त्रिशूलीमा टिपर खस्दा चालक घाइते
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको टिपर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बर्षमाडीका ३२ वर्षीय चालक प्रदीप थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । टिपर नदीबाट निकाल्न सकिएको छैन । रासस
पर्यटक लक्षित बेगनास ताल संरक्षण अभियान
गण्डकी । तालैतालको सहर हो पोखरा । यहाँका नौ वटा ताल रामसार सूचीमासमेत सूचीकृत भइसकेका छन् । सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास । बाह्रै महिना कञ्चन पानी टल्पलाइरहने यो ताल अझै पनि पर्यटकको पर्खाइमा छभन्दा अत्युक्ति नहोला । पोखरामा फेवा तालमा दैनिक ठूलै सङ्ख्यामा पर्यटक पुगे पनि बेगनास तालमा भने आइपुग्नेको सङ्ख्या कम नै हुने गर्दछ । पछिल्ला समयमा यहाँ पर्यटकको आगमन बढाउन लेखनाथ उद्योग वाणिज्य सङ्घसहित बेगनास ताल डुङ्गा व्यवसायी समिति, मत्स्य व्यवसायी सङ्घ लेखनाथलगायतका सङ्घसंस्था क्रियाशील बनेका छन् । बेगनास तालको संरक्षणसँगै यसको पर्यटकीयरुपमा अधिकतम् उपयोग होस् भन्ने कुरालाई लेखनाथ उद्योग वाणिज्य सङ्घले सधैँ आफ्नो प्राथमिकतामा राखेको सङ्घका अध्यक्ष छत्रधर आत्रेय बताउँछन् । पोखरा र आसपासका सञ्चालन हुने महोत्सवमध्ये सबैभन्दा ठूलो सङ्ख्यामा सर्वसाधारणको जमघट हुने लेखनाथ महोत्सवका अवसरमा वर्षेनी यसको संरक्षण र उपयोगलाई जोड दिदै विभिन्न कार्यक्रमहरू समेत सञ्चालन हुने गर्दछ । महोत्सव सुरु भए यता नै तालको संरक्षण र पर्यटकीय उपयोग गर्ने विषय प्राथमिकतामा रहँदै आएको उनको भनाइ छ । लेखनाथ महोत्सव २०५८/५९ देखि नै सुरु भएपनि औपचारिक र व्यवस्थित रुपमा २०६० सालबाट सुरु भएको हो । अध्यक्ष आत्रेयले ताल किनाराको रातमाटा क्षेत्रमा करिब १३ लाख रुपैयाँको लागतमा अङ्ग्रेजी अक्षरमा ‘बेगनास लेक’ लेखिएको ठूलो बोर्ड राख्ने तयारी गरिएको बताउनुभयो । बेगनास ताल आउने पर्यटकले टाढैबाट देख्न सक्ने गरी बनाउन लागिएको बोर्ड ७० फुट लम्बाई र १७ फुट उचाइको हुनेछ । बोर्डमा प्रयोग हुने प्रत्येक अक्षर १० फुटको हुने जनाइएको छ । सङ्घले २०७९ मा सम्पन्न १८ औं लेखनाथ महोत्सवमा बेगनास ताल र यहाँका गतिवधिलाई बुझ्ने गरी डेमो पनि प्रदर्शन गरेको थियो । लेखनाथको समृद्धिको महत्वपूर्ण आधार बेगनास भएकाले ताल र यहाँ हुने गतिविधिलाई समेटेर तयार गरिएको उक्त दृश्यका अवधारणाकार एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व सदस्य विश्वगोपाल श्रेष्ठले १० जना सहयोगी लिएर एक हप्तामा उक्त डेमो तयार गरेका थिए । बेगनास तालको दृश्यमा ताल र आसपासका स्थान, तालको मुहान स्याङ्खुदीदेखि कपासे, बेगनास मौरी उद्योग, तालको सबैभन्दा गहिरो भाग रहेको कुसुन्डे, जिमिरे कुना, पिप्ले जलारी बस्ती, ड्याम साइड आदि विषय समेटिएको थियो । त्यस्तै ताल वरपरका बस्ती मन्धरे पार्क, अलैँचे, बाँस कुना, देउराली मन्दिर, कहेरे, रुपा बेगनास भ्यु टावर, काउरे, माझिकुना दृश्यमा समेटिएको थियो । पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको माझीकुना, मलादी, ठूलो सालको रुख, बराह क्षेत्र, राते टूडो, सुमिको रुखआदि दृश्यसँगै ठाउँठाउँमा घर तथा बस्तीले यहाँको सम्भाव्य विकासको अवस्थालाई पनि चित्रण गरिएको थियो । पछिल्लो समयमा बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्न पहल थालिएको छ । