विकासन्युज

भारतीय मालवाहक गाडी रोक्‍न नेपाल ट्रक व्यवसायी महासंघको माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरुमा रोक लगाउनुपर्ने माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरुमा रोक लगाउन माग गरेका हुन् । उनीहरुले निर्बाध रुपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए । त्यस्तै उनीहरुले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग गरेका छन् । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले निर्धारित भाडादरको कार्यान्वयन हुनुपर्ने बताए । उनले ट्रक यातायातमा ४७ वटा मुख्य मुख्य रुटहरुको भाडा दर निर्धारण गरेको र त्यसको प्रभावकारी नभएको बताए । भाडाको कार्यान्वयन र त्यसको अनुगमन प्रभावकारी बनाउन उनको आग्रह थियो । उनले सहज ढंगले दुर्घटना निकासको सुनिश्चितता, घाइतेको उपचार व्यवस्था, कानुनसम्मत भार वहन कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने बताए । महासंघले राहतजन्य कार्यहरुको व्यवस्थापन, राजश्व चेकजाँचको बेला ट्रकमा भएको सामान र त्यससँग सम्बन्धित कागजातबीच कुनै किसिमको तालमेल नमिलेको वा सो सम्बन्धी विषयमा शंका लागेमा ट्रकलाई महिनौँसम्म थुन्ने, सामान जफत गर्ने सम्बन्धित ऐनहरुमा संशोधन गर्न माग गरेको छ ।

नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीबीच सम्झौता, २२ सय बिरामीको निःशुल्क शल्यक्रिया हुने

काठमाडौं । नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीका बिचमा आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार दुई संस्था विच नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट संघका अध्यक्ष प्रा।डा चेतराज पन्त र महासचिव भरतबहादुर चन्द तथा कतार च्यारिटीका तर्फबाट कन्ट्रि डाईरेक्टर मोहम्मद बकास र कार्यक्रम व्यबस्थापक इरसाद अलि शेखले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बाँके, कपिलबस्तु, रौतहट, सुनसरी र सर्लाही जिल्लाहरुका ग्रामिण क्षेत्रका नागरिकहरुलाई लक्षित गरि बिभिन्न आँखा शिबिरहरुको आयोजना गरी २ हजार २ सय मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिनेछ । आँखा शिविर तथा शल्यक्रियाका लागि आर्थिक सहयोग कतार च्यारिटीले गर्नेछ भने प्राविधिक सहयोग नेपाल नेत्रज्योति संघले गर्नेछ । उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक डा।शैलेशकुमार मिश्रले कतार च्यारिटी जस्तै दातृ निकायहरुको सहयोग र सहकार्यमा सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण हुने विश्वास व्यक्त गरे । त्यस्तै उक्त कार्यक्रममा बोल्दै कतार च्यारिटीका कन्ट्रि डाईरेक्टर मोहम्मद बकासले च्यारिटीले बिगत ५ बर्षदेखि शिक्षा, स्वास्थ्य, खानपानी र जिविकोपार्जन क्षेत्रमा कार्य गर्दै आइरहेको र स्वास्थ्य क्षेत्रमा मोतियाबिन्दुको सर्जरी मार्फत दृष्टि पुर्नस्थापनाका लागि नेत्रज्योति संघसंग यो सम्झौता गरिएको र यसबाट २ हजार भन्दा बढि बिरामीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए । अहिले पनि नेपालको आँखा उपचार सेवा सस्तो र गुणस्तरिय भएकाले विभिन्न देशका नागरिकहरु नेपालमा आँखा उपचार गराउन आइरहेको भन्दै संघका महासचिव भरतबहादुर चन्दले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य सहित संघले आफ्ना कार्यक्रमहरु अगाडी बढाइरहेको बताए । उक्त कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रा।डा चेतराज पन्तले कतार च्यारिटीसंगको सहकार्यले आर्थिक अभावकै कारण आँखा उपचारबाट बन्चित नागरिकहरुले निःशुल्क आँखा उपचार प्राप्त गर्न सक्ने विश्वास समेत ब्यक्त गरे । संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ भने विभिन्न दातृ निकाय, नेपाल सरकार तथा विभिन्न स्थानिय तहहरुसंघको सहकार्यमा बार्षिक हजारौँ निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिरहरु संचालन गर्दै आइरहेको छ । त्यस्तै कतार च्यारिटीले ‘नेपाल एकिकृत विकास कार्यक्रम९एनआईडिपी०–२’ परियोजना अन्तरर्गत नेपालका विभिन्न ९ जिल्लाहरुमा स्थानिय साझेदारहरुको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । च्यारिटीले नेपालमा बिशेषगरी उत्पादनशिलता र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

