टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती
सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–१ किमाथाङ्काबाहेक सबै वडामा समर्कविच्छेद भएको छ । गत असोज १७ राति परेको चट्याङले मकालु–५ भाटभटेनीडाडाँको टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुर्याएको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेला–बेला टावरमा समस्या आउने गरेको छ । टेलिफोन सेवा अवरुद्ध भएपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङ्गम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट बञ्चित भएका छन् । अवरुद्ध टेलिफोन सेवा चाँडै सञ्चालन गरिने दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेम राईले बताए । उनले टेलिफोन सेवा मर्मतका लागि मङ्गलबार प्राविधिक टोली भाटभटेनी प्रस्थान गरिसकेको उनले बताए । सञ्चार सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीयले गुनासो गरे ।
२८० रुपैयाँमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर बिक्रीमामा राखेको छ । कम्पनीको संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको सेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । कात्तिक २ गतेसम्म बोलपत्र पेस गर्ने सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ता तुलाधरले ऋण नतिरेपछि लक्ष्मी सनराइज बैंकले राख्यो डेढ लाख कित्ता सेयर लिलामीमा
काठमाडौं । लक्ष्मी सनराइज बैंक (साविक सनराइज बैंक)ले सेयर कर्जा वापतको रकम चुक्ता नगरेपछि लगानीकर्ता वा ऋणी केशव तुलाधरको डेढ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले पटक पटक कर्जा चुक्ता गर्न ताकेता गरेपनि तुलाधरले आनाकानी गरेपछि धितो वापतको सेयर बिक्री गर्ने जनाएको छ । बैंकले लगानीकर्ता तुलाधरलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न समय तोकेको छ । यदि उक्त समयभित्र साँवा, ब्याज, पेनाल ब्याज र अन्य दस्तुर चुक्ता नगरे धितोमा राखिएको सेयर लिलामीमा बिक्री गर्ने बैंकले जनाएको छ । सृजना तुलाधर जमानीकर्ता रही केशव तुलारले आफ्नो विभिन्न कम्पनीको १ लाख ३७ हजार ९२६ कित्ता सेयर धितो राखेर कर्जा लिएका थिए । बैंकका अनुसार ऋणी तुलाधरले ३ कम्पनीको संस्थापक र १६ कम्पनीको संस्थापक सेयर धितो राखेका थिए । बैंकका अनुसार साधारण सेयरतर्फ सेन्ट्रल फाइनान्सको २ हजार ८०४ कित्ता, छ्याङ्दी हाइड्रोपावरको ३ हजार ४५० कित्ता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ७८१ कित्ता, ग्लोबल आइएमई बैंकको ७८२ कित्ता, कुमारी बैंकको १ हजार ८२९ कित्ता र मिथिला लघुवित्तको १ हजार २८७ कित्ता सेयर रहेको छ । त्यस्तै, मल्टीपर्पस फाइनान्सको ६ हजार ७८० कित्ता, नेको इन्स्योरेन्सको २ हजार ३३९ कित्ताँ, नेपाल बैंकको २ हजार ६६५ कित्ता, नेपाल लाइफको २ हजार ६२२ कित्ता, प्राइम बैंकको २४९ कित्ता, रिलायन्स लाइफको २ हजार ६८५ कित्ता, साना किसान विकास लघुवित्तको १९६ कित्ता, सानिमा बैंकको ५३९ कित्ता, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ३ हजार १४१ कित्ता र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ हजार १९२ कित्ता सेयर लिलामी गर्ने बैंकले जनाएको छ । त्यस्तै, संस्थपाक सेयरतर्फ गुडविल फाइनान्सको ६८ हजार १७८ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २७ हजार ६९ कित्ता र नेपाल लाइफ इन्स्योरन्सको ८ हजार ७१८ कित्ता सेयर बिक्री गर्ने बैंकको भनाइ छ ।
१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ८ वर्षे विकास ऋणपत्र २०८८ ‘घ’ बिक्री गर्ने भएको हो । उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् । असोज २५ गतेका दिन बोलकबोल हुने ऋणपत्र असोज २६ गते निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ ।
चिनी नपाएपछि यसवर्षको दशैं गुलियो नहुने