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल थालिएको हो । साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको एक करोड १७ लाख रुपैयाँको सहयोगमा बराह क्षेत्रमा पदमार्ग, बस्ने ठाउँ, वनभोजस्थल आदिको निर्माण भइसकेको पोखरा महानगरपालिका–३१ का वडा अध्यक्ष एवम् बेगनास ताल बराह संरक्षण समितिका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए । बराह क्षेत्रमा बेगनासताल बराह क्षेत्र पर्यटकीय पूवर्पाधार निर्माण योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारबाट ५० लाख रुपैयाँको सहयोग प्राप्त भई निर्माण कार्य अघि बढाइएको समितिका अध्यक्ष ध्रुवनाथ अधिकारीले बताउनुभयो । योजनाअन्तर्गत बेगनास ताल बराह एवम् लक्ष्मी नारायण मन्दिर निर्माण थालिएको हो । योजनाका लागि कुल ५५ लाख ७६ हजार ९१७ रुपैयाँ लागत लाग्नेमा गण्डकी प्रदेश प्रदेश सरकारबाट ५० लाख रुपैयाँ र श्रमदानबाट पाँच लाख ७६ हजार ९१७ रुपैयाँ विनियोजन गरिएको छ । बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि व्यवस्थित मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए । बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विक रुपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि यसअघि पुरातत्व विभागका प्राविधिकसमेत आएर यहाँको अध्ययन गरेका थिए । बेगनास तालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रमा समेत पु¥याउने लक्ष्यका साथ मन्दिरलगायतका संरचना निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले बताए । प्राचीनकालदेखि अत्यन्त आस्था विश्वासका साथ पूजाआजा गरिंदै आइएको यस तीर्थस्थलमा डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका अवसरमा ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीयवासी सबैलाई राम्रो होस् भन्ने कामना गर्दै पूजाआजा गर्दै आएका छन् । बराह मन्दिरबाट बेगनासकोटसम्म तीन किलोमिटर दूरीको पदमार्ग बनाउने काम सुरु भएको वडाअध्यक्ष कंडेलले जानकारी दिए । पदमार्गका लागि अघिल्लो वर्ष महानगरबाट १५ लाख रुपैयाँ सहयोग प्राप्त भएकोमा यस वर्ष नौ लाख नौ हजार रुपैयाँ प्राप्त भएको छ । त्यस्तै तालको किनारामा पैदल मार्ग(फुट ट्रयाक) बनाउनका लागि नेपाल पर्यटन बोर्डको १५ लाख र पोखरा महानरपालिकाको तीन लाख ७५ हजार गरी १८ लाख ७५ हजार रुपैयाँको लागतमा डुङ्गाघाटबाट फुट ट्रयाक निर्माण सुरु गरिएको छ । महानगरपालिकाले बेगनास सेरोफेरो कार्यक्रमअन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरेको कंडेलले जानकारी दिए । बेगनास बराह क्षेत्रसहित यस आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन एवं पर्यटकीय विकासलाई लक्षित गरी २०७५ मङ्सिर २२ गतेदेखि २९ गतेसम्म यस स्थानमा महायज्ञ गरिएको थियो । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रवनाथ अधिकारीका अनुसार महायज्ञमा कूल एक करोड चार लाख रुपैयाँ आम्दानी भएकामा सबै खर्च कटाएर ७६ लाख रुपैयाँ बचत भएको थियो । बचत रकमको ब्याजबाट यहाँका विभिन्न सामाजिक कामका गतिविधि अघि बढाइएको छ । बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका बेगनास बराह, वरपरका गोरखनाथ, अर्घौं मौला ठूलाकोट, बेगनास कोट, पचभैया कोट, रुपा कोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको प्रवद्र्धन र विकास गर्ने लक्ष्य रािखएको थियो । महायज्ञपश्चात् उक्त क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गरिएको जानकारी दिँदै अधिकारीले बेगनास ताल परिसरमा विश्राम गृह, स्वच्छ पिउने पानीको व्यवस्था गरिएको बताए । तालमा डुबेर बेपत्ता भएका व्यक्तिको उद्धारका लागि पितृ स्मृति कक्ष निर्माण गरिएको जानकारी दिँदै उनले बेगनास तालकै गाईघाटमा गाई तथा बाच्छीको मूर्ति स्थापना गरिएको बताए । बेगनास तालमा डुङ्गा व्यवसाय सञ्चालनमा २५६ जना व्यवसायी आवद्ध रहेको बेगनास डुङ्गा व्यवसायी समितिका अध्यक्ष रविराज कंडेलले बताए । डुङ्गा व्यवसायीसँगै वर्षौदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएका जलाहारी समूदाय पनि एकाकार हुँदै तालको संरक्षण, विकास र उपयोगमा सहकार्य गर्दै अघि बढ्ने कंडेलले जानकारी गराए । बेगनास ताल आसपासका व्यवसायीको व्यावसायिक क्षमता अभिबृद्धिका लागि समितिले गत चैतमा अवलोकन भ्रमण गराएको थियो । समितिले ९० जना व्यवसायीलाई पछिल्लो समयमा चर्चित भरतताल, जनकपुर, सहिद स्मारक, सौराहा, सिजी धाम आदिमा अवलोकन भ्रमण गराउँदै त्यहाँबाट पर्यटकको आतिथ्यता लगायतमा प्रत्यक्ष बुझ्ने अवसर प्रदान गरेको उनले जानकारी दिए । बेगनासतालमा हाल २५६ वटा डुङ्गाले पर्यटकलाई सेवा दिइरहेका छन् । पर्यटकको आगमन बढाउने उद्देश्यका साथ समितिले हालै ५० लाख रुपैयाँको मोटरबोट खरिद गरेको छ । समयानुकल रुपमा पर्यटकलाई स्तरीय छिटो छरितो सेवा दिने उद्देश्यका साथ डुङ्गा व्यवसायीले सामुहिक रुपमा रकम उठाएर मोटरबोट ल्याएको जानकारी दिदै अध्यक्ष तिवारीले यसका माध्यमबाट शेयर सदस्यको आर्थिक क्षमता अभिबृद्धि गर्ने लक्ष्य राखिएको बताए । जल विहारसँगै माछाका विभिन्न परिकारको स्वाद लिन पाउनु बेगनास तालको अर्को विशिष्टता हो । बेगनास तालमा मात्रै विभिन्न ४६ रैथाने प्रजातिका माछा पाउने गरिएकामा पछिल्ला समयमा टिलापिया जस्ता मिचाहा प्रजातिका कारण उक्त सङ्ख्या घट्दो क्रममा रहेको छ । यस क्षेत्रका ५६ घरपरिवार अधिकांशले मत्स्य व्यवसाय सञ्चालन गर्दै आएका छन् । तालको उत्तरी किनारमा रहेको पिप्लेगाउँमा ४२ परिवारको बसोबास भएकामा ३२ परिवार जलारी समुदायका छन् । बाँकी छ परिवार विक र चार अन्य छन् । वर्षौदेखि माछा मारेर जीवीका गर्दै आएका उनीहरूको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । माछा बिक्री गरेरै प्रत्येक परिवारले मासिक २० देखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको वेगनास ताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारी बताउँछन् । तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो एक सय ८० देखि एक हजार रुपैयाँसम्म पर्छ । वेगनासतालमा तिलिपीया, विग्रेड, भ्याकुर, सहरलगायत विभिन्न प्रजातिका माछा पाइन्छन् । कोरोनाअघि माछाको स्वाद लिन ठूलै संख्यामा पर्यटक आउने गरेकोमा त्यसयता भने केही कमी आएको स्थानीयवासीको तर्क छ । पछिल्ला समयमा विस्तारै पर्यटकहरू आउने क्रम बढ्ेका कारण आशा जगाएको उनीहरू बताउँछन् । बेगनास तालमा पर्यटक लक्षित पूर्वाधार एवम् गतिविधि बढ्दै जाँदा यसले यहाँको पर्यटनमा विशिष्ट योगदान पुग्ने उनीहरूको विश्वास छ । रासस
मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना गर्नेतिर भएको बताएका छन् । काठमाडौं विश्वविद्यालय सभाको ९७औँ बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले भने, ‘हामी सबैले मेहनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउनेतिर जानुपर्दछ ।’ उनले काठमाडौं विश्वविद्यालयले स्वदेशमै रोजगारी सिर्जना गर्न खेलेको भूमिका महत्वपूर्ण भएको बताए । ‘आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी यो विश्वविद्यालयको हो’, प्रधानमन्त्री दाहालले भने, ‘हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौँ । हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषय पछि परे ।’ प्रधानमन्त्रीले जहाँ अनुशासन कायम भयो, जहाँ विकास निर्माणका कामलाई प्राथमिकता दिने काम भएको उल्लेख गरे । त्यस्तो अवस्थामा अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नरहने र देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण बन्ने स्पष्ट पारे । प्रधानमन्त्रीले भने, ‘विभिन्न देशको अनुभव हेर्दा देख्न थाहा पाउन सक्छौँ । उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोही अनुरुप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने रहेछ ।’ सो अवसरमा काठमाडौं विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालयको शैक्षिक कार्यक्रम र आगामी कार्यभारका विषयमा प्रस्तुति दिएका छन् ।
आफ्नो प्रतिभालाई अस्वीकार गर्ने इम्पोस्टर सिन्ड्रोम के हो ? कसरी बच्न सकिन्छ ?
काठमाडौं । फेसबुककी पूर्व सिइओ शेरिल स्यान्डबर्गले हावर्ड युनिभर्सिटीमा पढ्दैगर्दा उनले दिने हरेक परीक्षा पश्चात उनलाई लाग्दथ्यो की परीक्षा खराब भएको छ । तर, उनको हरेक परीक्षामा राम्रै नम्बर आइरहेको हुन्थ्यो । त्यसैले उनी आफ्नो क्षमताले भन्दा पनि ती नम्बरहरु संयोगले आएका हुन भन्ने सोच्थिन् । जब उनले आफ्नो व्यवहारको विश्लेषण गरिन, उनले त्यसबेला महशुस गरिन की उनी इम्पोस्टर सिन्ड्रोमबाट पिडित भएकी थिइन् । यो एक प्रकारको मनोवैज्ञानिक अवस्था हो, आफ्नो क्षमतालाई शंका गर्ने र आँफूलाई अन्य व्यक्तिहरुसँग तुलना गर्नपुग्छ । शेरिल बाहेक पनि विश्वका धेरै सेलिब्रेटीहरु पनि सो सिन्ड्रोमको शिकार भएका छन् । उदाहरणको रुपमा हेर्दा स्टारबक्सका पूर्व सिइओ हावर्ड सुल्ट्ज पनि यो सिन्ड्रोमको शिकार भएका थिए । उनलाई लाग्दथ्यो की उनी आफूले जिम्मेबारी बहन गरिरहेको पदको लागि क्षमतावान छैनन् । यसबाहेक अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामाले पनि आँफूले कहिलेकाहीँ इम्पोस्टर सिन्ड्रोमको सामना गर्नुपरेको स्वीकार गरेकी छन् । यद्यपी उनले आफ्नो क्षमतामा ध्यान