गाउँ फर्किएका नेपालको कृषि फार्म, वार्षिक १५ लाख आम्दानी

भोजपुर । बसाइँ गइसकेका अवस्थामा जिल्लामै पुनःकृषि कर्मका लागि फर्किएका शम्भुप्रसाद नेपाल अहिले जिल्लामा सफल किसानका रुपमा चिनिन्छन् । विसं २०४७ मा विराटनगर बसाइँ गएका नेपालले गाउँमा नै केही गर्ने सोच बनाएर २०७० सालमा पुन भोजपुर फर्किएका थिए । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका नेपाल अहिले कृषि कर्ममा लागि परेको बताउँछन् । दानाबोटे फलफुल तथा कृषि फर्म दर्ता गराएर नेपालले अहिले कागती, ड्रागन फलको खेती गर्दै आएका छन् । ती खेतीबाट नेपालले वार्षिक लाखौं रुपैया आम्दानी पनि गरिरहेका छन् । किसान नेपाल आफू कागती खेतीको विस्तारमा जुटेको बताउँछन् । कागतीको बजार पनि राम्रो हुने भएकाले आफू कागती खेतीको विस्तारमा लागेको नेपालले बताए । उनले लगाएको एक बोट कागतीको बोटमा एक हजारसम्म कागती उत्पादन हुने गरेको छ । कागतीसहित किसान नेपालले ड्रागन खेतीसमेत गर्दै आएका छन् । उनले गरेको ड्रागन खेती देखेर अहिले भोजपुरमा यसतर्फ किसानको आर्कषणसमेत बढदै गएको छ । धान फलिरहेको खेतीयोग्य जमिन मासेर आफूले कागतीखेती थालेको नेपालको भनाइ रहेको छ । करिब ४३ रोपनी जग्गामा किसान नेपालले अहिले कृषि कर्म गर्दै आइरहेका छन् । करिब हजार बोटले कागतीको फल समेत दिन थालिसकेका छन् । ‘बजारमा कागतीको माग राम्रो छ यसका लागि भोजपुरको हावापानी पनि राम्रो छ, कागतीको बिरुवाको समेत माग हुँदै आएकाले अबका दिनमा कागतीको बिरुवासमेत उत्पादन गर्ने मेरो योजना छ’ सफल किसान नेपालले भने । उनले कागतीसँगै ड्रागन फलको बिक्रीबाट समेत राम्रो आम्दानी लिँदै आएका छन् । किसान नेपालले वार्षिक १५ लाख रुपैयाँ भन्दाबढी आम्दानी गरिरहेको अनुभाव सुनाए । बसाइँ गइसकेकाले गाउँमा फर्किएर पुनः व्यवसाय सुरु गर्दा धैरेले विश्वास नगरेको बताउने नेपालकै प्रेरणाले अहिले अरु किसान पनि पनि ड्रागन फलको खेतीतिर आकर्षित भएका रामप्रसाद राई गाउँपालिकाका घमचन्द्र दाहालले बताए । ‘यस्ता किसानलाई प्रोत्साहन गर्न सकिएमा नयाँ किसानलाई पनि हौसला मिल्छ, यसका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले पनि विशेष कार्यक्रम ल्याउन जरुरी देखिन्छ’ उनले भने । लगाएको बालीसमेत बाँदरका कारण भित्र्याउन समस्या भइरहेको अवस्थामा अहिले किसानले त्यसको विकल्पका रुपमा टिमुर, कागती, ड्रागन जस्ता बाली लगाउन सुरु गरेका छन् । खालीखेतीयोग्य जग्गामा किसानले बाँदरले दुःख नदिने प्रजातीका फलफूल खेती गरेर मनग्गे आम्दानी लिन थालेका हुन । कागती र ड्रागन खेतीसँगै दूध सङ्कलन केन्द्रको विस्तार गर्ने अभियानमा पनि आफू लागेको किसान नेपालले बताए । जिल्लाका विभिन्न ठाउँमा दूध सङ्कलन केन्द्र स्थापना गरी गाडीमार्फत् दूधलाई सहर पठाउने सोच रहेको नेपालले बताए । ‘गाउँगाउँका किसानले उत्पादन गर्ने दूध सहर पठाउने सोच राखेको छु, यसका लागि टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा सङ्कलन केन्द्र राखेर यसबाट दैनिक सङ्कलन भएको दूध गाडीमार्फत सहर पठाउने योजना बनाएको छु’, नेपालले भने । किसान नेपालको प्रेरणाले युवा पुस्तामा पनि कृषि पेसातर्फ मोह बढेको र ड्रागन फलको खेती पनि विस्तार हुँदै गएको युवा व्यवसायी एक्सन राईको भनाइ छ । रासस

