विकासन्युज

सरकारलाई तिर्नु पर्ने पैसाबाट निगमले मूल्य समायोजन गर्ने, १२ बजेदेखि मूल्यवृद्धि फिर्ता

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता आइतबार राति १२ बजेदेखि लागू हुने भएको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने भन्दै बढाइएको मूल्य आइतबार रातिदेखि फिर्ता हुने भएको हो । यससँगै अब पेट्रोल, डिजेल, ग्यास लगायत हवाइ इन्धन पुरानै मूल्यमा पाएने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट निर्देशन भएबमोजिम निगमले स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी मूल्यवृद्धि फिर्ता गरेको निगमको भनाई छ । साथै, नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी र्फिता लिइएको समेत निगमको भनाई छ । ‘हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२ः०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको छ,’ निगमद्धारा जारी विज्ञप्तिमा भनिएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले पनि आइतबार राति १२ बजेदेखि मूल्यवृद्धि फिर्ता हुने बताए । उनका अनुसार सञ्चालक समितिको बैठकले मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेको उनको भनाइ छ । ‘सरकारबाट मूल्यवृद्धि फिर्ता गर्न निर्देशन आएको छ, निगमले पनि आज राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता गर्छ, सरकारले स्थिरिकरण कोष र निगमले बुझाउनु पर्ने रकमबाट समायोजन हुने गरी मूल्यवृद्धि फिर्ता लिन आदेश दिएको छ,’ उनले भने । एनका अनुसार हाल निगमको मूल्य स्थिरिकरण कोषमा पैसा छैन भने निगमले सरकारलाई दिनु पर्ने रकम २ अर्ब १० करोड छ । सोही रकमबाट यो मूल्यवृद्धिलाई समायोजन गरिनेछ ।

बाख्रापालनबाट वार्षिक ७ लाख आम्दानी गर्दै आले

असोज । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छिन । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहेकी छन् । उनले भनिन्, ‘बाख्रापालन व्यवसायबाट वार्षिक सात लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।’ उनले यस वर्ष १५ बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरी उक्त रकम आम्दानी गरेकी छन् । उनले भनिन्, ‘बाख्रापालन व्यवसायबाट सन्तुष्ट छु, यही व्यवसायबाट घरपरिवार चल्दै आएको छ ।’ उनले १५ रोपनी जग्गामा घाँसखेतीसमेत गरेकी छन् । बाख्रालाई घाँस आवश्यक पर्ने भएकाले मकै, कोदो रोप्ने बारीमा उन्नत जातका डाले तथा भुइँ घाँस लगाएको किसान आलेले बताईन् । उनका अनुसार बडहर, राइखनियो, इपिलइपिल, मेन्दोला, कुटमेरो, भटामासे, किम्बु, निमारोलगायतका डाले तथा नेप्पियर सिओफोर, सिओ थ्री, सुपर नेपियर, मलाटो, मकैचरीलगायतका भुइँ घाँस लगाइएको छ । उनले पछिल्लो समय १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गरी व्यवस्थितरूपमा बाख्रापालन व्यवसायलाई अगाडि बढाएकी छन् । बाख्रा खोरमा गर्भवती बाख्रा, किशोरी बाख्रा, पाठापाठी, ब्याड बोका र सुत्केरी बाख्रा राख्ने छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । यसरी कोठामा बाख्रा राख्दा बाख्रा तुहिने समस्या नहुने र रोगबाट बचाउन सकिने उनको भनाइ छ । उनले उन्नत जातको बोयर बोकासमेत पालेकी छन् । बाख्रालाई चाहिने सुष्म पोषकतत्व खनिज ढिक्का बनाएर नियमित खुवाउने गरेको उनले बताईन् । नियमित खनिज ढिक्का खुवाउनाले बाख्रा फस्टाउनुका साथै खसीबोकाको तौलमा वृद्धि हुने उनको भनाइ छ । किसान आलेले नौ महिनादेखि एक वर्षको अवधिमा ४५ केजीभन्दा बढी तौलका खसीबोका उत्पादन गरी बिक्री गर्ने गरेको जानकारी दिईन् । उनका अनुसार ब्याडका रूपमा बिक्री गर्ने बोका जिउँदो प्रतिकेजी एक हजारका दरले बिक्री हुँदै आएको छ । एउटै ब्याड बोका बिक्री गर्दा ४० हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । मासुका लागि जिउँदो तौलको प्रतिकेजी पाँच सय ५० का दरले खसीबोका बिक्री भएको छ । रासस