दिएर आफ्नो आत्मविश्वास फिर्ता गर्न सफल भइन् । व्यवसायिक जीवनको सन्दर्भमा यो सिन्ड्रोममाथि ध्यान दिन र छलफल गर्न सान्दर्भिक हुन्छ । अहिलेको युगमा यो सिन्ड्रोमको प्रभाव सेलिब्रेटी देखि लिएर आम व्यवसायिक मानिसहरुको जीवनमा देखिएको छ । मनोवैज्ञानिकहरुका अनुसार मानिसहरु आफ्नो काममा सफल भएपनि यो सिन्ड्रोमका कारण आँफूलाई सफल भएको ठान्दैनन् । जसका कारण उनीहरुको आत्मसम्मान घट्छ र असफलतातर्फ लाग्छन् । यो सिन्ड्रोम देखिएका मानिसहरु आफ्ना स-साना गल्तीहरुमा बढी ध्यान केन्द्रित गर्छन् । जसका कारण उनीहरुमा एन्जाइटी र जलन जस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा समयमा नै रोगको पहिचान गरी उपचार गर्नुपर्दछ । के छन् बच्ने उपाय ? नेतृत्व सम्बन्धी प्रशिक्षक जोएल जे का अनुसार प्रत्येक दिन आफ्नो लक्ष्यको सूची बनाउनुहोस्, त्यसमा दिनका दुई ठूला उपलब्धिको बारेमा लेख्नुहोस् । तपाईंले ती उपलब्धि कसरी प्राप्त गर्नुभयो भनेर पनि बताउनुहोस् । यसको साथै पोडकास्ट पनि सुन्ने बान गर्नुहोस् । इम्पोस्टर सिन्ड्रोम एन्ड डाउट पोडकास्टमा डा. जेसामी हिबर्डले आफ्नो मानसिकता परिवर्तन गरेर यो सिन्ड्रोमलाई कसरी जित्न सक्नुहुन्छ भनेर बताउने गरेका छन् । लाइफ एन्ड लिडरसिप पोडकास्टमा डा. भ्यालेरी एंगले यो सिन्ड्रोमबाट कसरी बाहिर निस्कन सकिन्छ भनेर पनि बताएका छन् । आफूले प्राप्त गरेका सफलताहरुको लागि आँफैलाई क्रेडिट दिन शुरु गर्नुहोस् । शेरिल स्यान्डबर्गका अनुसार तपाईंले आफ्नो सफलताको बारेमा कुरा गर्नुहोस्, जसरी तपाईंले अरुको सफलताको बारेमा कुरा गर्नुहुन्छ । यसोगर्दा तपाईंले आँफूबाट हराएको आत्मविश्वास पुनः प्राप्त गर्नसक्नुहुन्छ । विकासको मानसिकता पनि निर्माण गर्नुहोस् । चुनौतीहरुलाई बेवास्ता गर्नुको सट्टा स्वीकार गर्नुहोस् र गल्तीहरुबाट नडराउनुहोस् । तपाईंको लागि सही समर्थन सहित सल्लाह दिने व्यक्तिको पनि खोजी गरेर संगत बढाउनुहोस् । एजेन्सीको सहयोगमा ।
सिभिल लघुवित्तद्धारा पिडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला बिरगंज महानगरपालिका रहेको केन्द्र नं. ३३ कि सदस्य श्रीमति लालकुमारी देवीको मृत्यू पश्चात निज सदस्यको श्रीमान् अर्जुन हजरा दुसादलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराईएको हो । सदस्य श्रीमति लालकुमारी देवीले संस्थाबाट २ लाख ५० हजार रुपैयाँ कर्जा लिएकोमा सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरेकाे छ । कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम २ लाख रुपैयाँ समेत फिर्ता गरी जम्मा रकम २ लाख २५ हजार रुपैयाँ निज सदस्यको श्रीमान अर्जुन हजरा दुसादलाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए ।
