वीर अस्पतालले सुरु गर्यो चुरोट र सुर्तीको लत छुटाउने ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’
काठमाडौं । के तपाईं चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहानुहुन्छ ? यही हो भने त वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको छ । अस्पतालले विश्वभर नै विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ उपचार पद्धति सुरु गरेको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले चुरोट, खैनी, सुर्तीको कुलतमा फसेका लागि छुटाउनका लागि ‘निकोटिन रिप्लेसमेन्ट थेपारी’ सुरु गरिएको जानकारी दिए । थेरापीमा चुरोट सुर्ती खैनीको लतमा फसेकालाई छुटाउनका लागि निकोटिन चुइगम दिइन्छ र सोही चुइगमको सहयोगले लत छुटाउने उनले बताए । थेपारीमा चुरोट, खैनी र सुर्तीको सट्टा मानिसलाई निकोटिन चुइगम दिइन्छ । ‘मानिसले कति चुरोट सुर्ती सेवन गर्दछ । सोहीअनुसार मात्रामा निकोटिन चुइगम दिइन्छ’, उनले भने, ‘चुइगममा निकोटिन हुन्छ । मानिसलाई लत लगाउने काम निकोटिनले गर्दछ । सोही लत हटाउनका लागि मानिसलाई चुइगम दिइन्छ ।’ उनले चुरोट सुर्ती र खैनीमा निकोटिनबाहेकका तत्व हुन्छन् र ती तत्वले क्यान्सर रोग गराउने भन्दै तर निकोटिन मात्र भएको चुइगमले शारीरिक मानसिक असर गर्ने भए पनि क्यान्सर रोग नगराउने बताए । उनले मानिसमा इच्छाशक्ति भएपछि चिकित्सको परामर्शमा लत छुटाउने व्यक्तिलाई विस्तार निकोटिन चुइगमको माध्यमबाट लत छुटाउन सकिने बताए । ‘चुरोट, सुर्ती र खैनीको सट्टा चुइगम खान दिइन्छ । चुइगमले लत केही हदसम्म घटाउँछ । अनि विस्तारै ति मानिसलाई चुइगमको कारणले चुरोट, सुर्ती र खैनी खाऊ, खाऊ भन्ने बानी हराउँदै जान्छ’, उनले भने, ‘अनि विस्तार मानिसको लत हटाउन सकिन्छ ।’ अस्पतालले थेरापीमा दन्त विभाग, क्यान्सर विभाग र मेडिसिन विभागका चिकित्सकको समन्वयमा लत छुटाइने गरिन्छ । दन्त विभागमा सुर्ती खाएको थाहा हुने गर्दछ । क्यान्सर विभागमा बिरामीले चुरोट खाने गरेको थाहा हुन्छ । र मेडिसिन विभागमा चुरोटले गर्दा बिरामीलाई दम भएको हुन्छ । ती विभागले समन्वयमा अस्पतालले सुर्तीजन्य पदार्थको लत छुटाउन थालेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अस्पताललाई सुर्तीजन्य पदार्थको लत हटाउनका लागि ४५ हजार निकोटिन चुइगम उपलब्ध गराएको छ । निकोटिन चुइगम चिकित्सकले दिइसकेपछि निश्चित अवधिपछि पुनः अस्पतालमा बोलाएर बिरामीको अवस्था हेरेर चुइमग खान फेरि दिइने उनले बताए । यसैगरी अस्पतालमा सुर्तीजन्य पदार्थ कति खाइरहेको छ त्यसको आधारमा पनि लत छुटाउनका लागि परामर्श सेवा पनि उपलब्ध गराइएको अस्पतालका निर्देशक डा पौडेलले जानकारी दिए । अस्पतालले क्यान्सर विभागमा परार्मशका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । सुर्तीजन्य पदार्थ सेवन गर्दा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग, क्यान्सर रोग, दीर्घ रोगलगायतका समस्या देखिने गर्दछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव ९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तीमध्ये ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् । डब्लुएचओको सन् २०२२ को तथ्याङ्कअनुसार विश्वमा २२ दशमलव ३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोग महिलाभन्दा पुरुषमा बढी हुने गरेको छ । महिलाको ७ दशमलव ८ प्रतिशत र पुरुषमा ३६ दशमलव ७ प्रतिशत रहेको छ । रासस
वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन, तेस्रो मुलुकको कच्चा पदार्थ सजिलै आइपुग्ने
मोरङ । सीमावर्ती भारतको कटिहार जिल्लाको वथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्म कार्गो रेल सेवा आजदेखि सञ्चालनमा आएको छ । विभिन्न ध्वजापताकाले सजाइएको उक्त कार्गो रेल विभिन्न उद्योगको कच्चा पदार्थ बोकेर विराटनगर आइपुगेको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्तरूपमा नयाँदिल्लीबाट हरियो झण्डा देखाएर उद्घाटन गरेपछि वथनाहाबाट छुटेको रेल आठ किलोमिटर दूरीमा रहेको विराटनगर बुधनगरस्थित नेपाल कस्टम यार्डमा आइपुगेको हो । वथानाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँचचौकीको कस्टम यार्ड रेलमार्गमा कार्गो रेलसेवा सञ्चालन भएको हो । कार्गोरेल विराटनगर आएपछि उद्योगपति, व्यापारी एवं सर्वसाधारणले स्वागत गरेका छन् । यसअघि भारतको वथनाहासम्म उद्योगका कच्चापदार्थ रेलमार्फत आउने गरेको र त्यहाँबाट मालवाहक सवारी साधनमार्फत उद्योगमा ल्याइने गरिएको थियो । कार्गो रेल सेवा सञ्चालनले भारतलगायत तेस्रो मुलुकबाट आएका कच्चापदार्थ अब सोझै विराटनगरको एकीकृत भन्सार जाँच आइपुग्दा व्यापारीलाई सहज एवं ढुवानी भाडामा समेत खर्च कम लाग्ने भएको छ । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले उद्यमी व्यापारीको वर्षौंदेखिको चाहना पूरा भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा कच्चा पदार्थको ढुवानी सस्तो भई उपभोक्तासमेतलाई राहत पुग्ने धारणा राखे । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गो रेल सेवा सञ्चालनले प्रदेशको आर्थिक विकासमा सहयोग पुग्ने बताए । कार्गो रेल सेवासरह आगामी दिनमा राज्यले यात्रुवाहक सेवा पनि सञ्चालन गर्नुपर्नेमा स्थानीयवासीको भनाइ छ । उक्त आयोजनाको निर्माण लागत भारु तीन अर्ब ७३ करोड रहेको छ । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सो रेल निर्माण भएको हो । भारतको वथनाहादेखि मोरङको कटहरी गाउँपालिकाको महेशपुरसम्म १८ किलोमिटर रेल सञ्चालनका लागि १२ वर्ष अगाडि सम्झौता भई काम सुरु भए पनि जग्गा मुआब्जाको विवादले बाँकी खण्डमा काम रोकिएको छ । अहिले आठ किलोमिटर रेलमार्गमा मात्र सेवा सञ्चालनमा आएको छ । रासस
नेपाली बजारमा ‘जीहो एई-८’ ईभी स्कुटर सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । नेपाली बजारमा जीहो एई-८ इलेक्ट्रिक स्कुटर (ईभी) सार्वजनिक भएको छ । द रिलायन्स ग्रुप अफ नेपालले ऋषि ट्रेड सेन्टरसँगकाे संयाेजकतामा बिहीबार एक कार्यक्रम गर्दै उक्त स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै चाइनिज ब्रान्डको जीहो ईभी स्कुटर नेपाल भित्र्याएको हो । उक्त स्कुटर सेतो र कालो रंगमा उपलब्ध रहेकाे छ । नयाँ प्रविधि र आकर्षक डिजाइन रहेको यस स्कुटरमा नेपाली बाटोको लागि सुहाउँदो रहेको द रिलायन्स ग्रुप अफ नेपाल प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुशल श्रेष्ठले बताए । श्रेष्ठले सो स्कुटरमा आकर्षक विशेषता तथा सुविधाहरू उपलब्ध भएको बताउँदै एई-८ ले १२० देखि १४० किलोमिटर रेन्ज दिन पनि बताए । नेपालमा बिक्री हुने स्कुटर मध्ये जीहो उत्कृष्ट विद्युतीय स्कुटर बन्ने कम्पनीको दावी छ । स्कुटरमा ५ किलोवाटको मिड-माउन्टेड लिक्विड-कूल्ड मोटर छ भने २.