मनकामना केबलकार दुई दिन बन्द रहने
काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालन रहने छ । केबलकारको नियमित सेवा असोज १९ गते शुक्रबार देखि पुन:सञ्चालनमा आउने छ ।
फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी
मङ्गलबारे । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए । केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत देशमा जान थालेको दाहालले बताए । केन्द्रलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी सञ्चालनमा ल्याएको जनाउँदै उद्योगबाट विभिन्न जडीबुटीका तेल उत्पादन हुने उनले बताए । गाउँमा उत्पादित तितेपाती, धूपी, मेन्था, धसिङ्गरेलगायतबाट तेल प्रशोधन गरिने भन्दै दाहालले हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल बिक्री हुँदै आएको जानकारी दिए । उनका अनुसार निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । उद्योगका सञ्चालक दाहाल ओसोमा विश्वास गरेर गाउँमा नै ध्यान गर्ने अनि गराउने गर्छन् । ध्यान गर्न आएका विदेशीले यहाँबाट उत्पादित वस्तु खरिद गरेर लैजान गरेको उनले बताए । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेकाले यहाँ उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको उनको भनाइ थियो । सुरुसुरुमा विदेशीले सामान्य रुपमा जडीबुटी लगे पनि पछिल्लो समय व्यवसायिक रुपमा नै निर्यात हुन थालेपछि आफूलाई पनि थप हौसला बढेको दाहालले जानकारी दिए । उनका अनुसार उत्पादित मेन्थाको तेल भने स्थानीय बजारमा नै खतप भइरहेको छ । तितेपाती र धूपीको तेल फ्रान्समा जान थालेको उनले बताए । दाहालका अनुसार धूपी दुई हजार पाँच, तितेपाती छ हजार, मेन्था सात हजार र धसिङ्गरे सात हजार प्रतिकिलो बिक्री हुने गरेको छ । धसिङ्गरेको उत्पादन पनि गाउँमा सुरु भइसकेको छ । दाहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आउएका छन् । बाँकी स्थानीयवासीबाट वनस्पति खरिद गरी प्रशोधन गरेर तेल उत्पादन गर्ने गरिएको दाहालको भनाइ थियो । ‘गाउँका किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने गरेको छु’, उनले भने, ‘धूपी प्रतिकिलो आठ सय र तितेपाती प्रतिकिलो चार सयमा लिने गरेको छु ।’ सरकारी निकायबाट कुनै सहयोग नपाएकाले उद्योग फस्टाउन नसकेको उनको भनाइ थियो । गाउँमा रहेका खाली जमिनको सदुपयोग गरी स्थानीयस्तरमा व्यावसायिक जडीबुटी उत्पदान गर्ने प्रयासमा लागेको दाहालले बताए । ‘खेर गइरहेको पाती, धूपीलगायत वनस्पतिबाट जडीबुटी/हर्बल तेल उत्पादन गरेर केही पैसा आउने भएपछि स्थानीयवासीले उत्पादन सुरु गरेका छन्’, स्थानीय घनेन्द्र काफ्लेले भने । यो नयाँ काम भएको भन्दै यसवर्ष धसिङ्गरेका १४ हजार बिरुवा गाउँमा वितरण गरेको बताए । काफ्लेले धूपीलगायत अन्य प्रजातीका बिरुवासमेत वितरण गरिएको जनाउँदै डिभिजन वन कार्यालय इलामले दुई लाख बिरुवा सहयोग गरेको जानकारी दिए । स्थानीय तह तथा कृषि ज्ञान केन्द्रलगायत अन्य निकायबाट भने सहयोग पाउन नसकेको उनको भनाइ थियो । गाउँमा उत्पादित वस्तु बाहिर जान थालेपछि स्थानीयवासीसमेत खुसी भएका केशव दाहालले बताए । ‘उद्योगबाट उत्पादित तेल तथा जडीबुटी विदेश निर्यात हुन थालेपछि हामीलाई पनि हौसला मिलेको छ’, उनले भने, ‘उद्योग विस्तार हुँदै गए स्थानीयले रोजगारीसमेत पाउने छन् ।’ कस्तो जडीबुटी उत्पादन हुन्छ त ? यहाँबाट विभिन्न वनस्पतिको तेल उत्पादन हुन्छ । उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्दा ठिक हुने उद्याग सञ्चालक दाहालको भनाइ थियो । तेल प्रयोगकर्ताले दुखाइ कम भएको बताएका छन् । हाडजोर्नी, ढाड दुख्ने तथा घुडा दुखाइका बिरामी आउने गरेका उनले बताए । यस वर्षबाट मात्र उत्पादित सबै वस्तु बिक्री हुन थालेकाले अब नाफामा जान सकिने सञ्चालक दाहालले बताए । स्थानीय निकाय तथा सरकारीले सडकको व्यवस्था गरिदिए यहाँबाट उत्पादित जडीबुटी अन्य जिल्लामा पनि पु¥याउन सकिने उनको भनाइ थियो । ‘नेपाली उखान १२ वर्षमा खोलो पनि फर्किन्छ भने झै उद्योग स्थापनाको ११ वर्षपछि यस वर्षदेखि यहाँबाट उत्पादित तेल तथा जडीबुटी फ्रान्सलगायत देश निर्यात हुन थालेको छ’, दाहालले भने, ‘स्थानीय तहबाट हालसम्म कुनै सहयोग भएको छैन । आर्थिक सहयोग भए, उद्योगलाई विस्तार गरी उत्पादन पनि बढाउने योजना छ ।’ रासस
हिमालयन रिको सीईओ बन्दै उपासना पौडेल
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त हुने भएकी छिन् । गत साता बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्न सिफारिस गरेको हो । उक्त सिफारिस स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाइएको तर हालसम्म प्राधिकरणबाट स्वीकृति आइनसकेको कम्पनीले स्रोतले बताएको छ । ‘सीईओ चन्द्रशेखरनको राजीनामा स्वीकृत गरेको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको छ, प्रस्तावलाई स्वीकृत गराउन प्राधिकरणमा समेत पेश गरिएको छ, हालसम्म स्वीकृति भने आईसकेको छैन,’ कम्पनी स्रोतले विकासन्युजसँग भन्यो । पौडेलले पनि सञ्चालक समितिको बैठकले आफूलाई सीईओमा नियुक्त गरेको स्वीकार्दै प्राधिकरणको एप्रुभल भने आउन बाँकी रहेको विकासन्युजलाई जानकारी गराएकी छिन् । यसअघि हिमालयन रिको सीईओमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी थिए । उनले गत साता राजिनामा दिएका र सोही साता बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । र, सोही बैठकले नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको उक्त निर्णयलाई प्राधिकरणले स्वीकृति दिएपछि मात्रै पौडेलले कम्पनीको सीईओ कार्यभार सम्हाल्ने छिन् । पौडेल हाल सोही कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रुपमा कार्यरत छिन् । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल गत २०७९ मंसिरमा पुनर्बीमा क्षेत्र अर्थात हिमालयन रिमा डीसीईओको रुपमा प्रवेश गरेकी हुन्। त्यसअघि उनी तत्कालिन युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् ।
चाडवाड नजिकिएपछि बजार अनुगमन तीव्र
काठमाडौं । सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले साउन १ देखि अहिलेसम्म देशभर एक साथ संयुक्तरुपमा बजार अनुगमन जारी रहेको बताए । उनका अनुसार यो समयमा एक हजार एक सय ४६ फार्ममा अनुगमन गर्दा कैफियत गर्नेबाट ९२ लाख २५ हजार जरिवाना तिराइएको छ । त्यस्तै ३४ फार्मबाट एक करोड दुई लाख मूल्यका मालवस्तु नष्ट गरिएको पोखरेलले बताए । चाडपर्व लक्षित दैनिक ३५ टोलीबाट अनुगमन भइरहेको उनले बताए । आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक मूल्यवृद्धि भएका वस्तुहरुको अनुगमनलाई तीव्रता दिइने भएको छ । विभागबाट प्राप्त विवरणअनुसार एक हजार एक सय ४६ फार्ममा अनुगमन गरी तीन सय ४७ फार्मलाई जरिवाना लगाइएको छ । कूल तीन सय ३२ फार्मलाई सुधारका लागि निर्देशन दिइएको छ भने जम्मा २६ फार्म मात्रै सामान्य अवस्थामा रहेको पाइएको छ । अनुगमनलाई चाडपर्व सकिएपछि पनि निरन्तरता दिने सोचमा रहेको विभागले जानकारी दिएको छ ।
तीन वर्षमा तपाईंको भान्सामा रहेको ग्यासको मूल्य कति बढ्यो ?
