विकासन्युज

देशभर २४ घण्टामा ३६ विपद्का घटना : एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार मुलुकका विभिन्न ३० जिल्लामा ३६ वटा विपद्का घटनाहरू भएका छन् । चैत ६ गते बिहान १० बजेदेखि ७ गते बिहान १० बजेसम्मको अवधिमा भएका यी घटनाहरूमा परी एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी चट्याङका घटनाहरू भएका छन् । ९ जिल्लामा भएका १० वटा चट्याङका घटनामा परी १० जना घाइते भएका छन् । त्यस्तै ७ जिल्लामा भएका ७ वटा आगलागीका घटनामा २ जना घाइते भएका छन् । लेक लागेर २ जिल्लामा २ वटा घटना भएका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यसका साथै अविरल वर्षा, पहिरो, हावाहुरी र जनावर आक्रमणका घटनाहरू पनि दर्ता भएका छन् ।  ३० लाखभन्दा बढीको आर्थिक क्षति विपद्का यी घटनाहरूबाट ठूलो मात्रामा भौतिक तथा आर्थिक क्षति भएको छ । प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा करिब ३० लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ । यसै अवधिमा ३० वटा चौपायाको समेत क्षति भएको विवरण प्राप्त भएको छ । उद्धार र राहतका लागि देशभर १ सय ७७ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।   ७ हजारभन्दा बढी घटना, ४ सय ७९ को मृत्यु २०८२ वैशाख १ गतेदेखि चैत ७ गतेसम्मको समग्र तथ्यांक हेर्दा नेपालमा विपद्का घटनाहरू भयावह देखिएका छन् । यस अवधिमा कुल ७ हजार १ सय ४० वटा विपद्का घटनाहरू भएका छन् । जसमा परी ४ सय ७९ जनाले ज्यान गुमाएका छन् । तथ्यांकअनुसार ३८ जना अझै बेपत्ता छन् भने १ हजार ८ सय ७० जना घाइते भएका छन् । विगत एक वर्षमा भएका प्रमुख घटना र मानवीय क्षति विगत एक वर्षमा आगलागीका ३ हजार ४ सय ४३ घटना भएका छन् । जसबाट १०२ जनाको मृत्यु भएको छ । त्यसतै सर्पदंशका ५ सय ९६ घटनाबाट ९८ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोका ६०१ घटनाबाट ७४ जनाको मृत्यु भएको छ । जनावर आक्रमणका ४ सय ९५ घटनाबाट ५५ जनाको मृत्यु भएको छ भने चट्याङका ३ सय ९३ घटनाबाट ४७ जनाको मृत्यु भएको छ । विगत एक वर्षमा बाढीका ३ सय २० घटनाबाट ३८ जनाको मृत्यु भएको छ । यस अवधिमा कुल १२ हजार ९ सय ९४ परिवार विपद्का घटनाबाट प्रभावित भएका छन् ।    

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

काठमाडौं । मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बीचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबीच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उनको प्रशासन यस क्षेत्रको सैन्य अभियानलाई क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताएका छन् । तेलको मूल्यमा वृद्धि र अमेरिकी शेयर बजारमा गिरावट आएपछि यस्तो मिश्रित सन्देश आएको हो । यसैबीच, इजरायलले  इरानले शनिबार बिहान पुनः मिसाइल आक्रमण जारी राखेको छ भने साउदी अरेबियाले केही घण्टाभित्रै २० ड्रोन निश्क्रिय पारिएको जनाएको छ । त्यस क्षेत्रमा मुख्य तेल प्रतिष्ठानहरू रहेका छन्। कुनै मानव क्षति वा संरचनागत हानि भने भएको छैन । इरानले आक्रमणलाई बढाउँदै आफ्नो खाडी छिमेकीमा असर पुर्याइरहेको छ, जबकि हर्मुज जलमार्गमा व्यापार नियन्त्रण जारी राखेको छ । यो मार्ग विश्वको तेल र अन्य महत्वपूर्ण वस्तुहरूको लगभग पाँचौं हिस्सा बोक्ने मार्ग हो । इरानी सर्वोच्च नेता मोज्तबा खामेनीले नवरोज पर्वको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी र इजरायली आक्रमणहरू असफल भएको बताए । उनले इरानी जनताको दृढतामा प्रशंसा गरे । इरानी सेनाका उच्च अधिकारीहरूले ‘विश्वका पार्क, मनोरञ्जन क्षेत्र र पर्यटन स्थलहरू’ देशका शत्रुका लागि सुरक्षित नहुने चेतावनी दिएका छन् । यसले इरानले मध्यपूर्व बाहिर पनि आक्रमण गर्ने सम्भावना कायम राखेको देखाउँछ । अमेरिकाले इरानी तेलमा केही प्रतिबन्ध हटाउने घोषणा पनि गरेको छ, जसले मूल्य नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । तर उत्पादनमा वृद्धि नभएपछि तेलको आपूर्ति र मूल्यमा ठूलो असर नपर्ने देखिन्छ । युद्धमा हालसम्म इरानमा एक हजार ३०० भन्दा बढी, इजरायलमा १५ र पश्चिम बैङ्कमा चार नागरिकको मृत्यु भएको छ । अमेरिकी सेनाका कम्तीमा १३ सदस्यको पनि मृत्यु भएको छ । रासस  

केरालामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

काठमाडौं । भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको पुष्टि भएपछि अधिकारीहरूले २० हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रभावित क्षेत्र कोझिकोड र अलप्पुझा जिल्लामा नियन्त्रणका लागि यस्तो कदम चालिएको हो । कोझिकोडमा करिब १४ हजार २२८ र अलप्पुझामा ५ हजार ९६१ वटा चरालाई नष्ट गरिनेछ । उक्त निर्णय नेशनल इन्स्टिच्युट अफ हाई सेक्युरिटी एनिमल डिजिजेस, भोपालमा पठाइएका नमूनामा उच्च सङ्क्रामक एभियन इन्फ्लुएन्जा पुष्टि भएपछि लिइएको हो  । हालसम्म यो रोग केवल चरामा मात्र देखिएको छ । तर सर्वसाधारणलाई सतर्क रहन र असामान्य रूपमा धेरै चरा मरेको देखिएमा नजिकको पशु अस्पतालमा जानकारी दिन आग्रह गरिएको छ ।  

इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन

काठमाडौं । सुर्खेतकी इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा शनिबार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो ।  उनीहरुले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका छन् । प्रदर्शनकारीहरुले ‘इनिशालाई न्याय देउ’, ‘बलात्कारीलाई फाँसी देउ’, ‘महिला सुरक्षाको ग्यारेन्टी गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । प्रदर्शनमा सहभागी अधिकारकर्मीहरुले राज्यले महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।   

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित वाग्मती पुल क्षेत्रमा सफाइ गरी तीन मेट्रिकटन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । आजको सफाइबाट उठाइएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरेको हो ।      सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौं महानगरपालिका–९ का वडा सदस्य नवराज अधिकारी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारीसहित वाग्मती सफाइ अभियानकर्मीको उपस्थिति रहेको अभियाकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।      विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानको आज ६७१औँ शृङ्खला हो । महाअभियान सुरु भएदेखि प्रत्येक शनिबार बिहान करिब दुई घण्टा वाग्मती नदीमा सफाइ हुने गरेको छ ।  वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर काठमाडौंमा यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड र राजधानी बाहिरका नदी क्षेत्रमा सफाइ अभियान सुरु भएको छ । सफाइ अभियानका क्रममा पछिल्लो समय कुहिने फोहरबाट कम्पोष्ट मल बनाएर नकुहिने फोहर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्दै आएका छन् ।

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।      बागमती प्रदेश-३-०१-००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा गएराति राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । बसचालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।   

फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटम : ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

