विकासन्युज

सेयरभन्दा घरजग्गा किन्न सस्तो

काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थासँगै उद्योगी व्यवसायीले पनि लगानी गर्न रुचाउने क्षेत्र हुन् घरजग्गा र सेयर बजार । पछिल्लो केही वर्षयता यी दुवै क्षेत्रमा ठूलो समस्या सिर्जना भएपछि अर्थतन्त्रमै त्यसको प्रभाव पर्यो । अर्थतन्त्र सुस्त बन्यो । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न सकेनन् भने उद्योगी व्यवसायीले पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नयाँ व्यवसाय तथा भएका व्यवसाय पनि विस्तार गर्न चाहेनन् । तर, पछिल्लो केही महिना यता भने बैंकहरुमार्फत् ऋण लिएर व्यवसाय गर्ने अवस्थामा व्यवसायी देखिएका छन् । विशेष गरेर गत असारसम्म घरजग्गा र सेयर बजारमा कमै मात्र कर्जा लगानी गरेका बैंकहरुले साउन महिना लागेसँगै कर्जाको भोलुम बढाएर कम ब्याजमै ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुले सेयरधितो कर्जाको तुलनामा घरजग्गा क्षेत्रमा सस्तो ब्याजमा कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको साउनको तथ्यांक अनुसार बैंकहरुले घरजग्गामा औसत १२.४७ प्रतिशत ब्याजमा लगानी गरेका छन् भने सेयरधितो कर्जामा १२.९७ प्रतिशत ब्याजमा लगानी गरेका छन् । कुनै लगानीकर्ताले सेयरधितो राखेर १ करोड रुपैयाँ कर्जा लिन चाहन्छ भने उसले १ करोड कर्जाको वार्षिक १२ लाख ९७ हजार रुपैयाँ ब्याज रकम नै तिर्नु पर्ने हुन्छ । तर, लगानीकर्ताले सेयर नकिनेर १ करोडको कर्जा लिएर घरजग्गामा लगानी गर्छ भने उसलाई बैंकहरुले १२.४७ प्रतिशत मात्रै ब्याज लिएको देखिन्छ । त्यो भनेको १ करोड रुपैयाँ कर्जाको वार्षिक १२ लाख ४७ हजार रुपैयाँ हुन जान्छ । यहाँ व्यवसायीलाई सेयरभन्दा घरजग्गा क्षेत्रमा लगानी गर्नका लागि ५० हजार रुपैयाँ सस्तो पर्न जान्छ । गत आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुले १२.८९ प्रतिशत ब्याजमा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेका थिए । गत बैशाखसम्म औसत १४ प्रतिशतको हाराहारीमा रहेको सेयर धितो कर्जाको ब्याज जेठ र असारमा १३ प्रतिशतको हाराहारीमा कायम भएको थियो । तर, साउनमा ब्याज घटेर १२ प्रतिशतको हाराहारीमा झरेको हो । बैंकरहरुका अनुसार पछिल्लो समय ठूलो रकमको सेयर धितो कर्जाको माग बढ्न थालेको छ । राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेपछि सेयरधितो कर्जाको माग बढेको एक बैंकरले बताए । यस्तै, विगत एक वर्षको तथ्यांक हेर्दा सेयर कर्जाभन्दा घरजग्गा कर्जाको ब्याज सस्तो नै देखिन्छ । गत आर्थिक वर्षको साउनमा घरजग्गा कर्जामा बैंकहरुले औसत १२.४१ प्रतिशत ब्याजमा कर्जा लगानी गरेका थिए । गत वर्षको भदौमा औसत ११.८५ प्रतिशत, असोजमा १२.५ प्रतिशत ब्याजमा बैंकहरुले घरजग्गा कर्जा लगानी गरेको देखिन्छ । बैसाखयता घरजग्गा कर्जाको ब्याज निरन्तर घट्दै गइरहेको छ । ब्याज घटाएसँगै कर्जा रकम पनि बढ्न थाले राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । साउनमा बैंकहरुले २ खर्ब ८ अर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको देखिन्छ भने असारमा २ खर्ब २ अर्ब, जेठमा २ खर्ब १४ अर्ब, बैशाखमा २ खर्ब ११ अर्ब रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा लगानी गरेको देखिन्छ । कतिपयले भने घरजग्गा र सेयर बजारलाई बन्देज गर्ने किसिमका नीति बनाउन नहुने बताउँछन् । केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा सेयर लगानीकर्ता अम्बिका पौडेलले सेयर बजार र घरजग्गा क्षेत्रलाई बन्देजको नीति अघि सार्दा समस्या भएको धारणा राखेका थिए । ‘सरकार तथा नेपाल राष्ट्र बैंकले नीति निमार्ण गर्दा आफ्नो परिवेशको कमजोर मूल्याड्ढन र वाह्य परिवेशको अधिक मूल्याड्ढन पनि अहिलेको समस्याको कारण हो, हाम्रो अर्थतन्त्रको स्रोत रेमिटेन्स र रेमिटेन्सको लगानी घरजग्गा तथा सेयर अनि पछिल्लो समयमा सबैभन्दा प्रहार पनि त्यही क्षेत्रमा भइरहेको छ, घरजग्गा र सेयर कर्जामा पनि सधँै उदार हुनुपर्दछ भन्ने होइन तर अर्को क्षेत्रले प्रतिस्थापन गर्ने वातावरण नहुँदासम्म पूर्ण बन्देजको नीति पनि अर्थतन्त्र संकुचनको कारण हो,’ पौडेलले भनेका थिए ।

