विकासन्युज

दशैंमा नयाँ गाडी खरिदमा छुटै छुट, लाखौंको उपहारदेखि विदेश घुम्नेसम्म

काठमाडौं । बजारमा दशैंको चहलपहल सुरु भइसकेको छ । उद्योगी व्यवसायीहरु आफुले उत्पादन गरेको वस्तु बिक्रीका लागि मार्केटिङ गरिरहेका छन् भने ग्राहकहरु चाडपर्वमै नयाँ सामान खरिद गर्न चाहन्छन् । यतिखेर अटो बजारमा पनि नयाँ–नयाँ मोडलका सवारीहरु भित्र्याएर फरक किसिमको रौनक सिर्जना भइरहेको छ । दशैंका लागि चारपाँग्रे गाडीका बिक्रेताहरुले पनि विभिन्न किसिमका अफरहरु ल्याएर ग्राहकलाई तानिरहेका छन् । ग्राहकलाई आफ्ना सवारी साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नयाँ गाडी खरिदमा गाडी उपहार, नगद छुटदेखि विदेश भ्रमणसम्मका अफरहरु सार्वजनिक गरेका छन् । आइशरको गाडी किन्दा मिनी इभी कार पाइने आइशर गाडीको आधिकारिक विक्रेता बतास एमएडब्लु कमर्शियल भेहिकल (बी.एम.सी.वी.) ले नयाँ गाडी खरिद गर्नेमध्येबाट एक जनालाई मिनी इभी कार उपहार दिने घोषणा गरेको छ । कम्पनीले दशैं र तिहारको अबसरमा नयाँ आइशर गाडी खरिद गर्नेमध्येबाट एक जनालाई उक्त कार दिने घोषणा गरेका हो । यस्तै, कम्पनीले घोषणा गरेको चाडपर्वको स्कीममा आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाइनेछ । यस्तै, कम्पनीले उक्त उपहार बाहेक चालकलाई पाँच लाख रुपैयाँ र २५ लाख रुपैयायँको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करमा छुट दिएको छ । निसानका गाडी किन्दा पौने १४ लाख छुट नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले दशैं, तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले निशानको गाडी खरिद गर्दा १३ लाख ७५ हजार रुपैयाँसम्म छुट सुविधाको घोषणा गरेको हो । कम्पनीले निसान फेष्टिभ ड्राइभ २०८० भन्दै १३ लाख ७५ हजार २२६ रुपैयाँसम्मको अफर योजना ल्याएको हो । उक्त अफरसँगै कम्पनीले नगद छुट मात्र ८ लाखसम्म हुने जनाएको छ । यस्तै एक वर्षको बीमा र एक वर्षको सडक कर पनि निःशुल्क प्रदान गर्ने जनाएको छ । टाटाका गाडी किन्दा ७ लाख ३० हजार छुट दशैं, तिहारमा टाटाका गाडी किन्दा ७ लाख ३० हजार रुपैयाँसम्म छुट पाइने भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको अफरअन्तर्गत टाटा आइस रेञ्जका गाडीको खरिदमा ग्राहकहरुले ७ लाख ३० हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । हुन्डाईको गाडी किन्दा ६ लाखसम्म छुट हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चाडपर्व लक्षित अफर ‘फेष्टिभ डिलाइट–२०८०’ योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त योजना अनुसार हुन्डाईका गाडी किन्ने ग्राहले ६ लाख रुपैयाँसम्म छुट पाउनेछन् । उक्त छुटसँगै कम्पनीले हुन्डाइ फेष्टिभ डिलाइट २०८० अन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्म ग्राहकले जित्न सक्नेछन् । एक वर्षको लागि निःशुल्क सवारी बीमा र सडक कर ग्राहकले पाउनेछन् । यस्तैगरी, कम्पनीले क्रेटा गाडी खरिदमा २ लाख नगद छुटको घोषणा गरेको छ । कम्पनीले क्रेटा गाडीको खरिदमा स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँ, एक वर्षको लागि निःशुल्क सवारी बीमा र सडक करमा छुटको घोषणा गरेको छ । फोटोनको गाडी किन्दा थाइल्यान्डदेखि बालीसम्म घुम्न पाइने दशैं तिहारमा फोटोनका गाडी किन्नेहरुले थाइल्यान्डदेखि इन्डोनेसियाको बालीसम्म घुम्न पाउने भएका छन् । नेपालका लागि फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले दशैं, तिहारका लागि उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको अफर अन्तरगत फोटोनका जुनसुकै गाडी किन्नेहरुले उपहार पाउनेछन् । फोटोनका गाडी बुकिङ गर्नेहरुमध्ये कम्पनीले एक जनालाई बाली र एक जनालाई थाइल्याण्ड घुम्न जान अवसर घोषणा गरेको हो । यस्तै, कम्पनीले गाडी खरिद गर्नेमध्ये एक जनालाई स्मार्ट टिभी, २ जनालाई स्मार्टवाच, २ जनालाई रेफ्रिजिरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनालाई मोबाइल फोन प्रदान गर्ने जनाएको छ । एमजीका गाडी किन्दा २ लाखसम्म फाइदा एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व लक्षित अफर योजना सार्वजनिक गरेको छ । मोरिस ग्यारेज (एमजी) का विद्युतीय गाडी किन्ने ग्राहकले २ लाख रुपैयाँसम्म फाइदा पाउने भएका छन् । विद्युतीय गाडीको मात्र बिक्री गर्दै आएको कम्पनीले नयाँ गाडी खरिदमा स्पेयर टायर, चार्जर र एक वर्षको बीमा निशुल्क दिने घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको उक्त अफर २ लाख रुपैयाँ बराबरको भएको जनाईएको छ ।

चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्री गरे कारबाहीमा परिने

काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । नगरप्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको बताए । उनले नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजा पाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गरे । ‘बजारमा प्रशस्त प्लास्टिकजन्य फूलको सामग्री हुन्छन्’, सापकोटाले भने, ‘किसानले उत्पादन गरेको फूलले बजार पाएका छैनन् । पालिकाले गरेको यस निर्णयले नगरभित्र उत्पादित फूलले बजार पाउने आशा छ ।’ प्लास्टिकजन्य फूल तथा मालानै प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ । रासस

नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने

काठमाडौं । इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ । नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबइ ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनी लडाकू समूह हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीहरुको निधन भएको थियो । यसैगरी आक्रमणमा परेर सम्पर्कबिहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ । दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरुमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।

कार्गाे भवन प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आजदेखि कार्गाे भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ। अनाधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्ने उद्देश्यले यो गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयले जनाएको छ। प्रहरी प्रतिवेदन र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वितरण हुने वाइपास बाहकले मात्र यो गेट पार गर्न सक्नेछन् । गत साउन ३ गते कार्गाे भवनबाट गाडीको ब्रेकसुभित्र लुकाइछुपाइ ल्याइएको सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाइ गरेको छ। उक्त घटनामा अनधिकृत व्यक्तिको प्रवेश देखिएपछि सो गेट सञ्चालनमा ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार त्रिभुवन विमानस्थल प्रवेशका लागि अङ्ग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’सम्मको पास उपलब्ध गराइन्छ भने कार्गाे भवन प्रवेशका लागि अङ्ग्रेजी अल्फावेट ‘वाई’ पास उपलब्ध गराइन्छ। सर्वसाधारणले आफ्नो मालवस्तु छुटाउन भन्सार क्षेत्रमा प्रवेश गर्नुपरेमा आगन्तुक अनुमतिपत्र (पास) लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड र अनलोड गर्ने श्रमिकलाई मात्र फोटोसहितको पास उपलब्ध गराइएको भन्सार प्रमुख डा टोकराज पाण्डेले बताए । उनले यसबाट अनधिकृत व्यक्तिको प्रवेश र अवैध सामान आयात अन्त्य हुने अपेक्षाका साथ मापदण्ड तयार पारी पास वितरणलाई व्यवस्थित गरिएको बताए । भन्सार कार्यालयले यसअघि विमानस्थलको यात्रु आवागमनतर्फ बहुमूल्य सामान र विदेशी मुद्राको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको थियो ।

हिमालयन बैंकले प्रहरीलाई दियो ५ थान गोप्रो क्यामेरा

काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई २ लाख ६७ हजार ५ सय रुपैयाँबराबरको इन्स्टा ३६० चेस्ट स्ट्रापसहित पाँच थान गोप्रो हिरो ९ क्यामेरा हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा काठमाडौं जिल्लामा सहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिको निगरानी तथा रोकथाम गर्न बैंकले सो सहयोग प्रदान गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले सहयोग स्वरुप क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुंगेललाई हस्तान्तरण गरे । सहयोग प्रदान गर्न आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति थियो ।

