विकासन्युज

नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै बैतडीका स्थानीय सरकार

बैतडी । स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन् । यसका लागि यहाँका स्थानीय तह/सरकारले सुझाव सङ्कलनलाई तीव्र बनाइरहेका छन् । आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ, राजनीतिक दल, सङ्घसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी र आम नागरिकबाट राय सुझाव माग गरिएको पुर्चाैडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए । आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह सङ्कलन गरिन लागिएको हो । सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने जनाएको छ । दोगडाकेदार गाउँपालिकाले पनि एक सूचना जारी गर्दै सुझाव पेस गर्न आग्रह गरेको छ । जिल्लाका अन्य स्थानीय तहहरुले पनि आगामी आवको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन गरिरहेका छन् । राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याइने स्थानीय तहले जनाएका छन् । रासस

घरभाडा नबढाउन उद्योग वाणिज्य सङ्घको अपिल

चितवन । व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र संभावभएमा छुट दिन उद्योग वाणिज्य सङ्घ चितवनले अपिल गरेको छ । आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै सङ्घले यस्तो आग्रह गरेको हो । सङ्घले कोभिड–१९ पश्चात् सिर्जित अवस्था एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी समस्यामा परेको जनाएको छ । औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण सर्वसाधारणको दैनिकीसमेत अप्ठ्यारोे परिस्थितिबाट गुज्रिरहेको उसले जनाएको छ । आर्थिक जटिलताका कारण व्यापार व्यवसाय सञ्चालनरुपमा सञ्चालन हुन नसक्दा र सर्वसाधारणको आयआर्जनमा समेत वृद्धि नहुँदा उद्यमी व्यवसायीलगायत उपभोक्तासमेत प्रभावित भएको सङ्घले जनाएको छ । सङ्घले चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर/सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीले घर बहालसमेत भुक्तान गर्न नसकेको अवस्था रहेको चर्चा गर्दै घर बहाल समयमा नपाउँदा घर बहालमा आश्रित घरधनीलाई समेत अप्ठ्यारोे परेको उल्लेख गरेको छ । सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले जारी गरेको अपिलमा भनिएको छ, ‘घर बहाल सम्झौताबमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्न सङ्घले सबैमा अपिल गरेको छ ।’ रासस

