विकासन्युज

घर घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्छ: महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । बिहीबार काठमाडौंमा अयोाजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताए । मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनुभन्दा घर घरमै स्वास्थ्य सेवा पुर्याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने उनको भनाई थियो । उनले ६०/७० लाखलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताए । ‘बाथरोगको बारेमा हामी सुन्यौँ, ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान छ, त्यसको बारेमा जानकारी समयमा नै थाहा पाउनुपर्छ, समयमै बाथ रोगको बारेमा थाहा पाउनुपर्छ र सूचना लिन पाउनुपर्छ,’ उनले भने । महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताए ।

सिजी मोटर्सको नेटा भी एक्स्चेञ्ज क्याम्प, बोनससँगै बीमा पनि

काठमाडौं । सिजी मोटर्सले काठमाडौंको विशालनगरस्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरिरहेको छ । मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकलाई लक्षित गर्दै असोज २४ गतेदेखि २८ गतेसम्मकालाई उक्त एक्स्चेञ्ज क्याम्पको आयोजना गरेको हो । दशैंलाई लक्षित गरी आयोजना गरिएको यो एक्स्चेन्ज क्याम्पमा बोनससहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक वर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुल अफर समेत दिइरहेको कम्पनीले जनाएको छ । साथै, हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको छ । सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भी ले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेट समेत सित्तैमा दिइरहेको कम्पनीले जानकारी गराएको छ । नेटा भीमा ३८० कि.मी. रेन्ज, ०.५ रुपैया प्रति कि.मी. खर्च, १० वर्ष अथवा २,००,००० कि.मी. ब्याट्री र मोटरमा वारेण्टी, ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएको छ ।

परिसूचक घट्दा बढ्यो सेयर कारोबार, ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेकोे छ । लगातार घटेको परिसूचक बिहीबार पनि २०.१६ अंकले घटेर १८७४.६० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०६ प्रतिशतले बढी हो । बजारमा परिसूचक घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । बुधबार एक अर्ब रुपैयाँमा सीमित भएको सेयर कारोबार बिहीबार एक अर्ब ७० करोडको भएको छ । २९२ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंकको प्रमोटर सेयर कारोबार भएको छ । जसको एकैदिन १६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घटेको बजारमा पनि आधार दर्जन कम्पनीको सेयर सर्किट लेभलमा बढेको छ । जसमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० प्रतिशतले, मिड सोलु हाइड्रोपावर कम्पनीको १० प्रतिशत, हाथवे इन्भेष्टमेन्ट नेपालको ९.९८ प्रतिशत, एनआईबीएल ग्रोथ फण्डको ९.९५ प्रतिशत, सानिमा ग्रोथ फण्डको ९.९४ प्रतिशत र सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । यता टप लुजरको शीर्ष स्थानमा सिटी होटल रहेको छ । जसको सेयर मूल्य ९.०९ प्रतिशतले घटेर प्रतिकित्ता ५८५ रुपैयाँमा झरेको छ । बजारमा कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड समूहबाहेक सबै समूह राताम्मे देखिएका छन् ।

नेपाली विद्यार्थी लिन इजरायल पुग्यो जहाज, २५४ जनालाई ल्याउने

काठमाडौं । इजरायलमा रहेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स इजरायल पुगेको छ । निगमको वाइडबढी ए ३३० जहाज केही बेर अघि इजरायलको तेलअभिभ विमानस्थलमा पुगेको हो । उक्त विमानस्थलमा स्वेदश फर्कनको लागि २४० जना बढी विद्याथी जम्मा भएका छन् । विमानको क्षमता अनुसार २५४ जना विद्यार्थी आज नेपाल फर्किने बुझिएको छ । बाँकी विद्यार्थीको भने अन्य उडानबाट उद्धार गरिने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । इजरायलमा गत शनिबार बिहानदेखि प्यालेस्टाइनी विद्रोही समूह हमासले आतङ्कवादी आक्रमण गरिरहेको छ । उक्त आक्रमणमा परि हालसम्म १० जना नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ । बाँकीलाई भने उद्धार गर्नको लागि परराष्ट्रमन्त्रालयको टोलीसहितको नेपाल एयरलाइन्स इजरायल पुगेको छ । उक्त विमान आजै राती नेपाल आइपुग्ने बताइएको छ ।

