विकासन्युज

स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

काठमाडौं । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ । अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो ।  उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुभारम्भ गरे । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजश्व तिर्न सक्नेछन् ।  यस अघि भन्सार नाकामा आएर यस्ता सवारी साधनले भौतिक रुपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो । साथै, नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था थियो । तर, नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो सवारी साधनको इजाजत पत्र घरैबाट अनलाइनमार्फत भरेर अनलाइनबाटै पैसा तिरेर बिना झन्झट नेपाल घुम्न आउन सक्छन् । नयाँ अनलाइन सहजीकरण सेवाको शुभारम्भ गर्दै अर्थमन्त्री डा. वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताए ।  ‘सरकारले अनुशरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यन्वयनको क्रममा यो कार्य सुरु गरिएको हो,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘पर्यटकलाई कुनै कठिनाइ नहोस् । सरकारी सेवा छिटो र छरितो होस् भन्ने हामी चाहन्छौं ।’ नयाँ प्रणाली सुरुआत गर्दै भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी सवारी साधनको इजाजत अब डिजिटल भएको बताए ।  उनकाअनुसार अब नेपाल प्रवेश गर्ने यात्रु तथा पर्यटकले प्रयोग गर्ने विदेशी सबारीसाधन सम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सक्नेछन् । जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउनेछ । नेपाल सरकारलाई तिर्ने राजश्व पनि त्यस्ता पर्यटकवाहक सवारीले अनलाइनबाटै वा बैंक काउन्टरबाट तिर्न सक्छन् । अनलाइनबाट पैसा तिरेका गाडीले भन्सारमा आफ्नो इमेलमा प्राप्त क्यूआर कोड देखाएरै नेपाल छिर्न सक्ने उनको भनाई छ । यसरी प्राप्त हुने क्यूआर बोकेर पर्यटकवाहक सवारी आफ्नो गन्तव्यमा पुग्नसक्ने विभागले जनाएको छ । विभागकाअनुसार यस्ता सवारी साधनले आफ्नो यात्रा अवधि सकिएको खण्डमा पनि आफू रहेको नेपालस्थित ठेगानाबाट अनलाइनमार्फत नै यात्रा अवधि थप गर्न सक्नेछन् ।  यो सबै सेवा लिनका लागि भन्सार विभागको वेबसाइटमा गएर हाम्रा सेवाहरू शीर्षकमा रहेको टीआईभी शीर्षकमा क्लिक गर्नुपर्छ र त्यसबाट भित्र रहेको विवरण अनलाइनबाट भर्न सकिन्छ ।  सबै विवरण अध्यवधिक गरिसकेपछि अन्तिममा ग्राहकलाई विवरण सबै खुल्ने क्युआरकोड प्राप्त हुुन्छ । सोको आधारमा आफूले तिर्न पर्ने शुल्क तिरेर सवारी साधनहरु नेपाल भित्रिन सक्छन् ।  नेपालभरका सडकमा त्यस्ता सवारीले सोही क्वीआर कोड देखाएको खण्डामा यात्रा गर्न पाउँछन् । विभागकाअनुसार नेपाल राष्ट्रिय एकद्धार प्रणालीमार्फत नेपाल भित्रिने विदेशी नागरिकहरुलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात (टीआईभी) मोड्युल विकास गरिएको हो । तत्कालका लागि यो सेवा नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने सवारी साधनका लागि लागू गरिएको भन्सार विभागले स्पष्ट पारेको छ । हालाई चीनियाँ नाका भएर स्थलमार्गबाट चिनियाँ सवारी साधनसहित पर्यटक आउने नगरेको र आएको खण्डमा उनीहरुका हकमा पनि यो सेवा रहेको विभागले जनाएको छ । तत्कालका लागि यो सेवाबाट भारत र बंगलादेशका पर्यटक लाभान्वित हुने विश्वास विभागको छ ।

