमान खरिद गरेपछि बोइङ विमान विस्थापन गर्न सुरू गरेको थियो । यसअघि अन्नपूर्ण नाम दिइएको अर्काे बोईङ बीबी एयरवेजले खरिद गरेको थियो । त्यो पनि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड छ ।

मन्जुश्री फाइनान्सको डिसीइओमा तेज राज तिमिल्सिना नियुक्त

काठमाडौं । मन्जुश्री फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीइओ)मा तेज राज तिमिल्सिना नियुक्त भएका छन् । फाइनान्सको बुधबार बिहान बसेको संचालक समितिको बैठकले तिमिल्सिनालाई डिसीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । तिमिल्सिना यसअघि रिलायन्स फाइनान्समा सहायक महाप्रबन्धक रहेका थिए । त्यसअघि उनले एनआइसी एशिया, सिद्धार्थ बैंकमा लामो समय काम गरेका थिए ।

काभ्रेकाे महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम मान्दै आइएको महाभारत गाउँपालिकामा हाल दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ । महाभारतको भुमेचुली–बुढाखानी–तिनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रसहित निर्माण गर्न ९९ करोड रकम विनियोजन भएको थियो । यस्तै तिनखुट्टे–देवीटार आठ किलोमिटर सडकका लागि ४९ करोड रकम विनियोजन भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार हाल देवीटार–गोकुले करिब सात किलोमिटर सडकलाई ४८ करोड रकमको स्रोत सुनिश्चित भएको छ । निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गर्ने र नियमितकार्य नगरेका कारण योजना ढिला हुने गरेको अध्यक्ष जिम्वाले बताए । ‘निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गरेपछि समयमा काम सम्पन्न नहुने हुँदा योजना लम्बिने देखिन्छ, हामी ताकेता गरिरहेका छौँ’, उनले भने । उनका अनुसार ९९ करोडको बजेटमा ६२ करोडमा सम्झौता भएको छ भने ४९ करोडको बजेटको सडकमा २४ करोडमा सम्झौता भएको छ । ती सडकको अवधि दुई वर्ष सम्पन्न भएर पुनः अर्को वर्ष थप हुँदासमेत समयमै निर्माणकार्य सम्पन्न नभएपछि हालै गाउँपालिकाको समन्वयमा वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयलेसमेत चासो दिएको छ । तीनखुट्टेदेखि देविटारसम्मको ८ दशमलव ७ किलोमिटर पक्की सडक निर्माणकार्य अलपत्र भएपछि गाउँपालिकाले पटक–पटक प्रदेश मन्त्रालयलाई समयमै निर्माण सम्पन्न गराउन पत्र लेख्दै आएको जिम्वाले बताए । यसैबीच, प्रदेश मन्त्रालयले आगामी आर्थिक वर्षबाटनै काम सुरु गर्ने गरी काभ्रेपलाञ्चोक र प्रदेश राजधानी मकवानपुर जोड्नेगरी ‘जनमुक्ति’ मार्ग निर्माण गर्न तयारी थालेको जनाइएको छ । मन्त्री युवराज दुलालले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका अन्तर्गत मङ्गलटारस्थित बिपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरेस्थित मदनभण्डारी लोकमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गरिने बताएका छन् । मन्त्री दुलालका अनुसार उक्त मार्गका लागि तीन अर्ब लाग्ने अनुमान गरिएको छ । उक्त सडकको लम्बाई ९३ किलोमिटर हुनेछ । रासस