गण्डकी गाउँपालिकाको आगामी बजेटका लागि स्थानीय उत्पादन बजारीकरण गर्न सुझाव

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाको आयोजनामा एकदिने सल्लाह सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम शनिबार राजधानीमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०र८१ को बजेटको प्रभावकारी कार्यन्वयन कसरी गर्ने र पालिकाको विकास समृद्धिमा पालीकाबासीहरुको भुमिकालाई कसरी समेट्ने भन्ने बोरेमा छलफल भएको थियो। साथै अन्य संघ सस्थाहरुसँग कस्तो सहकार्य गर्न सकिन्छ भन्ने उदेश्यका लागि गण्डकी गाउँपालिका गोरखाले काठमाडौंमा बृहत अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको पालिकाले जनाएको छ। कार्यक्रमको उद्घघाटन गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले पालिकाले काठमाडौंमै आएर संघ सस्था तथा पालीकाबासीहरु सल्लाह सुझाव तथा अन्तरक्रिया आयोजना गरेकोमा पालिकाको प्रसंशा गर्दै कार्यक्रमबाट आएका सुझावहरुको उचित कार्यन्वयन गर्ने समेत पालिकालाई आग्रह गरे। साथै उनले जनप्रतिनिधिहरुको ध्यान बजेटमा मात्रै केन्द्रित भएकोमा असन्तुष्ठि व्यक्त गरे। स्थानीय सरकारको ध्यान निरन्तरताभन्दा पनि क्रम भंगतातिर जानुपर्ने उनले बताए। स्थानीय सरकारले अब बजेट विनियोज गर्दा मेघा प्रोजेक्टमा लगानी गर्नुपर्नेमा धितालले जोड दिए। साथै बढ्दै गएको बसाइँसराइलाई रोक्ने गरी नीति तथा बजेट आउनुपर्ने उनको भनाइ थियो। पालिका भित्र भएको प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन र बजारीकरण गरी त्यसबाट लाभ लिन सकिने गरी कार्यक्रमहरु अघि सार्न पालिकालाई धितालले सुझाव दिएका छन्। यसैगरी उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कमला पन्तले उपयुक्त समयमा कार्यक्रम राखेकोमा धन्यवाद दिइन्। साथै पन्तले आगामी दिनहरूमा यो कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरिन्। पन्तले स्थानीय सरकारको पालिकाभित्र उत्पादन भएका वस्तुहरुको बजारीकरणमा ध्यान दिए उत्पादनमा वृद्धि हुने जिकिर गर्दै पालिकाको अबको त्यसतर्फ ध्यान जानुपर्ने बताईन्। उनले भनिन् ‘अहिले सिङ्गो मुलुकमा चुनौती भनेको ग्रामीण क्षेत्रबाट हुने गरेको बसाइँसराइ हो। यसलाई रोक्न स्थानीय सरकारले सक्रिय भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुपर्छ। साथै पर्यटन गोरखाको आर्थिक समृद्धिको मेरुदण्ड भएको र पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारमा समेत ध्यान दिनुपर्ने आएको आवश्यकता भएको छ।’ उनले निति कार्यक्रम तथा बजेट निर्माण गर्दा पार्टीभन्दा माथी उठेर जनताको आवश्यकताहरुलाई प्राथमिकतामा राख्ने तर्फ ध्यान दिन जनप्रतिनिधिहरुलाई सुझाव दिदै अब पालिकालाई सामुदायिक खेतीतर्फ लगानी बढाउन पनि आग्रह गरिन्। यता प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाँईले नेपालमा सबैभन्दा ठुलो चुनौती भनेको स्थानीय उत्पादनको बजारीकरण र आयात प्रतिस्थापन गर्नु रहेको बताए। गाउँघरमा बढ्दै गएको बसाईसराई रोक्नु स्थानीयसरकारहरुको चुनौती रहेको समेत उनले बताए। कार्यक्रमका सभापति तथा गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले गाउँपालिकाले पालिकाको समग्र विकासमा सहयोग पुग्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको र कार्यक्रमबाट आएको सल्लाह सुझावलाई पालीकाले गम्भीरताका साथ कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने ‘पालिकाले पुर्वाधार विकास र सामाजिक विकास तथा कृषिको विकासलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएको छ।’ उनले यसलाई गाउँसभाको रुपमा बुझ्न् समेत आग्रह गरे। पालिकालाई एउटा सुन्दर पालिकाको रुपमा विकास गर्ने सम्पुर्ण जनप्रतिनिधिहरुको ध्यान केन्द्रिय रहेको उनले बताए। कार्यक्रमबाट आएको महत्त्वपूर्ण सल्लाह सुझावहरु पालिकाले आत्मसात गरेर अधि बढ्न आफू प्रतिबद्ध रहेको उनले बताए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै पालिकाकी उपाध्यक्ष ललिता अधिकारीले पालिकाको समृद्धिका लागि सम्पुर्ण जनप्रतिनिधिहरुको ध्यान केन्द्रिय रहेको निर्वाचित भएको एक वर्षभित्रमा अपेक्षाकृति कामहरू गरिएको र यो कार्यक्रमले पालिकको समृद्धिका लागि कोशे ढुंगा सावित हुने बताइन्। कार्यक्रममा विविध संघ संस्थाहरुले पालिकाभित्र संचालन गर्न सकिने शैक्षिक, पुर्वाधार, सामाजिक विकास, पर्यटन पुर्वाधार कृषिको उत्पादन तथा बजारीकरण लगायतका कार्यक्रम तथा योजनाहरु प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी पालिका बासीहरुले निति कार्यक्रम तथा बजेट निर्माण क्रममा रहेको बेला पालिकाले कार्यक्रम आयोजना गरी सल्लाह सुझाव संकलन तथा छलफल आयोजना गरिएकोमा धन्यवाद दिदै आएको सल्लाह सुझावहरु उचित कार्यन्यनका लागि समेत आग्रह गरे। साथै नीति कार्यक्रम तथा बजेट निर्माण गर्दै अल्पकालीन योजनाहरुमाभन्दा पनि दीर्घकालीन योजनाहरुमा लगानी गर्न सुझाव दिएका थिए। आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए। कार्यक्रममा कार्यपालिका सदस्य तथा कर्मचारीहरुको समेत सहभागी थियो। कार्यक्रममा करिब १३० जना हाराहारीको सहभागी रहेको र एक दर्जनभन्दा बढी सस्थाले पालिकासँग सहकार्यका लागि प्रस्तुतीकरण समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेस उपरकोटीले जानकारी दिए। कार्यक्रम लक्ष्य अनुसार सम्पन्न भएको र नीति कार्यक्रम तथा बजेट निर्माण गर्दा आएको सल्लाह सुझावहरुलाई आत्मसाथ उचित स्थान दिएर कार्यक्रममा समावेष गरिनेमा जोड दिए। संघीय लोकतान्त्रिक व्यवस्थाअनुसार देश संघीयतामा गइसकेपछि संघ सरकारले जेठ १५ गते बजेट निर्माण गर्ने गरेको छ। प्रदेश सरकार असार १ गते र स्थानीय असार १० बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।