एनएमबि बैंकले १ अर्ब २१ करोडमा किन्यो काठमाडौंमा जग्गा

काठमाडौं । एनएमबि बैंकले आफ्नै स्वामित्वमा केन्द्रिय कार्यालय निर्माण गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर १ मा कर्पाेरेट कार्यालय भवन निर्माण गर्ने भएको जनाएको छ । बैंकका अनुसार १०५.५६२६ आना क्षेत्रफल जग्गामा आफ्नो कर्पाेरेट कार्यालय निर्माण गर्ने भएको हो । भवन निर्माण गर्ने उद्देश्यले बैंकले उक्त जग्गा र सो जग्गामा रहेका संरचना खरिद गरेको बैंकका कम्पनी सचिव प्रमोद कुमार दाहालले जानकारी दिए । उनका अनुसार उक्त जग्गा १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँमा खरिद गरेको हो । उक्त जग्गा बैंकको नाममा नामसारी तथा दाखिला खारेज भई आएपश्चात् उक्त रकम भुक्तान गर्ने निर्णय भएको कम्पनी सचिव दाहालले बताए ।

पोखरामा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र सुरु

फाइल तस्बिर कास्की । पर्यटकीय सहर पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुलबाट पृथ्वीचोकसम्मको सडक ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र गर्न सुरु गरिएको छ । पहिलो चरणमा महेन्द्र पुलबाट नयाँबजार हुँदै पृथ्वीचोकसम्मको डेढ किमी सडकमा अस्फाल्ट कालोपत्रको काम सुरु भएको छ । सङ्घीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले काम अघि बढाएको हो । अस्फाल्ट प्रविधिबाट निर्मित सडक टिकाउ हुने बताइन्छ । अमेरिकी प्रविधि अस्फाल्ट बलियो, महँगो र टिकाउ मानिन्छ । अस्फाल्ट पिच गर्दा चार सेमी मोटाइको पिच हुनुपर्दछ । स्थान हेरिकन चारदेखि १० सेमीसम्मको मोटाइएको पक्की हुने सडक डिभिजन कार्यालय पोखराका ओभरसियर रमेशराज पौडेलले बताए । उनका अनुसार डेढ किमी सडक अस्फाल्ट गर्नका लागि रु पाँच करोडमा ठेक्का सम्झौता भएको छ । सडक अस्फाल्ट गर्ने कामको जिम्मेवारी विवेक एण्ड कुवेर निर्माण सेवाले पाएको छ । बर्खाले काममा अवरोध नभएको खण्डमा १० दिनमा सबै काम सम्पन्न हुने बताइन्छ । ‘अस्फाल्ट प्रविधिको कालोपत्र सडक बढी टिकाउ हुन्छ । यातायातको बढी चाप हुने र पानी परिरहने पोखराजस्तो ठाउँमा यो प्रविधिको प्रयोग राम्रो मानिन्छ’ उनले भने। अस्फाल्ट गरिएको सडक पाँचदेखि सात वर्षसम्म टिकाउ हुने बताइन्छ । सडक डिभिजन कार्यालयले पोखराको विरौटाबाट पृथ्वीचोक र छोरेपाटनबाट विरौटासम्म पनि अस्फाल्टका लागि ठेक्का लगाए पनि बजेट अभावमा काम अघि बढेको छैन । पोखराका अन्य केही सडक पनि यसअघि अस्फाल्ट कालोपत्र गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइड, न्यूरोड, चिप्लेढुङ्गालगायतमा अस्फाल्ट कालोपत्र गरेका छन् । पोखराको जिरो किमीबाट विन्ध्यवासिनीसम्मको सडक पनि अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको छ । सडक डिभिजन कार्यालयअन्तर्गत पोखरा बजार क्षेत्रको २७ किमी सडक जिम्मामा रहेको छ । यससँगै पृथ्वीराजमार्ग, सिद्धार्थराजमार्ग र पोखरा बाग्लुङ राजमार्गसमेत सडकको जिम्मामा छ ।

