विकासन्युज

सासु कोषको कार्यकारी निर्देशक बने अधिकारी, को हुन् उनी ?

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कबिराज अधिकारी नियुक्त भएका छन् । सर्ट लिष्टमा रहेका तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी कोषको कार्यकारी निर्देशक बनेका हुन् । कार्यकारी निर्देशक छनोट समितिले अधिकारीसहित, लीलाराज ढकाल र अशोक पौडेललाई कार्यकारी निर्देशकका लागि सिफारिस गरेको थियो । उपसमितिबाट सिफारिस भएका तीन जना मध्येबाट अनुभव, उनीहरुले पेस गरेको व्यावसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमता समेतलाई मूल्यांकन गरी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । कार्यकारी निर्देशकका लागि आवेदन दिएका १२ जनामध्येबाट कार्यकारी निर्देशक छनोट उपसमितिले ६ जनाको नाम लिस्टिङ गरिएको थियो । उनले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक अशोक पौडेल, हाल प्राइम बैंकमा ब्रान्च म्यानेजरका रुपमा कार्यरत पदमराज पौडेल, बचत तथा ऋण केन्द्रिय संघ (नेफ्स्कुन) का निर्वतमान सीईओ प्रकाश प्रसाद पोखरेल, वैदेशिक रोजगार बोर्डका पूर्व कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र लिलाराज ढकाललाई पछि पार्दै कोषको कार्यकारी निर्देशक बनेका हुन् । उनी राष्ट्रिय वाणिज्य बैंकको पूर्व नायव प्रमुख कार्यकारी अधिकृत हुन् । उनीसँग तीन दशक बढी बैंकिङ अनुभव छ । सीए समेत रहेका  उनकाे कार्यकाल  ४ वर्षको रहनेछ ।

महँगी नियन्त्रणमा मेरो भरपुर प्रयास छ : मन्त्री रिजाल

फाइल फोटो पाटन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले महँगी नियन्त्रणमा आफ्नो भरपुर प्रयास रहेको बताएका छन् । नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सरकारमा रहेर आफ्नो मन्त्रालयबाट भएको कार्यप्रगतिका बारेमा जानकारी गराउँदै मन्त्री रिजालले महँगी नियन्त्रणमा निरन्तर लागिपरेको बताए । ‘मेरो भरपुर प्रयास छ, चिनीमा ठूलो हाहाकार मच्चिएको अवस्थामा १० हजार क्विन्टल साल्ट ट्रेडिङ र १० हजार क्विन्टल खाद्य संस्थानलाई बोलपत्र गरेर छिटो ल्याउनूस्, त्यसमा ५० प्रतिशत भन्सार छुट दिन्छ भनेको छु, पत्र पनि दिइसकेको अवस्था छ, मलाई लाग्छ दसैँ अगावै मूल्य नियन्त्रण गर्न हामी सक्षम हुन्छौं,’ उनले भने । मन्त्री रिजालले मूल्य नियन्त्रणका लागि इन्डियाको वाणिज्यमन्त्रीसँग पनि धान, चामल र चिनीको विषयमा मैले कुरा गरेको र राजदूतसँग पनि चारपाँच पटक भेटेर कुरा गरेको बैठकलाई जानकारी गराए । उनले अनुगमनको काम चलिरहेको बताउँदै पाँच-दश करोडको बदमासी गरे पनि तीन लाखसम्म मात्रै जरिवाना गर्न पाउने व्यवस्था रहेको र धेरै बदमासी गर्नेलाई धेरै जरिवाना गर्न कानुनी अड्चन रहेको बताए । मन्त्री रिजालले अर्बौं रुपैयाँ सरकारी लगानी गरेर केही वर्ष अघिसम्म फाइदामा चलेकाहरू अहिले घाटामा रहेको बताए । ‘सरकारले कतिसम्म लगानी गर्ने ? त्यहाँ जसलाई जे मन लाग्यो त्यही गर्ने, कुनै अनुशासनका कुरा छैनन्, ट्रेड युनियन र व्यवस्थापन मिल्ने, विना काम कार्यालय सहयागीले ‘ओटी’समेत गरेर ५०-६० हजार तलब खान्छ’, मन्त्री रिजाले भने । सरकारी लगानीमा चलेका उद्योगहरुलाई प्राइभेट पब्लिक पार्टनरशिपको अवधारणामा लैजाने सरकारको योजना रहेको मन्त्री रिजालले जानकारी गराए । रासस

