विकासन्युज

गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन थालियो

काठमाडौं । कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो । टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आउनुभएको छ । तालिमपछि धुपबत्ती र दियो बनाउन धमाधम भइरहेको बताइएको छ । पहिलो चरणमा सय ‘प्याकेट’ निर्माणपछि बजारमा बिक्री गर्ने तयारी रहेको सदस्य उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । “गाईको गोबर प्रयोग गरी बनाइएको धुपबत्तीको सुगन्ध हवन गरेको जस्तो आउने, वातावरणका हिसाबले पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो “यसरी विभिन्न सामग्री निर्माण गरी भएको आम्दानी गाई संरक्षणमा खर्च गरिनेछ । यो धुपबत्ती बजारमा पाइने केमिकल मिसावट धुपभन्दा स्वास्थ्यका हिसाबले पनि लाभदायक छ ।” गौशालाले सुरुमा गाईको गोबरबाट ५५ घरमा ग्यास वितरण, गाईको गोबर मल बिक्री सुरु गरेको छ । दीपावलीलाई लक्षित गरेर धुपबत्ती र विभिन्न प्रकारका दियो बनाउन थालिएको छ । गौशालाले यससँगै नम्बरप्लेट, शुभलाभका चित्र, भगवान्का मूर्ति, प्रमाणपत्रलगायतका सामग्री निर्माण गर्ने योजना रहेको गौशालाका सचिव जोशीले बताए । “गाईको गोबरबाट विभिन्न सामग्री बनाउन सकिनेरहेछ”, उनले भने, “यी विभिन्न सामग्री निर्माणका लागि मेसिन खरिद गर्ने तयारी गरेका छौँ । उच्च रक्तचापका बिरामीका लागि चाहिने सामग्री पनि बनाउने तयारी छ ।” गौशालाले श्रीमद्भागवत् महायज्ञ गर्ने, कथावाचकले गौशालामा उत्पादन भएका सामग्रीको बजारीकरणमा सघाउने सल्लाह भइरहेको उनको भनाइ छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले अहिले सात सय ३० गाई संरक्षण गरिरहेको छ । यसरी विभिन्न सामग्रीसमेत उत्पादन थालेपछि केही युवाले रोजगारी पाउने बताइएको छ । केही वर्षदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको गौशाला गएको जेठ महिनादेखि समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन समिति आफँैले खर्च व्यर्होने गरेको छ ।

३३२ स्थानीय तहले तिरेनन् ६ अर्ब बढी विद्युत महशुल, कारवाही गर्ने तयारीमा (सूचीसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरपालिका सहित ३३२ स्थानीय तहलाई कारवाही गर्ने तयारी थालेको छ । अबको ४५ दिनभित्र विद्युत महशुल नतिरे कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएको हो । प्राधिकरणका अनुसार ४५ दिनभित्र रकम नबुझाएमा विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० को बमोजिम कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको हो । प्राधिकरणका अनुसार ३३२ स्थानीय तहले ६ अर्ब ८ करोड ९४ लाख ३११ रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको छ । प्राधिकरणका वितरण केन्द्रहरूबाट स्थानीय निकायहरूले सडकबत्तीका लागि विद्युत शक्ति उपभोग गरेबापत गत असारमसान्तसम्म सो रकम बुझाउन बाँकी रहेको हो । काठमाडौं महानगरपालिकाले १ अर्ब ६१ करोड ७९ लाख २१ हजार रुपैयाँ र वीरगञ्ज महानगरपालिकाले १७ करोड २८ लाख ६९ हजार रुपैयाँ विद्युत महशुल तिर्न बाँकी रहेको छ । त्यस्तै, विराटनगर उपमहानगरपालिले ८ करोड ६६ लाख ८ हजार रुपैयाँ, इटहरी उपमहानगरपालिकाले २ करोड ९९ लाख ५८ हजार रुपैयाँ, धरान उपमहानरपालिकाले २ करोड ५९ लाख ८१ हजार रुपैयाँ, जीतपुरसिमरा उपमहानगरपालिकाले १ करोड २२ लाख ५ हजार रुपैयाँ, जनकपुर उपमहानगरपालिकाले २८ लाख ६ हजार रुपैयाँ, कलैया उपमहानगरपालिकाले ६ करोड ८९ लाख ६२ हजार रुपैयाँ विद्युत महशुल तिर्न बाँकी रहेको छ । साथै अनुमति नलिई बिना मिटर आफूखुसी जथाभावी सडकबत्ती जडान गर्ने कार्य कानून सम्मत नरहेकोले सो कार्य नगर्न आग्रह गरेको छ । बिना मिटर जडान गरिएका सडक बत्तीहरू सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गर्न आग्रह गरेको हो ।

नेपाल बैंकले माग्यो नयाँ सीईओ, कति चाहिन्छ योग्यता ?

