सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा असोज ३ देखि सञ्चालन हुने, बिहान र साँझ मात्रै चल्ने
फाइल फोटो काठमाडौं । सूर्यविनायक-रत्नपार्क द्रूत बस सेवा आगामी ३ असोजदेखि सञ्चालनमा आउने भएको छ । संविधान दिवसका दिनदेखि ‘सो बस सेवा सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग सो बस सेवाका विषयमा छलफल गरेका थिए । सो बस सेवा १ असोजदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि सुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन् । बस सेवा सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक ढकालले मन्त्री ज्वालालाई जानकारी दिएका छन् । ‘अन्य काम सबै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकि छ, त्यो भोलि २६ भदौदेखि सुरु गर्छौ,’ उनले भने । विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ । रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरु हुने भएको छ । त्यसैगरी यातायात व्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ । सो बस सेवाका लागि आवश्यक पर्ने २५ वटा बस तयारी अवस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । व्यवसायीसँग सहकार्य गरी उनीहरुकै बस सञ्चालन गर्न लागिएको हो । करिब ३८ सिट क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन् । बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रूत बस सेवाको अवधारणा ल्याएका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि बस सेवाका विषयमा केहि आशंका उब्जिएका थिए । अहिले बिहान र साँझ कार्यालयमा बस सेवा सञ्चालन हुने भएको छ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ । रासस
लप्सीफेदीमा सबस्टेसन निर्माण अगाडि बढाउने सहमति, स्थानीयको माग तत्काल सम्बोधन गरिने
काठमाडौं । सरकारले काठमाडौंको शङ्खरापुर नगरपालिका-३ स्थित बोजिनीमा निर्माण हुने सबस्टेसन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । सबस्टेसन निर्माणको कामलाई अगाडि बढाउने र स्थानीयवासीको माग सम्बोधनका लागि सामाजिक उत्तरदायित्वका विभिन्न कामसमेत सुरु गरिने भएको छ । त्यसमा के कस्ता विषय समेटिने भन्ने विषयमा छिट्टै सहमति जुटाइनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीयवासीको जायज माग सम्बोधन गर्ने विश्वास दिलाउँदै सबस्टेसन निर्माणको काम अगाडि बढाउन दिन आग्रह गरेका थिए । काठमाडौं उपत्यकाको विद्युत् प्रवाहका लागि महत्त्वपूर्ण मानिएको सो सबस्टेसन निर्माणमा जति दिन ढिलाइ हुन्छ, त्यति नै दिन समस्या झनै बढ्दै जाने उल्लेख गर्दै मन्त्री बस्नेतले स्थानीयस्तरमा गर्नुपर्ने विकास निर्माण तथा अन्य कामलाई सरकार र आयोजनाका तर्फबाट अविलम्ब अगाडि बढाइने बताए । स्थानीयवासीको माग सम्बोधन गरिने र हालको अवस्थाभन्दा सबस्टेसन निर्माण भएपछि थप सहज जनजीवन निर्माणका लागि सरकारका तर्फबाट सक्दो पहल गरिने मन्त्री बस्नेतको भनाइ छ । उनले सामाजिक उत्तरदायित्व, प्रसारण लाइन प्रभावितको समस्या समाधानका लागि सरकारले नीतिगत रूपमा नै प्रबन्ध गर्ने र त्यसले अन्य आयोजनामा सहज वातावरण बनाउने विश्वास व्यक्त गरे । काठमाडौं उपत्यकाभित्र नै विद्युत् कटौती गर्नुपर्ने अवस्थाको सिर्जना आएकाले बाध्यकारी स्थिति पैदा भएको उल्लेख गर्दै मन्त्री बस्नेतले