नमोबुद्धमा योजना तर्जुमा गर्न बाल भेला !

काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को योजना तर्जुमा गर्न बाल भेलाको आयोजना ग¥यो । ‘बालमैत्री नगर घोषणा’को तयारीमा जुटेको नगरले बालबालिकाकै अर्थपूर्ण सहभागितामा योजना तर्जुमा गर्न विद्यालयका बालबालिकालाई भेला गरेको थियो । कार्यक्रममा ११ माध्यमिक विद्यालय र चार आधारभूत विद्यालयका बाल क्लवका पदाधिकारी र प्रतिनिधिको सहभागिता थियो । भेलामा सहभागी बालबालिकाले विभिन्न भेलामा छलफल गरेर बालमैत्री योजना, बजेट, कार्यक्रम तथा संरचनाका बारेमा छलफल गरी उपयुक्त योजना प्रस्ताव गरेका छन् । भेलामा बाल अधिकारको क्षेत्रमा कार्यरत कृष्ण घिमिरेले सहजीकरण गरेका छन् । उक्त अवसरमा नगर प्रमुख कुन्साङ लामाले नेतृत्व र व्यक्तित्व विकास गर्दै बालबालिकालाई मुलुकाको नेतृत्व गर्नसक्ने क्षमता बनाउनुपर्ने बताए । उनले बालमैत्री अभियानबारे घर, परिवार, टोल, छिमेक, विद्यालय र समुदायमा सचेत गराउन बालबालिकालाई अनुरोध गर्दै अभियान सफल बनाउन नगराले उपयुक्त कार्यक्रमसहित बजेट विनियोजन गर्नेसमेत बताए । नगर उपप्रमुख रत्नबहादुर लामाले बालमैत्री नगर बनाउन नमोबुद्धले जमर्को गरेकोले बालबालिकाका योजना आगामी बजेटमा समेटिने प्रतिबद्धता जनाए । उनले समुदायस्तरमा पनि बालसमूह गठन गर्नुपर्नेमा जोड दिँदै विभिन्न खाले प्रशिक्षण पनि सञ्चालन गर्नुपर्ने बताए । बालमैत्री नगर अभियानअन्तर्गत विभिन्न गतिविधीलाई तीव्रता दिएको नगरले जनाएको छ । यस्तै सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन् । नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र छ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमनसमेत गरेको छ । यसैगरी बालमैत्री नगरका लािग सामुदायिक विद्यालय, जनप्रतिनिधि, बालमैत्री शिक्षक, बाल क्लब सञ्जाल, नगरका कर्मचारी तथा वडासचिवलाई अभिमुखीकरण गरिसकिएको छ । बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागितासम्बन्धी ५१  सूचक पूरा गरेको हुनुपर्ने प्राबधान छ । रासस

