देशमा संकट विद्यमान छ, कुन बेला के हुन्छ थाहा छैन् : महासचिव चन्द
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश सरकारबिहीन भएको टिप्पणी गरेका छन् । राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन् । उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनु सरह रहेको जिकिर गरे । ‘प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय हो, अहिले पनि सरकारको आयु तोकेरै भन्ने गरिएको छ, नयाँ नेताहरु नयाँ दौरा सुरवाल सिलाउन लागेका छन्, अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जानेकुरा चित्रित गरेको छ,’ उनले भने । उनले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको बताए । नेपालमा राजतन्त्र हुँदा समेत आर्थिक मन्दीको अहिलेको अवस्था भोग्नु नपरेको उनी बताउँछन् । महासचिव चन्दले नेपालको उत्पादनले तीन महिना पनि नधान्ने स्थिति रहेको भन्दै उत्पादनमा जोड नदिनेहरुबाट राज्य सञ्चालन हुनै नसक्ने बताएका छन् । ।
बढ्न थाल्यो भन्सार राजश्व, एक महिनामै थपियो ३३ अर्ब
काठमाडौं । सरकारले विभिन्न वस्तुको आयातमा लगाएको आयात प्रतिबन्ध हटेपछि पछिल्लो समय राजश्व संकलनमा बृद्धि हुन थालेको छ । गत माघदेखि सरकारले विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध, एलसीको मार्जिन हटाएपछि पछिल्लो समय भन्सार राजश्वमा बृद्धि हुन थालेको हो । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालू आवको नौ महिनाको तथ्यांक अनुसार राजश्व संकलनमा बृद्धि भएको हो । गत फागुन महिनाको तुलनामा चैत महिनामा मात्रै ३३ अर्ब ३२ करोड ९२ लाख २७ हजार रुपैयाँ बढीको राजश्व संकलन भएको हो । गत फागुन महिनासम्म भन्सारले २ खर्ब ४२ अर्ब ७२ करोड ४४ लाख ३२ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएकोमा चैत महिनामा २ खर्ब ७६ अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको हो । भन्सार विभागका सूचना अधिकारी पछिल्लो समय राजश्व संकलनमा बृद्धि हुन थालेको बताउँछन् । ‘विभिन्न वस्तुको आयातमा लगाईएको प्रतिबन्ध हटेपछि त्यसको असर भन्सार राजश्वमा देखिन थालेको छ, विस्तारै राजश्व संकलन बढ्ने हाम्रो अनुमान छ’, उनले भने । चालू आवको नौ महिनाको अबधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत फागुन महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको थियो । यस्तै, चालू आवको नौ महिनाको अबधिमा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आवमा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा चालू आवमा २६.३४ प्रतिशतले निर्यातमा कमी आएको हो । चालू आवको नौ महिनाको अबधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ ।
अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसका लागि कम्पनीले विद्युत नियमन आयोगमा स्वीकृतिका लागि आवेदन दिन निर्णय पगरेको छ । कम्पनीले उक्त हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने निर्णय गरेको छ । यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ । विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि कम्पनीको विशेष साधारणसभाबाट हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि पेस गर्ने छ ।
व्यापार घाटा ११ खर्ब, १८ प्रतिशतले घट्यो आयात
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार आयातमा १८ र निर्यातमा २६ प्रतिशतले कमी आएको छ । नौ महिनाको अबधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो आवको तुलनामा चालू आवको ९ महिनामा १८.८ प्रतिशतले आयातमा कमी आएको हो । अघिल्लो वर्षको सोही अबधिमा १४ खर्ब ६६ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको आयात भएको थियो । यस्तै, चालू आवको नौ महिनाको अबधिमा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आवमा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा चालू आवमा २६.३४ प्रतिशतले निर्यातमा कमी आएको हो । चालू आवको नौ महिनाको अबधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले कमी आएको हो । नौ महिनाको अवधिमा देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबर भएको विभागले जनाएको छ । अघिल्लो आवमा १६ खर्ब २७ अर्ब २३ लाख ४९ हजार रुपैयाँ बराबरको कूल व्यापार भएको थियो ।