क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

चितवन । सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन । अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको छ, यहाँको भरतपुर अस्पताल । पछिल्लो समय अस्पतालले सरसफाइ तथा सौन्दर्यका साथै क्षमता बिस्तार र गुणस्तरीय सेवा सुविधामा विशेष ध्यान दिएको छ । जसको नतिजा अस्पतालको प्रदेशद्वारदेखि नै देख्न सकिन्छ । अस्पतालले निर्माण गरेको सुन्दर प्रवेशद्वार, पानीको फोहोरा र बगैँचाले अस्पतालको सुन्दरता बढाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले अस्पतालले शय्याको सङ्ख्या वृद्धि गर्ने, सेवा सुविधा बढाउने र सहज तथा सुलभ उपचार दिने उद्देश्य अनुरुप क्षमता तथा सेवा बिस्तारसँगै सौन्दर्यमा पनि विशेष ध्यान दिइएको जानकारी दिए । विसं २०४९ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको अस्पतालमा तत्कालीन समयमा १२ शय्याको आकस्मिक कक्ष थियो । हाल त्यसलाई बढाएर ५० शय्याको अत्याधुनिक आकस्मिक कक्ष बनाइएको उनको भनाइ छ । साथै २० शय्याको सघन उपचार कक्षलाई बढाएर ३० शय्याको बनाइएको छ । हाल दुई ठाउँमा सघन उपचार कक्ष सञ्चालनमा छन् । त्यति मात्रै होइन, १२ शय्याको बाल सघन उपचार कक्षलाई २० शय्या बनाइएको छ भने हाल अस्पतालमा छ शय्याको पिआईसियु पनि सञ्चालनमा ल्याइएको छ । यस्तै पहिलो पटक चार शय्याको सिसियु र तीन शय्याको ‘बर्न बार्ड’ सञ्चालनमा ल्याइएको छ । यही भदौबाट मुटुरोग विभाग पनि सञ्चालनमा ल्याइएको अस्पतालको भनाइ छ । प्रा. डा. पौडेलका अनुसार सेवा सुविधा बिस्तार गर्ने क्रममा यसैवर्ष क्याथल्याव सञ्चालन गरिनेछ भने अत्याधुनिक ट्रमा सेन्टर पनि निर्माणको प्रक्रियामा छ । अस्पतालले रोटरी क्लबसँगको सहकार्यमा अर्को वर्षको असारसम्म सुविधा सम्पन्न स्पाइनल इन्जुरी सेन्टर सञ्चालन गर्ने तयारी गरेको छ । ‘प्रयोगशालालाई उच्चस्तरको आधुनिक बनाइएको छ भने १२ शय्याको डायलासिस बढाएर १७ शय्याको पु¥याइएको छ’, पौडेलले भने, ‘केही दिनमै यसलाई २० शय्या बनाइनेछ ।’ पौडेलका अनुसार अस्पताल प्रसूतिका लागि पनि परिचित छ । यहाँ विभिन्न जिल्लाबाट प्रसूतिका लागि ठूलो सङ्ख्यामा सेवाग्राही आउने गरेका छन् । सोही विषयलाई ध्यानमा राख्दै प्रसूति विभागमा शय्या र कक्ष आधुनिक बनाइएको उनले जानकारी दिए । अस्पतालमा सुरक्षित बनाउन प्रवेशका लागि ‘डिजिटल कार्ड प्रणाली’को व्यवस्था गरिएको उनको भनाइ छ । अस्पतालमा दुई मोडुलरसहितका सात शल्यक्रिया कक्ष सञ्चालनमा छन् । अस्पताल परिसरमा निर्माण गरिएको बगैँचाले अस्पतालको सौन्दर्य बढाएको छ भने सेवाग्राहीलाई पनि सहज भएको उनको बुझाइ छ । अस्पतालमा हाल पाँच वटा फार्मेसी सञ्चालनमा छन् । अस्पतालले चालु आर्थिक वर्षभित्रै एमआरआई मेसिन ल्याउने योजना बनाएको डा.पौडेलले जानकारी दिए । प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई अनलाइनबाट टिकट काट्ने व्यवस्था र कार्डबाटै भुक्तानीको व्यवस्था गरिएको छ । अस्पतालमा भदौ ३ गते एक दिनमा सबैभन्दा धेरै दुई हजार तीन सय ८० बिरामीले बहिरङग सेवा लिएका थिगए । अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क छ । अस्पतालमा रहेका छ सय शय्यामध्ये चार सय निःशुल्क गरिएको छ । हाल अस्पतालमा एक हजार ६१ चिकित्सक तथा कर्मचारी कार्यरत छन् । तीमध्ये नेपाल सरकारका तीन सय ९८ चिकित्सक तथा कर्मचारी छन् । पौडेलले दरबन्दी थप हुने हो भने अझ राम्रो सेवा दिन सकिने बताए । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिएको र अतिविशिष्ट सेवा सञ्चालनमा ल्याएपछि उनी उपचार गराउने बिरामीको सङ्ख्या बढेको बताए । उनले सरकारी अस्पतालमध्ये पहिलो पटक यस अस्पतालमा साधारण बहिरङ सेवा (जिओपिडी) सेवा सुरु गरिएको बताए । बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म सञ्चालन हुने गरेको छ । रासस

