विकासन्युज

विश्वभरका स्टेम सेल, रिसर्चर र चिकित्सकबीच सहकार्य गर्न मेडिसिटी सम्मेलन

काठमाडौं । नेपालमा पहिलो पटक रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलन नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । नेपाल मेडिसिटी, नेपाल एसोसिएसन फर द स्टडी अफ पेन (एनएएसपी), एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिका (एएनपीए) र अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिन (एबीआरएम) को संयुक्त सहकार्यमा अक्टोबर ६ र ७ मा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो । विश्वभरका स्टेम सेल विशेषज्ञहरू, रिसर्चर र चिकित्सकहरु बीचको सहकार्य र अनुभव आदान प्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको मेडिसिटीले जनाएको छ । रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलनले यस क्षेत्रका विशेषज्ञहरूबीच छलफल र प्रस्तुतीकरणहरू निर्माण गर्नको लागि महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको छ । स्टेम सेल विज्ञान तिब्र गतिमा अगाडि बढिरहेको हुदा यो सम्मेलन चिकित्सकहरुको लागि अनुभव तथा सो क्षेत्रमा भएका नवीनतम विकासको आदान प्रदानको लागी एक महत्वपूर्ण बैठक बिन्दु बनेको जनाईएको छ । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीले विभिन्न अन्तर्राष्ट्रिय संघसंगको संयुक्त सहकार्यमा यस स्तरको सम्मेलन आयोजना गरिएको जानकारी दिए । उनले नेपालमा नै रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्बन्धि शिक्षा र सुविधा उपलब्ध गराउनका लागि अस्पतालले जोड दिएको दाबी गरे । अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिनका प्रतिनिधि डा. रोजिना बादल मुनीरले रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल अनुसन्धानका विज्ञहरूसँगै आउन र यस क्षेत्रको वर्तमान अवस्थाबारे छलफल गर्ने सम्मेलन एउटा सुबर्ण अवसर बनेको बताए ।

सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई काठमाडौं महानगरले सहयोग गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गर्ने भएको छ । कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा शिवराज अधिकारीका अनुसार नयाँ सार्वजनिक शौचालय बनाउन तथा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थालाई सहयोग गरेर नागरिकलाई सहज सार्वजनिक शौचालयको पहुँच पु¥याउने तयारी रहेको छ । ‘यसका लागि ३२ वटै वडाले इच्छा भएको संस्थाको विवरण सङ्कलन गरेर केन्द्रमा पेस गर्न भनिएको छ, उनले भने । कामपाले विगत छ वर्षदेखि नागरिकलाई सहज रुपमा सार्वजनिक शौचालय प्रयोग गर्न सक्ने वातारण बनाउने भने पनि हालसम्म सबैतिर सार्वजनिक शौचालयको पहुँच नपुगेको डा अधिकारीले बताए । ‘भएकालाई नियमित गर्ने, सम्झौता भएकाहरुको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडालाई नै जिम्मा दिइएको छ, उनले भने । हाल कामपाको क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालयको सूची रहे पनि अधिकांशमा सरसफाइ र पानीकोसमेत व्यवस्था नहुँदा प्रयोग गर्न मिल्ने अवस्थामा नरहेका अधिकारीको भनाइ थियो । उनका अनुसार यसलाई रुपान्तरण गरेर सफा, दुर्गन्धरहित, व्यवस्थित, उज्यालो, हात धुने साबुन, पानीको व्यवस्था भएको शौचालय उपलब्ध गराउने उद्देश्यले कामपाले इच्छुक संस्थालाई सहयोग गर्ने योजना बनाएको हो । ‘विसं २०७९ को प्रारम्भमा व्यक्तिगत तथा संस्थागत रुपमा चलेका एक सय २० शौचालयलाई सार्वजनिक बनाउन सम्झौता भएको छ’, अधिकारीले भने, ‘तिनीहरु कसरी चलेका छन् सक्रिय र नियमित रुपमा सञ्चालन गर्न के गर्नुपर्छ भन्ने विषय अघि बढाइएको छ ।’ उनका अनुसार सहरी क्षेत्रमा हरेक पाँच सय मिटर दूरीमा एउटा सार्वजनिक शौचालय उपलब्ध गराउनुपर्ने नीति रहे पनि कामपाको हकमा त्यो कार्यान्वयन भएको छैन । वडाबाट सञ्चालन भएका शौचालय नियमित र व्यवस्थित गर्ने, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत व्यक्ति, बैङ्क, वित्तीय संस्था र कार्यालयबीच सहकार्य तथा टोल सुधार समितिको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन गर्ने एकाइको तत्कालको योजना रहेको इकाइका प्रमुख डा अधिकारीले जानकारी दिए । ‘सार्वजनिक शौचालय निर्माणका लागि सहरी योजना आयोगले नक्सा बनाएको छ । यसलाई आधार मानेर वडा र एकाइले नयाँ ठाउँमा शौचालय निर्माण गर्नेछन् । यसमा निजी तथा सार्वजनिक क्षेत्रको लगानी उपयोग गरिने छ’, उनले भने ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटः सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शनिवार भएको भेटमा सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भएको हो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । उनले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने तथा सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा छलफल भएको जानकारी दिए । अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँगको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसदमा सम्बोधन गर्नेबारेमा पनि छलफल भएको बताए ।

चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प

फाइल फोटो काठमाडौं । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ । आजको भूकम्प गत मङ्गलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको छ दशमलव तीन म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन् । वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ । आजको भूकम्प मङ्गलबार गएको भूकम्पको पराकम्प रहेको उनको भनाइ छ । “सन् १५०५ यता त्यहाँ ठूलो भूकम्प गएको छैन । त्यसैले त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित भएको छ । दुईवटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो”, वरिष्ठ भूकम्पविद् कोइरालाले भने, “मङ्गलबार मझौला खालको भूकम्प गएकामा त्यसका पराकम्प अझै आइरहेका छन् । अझै केही दिन यस्ता पराकम्प आउन सक्छन् ।” सुदूरपश्चिम क्षेत्रमा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठूलै भूकम्प जानसक्ने अनुमान गरिएको छ । स–साना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठूलो कम्पनको सङ्कट टर्ने कोइराला बताउँछन् । भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर यही असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो । पाँच दशमलव तीन म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रविन्दु बनाएर छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै असोज १६ गते दिउँसो ३ बजेर १३ मिनेटमा तेस्रो, ३ बजेर ४५ मिनेटमा चौथो, ४ बजेर २८ मिनेटमा पाँचौँ, ४ बजेर ३१ मिनेटमा छैटौँ, पाँच बजेर १९ मिनेटमा सातौँ, पाँच बजेर ३८ मिनेटमा आठौँ पटक धक्का महसुस भएको थियो । असोज १७ गते राति १२ बजेर १६, १२ बजेर ५०, बिहान ४ बजेर २७ र ५ बजेर ४३ मिनेटमा भूकम्पन गएको थियो । बिहीबार राती १० बजेर ५१ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोयनीयताको शपथ लिएका थियो । कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा (एमाले) का उपसभामुखसहित ४०, नेकपा माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार, जसपा एक र राप्रपाका छ जना प्रदेशसभा सदस्य छन् । सत्तापक्ष नेकपा ९एमाले० नेतृत्वको सरकारलाई नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार सरकारलाई विश्वासको मत नदिने सार्वजनिक गरिसकेको छ भने अन्य पार्टीले विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेका छैनन् ।

बागलुङमा उपभोक्ताको रोजाइमा मुस्ताङको स्याउ, नगरपालिकाले नै गर्याे मूल्य निर्धारण