त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड

दैलेख । त्रिदेशीय महावु सडकखण्डलाई सरकारले कर्णालीको सुर्खेत, दैलेख, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म विस्तारका लागि सरकारले प्राथमिकतामा राखेको छ । भारतीय सीमा जमुनाहानाकासँग जोडिएको यो सडक निर्माण सम्पन्न भएमा प्रदेशको समग्र विकासमा सहयोग पुग्ने जनाइएको छ । सो सडकखण्ड अहिलेको कर्णाली राजमार्गभन्दा ७९ किलोमिटर छोटो र सुरक्षित हुने छ । कर्णाली राजमार्गको वैकल्पिक सडकका रूपमा त्रिदेशीय सडकलाई लिइएको छ । यस सडकखण्डबाट लाखौँ रकम बचत हुनुका साथै यात्रा सुरक्षित हुने जनाइएको छ । सरकारले महावु खण्डलाई विशेष प्राथमिकताका साथ वजेट विनियोजन गरिनुपर्नेमा जोड दिइएको छ । सांसद अमरबहादुर थापासहितको टोलीले हालै सो सडकखण्डको निरीक्षण गरेको थियो । उनले दैलेख सदरमुकामबाट महावु हुँदै जुम्लासम्मको सडक कालोपत्रका लागि स्थलगत अध्ययन गरिएको बताए ।  ‘आगामी तीन वर्षमा यो सडक कालोपत्र गराउँछु, यसकालागि संघीय सरकारलाई ध्यानाकर्षण गराउँछु ।’ आर्थिक अवस्था कमजोर भएका जनताका लागि लाखौँ रकम बचत हुने र ७९ किलोमिटर छोटो हुने यस्तो सडकका लागि सरकारले दैलेख खण्डलाई विशेष प्राथमिकताका साथ हेरिनुपर्ने जनाइएको छ । अनुगमन टोलीमा नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा, जिल्ला प्रशासन कार्यालय र सडक विभाग सुर्खेतको इञ्जीनियर र महावै गाउँपालिकाका जनप्रतिनिधिको उपस्थिति थियो । दैलेख सदरमुकामको काँडाचौरलाई आधार बनाएर दैलेखबाट कालिकोटसम्म ४० किलोमिटर भू–भागमा अहिले सात निर्माण कम्पनीबाट काम सुरु गरिएको भए पनि पहाडी क्षेत्र र चट्टान धेरै भएका कारण कामले गति लिनसकेको छैन । कारबाहीको तयारी नारायण –४ भैसेखोरबाट भवानीगेटसम्मको पाँच किलोमिटर सडकखण्ड गत चैतभित्र कालोपत्र गरिसक्नुपर्ने थियो । निर्माणको जिम्मा लिएको कश्यप निर्माण सेवा एन्ड सप्लायर्सले कालोपत्र नगरेको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । पाँच करोड ५८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त सडकको काम वैशाखभित्र पूरा नगरे सडक विभागले कालोसूचीका लागि प्रक्रिया अघि बढाउने सडक विभाग सुर्खेतका इञ्जीनियर सुरेन्द्र सिंहले जानकारी दिए । महावु खण्डका धेरै स्थानमा कडा चट्टान भएकाले र भौगोलिक कठिनाइले काम गर्न केही असहज भए पनि आफूहरूले निर्माणको जिम्मेवारी लिएका निर्माण कम्पनीलाई बारम्बार ताकेता गरेको र अनुगमनलाई पनि प्रभावकारी बनाएको उनको भनाइ छ । महावु क्षेत्रलगायतका विभिन्न पर्यटकीय क्षेत्रको सहज पहुँच र विकासका लागि यो सडक महत्वपूर्ण मानिएको नारायण नगरप्रमुख शर्माले बताए । नेपालगन्जको बागेश्वरी, सुर्खेतको काँक्रेविहार, दैलेखको पञ्चकोकी क्षेत्र हुँदै महावु पर्यटकीय क्षेत्र, जुम्लाको तातोपानी र रारासम्मको पर्यटन पवद्र्धनमा यो सडक निकै महत्वपूर्ण हुने