३ वर्षअघि शिलान्यास गरिएका ३६९ अस्पतालमध्ये २६ वटा मात्रै बने, आर्थिक मन्दी र ठेकेदारलाई दोष
काठमाडौं । २०७७ सालमा एकैपटक शिलान्यास गरिएको स्थानीय तहका ३९६ वटा आधारभूत अस्पतालमध्ये अहिलेसम्म २६ वटाको मात्रै निर्माण सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आर्थिक मन्दी र स्थानीय तहहरुले जग्गाको व्यवस्थापन गर्न नसक्दा आधारभूत अस्पतालहरुको द्रुत गतिमा निर्माण हुन नसकेको हो । मन्त्रालयका सूचना अधिकारी रविकान्त मिश्रले अहिलेसम्म २६ वटा आधारभूत अस्पतालको निर्माण सम्पन्न भएको र ३८६ वटा अस्पताल निर्माणकै प्रकृयामा रहेको बताएका छन् । मन्त्रालय नीति तथा योजना शाखाका अनुसार अन्य ४१३ वटा स्थानीय तहमा भने अस्पताल निर्माणको काम अगाडि बढ्न सकेको छैन । निर्माण सम्पन्न भएका २७ वटा अस्पताल १. पाँचथर २ २. धनकुटा १ ३. ओखलढुंगा २ ४. उदयपुर १ ५ . मोरङ १ ६ . इलाम १ ७. सप्तरी १ ८. धनुषा १ ९. सर्लाही १ १०. रामेछाप १ ११. काभ्रे १ १२. सिन्धुपलान्चोक १ १३. बाग्लुङ १ १४. लमजुङ १ १५. कास्की १ १६. कपिलवस्तु १ १७. गुल्मी १ १८. दाङ २ १९. सुर्खेत २ २०. दैलेख १ २१. कञ्चनपुर १ २२. कैलाली १ मन्त्रालयको नीति शाखाका अनुसार अहिलेसम्म देशभरका आधारभूत अस्पतालहरुको लागि मन्त्रालयले तीन आर्थिक वर्षमा २९ अर्ब चार करोड ५० लाख ९९ हजार रुपैयाँ बिनियोजन गरेको थियो । जसअन्तर्गत तीन आर्थिक वर्षमा जम्मा २१ अर्ब ६४ करोड ८६ लाख ५७ हजार रुपैयाँ मात्रै खर्च भएको छ । मन्त्रालयका अनुसार तीन आर्थिक वर्षमध्ये आधारभूत अस्पताल निर्माणको लागि गत आर्थिक वर्षमा सबैभन्दा धेरै १० अर्ब ७६ करोड ४७ लाख ९१ हजार रुपैयाँ खर्च भएको छ । निर्माण सम्पन्न भएका अस्पतालहरुको अवस्था भने मन्त्रालयमा अद्यावधिक भैसकेको छैन। मन्त्रालय नीति तथा योजना शाखाका अनुसार २६ वटा अस्पतालहरुको लागि काम पूर्ण भएको भन्ने आधारमा मन्त्रालयले अन्तिम निकासा दिएको हो । स्थानीय तहका आधारभूत अस्पतालमध्ये पुनःनिर्माण प्राधिकारणले धनकुटाको शहिदभूमि आधारभूत अस्पतालको निर्माण गरेको हो । समयमा नै अस्पतालहरुको निर्माण हुन नसकेकोमा ठेकेदारको लापरवाही, जग्गा विवाद र आर्थिक मन्दी रहेको औंल्याएका छन् । ‘त्यतिबेला ठूलो संख्यामा अस्पतालहरुको शिलान्यास भएपनि कतिपय ठाउँमा जग्गा विवादको अवस्था छ, कतिप ठाउँमा ठेकेदारको लापरवाहीको कारणले ढिलाइ भएको छ’, उनले भने, ‘जुन ठाउँमा निर्माण प्रकृयामा थिए तिनीहरुको लागि बजेट विनियोजन भएको हो, जुन ठाउँमा विवाद भएको थियो आर्थिक मन्दीका कारण पनि ती ठाउँमा बजेट विनियोजन नभएको हो ।’ उनका अनुसार उनी प्रवक्ताको जिम्मेवारीमा आइसकेपछि आधारभूत अस्पतालहरुको विषयलाई लिएर भने मन्त्रालयमा विशेष छलफल भएको छैन । उनले आर्थिक अवस्था हेरेर आगामी दिनमा निर्माण बजेट विनियोजन हुन नसकेका अस्पतालहरुको विषयमा निर्णय हुनसक्ने बताए । निर्माण व्यवसायीहरुले भने अघिल्लो आर्थिक वर्षमा सबैभन्दा धेरै आफूहरुले आधारभूत अस्पतालको निर्माण प्रकृयाबाट भूक्तानी प्राप्त गर्न नसकेको बताएका छन् । राज्यको आर्थिक अवस्था र क्षमतालाई नहेरी महत्वकांक्षी रुपमा एकैपटक सयौं अस्पतालको शिलान्यास गरिएपनि प्रगतिको अवस्था हेर्दा पूर्णताबारे अनुमान गर्न कठिन रहेको विज्ञहरुको टिप्पणी छ । संघीय व्यवस्थाअनुसार स्थानीय तहको जिम्मेवारी क्षेत्रभित्रको दायीत्वमा पर्ने आधारभूत स्वास्थ्यलाई कार्यान्वयन गर्नपनि आधारभूत अस्पतालहरुको निर्माण भने तिव्र गतिमा गर्नुपर्ने देखिन्छ ।
कञ्चनपुरमा अढाइ वर्षदेखि थन्कियो एक्सरे मेसिन