काठमाडौं । नेपाल आयले निगमले शनिबार साँझदेखि लागू हुने गरी पेट्रोलियम पदाथर्का मूल्य बढाउसँगै व्यापक आलोचना भयो । चाडपर्वको समयमा निगमले पेट्रोलियम पदार्थ, ग्यास र हवाई इनधनको मूल्य बढाएको भन्दै चौतर्फी आलोचना भयो । निगमले एलपी ग्यासको मूल्य २१५ रुपैयाँले बढाएर २१ सय १० रुपैयाँ कायम गर्यो । जुन हालसम्मकै दोस्रो बढी मूल्यवृद्धि हो । यसअघि एलपी ग्यासमा निगमले २३५ रुपैयाँको मूल्यवृद्धि गरेको थियो । चाडपर्वकै समयमा इनधन तथा डिजेल पेट्रोल र ग्यासको मूल्य बढाएको भन्दै सरकारको आलोचना भएपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मूल्यवृद्धिको निर्णय फिर्ता लिएको बताएको छ । सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता लिएको बताएको छ । यसका लागि सरकारले निगमलाई निर्देशन दिइसकेको छ । आयल निगम संचालक समितिको बैठकले पनि बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् । अर्थात अब उपभोक्ताले पुरानै मूल्यमा किन्न पाउने उनको भनाइ छ । निगमले ग्यासको मूल्य बढाएर वर्षेनी जनताको भान्सा महँगो बनाइरहेको छ । तीत वर्षअघि १३ सयको हाराहारीमा रहेको ग्यासको मूल्य आजका दिनसम्म आइपुग्दा २११० रुपैयाँ पुगेको छ । यसअघि सर्वसाधारणले प्रतिसिलिण्डर १८९५ रुपैयाँमा खरिद गर्न पाउँथे । ती वर्षको अवधिमा ग्यासको मूल्य १३ पटक बढेको छ । लामो समय १८ सय रुपैयाँ कायम रहेको ग्यासको मूल्य त्यसपछि बढाएर १८९५ रुपैयाँ पुर्याइएको थियो । १४ को घटबढमा ग्यासको मूल्य १८ सयको हाराहारीमा थियो । यस्तै, सिलिण्डरको मूल्य सात पटक १५७५ कायम भएको देखिन्छ । चार महिना १५७५ नै कायम भएको निगमको तथ्यांकले देखाउँछ । २०७७ माघदेखि २०७८ असारसम्म १४०० रुपैयाँ मूल्य कायम भएको देखिन्छ । यस्तै, १४ पटक सम्मको मूल्य घटबढमा प्रतिसिलिण्डर १३७५ रुपैयाँ नै कायम भएको निगमको तथ्यांकले देखाउँछ । तीन वर्षको अवधिमा सिलिण्डरको मूल्य ५६.२९ प्रतिशत वृद्धि भएको देखिन्छ । निगमका प्रवक्ता मनोज ठाकुरले आइतबार राति १२ बजेदेखि मूल्यवृद्धि फिर्ता हुने बताए । उनका अनुसार सञ्चालक समितिको बैठकले मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेको उनको भनाइ छ । ‘सरकारबाट मूल्यवृद्धि फिर्ता गर्न निर्देशन आएको छ, निगमले पनि आज राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता गर्छ, सरकारले स्थिरिकरण कोष र निगमले बुझाउनु पर्ने रकमबाट समायोजन हुने गरी मूल्यवृद्धि फिर्ता लिन आदेश दिएको छ,’ उनले भने । एनका अनुसार हाल निगमको मूल्य स्थिरिकरण कोषमा पैसा छैन भने निगमले सरकारलाई दिनु पर्ने रकम २ अर्ब १० करोड छ । सोही रकमबाट यो मूल्यवृद्धिलाई समायोजन गरिनेछ ।
अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत
काठमाडौं । अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत हुने भएको छ । बिश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरुले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन । यसपछि बैंकका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरुलाई नेपालमा रेमिटान्स प्राप्त गर्न सहज हुने भएको बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिटकाबीच यस अघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषि राम ढकाल र प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले हस्ताक्षर गरेका थिए ।
डाक्टर र सरकारबीच सहमति भएको भोलिपल्टै कुटिए डाक्टर, दुई जना गिरफ्तार
काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कुटिएको विषयलाई लिएर आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति र सरकार बीचमा आन्दोलनको पाँचौ दिनमा ६ बुँदे सहमति भयो । तर, सहमति भएको भोलिपल्टै आइतबार फेरि काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी)मा इन्टर्न गरिरहेका चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेका छन् । प्रहरीले चिकित्सकमाथि हातपात गर्ने गुल्मीका २२ वर्षीय रुपक गौतम र ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरिसकेको छ । कलेजको नेफ्रोलोजी ओपिडीमा बिरामी लिएर आएका पक्राउ परेका गौतमहरुले डाक्टरको नाम लिएर बिरामीलाई देखाउन खोजेका थिए भने, भिड भएका कारण उनीहरुलाई चिकित्सकले एकछिन बाहिर रहन भन्दा कुटपिट भएको पाइएको छ ।
पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार
झापा । गौरादह नगरपालिका–५ मा रहेको नमूना एकीकृत सहकारी खेती बीउ उत्पादन समूहमा आबद्ध महिलाले अचार, पापडलगायत छवटा नमूना उद्योग सञ्चालन गरेका छन् । सहकारीमा आबद्ध महिलाले आफू स्वरोजगार बन्ने र स्थानीय क्षेत्रमा उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यले उद्योग सञ्चालन गरेको बताएका छन् । यसमध्ये आचार उद्योग भने राम्रैसँग फस्टाएको छ । आचार बिक्रीबाट मात्र महिलाले वार्षिक छ लाख बढी आम्दानी गर्दै आएका छन् । सहकारीमा आबद्ध सेयर सदस्यले उत्पादन गरेका अग्र्यानिक कृषिजन्य वस्तु कागती, आँप, गाँजर, तामा, जलपाई र चारपाटे, अकबरे खुसार्नीलगायत विभिन्न प्रकारका आचार चार वर्षअघिदेखि उत्पादन गर्दै आएको नमूना आचार उद्योगकी अध्यक्ष सकुन्तला प्याकुरेलले बताए । उनले अकबरे खुर्सानी भने इलाम, पाँचथरबाट खरिद गरेर ल्याउने गरेको बताए । महारानी झोडा साना किसान कृषि सहकारी र एकीकृत नमूना सहकारी खेतीमा दैनिकजसो मुलुकका विभिन्न स्थानका सङ्घसंस्थाबाट भ्रमणमा आउन थालेपछि पर्यटकलाई यस क्षेत्रको कोसेली हुने र आम्दानीको स्रोत पनि बन्ने देखेर नमूना अचार उद्योग सञ्चालन गरेको उनले बताए । सुरुमा छजना महिला मिलेर १८ हजार रूपैयाँ लगानीबाट सुरु गरेको आचार उद्योगको हाल आफ्नै भवनसहित सुविधासम्पन्न ल्याब र अचार बनाउने औजारसहित ३५ लाख रूपैयाँ बराबरको सम्पत्ति रहेको छ । उनले वार्षिक आचार बिक्रीमार्फत मात्र छ लाख रूपैयाँ आम्दानी हुने गरेको बताए । महिलाहरूको जाँगर र पौरख देखेपछि उद्योगलाई भवन बनाउनका लागि गौरादह नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय झापाले आर्थिक सहयोग गरेका थिए । घरायासी कामधन्दा सकेर बचेको समय महिलाहरूले आचार उद्योगलाई दिँदै आएको उनको भनाइ छ । ‘नाफा बाँडेका छैनौँ, जति कमाउँछौँ त्यही उद्योगमा लगानी बढाइरहेका छौँ’, अध्यक्ष प्याकुरेलले भने, ‘यहाँ उत्पादित अचारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । जब लक्ष्यमा पुग्छौँ अनि मात्र मुनाफा बाड्छौँ ।’ महिलाहरूको मेहनत र परिश्रम देखेर एक वर्षका लागि सिट कन्ट्याक्ट नामक विदेशी एनजिओले सहज नेपालमार्फत आर्थिक सहयोग गरिरहेको उनले बताए । नेपालले बजारीकरण, प्रयोगशाला सञ्चालन र कर्मचारीलगायत विभिन्न कार्यमा लाग्ने खर्चको ५५ प्रतिशत सहयोग गरिरहेको अध्यक्ष प्याकुरेल बताउछन्। नेपालले आचार, पापड र दुग्ध परिकार उद्योगलाई नै जम्मा लगानीको ५५ प्रतिशतले आर्थिक सहयोग गरिरहेको छ । सहकारीले हाल चिप्स उद्योग, माछापालन, नमूना कडटम हाइरिङ, बागबानी खेती, गाई फार्म, नमूना फड्स् उद्योग, नमूना घरबास र नमूना खाद्य उद्योग सञ्चालन गरिरहेको छ । यहाँ उत्पादित सामग्री बिक्री वितरणका लागि कोसेली घर स्थापना गरिएको छ । सहकारी क्षेत्रका भ्रमणमा आउनुहुने आन्तरिक तथा बाह्य पर्यटकले दैनिक १० देखि १५ हजार रूपैयाँसम्मको आचार कोसेली घरबाट खरिद गरेर लैजाने गरेका छन् । उद्योगमा उनीहरूले आफूमात्र नभएर, गाउँका अन्य महिलालाई समेत रोजगारी दिँदै आएका छन् । उनले भने, ‘यहाँ सञ्चालित उद्योग व्यवसायले हामी सदस्यलाई मात्र फाइदा गरेको छैन, उद्योगमा काम गर्ने सबैलाई आर्थिक उपार्जनको बाटो खोलेका छौँ ।’ यहाँ उत्पादित सामान झापा, मोरङ, सुनसरी, इलाम, हेटौँडा र काठमाडौँसम्म पुग्ने गरेको छ । रासस