यसको गम्भीरतालाई सम्मान गरेर काम गर्न दिने वातावरण बनाउन मन्त्री बस्नेतले आग्रह गरे । उनले आयोजनाबाट पर्ने प्रभावलाई सकेसम्म कम गर्ने तथा गराउनेतर्फ सरकारका तर्फबाट अधिकतम प्रयास गरिने बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले परिस्थितिको बाध्यतालाई बुझेर आयोजनालाई सहजरूपमा अगाडि बढ्ने वातावरण बनाइदिन आग्रह गरे । उनले स्थानीयवासीले उठाएका मागको अधिकतम सम्बोधन गरिने र त्यसका लागि सरकारका तर्फबाट पूर्ण प्रतिबद्धता रहेको बताए । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीयरूपमा आपूर्ति गर्न लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी क्षमताको सबस्टेसन निर्माण गर्न लागिएको हो । सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको चार सय केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती-बाह्रबिसे-लप्सीफेदी चार सय केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लप्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको एक सय ३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायणमा एक सय ३२ केभी क्षमताको सबस्टेसन सम्पन्न हुने चरणमा छ । सबस्टेसनका लागि ५० जना जग्गाधनीहरूको एक सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि २०७४ साल जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । एकजना जग्गाधनीबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिबापत करिब रु ५० करोड वितरण गरिएको छ । क्षतिपूर्ति नपाएको एक जनाको हकमा कानूनी समस्या उत्पन्न भएको छ । उक्त व्यक्तिले भोगचलन गरिरहेको भएता पनि पर्ती जग्गाका रूपमा रहेकाले मुआब्जा दिन समस्या छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋण सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो । छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरे, सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापित, शङ्खरापुर-३ का वडाअध्यक्ष सूर्यबहादुर तामाङलगायतको सहभागिता थियो । रासस
अर्थतन्त्रमा सुधार ल्याउन व्यवसायीको मनोबल बढाउनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० का अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउन आवश्यक देखिएको बताए । सोमबार उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा उनले सो बताएका हुन् । अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै उनले निजी क्षेत्र सम्मानित भएर आफ्नो काम गर्न सक्ने वातावरण आवश्यक रहेको बताए । त्यस्तै, अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रिय बैंक र सरकार दुबैको भूमिका रहेको अध्यक्ष ढकालको भनाइ छ । यसैगरि सीमा क्षेत्रमा हुने अवैध आयात निर्यात नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताउँदै अध्यक्ष ढकालले कैलालीको गौरीफन्टामा रहेको क्वारेन्टाइन पुनः संचालनका लागि पनि आग्रह गरे । अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिए । ‘हामीले निजी क्षेत्रको मर्यादाक्रमका लागि सरकारसमक्ष आग्रह गरिरहेका छौं,’ उनले भने- ‘अहिलेको अवस्थामा मनोबल बढाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’ उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले यस बिषयमा काम भैरहेको