बागलुङ । मुस्ताङको स्याउ भित्रिन थालेपछि बागलुङमा फलफूलको बजार फस्टाउन थालेको छ । असोज लागेसँगै मुस्ताङको स्याउले बागलुङमा बजार पाउन थालेको छ । पछिल्लो समय यहाँका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ देखिन्छ । अधिकांश उपभोक्ताले मुस्ताङको स्याउ खोज्ने भएकाले अन्य स्याउको तुलनामा असोज लागेपछि यसको कारोबार बढी हुन थालेको फलफूल व्यापारी शङ्कर रेग्मीले बताए । उनका अनुसार स्याउको माग अत्यधिक भएका कारण बागलुङ नगरपालिकाले उपभोक्ताको हितका लागि मुस्ताङको स्याउको मूल्य निर्धारण गरेको छ । अन्य स्याउको तुलनामा सस्तो र स्वादिष्ट भएकाले छिमेकी जिल्लाको स्याउको माग यहाँ उच्च रहेको उनको भनाइ थियो । अघिपछि भारत र चीनबाट आएको स्याउ बिक्री गर्ने यहाँका व्यापारीले समेत असोज लागेपछि मुस्ताङको स्याउको ठूलो मात्रामा कारोबार गरिरहेका छन् । दसैँ र तिहारमा कोसेलीका रुपमा स्याउलाई प्रमुख मानिँदै आएकाले बागलुङमा मुस्ताङको स्याउ ‘ब्रान्ड’ बनेको स्थानीय उपभोक्ता हरिश आचार्यले बताए । “मुस्ताङको स्याउ भनेपछि अलग्गै हुन्छ, नजिकमा उत्पादन भएको हुनाले समेत होला यहाँका धेरै उपभोक्ताले असोज लागेपछि मुस्ताङको स्याउ पाएसम्म अरू खरिद गर्दैनन्”, उनले भने, “बागलुङ बजारका हरेक फलफूल पसलमा मुस्ताङको मात्रै स्याउको माग छ, बागलुङ नगरपालिकाले स्याउको मुल्य समेत निर्धारण गरेको छ, जसले चाडबाडमा स्याउमा कालोबजारी गर्न रोकिन्छ ।” दसैँ–तिहारको नआउँदै मुस्ताङको स्याउको अहिले नै अर्डर आउन थालेको फलफूल व्यापारीले बताएका छन् । दसैँमा मुस्ताङको च्याङ्ग्रासहित स्याउ कोसेली लैजाने गरेको पाइन्छ । हालसम्म बागलुङमा च्याङ्ग्रा भने भित्रिएका छैनन् । दसैँ तिहारलाई मुस्ताङमा भ्रमणको उपयुक्त सिजनका रुपमा लिने गरिन्छ । मुस्ताङ भ्रमणमा पुगेका अधिकांशले फर्कने समयमा मुस्ताङको स्याउ र च्याङ्ग्रा लिएर फर्कने गरेका स्थानीय बताउँछन् । बागलुङसहित म्याग्दी, मुस्ताङ, पर्वत लगायतका जिल्लामा कोसेलीका रुपमा मुस्ताङ्गी स्याउ निकै प्रयोगमा आउने गरेको व्यापारी रेग्मीले बताए । अहिले बजारमा मुस्ताङको स्याउको कारोबार सुरु भइसकेको उनको भनाइ थियो । “अघिपछि भारत र चीनको स्याउ बढी बिक्री हुन्छ, एक हप्ता भयो मुस्ताङको मात्रै स्याउ बिक्री भइरहेको छ, चाडपर्व भित्रिन थालेपछि फलफूलको माग बढ्न थालेको हो”, रेग्मीले भने, “अब तिहारसम्म मुस्ताङको मात्रै स्याउ बिक्री हुन्छ, स्वादिष्ट भएर पनि होला उपभोक्ताको माग पनि यही स्याउमा बढी छ ।” दसैँ–तिहारमा छुट्टीमा घर जान लागेका कर्मचारीका परिवारले स्याउ र आलु ल्याउन आग्रह गर्ने गरेको फलफूल व्यापारीले बताउँदै आएका छन् । बागलुङ सरुवा भएर आउने जुनसुकै कर्मचारीलाई घरबाट मुस्ताङको स्याउ, ढोरपाटनको आलु र ताराखोलाको भाङ्गो किनेर ल्याउने सुझाव आउने गरेको उनीहरु बताउँछन् । रासस

गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्म निःशुल्क

चितवन । खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क प्राप्त गर्ने भएका हुन् । नगरपालिकाले ‘उप(प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार’ कार्यक्रममार्फत यस्तो सुविधाको उपलब्ध गराएको हो । नगर प्रमुख शशीकुमार खनियाले उपप्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रमले मातृ तथा नवजात शिशु मृत्यु दरलाई घटाउन महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रमको सफलता र निरन्तरताका लागि कर्मचारीलगायत सरोकारवाला सबै पक्षको साथ, सहयोग र समन्वय आवश्यक हुने बताउँदै उनले आमाहरूको स्वास्थ्य र सुरक्षामा यो सेवा कोसेढुङ्गा सावित हुने बताए । उपप्रमुख कविता उप्रेतीले गर्भवतीको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरेको बताइन । गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रमलाई नगरपालिकाको वार्षिक कार्यक्रममा समेटेर कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । नगरपालिका बजेटमा नै व्यवस्था गरेर कार्यक्रम अघि बढाएको हो ।

आइतबारदेखि सुपथ मूल्यका पसल सञ्चालन हुने, कति पाइन्छ छुट ?

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै आइतबारदेखि सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले विभिन्न स्थानमा उक्त पसल सञ्चालन गर्नेछन् । काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङमा सुपम मूल्यका पसल सञ्चालन हुनेछन् । यस्तैगरी, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहनेछन् । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।