विकासन्युज

नेप्सेमा डेढ खर्बको सेयर सूचीकृत, बोनस मात्रै ३९.८९ अर्ब रुपैयाँ

काठमाडौं । चालु आवको ९ महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डेढ खर्ब रुपैयाँ बराबरको सेयर सूचीकरण भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा नेप्सेमा १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा ४५ अर्ब ५४ करोड रुपैयाँको साधारण सेयर (आईपीओ), ३९ अर्ब ८९ करोड रुपैयाँको बोनस सेयर, ९ अर्ब ६४ करोड रुपैयाँको हकप्रद सेयर, २७ अर्ब ५० करोड रुपैयाँको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड रुपैयाँको डिबेन्चर, ९७ करोड १७ लाख रुपैयाँको एफपीओ र २ करोड २९ लाख रुपैयाँको अन्य गरी कुल १ खर्ब ३२ अर्ब ३६ करोड बराबरको थप सेयर सूचीकृत भएका छन् ।  समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २७ अर्ब २३ करोड रुपैयाँको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड रुपैयाँको साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ गरी कुल ४१ अर्ब ५३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।  नेप्सेमा चैत मसान्तमा सूचीकृत ९ अर्ब ४८ करोड सेयरको चुक्ता मूल्य ९ खर्ब ३३ अर्ब ८९ करोड रहेको छ । चैतसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २९४ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५०.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १७.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.४ प्रतिशत, होटलको हिस्सा ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.५ प्रतिशत रहेको छ ।

सिटिजन लाइफको नाफा साढे ३६ करोड रुपैयाँ, जीवन बीमा कोष २४.५५ अर्ब पुग्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ३६ करोड ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ०.६६ प्रतिशत बढेको छ ।  चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ९४ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क र ६ अर्ब २१ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ खुद र ५ अर्ब ८ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।  चालु आवको ९ महिनामा कम्पनीले ५ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको ९ महिनामा कम्पनीले ४ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरी ७ अर्ब २० करोड ९० लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको चैतसम्ममा ६ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कुल आम्दानी गरी ५ अर्ब ९६ करोड १७ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २६ करोड ६३ लाख रुपैयाँ, सञ्चित नाफा ४७ करोड ९ लाख रुपैयाँ, अन्य इक्विटी ३७ करोड १२ लाख रुपैयाँ र जीवन बीमा कोष २४ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी ९.६० रुपैयाँ, प्रतिसेयर आम्दानी १३१.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८.५४ गुणा छ । 

२ दर्जन वन्यजन्तुको मृत्युपछि पथलैया-अमलेखगन्ज खण्डमा ओभर पासको प्रस्ताव

काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया-अमलेखगञ्ज सडक विस्तारका क्रममा ८ किलोमिटर दूरीमा जनावर वारपार गर्नका लागि २ वटा ‘ओभर पास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ । सो खण्डमा सवारीसाधन अत्यधिक मात्रामा गुड्ने हुँदा विभिन्न समयमा वन्यजन्तुको प्राकृतिक स्थान तथा वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम रहेकाले सडक विस्तारका क्रममा कम्तीमा दुई वटा ओभर पास निर्माण गर्नका लागि सुझाव दिएको हो । पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले निकुञ्ज क्षेत्र अतिसंवेदनशील हुने भएकाले पनि सडक विस्तार गर्दा जनावर मैत्री र जनावरको सुरक्षामा विशेष ध्यान दिनका लागि अनुरोध गरे । ‘सवारी साधनको ठक्करले राजमार्गमा २ दर्जनभन्दा बढी वन्यजन्तुको मृत्यु भएको छ,’ उनले भने ‘निकुञ्जको कोर एरिया पर्ने ८ किलोमिटरमा ओभर पास निर्माण गरेको खण्डमा दुर्घटनाबाट हुने क्षतिलाई केही न्यूनीकरण गर्न सकिन्थ्यो ।’ अमलेखगन्ज-पथलैया सडक खण्डमा बेलाबखत हात्तीले सवारीसाधनलाई लखेट्ने तथा मानव र वन्यजन्तुबीच द्वन्द्व पनि हुने गरेको छ । चालु आर्थिक वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर एउटा चितुवाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ । पथलैया-अमलेखगन्ज सडक खण्डमा सवारी दुर्घटनामा परेर २ वटा जरायो, ५ वटा चित्तल र १५ वटा बाँदरको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी भगतले जानकारी दिए । प्राकृतिक कारणले अन्य ३ वटा जनावरको मृत्यु भएको छ । सूचना अधिकारी भगतले सवारी दुर्घटनाबाट वन्यजन्तु जोगाउनका लागि ट्राफिक सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । उनले सवारी चालकलाई थप ट्राफिक सचेतना उपलब्ध गराउन सरोकार भएका सबैले समन्वय गर्नुपर्ने आवश्यकता औंल्याए ।  सडक डिभिजन हेटौंडाका इन्जिनियर भोलाप्रसाद साहले सडक विस्तार गर्दा निकुञ्ज क्षेत्रमा ओभर पास निर्माण गर्नुपर्ने लगायत सुझाव आएकाले सडक विभागमा पठाइएको बताए । 

आज बस्दै प्रतिनिधिसभा बैठक, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । चालु अधिवेशनमै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पनि संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

रिलायबल समृद्धि योजनजा-२ बिक्री खुला, १ करोड इकाई खरिद गर्न मिल्ने

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडले आज वैशाख २९ गतेदेखि रिलायबल समृद्धि योजनजा-२ निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । कम्पनीले कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिएको जनाएको छ । कम्पनीको म्युचुअल फण्डमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरे जेठ १२ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको फण्डमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

आजको मौसमः केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं । देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मध्य र पूर्वी भू-भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको पनि प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशसहित बाँकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । तराईका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ । महाशाखाले कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा अन्य पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

स्नो रिभर्सको आईपीओ बिक्री खुला, १ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज वैशाख २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ९ लाख ३७ हजार ५०० कित्ता स्थानीयलाई, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता विदेशमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १८ हजार ७५० कित्ता कर्मचारीहरुलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले बाँकी रहेको ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँको ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ १२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

साढे २ करोडमा बनेका वाटर एटिएम बुथमा पानीको दुरुपयोग

काठमाडौं । निःशुल्क ‘वाटर बुथ’मा राखिएको पानीको दुरुपयोग रोक्न काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ । काठमाडौंका विभिन्न ८ ठाउँमा निःशुल्क रूपमा पिउनका लागि राखेको छ । बुथबाट पिउनका लागि मात्र पानी लिन कामपाले प्रयोगकर्तालाई आग्रह गरेको हो । पिउनका लागि मात्रै नभई अन्य प्रयोजनका लागि पनि पानी प्रयोग गरेको भेटेपछि कामपाले निगरानी बढाएको कामपा सार्वजनिक निजी साझेदारी एकाइका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्यले बताए । उनका अनुसार कामपाले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा पछिल्लो समय ८ वटा निःशुल्क वाटर एटिएम बुथ सञ्चालनमा ल्याएको छ । निर्माणपछि प्रयोग परीक्षण गरेपछि वैशाख ५ गते यी बुथको औपचारिक शुभारम्भ गरिएको बज्राचार्यले जानकारी दिए । ८ वटा बुथको निर्माण लागत २ करोड ६० लाख रूपैयाँ रहेको कामपाले जनाएको छ । उनका अनुसार बुथबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ अनुसार गुणस्तरीय स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुन्छ । नेपाली मौलिक शैलीमा निर्माण गरिएका बुथमा ३ हजार लिटर पानी भण्डारण क्षमता छ । काठमाडौंको खुला मञ्च, महावौद्ध, दरबार हाइस्कुलको कम्पाउन्ड (जमलबाट कमलादी जाने सडक), राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, वडा नं १७ लिङ्क रोड ढल्को चोक, वडा नं ५ नरःदे (हाँडीगाउँ), वडा नं २६ परिसर र वडा नं ३१ परिसरमा यो प्रणाली जडान भएका छन् । बुथमा आधुनिक फिल्टर प्रणाली जडान गरिएको कामपा सार्वजनिक निजी साझेदारी एकाइका सहायक निर्देशक बज्राचार्यले बताए । पानीको स्वच्छता नियमित रूपमा परीक्षण गर्ने गरिएको छ । यसमा २४सै घण्टा पानी उपलब्ध हुन्छ । यसको उपयोग र संरक्षण निगरानीका लागि सिसिटिभी क्यामरा जडान गरिएको उनको भनाइ छ । ‘बुथलाई मौलिक जरुहिटीको परिवर्तित स्वरूप मान्न सकिन्छ । काठमाडौंबासीका घरमा पानीको धारा नजोडिएका समयमा हिटीमा पानी लिन जान्थे । यसरी पानी ल्याउन गाग्रीसँगै एउटा सानो लोटा वा अम्खोरा पनि हुन्थ्यो । हिटीबाट पानी भरेर फर्किँदा अम्खोरामा भएको पानी बाटोमा बनाइएको पानी सङ्कलन गर्ने ठाउँमा राखिन्थ्यो । टोलभरिका सबैले अलिअलि गरेर जम्मा गरेको त्यो पानी बटुवाको तिर्खा मेटाउनका लागि प्रयोग हुन्थ्यो,’ उनले भने ।  पहिले जस्तो अहिले हिटीमा गएर पानी ल्याउनु नपर्दै भएपछि जरुहिटी पनि सुक्दै गएको निर्देशक बज्राचार्यको बुझाइ छ । यसरी सुक्दै गएका जरुहिटीले बटुवालाई दिने सेवा प्रदान गर्न निःशुल्क वाटर एटिएम बुथ बनाइएको उनले बताए ।