र छिट्टै निर्णय गरिने बताए । महासंघका पदाधिकारी एवं प्रदेश अध्यक्षहरु सहभागी रहेको भेटवार्तामा गिटी वालुवा लगायतका वस्तुहरुको आवश्यक वातावरणीय लगायतका प्रभाव अध्ययन गरि निकासी गर्न दिइनुपर्ने सुझाव पेश गरिएको छ । यसैगरि नयाँ बनेका पोखरा र गौतम वुद्ध विमानस्थल सञ्चालनका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव महासंघको थियो । सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा बजारमा रकम प्रवाह गर्न विकास निर्माणमा सरकारी लगानी आवश्यक रहेकोमा जोड दिइएको थियो । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि सरकारले सम्बन्धित सबैसंग छलफलको तयारी गरिरहेको बताए ।
प्रधानमन्त्री दाहाल भन्छन् : वर्तमान सत्तासाझेदार गठबन्धन पाँच वर्ष टिक्छ
फाइल फोटो विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताएका छन् । सोमबार विराटनगर आइपुगेका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री दाहालसहित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न सो मोर्चामा सहभागी नेताहरु पनि पुगेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्र्टी र नेकपा विप्लब समूह आबद्ध समाजवादी मोर्चाद्वारा सोमबार विराटनगरमा सो सभाको आयोजना गरिएको छ । सो सभालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने कार्यक्रम छ ।
भियतनाम एयरलाइन्स र बोइङबीच आठ अर्ब डलरको सम्झौता, ५० वटा ७३७ खरीद गर्ने
भियतनाम। भियतनाम एयरलाइन्सले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग सात अर्ब ८० करोड अमेरिकी डलरको सम्झौता गरेको ह्वाइट हाउसले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हनोईमा भएको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेन र भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिनले बोइङ र भियतनामको राष्ट्रिय वायुसेवा कम्पनीबीच भएको ऐतिहासिक सम्झौताको स्वागत गरेको ह्वाइट हाउसले जनाएको छ । यो सम्झौताले संयुक्त राज्य अमेरिकामा ३० हजारभन्दा बढी रोजगारीलाई सहयोग गर्नेछ । भियतनाम एयरलाइन्सले ७३७ मध्ये ५० वटा विमान खरिद गर्ने बाइडेनले अमेरिकी र भियतनामी उच्च कम्पनीका वरिष्ठ अधिकारीहरूसँगको गोलमेच सम्मेलनका क्रममा बताए । भियतनाम एयरलाइन्ससँग हाल १५ वटा बोइङ ७८७ ड्रीमलाइनरसहित १०० वटा विमान छन् । बोइङ जेटले एक दशकभन्दा पुराना विमानलाई प्रतिस्थापन गर्ने सरकारी सञ्चारमाध्यमले जनाएका छन् । हवाई यात्राका लागि बढ्दो माग र बजेटको यथेष्ठ विनियोजनका कारण हालैका वर्षहरूमा भियतनामको उड्डयन क्षेत्र फस्टाएको छ । रासस
बीवाईडीको ‘डल्फिन’ ईभी गाडी सार्वजनिक, मूल्य ३९ लाख ८० हजार रुपैयाँ
काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘फ्युचरिस्टिक बीवाईडी डल्फिन’ गाडी सार्वजनिक गरेको हो । कार्यक्रममा बीवाईडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले डल्फिन गाडी नेपाली बजारमा लोकप्रिय बन्ने अपेक्षा लिएको बताइन् । ‘डल्फिन फिचरका हिसाबले आफैमा सुविधा सम्पन्न गाडी हो, यसको मूल्य पनि थोरै छ, यो गाडी सबैले रुचाउने आशा लिएका छौं,’ उनले भनिन् । यस्तै, ब्राण्ड एम्बेसडर कलाकार हरिवंश आचार्यले डल्फिन गाडीमा आधुनिक प्रविधिको फिचर भएकाले सुविधा सम्पन्न रहेको बताए । ‘ बीवाईडी गाडी कुदाउनदेखि सुविधाका हिसाबले पनि उपयुक्त छ, वातावरणीय हिसाबले पनि ईभीका गाडी उपयुक्त हुने भएकाले अब भविष्य ईभीकै छ,’ उनले भने । कम्पनीका अनुसार डल्फिन ईभी गाडीमा ४४.