५ किलोवाटको पीक पावर र २१८ एनएमको पीक टर्क रहेकाे छ । प्रतिघण्टा १०० किलोमिटरको गति दिने यस स्कुटरमा ६९ भोल्ट/३२ एम्पियर आवर क्षमता रहेको छ । कम्पनीका अनुसार स्कुटरमा दुई वटा ब्याट्री जडान भएको छ । स्कुटरको ब्याट्री करिब ४ घण्टामा फुल चार्ज गर्न सकिने पनि कम्पनीले बताएको छ । स्कुटरको अगाडि डुअल डिस्क ९ब्रेम्बो क्यालिपर० १००/८०-१२ र पछाडि १२०/७०-१२ ट्युबलेस टायर छन् । स्कुटरको ग्राउन्ड क्लियरेन्स १४५ मिलिमिटर छ । कम्पनी जीहोको मूल्य नेपाली बजारमा ४ लाख ९९ हजार रुपैयाँ ताेकिएकाे छ ।
अब कम्पनीलाई होइन, व्यक्तिलाई कारवाही हुन्छ
बीमा कम्पनीमा अहिले भइरहेको वर्तमान पुँजीले बढ्दो जोखिमलाई नियन्त्रण गर्न सक्दैन भन्ने निर्क्यौलमा पुगेपछि हामीले पुँजी वृद्धिको कार्यक्रम ल्यायौं । त्यसको लागि कम्पनीहरुलाई समय दियौं । त्यो अवधिमा धेरै कम्पनीहरु स्वतस्फूर्त रुपमा मर्जर भए । नियामकले के गर्नुपर्छ भन्नेमा नियामक प्रष्ट छ । बीमाको बजारलाई एउटा उद्योगको रुपमा विस्तार गरेर कसरी विश्वसनीय बनाउन सक्छौं, त्यो ठूलो चुनौति हो । जबसम्म हामीले बीमाको बजारलाई विश्वसनीय बनाउँदैनौं, तबसम्म बीमाको बजारले गति लिन सक्दैन । पहिला बजार विश्वसनीय हुनुपर्यो । त्यो कसरी हुन्छ ? तपाईंले जुन हातले पोलिसी काट्नु भयो, र त्यो पोलिसीको क्लेम पर्यो भने तत्काल त्यसको सेटलमेन्ट गर्नुपर्यो । गत वर्ष बीमा प्राधिकरणले क्लेम सेटलमेन्टमा कडाई गरेसँगै अघिल्ला वर्षभन्दा गत वर्ष दावी भुक्तानी राम्रो भएको छ । त्यो क्रम यो वर्ष पनि जाने छ । हामी कहाँ वर्षभरिमा १५० वटा उजुरी पर्छन् । लाखौंको क्लेम सेटलमेन्ट हुन्छ । तर १५० को पछि लागेर हामीले हाम्रो मार्केटलाई एक्स्पोज नै गर्न सकेनौं । त्यसैले मैले कम्पनीका सीईओ, अध्यक्षलाई बोलाएर प्रत्येक तीन तीन महिनामा सार्वजनिक हुने वित्तीय विवरणमा यति यति क्लेम सेटलमेन्टको रिपोर्ट गर्यौं भन्ने आएपछि बजारमा एकाएक विश्वसनीयता छाउँछ । मेरो पालामा थप लाइसेन्स आउँदैन । जबसम्म हामीसँग शुशासन छैन तबसम्म हामीसँग पारदर्शीता छैन । पारदर्शीता छैन भने हामीले बदमासी गरेका छौं । बीमा प्राधिकरणमा मै आएपछि करिब १५ वटा कम्पनी कारवाहीमा परिसके । त्यो क्रम अहिले पनि जारी छ । उधारो बीमा रोक्यौं, तर क्यास ब्याक रोकिएको छैन । तोकिएको रेटमा पनि रेट घटाएर बीमा हुन्छ । त्यसकारण अब कारवाही कम्पनीलाई किन गर्ने भन्नेमा हामी पुगेका छौं । जब हामीले कुनै व्यक्तिलाई कम्पनी अथ्योरिटी दियौं, उसले हेर्नुपर्ने । उसको बिजनेसमा पर्नुपर्ने विषयमा कम्पनी किन सफर गर्ने ? त्यसैले त्यो व्यक्ति जिम्मेवार हो । कम्पनीको सीईओ जिम्मेवार हो । कम्पनीको अण्डरराइटिङ्गमा बस्ने जिम्मेवार हो । रेट फेर्ने मान्छे जिम्मेवार हो, जो जो छ त्यो जिम्मेवार हो । अब कारबाही त्यहाँबाट शुरु हुन्छ, कम्पनीलाई होइन । के भयो त दुई लाख रुपैयाँ तिर्ने त हो भन्ने विषय पनि उठिरहेको छ । यो अति भयो । कम्पनीमा कुनै कर्मचारी जुन उद्देश्यको लागि राखिएको हो, त्यो व्यक्तिले नियम विपरित काम गरेपछि, बदमासी गरेपछि त्यसको