धान, गहुँ र मकैको उत्पादन नबढाएसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न सक्दैनः मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले मुख्य बाली धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन नगरेसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित विश्व खाद्य दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेको र त्यस लक्ष्यलाई प्राप्त गर्न सबै एकजुट भएर कृषिमा सुधार गर्न आवश्यक रहेको बताए । अहिले पनि करिब १३ लाख मेट्रिक्टन धान, करिब ४ लाख मेट्रिक्टन गहुँ अपुग रहेको बताउँदै उनले मुख्यतः धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा केन्द्रित भएर छलफल गरी योजना बनाएर काम गर्न जरुरी रहेको बताए । उनले यो वर्ष कम्तिमा पनि १ लाख मेट्रिक्टन क्षेत्रफलमा चैते धान लगाउन र ६ देखि ७ लाख मेट्रिक्टनसम्म धान उत्पादन गर्न आवश्यक रहेको उनको भनाई थियो । ‘हाम्रो देशमा हामीले हाम्रो खाद्य सुरक्षा मात्रै होइन, खाद्य सम्प्रभुताको विषयलाई पनि ऐन बनाएर व्यवस्थित बनाएका छौँ । हामीले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने भनेका छौँ ? कसरी हुने ? त्यसमा केन्द्रित हुनुपर्छ । अहिले पनि हाम्रा मुख्य बाली, धान, गहुँ र मकैलाई हामीले विशेष जोड गरेर उत्पादन गरेनौँ भने हामी त्यो लक्ष्य प्राप्त गर्न सक्दैनौं,’ उनले भने । मन्त्री भुसालले पूर्वदेखि पश्चिमका नदी प्रणालीलाई जोड्ने गरी नहर निर्माण गर्न जरुरी रहेको बताए । उनले यसका लागि बहुउद्देश्यीय योजना बनाएर अघि बढेमात्रै सोचेअनुरुपको काम गर्न सकिने भनाई राखे ।

बौद्धमा गोली चल्यो, सिन्धुलीका एक युवक घाइते

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धमा गोली चलाएको छ । सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनामा आधारमा पुगेको टोलीले उक्त टोलीमाथि नै जाइलागेपछि गोली चलाएको बताइएको छ। उक्त टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् । ती अधिकारीका अनुसार सिन्धुली घर भएका एक युवक घाइते भएका छन् ।

काठमाडौं महानगरले सञ्चालन गर्यो निःशुल्क आँखा परीक्षण शिविर, अप्रेशन पनि सहुलियतमा

काठमाडौैं । काठमाडौं महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । महानगरले बिहीबार अर्थात असोज २५ गतेदेखि नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । काठमाडौं महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्यस्वयंसेवकहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ । नेपाल आँखा अस्पतालका कर्मचारी राम केसीले सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको जानकारी गराए । उनले अप्रेशन गर्नुपर्ने भएकाहरुलाई पनि नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्ने लक्ष्य रहेको बताए । ‘सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको हो, आज र भोलि यो शिविर सञ्चालन गर्नेछौं, शिविरमा २ हजारसम्म कर्मचारीलाई यो सेवा दिनसक्छौँ, यो निःशुल्क शिविर हो, निःशुल्क जाँच हुन्छ, निःशुल्क उपचार हुन्छ, अप्रेशन गर्नुपर्ने भए उहाँहरुलाई नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्नेछौं,’ उनले भने । विश्व दृष्टि दिवस २०८० को अवसरमा काठमाडौं महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा जाँच गरेको हो ।

रवि लामिछानेको प्रश्न: नरेन्द्र मोदी नेपाल आउँदा किन गरिएन स्वागत ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन् । मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गर्दै उनले छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँदा कुनै औपचारिक कार्यक्रम समेत नभएको बताए । ‘हाम्रो मित्रराष्ट्र छिमेकी राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भू-भागमा आउनुभएको रहेछ । छिमेकी राष्ट्रको प्रधानमन्त्री हाम्रो भू-भागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ, म सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, यति ठूलो भ्रमण आफ्नो भुमिमा, आफ्नो देशमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमण बारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन ? यत्रो ठूलो भ्रमणमा मित्र राष्ट्र, छिमेकी राष्ट्रको त्यति ठुलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भुमिमा आउँदाखेरी सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम हुनुपर्दैन ? त्यसका औपचारिकताहरु हुँदैनन् ? त्यसकारणले यस बारेमा सम्मानित सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउनुपर्यो ।’ उनले सो क्षेत्र नेपाली भूमि रहेको र नेपालको चुच्चे नक्शामा समेत समेटिएको उल्लेख गर्दै नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताए ।