वीरगन्जमा अवैधानिक रुपमा ९ वटा कलेज सञ्चालनमा, महानगरले अगाडि बढायो कारबाही प्रकृया
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अवैध रूपमा सञ्चालित नौ वटा शैक्षिक संस्थालाई कारबाही गरेको छ । महानगरले अवैध कलेजलाई एक/एक लाख रुपियाँका दरले जरिबाना गरेको छ । महानगरपालिकाको अनुमति नलिई विभिन्न कलेज अवैध रूपमा सञ्चालन हुँदै आएका थिए । महानगर शिक्षा समितिद्वारा गठित संस्थागत विद्यालय नियमन समितिले भदौ १३ देखि गरेको अनुगमनका क्रममा बिनाअनुमति सञ्चालनमा रहेको पाइएपछि ती शैक्षिक संस्थालाई जरिबाना गर्नुका साथै कुनै पनि शैक्षिक कार्यव्रmम नगर्न रोक लगाएको र व्यवसाय दर्ता गरेको भए खारेज गर्ने निर्णय भएको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए । जरिबानामा परेका शैक्षिक संस्थाहरूमध्ये वीरगन्ज स्कुल अफ ल, युनिभर्सल कलेज, इम्पेरियल कलेज, अन्नपूर्णा पब्लिक कलेज, प्रिन्सटन कलेज, युनिभर्सल प्लस टु कलेज, सत्यम् पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज र नेसनल कलेज रहेका छन् । यी सबैलाई जनही एक लाख रुपियाँ जरिबाना गरिएको छ भने बिजीबिज किड्स प्री स्कुललाई ५० हजार रुपियाँ जरिबाना गरिएको छ । यस्तै आफूले लिएको अनुमतिपत्र दोस्रो पक्षलाई दिएर दुरुपयोग गर्ने पिस जोन एकेडमी, ओसिस मावि, ग्रिनल्यान्ड मावि, गेल्डेन वाटिका, ज्ञान निकेतन मावि, न्यु वेभ एकेडेमी, एन्जल इन्टरनेसनल बोर्डिङ स्कुल, मुनलाइट इङ्लिस बोर्डिङ स्कुल र वीरगन्ज सेन्ट्रल स्कुललाई ५० हजार रुपियाँका दरले जरिबाना गरी नसिहतसमेत दिइएको छ । शैक्षिक महाशाखा प्रमुख कर्णले सिलबन्दी भएका शैक्षिक संस्थाले तत्काल विधि र प्रव्रिmया अनुसार अनुमति माग गर्न आएमा नियमानुसार अनुमति प्रदान गर्ने प्रक्रियाको थालनी भएकोसमेत बताए । आजको गोरखापत्रबाट ।
बिहीबार सार्वजनिक विदा
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार (भोलि) सार्वजनिक विदा हुने भएको छ । सरकारले इन्द्रजात्राको अवसरमा असोज ११ गते, बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । नेवार समुदायले मनाउने इन्द्रजात्राका लागि भोलि सार्वजनिक विदा दिइएको हो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाइदै आईएको छ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्छ । जात्राका अवसरमा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।
इन्जिनियरिङको लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्रै उत्तिर्ण, विदेश पढ्ने अधिकांश फेल
काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लासेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा विदेशमा अध्ययन पूरा गरी फर्किएका इन्जिनियर बढी अनुत्तीर्ण हुने गरेका छन् । विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था थियो । गत वर्षबाट लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था सुरु भएको हो । परिषद्ले दिएको जानकारी अनुसार गत चैतमा सञ्चालित पहिलो पटकको परीक्षामा दुई हजार छ सय जनाले परीक्षा दिएकोमा ५६५ जना अर्थात् २८.१६ प्रतिशत उत्तीर्ण भएका थिए । विदेश पढेर आएका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५८ जना उत्तीर्ण हुन सके । सो परीक्षामा इन्जिनियरिङका २० विधाका इन्जिनियरहरू परीक्षामा सहभागी भएका थिए । त्यतिबेला आवेदन दिएका मध्ये त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका ४६ प्रतिशत, पूर्वाअञ्चल विश्वविद्यालयका २९.९४ प्रतिशत, पोखरा विश्वविद्यालयका ३०.९० प्रतिशत, मध्यपश्चिम विश्वविद्यालयका १७.७ प्रतिशत, काठमाडौँ विश्वविद्यालयका १५.३४ प्रतिशत र सुदूरपश्चिम विश्वविद्यालयका एक जना मात्रै उत्तीर्ण भएका थिए । परिषद्ले दोस्रो पटक गत असारमा परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा सहभागी दुई हजार ४६८ जनामध्ये ८०१ जना अर्थात् ३३.८७ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । त्यतिबेला विदेश पढेर आएका ४०४ जनामध्ये ४१ जना मात्रै उत्तीर्ण हुन सके । स्नातक तहको सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, आर्किटेक्चर, अटोमोबाइललगायत इन्जिनियरिङका २२ वटा विधाका लागि इन्जिनियरहरू लाइसेन्स परीक्षामा सहभागी भएका थिए । उत्तीर्णमध्ये काठमाडौँ विश्वविद्यालयका ६७.६८ प्रतिशत, त्रिभुवन विश्वविद्यालयका ४१.५८ प्रतिशत, पोखरा विश्वविद्यालयका ३४.९ प्रतिशत, पूर्वाञ्चलका २५.४९ प्रतिशत र मध्यपश्चिम विद्यालयका ११.६३ प्रतिशत उत्तीर्ण भएका थिए । परिषद्ले तेस्रो पटकको परीक्षा आगामी मङ्सिरमा सञ्चालन गर्दै छ । त्यसका लागि सोमबारसम्ममा दुई हजार चार सय जनाले फाराम भरिसकेका छन् । परिषद्का रजिस्ट्रार शिवमङ्गल गिरीले विगतका दुई परीक्षामा पूरक परीक्षाबाट उत्तीर्ण भएकाहरू सम्मिलित भएकाले नतिजा खस्किएको हुन सक्ने तर्क गरे । इन्जिनियरिङ कलेजका सञ्चालकहरूको संस्था एसोसिएसन अफ इन्जिनियरिङ कलेजेज अफ नेपाल (एकोन) का सदस्य किशोर गौतमले विगतमा ‘ब्याक पेपर’ दिएर उत्तीर्ण गरेका मात्र लाइसेन्स परीक्षामा सम्मिलित भएको र अब चारवर्षे कोर्स पूरा गरेका नियमित विद्यार्थीले लाइसेन्स परीक्षामा सहभागिता जनाउने भएकाले उत्तीर्ण दर झन्डै दोब्बर बढ्न सक्ने दाबी गरे । ‘परीक्षाका लागि परीक्षा सञ्चालन गर्ने नभई बजारको आवश्यकतासँग पनि परीक्षालाई जोड्न सक्नु पर्छ । प्रश्नमा पनि एकरूपता हुन नसकेको देखिएको छ । समस्या विद्यार्थीमा मात्र नभई परीक्षा पद्धतिमा पनि हुन सक्छ । परीक्षामा सुधार गर्न परिषद्लाई आग्रह गरेका छौँ’, उनले भने । इन्जिनियरिङ परिषद्ले एक सय पूर्णङ्कमा कम्तीमा ५० अङ्क प्राप्त गर्नेलाई लाइसेन्स प्रदान गर्ने गरेको छ । परीक्षामा सबै प्रश्न वस्तुगत मात्रै हुने गरेका छन् । परीक्षमा गलत उत्तर दिएमा अङ्क घटाउने प्रावधान छैन । हाल नेपालमा ७८ हजार आठ सय इन्जिनियरले लाइसेन्स लिइसकेका छन् । गोरखापत्रबाट ।
चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, १० हजार जरिवाना
रसुवा । दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको नेतृत्वमा रहेको बजार अनुगमन समितिले केन्द्रलाई कारबाहीस्वरूप १० हजार जरिवाना गराउँदै सचेत समेत गराएको छ । गोसाइँकुण्ड धार्मिक मार्गस्थित चन्दनबारी चिज उत्पादन केन्द्रको भण्डारमा सडेर राखेका चिज बजारमा बिक्री–वितरण भएको भन्ने जनगुनासो बढेपछि बजार अनुगमन समितिले केन्द्रको भण्डारमा छापा मारेको थियो । सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्टसमेत गराइएको सहायक प्रजिअ एवं अनुगमन समितिका संयोजक ज्ञवालीले जानकारी दिए । केन्द्रद्वारा उत्पादित चिज नष्ट गरिएको यो पहिलो पटक भएको बताइएको छ । गोसाइँकुण्डमा भक्तजनको ओहोरदोहोर भइरहेको धार्मिकमार्गमा अवस्थित चिज केन्द्रबाट प्रसादका रूपमा समेत भक्तजनले चिज खरिद गर्ने भएका कारण बिग्रिएको चिज बिक्री–वितरण नगर्न स्थानीय बासिन्दाले समेत आग्रह गरेका छन् । बडादसैँसमेत नजिकिँदै गएको र गुणस्तरहीन खाद्यवस्तु बजारमा बिक्री हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बजार अनुगमन समितिले बजार अनुगमनलाई आजदेखि तीव्र पारिएको घरेलु उद्योग रसुवाका प्रमुख बृहस्पति तामाङले जानकारी दिए । रासस
नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनी प्रुडेन्सियल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा राखिएको हो । संस्थापक समूहको उक्त सेयरको मूल्य तोकिएको छैन । कम्पनीको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
२२ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो यस्तो सूचना
काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २२ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । बुधबार सूचना प्रकाशित गर्दै सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको हो । आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको भन्दै प्रहरी प्रधान कार्यालयले ७ दिने म्याद दिई सम्पर्कमा आउन भनेको हो । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न पनि भनिएको छ । अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ । कार्यालयका अनुसार १८ जना साउन महिनादेखि, ३ जना असार महिनादेखि र १ जना भदौ महिनादेखि सम्पर्कविहीन भएका हुन् । गैरहाजिर भएका प्रहरी सहायक हबल्दारहरुमा धादिङका अमित श्रेष्ठ, अर्घाखाँचीका कमल श्रेष्ठ, झापाका समिर दाहाल र संखुवासभाका जनम राई रहेका छन् । यसैगरी सम्पर्कमा नरहेका अन्य प्रहरी जवानहरुमा अमर डाँगी, निवास चौधरी, प्रेम कुँवर, पूर्णबहादुर वली, हेमन्त कुमाल, उमेश लामा, सुस्मत खड्का, दिपक राई, केवोङलिङ आङदेम्बे रहेका छन् । यस्तै प्रकाश अधिकारी, आशामाया तामाङ, राजकुमार महत, अनिल परियार, जिबहादुर पुन, किशोर थारु, मोहनसिंह विक, सुरेन्द्र बहादुर शाही र सन्तोष सुनारलाई पनि सात दिन भित्र सम्पर्कमा