ट्रयाक खुलेको ८ वर्षसम्म पनि सडकको स्तरोन्नति भएन, नागरिक सास्ती खेप्दै

बागलुङ । राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको आठ वर्ष वितिसक्दा पनि स्तरोन्नतिको काम सम्पन्न भएको छैन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको उक्त सडक अहिलेसम्म स्तरोन्नति हुन नसक्दा स्थानीय र पर्यटकले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् । सरकारले तराई–पहाड जोड्नका लागि बनाएको योजनाको काम कछुुवागतिमा भइरहेको छ । कलिपलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ जिल्लालाई जोड्ने उक्त सडकखण्डमा अहिले स्तरोन्नति तथा कालोपत्रको काम निर्माण कम्पनीले गरिरहेको सालझण्डी–ढोरपाटन आयोजना कार्यालयका इञ्जिनियर सरोज आचार्यले बताए । पर्यटकलाई सहज रुपमा ढोरपाटन ल्याउने उद्देश्यले सडक स्तरोन्नति थालिए पनि काम नसकिदा यातायातका साधान गुड्न नसकेका स्थानीय बताउँछन् । ‘कूल एक सय ९१ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै ६१ मिलोमिटर सडक पर्छ’, उनले भने, ‘त्यसमध्ये चार किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पर्ने हुँदा कालोपत्र भइसकेको छ ।’ बाँकी ५७ किलोमिटर सडक निकै साँघुरो र जोखिमपूर्ण रहेको इञ्जिनियर आचार्यले बताए । उनका अनुसार सडक स्तरोन्नति गरी ग्राभेलिङ गर्नका लागि गतवर्ष कार्तिकमा सम्झौता भएको थियो । सडक खुलेको दशक बित्नै लाग्दा पनि स्तरोन्नति हुन नसक्दा आवागमनमा सास्ती हुने गरेको निसीखोलाका चुराबहादुर कुँवरले बताए । गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तु खण्डमा कामले गति लिए पनि बागलुङ खण्डमा काम हुन नसकेको उनको भनाइ थियो । उक्त खण्डमा हालसम्म करिब ३० प्रतिशत काम भएको आयोजना कार्यालयले जनाएको छ । ‘यस खण्डमा दैनिक सयौँ स्थानीय तथा पर्यटकले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । आयोजनाको बुर्तिबाङ–ढोरपाटन खण्डअन्तर्गत बोबाङमा तीन वर्ष अगाडि आएको बाढीले धेरै स्थानमा सडक बिगारेको थियो’, कुँवरले भने, ‘बाढीले क्षति पु¥याएको खण्डमा यात्रा गर्न निकै जोखिमपूर्ण छ ।’ सडक समयमै स्तरोन्नति नहुँदा ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ तथा निसीखोला गाउँपालिका–७ का स्थानीयवासी बढी मर्कामा परेका उनले बए । सडक सहज नहुँदा गाउँबाट बुर्तिबाङ बजार झर्न निकै मुस्किल पर्ने गरेको उनको भनाइ थियो । कुँवरले निसीखोलाको राजकुट, हर्पे, कुडुला, ढालपानी लगायतका गाउँमा बुर्तिबाङ बजारबाटै दैनिकी उपभोग्य सामान ल्याउनु पर्ने भन्दै सडकका कारण महँगो भाडा तिर्न बाध्य भएको बताए । साँघुरो र अप्ठ्यारो सडकका कारण यात्रा गर्न पनि जोखिमपूर्ण रहेको उनको भनाइ थियो । ‘सडक खुलेको आठ वर्ष भइसकेको छ, अहिलेसम्म जस्ताको त्यस्तै छ, पैदल हिँड्न पनि गाह्रो हुने सडकमा गाडी कसरी गुड्छन् ?’, कुँवरले भने, ‘बर्खाको तीन/चार महिना त गाडीनै चल्दैनन्, बाटो अप्ठ्यारो हुँदा गाडी भाडा र सामान ढुवानी गर्दा महँगो रकम तिर्नुपरेको छ । बुर्तिबाङ बजारबाहेक अन्य ठाउँबाट सामान ल्याउनसक्ने अवस्था छैन, सडक छिटो बने बजारबाट ल्याउने सामानको मूल्य सस्तो हुने थियो ।’ ढोरपाटन नगरपालिका–९ का पूर्णबहादुर सुनारले काम नगर्ने निर्माण कम्पनीलाई राज्यले कारबाही गर्न नसक्दा आफूहरुले समस्या खेप्नु परेको बताए । बाह्रै महिना ढोरपाटन घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका भन्दै सडकका कारण दोस्रो पटक नआउने उनको भनाइ थियो । बुर्तिबाङदेखि ढोरपाटन देउरालीसम्मको सडक समयमा सम्पन्न भए स्थानीय र पर्यटकलाई सहज हुने सुनारले बताए । सडकका कारण ढोरपाटनमा उत्पादन भएका स्याउ र आलुको बजारीकरणमा समेत समस्या हुने गरेको उनको भनाइ थियो । ‘यो बाटो खुलेदेखि यहाँ धेरै पटक दुर्घटना भयो, बाटो साँघुरो छ, मान्छेलाई गाडी चड्नै पर्छ, यति ठूलो आयोजनामा किन सरकारले ध्यान नदिए होला ?, हामी धेरै मारमा परेका छौँ, सडक छेउमा रहेको घरमा हिउँदमा धुलो र बर्खामा हिलोले हैरानै बनाउँछ’, सुनारले भने, ‘धेरै किसानले ढोरपाटनमा आलु, स्याउ र सिमी उत्पादन गर्छन्, बजार ल्याउन बोकेर सकिदैन, गाडीमा ल्याउँदा मूल्यभन्दा बढी भाडा तिर्नुपर्ने हुन्छ । बाटो पिच हुन्थ्यो भने एक घण्टामै बुर्तिबाङदेखि ढोरपाटन पुगिन्थ्यो, भाडा पनि सस्तो हुन्थ्यो, बाहिरबाट घुम्न आउने पर्यटकलाई पनि सहज हुने थियो ।’ सडकले बागलुङको निसीखोला र बडिगाड गाउँपालिका तथा ढोरपाटन नगरपालिका गरी तीन पालिका जोडेको छ । बागलुङ बजारदेखि बुर्तिबाङसम्म मध्यपहाडी लोकमार्गको सडकले सहज बनाइ दिए पनि बुर्तिबाङदेखि ढोरपाटन खण्डमा यात्रा गर्न निकै कष्टकर हुने गरेको स्थानीयको भनाइ थियो । सरकारले सडक स्तरोन्नतिका लागि रकम विनियोजन गरेको आयोजनाका इञ्जिनियर आचार्यले बताए । गतवर्ष कार्तिकमा बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–९ फल्लेघरसम्म २२ किलोमिटर सडक स्तरोन्नतिका २३ करोडमा ३० महिनामा सक्ने गर्ने गरी सम्झौता भएको उनले जानकारी दिए । सडक चौडा गर्ने, नाली निर्माण गर्ने र ग्राभेलिङका लागि निर्माण कम्पनीलाई जिम्मा दिइएको आचार्यको भनाइ थियो । उनका अनुसार निर्माण कम्पनीले केही महिना काममा ढिलाइ गरे पनि अहिले तीव्रता दिइरहेको छ । सडकको ट्र्याक आर्थिक वर्ष २०७२/७३ मा खुलेको उनले जानकारी दिए । निर्माण कम्पनीको म्याद अझै एक वर्षसम्म रहेको भन्दै नियमित काम गरे आगामी वर्षसम्म सम्पन्न हुने इञ्जिनियर आचार्यले बताए । निर्माण कम्पनीले पनि समयावधिभित्रै काम सक्ने प्रतिबद्धता जनाएको उनको भनाइ थियो । ‘हरेक वर्ष यस आयोजनाका लागि बजेट घटिरहेको छ । गत वर्ष ४० करोड विनियोजन भएकामा यसवर्ष १७ करोड मात्रै विनियोजन भएको छ । यति बजेटले कहाँ–कहाँ काम गर्ने ?, अप्ठ्यारा ठाउँमा सजिलो बनाउने काम भइरहेको छ,’ इञ्जिनियर आचार्यले भने, ‘अहिलेसम्म २२ किलोमिटर सडक कालोपत्र भएको छ । बागलुङ खण्डमा भएको कालोपत्र मध्यपहाडी लोकमार्गले गरेको छ ।’ लोकमार्ग र हाम्रो आयोजना एकै ठाउँमा पर्छ । उनले पाँच किलोमिटर कपिलवस्तु, १३ किलोमिटर अर्घाखाँची र चार किलोमिटर बागलुङमा कालोपत्र भएको जानकारी दिए । रासस