उनको भनाइ छ । दैलेखबाट महावुसम्मको ४० किलोमिटर क्षेत्रमा सातवटा निर्माण कम्पनीले कामको जिम्मेवारी लिएका छन् । पहिलो खण्डको रूपमा काँडाचौरबाट भैसेखोरसम्मको सडक विस्तारका लागि तीन वर्षअघि निवर्तमान सांसद रवीन्द्रराज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकासको छ करोड रुपैयाँ रकम सडक निर्माणमा विनियोजन गरेका थिए । नारायण नगरपालिकाले ठेक्का खोल्यो तर निर्माण कम्पनीले काम गरेनन् रकम फ्रिज भयो । अहिले खुर्सानीबारीबाट माथि एक किमी र भैसीखोर अगाडिको एक किलोमिटर खण्डमा कालोपत्रका लागि २०७९ फागुन १५ मा एक किमी कालोपत्रका लागि छ करोड ५३ लाख रुपैयाँमा सम्झौता भई काम सुरु भएको छ । यसको जिम्मा आजीवन जिटी पिएस जेबी सुर्खेतका बम केसीले लिएका छन् । भैसोखोरबाट भवानीगेटसम्म पाँच किलोमिटर क्षेत्र कालोपत्रको जिम्मा लिएको कश्यप निर्माण एन्ड सप्लायर्सले तोकिएको समयमा सम्पन्न गर्न सकेको छैन । २०७९ चैत सम्म कालोपत्र सक्नुपर्ने गरी पाँच करोड ५८ लाख रुपैयाँमा उक्त ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना बनाएर काम नगरेपछि सडक विभागले अन्तिमपत्र पठाएको छ । भवानीगेटबाट ओखरबाससम्मका विभिन्न तीन खण्डमा तिरुपाते लालसुभम मेनरो जेभीले काम लिएको छ । सम्झौताअनुसार सडक स्तरोन्नति, नाली, ग्राभेल, पर्खाललगायतका काम प्रभावकारीरूपमा अगाडि बढ्न सकेका छैनन् । तीन खण्डको १५ करोड रुपैयाँको ठेक्का ५० प्रतिशतमा घटेर हालेका कारण पनि काम प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ । पहिलो प्याकेजको काम सम्पन्न गरेको कम्पनीलाई दोस्रो र तेस्रो प्याकेजको काम सक्नका लागि असार मसान्तसम्म म्याद थप गरिएको छ । ओखरबासबाट उनिपाटासम्म काष्टमण्डप एनएस बिल्डर्स जेभीले कामको जिम्मेवारी लिएको छ । अहिले उनिपाटाको खण्डमा सडक चौडा गर्ने काम सुरु गरिएको छ । पाँच करोड रुपैयाँको ठेक्का लागत अनुमान गरिए पनि निर्माण कम्पनीले दुई करोड ५३ लाख रुपैयाँमा घटेर काम लिएको छ । उनिपाटेबाट महावुसम्म आजीवन जिटीएनएस जेभी सुर्खेतले कामको जिम्मेवारी लिएको छ । सात करोड ९६ लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु भइरहेको छ । कतिपय सडकखण्डमा बजार र बस्ती परेका कारण मुआब्जाको समस्या छ । मुआब्जाका लागि उक्त सडकमा प्रक्रिया नभएका कारण सरकारले व्यवस्थापन गरिदिन स्थानीयले आग्रह गरेका छन् । कतिपय स्थानमा खानेपानीको पाइप परेका कारण पनि काममा समस्या उत्पन्न भएको निर्माण कम्पनीले बताएका छन् । रासस

पर्यटक लोभ्याउँदै दाङको कुपिन्डे दह

