ज्योति विकास बैंकले १ प्रतिशत प्रिमियममा सेयर कर्जा दिने
काठमाडौं । ज्योति विकास बैंकले सेयर धितो कर्जामा नयाँ स्किम ल्याएको छ । बैंकले सेयर बजारमा लगानी, बढ्छ अब आम्दानी स्किम ल्याएको जनाएको छ । बैंकले प्रवाह गर्ने उक्त सेयर धितो कर्जा आधार दरमा १ प्रतिशत मात्रै प्रिमियम जोडर ब्याजदर निर्धारण गर्ने बताएको छ । हाल बैंकको आधार दर ११ प्रतिशत रहेको छ । सो आधारमा दरमा १ प्रतिशत प्रिमियम जोडेर १२ प्रतिशत मै सेयर कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकका अनुसार हाल ५० लाख रुपैयाँसम्म सेयर कर्जा प्रदान गरिरहेको छ । छिटो, सहज र सजिलो सेयर कर्जा मार्फत् सेयर बजारमा लगानी गर्न बैंकले लगानस्कर्तालाई आग्रह गरेको छ । उक्त सेयर कर्जा बैंकका जुनसुकै शाखा कार्यालयमा सहज रुपमा उपलब्ध गराइरहेको बताएको छ । कति रकम ऋण लिने हो सो रकम उल्लेख गरी आवेदन फाराम भर्न सक्ने बैंकले बताएको छ । कर्जा लिनका लागि आम्दानीको स्रोत खुलाउनु पर्ने बताइएको छ ।
राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले तालिम दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले तालिम दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सर्टिफिकेशन कोर्षको बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात चालु आ.ब. २०८०/०८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले हाललाई एक हजार जना कर्मचारीलाई जान्बी, क्यान्बी, मुडिज लगायतको सर्टिफिकेशन कोर्षको बैंकिङ्ग तालिम प्रदान गर्ने छ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्धेश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुबैको कार्यदक्षता बृद्धि भई जोखिम न्यूनिकरण हुने बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा बृद्धि हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले कार्यक्रमबारे प्रकाश पार्दै बैंकले कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गर्ने बताए । उक्त समारोहमा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विनय रमण पौडेल, दुर्गा कुमारी कँडेल, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे, सिकाइ तथा विकास विभागका विभागीय प्रमुख पध्मा लक्ष्मी जि.सी., नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका डिजिएम धन थापा, शैक्षिक निर्देशक प्रमोद बोहरा, बन्दना रोक्का, संझना दाहाल लगायतको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेस ७७ जिल्लामा २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
पाटन दरबार सङ्ग्रहालय निःशुल्क अवलोकन गर्न पाइने
ललितपुर । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ । आगामी सोमबारदेखि विश्व पर्यटन दिवस मनाउन तयारी गरिरहेको पाटन दरबार सङ्ग्रहालयले आज विश्व पर्यटन दिवसको अवरमा आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क सङ्ग्रहालय अवलोकन गर्ने अवसर दिएको हो । हाल पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्नका लागि आन्तरिक पर्यटकले ३० र बाह्य पर्यटकले एक हजार रुपैयाँ शुल्क तिर्ने गरेका छन् । पाटन दरबार सङ्ग्रहालयले राखेको तथ्याङ्कअनुसार दैनिक दुई सय ५० भन्दामाथि आन्तरिक पर्यटकले सङ्ग्राहालय अवलोकन गर्छन् भने दुई सयजना बाह्य पर्यटकले अवलोकन गर्दै आएका छन् । उनले भने, ‘मङ्गलबारदेखि पाटन दरबार क्षेत्रमा नेवारी समुदायको ऐतिहासिक हस्तकला सामग्री प्रदर्शन गरिएको छ ।’ विश्व पर्यटन दिवसको अवसरमा पाटन दरबार क्षेत्र अवलोकन गर्न आएका बाह्य पर्यटकलाई निःशुल्क प्रवेश गराएर मायाको चिनोसमेत प्रदान गर्ने कार्यक्रम रहेको विश्व पर्यटन दिवसका संयोजक डिलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।
नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि, निर्यात परिमाण बढ्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिबृद्धि भई ३०० एमभिए पुगेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सबस्टेसनको क्षमता बृद्धि गरिएको हो । १३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ । १३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर टा«न्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो । तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सबस्टेसनको क्षमताले नधान्ने अवस्था थियो । यसले गर्दा मुख्य रुपमा लिखू नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरुको विद्युत् पूर्ण रुपमा प्रवाह हुन सकिरहेको थिएन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाहरुले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताउनुभयो । नयाँ खिम्तीको सबस्टेसनको क्षमताले नधानेपछि लिखू करिडोरमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरुको विद्युत् अल्पकालीन योजनाअन्तर्गत जोड्ने व्यवस्था गरिएको थियो । कार्यकारी निर्देशक घिसिङले भने, ‘नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै सबै समस्या समाधान भएका छन्, पूर्वाधार अभावमा विद्युत् प्रवाह हुन नसक्ने अवस्थाको अन्त्य भएको छ, नयाँ आयोजनाहरु आउँदा पनि समस्या पर्दैन, अब भारतर्फ विद्युत् निर्यातको परिमाणसमेत बढ्ने छ ।’ तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई नयाँ खिम्ती सबस्टेसनमा नयाँ पूर्वाधार बनाएर स्थानीय रुपमा आपूर्तिको पनि व्यवस्था गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए । प्रमुख गौतमले सबस्टेसनबाट विद्युत् दिन थालेपछि उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय आपूर्ति पाएको उल्लेख गरे । स्थानीय रुपमा आपूर्ति गरी बाँकी रहेको विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबरतर्फ र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघू सबस्टेसनतर्फ प्रवाह गरिएको छ । २२० केभीको नयाँ खिम्ती सबस्टेसन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले निर्माण गरेको थियो । उक्त आयोजनाले १०० एमभिएको मात्र पावर ट्रान्सफर्मर राखेको थियो । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निर्माण गरिएको १३२/३३/११ केभीको सबस्टेसन गत असारबाट सञ्चालित छ । नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७मा सुरु गरिएको थियो । सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको छ ।
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकका ग्राहकले धमपाखेलस्थित सुमेरु हस्पिटलमा अधिकतम १० प्रतिशत र सिद्धार्थनगर भैरहवामा रहेको एशियन बुद्ध होटलमा अधिकतम २० प्रतिशत छुट प्राप्त गर्नेछन् । आँबुखैरेनीमा रहेको मल्ल फेन्सिमा १० प्रतिशत, हेटौडाँमा रहेको रिशु ब्यूटीपार्लरमा १० प्रतिशत र बाँसबारीमा रहेको ब्यूटीफुल कलेक्शनमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
अब घरबाटै कम्पनी दर्ता गर्न सकिने, यस्तो छ प्रक्रिया
काठमाडौं । अब भौतिक रुपमा उपस्थित नभएरै घरमै बसेर अनलाइन मार्फत् कम्पनी दर्ता गर्न सकिने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले घरमै बसेर कम्पनी दर्ता गर्न सकिने व्यवस्था गर्न लागेको हो । असोज १५ गतेदेखि सबै काम अनलाइनबाटै गर्ने गरी कार्यालयले तयारी गरिरहेको छ । असोज १५ गतेपछि अब कम्पनी सम्बन्धि सबै काम अनलाइनबाटै हुने कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार बर्तराज पौडेलले जानकारी दिए । उनका अनुसार कार्यालयले असोज १५ गतेदेखि प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी अनलाइन मार्फत् दर्ता गर्न सकिने व्यवस्था लागू गर्न लागेको हो । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटो छरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ । सुरुवाती चरणमा नयाँ कम्पनी अनलाइन मार्फत् दर्ता गर्न सक्ने व्यवस्था लागू गर्दै विस्तारै नवीकरण पनि अनलाइनबाटै गर्न मिल्ने व्यवस्था लागू गर्न लागेको पौडेल बताउँछन् । नयाँ र पुरानोमा के छ फरक ? कम्पनी रजिष्ट्रार कार्यालयले पहिलो पटक अनलाइन सिष्टम (सफ्टवेयर) सञ्चालन गर्न भने लागेको होइन । कार्यालयले वि.स २०७० सालदेखि अनलाइन मार्फत् कम्पनी दर्ताको प्रबन्ध गर्दै आएको छ । तर, यसअघिको सिष्टममा अपलोड भएका फाइलहरु बीना जानकारी कम्पनीका अधिकारीहरुले हेर्ने व्यवस्था थिएन । ‘अहिले हामीले अनलाइन सिष्टम भनेपनि आधाभन्दा कम काम मात्र अनलाइन मार्फत भइरहेका छन्, अब पूर्ण रुपमा अनलाइमा जान खोजिएको हो’, उनले भने । इसअघि सेवाग्राहीले जानकारी नगराएसम्म कम्पनीका अधिकारीहरुले अपलोड भएको फाइलका विषयमा कुनै जानकारी पाउँदैनथे । ‘यसअघिको सिष्टममा सेवाग्राहीले अनलाइन मार्फत डकुमेन्ट समिट गर्नुहुन्थ्यो, उहाँहरु कार्यालयमा आएर सबमिसन नम्बर हामीलाई दिएपछि मात्र हामीले उहाँहरुको फाइल हेर्न मिल्थ्यो’, कम्पनीका उपरजिष्टार पौडेलले भने, ‘अहिलेको सिष्टममा हामीले सबै अपग्रेड गरेका छौँ, भौतिक रुपमा उपस्थित बिनै कम्पनीका सबै काम अनलाइनबाटै हुन्छ ।’ उनले सबै काम अनलाइनबाटै हुने गरी कार्यालयले डिजिटल हस्ताक्षरको तयारी थालेको बताए । ‘अहिले डाटा अपलोडको काम अनलाइनबाटै गरेपनि अनुमति पत्र अथवा सिफारिस लिन कार्यालयमै धाउनु पर्ने बाध्यता छ, हामीले अनुमति पत्र लिन समेत कार्यालयमा आउन नपर्ने गरी डिजिटल हस्ताक्षरको तयारी थालेका छौँ, अब कम्पनीको सबै काम घरमै बसेर हुन्छ’, उनले भने । कम्पनीको तथ्यांक अनुसार हाल ३ लाख कम्पनी दर्ता छन् । उस्तै प्रकृति रहेका पब्लिक कम्पनीमा एक व्यक्ति एक व्यवसाय बाहेक अन्यमा बस्न पाइँदैन । तर, पूर्ण रुपमा अनलाइन सिष्टम लागू नहुँदा कम्पनीका सचिव, सञ्चालकहरु अन्य कम्पनीमा भए नभएको विवरण समेत विभागसँग छैन । कसैले उजुरी गरे अध्ययन गरेर प्रतिवेदन निकालिए पनि कम्पनीसँग त्यसको तथ्यांक छैन । कम्पनी रजिष्ट्रारको कार्यालयले प्रयोग गरिहेको पुरानो सफ्टवेयर परिवर्तन भएको र नयाँ सफ्टवेयर ल्याएपछि तथ्याङ्क स्थानान्तरण (डाटा माइग्रेसन) का लागि केही समय लाग्ने बताइएको छ । जसकारण नवीकरणका काम भने भौतिक रुपमै हुनेछन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कम्पनी दर्तालगायतका काम विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरेको थियो । कार्यालयले असोेज १५ गतेपछि सबै काम अनलाइनबाट गर्नका लागि मन्त्रालयसँग थप जनशक्ति माग गरेको छ । ‘अहिले हामीसँग सीमित संख्यामा मात्र कर्मचारीहरु हुनुहुन्छ, अनलाइन सिष्टम पूर्ण रुपमा लागुभएपछि यसका लागि थप जनशक्ति आवश्यक पर्छ, हामीसँग केही अपुग भएका कारण हामीले जनशक्ति माग गरेका छौं,’ उनले भने । उनका अनुसार लेखा, राजश्व र वित्तीय विवरण विश्लेषणका थप कर्मचारीहरु माग गरिएको हो । कार्यालयमा हाल आइटी (प्रविधि) क्षेत्रका कर्मचारीहरु भएकै कारण अन्य क्षेत्रका कर्मचारीको दरबन्दी माग गरिएको उनले बताए । हाल कम्पनीले अल्फाबेट अनुसार कार्यविभाजन गरेर काम गर्दै आएको छ । अनलाइन सिष्टम लागू भएपछि पनि सोही अनुसार काम गर्ने तयारी छ । इन्फो डेभलपर्सले कम्पनी अनलाइनको सम्पूर्ण काम गरिरहेको छ । १० वर्षअघि पुरानै सफ्टवेयर पनि इन्फो डेभलपर्सले नै तयार पारेको थियो । १० जनाको समूहले हाल कम्पनी दर्ताका सम्पूर्ण काम गरिरहेको बताइएको छ । के छ प्रक्रिया ? सुरुमा कम्पनी रजिष्ट्रार कार्यालयको अनलाइन पोर्टलमा गएर प्रयोगकर्ताको आईडी बनाउनु पर्नेछ । बनेको युजर आइडी र पासवर्डको साहयताले कम्पनी दर्ता गर्ने साइट खुल्नेछ । साइटमा नयाँ कम्पनीका लागि फर्म आउनेछ । सो फर्म भरेर सबमिट गर्नु पर्नेछ । अन्तिममा सबमिसन नम्बरका आधारमा कम्पनीका अधिृकतहरुले तपाईंको प्रक्रियाका बारेमा जानकारी दिनेछन् । फर्म पुरा भएमा प्रक्रिया अगाडि बढ्छ भने अपुग भएको डकुमेन्ट पुनः राख्नका लागि सन्देश छोड्नेछन् । सोही आधारमा अनलाइनबाटै कम्पनी दर्ता गर्न सकिनेछ ।
चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत
चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए । उनले भने, ‘दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।’ गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकहरूलाई काममा फर्कन अनुरोधसमेत गरे । उनले थपे, ‘हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो ।’ शान्ति सुरक्षा गृह मन्त्रालयले दिने गरी छलफल भएको उनको भनाइ थियो । मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू छ महिनाभित्र सञ्चालनमा ल्याइने बताए । यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पु¥याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उनले बताए। मन्त्री बस्नेतले भने, ‘यही अवस्था रहे पाँच वर्षमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नभेटिने अवस्था आउन सक्छ ।’ यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको उनको भनाइ थियो । शिक्षामा गुणस्तरीयता कायम गर्दै शुल्क निर्धारण पनि सरकारले गर्ने मापदण्ड बनाएर बन्द भएका संस्था सञ्चालनमा ल्याइने उनले बताए । फरक प्रसङ्गमा मन्त्री बस्नेतले स्वास्थ्य बीमा बोर्डका कारण केही अस्पतालमा बिरामीको चाप बढ्ने र केही बन्द हुने अवस्थामा पुगेको धारणा राखे। यसलाई नियमन गर्नका लागि मन्त्रालय लागिपरेको उनको भनाइ छ । पक्षपातपूर्ण तरिकाले काम भएको भन्ने गुनासो बढेपछि आफैँले यसलाई हेरिरहेको उनको भनाइ थियो । यसलाई चाँडै नै सहज बनाएर अघि बढ्ने उनले बताए । ‘आँखा उपचारमा सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घ चितवनले आज भरतपुर आँखा अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले आँखा उपचारमा पर्याप्त काम गर्न नसकेको बताएका हुन्। मन्त्री बस्नेतले राजधानी बाहिर आँखाको उपचारमा देशले हेर्नलायक र बिरामीले सुविधा पाउने खालको अस्पताल भरतपुरमा स्थापना गरेको भन्दै यसलाई अझै विस्तार गर्न आग्रह गरे । उनले भने, ‘७७ जिल्लामा आँखाको क्षेत्रमा राजधानी बाहिरको देशले हेर्नलायक, बिरामीले सुविधा पाउने खालको अस्पतालका रूपमा यो अस्पताल स्थापित गर्नुभएको छ ।’ उनले थपे ‘आफ्नै मेहनत र परिश्रमले भएको यो प्रगतिमा सरकारको ध्यान जान्छ ।’ आँखा उपचार सेवालाई विस्तार गर्न आग्रह गर्दै उनले सरकारको तर्फबाट प्रक्रियागतरूपमा सहयोग गर्न आफू तयार रहेको बताए। अस्पतालको आफ्नै नाममा जग्गा नहुँदा समस्या भएको भन्ने गुनासोप्रति सम्बोधन गर्दै उनले मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र लालपुर्जा धनीका तर्फबाट कुनै अवरोध नभएकाले यो समस्याको समाधान हुनेमा ढुक्क रहन आग्रह गरे । उनले भने, ‘लालपुर्जाको विषय मन्त्रालयमा छलफल चलाउँछु, प्रधानमन्त्रीसमक्ष पनि राख्छु ।’ सो अवसरमा सङ्घका केन्द्रीय सदस्य चिजकुमार मास्के, जिल्ला सभापति जयराम श्रेष्ठ, सचिव केशव अधिकारी र अस्पताल प्रशासक दयाशङ्कर चौधरीले अस्पतालका गतिविधि र समस्याका बारेमा जानकारी गराएका थिए । रासस
एकैदिन ८ सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकैदिन ८ सयले घटेको हो । बुधबार छापावाल सुनको मूल्य ८ सयले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले बताएका छन् । साथै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।