स्लाइसमा अखाद्य वस्तु भेटिएपछि महानगरले तिरायो दुई लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्लाइस उत्पादन कम्पनी बरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । कम्पनीले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि महानगरले कारवाही स्वरुप दुई लाख रुपैयाँ बराबरको जरिवाना तिराएको हो । बजार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका-३२ स्थित कालिमाटीमा सञ्चालित एक पसलमा बेच्न राखिएको स्लाइसमा अखाद्य वस्तु भेटिएको महानगरले जनाएको छ । त्यस्तै, महानगरले कारवाही बाहेक विभिन्न तीन वटा निर्देशन समेत दिएको छ । महानगरले आखाद्य वस्तु बजारमा जानुपूर्व फिर्ता लैजाने व्यवस्था गर्न, प्याकिङ पछि रसायनिक, भौतिक दुर्व रुपमा गुणस्तर कायम गर्न र अखाद्य स्लाइसको लटमा बजार गइसकेको गुणस्तरहिन उत्पादन भएको भएका पुनः परीक्षण गर्न बरुण वेभरेजलाई निर्देशन दिएको छ ।
ब्रोकर नं. ७४ को प्रथम वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल धितोपत्र बाेर्डबाट सिमित कार्य गर्न अनुमति प्राप्त स्टक ब्रोकर कलश स्टक मार्केट (ब्रोकर नम्वर ७४) को कम्पनी स्थापनाको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । सो कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७९।६।१३ गते दर्ता भएको थियो । कम्पनीले हालै मात्र आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरी नेतृत्व समेत चयन गरी सकेको छ । साधारण सभाले शेयरधनी प्रदिप के.सी.को अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिका अन्य पदाधिकारीहरुमा उद्धवराज पौड्याल, डिल्लीराम बांस्तोला, विलाल अधिकारी सञ्चालक सदस्य रहेका छन् भने शालिकराम अधिकारीलाई प्रवन्ध सञ्चालकको जिम्मेवारी तोकिएको छ । कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राम कुमार के.सी. को प्रमुख आतित्थ्यतामा यहि २०८० असोज ६ गते सो साधारण सभा सम्पन्न भएको थियो । प्रथम साधारण सभामा कार्यकारी अध्यक्ष शालिकराम अधिकारीले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, कम्पनीको प्रगती विवरण, भावी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्था समेतका विषयमा प्रस्तुती गरेका थिए । प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम कुमार के.सी .ले विभिन्न आरोह अवरोह पार गरी कार्य सञ्चालन प्रारम्भ गरेकोमा बधाई दिंदै कम्पनीले ग्राहक मैत्री नीति अबलम्वन गरी नेपाली धितोपत्र वजारमा एक सफल र नमुना ब्रोकर कम्पनीकोरुपमा स्थापित हुन सफलता मिलोस् भनि शुभकामना दिए । यही २०८० भदौं १० गते काठमाडौं महानगरपालिका वडा नं १० बुद्धनगर स्थित कम्पनीको कार्यालयमार्फत विधिपुर्वक सेवाको शुभारम्भ गरेको कलश स्टक मार्केटले कार्य सञ्चालनको पहिलो महिनामा नै उल्लेख्य संख्यामा ब्रोकर खाता, डिम्याट खाता र मेरो शेयर सुविधा द्वारा आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरी रहेको छ । यस कम्पनीले प्रचलित कानुनको पुर्ण पालना र धितोपत्र बजारका क्षेत्रका आधारभुत मुल्य मान्यताहरुलाई आत्मसाथ गर्दै ग्राहकको सन्तुष्ठीलाई नै केन्द्रमा राखेर पारिवारिक वातावरणमा शिघ्र, सर्वसुलभ, विश्वसनीय प्रविधिमैत्री धितोपत्र दलाल सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । भविष्यमा आवश्यक प्रकृया पुरा गरी पोखरा, वुटवल, नेपालगंज, विराटनगर लगायत प्रमुख शहरहरुमा शाखा विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । साथै शेयर सम्बन्धमा जनचेतना जागृत गर्न संभाव्य स्थानहरुमा शेयर सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने सोच रहेको पनि कम्पनीले जनाएको छ ।
होटल व्यवसायलाई उद्योगको सुविधा दिन माग
