विकासन्युज

सिटिजन्स बैंकमा आर्कषक रोजगारीको अवसर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदको लागि कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न तीन पदका लागि कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनि असिस्टेन्टका लागि केहि र ट्रेनी असिस्टेन्ट, लेगल एण्ड सेयर डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि इच्छुक उम्मेदवारले स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले हेड अफिस, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ ३० गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

काठमाडौं महानगरका सबै विद्यालयले छात्रवृत्ति वितरणको विवरण पठाउनु पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ । महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति यही जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन आग्रह गरेको छ । महानगरको शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गर्न र नियमावलीको नियम ५९ अनुसार छात्रवृत्ति पाउनेको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न उक्त सूचनामार्फत सूचित गरिएको छ । यसैगरी, महानगरले कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्न पनि निर्देशन दिएको छ । तोकिएअनुसार समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने चेतावनी दिइएको छ । महानगरले वडाध्यक्ष तथा जनप्रतिनिधिलाई छात्रवृत्ति वितरण तथा विवरणको काममा सहयोग र अनुगमन गर्न पनि उक्त सूचनामार्फत आग्रह गरेको छ ।

सुन्दरता के हो ?

काठमाडौं । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री ? यसको परिभाषा के हुनसक्छ ? यी र यस्तै विषयमा बौद्ध धर्मका गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले चर्चा गरे । विश्वमै फरक फरक रूपमा आफूलाई परिचित गराउन सफल नोर्बुले ‘ब्युटी इज अ ट्र्याप’ (सुन्दरता एउटा जाल हो) विषयमा चर्चा गर्दै आफ्नो बुझाइ राखे । जेठ ५ गतेबाट प्रदर्शनरत चलचित्र ‘डाकिनी’ को नेपाल प्रदर्शनका लागि उनी नेपालमा छन् । चलचित्र ‘द कप’,‘ट्राभल्स एन्ड म्याजिसियन्स’, ‘हिमा हिमा ः सिङ्ग मी अ सङ ह्वाइल आई वेट’ लगायतका उनी निर्देशित चलचित्र विश्वभर प्रख्यात छन् । त्यसैले पनि उनको नेपाल आगमन चलचित्र प्रेमीका निमित्त खास छ । विश्वभरका चलचित्रकर्मीसँग काम गरेका निर्देशक नोर्बुले ‘चलचित्रको सुन्दरता’ के बुझेका छन् त ? उनको सरल जफाव छ,’जे तटस्थ छ, त्यहीँ सुन्दर छ ।’ उनले चलचित्रलाई बुझ्ने तरिका र शैली अन्यभन्दा फरक छ । अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ मार्फत विश्वभर प्रदर्शन भएको चलचित्र ‘डाकिनी’मा बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का कथा छन् । देवी खोजिने चलचित्रमा बौद्ध ग्रन्थको सुन्दर आयामलाई प्रस्तुत गरिएको छ । काठमाडौँमा क्याफे सञ्चालनको तयारीमा रहेका तिब्बती मूलका युवालाई सपनामा केही संकेत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर चलचित्रको कथा बगेको छ । सामान्यतया चलचित्रमा सात दिनमात्र बाँच्छ भन्ने थाहा पाएको पात्रले के–के गर्छ होला ? हामीले केही यस्ता चलचित्र हेरेका पनि छौँ । तर ‘डाकिनी’ फरक छ । त्यहाँ पात्रले आफ्नै दिनचर्यामा खोजी गर्छ । उसको पीडा र संघर्ष उस्तै छ, तर व्यक्त गर्ने तरिका फरक । किनकि यसलाई निर्माण गर्दा तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको छ । उनले भने झैँ चलचित्रमा प्रस्तुत हुने चरित्र सकारात्मक होस् या नकारात्मक हामीले यस्तो होला ? भन्ने अनुमान गरिहाल्छौँ । चलचित्रमा गीत हुनुपर्छ, द्वन्द्व हुनुपर्छ भन्ने हाम्रो मानसिकता नै छ । अभिनेताले नकारात्मक चरित्र निर्वाह गरेका सयौँलाई पिट्न सक्छ । यो हामीले देख्दै आएको चलचित्रको शैली वा प्रस्तुतीकरण हो । तर, पर्दा भन्दा बाहिर सम्भव छ त ? छैन भने समाजसँग कसरी जोडिएको छ ? वा समाजको कथालाई पर्दामा न्याय गरेको छ त ? निर्देशक नोर्बु भन्छन्, ‘चलचित्र बनाउँदा चरित्रलाई पर्दामार्फत दर्शकसम्म पुर्‍याउनु पर्छ । तर, चलचित्रहरूमा निर्देशकको स्वार्थअनुसार चरित्र निर्माण भइरहेका छन् । ती स्वतन्त्र छैनन् ।’ उनले निर्देशन गरेको ‘डाकिनी’ सरल छ । ‘प्रयास गर्नुपर्छ । पात्रलाई चरित्र अनुसार छोड्नु पर्छ । ऊ पर्दामा नभई दैनिकीमा हिरो बन्न सक्नुपर्छ’, उनले भने, ‘चलचित्र भन्ने बित्तिकै तयार हुने वा बुझिने चित्रलाई भत्काउनु जरुरी छ । अनिमात्र चलचित्र बनाउन सकिन्छ ।’ चलचित्रलाई निर्देशकले निर्देशन गरेता पनि आफ्नो रोजाइलाई प्रस्तुत गर्न नहुने उनी बताउँछन् । निर्देशक चरित्र बाँचिरहेका पात्रलाई सोही अनुरुप पर्दामा ल्याउने माध्यम मात्र बन्नुपर्ने उनको बुझाइ छ । चलचित्रका बारेमा निर्माण भएको भाष्यशैलीलाई परिवर्तन गर्न सकेमात्र फरकपन महसुस हुने उनको भनाइको तात्पर्य थियो । ‘हाम्रो शैलीमा भिन्नता आए कथा फरक हुन्छ । म चलचित्रमा नदेखिउँ (निर्देशककै स्वार्थमा मात्र नबनोस्) भन्ने लाग्छ । अनिमात्र म कथा भन्न सफल हुन्छु । नत्र त्यो मेरोअनुसार चल्ने चित्र बन्छ’, उनले भने । लगभग तीन सय चलचित्रकर्मी र प्रेमीमाझ उनले आफूले गरेको काम र आफ्नो बुझाइलाई प्रस्तुत गरिरहेका थिए । सुन्दरताको स्थापित मान्यता वा खोजिन सक्ने तथ्यलाई महसुस गर्न उनले सुझाए । चलचित्रलाई उनी माध्यमका रुपमा बुझ्छन् । उनको चलचित्रमा ठूला घटना क्रम हुँदैनन्, छैनन् पनि । किनकि उनी समाज वा वास्तविकताभन्दा बाहिरका चित्रमार्फत दर्शकलाई प्रभावित पार्न चाहन्न । वास्तविकतासँग नजिक रहेर पात्रलाई यात्रा गराउन चाहन्छन् । उनले चलचित्र निर्देशन गर्ने तय गरेपछि अनुसन्धान गरे । आम मानिस भेला हुने, बस्ने शैलीलाई नियाले । चलचित्रभित्र एउटा चिया पसल देखाइएको छ । जहाँ बज्ने गीतसङ्गीतका विषयमा उनले सोही ठाउँमा पुगेर अध्ययन गरेका रहेछन् ।  ‘चिया पसलमा नेपाली साथीहरुसँग पुगेँ । त्यहाँको माहोल बुझ्ने कोसिस गरेँ । रेकर्ड गरेँ । नबुझेका कुरा नेपाली साथीलाई सोध्थेँ’, उनले भने । त्यसो त यो चलचित्र बन्ने तय एक ट्रेकिङको समयमा भएको रहेछ । नेपाली कथालाई पर्दामा ल्याउने तय भएपछि ‘डाकिनी’ तयार भयो । झन्डै १० करोड बजेटको यो नेपाली निर्माता संलग्न भएको संवत् अहिलेसम्म कै महँगो चलचित्र हो । तर, यसको व्यापारको विषयमा कहिले चर्चा भएन । यसको निर्माणमा षट्कोण आर्टससमेत रहेको छ । यसले जात्रा, जात्रै जात्रा र महापुरुष जस्ता समीक्षात्मक र व्यावसायिक रूपमा सफल चलचित्र निर्माण गरिसकेको छ । “यो एउटा कला हो । किनकि यो स्वतन्त्र रहेर निर्माण गरियो । अहिले प्रदर्शनमा पनि कति चलचित्र भवन ? सो सङ्ख्या ? यो विषयमा चर्चा नै हुँदैन । यसको प्रभाव वा कस्तो बनेको छ भन्ने विषयमा मात्र हामी छलफल गरिरहेका छौँ”, निर्माता मध्येका एक रवीन्द्रसिंह बानियाँले भने । चलचित्र निर्माण हुँदा र अहिले प्रदर्शन हुँदासम्म उनको बुझाई फरक भइसकेको छ । आफू निर्मित पछिल्ला चलचित्र कही कतैबाट निर्देशित त होइनन् ? भन्ने सोच उनमा आउँछ । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको चलचित्रको छायांकन पनौती र पाटनमा भएको छ । चलचित्रमा छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव लगायतले अभिनय गरेका छन् । रासस