साउनयता तीन सय ४७ फर्मलाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा करिब ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको कैफियत तथा समस्या भेटिएको छ । गत साउनयता विभागले एक हजार एक सय ४६ व्यावसायिक फर्ममा अनुगमन गरेकामा २६ वटा मात्रै सामान्य अवस्थामा रहेका भेटिएको जनाएको छ । चालु आर्थिक वर्ष सुरु भएदेखि असोज १२ गतेसम्ममा एक हजार एक सय ४६ व्यावसायिक फार्ममा अनुगमन गरी तीन सय ४७ लाई कारबाही गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । उनका अनुसार कारबाही गरिएका फार्मलाई ९२ लाख २५ हजार मूल्य बराबर जरिवाना गरिएको छ । त्यसैगरी, ३४ फार्मबाट एक करोड एक लाख ९० हजार मूल्य बराबरको वस्तु नष्ट गरिएको विभागले जनाएको छ । तीन सय ३२ फार्मलाई सुधारका लागि निर्देशन दिइएको र थप अध्ययनका लागि कागजात माग भएको पनि पोखरेलले जानकारी दिए । उनका अनुसार विभागले दैनिक उपभोग्य वस्तु, तरकारी तथा फलफूल, मासुपसल, औषधि, मिठाइ पसल तथा होटललगायत क्षेत्रमा अनुगमन गर्दा तोकिएकोभन्दा चर्को मूल्यमा बिक्री वितरण भइरहेको, न्यून गुणस्तर, लेभल नभएका वस्तु बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेकोलगायतका समस्या देखिएका हुन् । अहिले विभागले दैनिक औसत ३५ व्यावसायिक फार्ममा अनुगमन गरिरहेको छ । दसैँ, तिहारलगायत चाडबाडका बेला उपभोक्ता बढी ठगिने र बजारमा बढी समस्या देखिने भएकाले अनुगमनको सङ्ख्या बढाउन लागिएको विभागले जनाएको छ । चाडपर्वलाई लक्षित अनुगमनका लागि वाणिज्य विभागको नेतृत्वमा वातावरण, खाद्यप्रविधि तथा गुण नियन्त्रण, गुणस्तर तथा नापतौल, औषधि व्यवस्था र आन्तरिक राजस्व विभाग तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा गरिरहेको पोखरेलले बताए । उनका अनुसार विभागले एक्लै र संयुक्तरुपमा बजार अनुगमन गर्दै आएको छ । त्यस्तै, चाडपर्व लक्षित अनुगमनतर्फ आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक मूल्यवृद्धि भएका वस्तुको अनुगमनलाई तीव्र बनाउने विभागले जनाएको छ । अवाञ्छित मूल्यवृद्धि, न्यून गुणस्तर तथा कृत्रिम मौज्दातजस्ता सूचना भए पैसा नलाग्ने टेलिफोन नम्बर ११३७ मार्फत जानकारी दिन पनि विभागले अपिल गरेको छ । रासस