काठमाडौं । चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ । थापाथलीमा मात्र नभई खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ स्थानमा सञ्चालित सुपथ मूल्य पसलमा चिनी सकिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसअघि साल्ट ट्रेडिङ कर्पोरेसनबाट थोरै–थोरै परिमाणमा चिनी ल्याएर बिक्री गरिरहेको थियो । साल्ट ट्रेडिङमै मौज्दात न्यून भएपछि चिनी ल्याएर बेच्न नसिकएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिए । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी खरिद गर्न गत भदौ २९ गते अनुमति दिएको हो । अहिले कम्पनीमार्फत चिनी खरिदका लागि ४५ दिनको अवधि राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान प्रक्रिया अघि बढाइएको छ । सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बोलपत्र आह्वान, छनोट, स्वीकृति र त्यसपछि चिनी आपूर्तिको प्रक्रिया सुरु गर्दा दसैँ, तिहारलगायत चाडबाडको समयमा चिनी आइपुग्ने अवस्था देखिँदैन । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा पनि चिनीको मौज्दात सकिन लागेको छ । अहिले साल्ट ट्रेडिङसँग करिब ४ सय मेट्रिक टन मात्र चिनी मौज्दात रहेको सूचना अधिकारी कुमार राजभण्डारीले बताए । दसैँ तिहारको समयमा एक महिनामा ३० हजार मेट्रिक टन चिनी खपत हुने गरेको उनको भनाइ छ । खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलले एक व्यक्तिलाई अधिकतम दुई किलोभन्दा बढी नहुने गरी प्रतिकिलो ९७ रुपैयाँका दरले चिनी बिक्री गर्दै आएका थिए । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चिनी अभाव हुनुको कारणबारे सोधेको थियो । चिनी खरिदका लागि आह्वान गरेको आन्तरिक टेण्डरमा कुनै पनि कम्पनीको आवेदन नपरेको तथा अहिले अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट चिनी खरिदको काम भइरहेकाले केही समय लाग्ने दुवै जनाले लेखा समितिमा जवाफ दिएका थिए । सरकारले पहिला चिनी खरिदका लागि अनुमति नदिएको र अहिले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढेपछि खरिद गर्न ल्याउन समस्या भएको उनीहरुको भनाइ छ । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिने उद्देश्यले सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । सुपथ मूल्य पसल सञ्चालनका लागि सरकारले यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख रुपैयाँ र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १ करोड रुपैयाँ बजेट उपलब्ध गरेको थियो । खाद्य व्यवस्था कम्पनीले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलमा सबै किसिमको चामल, दाल, गहुँ, पिठो, मैदा, तेल (तोरी, सनफ्लावर र भटमास) तथा चिउरा बजारभन्दा प्रतिकिलो ७ रुपैयाँ सस्तो छ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडी, फापरको दाना, चिनो, कागुनो, उवा, जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । साल्ट ट्रेडिङले बजार मूल्यको तुलनामा नुन प्रतिकिलो रु दुई तथा तेल र चिउरा प्रतिकिलो ७ रुपैयाँका दरले छुट दिएको छ । यस्तै, दुग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो २० रुपैयाँ, पनिर प्रति २ सय ग्राममा २० रुपैयाँ र प्रति ५ सय ग्राममा ५० रुपैयाँ छुट दिएको छ ।
खाना खाँदैछु भनेका विपीन त्यसपछि सम्पर्कमै आएनन्
काठमाडौं । गत शनिबारपछि इजरायलमा रहेका छोरासँगको सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का पदमा जोशी बेलाबेला मुर्छा परेका छन् । शनिबारदेखि छोरासँग सम्पर्क हुन छोडेपछि जोशी परिवार विक्षिप्त बनेको छ । सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपीन जोशी शनिबारदेखि सम्र्पकविहीन छन् । “शनिबार १२ बजेतिर भाईसँग सम्पर्क हुँदा खाना खाँदैछु भनेको थियो ।” विपिनका दाई किशोर जोशीले भने, “शनिबारपछि भाईसँग सम्पर्क हुन सकिरहेको छैन ।” कृषि फार्ममा कार्यरत अन्य साथीहरुसँग सम्पर्क भए पनि विपीनसित भने सम्पर्क हुन सकिरहेको छैन । “विभिन्न माध्यमबाट प्रयास गर्न खोजे पनि विपीनसित सम्पर्क हुन सकिरहेको छैन”, जोशीले भने, “सरकारले यथाशिघ्र खोजी कार्य गरिदिनु पर्याे ।” विपिनका आमावुवा दुवै शिक्षण पेशामा आवद्ध छन् । आमा पदमा जोशी बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा अध्यापनरत छिन् भने बुबा शिक्षणको क्रममा बझाङमा छन् । आमा पदमा र