बेलायतको वार्षिक मुद्रास्फीति ८ महिनायताकै न्यून

बेलायत । बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८।७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ । मूल्य वृद्धिको दर मार्चमा १०।१ प्रतिशतबाट घटेर गत वर्षको अगष्टपछि पहिलो पटक मुद्रास्फीति १० प्रतिशतभन्दा तल झरेको राष्ट्रिय तथ्याङ्क कार्यालय ९ओएनएस०ले जनाएको छ । ओएनएसका प्रमुख अर्थशास्त्री ग्रान्ट फिट्जनरले भने, ’यद्यपि, सामान्यतया मूल्यगत वर्षको तुलनामा धेरै उच्च रहेको छ भने वार्षिक खाद्य मूल्य मुद्रास्फीति ऐतिहासिक उच्च नजिक पुगेको छ ।’ तीव्र गिरावटको बावजुद, अप्रिलको दर बैंक अफ इंग्ल्याण्ड बीओईको गत महिनाको मुद्रास्फीतिको पूर्वानुमान ८.४ प्रतिशतभन्दा माथि रहेको छ । अप्रिलमा बेलायतको वार्षिक मुद्रास्फीति दर क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकासहित जी–सेभेन समूहका सम्पन्न अर्थव्यवस्था भएका देशहरूमध्ये सबैभन्दा बढी पुगेको थियो । बीओईको २.० प्रतिशतको लक्ष्य दर धेरै टाढा रहेको छ । तर, बेलायत सरकारले यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीति लगभग ५.० प्रतिशतमा झर्ने दावी गरेको छ । फिट्जनरले थपे, ’गत महिना, मुद्रास्फीतिको दर उल्लेखनीय रूपमा घटेको छ किनकि गत वर्ष देखिएको ठूलो ऊर्जा मूल्य वृद्धि दोहोरिएको थिएन । तर सेकेन्ड ह्यान्ड कार र चुरोटको लागतमा भएको वृद्धिले लक्ष्यलाई आंशिक रूपमा प्रभावित गरेको थियो ।’ अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले बेलायती अर्थतन्त्रका लागि आफ्नो पूर्वानुमानमा ठूलो यू–टर्न दिएको एक दिनपछि यो आँकडा सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले सन् २०२३ मा बेलायतको अर्थतन्त्र ०.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । आईएमएफले गत अप्रिलमा ०।३ प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण गरेको थियो । अर्थमन्त्री जेरेमी हन्टले बुधबारको तथ्याङ्कपछि भने, ’आईएमएफले मङ्गलबार मुद्रास्फीतिलाई नियन्त्रण गर्न निर्णायक कदम चालेका बताएको छ । यो अहिले एकल अङ्कमा छ, तर खाद्य पदार्थको मूल्य अझै पनि तीव्र गतिमा बढिरहेको छ ।’ रासस