सजाय उक्त व्यक्तिले पाउनु पर्छ । त्यसको स्पष्टिकरण उसले दिनुपर्छ । कम्पनीले होइन । म यहि फोरमबाट सीईओहरुलाई के भन्छु भने । नीति निमार्ण गर्ने बोर्डसँग बारम्बार अन्तर्क्रिया गरेको पाइन । प्राधिकरणले जारी गरेको प्रत्येक निर्देशिका, प्रत्येक निर्देशन बोर्डलाई जानकारी दिनुपर्छ, बोर्डसँग सामूहिक रुपमा बसेर छलफल गर्नुपर्छ भनेका छौं । तर त्यो लागू भएको जस्तो मलाई लाग्दैन । तपाईंले असीमित जोखिम उठाउनु भएको छ । तपाईंसँग सीमित पैसा छ । सीमित पैसामा पनि तपाईंले यति रेट काटेर बिजनेस गर्नुभएको छ, जसको पुनर्बीमा हुन सक्दैन । पैसा कहाँबाट आउँछ । क्लेम कसरी तिर्ने ? र, यस्ता खालका बेथितिलाई रोक्नुपर्छ । जुन आजको आजै, भोलिको भोलि हुने पनि हुँदैन । मलाई लाग्छ, गत वर्षभन्दा यो वर्ष हामीले कमजोरीहरुको निरीक्षण धेरै बढाएका छौं । अहिले हामीले मर्जरमा जाने कम्पनीको लागि केही आँखा चिम्लेका छौं । कम्पनीको लक्ष्य पुरा गराउने ठूलो हात कर्मचारीको हुन्छ । त्यसैले कर्मचारीको क्षमता अभिवृद्धि गराउनु पर्यो, जिम्मेवारी बनाउनु पर्यो, स्कील्स डेभलप गराउनु पर्यो । अब डिजिटल प्लेटफर्ममा जानुपर्यो । आजको दिनमा हामी २३० बढी स्थानीय तहमा पुगिसकेका छौं । त्यसैले अबको दिनमा बीमाको बारेमा थाहा छैन भनेर कसैले भन्दैन । पछिल्लो समय बीमामा विश्वसनीयता बढ्दै गएको छ, यसलाई थप बढाउँदै जानुपर्छ । (नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले काठमार्डाैंमा आयोजित एक कार्यक्रममा राखेका मन्तव्यको सम्पादित अंश)
भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित ३ पदाधिकारी दोषी ठहर
काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो । सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो ।
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री दाहाल र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली पुगेका थिए ।
एलिट क्यापिटलले रिलायबल नेपाल लाईफको सेयर प्रत्याभुति गर्ने
काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सकाे सेयर अण्डरराईटिग एलिट क्यापिटलले गर्ने भएकाे छ । क्यापिटलले प्रिमियम मुल्यमा आइपिओ निष्काशन गर्ने लागेकाे रिलायबलकाे सेयर अण्डरराईटिग गर्ने भएकाे हाे । एलिटले रिलायबलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो । यससम्बन्धि सम्झौतामा रिलायवल लाईफका सिईओ नारायणबाबु लोहनी र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका छन् । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा थप १९९ रुपयाँ प्रिमियम थपेर प्रतिकित्ता २९९ रुपैयाँमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत साउन १२ गते निवेदन दिएको थियो । जसकाे बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ सम्पन्न गराइसकेको छ । उक्त आईपीओलाई केयर रेटिङ नेपालले केयर एनएपी त्रिपल बी रेटिङ प्रदान गरेको हो । हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम पूँजी २ रुपैयाँ अर्ब पुर्याउनका लागि ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
सिटिजन्स बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा बैंकका कार्डबाहकले ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।