दाङ । सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर वनजङ्गलको बीचमा अवस्थित दह देखेपछि त्यहाँ पुग्ने जो कोही पनि दङ्ग पदैँ रमाउने गर्दछन् । एक हप्ताअघि उक्त दहमा भेटिनु भएकी तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी सुशिला भटृराई त्यहाँको वातावरण देखेर निकै खुसी भइन् । उनले भने ‘यति राम्रो प्राकृतिक दृश्य देख्दा पाइएको आनन्दबाट धेरै सन्तुष्टी मिलेको छ।’ आफ्नी बहिनी र छोराछोरीसँगै पुग्नु भएकी भटृराईले चार घण्टा दह क्षेत्रमा बिताउन पाउँदा जति आनन्दको अनुभूति गर्न पाए त्यहाँको सुन्दरदहे स्वर्गको वर्णन गरेजस्तै देखिने बताए । ‘यति कञ्चन दहलाई स्वदेश तथा विदेशमा चिनाउनका लागि प्रचार प्रसार गर्न र नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा विकास गराउन सके यसले कर्णाली जिल्लाको सल्यानका साथै आसपास जिल्लाका गाउँको विकासमा समेत टेवा पुग्नसक्ने देखिन्छ,’ उनले थपे, ‘सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजा आरधना गर्न गएको समयमा कुपिन्डे दह र त्यहाँको बराह मन्दिरसम्म पुगेकी हुँ। सो दह निकै सुन्दर रहेछ देख्दा निकै मनमोहक लाग्यो ।’ बाँकेको कोहलपुरबाट उक्त दह हेर्नकै लागि साथीहरुसँगै पुगेकी कालिका रेग्मी पनि यहाँको वातावरण देख्दा निकै खुसी थिइन् । उनले दहमा ढुङ्गा चढेर जलविहार गर्नाका साथै फोटो खिची टिकटक बनाउन पाउँदा निकै आनन्द भएको बताइन् । अहिले गर्मीको समयमा चारैतिर जङ्गल र सोही जङ्गको बीचमा यति ठूलो र निलो देखिने दह देख्दा यात्राको थकान मेटिनाका साथै शीतलताको अनुभूति भएको उनको भनाइ थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं ५की निरा ढुङ्गानाले पनि यो दह अद्वितीय सम्पदा भएकाले यसको संरक्षणका लागि सबैजना लाग्नु पर्नेमा जोड दिए । दहसम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्न र दहदेखी केही टाढा चमेना गृह तथा होटल सञ्चालन गरिएमा पर्यकटलाई सुविधा हुनाका साथै पर्यटकहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्छ त्यसैले आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन उनले आग्रह गरिन् । सास्ती खेपेर यहाँ आइपुगे पनि त्यहाँको वातावरणले सबै थकान मेटाउने रहेछ ढुङ्गानाले भनिन्। कुपिन्डे दहमा डुङ्गा चलाउँदै आएका हरिशचन्द्र पुरीले यस दहको पानीले वर्षमा तीन पटकसम्म रङ्ग बदल्ने गरेको जानकारी गराए । प्राय निलो देखिने दहको पानी माघ–फागुन महिनामा रङ्ग खैरो र रातो बन्छ भने वर्षाको समयमा बाढी पस्दा पनि पानी कहिल्यै धमिलो नहुने उनले बताए । गर्मी महिनामा दहको अवलोकन गर्न र ढुङ्गा चढेर सयर गर्न टाढा टाढाबाट आउने पर्यटकहरूको सङ्ख्या बढ्ने गरेको डुङ्गा चालक पुरीले उल्लेख गरे । डुङ्गा चढेर पुरै दह अबलोकन गरेवापत दुईसय रुपैयाँ शुल्क लिने गरिएको र मासिक कम्तीमा पनि २० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ थियो । कुपिन्डे दह संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले २०६७ सालदेखि मात्रै यो दहको चर्चा सुुरू भएको बताए ।