काठमाडौं । पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगतको उक्त समितिले महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु वस्नेत (अजित) लगायतका उद्योगी व्यवसायीहरुले उद्योग मन्त्री रमेश रिजाललाई भेट गरी होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिनमा माग गरेको हो । ‘व्यवसायीले होटल क्षेत्रमा ठूलो पुँजी गानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मूलूकको कूल गार्हस्थ उत्पादनमा समेत टेवा पुन्याएको छ,’ मन्त्री रिजाललाई ज्ञापन पत्र बुझाउँदै समितिका सभापति बस्नेतले भने, ‘तसर्थ यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरह मान्यता दिन आग्रह गरेको छ ।’ अर्थतन्त्र र गन्तव्य विकासमा होटल क्षेत्रको विशेष योगदान रहेको भन्दै यस क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण नगरी राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिन उक्त समितिको माग छ । साथै होल क्षेत्रले पर्यटकिय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै दिगो पर्यटन र हरित पर्यटन सम्बन्धमा होलको विशेष योगदान हुने वस्नेतले जानकरी दिए । साथै सोका लागि होटल व्यवसायका लागि विद्युतको सहुलियत दर रेट करमा विशेष छुट सहित उद्योग सरहको सुविधा उपलब्ध गराउन उक्त समितिले आग्रह गरेको छ । समितिले होटल व्यवसायमा विदेशी लगानी भित्र्याउन हाल भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ परिमार्जन गर्नुपर्ने माग अघि सारेको छ । ‘अहिले ऐनमा व्यवस्था भए अनुसार कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क बढी नहुने गरी पठाउन मात्र पाउने प्रावधानले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन देखिन्छ,’ समितिले मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ,’ ‘अन्तरराष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशत भन्दा कम मूल्यमा सञ्चालन नगर्ने भएकाले सो क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिँदैन ।’होटल व्यवसायमा विदेशी ब्राण्ड र लगानी बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन ऐनमा भएको उक्त प्रावधान तत्काल हटाउनुपर्ने बस्नेतले बताए । उद्योग मन्त्री रमेश रिजालले प्रतिनिधिमण्डलको ज्ञापन पत्रको अध्ययन गर्ने र समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने गरी प्रतिवेदन तयार गर्न सचिव र महानिर्देशकलाई अनुरोध पनि गरेका छन् । मन्त्री रिजालसँगको भेटमा पर्यटन तथा हवाई समितका सल्लाकार तथा सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।
नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु
फाइल फोटो म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी शहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चार जनाको शव फेला परेको उद्धारमा संलग्न आपतकालीन सेवाका एक जना उद्धारकर्ताले एएफपीलाई बताए । वारुणयन्त्रका कर्मचारी तथा स्थानीय सङ्घसंस्था आगो निभाउन, खोज तथा उद्धारमा अहिले पनि सक्रिय छन् । आपतकालीन सेवाका कर्मचारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूमा पानीको फोहोराबाट आगो निभाइएको, क्लबबाट धुँवाको मुस्लो निस्किएको देखिन्छ । रासस/एएफपी
सिटी एक्सप्रेसको अफर : विदेशबाट पैसा पठाउनेलाई उपहार, एकजनाले १० गुणा पाउने
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ठूला चाडपर्वलाई लक्षित गर्दै विशेष स्किम घोषणा गरेको छ । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकसँग खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरिएको बताएको हो । विशेष स्किम घोषणा कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बास्डर जितु नेपालको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई जनही १००,०००(एकलाख), हरेक हप्ता ५ जनालाई जनही २५,००० तथा ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५०० रूपैयाँको वालेट टपअप र अन्त्यमा एक भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी पाउने बताइएको छ । कम्पनीकाअनुसार यस ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें’ अफर असोज १५ देखि मङ्सिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनसक्नेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले बताएकाे छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
दोलखाबाट ४ किलो सुन बरामद
काठमाडौं । दोलखाबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । प्रहरीले बिगु गाउँपालिका–१, लामबगरबाट सुन बरामद भएको जनाएको छ । दोलखाबाट प्रहरीले केही दिनअघि ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो । योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ । प्रहरीका अनुसार यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो । यो सधैं बन्द रहने नाका भएपनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरु आवतजावत गर्ने गरेका छन् ।