विद्युत् महसुल नबुझाउने वीरगन्जका अठार सय ग्राहक कालोसूचीमा

वीरगन्ज । लामो समयदेखि विद्युत् महसुल नबुझाउने एक हजार आठ सय २३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारबाही अघि बढाइएकोे हो । कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ । टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारबाही अघि बढाइने प्रमुख दुबेले बताए। कालोसूचीमा रहेका ग्राहकबाट रु सात करोड ६५ लाख ५६ हजार सात सय ६३ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालय प्रमुख दुबेको भनाइ छ । लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा–बारा करिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युत्को उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष २०७९/८० मा विद्युत् चुहावट शून्य दशमलव पाँच प्रतिशतले बढेको छ । गत आव २०७८/७९ मा विद्युत् चुहावट चार दशमलव ९८ प्रतिशत रहेकामा आव २०७९/८० मा पाँच दशमवल ०३ प्रतिशत विद्युत् चुहावट भएको प्रमुख दुबेले जानकारी दिए । उनका अनुसार आव २०७९/८० मा विद्युत् महसुल नबुझाउने दुई हजार चार सय ६८ ग्राहकको विद्युत् लाइन काट्दा एक हजार नौ सय छ ग्राहकबाट ११ करोड ४० लाख ७२ हजार छ सय १५ बाँकी बक्यौता रकम असुली भएको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जका इन्जिनीयर निर्मला फौजदारले बताए । त्यस्तै सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत रु १२ लाख २४ हजार सात सय २४ राजस्व सङ्कलन भएको इन्जिनीयर फौजदारले जानकारी दिए । आव २०७९/८० मा दुई हजार चार सय ४२ नयाँ ग्राहक थपिएको छ । यो सँगै वीरगन्ज क्षेत्रमा ग्राहकको सङ्ख्या ५४ हजार दुई सय तीन पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले जनाएको छ ।

केवाईसी अद्यावधिक गराउन एसबिआई बैंकको आग्रह, ३० दिनभित्र नगरे खाता निष्कृय हुने

काठमाडौं । नेपाल एसबिआई बैंकले ग्राहक तथा वास्तविक धनी÷हिताधिकारीका ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गरी ३० दिन भित्र अनिवार्य रुपमा केवाईसी अद्यावधिक गराउन आग्रह गरेको हो । केवाईसी अद्यवधिक नगराएका खाता स्वतः निष्कृय हुने भएकाले समयमै खाता अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो । सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग)निवारण ऐन, २०६४ र नियमावली, २०७३ तथा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट जारी गरिएको निर्देशन बमोजिम ग्राहकहरुलाई केवाईसी अद्यावधिक गराउन आग्रह गरेको हो । ग्राहकहरुलाई एसएमएस एवं सार्वजनिक सूचना मार्फत पटक–पटक अनुरोध गर्दा समेत खाता अद्यावधिक नगराएका ग्राहकहरुको खाताहरु स्वतः निष्कृय भएको बैंकले जनाएको छ । त्यसैले सो खाताहरुको कारोबार सुचारु गर्न आफुलाई पायक पर्ने शाखामा सम्पर्क गरी अद्यावधिक विवरण एवं कागजात बैंकमा पेश गरी कारोबार सुचारु गराउन बैंकले अनुरोध गरेको हो । साथै, यसअघि अद्यावधिक गरेको विवरणहरु (जस्तै घर, कार्यालय, सम्पर्क ठेगाना, टेलिफोन, मोबाइल, कारोबार, पेशाव्यवसाय, स्वामित्व संरचना र व्यवस्थापन लगायत अन्य) मा परिवर्तन भएका खातावाला ग्राहकले पनि अद्यावधिक विवरण एवं कागजात बैंकमा पेश गर्न आग्रह गरेको छ ।

