नेपाल लाइफ क्यापिटलद्वारा मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल लाइफ क्यापिटलले मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेश प्रदेशको जनकपुरमा ‘लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । असोज १९ गते दिउँसो ३ बजेदेखि ६ बजेसम्म मसला, कटेज– जनकपुरधाम, जनकपुरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ व्यक्तिहरुको सहभागिता थियो । नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नविन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्व बारे प्रकाश पारेका थिए । उनले निम्न आय भएका व्यक्तिले शेयर बजारमा कसरी पहुँच पुर्याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिए । त्यसैगरी कोष प्रबन्धक नवराज सिलवालले ‘लगानीका आधारभूत कुरा, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा प्रस्तुतिकरण गरे । उनले शेयर बजारको महत्व, यसले कसरी काम गर्छ र लगानीका थप क्षेत्रहरू के हुन् भन्ने बारेमा सर्वसाधारणमा साक्षरता ल्याउने कुरामा जोड दिए । धितोपत्र बजारमा हुने जोखिम, बजारमा लगानीलाई कसरी पृथकीकरण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थप जानकारी दिए । कार्यक्रमको बिचमा प्रश्न उत्तर सत्र पनि भएको थियो ।
चार गुणा सम्पत्ति बढाउँदै एक नम्बर धनाड्य बने अम्बानी, पछि परे अडानी
काठमाडौं । भारतीय धनाड्य मुकेश अम्बानीले गौतम अडानीलाई पछाडि पारेका छन् । हुरुन इन्डिया रिच लिस्ट २०२३ अनुसार यसअघि धनीको सूचीमा अगाडि रहेका गौतम अडानीलाई मुकेश अम्बानीले पछाडि पारेका हुन् । नयाँ सूचीका अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले अडानी समूहका अध्यक्ष गौतम अडानीलाई पछि पार्दै सबैभन्दा धनी भारतीयको उपाधि हासिल गरेका हुन् । हिन्डनबर्ग रिपोर्टपछि गौतम अडानीको सम्पत्तिमा ठूलो गिरावट आएको देखिएको छ । हुरुन इन्डियाले १२ भारतीय धनाड्यको सूची सार्वजनिक गरेको हो । मुकेश अम्बानीको सम्पत्ति चार गुणाले बढेको देखिएको छ । सन् २०१४ मा १६५,१०० करोड भारतीय रुपैयाँबाट बढेर २०२३ मा ८०८७०० करोड भारतीय रुपैयाँ पुगेको छ । गत ९ वर्षमा अम्बानीको सम्पत्ति चार गुणाले बढेको रिपोर्टमा उल्लेख छ । गौतम अडानी भारतीय धनाड्यको दोस्रो नम्बरमा झरेका छन् । उनी ४७४८०० करोड भारतीय रुपैयाँको सम्पत्ति सहति दोस्रो नम्बरमा झरेका हुन् । योसँगै सेरम इन्स्टिच्युट अफ इन्डियाका संस्थापक साइरस एस पुनवाला २७८५०० करोड भारतीय रुपैयाँको सम्पत्ति सहित तेस्रो स्थानमा छन् । यस्तै, एचसीएलका शिव नाडर २,२८,९०० करोडको सम्पत्ति सहित चौथो स्थानमा छन् भने गोपीचन्द हिन्दुजा १,७६,५०० रुपैयाँ बराबरको सम्पत्ति सहित पाँचौ स्थानमा छन् । सन फार्मास्युटिल इन्डस्ट्रीका संस्थापक दिलिप सांघवी १६४३०० करोडको सम्पत्ति सहित छैटौं स्थानमा छन् । भारतीय धनाड्यको पहिलो स्थान ओगटेका अम्बानीले सन् १९६६ मा टेक्सटाइल मिलको स्थापना गरेर व्यवसायिक जीवन अगाडि बढाएका थिए । त्यही मिलले नै