मन्थली–लुक्ला उडान ५ दिनदेखि ठप्प, २ सयभन्दा बढी फ्लाइट क्यान्सिल

काठमाडौं । ​खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाई उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् ।लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतीक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् । नागरिक उड्डयन प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिवारदेखि बुधवारसम्म दुई सयभन्दा बढी उडान स्थगित भएका छन् । सोलुखुम्बुको लुक्ला विमानस्थलमा पर्यटक ओसार्ने विमान कहिलेकाहीँ फाप्लुको मौसम खुलेपछि त्यहाँ अवतरण गर्ने प्राधिकरण प्रमुख अशोक थापाले बताए । पाँच दिनदेखि उडान प्रभावित भएपछि केही कम्पनीले हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिरहेका थिए । तर अहिले हेलिकप्टरका लागि पनि भिजिविलिटी कम भएको उनले जानकारी दिए । प्रमुख थापाका अनुसार तीन वायुसेवा कम्पनीले सात जहाज तथा आवश्यक पाइलटसहितका अन्य जनशक्ति तयारी अवस्थामा राखेका छन् । ‘सीता एयरका दुई, यति एयरलाइन्सका दुई र समिट एयरका तीन जहाज विमानस्थलमा पार्किङ गरी राखिएका छन्’, उनले भने, ‘शनिवारदेखि एक्कासि मौसम बिग्रिएपछि हेलिकप्टर बाहेक अन्य उडान लुक्लाका लागि हुन सकेका छैनन् ।’​ लुक्लातर्फको मौसम एकदमै खराब भएकाले जहाजलाई अवतरण गर्न असजिलो हुने प्राधिकरणले जनाएको छ । ‘अवतरणका लागि पाइलटले केही टाढा देखिनै विमानस्थल देख्नपर्छ । तर लुक्लाको विमनस्थलमा बाक्लो हुस्सु लाग्ने, हावाको वेग नराम्ररी चल्ने भएपछि पछिल्लो समयमा अवतरणमा समस्या भएको छ’, थापाले भने । यो मुख्य पर्यटकीय सिजन भएकाले अधिकांश पर्यटक सगरमाथा आधार शिविरतर्फ जाने तथा केहीले सगरमाथाको आरोहणमा गर्ने गर्दछन् । हिमाली दृश्यावलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । यसअघि दोलखाको जिरीबाट पैदल हिँडेर लुक्लासम्म जाने गरेका पर्यटक अहिले सुविधा थपिएसँगै जहाज र हेलिकप्टरमा जानेआउने गरेका हुन् । सगरमाथाको आधार शिविरबाट फर्कदा पनि पर्यटकले खराब मौसमका कारण सास्ती ब्यहोर्नु परेको प्रमुख थापाले बताए । निश्चित समयसम्मका लागि भिसा लिएर नेपाल आएका पर्यटक समयमा लुक्ला जान र फर्कन नपाएपछि  चिन्तित बनिरहेका छन् । कति पर्यटकले आफ्नो देश फर्कन टिकट नै लिइसकेका बताएका छन् । काठमाडौंबाट लुक्ला जाने पर्यटकलाई विभिन्न कम्पनीले काठमाडौंदेखि मन्थलीसम्म सडकमार्गबाट ल्याएपछि लुक्लासम्म जहाज तथा हेलिकप्टरमा पठाउने गरिएको छ । रासस

आईपीओ जारी गर्नु पर्ने माग राख्दै नेप्सेका कर्मचारी आन्दोलित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)का कर्मचारी आन्दोलित भएका छन् । नेप्से कर्मचारी संघले बुधबार धनौ दिँदै आईपीओ मार्फत् नेप्सेको पुनः संरचना गर्नु पर्ने माग गरेका छन् । नेप्सेको पुनः संरचनाको लागि धर्ना कार्यक्रम गरेको संघका अध्यक्ष नबराज थापाले जानकारी दिए । उनका अनुसार नेप्सेलाई आईपीओमार्फत् पुनः संरचना गरी सवल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन कर्मचारीहरुले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । पहिलो चरणमा प्लेकार्ड सहित सौहार्द वातावरणमा एक घण्टा दबावमुलक कार्यक्रम गरेको अध्यक्ष थापाले बताए । नेप्सेको पुनःसंरचना गर्ने विषयलाई सम्बन्धित सरोकारवाला पक्षले सम्बोधन नगरेसम्म दबावमूलक कार्यक्रमलाई निरन्तर जारी राख्ने उनको भनाइ छ ।

नेपालीहरुलाई स्वदेश ल्याउन बुधबार इजरायल जाँदै नेपाल एयरलाइन्स

काठमाडौं । नेपालीहरुलाई स्वदेश ल्याउन नेपाल वायु सेवा निगमको नेपाल एयरलाइन्स इजरायल जाने भएको छ । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज जहाज पठाउन लागेको हो । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार उक्त जहाज बुधबार राति ११ बजे दुबई हुँदै इजरायल जान लागेको हो । त्यसको लागि सरकारले इजरायलबाट चार्टर विमान उडान र अवतरणको अनुमति समेत लिइसकेको छ । स्वदेश फर्किनका लागि हालसम्म ३ सय ५० जनाले नेपाली राजदूतावासमा आवेदन दिएको जानकारी गराएका छन् । मन्त्री साउदका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् । यसैगरी, लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २६५ जना विद्यार्थीहरु इजरायलमा रहेको र तीमध्ये १० जनाको चरमपन्थी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु भएको छ ।