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने काम समेत सुरु भएको जानकारी गराएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष आरके शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको भेटमा उनले कार्यविधि तथा नियमावली बनाउने क्रममा गैरआवासीय नेपालीका सुझावलाई मनन गरिने प्रतिबद्धता व्यक्त गरे । ‘एक पटकको नेपाली, सधैँ नेपाली’ भइरहने र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिन थप सशक्तरुपमा अघि बढ्न सङ्घका प्रतिनिधिलाई आग्रह गरेका छन् । उनले गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रममार्फत सम्बोधन भइसकेको र केही प्राविधिक विषयमा गृहकार्य भइरहेको जानकारी दिँदै छिट्टै कार्यान्वयनमा आउने विश्वास दिलाए । भेटमा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली सङ्घमार्फत धन्यवाद व्यक्त गरेकामा खुसी व्यक्त गर्दै लामो रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणीकरण भएको बताए । उनले गैरआवासीय नेपाली नागरिकताको वितरणको शुभारम्भ एक भव्य कार्यक्रमकाबीच गरिने जानकारी दिए । सङ्घीय संसद्ले दुई पटक पारित गरेर गत भदौमा प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी छाडेका थिए । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए । भेटमा उपाध्यक्ष शर्माले नागरिकता विधेयक प्रमाणीकरणबाट आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकामा सरकारलाई धन्यवाद ज्ञापन गरे । उनले विश्वभर रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्याउन थप दायित्वबोध भएको उल्लेख गर्दै ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्र सार्थक बन्ने विश्वास व्यक्त गरे । उनले गैरआवासीय नेपालीको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीका लागि समेत वातावरण तयार भएको र यथाशीघ्र नागरिकतासम्बन्धी कार्यविधि बनाई कार्यान्वयनको चरणमा पु¥याउन आग्रह गरे । सङ्घले गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिका लागि नीति तथा कार्यक्रममार्फत सम्बोधन गरेकामा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानका लागि समेत अनुरोध गरेको छ । सानासाना विप्रेषणलाई एकीकृत गरेर एक स्वायत्त प्राधिकरण गठन गरी स्वच्छ ऊर्जा तथा राष्ट्रिय गौरवका आयोजनामा सुनिश्चित प्रतिफलसहितको लगानीको वातावरण बनाउन सङ्घको आग्रह छ । सो क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले नागरिकता नियमावली तर्जुमाको चरणमा रहेको जानकारी दिँदै पहिलो गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट प्रदान गर्ने योजना रहेको बताए । सो अवसरमा महान्यायाधिवक्ता डा दीनमणि पोखरेलकोसमेत उपस्थिति थियो ।
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आइतबार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाले अध्यक्षमा विकास दुगडलाई निर्विरोध निर्वाचित गरेको छ । साथै, विकास दुगडको अध्यक्षतामा १३ सदस्यीय निम्न वमोजिमको नयाँ कार्य समिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएको छ । उक्त संघमा निवर्तमान अध्यक्षमा सन्दिप कुमार अग्रवाल , उपाध्यक्षमा रतन लाल केडिया र अमित मोर, महासचिवमा निखिल चाचान र सदस्यहरुमा कमल कुमार वेगानी, श्याम लोहिया, अमित शारदा, दिपक सापकोटा, राजिव गुप्ता, विरेन्द्र कुमार संघई, विपिन कावरा र मनोज तापरिया सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका छन् ।
आज वातावरण दिवस मनाइँदै
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ ।