भिभो भि२७ सिरिजका दुई स्मार्ट फोन सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । भिभोले भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोनहरु वैशाख २५ देखि ३१ गतेसम्म प्रि–बुकिङ लागि उपलब्ध हुनेछन् । ग्राहकहरुले ३ हजार तिरेर भी२७ फाइभजी वा भी२७ई को प्रि–बुकिङ गर्न सक्नेछन् । साथै, ग्राहकहरुले भी२७ फाइभजी को प्रि–बुकिङमा भिभो टीडब्लुएस एयर र भी२७ई को प्रि–बुकिङमा नोइज कलर फिट स्मार्टवाच पाउँनेछन् । फोनमा स्लीक डिजाइन, भी२७ फाइभजीमा औरा लाइट पोट्र्रट सिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज लगायतका आकर्षक विशेषताहरु छन् । भिभो भी२७ सिरिजको बारेमा भिभो नेपालका जनरल म्यानेजर माइकलले भने, ‘भिभो भी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरुले गर्दा प्रयोगकर्ताहरू सधैं यस स्मार्टफोनहरूप्रति आकर्षित हुँदै आएका छन् । भिभोमा, हाम्रो मूल सिद्धान्त बेन्फेनप्रति हामी प्रतिबद्ध छौं, जसले निरन्तर अनुसन्धान र सही कामहरू गर्ने हामीलाई अग्रसर गर्दछ ।’ ग्लोइङ पोट्र्रेट सुनिश्चित गर्ने आकर्षक र उत्कृष्ट क्यामेरा भी२७ सिरिजका स्मार्टफोनहरूले मोबाइल फोटोग्राफीको संसारमा गेम–परिवर्तकको रूपमा काम गर्नेछ । भी२७ फाइभजीमा औरा लाइट प्रणाली छ जसले ग्लोइङ एक्सपोजरलाई बढाएर उत्कृष्ट एवं आकर्षक फोटोहरु खिच्न मद्दत गर्दछ । भी२७ फाइभजीमा ५०एमपी अल्ट्रा–सेन्सिङ रियर क्यामेरा र ५०एमपी अटोफोकश सेल्फी क्यामेराको साथमा सोनी आइएमएक्स७६६भी सेन्सर रहेको छ । साथै, भी२७ फाइभजीले सफ्ट र एकसमान प्रकाश प्रभाव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई रातीको समयमा पनि स्पष्ट, प्राकृतिक र उत्कृष्ट तस्बिरहरू खिच्न मद्दत गर्दछ । त्यस्तै भी२७ई को ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेराले स्थिर स्न्यापसटहरू प्रदान गर्दछ र कम प्रकाश अवस्थाहरूमा खिचिएका तस्वीरहरुको गुणस्तर वृद्धि गर्दछ । यसमा भएको ३२एमपी एचडी सेल्फीबाट प्रयोगकर्ताहरुले स्पष्ट तस्वीरहरु खिच्न सक्छन् । दमदार स्क्रिन र मोहक डिजाइन भी२७ फाइभजी भिभोको नेपालको पहिलो १२० हर्ज थ्रीडी कर्भ स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूको भिजुअल अनुभव वृद्धि गर्दछ । त्यस्तै भी२७ई मा २.५डी स्क्रिन र १२० हर्ज एमोलेड डिस्प्ले रहेको छ जसले स्क्रिनको ब्राइटनेशलाई व्यवस्थीत गर्दै जीवन्त रंगहरू प्रदान गर्दछ । शानदार प्रदर्शन भी२७ सिरिजमा ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यासचार्ज छ र दुवै फोनहरु केवल १९ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । भी२७ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेको छ जुन ४एनएम मेकानिज्ममा सुसज्जित छ । त्यस्तै भी२७ई मा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ जसले सहज रूपमा एपहरूबाट स्वीच गर्न र डेटा स्टोर गर्न मद्दत गर्दछ । भी२७ फाइभजी दुई आकर्षक रंगहरूमा – म्याजिक ब्लू र नोबल ब्ल्याकमा ५८,९९९ रुपैयाँमा उपलब्ध हुनेछ र भी२७ई दुई उत्कृष्ट रंगहरूमा – ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा ४१,९९९ रुपैयाँमा उपलब्ध हुनेछ । दुवै स्मार्टफोनहरु ८+२५६ जीवी भेरियन्टमा मे १५ अर्थात जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरु र ईकर्मसमा उपलब्ध हुनेछ ।