उनको जीवन परिवर्तन गरिदियो । पढ्ने रहर हुँदाहुँदै पनि बीचमै पढाई छोड्न बाध्य भएका अम्बानीले केमिकल इन्जिनियरिङमा डिग्री हासिल गरेपछि एमबीए गर्न चाहान्थे । तर व्यवसाय अगाडि बढाउनको लागि उनको पिताले उनको पढाई बीचमै रोकिदिए । त्यसपछि उनले सन् १९८१ मा उनले पितासँग मिलेर रिलायन्स पेट्रोलियम रसायनको शुरुवात गरे । पछि उनले रिलायन्स इन्फोकाँम लिमिटेडको स्थापना गरे । अहिले उक्त कम्पनीलाई रिलायन्स कम्युनिकेन्सस लिमिटेडको नामबाट चिनिन्छ ।
जर्मनीले अनुमान गरेभन्दा धेरै गहिरो मन्दीको सामना गर्नुपर्छ : आईएमएफ
जर्मनी । जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले बताएको छ । आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ । उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचन आउने आईएमएफले प्रक्षेपण गरेको छ । उसले जुलाईमा शून्य दशमलव तीन प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण गरेको थियो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी यस वर्ष जी-७ का धनी सदस्यमध्ये आर्थिक वृद्धि नहुने एउटा मात्र मुलुक बन्ने अद्यावधिक गरिएको प्रक्षेपणले पुष्टि गरेको छ । आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार जर्मनीले कमजोर संवेदनशील ब्याजदर क्षेत्र र सुस्त व्यापार-साझेदार मागलगायतका थुप्रै परिस्थितिको सामना गर्नुपरेको छ । सन् २०२३ को प्रारम्भमा मन्दीमा पुगेको र दोस्रो त्रैमासिकमा स्थिर रहेको जर्मनीले यस वर्षको दोस्रो छ महिनामा अर्को ‘थोरै आर्थिक सङ्कुचन’ तिर गएको पनि प्रतिवेदनमा उल्लेख छ । आईएमएपफले जर्मनीको अर्थतन्त्र सन् २०२४ मा सुधारको दिशामा जाने तर जुलाईको एक दशमलव तीन प्रतिशतको वृद्धिबाट शून्य दशमलव नौ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ । जर्मनीको अर्थतन्त्रमा देखिएको समस्याले युरोजोनमा पनि अवरोध देखिने छ । आईएमएफले सन् २०२३ मा २० राष्ट्र सम्मिलित युरोजानको अर्थतन्त्र थोरै घटाएर शून्य दशमलव सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । रासस
नेप्सेमा एकैदिन दुई कम्पनीको आईपीओ सूचीकृत, बुधबारदेखि किनबेच गर्न पाइने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । मंगलबार मात्रै हाथवे इन्भेष्टमेन्ट र माण्डू हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो । यससँगै यी दुई वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । मंगलबार सूचीकृत भएको कम्पनीहरुको सेयर भोलिपल्ट अर्थात बुधबार असोज २४ गतेदेखि कारोबारमा आउने छ । जसमध्ये हाथवे इन्भेष्टमेन्टको २ करोड ३४ लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि ओपनि न्यूनतम ९५.०९ रुपैयाँ र अधिकतम २८५.२७ रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर बुधबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने एचएटीएचवाई रहेको छ । त्यस्तै, नेप्से सिम्बोल एमएएनडीयू सिम्बोल नम्बर तोकिएको माण्डु हाइड्रोको एक करोड ३६ लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम १२४.४२ र अधिकतम ३७३.२६ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै बुधबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ ।