टिप्पणी : स्वास्थ्य क्षेत्रमा समस्या एउटा, उपचार अर्कै
काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कुटिएको विषयलाई लिएर आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति र सरकारबीच आन्दोलनको पाँचौ दिनमा ६ बुँदे सहमति भयो । तर, सहमति भएको भोलिपल्टै आइतबार फेरि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा इन्टर्न गरिरहेका चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरे । प्रहरीले चिकित्सकमाथि हातपात गर्ने गुल्मीका २२ वर्षीय रुपक गौतम र ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरिसकेको छ । उनीहरुले कलेजको नेफ्रोलोजी ओपिडीमा निश्चित डाक्टरको नाम लिएर बिरामीलाई उपचारको लागि आएको भन्दै भित्र पस्न खोजेका थिए । भिड भएका कारण चिकित्सकले एकछिन बाहिर रहन भन्दा उनीहरू कुटपिटमा उत्रिएको बुझिएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट तथा हातपातको यो नौलो घटना भने होइन । पछिल्लो समय एकपछि अर्का घटना बाहिरिरहेका छन् । देशका विभिन्न स्वास्थ्य संस्थाका चिकित्सकहरु पीडित बनिरहेका छन् । तर, यो समस्याको समाधानमा सरकारले तदारुकता देखाउन सकेको छैन । समस्याको पहिचान गरेर पनि त्यसको समाधानका लागि काम गरेको देखिँदैन । पछिल्लो १५ दिन भित्र मात्रै सरकार, आन्दोलनकारी चिकित्सक र स्वास्थ्यकर्मी बीच दुईपटक सम्झौता भइसकेको छ । तर, सम्झौता गर्दैमा र अभियुक्तलाई गिरफ्तार गर्दैमा घट्ना घट्दैन भन्ने अवस्था भने देखिएको छैन । दोस्रो सम्झौता भएको भोलिपल्टै घटेको यो घटनाले त्यसको पुष्टि गरेको छ । समस्या एउटा उपचार अर्कै चिकित्सक तथा स्वास्थ्यकर्मी कुटपिटको विषयलाई लिएर आन्दोलनको नेतृत्व गरेको नेपाल चिकित्सक संघ र सरकारबीच गत भदौ ३१ मा ६ बुँदे सम्झौता भयो । त्यसको लगत्तै फेरि देशका विभिन्न स्थानमा चिकित्सकहरुमाथि कुटपिट तथा हातपातका घटना नरोकिएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ नै बनाएर आन्दोलन सुरु गरे । सोही पक्षसँग सरकारले शनिबार फेरि ६ बुँदे सहमति गर्याे । सरकार र आन्दोलनकारी बीच दुईपटक नै भएका सम्झौताहरु भने समस्याको कारण भन्दा बाहिर देखिएका छन् । चिकित्सकहरुले पनि समस्याको कारणलाई समाधान गर्न माग अगाडि नबढाउने र सरकारले पनि मुल समस्यालाई समाधान गर्न नचाहेको सम्झौताले प्रष्ट गर्छ । चिकित्सकहरुको आन्दोलनलाई सम्बोधन गर्न शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री सहितका अधिकांश वक्ताहरुले जनसंख्याको अुनपातमा चिकित्सकको संख्या नहुँदा बिरामीका आफन्त तथा बिरामीहरु आवेगमा आएर प्रतिवादमा उत्रिने गरेको धारणा राखे । सो बैठकमा चिकित्सक कुटपिट हुनुको मुख्य कारण जनसंख्याको बढ्दो अनुपातमा जनशक्ति, अस्पताल र प्रविधिको व्यवस्था नभएको वक्ताहरुले बताएका थिए । बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या दरबन्दीको व्यवस्थापन नगरी गर्न नसकिने बताए । उनले अहिलेकै दरबन्दी कायम राखेर देखिएका समस्या समाधान गर्न नसकिने समेत धारणा व्यक्त गरे । ‘दरबन्दी यही राखेर हामीले जे नीति, कानून बनाएपनि (चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई ईंगित गर्दै) हामीले यस्ता समस्या समाधान गर्न सक्दैनौं’, मन्त्री बस्नेतले भने । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनेको ८ वर्ष पुगिसक्दा समेत ४ सय ७ वटा स्थानीय तहमा चिकित्सक भएका स्वास्थ्य संस्था छैनन् । मन्त्री बस्नेतले अहिलेकै अवस्थामा भएको दरबन्दी अनुसारका चिकित्सकहरुपनि आवश्यक क्षेत्रमा खटिन नमान्ने र पहुँचको दुरुपयोग गरेर काजमा नै बस्ने कारणले स्वास्थ्य क्षेत्रमा समस्या देखिएको बताएका थिए । विशेषगरी राजधानीका निश्चित अस्पतालमा पहुँचवाला चिकित्सकहरु केन्द्रित हुने र ग्रामिण क्षेत्रका अस्पतालमा चिकित्सक नहुँदा सीमित अस्पतालहरुमा भिडभाडको स्थिति देखिएको बैठकमा सहभागी अन्य वक्ताहरुको समेत भनाइ थियो । नेपाल आवासीय डाक्टर एशोसिएसनका अध्यक्ष डा. कपिल गौतमले नेपालमा चिकित्सकहरुको उत्पादनमा कमि नभएपनि डेढ लाख जनसंख्या बराबर एक जना चिकित्सकले उपचार गर्नु परेको बताए । एक जना आवासीय चिकित्सकले निरन्तर ४० घण्टासम्म ड्युटी गर्नु परेको अवस्थामा डाक्टरको निद्रा र प्यासलाई कसैले नहेरेको भन्दै पस्डा व्यक्त गरे । विश्व स्वास्थ्य संगठनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिएक हजार जनसंख्या बराबर एक जना चिकित्सक हुनु पर्ने मान्यता अगाडि सारेको छ । तर, नेपालमा प्रतिडेढ लाख जनसंख्या बराबर एक जना चिकित्सकले काम गर्नु पर्ने अवस्था रहेको शुक्रबार भएको समितिको बैठकमा बोल्ने चिकित्सक र सांसदहरुले बताएका थिए । एक दिनको ओपिडी समयमा ८० जना सम्म बिमारी हेर्नु पर्ने अवस्थाले बिमारी र बिमारीका आफन्तलाई रोगको बारेमा बुझाउन नसकिएको चिकित्सकहरुले गुनासो राखेका थिए । तर, संसदको समितिमा उठेको मूल विषय वा समस्याको कारण सम्बोधन गर्ने विषय शनिबार भएको सम्झौतामा उल्लेख नै भएको पाइँदैन । सम्झौतामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई भरपर्दो बनाउने, स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुविधाको विषयमा अध्ययन गर्ने, कुटपिटका घट्नाको कारक तत्व पहिचान गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने लगायतका विषयहरु उल्लेख छन् । तर, मन्त्री, सांसद र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य क्षेत्रमा देखिएको समस्याको मूल कारणलाई भने सम्बोधन गर्ने प्रत्यक्ष वाक्यांश दुवै पटककाे सम्झौतामा उल्लेख गरिएन । जसकारणले समस्यालाई वास्तविक रुपमा सम्बोधन गर्न सरकार र चिकित्सक तथा स्वास्थ्यकर्मी दुवैले नचाहेका हुन कि भन्ने बुझ्न सकिन्छ ।
एक अर्बमा चन्द्रागिरिमा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुँदै
काठमाडौं । जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका लागि जर्मन विकास बैंक (केएफडब्लू)ले बजेट निकासाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ । चन्द्रागिरि– ४ स्थित थानकोटमा एक अर्ब लगानीमा निर्माण हुने अस्पतालका लागि जर्मन सरकारद्वारा परामर्शदाता तथा प्राविधिक छनोट भइसकेको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र केएफडब्लूका प्रतिनिधिमण्डल बीचमा सम्पन्न बैठकमा केएफडब्लू प्रतिनिधिले नगरप्रमुखलाई उक्त जानकारी गराएको हो । केएफडब्लूका प्रतिनिधिले अस्पताल बन्ने स्थानको स्थलगत अवलोकनसमेत गरेको नगरप्रमुख गिरीले जानकारी दिए । सो अवसरमा नगरप्रमुख गिरीले अस्पताल बनाउन नगरपालिकाले हालसम्म गरेको काम र अगामी दिनमा गर्नुपर्ने समन्वय र सहजीकरणबारेमा प्रतिनिधिलाई जानकारी गराएका थिए । नगरप्रमुख गिरीले अस्पताल बनाउन नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट २३ रोपनी जग्गा प्राप्तिको प्रक्रिया टुङ्गो लगाइसकिएको केएफडब्लुका प्रतिनिधिलाई जानकारी गराएका थिए । सो अवसरमा उनले थानकोटमा नगरपालिकाले २५ श्ययाको ‘डायलासिस’ सेवासहितको अस्पताल बनाउन बोलपत्र प्रक्रिया सकेर निर्माण सुरु गरिसकेको बताए । अस्पतालको भवन करिब १९ करोडको लागतमा बन्न लागेको हो । बैठकमा प्रतिनिधिमण्डलले नगरप्रमुखलाई प्रसूति विशेषज्ञ अस्पताल बनाउन ‘केएफडब्लू’बाट बजेट निकासाका लागि आवश्यक प्रक्रिया अगाडि बढ्न लागेको र जर्मन सरकारले परामर्शदाता तथा प्राविधिक पनि छनोट गरिसकेको जानकारी दिएको थियो । साथै यही साता नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अर्थ मन्त्रालयसँग केएफडब्लूले थप सम्झौता प्रक्रिया अगाडि बढाउन लागेको जानकारीसमेत दिएको नगरप्रमुख गिरीले बताए । बैठकमा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी तथा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको पनि सहभागिता थियो । विशेषज्ञ अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने लक्ष्य राखिएको छ । नगरपालिकाको समन्वय र सहकार्यमा नेपाल सरकार र केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेका थिए । नगरप्रमुख गिरीले भने, ‘निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौँ । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ । विशेषज्ञ अस्पताल बनेपछि यस क्षेत्रको स्वास्थ्य सेवामा नयाँ आयाम थपिनेछ ।’ विशेषज्ञ अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पु¥याउने लक्ष्य लिइएको छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पु¥याउने अपेक्षा गरिएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ श्ययाका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ । अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवारनियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ । रासस