बजेट अनावश्यक रुपमा नबढाउन सांसद वाग्लेको सुझाव
काठमाडौं । अर्थविद् एवम् सांसद डा स्वर्णिम वाग्लेले सरकारलाई बजेटको आकार अनावश्यक रुपमा नबढाउन सुझाव दिएका छन् । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन) ले काठमाडौंमा आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०२३ मा सांसद वाग्लेले बजेटको आकार अनावश्यक बढाएर अविश्वसनीय बनाउनुभन्दा वास्तविक आकारको बजेट ल्याउन पनि उनले सरकारलाई सुझाव दिएका हुन् । उनले नेपालमा अहिले देखिएका आर्थिक समस्या समाधानका लागि विद्यमान नीति र कानुनलाई एकीकृतरुपमा समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन् । ‘अहिले अर्थतन्त्रमा अभूतपूर्व सङ्कट देखिएको हुँदा अभूतपूर्व नीतिगत सुधार आवश्यक छ । हाम्रा नीति, नियम, ऐन, कानुनमाथिको बहस थालिनुपर्ने बेला भएको छ । अब ओम्निबस आर्थिक सुधार आवश्यक छ । यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक छ”, सांसद वाग्लेले भने । पहिलो चरणको आर्थिक सुधार सुरु भएलगत्तै गृहयुद्धलगायत कारण आर्थिक वृद्धिदर उल्लेख्य देखिन नसकेकोमा गणतन्त्र स्थापनापछिको पछिल्लो १५ वर्षमा पनि नेपालले उल्लेख्य आर्थिक उपलब्धि हासिल गर्न नसक्नु गम्भीर विषय रहेको उनको भनाइ छ । अहिले अर्थतन्त्रका सबै क्षेत्रको गहन विश्लेषण गरी समस्या पहिचान तथा निराकरणको उपाय खोज्न आवश्यक रहेको वाग्लेले बताए । ‘यस्तै प्रतिकूल बेलामा असल नियतले तथ्य तथ्याङ्कको सही विश्लेषणमार्फत् समाधान खोज्ने हो । यद्यपि, यसको कुनै अचुक उपाय छैन’, वाग्लेले भने, ‘संरचनागत सुधार, पारदर्शीता, सुशासन, नीतिगत स्थिरता तथा त्यसको प्रभावकारी कार्यान्वयनबाट अर्थतन्त्र सुधार सम्भव हुन्छ ।’ विद्यमान आर्थिक नीतिले समस्या समाधान गर्न नसक्ने हुँदा फरक ढङ्गले नीति बहसमा लाग्ने समय आएको धारणा वाग्लको भनाइ छ । राजनीतिक चरित्र नसुध्रने र संस्थागत भ्रष्टाचार हटाउन नसक्ने हो भने समस्या थप बढ्दै जाने उनको भनाइ छ । ‘संस्थागत भष्ट्राचार छ । राजनीतिक दलहरु कार्यकर्ता र आसेपासे नियुक्तिमा केन्द्रित छन् । यसले आर्थिक जोखिम थप बढाएको छ’, उनले भने । अर्थतन्त्रको वित्तीय पाटो हेर्दा सरकारी आम्दानी र खर्चबीच असन्तुलन बढ्दै गएर अर्थतन्त्रको संरचनागत खाडल बन्नु चिन्ताको विषय रहेको वाग्लेको भनाइ छ । ‘सार्वजनिक खर्च र राजस्व सङ्कलनमा असन्तुलन देखिएको छ । राजस्व सङ्कलनभन्दा खर्च बढी भएको अवस्था छ । लक्ष्यअनुसार राजस्व सङ्कलन छैन’, उनले भने, ‘राजस्व चुहावट कसरी भएको छ भनेर हेरिनुपर्छ । खर्चको प्रभावकारिता र मितव्ययिता छैन ।’ सार्वजनिक खर्च कटौतीमा सरकार निर्मम भएर जानुपर्ने धारणा पनि उनले राखे । त्यस्तै, सामाजिक सुरक्षाको विषयलाई राजनीतिकरण गर्न नहुने उनले भनाइ राखे । नेपालले लिएको आर्थिक वृद्धिदरको अनुमानमा पनि डा वाग्लेले प्रश्न उठाए । चालु आर्थिक वर्षका लागि सरकारले राखेको आर्थिक वृद्धिदरको तुलनामा निकै न्यून मात्र उपलब्धि देखिनुले अर्थतन्त्रमा ठूलै समस्या रहेको इङ्गित गरेको वाग्लेको भनाइ छ । ‘अर्थतन्त्रमा सामान्य अङ्कको फरक स्वभाविक हो । तर हामीले यसवर्ष आठ प्रतिशतको आर्थिक वृद्धिदर राखेकोमा करिब