महेन्द्रनगर । पाँच वर्षअघि सञ्चालनमा ल्याएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको एक्सरे मेसिन अढाइ वर्षदेखि थन्किएको छ । भारतबाट आउने यात्रुको स–सामान जाँच तथा सुरक्षाका दृष्टिकोणले पनि एक्सरे मेसिन सञ्चालनपछि सहज भए पनि विगत अढाइ वर्षयता मेसिन सञ्चालन हुन सकेको छैन । सुदूरपश्चिमकै प्रमुख नाका गड्डाचौकीको यात्रु शाखामा स्थापना भएको मेसिन जिर्ण अवस्थामा छ । कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत तेजबहादुर रावलले मेसिनको सफ्टवेयरमा खराबी आउँदा मेसिन बन्द भएको बताउनुभयो । एक करोडको लागतमा भन्सार विभागले खरिद गरी कञ्चनपुर भन्सार कार्यालयमा पाँच वर्षअघि जडान गरिएको थियो । गड्डाचौकी भन्सार भएर सर्वसाधारण भारतको राजधानी नयाँ दिल्ली, बैंग्लोर, सिमला, देहरादुन, मुम्बै, हरिद्धारलगायतका ठाउँमा जाने गरेका छन् । पाँच वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका भन्सारमध्ये पहिलोपटक जडान भएको मेसिन सञ्चालनमा ल्याउन भन्सार कार्यालयकै बेवास्ता देखिएको छ । ‘मेसिन बनाउन इन्जिनियरसहितको प्राविधिक टोली चाहिन्छ’, भन्सार अधिकृत रावलले भने, ‘मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति पनि भएन ।’ एक्सरे मेसिन सञ्चालनमा नआउँदा भन्सार नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारी आउने सामान हातले छामेर जाँच गर्ने गरेका छन् । ‘मेसिन सञ्चालनका लागि विभागमा पहल गरेका छौँ’, रावलले भने, ‘प्राविधिक टोलीले मेसिन मर्मत गरेपछि पुनः सञ्चालनमा आउँछ ।’
एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा सयजनाले गरे रक्तदान
काठमाडौं । एनसेल आजियाटाले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो कर्पोरेट कार्यालय एनसेल आइकन भवन, लैनचौर, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा १०० जना बढी व्यक्तिले रक्तदान गरेका थिए । हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजित यस रक्तदान कार्यक्रममा सर्वसाधारण, एनसेल आइकनमा आएका ग्राहकहरु र एनसेलका कर्मचारीहरुले रक्तदान गरेका थिए । दान गरिएको रगत जब कुनै मानिसको जीवन बचाउन वा स्वास्थ्य उपचारमा प्रयोग हुन्छ, दाताहरूले एसएमएसमार्फत यसको जानकारी प्राप्त गर्नेछन् । एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप यो रक्तदान कार्यक्रमको आयोजना गरेको हो । एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । रक्तदान विश्वभरि स्वास्थ्य सेवाको एक महत्त्वपूर्ण भाग हो र यसले विशेष गरी आपतकालीन अवस्थामा धेरैको जीवन बचाउन मद्दत गर्दछ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले अमूल्य जीवन बचाउन कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबैलाई धन्यवाद दिए । एनसेलले ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरुको पनि घोषणा गरिसकेको छ । त्यस्ता कार्यक्रमहरुमा व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रदेशको समुदाय स्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, बागमति कोरीडोर सडकको दुवैतर्फ वृक्षारोपणलगायतका कार्यक्रमहरु रहेका छन् । विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।
मापदण्डविपरीत व्यवसाय गर्ने रसुवाका दुई व्यवसायीलाई जरिवाना
रसुवा । मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ । कारबाही पर्नेमा कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित आरएस एभ्रोभेट तथा तरकारी पसलका सञ्चालक रामशरण न्यौपाने र उत्तरगया गाउँपालिका–५ बेत्रावतीस्थित रिभर भ्यु गेष्ट हाउसका सञ्चालक केदारप्रसाद अधिकारी छन् । घुम्ती बजारका न्यौपानेले खाद्य तथा अखाद्य दुवै प्रकारका वस्तु अव्यवस्थित तवरले एकै स्थानमा राखी मापदण्ड विपरीत बिक्री गरेबापत रु १० हजार र सञ्चालक अधिकारीले गेष्ट हाउसमा मानव स्वास्थ्यलाई असर पर्ने खाद्यवस्तु