उनका अनुसार उक्त दहको छुटृै विशेषता छ। वरिपरि घना जङ्गल भए पनि यसमा एउटा पनि पात भेटिँदैन। पात खस्नासाथ आफैँ किनारमा पुग्छन् । नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ यो दह चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान पनि हो। कुपिन्डे दहको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार २ सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर रहेको छ। दहले कति क्षेत्रफल ओगटेको छ भन्ने बारेमा एकिन जानकारी नभएको बताइन्छ । दहमा पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने पनि स्पष्ट जानकारी यहाँका बासिन्दामा छैन । यो दहको देखिने मुहान पनि छैन र निकास पनि छैन तर वर्षामा दहमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो विस्तारै घट्दै जाने गरेको अध्यक्ष कुँवरले बताए। यसको देखिने निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान गरिएको छ। दहमा स्वदेशी तथा विदेशी पर्यटकलाई धेरै सङ्ख्यामा भित्र्याउन सके जिल्लाको मुहार नै फेर्न सकिने कुपिन्डे दह संरक्षण समितिका पदाधिकारी बताउँछन्। त्यसकालागि दह क्षेत्रमा पुग्ने बाटो कालोपत्रे हुनुपर्ने, पर्यटकहरुका लागि बास बस्ने होटल तथा चमेना गृह तथा भौतिक पूर्वाधारको विकास हुनुपर्ने र दह क्षेत्रमा सुरक्षाकालागि उचित व्यवस्था हुनुपर्नेमा सरोकारवालाले जोड दिए । रासस

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो । मंगलबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको भाउ आज प्रतितोला २५० रुपैयाँले बढेर तोलामा १ लाख ९ हजार ७५० सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

रूकुमका राजा, शहरका सर

काठमाडौं । तत्कालीन माओवादी पार्टी र त्यसको नेतृत्वमा उठेको १० वर्षे जनयुद्द । त्यो जनयुद्दको उदगम स्थल हो रूकुम । यो हिसाबले पनि रूकुमको बेग्लै परिचय, परिभाषा र पहिचान छ । कुनै समय रूकुम एउटा राज्य थियो । पछि टुक्रियो । रूकुम, मुसिकोट, बाँफीकोट, आठबिस, जहारी, गोताम र खगेना जस्ता स–साना राज्यमा परिणत भयो रूकुम । बहादुर शाहको नायवी र रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरूः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविस कोट, बाँफीकोट, कोटजहारी नेपालमा गाभिए । वि.सं २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरियो । पछि रुकुम सिंगो जिल्ला बन्यो । अहिले पुनः पश्चिम रूकुम र पूर्वी रूकुम गरेर दुई जिल्लामा परिणत भएको छ । देश परिवर्तनको एउटा सम्वाहक बन्ने अवसर रूकुमले पाएको छ । १० वर्षे जनयुद्धले नै पछिल्लो शाही शासनको अन्त्य गर्यो । अहिले देशमा गणतन्त्र छ । सबै समान हौं भन्ने भावना संविधानले समेटेको छ । तर, अतितलाई कसले पो भुल्न सकिन्छ र । १० वर्षे जनयुद्दमा ध्वस्त पारिएका तत्कालीन रूकुम राज्यका राजाका दरबारका अवशेषहरु अहिले पनि ठाडै छन् । संरचनाहरु स्वस्थ छैनन् । तर, मान्छेको मानसपटलमा भने ती संरचनाहरु ताजै छन् । तत्कालीन रूकुम बाँफीकोट राज्यका राजाका सन्तान हुन् अभिषेक बिक्रम शाह । उनको मानसपटलमा पनि केही सीमित घटनाक्रमहरुले राज गरेर बसेका छन् । त्यो आत्मिता, हार्दिकता । एक अर्काप्रतिको