काठमाडौं । नेपाल बैंकले खुल्ला प्रतिस्पर्धा मार्फत् नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)नियुक्ति गर्ने भएको छ । कृष्ण बहादुर अधिकारीको कार्यकाल सकिएपछि खुल्ला प्रतिस्पर्धाद्वारा नयाँ सीईओ नियुक्तिको लागि बैंकले सार्वजनिक आह्वान गरेको हो । बैंकले आइतबार एक सूचना प्रकाशन गरी २१ दिनभित्र योग्यता र अनुभव प्राप्त गरेका इच्छुक योग्य ब्यक्तिलाई आवेदन पेश गर्न आग्रह गरेको हो । बैंकको सीईओ पदका लागि आवेदन दिने ब्यक्तिको योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विपयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ । चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्गशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको हुनु पर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरुलाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिनेछ । छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । हाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तलाई दिईएको छ ।

आजदेखि ९८ स्थानमा सहुलियत पसल सञ्चालनमा, कति पाइन्छ छुट ?

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आज असोज २१ गतेदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले आजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त पसल सञ्चालनमा आएसँगै उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले देशभरका ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउनेछ । जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपत्यकाभित्र काठमाडौंको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालनमा आउनेछन् । र, उपत्यका बाहिर भने मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङमा सहुलियत पसल सञ्चालनमा आउने छन् । यसैगरी रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डँडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियत पसल सञ्चालनमा आउने छन् । कम्पनीले थप जिल्ला र स्थानहरुमा पनि सहुलियत पसल आवश्याकताका आधारमा सञ्चालन गर्ने बताएको छ । यस्तै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुको माध्यमबाट तोकिए बमोजिमको छुट दिई बिक्री वितरण गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र काठमाडौं उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थलबाट सहुलियत सेवा दिने छ । यता दुग्ध विकास संस्थान डीडीसीले भने लैनचौर, न्यूरोड र खुमलटार, विराटनगर, जनकपुर, हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया,धनगढी, बुटवल गरी जम्मा ११ स्थानबाट सहुलियत सेवा उपलब्ध गराउने मन्त्रालयले जानकारी गराएको छ ।

हकप्रद सेयर सेयरधनीहरुको नैसर्गिक अधिकार हो : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले हकप्रद सेयर सेयरधनीहरुको नैसर्गिक अधिकार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र सेबोनको शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् । उनले कमजोर कम्पनीले नै हकप्रद सेयर जारी गर्ने अभ्यास विश्वभर रहेको बताए । साथै, साधारणसभामा ७५ प्रतिशत सेयरधनीहरुको उपस्थितले पारित गरेपछि बोर्डले निष्काशन गर्न अनुमति दिने उनको भनाइ छ । ‘हकप्रद सेयर सेयरधनीहरुको नैसर्गीक अधिकार हो, कम्पनी अफ्ठ्यारोमा परेका बेला ७५ प्रतिशत सेयरधनीहरुले साधारण सभाबाट पारित गरेर कम्पनी जोगाउनु पर्छ भन्छन्, हकप्रद सेयर संसारका अन्य देशहरुमा पनि जारी गर्ने अभ्यास छ,’ उनले भने, ‘म २०१७ मा नेपाल आउँदा हकप्रद सेयर जारी गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको थियो तर, अहिले बजारमा हकप्रद सेयर बन्द गर्नु पर्ने आवाज उठेको छ ।’ देश विकास गर्नका लागि सोचमा परिवर्तन र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । सिस्टम अनुसार सबै अघि बढ्नु पर्ने उनले बताए । अहिले समाजमा देखिएको नकारात्मकताले देश विकास हुन नसक्ने उनको भनाइ छ । सबैको सहकार्यले नै अघि बढ्नु पर्ने उनले बताए । ‘प्रधानमन्त्री, मन्त्री लगायत कुनै पनि पदाधिकारीलाई असिमित अधिकार दिनु हुँदैन, सिस्टमले चल्नु पर्छ, धितोपत्र बोर्डका अध्यक्षले चाह्यो भने आज आईपीओ बन्द गर्ने, ५ वर्ष पछि खोल्ने अधिकार अध्यक्षलाई दियो भनेसंस्था ध्वस्त हुन्छ,’ उनले भने, ‘त्यसैले कसैलाई पनि असिमित अधिकार दिनु हुँदैन, देश विकास गर्न सकारात्मक सोच र सहकार्य जरुरी छ ।’