शिवशिखर सहकारीका सबै मार्ट बन्द, संचालकविरुद्ध ४ हजारबढी उजुरी

महेन्द्रनगर । बचतकर्ताको अर्बौ बढी निक्षेप सङ्कलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात सङ्कलन गरिरहेको छ । उक्त सहकारीबाट भएको ठगी, बचत रकम फिर्ता नगरेको र रकम हिनामिनालगायत विषयमा जाहेरी दिन बचतकर्तालाई सार्वजनिक रुपमै सूचना जारी गरिएपछि एक सातायता प्रहरी कार्यालयमा कागजात पेस गर्नेकोे भीड लागेको छ । सूचना नै जारी गरेपछि बचतकर्ता धनगढीको जिल्ला प्रहरी, लम्की र अत्तरीयामा प्रहरी कार्यालय पुगेर सहकारीका आवश्यक कागजातसहित निवेदन दिइरहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । ‘तीनवटै शाखामा सञ्चालक र कर्मचारीविहीन छन्, उनले भने, ‘सबै बचतकर्ताको निवेदन आइसकेपछि कैलालीमा कति निक्षेप सङ्कलन भएको रहेछ भनेर एकिन जानकारी आउछ ।’ प्रहरीका अनुसार मङ्गलबारसम्म धनगढीमा एक हजार भन्दा बढी उजुरी प्रहरीमा आएको थियो । त्यसैगरी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा हालसम्म दुई हजार एक सय बचतकर्ताले निवेदन दिइसकेका छन् । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बचतकर्तालाई निवेदन दिन यही जेठ १५ गतेसम्मको समयावधि दिइएको जानकारी दिए । ‘सो सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरोले पनि छानबिन गर्दै छ, उनले भने,’कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजातसहित विवरण पेस गर्न भनेका छौँ ।’ प्रहरीका अनुसार उक्त सहकारीको महेन्द्रनगर शाखाले मात्रै २६ करोड निक्षेप सङ्कलन गरेको बताइएको छ । गत माघयता सहकारी सञ्चालक सम्पर्कबाहिर रहेको सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत कर्मचारीले बन्द गरी हिँडिसकेका छन् । यहाँ उक्त संस्थामा दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनाका साथै सरोकारवाला निकायमा दबाब बढाउन थालेका छन् । सुदूरपश्चिम प्रदेशबाट मात्र सो सहकारीले एक अर्ब ५० करोडभन्दा बढी निक्षेप सङ्कलन गरेको बताइएको छ । सङ्कलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी भएको देखिएको छ । सहकारीले कैलालीमा धानचामल उद्योग, मिल, मार्ट, एग्रो प्रालि, जग्गा, गाडीलगायत भौतिक संरचनामा खर्च गरेको छ भने कञ्चनपुरमा लगानी गरेको मार्ट बन्द भइसकेको छ । डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले डडेल्धुरामा शिवशिखर सहकारीले करिब ४१ करोड निक्षेप सङ्कलन गरेको बताए । ‘हिजोसम्म ६८० बचतकर्ताले १२ करोड ५० लाख बिगोसहित आवश्यक कागजात पेस गरिसकेका छन्,’ उनले भने,’यहाँ रहेकासहकारीका दुई वटा मार्ट बन्द भइसके ।’ प्रहरीका अनुसार डडेल्धुरामा उक्त सहकारीका दुई वटा भवनसमेत छन् । सहकारी सञ्चालक सम्र्पकविहीन भएपछि बचतकर्ता धर्ना र विरोधमा उत्रिएका छन् । त्यस्तै, डोटी जिल्ला प्रहरी कार्यालयले पनि बचतकर्ताको कागजात सङ्कलन गरिरहेको जनाएको छ । उक्त सहकारीको डोटी शाखा सञ्चालनमा रहेपनि हाल बन्द अवस्थामा छ । डोटीमा मङ्गलबारसम्म चार सय ७९ बचतकर्ताले निवेदन पेस गरेको प्रहरीको भनाइ थियो । रासस