महानगरको पक्षमा अन्तरिम आदेश, व्यापारिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका व्यापारिक भवनहरूले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने भएको छ। महानगरको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै कार्यान्वयनको बाटो खुलेको हो । काठमाडौं महानगरले आवासीय एवम् व्यावसायिक भवनहरूमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो । तर, सो निणर्यविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एशोसिएनले उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो । उच्च अदालत पाटनले महानगरको पक्षमा अन्तरिम आदेश दिएसँगै व्यापारिक भवनहरूले सेवाग्राहीसँग पार्किङ शुल्क लिन पाउने छैनन् । उक्त रिटमाथि २२ साउनमा सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरसँग लिखित जवाफ माग गरेको थियो । अदालतले ३० साउनसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरूमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालीन आदेश दिएको थियो । उक्त आदेशमा ३० साउनमा दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो । दुवै पक्षसँगको छलफलपछि अदालतले महानगरको पक्षमा अन्तरिम आदेश दिएको हो ।

कामना सेवा विकास बैंकले दियो दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसि

काठमाडौं । कामना सेवा विकास बैंकले बर्दघाट, नवलपरासी स्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई आईतबार २ थान एसि हस्तान्तरण गरेको छ । उक्त एसि सामुदाहिक विकास र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुगोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको हो । बैंकका संचालक भिम प्रसाद तुलाचनले दिव्य ज्योती बहुमुखी क्याम्पसका अध्यक्ष पुन्य प्रसाद पौडेललाई उक्त एसि हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सागरमणी पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रवन्धक खिमलाल भुषाल तथा अन्य कर्मचारीहरु र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले जनाएको छ ।

केदार शर्माकी श्रीमतीको बयान : बैंकले ऋण नदिएपछि फोर्स लाउन भारतीय पार्टी कहाँ जानु पर्यो

काठमाडौं । सहकारीका बचतकर्ताको रकम ठगीको आरोप लागेका केदार शर्माकी श्रीमती गिता शर्माले नेपाली बैंकले आफुहरुलाई नपत्याएको बयान दिएकी छन् । शिबशिखर सहकारी र तुलसी सहकारीका बचतकर्ताको रकम ठगीको आरोप लागेकी उनले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)सँग नेपाली बैंकले ऋण नपत्याएर भारतीय पार्टीसँग गुहार माग्न गएको बयान दिएकी हुन् । उनले सञ्चार माध्यममा सहकारीले बचत फिर्ता गर्न नसकेको समाचार आएपछि आफ्नो श्रीमान केदार शर्माले सहकारीको समस्या समाधानको लागि बैंकबाट ऋण लिन खोज्दा कुनै पनि बैंकले नपत्याएको बताएकी छन् । ‘मेरो श्रीमान केदारनाथ शर्मा, सहकारीका संचालक समितिका सदस्यहरु, शाखाका प्रवन्धकहरु बसी कुराकानी गर्दा तत्काल रकम अभाव रहेको छ, शाखा खोल्दै गर्नु पैसाको ब्यवस्थापन गर्छु भनी पठाई बैंकहरुबाट ऋण निकाल्न खोज्दा रकमको तरलताको कारण बैंकले ऋण नदिएको, जग्गा बिक्री गर्न खोज्दा जग्गाहरु समेत बिक्री नभएको, सामानहरु बिक्री गरेको रकम समेत नआएको कारणले सहकारी संस्थाहरुमा रहेको बचत फिर्ता गर्न नसकिएको हो,’ उनले बयानमा भनेकी छन् । यस्तै, नेपालमा बैंकहरुले ऋण नदिएको कारण केदारनाथ शर्मा २०७९ माघ २८ गते भारत स्थित रहेका पार्टीहरुसँग कुराकानी गरी रकमको ब्यवस्था गर्छु भनी भारतमा गएको बताएकी छन् । सहकारीका १ हजार १४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । सहकारीका सञ्चालकले २१ हजार ३६९ जना बचतकर्ताको २ अर्ब ११ करोड ५२ लाख ६२ हजार ३०० रुपैयाँ मध्ये ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ बचत फिर्ता नगरी हिनामिना गरेको भनी जाहेरी प्राप्त भएको भन्दै ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ माग दाबी गरिएको छ । प्रतिवादीहरु केदारनाथ शर्मा, सुशिल बाँनिया, भोजराज पौडेल, तेज बहादुर तामाङ, पुष्कर मल्ल, दिपक बहादुर ऐर, राजु साखकर्मी, अमिशराज भण्डारी, लिलानाथ गौतम, गिता शर्मा, रसना शाक्य, शिव प्रसाद पौड्याल, रमेश खाईजु, शुर्दशन कपाली, कुमार श्रेष्ठ, त्रिचन्द्र सुवेदी, शमिना श्रेष्ठ, प्रदिप भट्टराई र बाल मुकुन्द कपालीले सहकारी ऐन अन्तगर्तको कसूर गर्न संगठित अपराध गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ । सहकारीका सञ्चालकहरुले संगठित अपराध गरेको भन्दै ६ देखि ८ वर्ष कैद सजाय माग दाबी गरेको छ ।

कास्कीको काहुँखोला–सिक्लेस सडक एक सातादेखि अवरुद्ध

कास्की । कास्कीको मादी गाउँपालिकाको पर्यटकीय स्थल सिक्लेस जाने सडक पहिरोका कारण एकसातादेखि अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । मादी गाउँपालिका–६ चिप्लीखोलामा गएको पहिराले काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । एकसातादेखि सडक अवरुद्ध हुँदा मादीका उत्तरी गाउँका नागरिकलाई पोखरासम्म आवागमनमा सास्ती भएको छ । मादी–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले निरन्तररुपमा पानी परिरहेकाले सडक सञ्चालनमा समस्या भएको बताए । पहिरो खस्ने क्रम नरोकिएकाले पानी पर्न बन्द भएपछि मात्रै सडक सञ्चालनका लागि पहल गरिने उनले बताए । ‘पहिरो निरन्तररुपमा खसिरहेको छ । पटकपटक पहिरो पन्छाएर सडक सञ्चालन गरे पनि पुनः पहिरो खसेर सडक अवरुद्ध हुँदा पालिकाको स्रोतसाधन मात्र खर्च भएपछि तत्काल पहिरो पन्छाउने काम गरेका छैनौँ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘पानी पर्न बन्द भएपछि मात्र सडक सञ्चालनको पहल गर्ने योजनामा छौँ । अहिले पहिरो पन्छाउँदा थप दुर्घटना हुन सक्ने भएकाले यात्रुलाई सवारी परिवर्तन गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएका छौँ ।’ सडक अवरुद्ध भएकाले यात्रुले गन्तव्यमा पुग्नका लागि दुई वटा गाडी परिर्वतन गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । पहिरो गएको स्थानसम्म पोखराबाट गएर झोलुङ्गे पुल हुँदै १० मिनेटको बाटो हिँडेपछि अर्को सवारी साधनमा चढेर गन्तव्यमा पुग्ने व्उवस्था मिलाइएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिराले ७० मिटर जति सडकमा क्षति पुर्‍याएको छ । पहिरो पन्छाएर सडक सञ्चालनका लागि गाउँपालिकाले जनशक्ति तथा अन्य आवश्यक सामग्री र लागत तयारी अवस्थामा राखेको उनले जानकारी दिए । पोखराको काहुँखोलादेखी सिक्लेस ४२ किमीको दूरीमा पर्दछ । पहिराका कारण मादीका उत्तरी गाउँ चिप्ली, खिलाङ, पार्चे र सिक्लेसका नागरिक समस्यामा परेका छन् । सवारी साधनमा काँहुखोला, कसेरी, थाक, तप्राङ, चिप्ली, पार्चेहुँदै सिक्लेस पुग्न सकिन्छ । सिक्लेस पर्यटकीय हिसाबले पनि प्रख्यात छ । गुरुङ संस्कृतिको अध्ययन तथा अवलोकनका लागि पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् । रासस