स्वास्थ्य बीमाको औषधि छुट्टै काउन्टरबाट

काठमाडौं । स्वास्थ्य बीमा गरेका बिरामीलाई औषधि दिन भरतपुर अस्पतालले छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । बीमा बोर्डले एक महिनाको मात्र औषधि दिन निर्देशन गरेपछि अस्पतालमा बढेको भीड नियन्त्रण गर्न र बिरामीलाई सहजता दिलाउन अस्पतालले छुट्टै काउन्टर सञ्चालनमा ल्याएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अस्पतालमा बिरामीको थप चाप थेग्नै नसक्ने अवस्था आएकाले बीमाको औषधि दिन थप काउन्टर सुरु गरिएको बताए । पौडेलले भने, “औषधि लिनुपर्ने बीमाका बिरामीले नियमित सेवन गर्नुपर्ने मधुमेह, उच्च रक्तचाप, दम थाइराइड, कोलेस्ट्रोल लगायतका औषधि डाक्टरबाट लेखाएर सहजै लिन सक्नुहुन्छ ।” सो काउन्टर बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने गरेको उनले जानकारी दिए । धेरै बिरामी बीमाबाट औषधि लिनकै लागि भीडभाडमा बस्नुपर्ने बाध्यता हट्दै जाने विश्वास पौडेलको छ । उनले भने, “नियमित औषधि लिनेले सामान्यतय एक–एक महिनामै चिकित्सकसँग जाँच गर्नुपर्ने हुँदैन, त्यसैले बिहान ७ बजे नै टिकट लिएर डाक्टरको सिफारिसमा औषधि लिएर जान सकिन्छ ।” अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलका अनुसार हरेक दिन ९० देखि एक सय ३५ बिरामीले छुट्टै काउन्टरबाट सेवा लिइरहेका छन् । अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन् । हालसम्मको सबैभन्दा बढी बिरामी आएको दिन एकैदिन दुई हजार सात सय ४९ जनाले अस्पतालबाट सेवा लिएका थिए । तीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका बिरामी आउँछन् भने ३० प्रतिशत बीमा बाहेकका आउने गर्दछन् । बीमाका बिरामीले अरु व्यक्तिको कार्ड लिएर सेवा लिने गरेको पाइएपछि निगरानी बढाइएको छ ।रासस

इजरायलमा ९ जना नेपाली घाइते, नेपालद्वारा आतङ्कवादी हमलाको निन्दा

काठमाडौं । सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । परराष्ट्र मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिअनुसार आतङ्कवादी आक्रमणमा नेपाली पनि परेका छन् । आक्रमणमा परेका ९ जना नेपालीमध्ये २ जनाको अवस्था गम्भीर छ । यससम्बन्धी थप विवरण अद्यावधिक गरिने मन्त्रालयले जनाएको छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ । इजरायलको वर्तमान स्थितिलाई दृष्टिगन गरी त्यहाँ सहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसःपालन गर्न सरकारले अनुरोध गरेको छ ।

सुडान युद्धमा मृत्यु हुनेको सङ्ख्या ९ हजारभन्दा बढी पुग्यो

काठमाडौं । सुडानको खार्तूमको दक्षिणमा रहेको जबल अवलियामा अर्धसैनिक बलले शनिबार गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको अधिकारकर्मीहरूले बताएका छन् । स्थानीय ‘प्रतिरोध समिति’का अनुसार शहरबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको सानो सहरमा ‘सर्वसाधारणको घरभित्र बम खसेको’ छ । यो स्वयंसेवी समूह सुडानभरि प्रजातन्त्रसमर्थक प्रदर्शन गर्ने थुप्रै समूहमध्ये एक हो । गत अप्रिल १५ मा सेना र अर्धसैनिक बलबीच युद्ध सुरु भएयता यी समूहले द्वन्द्वमा फसेका मानिसहरूलाई सहयोग गरेका छन् । अर्धसैनिक बलहरूले सुडानका प्रतिद्वन्द्वी जनरलहरू बीचको लडाईंबाट पहिले जोगिएका क्षेत्रहरूमा भएको उनीहरूको पछिल्लो आक्रमणमा शहरमा ‘कैयौँ तोप’ प्रहार गरेको जबल अवलियाको समितिले रिपोर्ट गरेको छ । सेना प्रमुख अब्देल फतह अल बुरहान र उनका पूर्व डेपुटी र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) कमान्डर मोहम्मद हमदान डग्लोबीच खार्तूम र डार्फरको पश्चिमी क्षेत्रमा युद्ध हुँदै आएको छ । सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजना (एसीएलईडी)ले अक्टोबरसम्ममा ‘नौ हजारभन्दा बढी मृत्यु’ रेकर्ड गरिएकोे शुक्रबार जानकारी गराएको छ । यस लडाईंका कारण सुडानमा करिब ४३ लाख मानिस विस्थापित भएका छन् भने करिब १२ लाख मानिस सीमा पार विस्थापित भएका छन् । हालैका हप्ताहरूमा, हिंसा अझ दक्षिणतिर सरेको छ, जसले राजधानीको दक्षिणमा अल जजिरा राज्यमा आश्रय लिएका ३ लाख ६६ हजारभन्दा बढी मानिसहरूको कमजोर सुरक्षालाई थप खतरामा पारेको छ । राजधानीबाट २ सय किलोमिटर दक्षिणमा पर्ने खार्तूम र जजिरा राज्यको राजधानी वाड मदनीबीचको सडकमा आरएसएफले चेकप्वाइन्ट स्थापना गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । लाखौं मानिस फसेको खार्तूममा पनि युद्ध सुरु भएयता एक दिन पनि राहत मिलेको छैन । शहरको उत्तरी भागका प्रत्यक्षदर्शीहरूले शनिबार फेरि ‘हवाई आक्रमण’ र सडक आक्रमण भएको जानकारी दिएका छन् । रासस