छ प्रतिशत बिन्दुको फरक देखिएर वृद्धिदर दुई प्रतिशतमा खुम्चिने देखिएको छ । यो भनेको हाम्रो कार्यशैलीमा पक्कै पनि गम्भीर समस्या छ,’ वाग्लेले भने । नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन कन्ट्री रेटिङ) नहुँदा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नसकेको उनले बताए । त्यस्तै पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दिका कारण नेपालले वैदेशिक ऋण र अनुदान र न्यून पाइरहेको उनको भनाइ छ ।
सुरु भयो संसद्कोे बर्खे अधिवेशन
काठमाडौं । सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपरान्ह ४ बजेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए । यस अधिवेशनमा मुख्यरुपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अधिवेशन प्रारम्भसँगै प्रि(बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने जनाइएको छ ।
ठूला भ्रष्टाचारका फाइल खोले राप्रपाले सरकारलाई समर्थन गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलेले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् । आईतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताएका हुन् । उनले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताए । उनले वाइडबडी काण्ड, ललिता निवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
सोमबारबाट काठमाडौं महानगरको अव्यवस्थित तार हटाइने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु अव्यवस्थित तार हटाउन राजी भएका छन् । आइतबार भएको छलफलपछि सोमबारबाट काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार हटाइने भएको छ । महानगरका अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाइने छ । महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिँदै २७ वैशाखभित्र अव्यवस्थित तार हटाउन भनेको थियो ।
नयाँ वर्षमा बेनेलीको मोटरसाइकल किन्दा ६० हजार छुट
काठमाडौं । बेनेली मोटरसाइकले ‘ग्र्याब द डिल’ नयाँ सफर धमाकेदार अफर ल्याएको छ । नेपालको लागि बेनेलीको आधिकारीक विक्रेता केटिएम इन्टरनेशनले नयाँ वर्षको अवसरमा यो अफर ल्याएको हो । सो अफरमा ग्राहकले ६० हजारसम्म छुट पाउन सक्नेछन् । ग्राहकले नगद छुट पाउनुका साथै, बेनेली ब्राण्डको हेल्मेट, आर्थिक वर्ष २०८०/८१ को सडक कर तथा अन्य आकर्षक उपहारहरु पाउने कम्पनीले जनाएको छ ।
‘आइएमई पे’ले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने
काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो । सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने बताएको छ । रिवार्ड पोइन्ट जुनसुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने कम्पनीले बताएको छ । कम्पनीको अनुसार सो रिवार्ड पोइन्ट कारोबार गर्दै जाँदा जोडिदै जाने र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सकिने छ । ।
अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सच्चिन जरुरी छ : विनोद चौधरी