बुधबार पनि बढ्यो सेयर बजार, दुई कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । बुधबार पनि सेयर बजार बढेको छ । नेपाल स्टक एक्सेचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९५९.१२ विन्दुमा पुगेको छ । बजार यसरी बढ्दा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा आत्मानिर्भर लईुवित्त वित्तिय संस्था र युनिलिभर नेपाल लिमिटेड रहेको छ । सकारात्मक सर्किट लाग्दा आत्मानिर्भर लघुवित्तको सेयरधनीले प्रतिकित्ता १३६.६० रुपैयाँ कमाएका छन् भने युनिलिभर नेपालका सेयरधनीले प्रतिकित्ता दुई हजार ७९० रुपैयाँ कमाएका छन् । आज ४८ लाख ६५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको १४ करोड रुपैयाँको भएको छ ।

११० मेगावाट क्षमताका नीलगिरि जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ । अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधिन छन् । विस २०७६ देखि शुरु भएको दुई वटै आयोजनाको प्रर्वद्धक कम्पनी नीलगिरि हाइड्रोपावरले संरचना निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । नीलगिरि हाइड्रोपावरका ईन्जिनियर रत्न बमजन तामाङले सुरुङ, विद्युतगृह, बाँध र प्रशारण लाईन निर्माणलाई पूर्णता दिन धमाधम काम भइरहेको जानकारी दिए । ’दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युतगृह निर्माण काम सकिएको छ,’ उनले भने ’भौतिक संरचनालाई अन्तिम रुप दिनेसँगै इलोक्ट्रोमेकानिकलको काममा केन्द्रित भएका छौँ ।’ नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलान भइरहेको छ । पेनस्टक टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको तामाङले जानकारी दिए । नीलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ । क्यासकेडको विद्युतगृह दोभानदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म अक्करे पहाड र विकट क्षेत्रमा दुई वर्ष लगाएर १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको थियो । आगामी छ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका ईञ्जिनियर केशव वाग्लेले बताए । ’हिमालको फेदीमा आयोजना निर्माण गर्नु हाम्रा सामु ठुलो चुनौती थियो,’ उनले भने ’हामीले सबै चुनौती र समस्यासँग जुधेर आयोजना निर्माण करिब अन्तिम चरणमा पु¥याउन सफल भएका छौँ ।’ आयोजनामा हाल पाँच सय जना प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छन् । यी दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्दछन् । कठिन भीरपहरा छिचोलेर आयोजनाको निर्माणस्थलसम्म पुग्न सडक निर्माण गरिएको छ । भौगोलिक विकटता, हिउँद याममा हिमपात हुँदा काम गर्न नसक्नु र कोरोना महामारी यो आयोजना निर्माणमा देखिएका चुनौति हुन् । निजी क्षेत्रको लगानीबाट निर्माण गरिएको यो म्याग्दी जिल्लाकै ठुलो आयोजना हो । पहाडको खोचमा आयोजनाका संरचना निर्माण भएका छन् । करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । नीलगिरि खोलाबाट उत्पादन भएको बिजुली २२० केभीए क्षमताको दाना सब स्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । छोटेपा–दोबिल्ला हुँदै दाना सब–स्टेशन जोड्ने ८ दशमलव ५ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ वटामध्य २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको छ । रासस

गुल्मीमा स्थानीय सरकारका १ वर्ष : विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्तासम्म