निगमको महाप्रबन्धकको तलब तीन लाख, महालेखाले उठायो प्रश्न
काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक र कार्यकारी अध्यक्षको सेवासुविधामा महालेखा परीक्षकको प्रश्न उठाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनले निगमका महाप्रबन्धक तथा कार्यकारी अध्यक्षलाई सेवा सुविधा दिदा दोहोरो व्ययभार परेको उल्लेख छ । सञ्चालन खर्च समेत धान्ने अवस्था नभएको नेपाल वायुसेवा निगमका महाप्रबन्धकको सेवासुविधा तीन लाख तोकिएको छ । निगमको महाप्रबन्धकको पारिश्रमिक २ लाख ८५ हजार रुपैयाँ र कार्यकारी अध्यक्षको पारिश्रमिक नेपाल सरकारका विशिष्ट श्रेष्ठी सरह रहेको प्रतिवेदनमा उल्लेख छ । निगमका तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले पारिश्रमिक बृद्धि गरेका थिए । उनि महाप्रबन्धक हुनुअघिसम्म एक लाख रुपैयाँ रहेको पारिश्रमिकमा उनले बढाएर २ लाख ८५ हजार रुपैयाँ पुर्याएका थिए ।
डोल्पामा लुकीछिपी यार्सा सङ्कलन गर्न जाने १३ जना पक्राउ
डोल्पा । डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । उनीहरु सबै निकुञ्जको तोइजुमपोष्टबाट पक्राउ परेको भण्डारीले बताए । डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्सा सङ्कलन पाटन खुलाउने गरिन्छ । त्यसैगरी, कुनासा र पुनिखा पाटनमा अवैध रुपमा छिरेका ४० जनाको हाराहारीमा रहेको समूहलाई निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले निगरानी गरेको संरक्षण अधिकृत भण्डारीले जानकारी दिए । यस वर्षको यार्सा सङ्कलन गर्ने समय नजिकिँदै गर्दा एक सातादेखि निकुञ्जका कर्मचारी र सेनाले निकुञ्ज क्षेत्रमा पर्ने यार्सा पाटनमा संयुक्त गस्ती गरिरहेको निकुञ्जले जनाएको छ । यार्सा सङ्कलन गर्ने समय अगाडि नै लुकीछिपी पाटन नछिर्न निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ । नियमित गस्तीका क्रममा पाटनमा कोही भेटिएमा पक्राउ गरी नियमानुसार कारबाही गरिनेसमेत निकुञ्जले जनाएको छ । रासस
‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’
कोरिया । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताएका छन् । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी उपग्रह परीक्षका निम्ति तयार छ । यसअघि प्योङयाङले गरेका क्षेप्यास्त्र र रकेट प्रक्षेपणबाट उत्तर कोरियाले अन्तरिक्षमा उपग्रहहरू पठाउनसक्ने अनुमान गरिएको थियो । विज्ञहरूले भने जासुसीका निम्ति शक्तिशाली क्यामरा आवश्यक पर्ने र प्रक्षेपण गर्ने भनिएको भूउपग्रहमा त्यस्ता क्यामरा छन वा छैनन् भन्ने प्रश्न गरेका छन् । विगतमा गरिएका प्रक्षेपणका तस्बिर शक्तिशाली क्यामराले नखिचिएकाले अझैपनि प्योङयाङसँग जासुसीका निम्ति उपयोग हुने अत्याधुनिक क्यामरा नभएको उनीहरूको बुझाई छ । मङ्गलबार देशको अन्तरिक्ष केन्द्रको भ्रमण गरेर नेता उनले आणविक क्षेप्यास्त्रको प्रभावकारी प्रयोगका लागि सैन्य टोही उपग्रह महत्वपूर्ण हुने बताउँदै खुफिया सूचना सङ्कलन गर्ने भूउपग्रहबारे जानकारी लिएका थिए । वैज्ञानिकहरूले कुनै पनि बेला त्यसलाई प्रक्षेपण गर्न सकिने जानकारी दिएका बताइएको छ । उत्तर कोरियाले अमेरिका र जापानलाई आफ्नो प्रमुख शत्रु मान्दै आएको छ । अमेरिकी नाकाबन्दीबाट क्रुद्ध भएको उत्तरले हालै दक्षिणसँग मिलेर अमेरिकाले गरेको बृहत् सैन्य अभ्यासबाट अझ रिसाएको उसले ठोस ऊर्जाशक्तिबाट सञ्चालन हुने अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण गरेर दक्षिण कोरिया र अमेरिकालाई चिन्तित तुल्याएको छ । रासस
सिंहदरबार ठप्प पार्ने चेतावनीसहित कर्मचारीको आन्दोलन घोषणा
काठमाडौं । निजामती कर्मचारीहरूका युनियनहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् । सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने गरी उनीहरुले आन्दोलन गर्ने घोषणा गरेका हुन् । कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलनका गर्ने निर्णय गरेको उनीहरुले बताएका छन् । आन्दोलनको पहिलो चरणमा उनीहरुले वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एसएमएस पठाउने र वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने कार्यक्रम सार्वजनिक गरेका छन् ।