काठमाडौं । फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै धमिलो छ । निर्वाचनको उत्सव सकिएको छ, विजयका गुलालहरू पखालिइसकेका छन् र अहिले काठमाडौंका गल्लीहरूमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । तर पोखराका गल्ली, चोक र चौतारीहरूमा भेटिने सर्वसाधारणका कुरा सुन्दा लाग्छ— उनीहरूको उत्साहभन्दा बढी ‘अन्तिम आशा’ जीवित छ । वर्षौँदेखि आश्वासनका पोकाहरू बोकेर घरदैलोमा आउने नेताहरू र सत्ताको कुर्सीमा पुगेपछि बदलिने उनीहरूको चरित्रबाट पोखरेली जनता यसरी थाकिसकेका छन् कि अब उनीहरूलाई भाषण होइन, परिणाम चाहिएको छ । बलबहादुरको १८ औँ भोट र एउटा हजुरबुबाको सपना ८४ वर्षको उमेर । चाउरिएका गाला र जीवनका धेरै उतारचढावका रेखाहरू प्रष्ट देखिने अनुहार । पोखराको एउटा कुनामा भेटिएका बलबहादुर नेपालीको कथा कुनै राजनीतिक दस्तावेजभन्दा कम छैन । उनी भन्छन्, ‘मैले १८ पटक भोट दिएँ बाबु १ काँग्रेसमा हुर्किएँ, माओवादीलाई पनि हेरेँ । तर जति पटक भोट हाले पनि गरिबको भलो भएन । ठूलाठालुले देशका कम्पनी बेचेर खाए, हामीलाई जहिले पनि पछाडि पारे ।’  बलबहादुरको यो भनाइले नेपालको विगत ३०–३५ वर्षको राजनीतिक अस्थिरताले आम मानिसको मुटुमा पारेको घाउलाई छर्लङ्ग पार्छ । उनी अहिले कुनै राजनीतिक आस्थाले होइन, बरु एउटा विवश हजुरबुबाको सपनाले नयाँ अनुहारप्रति ढल्किएका छन् । उनी चाहन्छन्— आफ्ना छोरानातिले आफ्नै देशमा रोजगारी पाऊन्, बिरामी पर्दा उपचार नपाएर मर्नु नपरोस् र कम्तीमा गाँस–बासको चिन्ता नहोस् । ‘जुन जोगी आए पनि कानै चिरिएको भन्छन्, तर हामीलाई धेरै चाहिएको छैन, मात्र बाँच्ने बाटो चाहिएको छ ।’ उनको यो वाक्यले नयाँ सरकारलाई गम्भीर प्रश्न गरिरहेको छ । नारायणप्रसादको ‘सिस्टम’ र पसिनाको मूल्य पोखरा–३३ बागमाराका नारायणप्रसाद काफ्लेको कथा अलि फरक छ । उनी एउटा कर्मठ किसान हुन्, जसले २०६० सालदेखि गाई फार्म चलाएर माटोसँग पौँठेजोरी खेलिरहेका छन् । तर उनको संघर्ष माटोसँग मात्र होइन, देशको भ्रष्ट प्रणालीसँग पनि छ । उनी भन्छन्, ‘हामीलाई व्यक्तिगत फाइदा चाहिएको छैन, हामीलाई त एउटा सुशासनयुक्त ‘सिस्टम’ चाहिएको छ ।’   काफ्लेको अनुभव निकै तीतो छ । उनले आफ्नै आँखा अगाडि वास्तविक किसानले भन्दा ‘झोलामा कागज बोक्ने’ दलालहरूले सरकारी अनुदान कुम्ल्याएको देखेका छन् । नयाँ सरकारलाई उनको स्पष्ट खबरदारी छ— गल्ती गर्नेले सजाय पाओस्, सरकारी कार्यालय जाँदा फाइल बोकेर महिनौँ धाउनु नपरोस् र किसानको पसिनाको प्रतिफल दलालको खल्तीमा नजाओस् । जनता अब केवल ‘भोट बैंक’ मात्र बन्न तयार छैनन्, उनीहरू आफ्नो पसिनाको वास्तविक मूल्य खोजिरहेका छन् । सीतादेवीको उद्योग र बाकसमा फर्किने युवाको पीडा पोखरा–७ मुस्ताङचोककी सीतादेवी आचार्य एउटी शाहसी उद्यमी हुन् । उनले प्लास्टिक उद्योगमार्फत ७० जनालाई रोजगारी दिएकी थिइन् । तर आज बजारको मन्दी र सरकारको उदासीनताले उनको उद्योग संकटमा छ । ‘मार्केटमा पैसा छैन, सरकारले उद्योगीलाई हेर्दैन । ७० जनाको परिवार पालेकी थिएँ, अहिले आफैँलाई टिक्न गाह्रो छ’ उनी पीडा पोख्छिन् । तर सीतादेवीको व्यक्तिगत पीडाभन्दा ठूलो चिन्ता देशको भविष्यप्रति छ । दिनहुँ विमानस्थलबाट बाहिरिने युवाको लर्को र खाडीबाट बाकसमा फर्किने छोराछोरीको लासले उनलाई पिरोल्छ । उनी भन्छिन्, ‘नेपाल आमा रोइरहेकी छिन्, छोराछोरी बाकसमा फर्किरहेका छन् । गाउँमा मलामी जाने मान्छे छैनन् ।’ उनको नयाँ सरकारसँग एउटै माग छ- युवालाई विदेश पठाउने एजेण्ट होइन, स्वदेशमै पसिना बगाउने वातावरण बनाउने अभिभावक बनोस् । ऋषिरामको खबरदारी : ‘तेरो र मेरो पार्टी नभनी काम गरियोस्’  पोखरा–२१ का ऋषिराम बिकको चासो भने विकासको गुणस्तर र राजनीतिक निष्पक्षतामा छ । चुनावमा भोट दिएर पठाएका प्रतिनिधिहरूले अब मन्त्रिमण्डल गठन गर्दा जनताको आधारभूत आवश्यकतालाई भुल्न नहुने उनी बताउँछन् । ऋषिरामको अनुभवमा विकासका योजनाहरूमा चरम भ्रष्टाचार र दलीय भागबण्डा हुने गरेको छ । ‘हाम्रो अपेक्षा के छ भने, जनताले जहाँ गए पनि आफ्नो कुरा राख्न सकून् । काम गर्दा तेरो र मेरो पार्टी भनेर भेदभाव नगरियोस्,’ ऋषिराम भन्छन् । विशेषगरी पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती र कमिसनतन्त्रप्रति उनको आपत्ति छ । ‘बाटो बनाउन आउने रकम ठाउँ–ठाउँमा बाँड्दा–बाँड्दै सकिन्छ, अनि कसरी राम्रो बाटो बन्छ रु अगाडि बनाउँदै गयो, पछाडि भत्किँदै जान्छ,’ उनी थप्छन् । उनलाई नेताहरूको भाषणमा अब विश्वास छैन । उनी भन्छन्, ‘बोलीभन्दा काम गरेर देखाइदिए राम्रो हुन्थ्यो ।’ भाषणको रेल होइन, बाँच्ने आधार चाहिएको छ पोखराका यी प्रतिनिधि आवाजहरू केवल तीन व्यक्तिका कुरा मात्र होइनन्, यो त समग्र नेपालीको साझा सुस्केरा हो । बलबहादुरको आशा, नारायणप्रसादको प्रणाली र सीतादेवीको उद्योग— यी सबैलाई जोड्दा एउटै निष्कर्ष निस्कन्छः जनतालाई ठूला भाषण, रेल र पानीजहाजका सपना होइन, आधारभूत आवश्यकताको सुनिश्चितता चाहिएको छ । नयाँ बन्ने सरकारका लागि पोखरेलीको सन्देश प्रष्ट छ- सरकारी अस्पतालमा सहजै अस्पतालका शैय्या पाइयोस्, सरकारी कार्यालयमा जाँदा नागरिकले अपमानित हुनु नपरोस् र आफ्नै माटोमा पसिना बगाएर सम्मानजनक जीवन बाँच्न पाइयोस् । यदि यो नयाँ सरकारले पनि पुरानै प्रवृत्ति दोहोर्यायो र जनताको यो ‘अन्तिम आशा’ माथि खेलबाड गर्यो भने, त्यो निराशाको विस्फोट देशका लागि निकै महँगो सावित हुनेछ । उनीहरु भन्छन्ः सत्ताको कुर्सीमा बस्नेहरूले बेलैमा सुनून्- पोखराको यो आवाज केवल अपेक्षा मात्र होइन, यो त एउटा गम्भीर खबरदारी पनि हो ।      