तम्घास । गुल्मीका स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए । यस अवधिमा जिल्लाका कतिपय पालिकाले उदाहरणीय काम गरेका छन् । पालिकाले नीतिगत निर्णय मार्फत नागरिकलाई रहत दिने प्रयास गरिरहेका छन् । रेसुङ्गा नगरपालिकामा प्रमुख र उप–प्रमुखले पदभार ग्रहण गर्दाको दिन जन्म र मृत्यु दर्ता प्रमाण–पत्र घर–घरमै पु¥याउने र विपन्न नागरिकको आँखाको निःशुल्क शल्यक्रिया गर्ने लगायतका निर्णय गरेका थिए  । अहिले सो निर्णय कार्यान्वयनमा आएको छ  । विपन्न नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । यसका साथै नगरपालिकाले तम्घास बजारको रि–पिचको काम सुरु गरेको छ । रेसुङ्गा बिमानिस्थल सुचारु गरेको छ । माध्यामिक शिक्षा परीक्षा (एसइ) मा ३.२ जिपिए भन्दा बढी अंक ल्याउने विद्यार्थीहरुको लागि कक्षा ११ र १२ मा नगरपालिकाभित्रैका विद्यालयमा अध्ययन गर्दा मासिक चार हजार उपलब्ध गराउने निर्णय गरेको छ । भने रेसुङ्गा बहुमुखी क्याम्पसलाई एक करोड उपलब्ध गराएको प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । धुर्कोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दाकै दिन प्रत्येक घरको बीमा गर्ने, गरिब, द्वन्द्वपीडित तथा विपन्न निश्चित विद्यार्थीको अध्ययन खर्च गाउँपालिकाले व्यहोर्ने एवम् अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म गाउँपालिकाले पढाउने निर्णय गरेका थिए । अहिले घरको बीमा गर्ने काम सञ्चालन भइरहेको छ । अभिभावक गुमाएका बालबालिकालाई पाञ्चायन माध्यमिक विद्यालयमा अध्यापनको व्यवस्था मिलाइएको पालिका अध्यक्ष भूपाल पोखरेलले बताए । त्यसका साथै पालिकाले धुर्कोट कोतमा भौतिक संरचना निर्माण, पदमार्ग निर्माण, सेउघा–सिमाघाट–बर्बोट सडकलाई पक्की गर्नेमा पहलकदमी लगायतका काम पनि गरेको छ । इस्मा गाउँपालिकाले कक्षा १२ सम्म मासिक शुल्क नलिने गरी निर्णय गरेको छ । यसभन्दा पहिले कक्षा १० सम्मका परीक्षा शुल्क छुट गरिएको अहिलेका जनप्रतिनिधिले कक्षा ११ र १२ को मासिक शुल्कसमेत छुट गरेका हुन् । शिक्षिका सुत्केरी भएमा वा एक हप्तासम्म शिक्षकको उपस्थिति नरहेमा स्वयम् सेवक शिक्षकमार्फत शिक्षकको परिपूर्ति गर्ने व्यवस्था पालिकाले मिलाएको छ । नागरिकको सहजताका लागि पालिकाको कार्यालयमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ भने सबै नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको अध्यक्ष भगतसिंह खड्काले बताए । इस्माले ५५ वर्षभन्दा माथिका एकल पुरुषलाई भत्ता दिएको छ । चन्द्रकोट गाउँपालिकाले एक वर्षको अवधिमा पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेको छ । विपन्न ९८ परिवारलाई निःशुल्क मिटर बक्स उपलब्ध गराएको छ । चन्द्रकोट उज्यालो पालिका घोषणा गर्ने अन्तिम तयारीमा रहेको छ भने शान्तिपुर स्वास्थ्य चौकीमा मेडिकल अफिसरस्तरको डाक्टरमार्फत सेवा प्रवाह भइरहेको प्रवक्ता घनश्याम खरेलले बताए । विपन्न नागरिकलाई ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा गराउने कार्यक्रमअन्तरगत हालसम्म तीन सयभन्दा बढीले सेवा लिएको गाउँपालिकाले जनाएको छ । पालिकामै सुत्केरी हुन नसक्ने महिलाका लागि पनि पालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ भने एउटा निःशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न गरेको छ । रासस