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त भएका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । उनका अनुसार पदमुक्त भएका पदाधिकारीलाई पदमुक्त भएको जानकारीको पत्र पठाउने क्रम सुरु गरिएको छ । ‘अध्यादेशअनुसार मन्त्रालयअन्तर्गतका प्रतिष्ठान, समिति र बोर्डअन्तर्गतका ती पदाधिकारी पदमुक्त भएका छन् । पदमुक्त भएका पदाधिकारीलाई पत्राचार गरिरहेका छौं, ’उनले भने ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित स्वास्थ्य बीमा बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्लगायत निकाय रहेका छन् ।  पदाधिकारीलाई अध्यादेश जारी भएको दिनदेखि पदमुक्त गरिएको सहप्रवक्ता डा. अधिकारीले उल्लेख गरे ।  राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ जारी गरेका थिए । 

इन्द्रचोकको चाँदी पसलमा पेस्तोल देखाएर लुट्ने महर्जन पक्राउ

काठमाडौं । काठमाडौंको भेडासिंहस्थित चाँदी पसलमा लुटपाट गर्ने एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा २९ वर्षीय हरिकृष्ण महर्जन रहेका छन् । वैशाख १७ गते चाँदी पसलमा प्रवेश गरेर पसल सञ्चालिकालाई पेस्तोल देखाएर दुई जना लुटेराले लुट्ने प्रयास गरेका थिए । दुईमध्ये एक लुटेरा मंगलबार इमाडोलबाट पक्राउ परेका हुन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चाँदी लुटेर उनीहरूले लगाएको ज्याकेट तथा अन्य लुगाहरू घटनास्थलमा छाडेर भागेका थिए । ईन्द्रचोकस्थित वविता रौनियारले सञ्चालन गरेको नैना एण्ड इशान ज्वेलरीमा हतियारसहित प्रवेश गरी लुटपाट गर्ने प्रयास गरेका थिए ।  प्रहरीले घटनाको अनुसन्धान गर्न थालेपछि उनीहरू फरार भएका थिए।

अटोमोबाइल वस्तुमा एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक बनाउन नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोवाइलका पार्टपूर्जा तथा वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सूचीसहितको स्टिकर टाँस्ने सरकारको नयाँ व्यवस्थालाई व्यावहारिक बनाउन माग गरेको छ । आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग भेटघाट गरी यस विषयमा विस्तृत छलफल गरेको हो । छलफलका क्रममा नाडाका अध्यक्ष उप्रेतीले सरकारले ल्याएको दीर्घकालीन नीतिले आयात व्यवसायलाई व्यवस्थित, स्वच्छ र पारदर्शी बनाउनुका साथै सरकारको राजस्व वृद्धिमा समेत मद्दत पुग्ने बताए । अध्यक्ष उप्रेतीले नेपालमै हाल सिकेडी मोडेलमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका साथै टायर, लुब्रिकेन्ट्स र ब्याट्रीहरूको उत्पादन भइरहेको जानकारी समेत मन्त्रीलाई गराए । कार्यान्वयनको तहमा रहेका केही व्यावहारिक जटिलताहरूबारे नाडाले मन्त्रीको ध्यानाकर्षण गराएको छ । एउटै बक्सभित्र सयौंको सङ्ख्यामा आउने साना स्पेयर पाट्र्सहरूमा छुट्टाछुट्टै स्टिकर टाँस्न प्राविधिक रूपमा कठिन हुने, भन्सारमा बण्डेड वेयर हाउसको व्यवस्था नभएको अवस्थामा भन्सार यार्डभित्रै स्टिकर टाँस्नुपर्ने बाध्यता अव्यावहारिक रहेको लगायतका विषयमा ध्यानाकर्षण गराएको हो । यी समस्याहरूलाई दृष्टिगत गर्दै व्यवसायीहरूका लागि सहजीकरण गरिदिन नाडाले आग्रहसमेत गरेको छ ।  छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योतिले नाडाले नै पहिलोपटक सरकारलाई एमआरपी र स्टिकरको विषयमा सुझाव दिएको स्मरण गराए भने सचिव मेघराज पौडेलले स्टिकर टाँस्ने सम्बन्धमा देखिएका व्यावहारिक कठिनाइहरूबारे जानकारी गराए । नाडाको सुझावलाई सकारात्मक रूपमा लिँदै मन्त्रीले हालको परिस्थिति र व्यावहारिक पक्षलाई हेरेर यो व्यवस्थालाई केही समयका लागि पछाडि सारेर भए पनि समस्या समाधान गरिने आश्वासन दिइन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत चैत ३० गते एक सूचना जारी गर्दै विदेशबाट पैठारी हुने सम्पूर्ण वस्तुहरूमा अनिवार्य रूपमा एमआरपी उल्लेख हुनुपर्ने, बिक्री गर्दा बिजक जारी गर्नुपर्ने र स्वदेशी उद्योगको हकमा प्याकेजिङमै मूल्य, ब्याच नम्बर, तौल र म्याद स्पष्ट देखिने गरी स्थायी लेबल राख्नुपर्ने व्यवस्था गरेको थियो । भेटघाटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्यहरू दिवाकर मिश्र, नविन पारख र नारायणप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको मतदान सम्पन्न, राति ८ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम सम्पन्न भएको छ । महासंघको आगामी कार्यकालका लागि आज बिहानदेखि सुरु भएको मतदान केही बेरअघि मात्रै सकिएको हो । निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भएसँगै अब मतगणनाको तयारी सुरु गरिएको छ ।  समितिले आजै राति ८ बजेदेखि मतगणना कार्य सुरु गर्ने जानकारी दिएको छ ।  सोमबारदेखि सुरु भएको महासंघको ६०औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको हो । महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्नेछन् । उनीबाहेक अन्य विभिन्न पदाधिकारी र कार्यकारिणी सदस्य पदका लागि भने निर्वाचन भएको हो । निर्वाचनमा मुख्य दुई समूहबीच प्रतिस्पर्धा भएको थियो । स्वतः अध्यक्ष हुने अञ्जन श्रेष्ठ समूह र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबीच प्रतिस्पर्धा भएको हो । श्रेष्ठ समूहबाट वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षतर्फ प्रबलजंग पाण्डे र जिल्ला–नगर उपाध्यक्ष उपाध्यक्षतर्फ दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा उम्मेदवार छन् । त्यस्तै, हेमराज ढकाल समूहबाट वस्तुगत उपाध्यक्षतर्फ नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ तथा जिल्ला–नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे उम्मेदवार रहेका छन् । साथै महिला उपाध्यक्ष पदमा कल्पना श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेकी छन् ।