प्रयोग गरेबापत रु पाँच हजार जरिवाना गरेको घरेलु उद्योग कार्यालयका प्रमुख बृहस्पति तामाङले बताए । पछिल्लो समय बजार अुगमन समितिले अनुगमनलाइ तीब्र बनाउँदै सचेतना र जरिवाना दुवै एकै साथ अगाडि बढाएको छ । बडादसैँ नजिकिँदै गएको र उपभोक्ता माझ गुणस्तरीय खाद्य सामग्री पुगोस् भन्ने पवित्र उद्देश्यले सरकारी मापदण्डको अधिनमा रही जिल्लका व्यापारिक क्षेत्रको अनुगमन तीव्ररूपमा अगाडि बढाइएको बजार अनुगमन समितिका संयोजक एवं रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञावलीले जानकारी दिए । खाद्य गुण नियन्त्रको मापदण्डका अधिनमा रही व्यवसाय दर्ता गरेर मात्र व्यापार व्यवसाय अगाडि बढाउन सबै व्यापारीलाई अनुगमन समितिले अनुरोधसमेत गरेको छ । पहिलो चरणअन्तर्गत बुधबार बेत्रावती बजारका १७ पसलको अनुगमन सम्पन्न गरिएको र अनुगमनको क्रममा खाद्यान्नको प्रकार र त्यसको उपभोग गर्ने समयावधि, बिलविजक जारी, सरसफाइ, राजस्वको स्थायी लेखा नम्बर, उद्योग वाणिज्य दर्ता प्रमाणपत्रसमेतका कागजात हेरिएको संयोजक ज्ञवालीले जानकारी दिए । उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुप्साङ तामाङ, कोष तथा लेखा नियन्त्रण कार्यालयका नियन्त्रक रवीन्द्र भुजेल, प्रहरी निरीक्षक राजीव बस्नेत एवं प्रहरी सहायक निरीक्षक काशीराम बुढा एवं सञ्चारकर्मीसमेतको रोहवरमा जरिवाना गरिएको बताइएको छ । जिल्लाका व्यापारिक केन्द्रमा अखाद्य वस्तु बिक्री गरेको जानकारी पाएमा अनुगमन समितिलाई सूचना दिई सहयोग गर्न बजार अनुगमन समितिले आग्रह समेत गरेको छ । रासस
३ ब्रोकर कम्पनीको लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । विभिन्न कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । धमाधम लाभांश घोषणा गरिरहेका कम्पनीहरुमध्ये धितोपत्र दलाल व्यवसायी (ब्रोकर)कम्पनीले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । सेयर सम्बन्धि कार्य गर्दै आएका विभिन्न कम्पनीले पनि गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हालसम्म आकाशभैरव सेक्युरिटिज, सानिमा सेक्युरिटिज र नासा सेक्युरिटिजले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । नासा सेक्युरिटिको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले २५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ११ लाख ५० हजार रुपैयाँको २४३.२० प्रतिशत बोनस सेयर र १२।८० प्रतिशत नगद गरी कूल २५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभा असोज ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय लालदरबार मार्ग काठमाडमौंमा बिहान ९ बजे सुरु हुनेछ । त्यसैगरी आकाशभैरव सेक्युरिटिजको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले ३.६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.१८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २४ गते जावलाखेल ललितपुरमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । सानिमा सेक्युरिटिजको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले २.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको कर सहित २.५ प्रतिशतले हुन आउने ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २६ गते रजिष्टर्ड कार्यालय पुतलिसडक काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरेका छन् । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो । अरुण डाँडालाई गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर यहाँका विकास भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यसले गाउँपालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । “हाम्रो गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ”, उनले भने, ‘अरुण डाँडालाई बृहत्तर विकास गर्न ८० रोपनी क्षेत्रमा यसको विस्तार गर्ने लक्ष्य छ । यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा विकास गर्न लागि परेका छौँ ।” अरुण डाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकासको लागि सडक विस्तारसँगै पैदलमार्ग तथा विश्रामस्थल निर्माण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यहाँबाट विभिन्न हिमशृङ्खलाको सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै पूजाआजा गर्नका लागि पर्यटक आउने उनको भनाइ छ । “अरुण डाँडाको छुटै धार्मिक महत्व छ, यो स्थान घुम्न आउने मानिसको लागि आनन्ददायक छ । मानिस आफ्नो भाकल पूरा गर्नको लागि पूजाआजा तथा दर्शनको लागि पनि आउने गरेका छन्,” उनले भने । अरुण डाँडाको विकासको लागि योजनाबद्ध रुपमा काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । यो ठाउँको थप प्रचारप्रसारको लागि विभिन्न समयमा गाउँपालिकाले मेला महोत्सवसमेत लगाउँदै आएको उनको भनाइ छ । “अरुण डाँडाको विकाससँगै यसको प्रचार÷प्रसारमा जुटेका छौँ, हामीले यहाँको आवश्यक विकासका लागि काम गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भइरहेको छ । यसलाई देश विदेशमा चिनाउन विभिन्न समयमा मेला महोत्सव पनि सञ्चालन गरिरहेका छौँ,” उनले भने । पर्यटकलाई लक्षित गरेर यहाँ चियाखेतीको समेत विस्तार भइरहेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । मानिस प्राकृतिको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि पनि अरुण डाँडा क्षेत्रमा आउने गरेको स्थानीयवासी लालबहादुर तामाङले बताए । सदरमुकामबाट नजिकको दूरीमा पर्ने भएको अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ । त्यस्तै भोजपुर–लेगुवा मध्य पहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता रहेको उनको भनाइ छ । “गाउँपालिकाले अरुण डाँडाको विकासमा भूमिका खेलेपछि पर्यटकको सङ्ख्या बढेको छ, यो ठाउँमा बिदाको समयमा पर्यटक धेरै आउँछन् । यो स्थान धेरै पर्यटकको रोजाइमा पर्ने स्थल बनेको छ,” उनले भने । वडा नं १ श्यामशिलामा पर्ने यो स्थानमा पर्यटकलाई लक्षित गरेर किवी खेतीकोसमेत विस्तार भइरहेको उहाँको भनाइ छ । समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा लिइने गरिन्छ ।रासस
महानगरले ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै, असोज २५ गतेसम्म आवेदन आह्वान
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि स्थानीय तहलाई विवरण माग गरेको छ । कामपाले सूचना नै जारी गरी एम्बुलेन्स आवश्यक परेको स्थानीय तहलाई आगामी १५ दिनभित्र मागअनुसारको कागजपत्र उपलब्ध गराउन आग्रह गरेको हो । चालु आर्थिक वर्षका लागि कूल २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट विनियोजन गरेको कामपाले स्वास्थ्य क्षेत्रमा मात्र ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ । चालु आवको बजेट अनुसारनै कामपाले गाउँपालिकालाई ३५ वटा एम्बुलेन्स वितरण गर्न लागेको हो । ती एम्बुलेन्स वितरणका लागि कामपाले ७ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले आवश्यकता र इच्छा भएको जुनसुकै गाउँपालिकाले निवेदन दिनसक्ने बताए । उनका अनुसार यही असोज २५ गतेसम्ममा गाउँपालिकाहरूले आवेदन दिन सक्नेछन् । आर्थिक वर्ष २०८०/८१ को बजेटमा देशभरका ३५ वटा गाउँपालिकालाई मागका आधारमा एम्बुलेन्स उपलब्ध गराउने घोषणा कमपाले गरेको थियो । सूचनाबमोजिम माग भएका निवेदनका आधारमा निश्चित मापदण्डभित्र छनोट भएका गाउँपालिकाहरूलाई नियमानुसार एम्बुलेन्स उपलब्ध गराउने महानगरको तयारी छ । एम्बुलेन्स प्राप्त गर्नका लागि गाउँपालिकाले नाम, प्रदेश, जिल्ला, गाउँपालिका