छोरी पुष्पा मात्रै महेन्द्रनगरस्थित भाषीमा बसोबास गर्छन् । इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा रहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकका अनुसार सुदूरपश्चिम विश्वविद्यालयले इजरायलको छ फार्ममा ४९ विद्यार्थी रहेको जानकारी प्राप्त भएको बताए । “टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ४९ विद्यार्थी इजरायली राजदूतको समन्वयमा पठाएका थियौं ”, रजिष्ट्रार पाठकले भने, “१७ जनाको समूह रहेको क्षेत्रमा आक्रमण हुँदा दुःखद् खबर सुन्नु परेको छ ।” इजरायलको किबुज अलुमिममा रहेका १० विद्यार्थीको निधन भएको छ । चार घाइते विद्यार्थी उपचाररत रहेका एक रोजगारदातासँग र अर्का एक विद्यार्थी प्रहरीसँग सुरक्षित छन् । विपिन भने हालसम्म सम्पर्कविहीन रहेको उनले बताए । “सुरक्षित स्थानमा रहेका विद्यार्थीले स्वदेश फर्किन चाहनुभएको छ । यसका लागि सरकारसँग समन्वय गरिराखेका छौँ”, रजिष्ट्रार पाठकले विश्वविद्यालयले सरकार र दूतावाससँग नियमित सम्पर्क गरिरहेको जानकारी दिँदै भने । सुदूरपश्चिम विश्वविद्यालयले गत भदौ अन्तिम साता कृषि सङ्कायको आठौँ सेमेस्टरका ४९ विद्यार्थीलाई दुई चरणमा गरी इजरायल पठाएको थियो । नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा ‘सेडट नेगेभ कलेज’सँगको सम्झौताअनुसार सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका रजिष्ट्रार पाठकले बताए ।
दसैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ, ८० प्रतिशत बुकिङ
काठमाडौं । दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् । काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार हवाई यातायाततर्फ सार्वजनिक यातायात जस्तो ठ्याक्कै यो दिन टिकट खुल्ने भन्ने व्यवस्था नरहेकाले यात्रुले सस्तो दरका सबै टिकट काटिसकेका छन् । उनले भने, “बुद्ध एयरको सुर्खेत र तुम्लिङटारको टिकट दसैँसम्मलाई नै प्याक भइसकेको छ । अन्य गन्तव्यतर्फ दसैँसम्मका २० प्रतिशत टिकट बाँकी नै छन् ।” अग्रिम टिकट काट्नेले सस्तो र तुरुन्तै टिकट काटेर उड्न चाहनेले महँगो टिकट लिन सक्ने भएकाले महिना दिन पहिलेदेखि नै दसैँका टिकट लिनेसमेत रहेको उनले बताए । दसैँका बेला राजधानीबाट बाहिरिने उडान भरिभराउ भए पनि राजधानी फर्किने उडानको टिकट लिनेको सङ्ख्या भने न्यून रहेको उनले बताए । अहिले राजधानी फर्किनेले टिकट सस्तो दरमा पाइरहेको समेत उनको भनाइ छ । त्यस्तै यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दसैँ लक्षित यती एयरका ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेका छन् । दसैँपछि राजधानी फर्कने यात्रुले अहिले नै अग्रिम टिकट काट्न थालेकाले दसैँपछि समेत राजधानी फर्कन अहिलेकै अवस्था रहने उनले बताए । उनले भने, “अहिले एकतर्फी उडानको भाडा महँगो भए जस्तै दसैँपछि पनि केही दिन त्यस्तै हुने हो । टिकटको मूल्य सरकारले तोकेको उच्चतम र न्यूनतम बिन्दुभित्रै रहने भएकाले आठ वर्षदेखि हवाई कम्पनीले बढाएका छैनन् ।” अहिले अन्तर्राष्ट्रियतर्फ मात्रै ४० हाराहारीमा उडान थप गरिएकाले बढ्दो एयर ट्राफिकका कारण जहाजको उडान समय खर्चसमेत बढ्न गएको उनको भनाइ छ । हाल भैरहवा, पोखरा, जनकपुर, विराटनगर, धनगढीलगायतका गन्तव्यका उडानमा बढी चाप रहेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खातामा जम्मा गर्याे प्रभु सेलेक्ट फण्डको ९.५ प्रतिशत लाभांश
काठमाडौं । प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्डको लाभांश वितरण गरेको छ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डका इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको हो । क्यापिटलले फण्डका ईकाईधनीहरुलाई करसहित ९.५ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो । लाभांश वितरण प्रयोजनार्थ फण्डले असोज १२ गते बुकक्लोज गरेको थियो । त्यसैले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको क्यापिटलले जनाएको छ । डिम्याट खातामा बैंक खाता अध्यावधिक नगराएका इकाईधनीहरुलाई शिघ्र अध्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।