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : हरेक नागरिकको अवस्था अब महानगरको हातमा

काठमाडौं । पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति घर छन् र नागरिकको आर्थिक अवस्था के छ भन्ने कुरा विगतमा केवल अनुमानका भरमा चल्ने गरेको थियो ।  तर अहिले महानगरले ‘प्राइमरी डेटा’ नै संकलन गरेर हरेक घरको विस्तृत विवरण तयार पारेको छ । यस तथ्याङ्कअनुसार पोखरा महानगरपालिकाभित्र १ लाख ४८ हजार ७२५ घरहरू रहेका छन् । यो तथ्यांक संकलनका क्रममा कुन घर गरिबीको रेखामुनि छन्, को बेरोजगार छ, को रोजगार छ र कुन परिवारको आर्थिक अवस्था कस्तो छ भन्ने सबै विवरण निकालिएको छ । यसै तथ्याङ्कका आधारमा पोखरालाई नेपालको सबैभन्दा धनी शहरको रूपमा स्थापित गर्न र लक्षित वर्गका लागि प्रभावकारी योजना बनाउन सजिलो भएको मेयर आचार्यले बताए ।  उनले भने, ‘पोखराभित्र कति घर छन् । यसको स्टाटस के हो भन्ने कुरा चाहीँ विभिन्न खालका अनुमानका कुरा थिए । हामीले प्राईमरी डेटा नै लिएर हरेक हरेक घरको डेटा लिएका छौँ । यो भनेको एक लाख ४८ हजार ७ सय २५ घर छ । कति घर गरिवीको रेखामुनि छन् । को बेरोजगार छ, को रोजगार छ ? यी सबै अवस्था निकालेका छौँ । यसको कारणले गर्दा पोखरा नेपालको सबैभन्दा धनी शहरको रुपमा पनि स्थापित छ ।’ यो डेटाबेसले महानगरको राजस्व संकलन, शहरी योजना र सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्न एउटा बलियो जग खडा गरेको छ । अनुमानका भरमा बजेट बाँड्ने परिपाटीलाई अन्त्य गर्दै तथ्यमा आधारित विकासको मोडल पोखराले शुरु गरेको उनको भनाइ छ ।