आउन भनेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले साढे ७ करोडको जग्गा बेच्दै, कुन ठाउँको कति ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको कबि साढे ७ करोड रुपैयाँ बराबरको गैर बैंकिङ्ग सम्पत्तिहरु जग्गा बिक्री गर्ने भएको हो । बैंकको शाखा कार्यालय अत्तरिया र गौरको नाममा रहेको ७ करोड ३५ लाख रुपैयाँको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकको अत्तरिया शाखा अन्तर्गत कैलालीका विभिन्न ठाउँको जग्गा बिक्रीमा राखेको हो । कैलालीको टिकापुर, चौमाला, भजनी, मसुरीया र हसुलिया लगायतका ठाउँमा रहेको ७ करोड १४ लाख ३६ हजार रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने भएको हो । त्यस्तै, गौर शाखा अन्तर्गत गौर नगरपालिका वडानम्बर ३ र ८ का विभिन्न स्थानमा रहेको २० लाख ७० हजार रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने बैंकले जनाएको छ । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।
पर्यटन क्षेत्रका लागि बैंकको ब्याज तिर्ने चुनौति, डिजिटल मार्केटिङ आवश्यक
काठमाडौं । विज्ञहरुले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘हाम्रो पर्यटन, अब कता ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका हुन् । विद्यमान ऐन, कानूनहरुले पर्यटन क्षेत्रको विकास सम्भव नहुने भन्दै ऐन, कानूनलाई समयानुकुल परिमार्जन गर्दै समृद्ध बनाउनुपर्ने उनीहरुले बताएका छन् । त्यस्तै विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजना हुनुपर्ने धारणा समेत राखेका छन् । पर्यटन विभागका निर्देशक कालिप्रसाद भुजेलले पर्यटन विभागलाई नै नेपालको कुनै ऐन, कानूनले नचिन्ने अवस्था रहेको बताए । पर्यटन विभागले मन्त्रालयको सचिवले दिएको अधिकार प्रत्यायोजनबाट काम गरिरहेको उनको भनाइ छ । उनले ऐनले विभागलाई निश्चित बाटोहरु दिएमा काम अगाडी बढाउन सकिने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए । नेपालको विकासमा पर्यटन क्षेत्रको विकल्प नभएको उनको भनाइ छ । ‘पर्यटन विभागलाई कुनै ऐन र कानूनले चिन्दैन, पर्यटन ऐनले पर्यटन विभाग नै चिन्दैन, मन्त्रालयको सचिवले दिएको अधिकार प्रत्यायोजनबाट काम गर्नु परेको छ, अब बन्ने नयाँ ऐनले काम गर्न आधार तय गर्नेछ,’ उनले भने, ‘नेपालमा पर्यटनको विकल्प छैन, उत्पादनमुखि उद्योगहरु सञ्चालन गरेर विश्व बजारमा बेच्न सक्ने अवस्था छैन, त्यसैले पर्यटक भित्राउन सकेमात्रै भविष्य उज्वल छ ।’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रमा नीतिगत स्पष्टता आवश्यक रहेको बताए । व्यक्तिपिच्छे फरकफरक बाटो हिँड्ने गरिएको भन्दै पर्यटन विकासका लागि एउटै बाटो बनाउनुपर्ने उनको भनाइ छ । नीतिमा स्पष्टता दिएपछि पूर्वाधार विकासमा जोड दिनुपर्ने उनले बताए । उनका अनुसार पर्यटनको विकासका लागि अध्ययन गर्न विज्ञ समूह नै बनाउनुपर्ने छ । ‘पर्यटनको विकासमा बनाइएको बाटो गलत छ, पर्यटन कस्तो बनाउने भन्नेमा छलफल आवश्यक छ, प्रधानमन्त्री फेरिँदैमा भाषा फेरिनु हुँदैन, मुख्य मार्गदर्शन अनुसार अघि बढ्नु पर्याे, व्यक्तिपिच्छेको बाटो भएर कहिले यो देश बन्छ ?,’ उनले भने, ‘नीतिगत रुपमा हामी स्पष्ट छैनौँ, नीति स्पष्ट नभएपछि व्यक्तिपिच्छेको भएको हो, नीति स्पष्ट भएपछि पूर्वाधार निर्माणमा आउनुपर्छ, पर्यटन ऐन तुरुन्त अगाडी बढाउनुपर्यो ।’ नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल पर्यटन क्षेत्रमा हाल भएका कानूनहरुको कार्यान्वयन भएमात्रै पनि धेरै राहत हुने बताउँछन् । ऐन, कानून भएर मात्रै नहुने भन्दै त्यसलाई कार्यान्वयन गर्ने मान्छेपनि उपयुक्त हुनुपर्ने उनको भनाइ छ । सम्बन्धित मन्त्रालयको मन्त्रि, सचिव र सरोकारवाला अन्य व्यक्तिहरु पर्यटन क्षेत्र बुझेको भएमात्रै यस क्षेत्रको विकासमा काम गर्न सकिने उनले बताए । ‘हाल भएका नियम, कानूनहरु पूर्ण रुपमा कार्यान्वयन हुनु पर्छ, ५० प्रतिशत मात्रै भएपनि धेरै राहत पुग्छ, अनि त्यो कार्यान्वयन गर्ने मान्छे पनि उपयुक्त हुनुपर्छ, मन्त्री, सचिव पर्यटन बुझेको मान्छे आउनुपर्छ,’ उनले भने । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपक जोशीले पर्यटन क्षेत्रको विकासमा पहिलो चुनौतिको रुपमा पूर्वाधारको अवस्था रहेको बताए । उनका अनुसार नीतिगत स्थिरता र नेतृत्व स्थिर हुन नसक्दा पनि यस क्षेत्रमा समस्या भएको हो । उनले पर्यटन क्षेत्र विगत ४० वर्ष अघिको जत्तिको पनि राम्रो हुन नसकेको टिप्पणी हुने गरेको उल्लेख गरे । ‘सबैभन्दा ठूलो चुनौति पुर्वाधार कै छ, अर्को चुनौति नीतिगत स्थिरता, नेतृत्वको स्थिरताले पनि प्राथमिकता कायम गर्न दिएको छैन, आजभन्दा ४० वर्ष अगाडी नेपालको पर्यटक एकदम राम्रो थियो तर, अहिले झनझन खस्किदै आएको छ,’ उनले भने । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले देशको नीति पर्यटनमैत्री नभएको भन्दै पर्यटनमैत्री नीति बनाउनु जरुरी रहेको बताए । पर्यटकलाई विमानस्थल, अध्यागमनमा समस्या हुने गरेको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । त्यस्तै संघीय सरकारले पर्यटन विकासका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उनले बताए । ‘पर्यटनमैत्री नीति बनाउनु जरुरी छ, विमानस्थलदेखि अध्यागमनमा समस्या छ, कर्मचारीलाई व्यक्तिगत रुपमा खुशी नबनाएमा काम नहुने, पर्यटन गन्तव्यहरुको संरक्षण, पर्यटनसँग सम्बन्धित सम्भावना बोकेको ठाउँलाई संरक्षण गर्दै गुरुयोजना अनुसार नै काम गर्नुपर्छ,’ उनले भने, तत्कालिन, अल्पकालिन र दिर्घकालिन गुरुयोजनाको कन्सेप्टमा गइदिने हो भने स्थानीय सरकारले पनि त्यसैमा टेकेर बाध्यता भएर उसले अन्त खर्च नगरीकन त्यहाँ भएका पर्यटन गन्तव्यहरुलाई नै संरक्षणतिर लगानी गर्नुपर्ने देखिन्छ ।’ होटल एशोसिशयन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपालमा दिन प्रतिदिन होटलहरु थप भइरहेका भन्दै यसमा खुशी हुनुपर्ने बताए । होटल सञ्चालन क्षमताको एकतिहाइ क्षमतामा मात्र होटल सञ्चालन भइरहेको उनको भनाइ छ । काठमाडौं, भैरहवा र पोखराको विमानस्थल राम्रोसँग चलाउन सके ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा होटल क्षेत्र रहेको उनले बताए । ‘काठमाडौं, भैरहवा, पोखराको विमानस्थल राम्रोसँग चलाउने हो भने ३५ लाख पर्यटकलाई हामी सेवा दिनसक्छौँ, त्यो क्षमता हामीसँग आजै छ, हाम्रो समस्या भनेको पूर्वाधार नै हो, पर्यटन, होटलको जति ह्याण्डिल गर्ने हाम्रो क्षमता हो, त्यसको हाराहारीमा हामी एकतिहाईको क्षमतामा मात्रै सञ्चालन भएको छ, बैंकबाट कर्जा लिएको छ, साँवा, ब्याज तिर्ने कसरी हो भन्ने चुनौति नै हो हाम्रो लागि,’ उनले भने । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटक आवागमन गर्ने सडक चुस्त, दुरुस्त हुनुपर्नेमा जोड दिए । त्यस्तै पर्यटकहरुलाई घुम्नका लागि एकद्वार प्रणाली बनाउनुपर्ने उनले बताए । ‘बाटोलाई चुस्त, दुरुस्त राख्नुपर्यो, एउटा पर्यटक जति पनि ठाउँमा घुम्नको लागि जान खोज्छ, उसको लागि एकद्वार प्रणाली बनाउनु पर्यो, डिजिटाइज गर्नुपर्यो, पर्यटकलाई दिने सेवा, सुविधामा एकद्वार प्रणाली ल्याउनुपर्छ, यसले उनीहरुलाई घुम्न सहज हुन्छ,’ उनले भने । टुरिष्ट गाइड एशोसिशयन अफ नेपाल (टुर्गान)का अध्यक्ष बद्री नेपालले देशमा अनुभवी गाइडहरु घट्दै गइरहेको बताए । उनले टुरिष्ट गाइडहरु प्रोत्साहित हुन नसकेको बताए । उनले गाइडहरु दुई महिना काम गरेर बाँकी १० महिना बेरोजगार बस्नुपर्ने अवस्था आउनु नहुने बताए । ‘अनुभवी गाइडहरु घट्दै गइरहनुभएको छ, हामीलाई प्रोत्साहित गरिएको छैन, दुई महिना गाइड पाइएन भनिन्छ, तर त्यो गाइड दुई महिना काम गरेर अर्को १० महिना बाँच्न सक्ला ? हामीले उसलाई वर्षभरी इन्गेज गराउन सकिएन भने हामीले त्यो दुई महिनाको मात्रै संख्या हेरेर गाइड पुगेन भन्नु कति उपयुक्त होला ? अरु बेला हजारौँ गाइडहरु सुतेर बसेको अवस्थालाई मध्यनजर गर्नुपर्छ कि भन्ने मलाइ लाग्छ,’ उनले भने । कार्यक्रममा बोल्दै गाउँ पर्यटन प्रवद्र्धन मञ्चका उपाध्यक्ष तारालाल धरेलले नेपालमा पर्यटनको विकासका लागि डिजिटल मार्केटिङ आवश्यक रहेको बताए । उनले पर्यटन क्षेत्रलाई समृद्ध बनाउनका लागि विज्ञ समूह बनाएर काम गर्नुपर्ने बताए । नेपाल डिजिटल रुपमा कमजोर रहेको उल्लेख गर्दै उनले यसलाई बलियो बनाए धेरै पर्यटक ल्याउन सकिने बताए । हवाइ उडानका कारण पर्यटकहरुले धेरै कष्ट भोग्नु परिरहेको भन्दै यसतर्फ पनि सरोकारवाला निकायको उनले ध्यानाकर्षण गराए । ‘डिजिटल्ली हामी अलि कमजोर छौँ, नेपालमा यदी साँच्चिकै पर्यटक ल्याउने हो भने, नेपाललाई साँच्चिकै पर्यटनबाट समृद्ध बनाउछौँ भने डिजिटल केही न केही भएको छ, जहाँ पुग्नुपर्ने हो, जति हुनुपर्ने हो त्यति डिजिटल मार्केटिङ हामीले विश्वव्यापी रुपमा गर्न सकेका छैनौँ, विज्ञ समूह बनाऔँ, नीजि क्षेत्र, सरकारी निकाय र व्यवसायिक संघसंस्थाको विज्ञ समूह बनाएर योजना बनाएर अघि बढ्नुपर्छ,’ उनले भने ।