९ किलोवाट आवर (युनिट) को ब्याट्री जडान भएको छ भने ७० किलोवाट क्षमताको मोटर राखिएको छ । लिथियम-आयन ब्याट्री जडान भएको यस गाडीको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको भनाई छ । नयाँ डिजाइन र आकर्षक लुक्स रहेको यो गाडी धेरैको रोजाइमा पर्ने अपेक्षा कम्पनीले राखेको छ । सो गाडीको ग्राउन्ड क्लियरेन्स भने १८५ मिलिमिटर रहेको छ । गाडीमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक भेइकल होल्ड जस्ता सुविधाहरू रहेका छन् । कम्पनीले सो गाडी ४ वटा रङमा उपलब्ध रहेको बताएको छ । गाडीमा १६ इन्चको अलोय ह्विल छ भने ह्विलबेस २ हजार ७ सय एमएम रहेको छ । त्यस्तै, विभिन्न विशेषता रहेको यो गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले इभी गाडी किन्न एक करोडसम्मको लोन दिने, व्याजदर कति ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आरबीबीएल इभी लोन फेस्टिभ अफर नामक विशेष योजना ल्याएको छ । बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको ईभी लोन’ भन्ने नारासाथ भदौ २६ गतेदेखि लागू हुने गरी यो योजना ल्याएको हो । विभिन्न विशेषतासहितको यो योजना अन्तर्गत ग्राहकले ९.९५ प्रतिशत व्याजदरमै इभी लोन पाउने भएका छन् । जुन सबैभन्दा न्यून रहेको बैंकको भनाई छ । बैंकका अनुसार ग्राहकले उक्त व्याजदरमा बढीमा एक करोड रुपैयाँसम्म लोन लिन सक्नेछन् । त्यस्तै, प्रशोधन शुल्क ०.२५ प्रतिशत र अग्रीम भुक्तानी लागत मूल्यको २० प्रतिशत तोकिएको छ । सीमित अवधिको लागि मात्र लागू हुने यो योजनामा बैकले आपूर्ती आदेश दिएको १५ दिन वा योजना अवधि भित्र कर्जा लिई सक्नु पर्ने समेत बैंकले जानकारी गराएको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थ आयातमा अत्याधिक विदेशी मुद्रा खर्च हुने गरेको हुँदा सोको खपत घटाउन विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । उक्त नीतिलाई पुरा गर्ने उद्देश्यसहित सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नजिकिँदै गरेको दशैं तिहारको अवसर पारी यो योजना ल्याएको हो ।
महिला भन्छन् : तीजमा ५ सयको सारी लगाउने हो
टीकापुर । तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ । विगतका तुलनामा यसवर्ष टीकापुर बजारमा पाँच सयदेखि एक हजार पाँच सयसम्मका सारी किन्ने महिला बढी आउन थालेका छन् । महिला खर्च व्यवस्थापनमा ध्यान दिँदै बजारमा सबैभन्दा सस्तो मूल्यमा पाइने सारी किन्न थालेका छन् । व्यापारी पनि पाँच सयका सारीको कारोबार सबैभन्दा राम्रो भइरहेको बताउँछन् । टीकापुरकी अनु रतनले पनि पाँच सय मूल्यकै सारी किनिन् । उनले हरेक पर्वमा नयाँ सारी लगाउन मनलाग्ने भएकाले सारीमा धेरै खर्च गर्न नखोजेको बताइन् । ‘‘विगतमा महँगो सारी किनिन्थ्यो, एकपटक किनेको सारी धेरै कार्यक्रम तथा पर्वमा लगाइन्थ्यो’’, उनी भन्छिन्, ‘‘आजभोलि त्यस्तो गरिदैन, हरेक पर्वमा नयाँ सारी किन्ने र नयाँ लगाउने गरिन्छ । नयाँ पहिरन लगाएपछि फोटो खिच्ने, टिकटक बनाउने, सामाजिक सञ्जालमा राखिन्छ । त्यसपछि त्यो फेरि लगाउन मन लाग्दैन । त्यसैले सस्तो लगाउने बरु नयाँ लगाउने हो । ’’ अनुजस्तै दुर्गा शाहीले पनि सस्तो सारी किन्ने तयारी गरेकी छिन् । घरमा सारी धेरै भएकाले एक दिनका लागि मात्र चाहिने हुँदा उनी पनि पाँच सयको साडी किन्ने तयारीमा छिन् । ‘‘घरमा सारी राख्ने ठाउँ छैन तर तीजको व्रत बस्ने भएकाले नयाँ लुगा चाहियो’’, उनी भन्छिन्, ‘‘त्यसैले सबैभन्दा सस्तो किन्ने तयारी छ । आर्थिक समस्या पनि छ । त्यसैले धेरै खर्च नगर्ने सोचेकी छु ।’’