पहिला नेप्सेको सुधार, त्यसपछि दोस्रो स्टक एक्सचेञ्ज

नेपालको पुँजी बजारमा नियामक, बजार सञ्चालक र लगानीकर्ता सबैको कमीकमजोरी रहेको देखिन्छ । नियामक अत्यन्त परम्परावादी छ । पुँजी बजारको नियामक निकायहरु पुँजीवादी चिन्तन र अभ्यास छोडेर समाजवादी चिन्तन र अभ्यासमा सक्रिय छन् । इच्छुक आवेदक सबैले सेयर पाउनुपर्छ । १० कित्तामा सबैको हक, स्थानीय समुदायको पहिलो हक, विदेशमा जानेको दोस्रो हक र नेपालमा बस्नेका लागि तेस्रो हक भनेर विभेदकारी नीति नियामकले नै अँगालेको छ । सेयर कर्जाको सीमा पहिला ४ करोड र अहिले १२ करोड तोक्नु पनि समाजवादी चिन्तनको उपज हो । हाम्रो संविधान र कानुन पनि समाजवादी चिन्तनमा आधारित छ । जबकि, पुँजीबजार भनेको पुँजीवादी सोचको अभ्यास गर्ने सबैभन्दा ठूलो र गतिशील औजार हो । नियामकको यस्तै अदूरदर्शीताका कारण र बजार सञ्चालनको परम्परावादी अभ्यासका कारण पनि पुँजीबजारको विकास हुन सकेको छैन । पुँजीबजारलाई अनुत्पादक क्षेत्र हो भनेर जपना गर्दै आएको सरकार नै पुँजीबजार सञ्चालन गर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को मालिक हो । नेप्सेमा एक अर्ब रुपैयाँ सेयर पुँजी रहेको छ । त्यसमा नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र अन्यको ०.६२ प्रतिशत सेयर रहेको छ । सारभूतरुपमा नेप्से सरकारी हालीमुहाली भएको कम्पनी हो, जसको सञ्चालन विधि, प्रक्रिया, सञ्चालक समितिका मान्छे, उच्च व्यवस्थापन समितिका मान्छे सबै सरकारी कर्मचारी वा राजनीतिक नियुक्तिमा आधारित छन् । नेप्से नेपाली पुँजीबजारको एकमात्र दोस्रो बजार सञ्चालक हो । तर, नेपाल धितोपत्र बोर्डले हालै एउटा अर्को स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया सुरु गरेको छ । यस सम्बन्धमा सर्वोच्च अदालतको आदेशसमेत आएको अवस्था रहेकोले अब केही समयमा नेपाली पुँजीबजारमा दोस्रो स्टक एक्सचेञ्ज समेत सुरु हुने देखिन्छ । नेपालको बजार तुलनात्मक रुपमा सानो बजार मानिन्छ । त्यसैले सानो बजारमा दुईवटा स्टक