बेल्ट एन्ड रोडले २० खर्ब डलरभन्दा बढीको सम्झौता गरेको छ : बेइजिङ
एजेन्सी । चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो । चीनको स्टेट काउन्सिलको श्वेतपत्रमा उक्त परियोजनामा सहभागी मुलुकहरूमाथि एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइना ९एक्जिमबैंक० को तीन खर्ब डलरभन्दा बढी ऋण रहेको बताइएको छ । एक विज्ञका अनुसार उक्त आँकडा कम हुने बताइएको थियो तर यसले विश्वव्यापी पूर्वाधारमा भएको ठूलो ऋणलाई नजरअन्दाज गर्छ । चीनले यसै महिना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १०औँ वार्षिकोत्सव मनाउँदै छ । यसलाई बेइजिङले राष्ट्रपति सि जिनपिङका लागि परिभाषित भूराजनीतिक परियोजनाका सन्दर्भमा विश्वभरका परियोजनाहरूमा खर्बौँ डलर खर्च गरेको रूपमा हेरिएको छ । तर आलोचकहरूले चीनले न्यून आम्दानी भएका मुलुकहरूलाई विशाल र बहन गर्न नसकिने ऋण प्रस्ताव गरेर ऋणको पासोमा फसाउन खोजेको आरोप लगाएका छन् । बेइजिङले मङ्गलबार साझेदारहरूसँग निर्माण सम्झौताहरूमा गरिएको रकम अहिले २० खर्ब अमेरिकी डलर पुगेको बताएको छ । उक्त रकम रुस र क्यानाडाको अर्थतन्त्रको आकार हाराहारी हो । साथै उसले चिनियाँ निर्माण व्यवसायीहरूको लगानी वास्तविक रूपमा १३ खर्ब डलर पुगेको बताएको छ । बेइजिङले एक्जिमबैंकबाट बीआरआई परियोजनाहरू लागि ऋणको सन्तुलन कूल २२ खर्ब युआन ९तीन खर्ब ७४ करोड डलर० पुगेको जनाएको छ । ‘यसले एक सय ३० भन्दा बढी सहभागी मुलुक, चार खर्ब डलर लगानी र २० खर्ब डलरभन्दा बढीको व्यापारलाई समेट्छ’, ऋणमा प्रतिमुलुक औसत दुई अर्ब ४० करोड डलर रहने उल्लेख गर्दै श्वेतपत्रमा भनिएको छ । तर श्वेतपत्रमा कुन मुलुकलाई ऋणको भार धेरै छ भन्नेबारे केही उल्लेख गरिएको छैन । साथै ऋणमा लाग्ने ब्याज दर पनि उल्लेख गरिएको छैन । एक विज्ञका अनुसार उक्त आँकडा ठूलो हुँदाहुँदै पनि सम्भवतः धेरै कम आकलन गरिएको थियो । ‘अर्को एउटा शैक्षिक अनुसन्धान पत्र पनि छ जसमा लुकाइएका ऋणका बारेमा लेखिएको छ र यसले आठ खर्ब डलरसम्म ऋण थप्न सक्छ’, एटलान्टिक ग्लोबल चाइनना हबका गरआवासीय अधिकारी निभा याउले भने, ‘हामीसँग सामान्य अवस्थामा ती परियोजना र यो आँकडा कसरी थपिए भन्नेबारेमा केही जानकारी छैन ।’ रासस
सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार भन्दा बढी बिरामी
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । दार्चुलामा एक सय ४०, बझाङमा एक सय ३३, अछाममा एक सय ११, डडेल्धुरामा ९४, कञ्चनपुरमा ९०, डोटीमा ८९, बैतडीमा ४८ र बाजुरामा सात जना स्टक्रब टाइफसबाट बिरामी भएका छन् । बिरामीको सम्बन्धित जिल्लाको स्वास्थ्य चौकी र अस्पतालमा उपचार भइरहेको छ । केही बिरामी उपचारपछि निको भइसकेका छन् । गत वर्ष स्क्रब टाइफसबाट सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय ७५ जना बिरामी भेटिएका थिए । जसमा सबैभन्दा बढी डडेल्धुरामा पाँच सय ४५, कैलालीमा पाँच सय २९, कञ्चनपुरमा तीन सय ७७, दार्चुलामा तीन सय २४ बिरामी भएका थिए । यसैगरी, बैतडीमा एक सय ७९, अछाममा एक सय ४१, बझाङमा ६३ र बाजुरामा ६२ जनामा स्क्रब टाइफस देखा परेको थियो । स्टक्रब टाइफसको संक्रमण भए धेरै ज्वरो आउने, टाउको दुख्नु, धेरै पसिना आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किर्नाले टोकेको ठाउँमा रातो दाग देखिनु र पछि गएर कालो दागका लक्षण देखिने गर्दछ । स्क्रब टाइफसको लक्षण कोभिड– १९ सँग मिल्दोजुल्दो हुने भएकाले पहिचान र उपचारका लागि नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा जानुपर्ने उनले बताए । स्क्रब टाइफसका बिरामी औषधि सेवनपछि पूर्णरुपमा निको हुने जोशीको भनाइ रहेको छ । ‘समयमै उपचार नगरे यसले गम्भीर रुप लिनसक्छ’, उनले भने, ‘यसले मस्तिष्क, कलेजो, फोक्सोको सङ्क्रमणसँगै बहुअङ्ग विकार गर्ने अवस्था पनि सिर्जना हुनसक्छ ।’ स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा गर्ने गरेको उनले बताए । उनका अनुसार मुसामा लाग्ने किर्ना जस्तो देखिने कीरा(माइट) को टोकाइबाट मानिसमा सर्ने भए पनि यो रोग मानिसबाट मानिसमा भने सर्दैन । ‘किर्ना झाडी, खेतबारी, वनजङगल र घरवरिपरिको झाडीमा देखिने गर्दछ’, निरीक्षक जोशीले भने, ‘किर्नाबाट बच्नका लागि खेतबारीमा काम गर्दा, वनजङगलमा काम गर्दा पूरा शरीर ढाकिने कपडा लगाउने, बुट लगाउने गर्नुपर्दछ ।’ किर्नाको टोकाइबाट बच्न घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भूइँमा नबस्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने वा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्ने उनले सुझाव दिए । विशेष गरी स्क्रब टाइफसको सङ्क्रमण असार महिनादेखि असोज महिनासम्म बढी देखिने गरेको छ । रासस
डिजिटल बैंकिङमा सिटिजन्स बैंकको छलाङ, दैनिक ५० करोड बढीको कारोबार
काठमाडौं । पहिला बैंकको खाता खोल्नका लागि बैंकको शाखा कार्यालय धाउनु पर्ने थियो भने फाइलहरु ढड्डामा राख्ने प्रणाली थियो । बैंकिङ्ग अभ्यास क्रमिक विकास हुँदै चेकबाट हुने कारोबार पछिल्लो समय डिजिटल माध्यमबाट गर्न सकिने भएको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्डबाट हुने कारोबारलाई सर्वसाधारणमा पुर्याउन सिटिजन्स बैंकले विशेष जोड दिँदै आएको छ । बैंकका ट्रान्जिक्सनल बैंकिङ हेड सुयेश कुमार पौडेलका अनुसार सिटिजन्स बैंकको ८० प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेको छ । शाखा कार्यालयमा आएर लाइन लाग्ने ग्राहकहरुको संख्या घट्दै गएको उनको भनाइ छ । ‘बैंकको कारोबारलाई शतप्रतिशत डिजिटल बनाउने योजना छ, हाल ८० प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेको छ, कार्यालयमा आएर लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको छ, डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं,’ उनले भने । उनका अनुसार