असोजमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने
काठमाडौं । आगामी असोज दोस्रो साता राजधानीको भृकसटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ गतेसम्म तदनुसार सेप्टेम्बर २७ देखि अक्टूबर १ सम्म एक्स्पो आयोजना गर्न लागेको हो । राजधानीमा एक्स्पोको लञ्चिङ कार्यक्रमको आयोजना गरि आयोकजले एक्स्पोका सम्बन्धमा औपचारिक जानकारी गराएको हो । इभेण्ट लञ्चिङकै दिनदेखि एक्स्पोको स्टल बुकिङ खुल्ला गरिएको छ । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुल्ला गरिएकोमा कार्यक्रमस्थलमा नै ५० प्रतिशतभन्दा बढी स्टलहरु बुकिङ भएका छन् । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । ‘आर्थिक गतिविधिहरु सुस्त भइरहेका बेला एक्स्पोले बजार चलायमान बनाउन सघाउने विश्वास लिएका छौं, स्टल बुकिङ खुल्ला भएको छ, फर्निचर व्यवसायमा आबद्ध व्यवसायीहरुलाई सहभागिताका लागि संघ अनुरोध गर्दछ,’ अग्रवालले भने । एक्स्पोका संयोजक निकुञ्ज अग्रवालका अनुसार संघको डिल्लीबजार चारखालस्थित सचिवालयका साथै युनियन पार्क नजिकै रहेको इभेण्ट सोलुसनको कार्यलयमा सम्पर्क गरी स्टल बुकिङ गर्न सकिनेछ । साथै अनलाइन माध्यमबाट स्टक बुकिङ गर्ने व्यवस्था गर्ने अन्तिम तयारी भएको पनि आयोजकले जनाएको छ । एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहनेछन् । एक्स्पोमा सहभागी हुन चाहनेहरुलाई समयमा नै स्टल बुकिङ गर्न एक्स्पो संयोजक अग्रवालले आग्रह गरेका छन् । फर्निचर तथा फिर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी, व्यवसायीहरुलाई समेटेर बृहत र भव्य रुपमा आयोजना हुन लागेको एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्न लागेको हो । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्नेछ भने ग्राहकहरुलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीद्धारा उत्पादित विभिन्न सामाग्रीहरु उपलब्ध गराउन भूमिका खेल्ने विश्पास आयोजकको छ । साथै फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्ने एक्स्पोको उद्देश्य छ । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ । ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरुको सहभागिता रहनेछ । अवलोकनकर्तालाई आकर्षक गिफ्ट भौचर उपलब्ध गराउनुका साथै घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि उपलब्ध हुनेछ भने एक्स्पोस्थलमा नै वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुनेछ । साथै एक्स्पोमा सहभागि हुने व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउने छन् । फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि सन् २०१२ देखि आयोजना हुन थालेको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल) ब्राण्डको रुपमा स्थापित भइसकेको छ ।
मौरीपालन व्यवसायबाटै परिवारलाई आत्मनिर्भर बनाउन सफल रामकुमारी
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी खत्रीले तीस वर्षअघि मौरीपालन सुरु गर्दा तत्कालीन कृषि विकास कार्यालयमा यससम्बन्धी कार्यक्रम थिएन । विसं २०५० मा रेडियो नेपालबाट प्रसारण हुने कृषि कार्यक्रम सुनेर मौरी पाल्ने योजना बनाएकी रामकुमारी कार्यालयमा पुग्दा कार्यक्रम नभएको बताएपछि प्राविधिक सल्लाह मात्र लिएर फर्कीएकी थिइन् । ’त्यतिबेला अहिलेजस्तो पुस्तक पढ्ने, भिडियो हेर्ने सुविधा थिएन, रेडियोमा सुनेको भरमा मौरी पाल्न थालेकी थिए’, उनले भनिन्, ’राम्रो ज्ञान भएका प्राविधिक जनशक्ति भेट्टाउन पनि मुस्किल थियो, त्यस्तो अवस्थामा मौरीपालन गर्नु मेरा लागि चुनौती थियो, तर सफल भएँ ।’ तीन वटा काठको घारबाट मौरीपालन सुरू गरेकी उनीसँग हाल ८० देखि एक सय आधुनिक घारमा मौरी टुट्दैनन् । अप्ठ्यारा र समस्याबाट सिक्दै उनले मौरीपालनमा तीन दशक बिताएकी छिन् । मौरीपालन सफल भएपछि बसाइँसराइ गरेर चितवन जाने रामकुमारीको परिवारको योजना रोकिएको छ । डडुवाका साथै छिमेकी गाउँ कुहुँ र जिल्लाका विभिन्न ठाउँका कृषकलाई मौरीपालनमा आकर्षित गराउन तथा विस्तार गर्न उनको महत्वपूर्ण भूमिका छ । डडुवाका साथै उनले भिरमुनि र तोरीपानीमा रहेका आफन्तको जग्गामा घारसहितको मौरी लगेर पालेकी छिन् । उनी मौरीपालन व्यवसायबाटै परिवारलाई आत्मनिर्भर बनाउन सकेकामा सन्तुष्ट छिन् । ’चार छोराछोरीलाई बेनी र काठमाडौँमा क्याम्पस पढाउन श्रीमान्को जागिरले मात्र सम्भव थिएन’, उनले भनिन्, ’छोराछोरी पढाउने र घरखर्च चलाउने स्रोत मौरी नै हो ।’ सेरेना जातको मौरी पालेकी रामकुमारीले घारसहितको मौरी र मह दुवै बिक्री गर्दै आएकी छिन् । खत्री सञ्चालक रहेको सिद्धिविनायक मौरीपालन केन्द्र म्याग्दी मौरीको स्रोत केन्द्र पनि हो । उनले वार्षिक एक सय घारसहित मौरी र एक मौसममा एक सय किलोग्रामसम्म मह उत्पादन गर्छिन् । मौरीसहितका घार १० हजार रुपैयाँ र महलाई प्रतिकिलो एक हजार सात सय रुपैयाँका दरले बेच्ने गरेका छन् । ’यसपाली घारसहितका मौरी बेच्नलाई ५० घार मौरी छुट्याएर राखेको छु, बजारको खोजी भइरहेको छ’, उनले भनिन्, ’मौरी बेच्नलाई मह निकालिएन, मह जति पनि बिक्री हुन्छ, यसपाली पालिका र कृषि ज्ञान केन्द्रमा मौरीसहितका घार वितरण गर्ने कार्यक्रम कम भएकाले बिक्री नभएको हो ।’ गाउँघरका साथै जिल्ला सदरमुकाम बेनी बजार र विदेशमा रहेकाले कोसेलीका रुपमा मह किनेर लैजाने गर्छन् । जापान, कोरिया, अस्टे«लियामा रहेका आफन्तलाई डडुवाको मह किनेर कोसेली पठाउने गरेका छन् । मौरीपालन गर्ने नयाँ कृषक घारसहितको मौरीका ग्राहक हुन् । रामकुमारीले डडुवाकै बालबहादुर विकले बनाएको घार किनेर त्यसमा मौरी राखेर कृषकलाई बेच्ने गरेकी छिन् । खत्रीसँग मौरी पाल्ने कृषकले परामर्श लिने गर्छन् । स्वादिलो, पोषिलो र शक्तिवद्र्धक मह धार्मिक कार्यमा पनि प्रयोग हुन्छ । चरन अभाव, अस्वस्थ प्रतिस्पर्धा र सीमित बजारलाई उनले मौरीपालनको चुनौतिका रुपमा लिएकी छिन् । रासस
नागरिकता विधेयकलाई संशोधन गर्न रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन् । आईतवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले नागरिकता बिहीनलाई नागरिकता दिन नभइ अन्य कुनै स्वार्थले नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए । उनले रास्वपा नागरिकता विधेयक प्रमाणीकरणको पक्षमा नरहेको स्पष्ट पार्दै यसको घोर विरोधमा रहेको उल्लेख गरे । उनले नागरिकताको विषय देशको सुरक्षा, मानव अधिकार र भूराजनीतिसँग जोडिएको विषय भएको भन्दै यसलाई संसदमा छलफल नगरी प्रमाणिकरणमा जानु नहुने बताए। ‘आज जुन विधिबाट, जुन तरिकाबाट सरकारले जुन रवैयाले यो प्रस्तुत गरेको छ, यसले मधेसका ति तमाम नागरिकताविहिन जनतालाई नागरिकता दिन होइन, अन्य कुनै स्वार्थले ल्याएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ छ, हामी यसको घोर विरोध गर्दछौं,’ उनले भने । राज्यले नागरिकता नदिएर मधेसका मुसहर समुदायका धेरै विद्यार्थी स्कुल जान नपाएको बताउँदै उनी भन्छन्,’उनीहरुले पोषणभत्ता समेत पाएका छैनन्, बैंकमा खाता खोल्न सकेको छैन, राज्यले आफ्नो दायित्वबाट विमुख हुने, हिजो लामो समयसम्म राजनीति गरिरहेका राजनीतिक पार्टीहरु आफ्नो दायित्वबाट पर जाने अनि यो सार्वभौम संसदमा आएको यो बेथितिविरुद्ध आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यो कर्मको हामी भारी बोक्ने छैनौँ, हाम्रो यसमा समर्थन छैन ।’ उनले नेपाली नागरिकलाई नागरिकता दिलाउनका लागि रास्वपा संसद र सडकमा संघर्ष गर्न तयार रहेको भन्दै यसरकारले यस प्रकारको विधि भने सुधार्नुपर्ने बताए । प्रमुख प्रतिपक्ष दल नेकपा९एमाले०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण प्रतिनिधि सभा बैठक एक घण्टापछि बस्नेगरी स्थगित गरिएको छ ।
नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र
काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन र हिमालय’ शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो । प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुल, आइरिश इन्टरनेशनल स्कुल, माआदी ब्रिटिश इन्टरनेशनल स्कुल, कायरो अमेरिकन कलेज तथा नासेर प्राइभेट स्कुलमा अध्ययनरत विभिन्न मुलुकका दर्जनौँ विद्यार्थीको सहभागिता रहेको दूतावासले जनाएको छ । कार्यक्रममा पाकिस्तान इन्टरनेशनल स्कुलका प्रिन्सिपल सैयद तोसेफ हुसैन बोखारीले चित्रकला प्रतियोगिता आयोजना गरेकामा राजदूतावासलाई धन्यवाद दिँदै यस्ता अतिरिक्त क्रियाकलापमा हुने सहभागिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन हुने धारणा व्यक्त गरे । प्रतियोगताले विद्यार्थीलाई अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूले जलवायु परीवर्तनका असरबाट विश्वलाई जोगाउन मानवले चाल्नुपर्ने कदमका विषयमा समाजका साथै विश्वलाई सन्देश दिनसक्ने उनको भनाइ थियो । प्रतियोगितामा जमाल खाँनले नेपालका हिमालहरू नेपालका मात्र नभइ विश्वकै उत्कृष्ट प्राकृतिक धरोहरका रूपमा रहेकाले भावी पुस्ताको जीवनसँग जोडिएका यस्ता धरोहरलाई जलवायु परिवर्तनको असरबाट जोगाउनुपर्नेमा जोड दिए । त्यसैगरी, प्रतियोगितामा सहभागी विद्यार्थीका अभिभावक राना खालिदले नेपालका हिमाल पर्यटनका दृष्टिकोणले विश्वमै उत्कृष्ट जानकारी दिए । उनले साहसिक पर्यटनका लागि इजिप्टका युवा पुस्तामा आकर्षण बढ्दै गएकाले भविष्यमा इजिप्सियन युवाको प्रमुख गन्तव्यको रूपमा नेपाल रहने कुरामा आफू विश्वस्त रहेको उल्लेख गरे । अरब गणतन्त्र इजिप्टका लागि नेपालका महामहिम राजदूत सुशीलकुमार लम्सालले उक्त प्रतियोगितामा सहभागी हुने स्कुललाई सहभागिताका लागि धन्यवाद दिएका थिए। उनले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पदक दिँदै सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र र नेपालको हिमाल अङ्कित मायाको चिनो प्रदान गरेका थिए। प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुलमा अध्ययनरत युन्जिया झाङले प्रथम स्थान हासिल गरेका थिए।रासस
प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित
काठमाडौं । विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
८५ लाखमा भरत तालमा मधेस प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण
सर्लाही । सर्लाहीको बागमती नगरपालिका– ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी भरत तालमा मधेस प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण भएको छ । उक्त तालमा मधेश प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण गरिएको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले जानकारी दिए । उनका अनुसार ताल किनारमा निर्माण भएको ‘स्काई साइक्लिङ’को परीक्षण सम्पन्न गरेर सञ्चालनका लागि तयारी गरिएको छ । तारको लठ्ठामा झुन्डिएको साइकल चलाएर मनोरञ्जन लिने यो खेल पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएकाले तालमा पनि निर्माण गरिएको बागमती इन्टरनेश्नल प्रालिका अध्यक्ष गौतम खड्काले जानकारी दिए । ‘स्काइ साइक्लिङ’ले तालमा थप पर्यटक आकर्षित हुुने अपेक्षा गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन् । उनका अनुसार जमिनको सतहदेखि ३७ फिट उचाइमा रहेको यो ‘स्काइ साइक्लिङ’ दुई सय १३ फिट लामो छ । भरत ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको र पर्यटकलाई थप आकर्षित गर्न ‘स्काइ साइक्लिङ’ निर्माण गरिएको बागमती नगरपालिका– १२ का वडा अध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए । तालमा पर्यटकको मनोरञ्जनका लागि तीन दर्जन मोटरबोट र एउटा मिनिक्रुज बोट सञ्चालन भइरहेको छ । यसैगरी ताल परिसरमा थप साहसिक खेलका संरचना निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । ८५ लाख रुपैयाँको लागतमा निर्माण भएको ‘स्काइ साइक्लिङ’मा दुईवटा रोपलाइन विस्तार गरिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोख्रेलले बताए । उनका अनुसार ‘स्काइ साइक्लिङ’मा एकपटकमा तीन जनासम्मले साइकल चलाउन सक्ने छन् । नगरको गौरबको आयोजनाको रुपमा निर्माण सुरु गरिएको भरत ताल निर्माणकै चरणमा पनि आन्तरिक आयस्रोतको आधारस्तम्भ बनेको नगरपालिकाले जनाएको छ । रासस
राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी
काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिइन् । सोमबार आयोजित सपथ समारोहमा आयोगका सदस्यहरु तथा सदस्य सचिव केवल प्रसाद भण्डारीको उपस्थिति थियो । महिला सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । ढुंगाना सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय महिला नेतृ हुन् । यूनडिपीमा समेत काम गरेको अनुभव भएको ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्व समेत सम्हालिसकेकी छिन् । २०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए । तत्कालिन माओवादी–एमालेसहितको गठबन्धन भत्किएर माओवादी–कांग्रेससहितको गठबन्धन बनेपछि त्यसको असर आयोगलाई पर्यो । गठबन्धन परिवर्तन पछि केही नयाँ सदस्यहरु नियुक्त भए पनि आयोगले पूर्णता भने पाउन सकेको थिएन । यसअघि आयोगको सदस्यहरुा डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, र डा. रमेश पौडेल नियुक्त भइसके थिए । नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानून, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्बेवारी पाएकी छिन् । यस अघि नियुक्त भएका सदस्यहरु मध्ये डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपुर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदुरपश्चिम प्रदेशको जिम्बेवारी दिइएको थियो भने डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ । यसैगरी डा. बुढाथोकीलाई उर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा. विच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीइ मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई क्षिा, सहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ । उपाध्यक्ष श्रेष्ठको जिम्मामा समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र गृह, भौतिक पूर्वाधार, वैदेशिक सहायता साथै सबै प्रदेशहरुको समन्वय रहेको छ ।
नेप्सेमा एक लघुवित्तको २६ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तको २६ प्रतिशत बोनस बापत ३२ लाख २६ हजार ७७२.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।