एक्सचेञ्ज सफलतापूर्वक सञ्चालन गर्न चुनौतीपूणर् हुने देखिन्छ । नयाँ स्टक एक्सचेञ्ज खोल्नुभन्दा नेप्सेलाई नै पुनर्संरचना गर्नु बुद्धिमानी मानिन्छ । नेप्सेले पनि सरकारलाई यस्तै सुझाव दिएको छ । त्यसमा नेप्से र यसको लगानी रहेका कम्पनीहरुको सम्पत्तिको पुनर्मूल्याङ्कन गरी पुरै सम्पत्तिको उचित मूल्य निकाल्नुपर्ने सुझाव दिइएको छ । यसमा नेप्सेको चुक्तापुँजी ३ अर्ब रुपैयाँ बनाउनुपर्ने सुझाव छ । विद्यमान सेयरधनीसँग ३३.११ प्रतिशत अर्थात् १ लाख कित्ता सेयर कायम गर्ने, सेयरपुँजीको ३० प्रतिशत अर्थात् ९० लाख कित्ता सेयर सर्वसाधारणलाई प्रिमियम मूल्यमा निष्कासन गर्नुपर्ने, चुक्तापुँजीको २१.७७ अर्थात् ६४ लाख कित्ता सेयर स्वदेशी तर संस्थागत सुशासन भएका कम्पनीहरुलाई सेयर मूल्याङ्कनको आधारभूत मूल्य तोकी बढाबढ मूल्यमा बिक्री गर्नुपर्ने, नेप्सेको १५ प्रतिशत सेयर अर्थात् ४५ लाख कित्ता विदेशी रणनीतिक साझेदार कम्पनीलाई बढाबढ मूल्यमा बिक्री गर्नुपर्ने सुझाव नेप्सेले नै सरकारलाई दिएको छ । नेप्सेले उक्त सुझाव दिएको ५ महिनाभन्दा बढी भएको छ । तर, सरकारले त्यसबारे कुनै निणर्य लिएको छैन । अर्थमन्त्रालय मातहतमा रहेको नेप्सेले बुझाएको सुझाव रिपोर्टमा अर्थमन्त्रालय नै मौन बस्नु आफैंमा रहस्यमय रहेको देखिन्छ । जसरी नेपाल धितोपत्र बोर्डको नेतृत्वले नयाँ स्टक एक्स्चेञ्ज ल्याउन उपयुक्त ठानेको छ, अर्थमन्त्रालय पनि त्यसमा सकारात्मक रहेको यसले संकेत गरेको छ । बजारमा एकाधिकार हुनु हुँदैन भन्नेमा सबैको सहमति हुन्छ । जसरी नेपाल विद्युत प्राधिकरणले एकाधिकार प्रयोग गर्दै आएको छ, नेपाल आयल निगमले एकाधिकार प्रयोग गर्दै आएको छ, कर्जा सूचना केन्द्रले एकाधिकार प्रयोग गर्दै आएको छ, सीडिएस एण्ड क्लियरिङ हाउसले पनि एकाधिकार प्रयोग गर्दै आएको छ, त्यसरी नै नेप्सेले पनि एकाधिकार प्रयोग गर्नुपर्छ भन्ने पनि हुँदैन । तर पहिलो चरणमा नेप्सेको निजीकरण र सुधारको गरेर आवश्यकता अनुसार नयाँ संस्था बनाउनेतिर ध्यान दिँदा राम्रो हुनेछ ।