चिन्तन । सहयोगी भावना र मान–सम्मान । वाउ ! तर, अहिले एकअर्काप्रतिको हार्दिकता, सहयोगी भावना र मित्रता घटिसकेको बताउँछन् अभिषेक । अभिषेक विक्रम शाह रूकुमको बाफीकोटमै जन्मिए । सानो छँदा रूकुमको विरेन्द्र माध्यामिक विद्यालयमा पढे । बुबा निजामति सेवामा कार्यरत । बुबा जता सरुवा भयो, उतै पढ्न जानु पर्ने बाध्यता अभिषेकमा थियो । उनी सानै हुँदा सुदूरपश्चिमको बैतडीमा पनि पुगे । विद्यालय स्तरको पढाइ उनले बैतडी पुगेर गरे । पछि काठमाडौं आए । काठमाडौंमै पढाइलाई अगाडि बढाए । पढ्नमा औसत विद्यार्थी थिए अभिषेक । त्यतिबेला पढेपछि डाक्टर, पाइलट र सरकारी जागिरे बन्ने ‘ह्विम’ थियो । तर, उनले सजिलो बाटो समाते । पर्यटन क्षेत्रमै काम गर्ने सोच बनाए । उनले स्वविवेकले त्यही क्षेत्रसँग सम्बन्धित अध्ययन गरे । काम पनि सुरु गरे । अन्नपूर्णको क्यासिनोबाट काम सुरु कक्षा १२ को पढाइ सकेपछि अभिषेकलाई पढ्न विदेश जाने रहर थियो । तर, उनी गएनन् । काठमाडौंमै पढे । त्यतिबेला नेपालको पर्यटनमा एक किसिमको आकर्षण थियो । ‘राम्रो आथित्यता तथा सत्कार, काम पनि सजिलो, मलाई अब यो क्षेत्रमै काम गर्नु पर्छ जस्तो लाग्यो, अन्नपूर्ण होटलको क्यासिनोमा काम गर्न सुरू गरेँ, उनले सुरुवाती दिनहरु स्मरण गर्दै भने,’ ‘त्यतिखेर घर परिवार र साथीहरुले गाली पनि गरे ।’ रूकुमेली राजाको सन्तान । बुबा निजामति कर्मचारी (सुधिरकुमार शाह) सहसचिव थिए । पछि निर्वाचन आयुक्त भएर रिटायर्ड भए । अंकल (सुरेश विक्रम शाह) डिआईजी । बुबा र काकाको सम्बन्धले पनि उनी जुनसुकै ठाउँ र क्षेत्रमा सजिलै काम पाउन सक्थे । तर, उनलाई आफ्नै मेहेनत र पौरखले काम गर्नु पर्छ भन्ने लाग्यो । अन्नपूर्ण होटलमा काम सुरू गर्दा धेरैले राजाको सन्तान किन होटलको भाँडा माझ्ने काममा लागेको भनेर गाली पनि गरेको उनी स्मरण गर्छन् । ‘म मेरो योजनामा अडिक थिएँ, काम सानो ठूलो हुन्न भन्ने कुरामा कन्भिन्स थिएँ, ठूलो लक्ष्य हासिल गर्न सानोबाट काम सुरु गर्नु पर्छ भन्नेमा विश्वास गर्थें,’ उनले भने । अन्नपूर्ण होटलको क्यासिनोमा काम गर्दै गर्दा उनी बिरामी भए । पछि काम नै छोडे । केही समयपछि सोल्टी होटलमा ट्रेनिङका लागि आवेदन खुल्यो । ट्रेनिङपछि काम पनि मिल्थ्यो । ट्रेनिङ पुरा गरे । र सोल्टी होटलमा फ्रण्ट अफिसरबाट काम सुरु गरे । त्यहाँ आफुले ५ वर्ष काम गरेको उनी सुनाउँछन् । सन् २००५ देखि २०१० सम्म उनले सोल्टी होटलमै काम गरे । त्यसपछि उनी सोल्टी छोडेर हायात पुगे । सोल्टी होटल छोडेर हायात जाँदा पनि उनले आफन्त र साथीहरुको गाली खानु पर्यो । तर, उनले केही वास्ता गरेनन् । त्यहाँ पनि साढे ४ वर्ष काम गरे । पुनः हायात छोडेर समिट होटलमा साढे २ वर्ष काम गरे । समिट होटलमा काम छोडेर उनी चन्द्रागिरि हिल्स पुगे । चन्द्रागिरि केबलकारको उनी महाप्रबन्धक बने । त्यतिखेर पनि उनका साथीभाइ र घरपरिवारले उनको आलोचना गरे । ‘चन्द्रागिरि किन गएको ? केबलकार