तनहुँको झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनका योजना

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ। समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ। यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दाबी गरिएको छ। पृथ्वी राजमार्गअन्तर्गत बरादीदेखि साढे दुई किलोमिटर दूरीमा अवस्थित उक्त पुलले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेको छ। सामाजिक सञ्जालदेखि टिकटकबाट उक्त पुलको प्रचार भएपछि यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दो छ। गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत विसं २०७७ मा उक्त पुल निर्माण गरिएको हो। ‘डि’ टाइपको उक्त पुलको लम्बाइ दुई सय २० मिटर रहेको छ। उक्त पुलमा एकैपटक चार सय ७५ पदयात्री आवतजावत गर्न मिल्छ। बाबिरो-प्रमिला जेभीले उक्त पुलको निर्माण गरेको हो। पुल पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेपछि गाउँपालिका यसको प्रवर्द्धनमा जुटेको छ। झोलुङ्गे पुललाई केन्द्रित गरेर गाउँपालिकाले पर्यटन विकासका योजना अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनले भने, ‘हामीलाई जानकारी भएसम्म नेपालको सबैभन्दा अग्लोमध्येको झोलुङ्गे पुल हो भन्ने छ, यो पुललाई केन्द्रित गरेर पर्यटनका योजना बनाउँदैछौँ।’ पर्यटन प्रवर्द्धनका निम्ति झोलुङ्गे पुलसम्म आउने बाटो स्तरोन्नति गर्न लागिएको अध्यक्ष चुमानले बताए। साथै झोलुङ्गे पुलमा आधारित रहेर साहसिक खेल सञ्चालन गर्ने योजना बनाइएको चुमानले बताए। उनले भने, ‘यहाँ बन्जी जम्प, जीप लाइन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर डिपीआर बनाउँदैछौँ, यो एउटा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने निश्चित छ।’ अध्यक्ष चुमानका अनुसार झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई लक्षित गरी नजिकै रहेको गुरुङ बस्ती गिरानचौरलाई पर्यटकीय गाउँ बनाउने काम भइरहेको छ। त्यसका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। ‘राजमार्गबाट नजिकै रहेको झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई गुरुङबस्तीसम्म लैजान सकिए त्यहाँका स्थानीयवासीको जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ’, उनले भने, ‘बिदा र शनिबारका दिन अन्य दिनभन्दा बढी पर्यटकको चहपहल हुन्छ।’ गाउँपालिकाले झोलुङ्गे पुल नजिकै रहेको आँधीमूलको पर्यटन प्रवर्द्धन गर्ने काम गरिरहेको छ। त्यसका लागि यहाँ कृत्रिम ताल निर्माण गर्ने योजना अगाडी सारिएको छ। अध्यक्ष चुमानले भने, ‘आँधीमूल पर्यटकीय धार्मिकस्थल हो, २० मिनेटको दूरीमा रहेको आँधीमूलमा कृत्रिम ताल बनाउँदैछौँ। झोलुङ्गे पुल र आँधीमूलको सही व्यवस्थापन गर्न सकिए यहाँका स्थानीयवासीको आर्थिक विकासका निम्ति महत्त्वपूर्ण भूमिका खेल्नेछ।’ आँधीमूलमा कृत्रिम ताल बनाउन रु ५० लाख बजेट विनियोजन गरिएको छ। आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ। आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ। आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ। गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी नदीमा मोटरबोट सञ्चालन गर्ने लक्ष्य राखेको छ। मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए।  ‘यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई आँबुखैरेनीमा भुलाउन सक्छौँ’, उनले भने, ‘त्यसका लागि ऊर्जा मन्त्रालयमार्फत अनुमति चाहेका छौँ।’ अध्यक्ष चुमानका अनुसार चिनियाँ अधिकारीसँग पनि यस विषयमा कुराकानी भएको छ। ‘नेपाल भ्रमणमा आउने अधिकांश चिनियाँ पर्यटक राजमार्ग हुँदै पोखरातर्फ जाँदा उनीहरुलाई आँबुखैरेनीमा एकदिन भए पनि राख्न सकिए यहाँका स्थानीयवासीको जीविकोपार्जनमा पनि सहयोग पुग्छ’, उनले भने । रासस