टीकापुरकी दुर्गा साउद मध्यम खालको साडी किन्ने तयारीमा छिन् । उनी पनि साडीमा अनावश्यक खर्च गर्ने तयारीमा छैनिन् । ‘‘सबै साथीले बजारमा न्यून मूल्यका सारी आएकाले त्यही किन्ने तयारी गरेका छन् । म पनि धेरै खर्च गर्दिन’’, उनी भन्छिन्, ‘‘न्यून मूल्यका सारी लगाएमा सबैमा समानता पनि देखिन्छ । यी सारी ग्रामीणदेखि सबै क्षेत्रमा महिलाले लगाउन थालेका छन् ।’’तीज नजिकिएपछि टीकापुर बजारमा किनमेल गर्न बजार आएकी विपना जोशी र एनिका रावल पनि सस्तो सारी लगाउने, अनावश्यक खर्च नगर्ने बताउनुहुन्छ । विगतमा बजारमा पनि पाँच सयका सारी पाइदैनथ्ये । सारी भनेपछि मानिस एक हजारमाथिका किन्नुपर्छ भन्ने ठान्थे तर अहिले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा भाइरल भइदिँदा भाइरल कपडाको प्रयोग पनि बढ्दै गएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका कपडाको मूल्य पनि सबैले थाह पाउने हुँदा ब्यापारी पनि सस्तो मूल्यका कपडा बिक्री गर्न बाध्य छन् । तीज नजिकिएपछि सिलाइकटाइको काम गर्नेलाई भ्याइनभ्याइ भएको छ । तीजमा सारी पिको गर्ने, ब्लाउज सिलाउने लगायतका काम बढेको रामदुलारी चौधरी बताउछन् । ‘‘करिब एक महिनादेखि राम्ररी सुतेको छैन, बिहान ४ बजेदेखि राति १२ बजेसम्म काम गर्नुपरेको छ’’, उनी भन्छन्, ‘‘चाडपर्वमा अधिकांशले नयाँ लुगा लगाउने भएकाले हामीलाई काम धेरै हुन्छ ।’’ तीज नजिकिएपछि साडीको कारोबार बढेको व्यापारीको भनाइ छ । व्यापारीका अनुसार विगतमा महँगा साडी बिक्री हुन्थे । आजभोलि उत्पादन नै सस्तो साडी हुने र आर्थिक मन्दिका कारण रकम अभावले पनि सस्ता कपडा बिक्री बढी भइरहेका कालिका टेडर्सका सञ्चालक सिंहमान विष्टले बताए । ‘‘विगतमा धेरैले महँगो सारी किन्ने गर्दथे, तीन वर्ष अघिसम्म पाँच हजारबाट सारी बिक्री हुन्थे’’, विष्टले भने, ‘‘गत वर्षबाट पाँच सयबाट सारी बिक्री सुरु हुन्छ । यसले व्यापारमा असर पारेको छैन । ’’ ब्यापारी विष्टका अनुसार न्यून मूल्यका सारी बजारमा आएपछि सबैले सारी लगाउन थालेका बताउछन् । ‘‘यसपटक सारी नकिन्ने कोही छैनन्, गाउँका सबै महिलाले सारी किनेर लगेका छन्’’, उनी भन्छन्, ‘‘ पाँच सयदेखि एक हजार पाँच सयसम्मका बढी बिक्री भएका छन् ।’’ अर्का ब्यापारी गणेश बस्त्रालयका भवानी ढुङ्गाना पनि न्यून मूल्यका सारीको राम्रो कारोबार भइरहेको बताउछन् । ‘‘सबैलाई सारी चाहिएको छ, बढी मूल्यका कमैले मात्र लिन्छन्’’, उनी भन्छन्, ‘‘अझ घरपरिवारका दिदीबहिनीले एकैनासका लगाउने चलन बढेको छ ।’’ चाडपर्व हाम्रा संस्कृति र सभ्यतासँग जोडिएका छन् । चाडपर्व मनाउँदा अनावश्यक खर्च गर्न नहुने धेरैको सुझाव छ । ‘‘चाडपर्व हरेक वर्ष आउँछन्, हरेक पर्वमा नयाँ र महँगो लुगा लगाउनुपर्छ भन्ने छैन’’, अधिकारकर्मी योजना अधिकारीले भने्, ‘‘सस्तो पहिरन, पुराना कपडा लगाएर पनि पर्व मनाउन सकिन्छ । अन्यले किनेको देखेर अनावश्यक खर्च नगरौँ ।’’ रासस