चाडपर्व नजिकिँदा पनि बढेन आयात

भैरहवा । नेपालमा तीज सकिएको छ भने सबैभन्दा ठूलो पर्व दसैँ र तिहार नजिकै आइरहेको छ । नेपालमा पर्ने यी चाडलाई लक्षित गरी साउन र भदौ महिनामा सबैभन्दा बढी आयात हुने गरेको थियो । तर चालु आर्थिक वर्षमा गत वर्षभन्दा पनि कम राजस्व असुल भएको देखिन्छ । उसो त गत वर्ष पनि यी दुई महिनामा उत्साहजनक आयात देखिएको थिएन । नेपाल सरकारले विदेशी मुद्राको सञ्चिति भन्दै धेरै वस्तुको आयातमा कडाइ गरेको थियो । त्यसले पनि आयात नियन्त्रित भएको थियो । चालु आर्थिक वर्षमा सरकारले नियम खुकुलो बनाए पनि आयात झनै घटेको देखिन्छ । गत आवको साउन र भदौ महिनामा भैरहवा भन्सार कार्यालय हुँदै रु १० अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको थियो । यसबाट भन्सार कार्यालयले रु छ अर्ब ४९ करोड राजस्व असुली गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले जानकारी दिए । यस्तै चालु आवको सोही अवधिमा रु ११ अर्ब २५ करोडको वस्तुहरू आयात भएको छ । तर राजस्व भने रु पाँच अर्ब ९९ करोड मात्र असुली भएको छ । राजस्व असुलीको आधारमा हेर्दा चाड पर्व लक्षित गरी भैरहवा भन्सार कार्यालयबाट सबैभन्दा बढी मोटरसाइकल आयात हुने गरेको छ । गत वर्षको दुई महिनामा २५ हजार आठ सय ३३ वटा मोटरसाइकल आयात भएकोमा चालु आवको सोही अवधिमा १७ हजार चार सय ६३ वटा मोटरसाइकल आयात भएको छ । यस्तै गत वर्षको साउन र भदौ महिनामै रु ९५ करोड ८२ लाखको ग्लेज टाइल आयात भएकोमा यसवर्ष सोही अवधिमा रु ७१ करोड ८२ लाखको मात्र आयात भएको छ । गत वर्ष सुरुको दुई महिनामा रु एक अर्ब ११ करोडको पेट्रोल आयात भएको थियो । यस वर्ष दुई महिनामा रु एक अर्ब एक करोडको पेट्रोल आयात भएको छ । आव २०७८/७९ को सुरुको दुई महिनामा रु १७ करोड ८४ लाखको जीप कार र भ्यान, रु २५ करोड ४८ लाखको पिकअप तथा डेलिभरी भ्यान, रु एक अर्ब ७० करोडको एमएस बिलेट, रु ७० करोड ५७ लाखको मार्बल स्ल्याव, रु २८ करोड ७६ लाखको सुपारी आयात भएको थियो । सोही अवधिमा रु एक अर्ब ७३ करोडको एलपी ग्यास र रु एक अर्ब ४७ करोडको मोबाइल पनि आयात भएको सूचना अधिकारी भट्टराईले जानकारी दिए । चालु आवको साउन र भदौ महिनामा रु ७१ करोड ८२ लाखको ग्लेज टाइल, रु एक अर्ब ९६ करोडको एमएस बिलेट, रु ४५ करोड ७१ लाखको मार्बल स्ल्याब, रु एक अर्ब ६७ करोडको मोबाइल, रु ७७ करोड ४९ लाखको डिजल र रु एक अर्ब ७८ करोडको पिग आइरन आयात भएको छ । चालु आवमै रु ५९ करोड ५७ लाख मूल्य बराबरको इलेक्ट्रिक जीप कार भ्यान आयात भएको छ । थोरै बढ्यो निर्यात आयात गत वर्षको तुलनामा खुम्चिए पनि भैरहवा भन्सार हुँदै हुने निर्यात केही मात्रामा बढेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी भट्टराईका अनुसार गत आवको पहिलो दुई महिनामा भैरहवा भन्सार हुँदै रु ८३ करोड ३२ लाख बराबरको विभिन्न वस्तु निर्यात भएकोमा चालु आवको दुई महिनामा रु एक अर्ब ५७ करोड बढीको निर्यात भएको छ । भैरहवाबाट सबैभन्दा बढी निर्यात हुनेमा सिन्थेटिक यार्न रहेको छ । यस्तै यहाँबाट पिनाल काँच, डण्डी, जडीबुटी, वनस्पति उत्पादन, स्टिलका भाँडा, दालचिनी, अदुवा, सुठो, चोकर, भुस, सिमेन्ट, क्लिङ्करलगायत रहेका छन् । रासस

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा पनि, ग्राहकलाई विशेष सेवा सुविधा