अर्थतन्त्रमा दबाब अवश्य थियो तर पछिल्लो समय सुधार हुँदैछ : अर्थमन्त्री डा महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले समस्याग्रस्त देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी–व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले भूकम्प, कोरोना महामारी र अन्तर्राष्ट्रियरूपमा भएको आर्थिक मन्दीका कारण नेपाली अर्थतन्त्रमा परेको दबाब सुधारोन्मुख रहेकाले दृढ आत्मविश्वासका साथ लगानी बढाउन आग्रह गरेका हुन् । “भूकम्प, कोरोना महामारी, अन्तर्राष्ट्रियरूपमा भइरहेको आर्थिक र द्वन्द्वको असर नेपालले पनि भोग्यो । अर्थतन्त्रमा दबाब अवश्य थियो तर पछिल्लो समय त्यसमा सुधार हुँदैछ । विप्रेषण प्रवाह, पर्यटकीय गतिविधिमा बढोत्तरी, बजेट अनुशासन कायम गरेर अगाडि बढ्ने सरकारको नीतिका कारण विस्तारै सुधार हुँदैछ”, अर्थमन्त्री डा महतले भने, “त्यसैले म विश्वासका साथ भन्छु नेपाली अर्थतन्त्र सुधारोन्मुख छ । आर्थिक क्रियाकलाप बढाउन सरकारको मौद्रिक नीति र बजेट अनुशासनले पनि काम गरिरहेको छ । त्यसबाट परिणाम आउन केही समय लागे पनि निराशाको अवस्थालाई आशामा बदल्न सरकार प्रयत्नशील छ । तपाईँ व्यापारी साथीहरू पनि आत्मविश्वासका साथ काम गर्नुस् ।” एनले देशमा आर्थिक क्रियाकलापमा बढोत्तरी नहुँदा राजस्व सङ्कलनमा समेत असर परेकाले विकासका पूर्वाधारमा पर्याप्त लगानी गर्न कठिनाइ भइरहेको बताए । “नेपालले सामाजिक सुरक्षामा गरेको प्रतिबद्धता, कर्मचारीको तलब तथा चालु खर्चजस्ता अन्य दायित्व पूरा गर्दै जाँदा पुँजीगत दायित्व वा विकासमा पर्याप्त लगानी गर्न सकिरहेको छैन । राजस्व वा आम्दानी बढ्न नसकेकाले यस्तो समस्या भएको हो । अब सबै पक्षले सकारात्मक पहल गरेमा यो अवस्थालाई सुधार्न सकिन्छ । त्यसका लागि म सबै सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु”, उनले भने । मधेस प्रदेशमा कृषि, पर्यटन र उद्योगको विकासमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले सुनकोसी मरिन कमला डाइभर्सनको काम द्रुतगतिमा अगाडि बढाएको र पूर्व–पश्चिम नहर प्रणालीको विकासका लागि उचित ध्यान दिने भन्दै अर्थमन्त्री डा महतले जलेश्वलाई अन्तर्राष्ट्रिय नाका बनाउन र जटहीलगायतका नाकाको स्तरोन्नति गर्न सरकारले पहल सुरु गरिसकेको पनि जानकारी दिए । प्रदेशको राजधानी जनकपुर क्षेत्रलाई औद्योगिक हबका रूपमा विकास गर्न पनि सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभा सांसद एवं नेकपा (एमाले) नेतृ जुलीकुमारी महतोले राज्यले उपेक्षा गरेका कारण मधेस प्रदेशमा विकासले गति लिन नसकेको भन्दै सरकारले अब यहाँका सम्भावनाको सदुपयोग गर्न ठोस नीति तथा योजना बनाउन सक्नुपर्ने धारणा राखिन् । नेपाली कांग्रेसका नेता एवं मधेस प्रदेशसभा सदस्य रामसरोज यादवले सङ्घीयताको मर्मअनुसार विकास निर्माणदेखि अन्य कानुनी जटलिता फुकाउन सङ्घीय सरकारले पहलकदमी लिनुपर्ने बताए । त्यसैगरी नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले जनकपुरको विकासका लागि गुठीको जग्गा व्यवस्थापन र मधेसको विकासका लागि कृषि सिँचाइलाई लक्षित गरी पूर्व–पश्चिम नहर प्रणालीको विकासमा सरकारले लगानी गर्नुपर्ने बताए । त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, पूर्वप्रमुख बजरङ्गप्रसाद साह, जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष निर्मलकुमार चौधरी, वर्तमान अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतले जनकपुरधाम र मधेसको विकासका पूर्वाधार विकासमा लगानी र लगानीको वातावरण निर्माण गर्न उद्योगीका समस्या समाधानमा ध्यान दिन सरकारलाई आग्रह गरे । उनीहरुले महोत्तरीको जलेश्वर भिठ्ठामोड नाकालाई अन्तर्राष्ट्रिय भन्सार नाकाका रूपमा विकास र धनुषाको जटही नाकाको स्तरोन्नति, बैंकबाट सहजरूपमा ऋण लिने अवस्था र सस्तो ब्याजदर, गुठीको जग्गा व्यवस्थापन र जनसङ्ख्याको आधारमा बजेटको न्यायोचित बाँडफाँटमा ध्यान दिन अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