भौतिक मन्त्रालय मातहतका यी पदाधिकारी भए पदमुक्त

काठमाडौं । सरकारले हालै जारी गरेको नयाँ अध्यादेशसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायबाट २० पदाधिकारी पदमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ पारित भएसँगै २० पदाधिकारीहरू पदमुक्त भएका हुन् । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो ।  मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष प्रा.डा. पदमबहादुर शाही, उपाध्यक्ष डा. विकास अधिकारीसहित १३ पदाधिकारी पदमुक्त भएका छन् । सडक बोर्ड नेपालका ४ सदस्य पदमुक्त भएका छन् ।  नेपाल रेल्वे बोर्डका रेल्वे प्रशासक बलराम मिश्रसहित ३ जना पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।

सरकारको नयाँ अध्यादेशसँगै अर्थ मन्त्रालय मातहतका यी अधिकारीहरू भए पदमुक्त

काठमाडौं । सरकारले हालै जारी गरेको नयाँ अध्यादेशसँगै अर्थ मन्त्रालय मातहतका विभिन्न सरकारी निकाय र वित्तीय संस्थाहरूका पदाधिकारीहरू पदमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ पारित भएसँगै विभिन्न निकायहरूमा कार्यरत अध्यक्ष, सदस्य तथा प्रमुख कार्यकारी अधिकृतहरू पदमुक्त भएका हुन् । यसरी पदमुक्त हुनेहरूमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणजस्ता नियामक तथा कार्यकारी निकायका पदाधिकारीहरू रहेका छन् । कर्मचारी सञ्चय कोषको सञ्चालक समिति र व्यवस्थापनमा रहेका उच्च अधिकारीहरू पदमुक्त भएका छन् । जसमा वर्तमान राजस्व सचिव भूपाल बराल (अध्यक्ष), प्रशासक जितेन्द्र धितालसहित अन्य व्यक्तिहरू रहेका छन्। त्यसैगरी, सदस्यहरू डा. धनिराम शर्मा (सहसचिव), ईश्वर कार्की, विनोद थापा, प्रा.डा. तारा प्रसाद भुसाल र देवेन्द्र रमण खनाल पदमुक्त भएका छन् । त्यस्तै, नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरे, विज्ञ सञ्चालक हेमन्त राज रमाली र कार्यकारी निर्देशक पर्वत कुमार कार्की पदमुक्त भए । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको परिषद् र मातहतका बोर्डहरूमा रहेका सरकारी प्रतिनिधि तथा सदस्यहरू पदमुक्त भएका छन् । परिषद् सदस्यहरू कुमार राई, थान प्रसाद पज्ञानी (सहसचिव) र श्याम प्रसाद भण्डारी (सहसचिव) पदमुक्त भए । त्यसैगरी, लेखामान बोर्डका अध्यक्ष सुनिल कुमार ढुंगेलसहित सदस्यहरू मनमोहनराज काफ्ले, जितेन्द्र कुमार मिश्र, दुर्गा प्रसाद ज्ञवाली, मनिषराज उप्रेती, विदुर लुइँटेल र पोषराज नेपाल पदमुक्त भए । लेखापरीक्षणमान बोर्डका अध्यक्ष जगन्नाथ उपाध्याय निरौलासहित सदस्यहरू रविन्द्र राजभण्डारी, क्षेत्र गोपाल प्रधान, शेषमणि दाहाल र गणेशराज राई पदमुक्त भए । नेपाल धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य पिताम्बर भण्डारी पदमुक्त भएका छन् । त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सदस्य प्रकाशजंग थापा पदमुक्त भएका छन् । कोषमा एक सदस्य पद पहिले नै रिक्त थियो । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य (जीवन बीमातर्फ) डा. गणेश प्रसाद पाण्डे पदमुक्त भए । निर्जीवन बीमातर्फको सदस्य पद भने रिक्त नै रहेको थियो ।

एशियन लाइफको नयाँ बीमा योजना : अंगभंग भएमा प्रिमियम छुट र वार्षिक १०५ आयको ग्यारेन्टी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बचतसँगै अधिकतम वित्तीय सुरक्षाको सुविधा समेत चाहने बीमितको मागलाई ध्यानमा राख्दै एशियन जीवन मंगल (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । प्रधान कार्यालयमा मंगलबार सार्वजनिक गरिएको यस बीमा योजनामा बीमा अवधि पुरा भएपछि बीमाङ्क र बोनशको सुविधासहित वार्षिक आय सुविधा, बीमाशुल्क छुट सुविधा र संस्कार खर्च सुविधा मूल बीमामै समावेश गरिएको छ ।  यी सुविधाको लागि बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गर्नुपर्दैन । यसबाहेक बीमा अवधिभित्र दुर्घटनाको कारण बीमितलाई स्थायी अंगभंग भएमा बाँकी अवधिको बीमाशुल्क छुटसँगै जीविकोपार्जनका लागि बीमालेखको प्रत्येक वार्षिकोत्सव मितिमा बीमाङ्ककको १०  प्रतिशतका दरले वार्षिक आय लाभवापतको रकम प्रदान गरिनेछ ।  साथै बीमा अवधि समाप्त भएपछि बीमितले बीमाङ्क रकम र बीमा अवधि समाप्तिसम्मको बोनस रकम बीमितले एकमुष्ठ भुक्तानी प्राप्त गर्नेछन् ।  यो बीमा योजनामा बीमितले थप बीमाशुल्क भुक्तानी गरी दुर्घटना मृत्यु लाभको सुविधासमेत यो बीमालेखमा समावेश गर्न सकिने सुविधा छ ।  ग्राहकले ५ वर्षदेखि १५ वर्षसम्मको अवधिको लागि १८ देखि ६० वर्ष उमेर सम्मको व्यक्तिले न्यूनतम ५० हजार रुपैयाँदेखि बीमाङ्क रोज्न सक्नेछन् ।