काठमाडौं । सेगवे-नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले चितवन र बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बुटवलको लोक सुशीला मोटर प्रा. लि र भरतपुरको युनाइटेड अटो कन्सर्न प्रा. लिसँगको सहकार्यमा उक्त दुई शोरुम सञ्चालनमा ल्याएको हो । कम्पनीले ग्राहकहरुलाई विशेष उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिवद्धतासहित उक्त शोरुम सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार बुटवल र चितवनका शोरुमहरुमा एन-१००, ई-१००, ई-११०एल र ई-१२५ मोडलहरु सहित सेगवेका उत्पादनहरुको सम्पूर्ण रेन्ज उपलब्ध हुनेछ । सेगवेले चितवन र बुटवल क्षेत्रका ग्राहकहरूलाई विशेष अफरहरुको साथ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले उद्घाटन अफर अन्तर्गत यी शोरुमहरुमा सेगवे ई-स्कूटरहरुको मूल्य तोकेको छ । यी शोरुमहरुबाट ग्राहकहरूले सेगवेका नवीन उत्पादनहरूको खरिद मात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्ट लगायत सेवाहरूको फाइदा लिन सक्नेछन् । ग्राहकहरुले कुनै अवरोध बिना आफ्नो व्यक्तिगत यातायात साधनहरूको आनन्द लिन सकुन् भन्ने उद्देश्यले कम्पनीले शोरुममा विभिन्न सेवाहरु उपलब्ध गराएको हो । शोरूमका आगन्तुकहरूले जानकार कर्मचारीहरूबाट विशेषज्ञ निर्देशन प्राप्त गर्दै सेगवेको लोकप्रिय इलेक्ट्रिक स्कुटरहरू, व्यक्तिगत ट्रान्सपोर्टरहरू, र अन्य मौलिक साधनहरूको टेस्ट-ड्राइभ गर्ने अवसर पाउनेछन् । यी शोरुमहरूको सञ्चालनसँगै आईहब प्रा.लि. ले नेपालमा दिगो र प्रभावकारी व्यक्तिगत यातायात साधनलाई थप प्रवर्द्धन गर्दै ग्राहकहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्स कम्पनीको रुपन्देहीको बुटवलमा रहेको शाखा स्थानान्तरण भएको छ । बुटवल उप महानगरपालिका वडा नं.५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आईरहेका उक्त शाखा बुटवल उप महानगरपालिका वडा नं. ६, अमरपथमा स्थानान्तरण भई सञ्चालनमा आएको छ । जसको औपचारिक उद्घाटन असोज ८ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले गरेका हुन् । सीईओ लोहनीले सस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधा र शाखा कार्यालय स्थानान्तरणको आवश्यकता र महत्वको विषयमा प्रकाश पारे । हाल १३ वटा शाखा सञ्जाल रहेको फाइनान्सले अर्को वर्ष थप केहि शाखाहरु पनि सञ्चालन गर्ने योजना बनाएको छ । संस्थाले हाल निःशुल्क मोबाइल वैकिङ्ख, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिटान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ्ग, आरटीजीएस लगायतका सेवाहरु सञ्चालनमा ल्याएको छ । निक्षेपमा उच्चतम १२.७५ प्रतिशतसम्मको आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको जानकारी गराएको छ ।

नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित

काठमाडौं । नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित भएका छन् । इन्स्योरेन्सले ७६औं वार्षिकोत्सवको अवसरमा २५ वर्ष सेवा अवधि पुगेका ७ जना र २० वर्ष सेवा अवधि पुगेका १० जना कर्मचारीहरुलाई सम्मान गरेको हो । उनीहरुले आफ्नो जीवनको अमूल्य समय कम्पनीको सेवामा समर्पित गरेको भन्दै इन्स्योरेन्सले २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई पदक तथा कदरपत्र र २० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । इन्स्योरेन्सले असोज ८ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्य राख्दै नेपालको बीमा उद्योगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखी ७६ वर्षभन्दा बढी उत्कृष्ट सेवा निरन्तर रुपमा दिई आएको बताए । साथै, उनले आगामी दिनमा अझ परिष्कृत, चुस्त र शिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज तरिकाले बीमितसम्म पुर्याउने प्रतिवद्धता गरे । त्यस्तै, कार्यक्रमका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलले यो अवधिमा सहगोग पुर्याउने सबै सरोकारवालाहरुमा आभार व्यक्त गरे । नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले प्रचलित ऐन, कानून तथा नियामक निकायहरुद्वारा जारी नीति, निर्देशनहरुको पूर्ण पालना गर्दै नेपाली बीमा बजारमा आफ्नो छुट्टै शाख, प्रतिष्ठा र पहिचानलाई कायम राखेको कम्पनीको भनाई छ । सञ्चालन भएको ७६ वर्षमा कम्पनी आफ्ना ग्राहकहरुको सम्पत्तिको सुरक्षा तथा व्यवसायको विकास, विस्तार एवं शेयरधनीहरुकोे लगानीलाई सुनिश्चत र उचित प्रतिफल दिने तर्फ अगाडी बढिरहेको छ । हाल कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय लगायत ५९ वटा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई बीमा सेवा दिँदै आएको छ । साथै, आगामी दिनमा आवश्यकताका आधारमा कम्पनीको शाखा सञ्जाललाई विस्तार गरी कम्पनीका सम्पूर्ण काम कारवाहीलाई पूर्ण व्यावसायिक र पारदर्शी बनाउँदै स्तरीय बीमा सेवा प्रदान गर्दै आएको इन्स्योरेन्सले बताएको छ ।