केन्द्र रहेको स्थान, एम्बुलेन्स माग गर्ने कार्यपालिकाको निर्णय समावेश गर्नुपर्नेछ । त्यसैगरी विवरण माग गरेको गाउँपालिकाको भौगोलिक विवरण, क्षेत्रफल, जम्मा जनसङ्ख्या, गाडी सञ्चालन हुने सडक सञ्जालको अनुमति क्षेत्रफल, राजमार्गबाट नजिक जोडिने सडकको लम्बाइ, गाउँपालिकामा रहेको अस्पतालसम्म आउनका लागि सबैभन्दा लामो दूरी किलोमिटरमा उपलब्ध गराउनुपर्ने सूचनामा भनिएको छ । त्यस्तै गाउँपालिकाको विगत तीन वर्षको औसत आन्तरिक आय, एम्बुलेन्स सञ्चालनका लागि दक्ष जनशक्तिको अवस्था, हाल सञ्चालन भइरहेको एम्बुलेन्सको विवरणसहित कार्यपालिकाको निर्णय र गाउँपालिका प्रमुखको हस्ताक्षर भएको निर्णय उपलब्ध गराउनुपर्ने कामपाको भनाइ छ ।
सगरमाथाको ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरिने
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा (८ हजार ९४८.८६ मिटर)बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिने बताएका हुन् । विश्व पर्यटन दिवसका अवसरमा ‘साथसाथै’ ले आयोजना गरेको पर्यटनसम्बन्धी राष्ट्रिय सम्मेलनका क्रममा गरिएको अन्तक्र्रिया कार्यक्रममा पर्यटनमन्त्री किरातीले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गराइने बताए । उनले भने, “हामीले पर्यटन प्रवर्द्धन गर्नुपर्छ भन्छौँ तर, यसका लागि कस्तो नीति बनाएका छौँ भन्ने कुरातिर ध्यान दिन सकेका छैनौँ । त्यसकारण हामीले पर्यटन आकर्षण गर्नका लागि विभिन्न योजना बनाइरहेका छौँ । जसअन्तर्गत सगरमाथाको आठ हजार मिटरमाथिको उचाइबाट डबल दस्तुर लिएर प्याराग्लाइडिङ गराउनका लागि नियमावली अन्तिम चरणमा छ । अब क्याबिनेटबाट पारित हुनेबित्तिकै लागू हुन्छ ।” पर्यटनमन्त्री किरातीले नेपालको ऐन कानून र भएका पूर्वाधारको सदुपयोग र नयाँ पूर्वाधारको निर्माणलगायतका कुराहरूले चुनौती सिर्जना गरेको बताए । उनले भने, “सरकार जादुको छडी त होइन, तर, हामीले नेपालको पर्यटन क्षेत्रलाई थप सशक्त बनाउनुपर्छ । लयबद्धरूपमा काम गर्दै जाने हो, उसमा सोच र सही दृष्टिकोण छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।” सरकार बदलिरहने प्रवृत्तिले गर्दा दीर्घकालीन योजनाका काम नहुँदा समस्या भएको उनले बताए । उनले अहिले ढिलो भए पनि आत्तिहाल्नुपर्ने स्थिति भने नभएको बताए । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन्दर मुलुकलाई पर्यटन प्रवर्द्धकका रूपमा लिन सक्यौँ भने ठूलो योेगदान गर्न सकिने बताए । उनले छिमेकी मुलुक भारत र चीनबाट मात्रै पर्यटक ल्याउन सकिए पर्यटन विकासलाई सार्थक बनाउन सकिने धारणा राखे । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले ‘मुलुकको समृद्धिका लागि पर्यटनः हिमाल, पर्यटन, जलवायु परिवर्तन र महिला’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण हिमालमा जोखिम बढेकाले समयमै पूर्वतयारी र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले जोखिमको अवस्थामा रहेका हिमतालको पानी निकास गरेर जलविद्युत् उत्पादन गरी जोखिम कम गर्न सकिने बताए । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का पर्यटन विशेषज्ञ डा अनुकुमारी लामाले ‘हिन्दूकुश हिमालय क्षेत्रमा पर्यटनः यस क्षेत्रको समृद्धिका लागि विशिष्ट अवसर’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन क्षेत्रबाट समृद्धि लागि रणनीतिक योजनाहरू आवश्यक भएको बताए । साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको सबैभन्दा विनाशकारी असर पर्यटन व्यवसायमा परेको बताए । उनले भने, “एकातिर पर्यटन क्षेत्रमा निकै पूर्वाधार निर्माण गर्नुछ भने अर्कोतिर भएका पूर्वाधार जोगाउने चुनौती छ । साथै अबका पूर्वाधार जलवायु परिवर्तनमैत्री बनाउनु छ ।”