बैंकिङ क्षेत्र डिजिटलमय बन्दै गर्दा ठगीका घटनाहरु पनि बढेका छन् । तर, सिटिजन्स बैंकले डिजिटल ठगी न्यूनीकरणलाई चुस्तदूरुस्त पारेको उनको भनाइ छ । बैंकले आइटि टिम नै खडा गरेर ग्राहकहरुका समस्या समाधान गर्न २४ सै घण्टा काम गरिरहेको उनले बताए । ‘बैंकको प्रणाली बलियो बनाएर राखेको छौं, बैंकको छुट्टै आइएस अडिट टिम छ, आन्तरिक आइटि रिस्क टिम पनि छ, मोबाइल बैंकिङबाट हुने ठगी धेरै हदसम्म घटेको छ,’ उनले भने, ‘पहिला ओटिपी सेयर गर्दा ठगी बढी हुने गरेको थियो तर, अहिले एसएमस भेरिफिकेसन नहुँदासम्म कारोबार गर्न नमिल्ने भएकाले ठगीका घटनाहरु कम छन् ।’ ट्रान्जिक्सनल बैंकिङ हेड पौडेलका अनुसार बैंकले ग्राहकहरुको सहजताका लागि विभिन्न कार्डहरु वितरण गर्दै आएको छ । साथै, सो कार्डमार्फत् भुक्तानी गर्दा ग्राहकहरुलाई निश्चित प्रतिशित छुटको समेत व्यवस्था गरेको उनले बताए । बैंकले सन् २०१० अघिसम्म एससीटी कार्ड सञ्चालनमा ल्याएको थियो तर, त्यसपछि सो कार्डलाई परिमार्जन गरी भिजा कार्डमार्फत कारोबार गरिरहेको उनको भनाइ छ । उनका अनुसार बैंकले एटिएम मेसिनमा चल्ने मास्टर कार्ड पनि सञ्चालन गरिरहेको छ । त्यस्तै, चाइनिज यूपीआई कार्ड बैंकमा रहेको उनले बताए । सामान्यतया बैंकले नेपाली कार्ड र डलर कार्ड वितरण गरिरहेको छ । नेपाली कार्ड नेपाल र भारतमा चल्छ भने डलर कार्ड संसारका जुनसुकै देशमा पनि चल्छ । त्यसमा पनि डेबिड कार्ड र क्रेडिट कार्ड रहेको पौडेल बताउँछन् । ‘कुनै ग्राहकलाई तत्काल कार्ड चाहिएमा इन्स्टान्ट कार्डको सुविधा छ, नेपालभित्रै वा विदेश जाँदा कुनै ब्यक्तिलाई तत्काल आवश्यक पर्याे भने इनस्टान्ट कार्डको व्यवस्था गरेको छ, कहिलेकाँही आवश्यक डलर नपाइने भएकाले सो कार्ड महत्वपूण हुन्छ,’ उनले भने, ‘उक्त कार्ड जुनसुकै देशमा पनि चल्छ, वैदेशिक रोजगारी, विदेश पढ्न जाने, विदेश भ्रमण जानेहरुले यो कार्ड बढि प्रयोग गरिरहेका छन् ।’ पछिल्लो समय सामाजिक सञ्जाल फेशबुक, गुगल, इन्स्टाग्राममा भुक्तानी गर्ने प्रयोजनका लागि इकम कार्डको समेत व्यवस्था गरेको बैंकले जनाएको छ । सामाजिक सञ्जालबाट विज्ञापन वा अनलाइनमार्फत् कुनै सामान खरिद गर्याे भने इकम कार्डबाटै भुक्तानी गर्न सकिने बैंकले बताएको छ । बैंकका अनुसार इकम कार्डमार्फत वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सकिन्छ । सो कार्ड लिनका प्यान नम्बर भने अनिवार्य रहेको छ । ‘जुम्ला, जाजरकोट, बझाङ्ग, मुगु लगायत दुर्गम क्षेत्रमा पनि बैंकले एटिएम सेवा दिइरहेको छ, एटिएम मेसिनबाटै पैसा झिक्ने र नगद जम्मा गर्ने सुविधा पनि बैंकले प्रदान गरिरहेको छ,’ पौडेलले भने, ‘बुटवल, वीरगञ्ज, विराटनगर, कलङ्की, दरबारमार्ग, नयाँ बजारमा चेक डिपोजिट मेसिन सञ्चालनमा छन्, जुन शाखामा चेकको कारोबार बढी हुन्छ सो शाखामा चेक डिपोजिट मेसिन सञ्चालनमा छन् ।’ बैंकका अनुसार कार्डबाट हुने कारोबारलाई इनकरेज गर्न दराजमा भुक्तानी गर्दा पहिलो कार्ड ट्रान्जिक्सनमा १० प्रतिशत वा १५० रुपैयाँसम्म छुट पाइन्छ । साथै, हरेक बिहीबारका दिन दराजमा कारोबार गर्याे भने ५ सय रुपैयाँसम्म छुट पाइने बैंकले जनाएको छ । सो दिनलाई सिटिजन्स बैंक डे भनेर पनि चिनिन्छ । त्यस्तै, सिटिजन्स बैंकका कार्ड भएका ग्राहकहरुले भारतका अस्पतालहरुमा १० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था बैंकले गरिदिएको छ । यदि १० लाखभन्दा बढी रकम भुक्तानी गर्नु पर्याे भने १० लाखको सीमालाई बैंकले बढाई दिने गरेको पौडेलले बताए । उक्त अस्पतालहरुमा १५ प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको छ । ‘आजको दिनमा बैंकको एउटै एटिएमबाटै २/३ सयसम्म कारोबार भइरहेको छ, अर्जेन्ट कार्ड तत्काल उपलब्ध गराउँछौं, अन्य कार्ड सामान्यतया दुई/तीन दिनभित्र ग्राहकलाई उपलब्ध गराउँछौं,’ उनले भने, ‘बैंकिङ्ग क्षेत्रमै सबैभन्दा मध्यम शुल्क लिने गरिएको छ, कतिपय बैंकको शुल्क उच्च नै छ, ५ वर्षे कार्डमा वार्षिक ५ सय रुपैयाँसम्म शुल्क लिने गरिएको छ, जसमा पहिलो वर्ष निशुल्क हुन्छ ।’ मोबाइल बैंकिङ मोबाइल बैंकिङमा ३ लाख रुपैयाँसम्मको कारोबारको सीमा तोकिएको छ । पछिल्लो समय अधिकांश ग्राहकहरुले मोबाइल बैंकिङ बढी प्रयोग गरिरहेका छन् । बैंकिङ क्षेत्रमा तुलना गर्दा सिटिजन्स बैंकको मोबाइल बैंकिङ सजिलो र सहज छ । बैंकका अनुसार मोबाइल बैंकिङमा सामान्यतया रिचार्ज कार्ड, स्टेटमेन्ट हेर्न, कम ट्रान्सफर, मुद्दती निक्षेप खाता खोल्ने लगायत अन्य बैंकको मोबाइल बैंकिङ्ग फिचर उपलब्ध छन् । साथै, बैंकको कुनै कर्मचारीलाई भेट्नु पर्याे भने मोबाइल बैंकिङबाटै समय तालिका मिलाएर भेट्न सकिन्छ । यदि एटिएम मेसिनबाट बिना कार्ड रकम झिक्न पर्याे भने कार्डलेस विथ ड्रल गर्न सकिन्छ । डिम्याट खाताको विवरण पनि मोबाइल बैंकिङबाटै हेर्न सकिने बैंकले जनाएको छ । यदि डिम्याट नम्बर, सीआरएन नम्बर बिर्सियो भने मोबाइल बैंकिङबाटै सहज रुपमा हेर्न सकिन्छ । यदि कार्ड हरायो भने मोबाइल बैंकिङबाटै सो कार्ड ब्लक गर्न सकिन्छ । डिजिटल वालेट खल्ति, इसेवा, आइएमई पे लगायतका कम्पनीसँग बैंकले सहकार्य गरेर काम गरिरहेको छ । मोबाइल बैंकिङमार्फत नै वालेटहरुमा रकम जम्मा गर्न सकिन्छ । ‘मोबाइल बैंकिङ प्रयोगकर्ता ७ लाखभन्दा बढी छन्, मोबाइल बैंकिङबाट दैनिक औषत ५० हजारभन्दा बढीले कारोबार गरिरहेका छन् भने दैनिक औषत ५० करोड रुपैयाँ बढीको कारोबार हुने गरेको छ,’ ट्रान्जिक्सनल बैंकिङ्ग प्रमुख पौडेलले भने, ‘यदि मोबाइल बैंकिङमा कुनै समस्या आयो समाधान गर्न बैंक चनाखो छ, मोबाइल बैंकिङ मनिटरिङ गर्न डेडिकेडेट टिम नै तयार पारिएको छ ।’ साथै, ३ लाखभन्दा बढिको कारोबार गर्ने ग्राहकहरुलाई इन्टरनेट बैंकिङको पनि सुविधा रहेको छ । इन्टरनेट बैंकिङमा पनि मोबाइल बैंकिङका जस्तै फिचर उपलब्ध छन् । इन्टरनेट बैंकिङमा एकपटकमा १० लाख रुपैयाँ र प्रतिदिन २० लाख रुपैयाँसम्म कारोबरा गर्न सकिन्छ । साथै, एक महिनामा ५० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको छ । बैंकिङ क्षेत्रमा यस बैंकको डीम्याट खाता छिटो र छरितो छ भनेर प्रतिक्रिया दिइरहेका छन् । कूल डीम्याट संख्यामा बैंकको हिस्सा करिब ४ प्रतिशत छ । डीम्याट खातामा बैंक खाता लिंक भएका ग्राहकको नवीकरण बैंक आफैंले गरिदिन्छ । संसारका जुनसुकै कुनाबाट पठाएको रेमिट्यान्स सिटिजन्स बैंकबाट सहज रुपमा झिक्न सकिन्छ । आइएमई, प्रभु, जीएमईदेखि लिएर सबै कम्पनीको रेमिट्यान्स झिक्न मिल्छ । बैंकको आफ्नै सिटिजन्स रेमिट कम्पनी पनि छ । यदि रेमिट्यान्सबाट पठाएको रकम निक्षेपमा जम्मा गर्न चाह्यो भने अन्य खाताभन्दा १ प्रतिशत बढी ब्याज प्रदान गर्छ । डिजिटल बैंकको दायरा बढाउन सरकारले केन्द्रिकृत केवाईसी प्रणाली लागू गर्नु पर्ने माग ट्रान्जिक्सनल बैंकिङ्ग प्रमुख पौडेलले गरे । केन्द्रिकृत केवाइसी प्रणाली लागू भयो भने ग्राहकलाई सबै कार्यालयमा गएर केवाईसी भर्नु पर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ । ‘जस्तो सिटिजन्स बैंकमा आएर खाता खोल्यो भने तीनपुस्तेदेखि सबै विवरण भर्नु पर्ने हुन्छ, त्यहि मान्छे अर्काे बैंकमा गएर खाता खोल्यो भने सोही विवरण त्यहाँ पनि भर्नु पर्ने हुन्छ, त्यस्तै कुनै सरकारी निकायमा कुनै फर्म भर्नु पर्याे भने पनि सोही विवरण भर्नु पर्ने हुन्छ,’ उनले भने, ‘यदि केन्द्रिकृत केवाइसी हुँदा एउटा बैंकमा केवाईसी भर्याे भने त्यहि विवरण सबैमा प्रयोग गर्न मिल्छ, ग्राहकलाई पनि सबै कार्यालयमा गएर केवाईसी भर्नु पर्ने बाध्यता हुँदैन, केन्द्रिकृत केवासी प्रणाली लागू भयो भने ठगी कम हुन सक्छ ।’
थामिएन सेयर बजारको गिरावट, १९ सय बिन्दुबाट झर्यो परिसूचक
काठमाडौं । सेयर बजारमा निरन्तर रुपमा ओरालो लागि रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको संशोधित निर्देशिका पछिको सेयर बजार लगातार घटिरहेको छ । निरन्तरको गिरावटसँगै सेयर मूल्य मापक नेप्से परिसूचक १९सय बिन्दुबाट पनि तल झरेको छ । मंगलबारको बजारमा परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९९ प्रतिशतले बढी हो । सोमबारको तुलनामा मंगलबारको सेयर कारोबार भने बढेको छ । मंगलबारको बजारमा २८२ स्क्रीप्सको ४२ लाख ८७ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । जबकी सोमबारको बजारमा एक अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार भएका कम्पनीमध्ये सानिमा जनरल इन्स्योरेन्स (एसजीआईसी)को सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । अन्य कम्पनीको ४ करोडको पनि कारोबार नभएको बजारमा सानिमा जीआईसीको भने २० करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने घटेर प्रतिकित्ता ४९९ रुपैयाँमा झरेको छ । मंगलबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । बजारको टप गेनरको अग्रस्थानमा अप्पर लोहोरेखोला हाइड्रोपावर कम्पनी रहेको छ भने टप लुजको शीर्ष स्थानमा बाराही हाइड्रोपावर पब्लिक रहेको छ । जसमध्ये अप्पर लोहोरे खोलाको सेयर मूल्य क्रमश ५.८६ प्रतिशतले बढेको छ भने बाराही हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ७.६४ प्रतिशतले घटेको छ ।