सुन तस्करी प्रकरण : पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा आयोग गठन

फाइल फोटो काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ । आयोगको सदस्यमा किशोरजङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा हुन् । आज बसेको मन्त्रिपरिषदको बैठकले तीन महिनाको समय दिएर आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए । ‘सुनको अवैध पैठारी तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गरिएको छ’, उनले भने । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल ९नेकपा० एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि आयोग गठनको निर्णय गरिएको थियो । सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो । प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आयोग गठनको निर्णयबारे सदनलाई जानकारी गराउँनेछन् । यसअघि आज विहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलपछि प्रधानमन्त्री दाहालले सत्तारुढ दलसँग पनि सो विषयमा छलफल गरेमा थिए । आजको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकको उपस्थिति थियो । रासस

एकैदिन तोलामा ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ८ सयले घटेको छ । आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

चौतर्फी दबाबपछि फिर्ता भयो पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । नेपाल आयल निगमले शनिबार रातीदेखि लागू हुने गरी बढाएको ग्याँससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो । यसका लागि सरकारले निगमलाई निर्देशन दिइसकेको छ । आयल निगम संचालक समितिको बैठकले पनि बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् । अर्थात अब उपभोक्ताले पुरानै मूल्यमा किन्न पाउने भएका छन्  । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी विरोध भएर दबाब आएपछि सरकारले निगमलाई फिर्ता लिन निर्देशन दिएको हो ।

रोयल इनफिल्डद्वारा ‘हन्टर हेरिटेज राइड २०२३’ आयोजना

काठमाडौं । रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ आयोजना भएको छ। निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’ का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्ड टुरिजम डे को अबसर पारेर  ‘रोयल इनफिल्ड ‘हन्टर हेरिटेज राइड २०२३’ कार्यक्रम आयोजन गरिएको कम्पनीले जानकारी दिएको छ। यस राइडमा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए। यस कार्यक्रमको मुख्य उद्देश्य ‘रोड सेफ्टिी अवारनेस, प्रमोटिङ सिस्टमेटिक राइडकल्चर’ र हेरिटेज साइटको प्रवर्द्धन गर्नु रहेको छ। असोज १३ गते विहान ७ बजे रोयल इनफिल्डको शोरूम टेकुबाट सुरु भएको यो राइड त्रिपुरेश्वर  कंलकी स्वयम्भु भगवानपाऊ छाउनी भिमसेनथान बसन्तपुर दरबारमार्ग घण्टाघर शहिटगेट त्रिपुरेश्वर कुपोनडोल पाटनढोका पिम्बहाल मंगलबजार बालकुमारी कोटेश्वर पेप्सीकोला सानो ठिमी हुँदै भक्तपुर दरवार स्क्वायर सम्मको रहेको थियो। बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड शोरूम पुगेर कार्यक्रम समापन गरियको थियो।