बन्छ कि बन्दैन, कहाँ जंगलमा गएको ? भनेर धेरै मानिसहरु मसँग रिसाए, तर म काम गर्दै गएँ, चन्द्रागिरिलाई सफल प्रोजेक्टका रूपमा अगाडि बढाएँ,’ उनले खुसी हुँदै भने । चन्द्रागिरि हिल्समा गएको भनेर रिसाएकाहरुसँग भने अभिषेकको गज्जबको अनुभव छ । सुरूमा रिसाउनेहरु चन्द्रागिरि बनेपछि जागिर, टिकट लगायतका लागि सहयोग माग्ने गरेको उनी सुनाउँछन् । ‘सुन्न रमाइलो लाग्छ, अगाडि गाली गर्नेहरुको दृष्टिकोण पछि बदलिँदा खुसी मिल्दो रहेछ,’ उनले भने । मान्छेले सफलता र ग्रोथ हासिल गर्न जोखिम पनि लिन सक्नु पर्ने उनी बताउँछन् । ‘हिजो गालि गर्ने, आलोचना गर्ने मान्छेलाई नै आज सिकाउनु परेको छ, मान्छेले कम्फर्ट जाेन छोड्नु पर्छ, तब मात्रै करिअर बन्छ, रिक्स लिन सक्नु पर्छ,’ उनले भने, ‘मैले त्यही रिक्स लिएँ र अहिले यता छु ।’ जुँगा र महाप्रबन्धकको किस्सा टाउकोमा ढाँकाको टोपी । रातो फ्रेमको चस्मा । गालामा दाह्रीजुँगा अनि चिटिक्क ‘गेटअप’ । हामीले अभिषेक विक्रम शाहलाई प्रश्न गरौं, ‘तपाईंको दाह्रीदेखि चस्माको फ्रेमसम्म बैंकर अनिल केशरी शाहसँग मिल्दोजुल्दो छ, तपाईं उहाँको अनुयायी हो, यो संयोग मात्रै ?’ उनले यसलाई अस्वीकार गरे । उनले यो आफुलाई सुहाउने र आफ्नो व्यक्तिगत शोख पनि भएको बताए । यो सँगै उनले अर्को गज्जबको किस्सा सुनाए । उनी चन्द्रागिरि हिल्सको महाप्रबन्धक थिए । केबलकार निर्माण गर्दा स्थानीयहरुले केही अवरोध गरे । एकदिन स्थानीयहरुले उनलाई भेट्न खोजिरहेका थिए । महाप्रबन्धक (जीएम) उनै शाह थिए । तर, स्थानीयले उनैलाई जीएमलाई बोलाउन भनिरहेका थिए । उनले आफु नै जीएम भएको बताए पनि उनीहरुले पत्याएनन् । पछि भित्र गएर ‘गेटअप’ चेञ्ज गरेपछि र केही कन्भिन्स गरेपछि उनीहरुले कुरा गर्न चाहे । कारण थियो कलिलो उमेर । उनी ३२ वर्षको उमेरमा चन्द्रागिरि हिल्सको जीएम बनेका थिए । त्यो घटनापछि उनलाई दाह्री जुँदा पाल्नु पर्दो रहेछ भन्ने महसुस भयो । ‘जीएम अर्थात् सीईओ या कुनै संस्थाको नेतृत्व गर्न दाह्री कपाल फुल्नै पर्छ भन्ने मानसिकता हामीमा छ, त्यसलाई काउन्टर दिन पनि मैले यो गरेको हुँ, दाह्री–जुँगा सुहाउने भएकोले पनि मैले नकाटेको हो, यसको छुट्टै चार्म छ, पहिचान पनि हुने भयो,’ उनले ठट्यौली शैलीमा भने । उनी अहिले ४० वर्षका भए । उनी अहिले होटल ले हिमालयनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा काम गरिरहेका छन् । उनलाई यो क्षेत्रमा काम गर्न थालेको दुई दशक बढी समय भइसकेको छ । उनी मुस्कुराउँदै भन्छन्, ‘अब ४० कटेसी रमाउँला भन्दा पनि ४० कटेसी झन नयाँ किसिमले दौडिनु पर्नेछ ।’ उनले सर्टिफाइड बिजनेस हस्पिटालिटी एडमिनेस्ट्रेसन (सीएचबिए) पनि पास गरेका छन् । यो टाइटल नेपालमा आफुले मात्रै लिएको उनी दाबी गर्छन् । उनी अब नयाँ जोस, जाँगर र शैलीका साथ काम गर्ने संकल्पमा छन् । नेपाली ब्राण्ड स्थापित गर्ने सीईओ शाह अब नेपाली होटलहरुमा नेपाली ब्राण्ड नै स्थापित गर्नु पर्ने बताउँछन् । विदेशी चेन ब्राण्डलाई प्रोत्साहन गर्नेभन्दा पनि पर्यटकहरुले नेपाली स्ट्याण्डर्ड नै मन पराउने हुनाले अब नेपाली हस्पिटालिटी क्षेत्रमा नेपाली ब्राण्डको अभ्यास सुरू गर्नु पर्ने उनको भनाइ छ । त्यसका लागि आफुहरुले अभ्यास सुरू गरिसकेको उनी बताउँछन् । ‘अब हामीले नेपाली ब्राण्डलाई स्थापित गर्नु पर्नेछ, विदेशी चेन ब्राण्ड आएर करेन्सी लिएर जान्छन्, हाम्रो आफ्नै आतिथ्यता छ, विदेशी आएर हामीसँग सिकेर जान्छन्, हामी विदेशी अभ्यास सुरु गर्छौं, हामी अहिले आफ्नै हस्पिटालिटी ब्राण्ड बनाउने प्रयासमा छौं, होटलमा नेपाली जीएम, नेपाली खाना, नेपाली स्ट्याण्डर्ड बनाउन सकिन्छ, नेपालमा आउने पर्यटकले यहाँकै आथित्यता चाहिन्छ, आफ्नोपनलाई प्रमोट गर्न आवश्यक छ, सोही ढंगले हामी काम गरिरहेका छौं,’ उनले भने । यस्तै, उनले पर्यटकीय गन्तव्रयहरुको प्रचारप्रसार गरेर काम गर्नु पर्ने आवश्यकता रहेको पनि बताए । उनी अब आफु यही क्षेत्र पृथक र सिर्जनशील भएर काम गर्ने बताउँछन् । रूकुमलाई फर्केर हेर्दा अभिषेक बिक्रम शाह कहिले काहीँ रूकुम जान्छन् । आफ्नो पुर्खाहरु बसेको बाफीकोट दरबार नियाल्छन् । कहिलेकाहीँ उनलाई लाग्छ, ‘यो दरबार पुनर्निर्माण गर्न कति खर्च खर्च लाग्ला ?’ ‘अझ उनी आफ्नै मन बुझाउँछन्, पुरानो दरबार जस्तो बनाउन सकिँदैन, सामान पनि पाइँदैन ।’ शाहले स्केचमा तयार पारेको बाँफीकोट दरबार । उनलाई अझै पनि रूकुमा पाइने सम्मान ताजै छ । जसरी उनका पुर्खाले पाउँथे । ‘शहरिया सर र रूकुमको राजा भाषा उस्ता उस्तै हुन्, यी दुवै सम्मानित भाषा हुन्, यसलाई म सम्मानको रूपमा लिन्छु, पहिला ठकुरी भाषालाई सामन्ती भन्थे, खाना मिठो थकालीको, भाषा मिठो ठकुरीको भनिन्छ नी, उनले स्पष्ट पार्न खोज्दै भने, ‘अहिले सबैलाई यही भाषा चाहिएको छ ।’ उनी रूकुमलाई पर्यटकीय हिसाबमा चिनाउन चाहन्छन् । भत्केका दरबारहरुलाई संग्राहलय बनाउन चाहन्छन् । तर, यसमा सरकारको साथ आवश्यक छ । ‘ऐतिहासिक धरोहरको भ्यालू छ, त्यो क्षति देशको लागि पनि नोक्सान हो, यसलाई पुर्ननिर्माण गर्नतर्फ सरकार अग्रसर हुनु पर्ने उनको भनाइ छ । रूकुम प्राकृतिक दृष्टिकोण र पर्यटकीय सम्भावनाले पनि भरिभराउ भएकोले त्यसको प्रचारप्रसार तथा प्रमोटका लागि आफु लागि पर्ने बताउँछन् । अहिले पनि रूकुममा ओझेलमा परेका धेरै ठाउँ भएकोले त्यसको प्रचार प्रसार गर्न आवश्यक छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल मेनेज्मेन्टबाट स्नातक तह पुरा गरेका शाह बढी घुमघामा रुचाउँछन् । उनको शोख भनेको ‘एयर गन सुटिङ’ हो । फुर्सदमा उनी सुटिङको अभ्यास गर्छन् । विभिन्न समयमा उनी पर्यटन क्षेत्रमा पुर्याएको योगदान स्वरुप सम्मानित हुँदै आएका छन् । गत फागुनमा पनि उनलाई सगरमाथा प्रतिष्ठान नेपालले सम्मान गरेको थियो । अघिल्लो वर्ष पनि बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा मत्वपूर्ण योगदान पुर्याएको भन्दै शाहलाई सम्मान गरेको थियो ।