काठमाडौं । प्रतिनिधिसभा सांसद विनोद चौधरीले नेपालको राजनीतिक प्रणाली तत्काल नसुध्रिए अर्थतन्त्र थप धराशायी बन्दै जाने बताएका छन् । आज यहाँ आयोजित नेपाल व्यवसाय शिखर सम्मेलनमा उनले अर्थतन्त्र थप बिग्रन नदिन राजनीतिक चरित्र सुध्रन आवश्यक रहेको बताए । ‘अर्थतन्त्रको यस गम्भीर अवस्थामा पनि हाम्रो राजनीति सत्ताको भागबण्डा, प्रशासनिक हेरफेर र आफन्तको नियुक्तिबाट बाहिर निस्कन सकेको छैन, अर्थतन्त्रलाई राजनीतिको केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने जिम्मेवारीलाई राजनीतिले आत्मसाथ गर्न सकेको छैन’, सांसद चौधरीले भने, ‘राजनीतिक दलहरुले राष्ट्रिय अर्थतन्त्रको एजेण्डामा एउटा गम्भीररुपमा बैठकसम्म बोलाएका छैनन् । अर्थतन्त्रमा अरु धेरैकुरा बिग्रनु अघि हामी सच्चिन जरुरी छ, राजनीति सच्चिन जरुरी छ ।’ नेपालको अर्थतन्त्रमा समस्याको सूचीमै रहेको र यसलाई तथ्याङ्कले प्रमाणित गर्दै लगेको भए पनि सकारात्मक आशा गर्ने ठाउँ भने बाँकी रहेको चौधरीको भनाइ छ । ‘हामीले नेपाली अर्थतन्त्रको कालो बादलमा चाँदीका घेरा खोज्नुपरेको छ, निर्यातमुखी जलविद्युत् परियोजना निर्माण, रेमिट्यान्स उत्पादनमुखी क्षेत्रमा लगानी, पोखरा र भैरहवा विमानस्थलको प्रयोग, पाइपलाइनमा रहेका ठूला आयोजना निर्माणलाई प्राथमिकतामा राखिनुपर्छ ।’ विकास निर्माणले गति लिन नसक्दा त्यसको बहुआयामिक असर मुलुकको अर्थतन्त्रमा देखिएको उनको भनाइ छ । सङ्घीय सरकारले मात्र नभइ प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्च गर्न नसक्नु गम्भीर चिन्ताको विषय रहेको उनले बताए । ‘हामीले विकास निर्माणको प्रक्रियालाई ट्र्याकमा ल्याउन सकिरहेका छैनौँ । विकास निर्माणका गतिविधि समयमै सकेको भए कमजोर राजस्व सङ्कलन र आर्थिक वृद्धिदरको अवस्था सामना गर्नुपर्ने थिएन’, उनले भने, ‘प्रदेशको पुँजीगत खर्च हालसम्म करिब ३० प्रतिशत बराबर मात्रै छ । राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासमा केही योगदान गर्न नसक्ने तर नागरिकको टाउकोमा राजस्वको भार मात्रै थप्ने हो भने पक्कै पनि प्रदेश सरकारमाथि प्रश्न उठ्नेछ ।’ अहिले सामाजिक सुरक्षा र पेन्सन खर्चजस्ता अनिवार्य दायित्वका शीर्षकमा रकम व्यवस्थापन गर्न सरकारलाई गाह्रो परेको उल्लेख गर्दै सस्तो राजनीतिक लोकप्रियताका लागि सामाजिक सुरक्षा भत्ताको विषय ल्याउन नहुने उनले बताए । औसत आयु सुधार हुँदै गएका बेला वृद्धभत्ता पाउने उमेर घटाउनु पनि उचित नरहेको सांसद चौधरीले भने । लगातार दुई त्रैमाससम्म आर्थिक वृद्धिदर ऋणात्मक हुनुलाई आर्थिक मन्दिको अवस्था मानिने अन्तर्राष्ट्रिय मान्यता रहेको उल्लेख गर्दै उनले नेपालमा पछिल्लो तीन वटा त्रैमासमा लगातार आर्थिक वृद्धिदर नकारात्मक देखिएको बताए । यसले नेपालको अर्थतन्त्री साँच्चिकै गम्भीर समस्यामा छ भन्ने पुष्टि भएको पनि उनको भनाइ छ । नेपालले जलविद्युत् आयोजनाको विकासमार्फत् लाभ लिनसक्ने प्रचुर सम्भावना रहेकाले यो क्षेत्रलाई सरकारले प्राथमिकता राख्नुपर्नेमा उनले जोड दिए । ‘हाल भारतले १२ हजार पाँच सय मेगावाट बराबर बिजुली आयात गर्न चाहेको पृष्ठभूमिमा हामीले त्यो अवसर गुमाउन हुँदैन । हाल देशभित्र पाइपलाइनमा रहेका करिब ११ हजार मेगावाटभन्दा बढी उत्पादन क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाइनुपर्छ ।’ दुई ठूला छिमेकीमुलुक भारत र चीन अहिले विश्वका उदियमान अर्थतन्त्रमा रुपमा देखापरेकाले नेपालले पनि त्यसको लाभ लिनसक्ने ठाउँको खोजी गर्नुपर्ने चौधरीले बताए । रासस