विमानस्थलबाट साढे २ किलो सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ किलो ७२० ग्राम सुनसहित एक जना फिलिपिन्सकी महिलालाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट शुक्रबार राति काठमाडौँ आएकी फिलिपिन्सकी अन्दाजी ३१ वर्षीया अनालङ अरोन्स रोविकनलाई पक्राउ गरिएकोे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले राससलाई जानकारी दिइन् । उनका अनुसार पक्राउ परेकी निज महिलाले आफ्नो भित्री वस्त्रमा ५ पोका प्लास्टिकसहित २ केजी ७२० ग्राम सुन मिसिएको पाउडर लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डको कार्यालयबाट खटिएको सादा पोशाकको टोलीले सामानसहित पक्राउ गरी थप अनुसन्धानका लागि गौशाला पठाएको थियो । प्रहरीले हाल उक्त सुन र सुन ल्याउने निज फिलिपिन्सकी महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको प्रहरी नायब महानिरीक्षक चन्दले बताए । स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ जिल्ला प्रहरी परिसरअन्तर्गत रहेको प्रहरी बृत्त दरबारमार्गको टोलीले काठमाडौँ महानगरपालिका–२७ ज्याठा चोकबाट स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी घर भई हाल ललितपुर सानेपा बस्ने ४० वर्षीय रुपेश गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए । उनका अनुसार ज्याठा चोकमा दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बा९१प ९९५८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिक्कीभित्र रहेको ब्यागमा नगद रु १० लाख फेला पारी स्कुटर चालक गुप्तालार्ई गए राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

६ बुँदे सहमति गरेर चिकित्सकहरुले फिर्ता लिए आन्दोलन

काठमाडौं । नेपाल सरकार र चिकित्सकबीच आज भएको वार्ता सहमतिमा टुङ्गिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, त्यसका लागि सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने, दोषीलाई कानुनअनुसार कारबाही गर्ने, कानुन संशोधन गरेरै भए पनि दोषीलाई हदैसम्मको कारबाहीका गर्ने र त्यसका लागि आवश्यक कानुन संशोधन प्रक्रिया अघि बढाउने, कुटपिट र दुव्र्यवहारका घटनाको कारक पत्ता लगाउन उच्चस्तरीय कार्यदल गठन गर्ने र आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । पछिल्लो समय पोखरा, चितवन, हेटौँडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटनलगायतका अस्पतालमा चिकित्सकमाथि भएको दुव्र्यवहारका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्नेलगायतका माग सङ्घर्ष समितिले राखेको थियो । सहमतिपत्रमा स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दीपेन्द्ररमण सिंह र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिकाको संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गर्नुभएको छ । सहमितसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।