म्याग्दीको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चलहपहल बढ्यो

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ । सडक यातायात, पदमार्ग, कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण, हनुमानको मूर्ति स्थापना, राम मन्दिर निर्माण भएपछि ताकमकोत भ्रमण, पूजाआजा र अवलोकन गर्न आउनेको चहलपहल बढेको हो । म्याग्दीका साथै पोखरा, बागलुङ, पर्वत, काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट दैनिकजसो भक्तजन र पर्यटक आउन थालेका स्थानीयवासी लेकबहादुर पुनले बताए ।  ‘ऐतिहासिक, धार्मिक महत्व तथा विशेषताको प्रचारप्रसारका साथै पूर्वाधार निर्माण भएसँगै केही वर्षअघिसम्म सुनशान ताकमकोतमा अहिले चहलपहल बढेको छ’, उनले भने, ‘भक्तजन र पर्यटक नआएको दिन हुँदैन । बिदाको समयमा अझ बढी आउँछन् ।’ स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट तीन वर्षअघि असी लाख  रुपैयाँ चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण भएको थियो । १५ लाख रुपैयाँ खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मूर्ति राखिएको छ । ताकमकोतमा भक्तजन र पर्यटकलाई आकर्षित गर्न हालै हनुमानको मूर्ति स्थापना र राम सीताको मन्दिर निर्माणलाई पूर्णता दिइएको छ । कोतघर परिसरमा टाढाबाट देखिने गरी हिमाल र पहाडलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्न मिल्ने गरी १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ । धौलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले ठेकेदारले अलपत्र छाडेको राममन्दिर निर्माणलाई पूर्णता दिनुका साथै नजिकै हनुमानको मूर्ति स्थापना गरिएको जानकारी दिए । विभागले ४२ लाख रुपैयाँमा ठेक्कामार्फत निर्माण सुरु गरेको राम मन्दिर तीन वर्षदेखि अलपत्र परेको थियो । ‘हनुमानको मूर्ति स्थापना, राम सीताको मन्दिर निर्माणलाई पूर्णता, मूर्ति खरिद गर्दा रु ३५ लाख खर्च भएको छ’, उनले भने, ‘धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा रु तीन लाख ५० हजार विनियोजन गरेको यो योजनाका लागि स्वदेश तथा विदेशमा रहेका दाताले सहयोग गर्नुभएको छ ।’ अमेरिकामा रहेका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा मूर्ति स्थापनाका लागि आर्थिक सहयोग सङ्कलन गरिएको छ । दाताबाट २४ लाख ४० हजार सहयोग जुटेको छ । हनुमानको मूर्ति र राम मन्दिरको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमाल देखिन्छ । यसैगरी कोतमन्दिर परिसरमा ताकमका विकास केसी र आकाश केसीको पहलमा खत्री परिवारले प्रवेशद्वार निर्माण गरेका छन् । सोह्रौँ शताब्दीमा निर्माण भएको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो । म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको ताकमका रुपक सुवेदीले बताए। जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ । दैनिक पूजाआज हुन्छ ।  विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्य अवलोकन गर्न सकिने ताकमका तेजेन्द्र थापाले बताए । ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजनाअनुसार कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ । ताकमकोतको पूर्वाधार निर्माणमा धौलागिरि गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिब एक करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ताकमकोत पुग्ने सडकको स्तरोन्नति, पदमार्ग निर्माणलाई पूर्णता, घेराबार र स्लेट बिछ्याउने योजना रहेको बताए ।  रासस

समिट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज जेठ २१ गते अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् जेठ २२ गतेदेखि साधारण सभासम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५६ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश गरी कूल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न १४औं वार्षिक साधारण सभा असार ३ गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको छ । लघुवित्तको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न राष्ट्र बैंकबाट निर्देशन आएको हुँदा आर्थिक वर्ष २०७८र७९ को बोनस सेयर वितरण पश्चात् नपुग भएको सर्वसाधारण तर्फको ८ लख ५३ हजार ६६५ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (एफपीओ)को माध्यमबाट सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थाको अधिकृत पूँजी ६५ करोड रुपैयाँ रहने गरी प्रवन्धपत्रमा शंसोधन गर्ने प्रस्ताव पारित गर्नेछ । समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीचको मर्जर प्रक्रियालाई पुरा गर्न सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ । दुबै लघुवित्तको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदनका अधारमा सेयर आदान प्रदान अनुपात १ः०.७३ अर्थात् नेशनल लघुवित्तको १०० कित्ता सेयर बराबर समीट लघसवित्तको ७३ कित्ता सेयर कायम हुनेछ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १० ठाउँको जग्गा बेच्दै

फाइल फोटो काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । फाइनान्स कम्पनीले आफ्नो नाममा दर्ता कायम रहेका १० वटा कित्तामा रहेका घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । फाइनान्सका अनुसार नवलपरासीको सिसवार १ र ३ वडा स्थित कित्ता नम्बर १४१०, २५८, २५९, २४९, २५५ र २५६ को क्रमशः ०-०-५, ०-०-१०, ०-०-१०, ०-०-१०, ०-०-१० र ०-०-१० क्षेत्रफल भएको जग्गा बिक्री गर्नेछ । यस्तै, मोरङ्गको मृर्गौलियाको ३ र ८ स्थित कित्ता नम्बर ७४ र ३५६ को ०-०-१४ र ०-१-० क्षेत्रफल, कुसैनी ३ स्थित कित्ता नम्बर ३५८ र ३५९ को ०-१-० र ०-३-१६ क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले असार २१ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।