विकासन्युज

नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग : जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने

काठमाडौं  । नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पलह थालेका छन् । चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडिलाई तत्काल मासिक घर भाडाको व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजारसम्म घर भाडा व्यवस्थापन गर्न तथा थप घर प्रभावित भएमा सोहीअनुसार घर भाडा उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकमा नगरप्रमुख  गिरीले बैठकमा तत्काल ११ घर परिवारको विवरण सङ्कलन भएको र उनीहरुलाई तत्काल स्थानान्तरण गरिने जानकारी गराउँदै थप प्रभावित भएमा सोहीअनुसार व्यवस्थापन गरिने बताए। उनले सुरुङमार्ग  आयोजनाले तीन महिनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणालगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने  बैठकमा  जानकारी गराएका थिए । नगरप्रमुख गिरीले भने, ‘नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका  प्रभावित घरलाई तत्काल स्थानान्तरण गर्न घर भाडा उपलब्ध गर्न सिफारिस गरिएको छ । मुआब्जा र अन्य विषयमा पूर्ण भौगोलिक सर्वेक्षण प्रतिवेदन पछि थप निर्णय गरिने छ ।’ बैठकमा नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगरपालिकाको विभिन्न विषयगत समितिका संयोजक, सुरक्षा संयन्त्रका प्रतिनिधि, सङ्घर्ष समितिका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता साथै निर्माण आयोजनाका प्रतिनिधि उपस्थिति रहेको थियो । राष्ट्रिय गौरवको नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको मुख्य टनेल ‘ब्रेकथ्रु’ अवस्थामा पुगेको बताइएको छ । मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८८ मिटर र आकस्मिक टनेल ‘रेस्क्यु टनेल’ दुई हजार पाँचसय ७५ रहेको छ । यसरी गरिएको थियो सहजीकरण  चन्द्रागिरि नगरपालिकाले सडक पूर्वाधारका क्षेत्रमा बहुप्रतिष्ठित सो आयोजनालाई अगाडि बढाउन सुरुआती चरणदेखि निरन्तर स्थानीय तहमा आवश्यक सहयोग तथा समन्वय प्रदान गरेकै कारण सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । नगरपालिकाले काठमाडौँतर्फको आयोजना प्रभावितलाई मुआब्जा वितरण तथा अन्य गुनासा सम्बोधन गर्न सहजीकरण गरेको थियो । यस प्रक्रिया अहिले पनि जारी छ । नगरप्रमुख गिरीले भने, ‘नगरपालिकाको साथ र सहयोगको सुनिश्चिताले मात्र सुरुङमार्ग आयोजना कार्यान्वयनमा आएको हो । विशेष गरी सुरुङमार्ग बनाउन काठमाडौँतर्फको समस्या मेरो पहलबाट सम्बोधन हुँदै आएका छन् ।’ नगरपालिकाका वडा नं १, ३ ५, ७ र १२ का स्थानीयवासी आयोजनाबाट बढी प्रभावित छन् । उनीहरुलाई उचित मुआब्जा दिलाउन तथा आयोजना प्रभावित क्षेत्रमा खानेपानी तथा अन्य पूर्वाधारका विकास गराउन नगरप्रमुख गिरीले विशेष चासो र सक्रियता देखाउँदै आएका छन्  । सुरुङमार्ग बनाउन सरकारले अधिग्रहण गरेका जग्गामध्ये काठमाडौँमा दुई सय ६७ र धादिङमा एक सय नौ रोपनी पर्छ । तीमध्ये अधिकांशले मुआब्जा पाइसकेको बताइएको छ । उनले भने, ‘सुरुङमार्गको सम्भाव्यता अध्ययनदेखि नै स्थानीयवासीले आयोजनाका विरुद्धमा आवाज उठाउन थाले । आयोजना नै फिर्ता हुने त होइन भन्ने खतरा थियो । चन्द्रागिरि नगर तथा देशको प्रतिष्ठासँग गाँसिएको आयोजना कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो दृढ मान्यता थियो । विकास गर्दा विनाश हुनसक्छ तर स्थानीयवासीलाई संलग्न गराएर गरिने विकास दिगो हुन्छ । यही मान्यतालाई कार्यान्वयन गर्न अहोरात्र ध्यान दिएँ । आयोजना प्रभावितका उचित मागलाई सम्बोधन गराउन सङ्घीय सरकारसँग अनेकौँ तह र चारणमा वार्ता गरेँ । प्राथमिकताका साथ पीडितका कुरा उठाएँ । उनीहरुलाई अधिकतम मुआब्जा दिलाउन सफलसमेत भएँ । आयोजनालाई कार्यान्वयनमा उतार्न समन्वन्वकारी भूमिका निर्वाह गरेँ । सङ्घीय सरकारले कार्यान्वयनमा ल्याएको आयोजनामा नगरपालिकाको भरपुर साथ र सहयोग मिलेको छ ।” सरकारले आयोजना प्रभावित क्षेत्रमा पहिलो चरणमा बाटो नपुगेको जमिनलाई समेत प्रतिआना १० लाख रूपैयाँ तथा अन्य जमिनलाई अधिकतम ४६ लाख रूपैयाँ सम्म मुआब्जा प्रदान गरेको थियो । दोस्रो चरणमा ‘फ्लाइओभर’ बनाउने क्षेत्रका जमिनलाई न्यूनतम प्रतिआना ५७ लाख रूपैयाँ , पक्की घरका लागि छुट्टै, सबै जमिन परेकालाई थप १० प्रतिशत तथा घरटहरा हटाउन थप रकम प्रदान गरिरहेको जनाइएको छ । सवारीसाधन आवतजावतका लागि निर्माणाधीन नेपालकै पहिलो सो सुरुङमार्ग आयोजनाले नगरप्रमुख गिरीकै प्रस्तावअनुसार चन्द्रागिरि–२ मा १४ करोड रूपैयाँ को खानेपानी योजना सम्पन्न गरिदिएको छ । आयोजना प्रभावित वडा १ मा स्थानीयवासीका मागअनुसार खानेपानी योजना निर्माणाधीन छ भने अन्य सांस्कृतिकस्थल तथा मन्दिर संरक्षण गरिदिने आयोजनाले प्रतिबद्धता जनाएको छ । सो सुरुङमार्ग चन्द्रागिरि–३ टोटेपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिका–९ सिस्नेखोला निस्कने छ । नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठका अवसरमा कार्यान्वयनमा आएको सो आयोजना विसं २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको हो । नगरप्रमुख गिरीले भने, ‘राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा स्थानीय तहले कस्तो सहजीकरण तथा समन्वय गर्नुपर्छ भन्ने चन्द्रागिरि नगर नमूना बन्न सक्छ । स्थानीयवासीको अपनत्वले मात्र ठूला आयोजना कार्यान्वयनमा जान्छ । ठूला आयोजनाले ल्याउने समृद्धि ठूलो नै हुन्छ । यस कुरालाई आयोजना प्रभावितलाई बुझाउनुपर्छ ।’ नगरप्रमुख गिरीले भने, ‘सुरुङमार्ग आयोजना सम्पन्न भएसँगै नेपाल नयाँ युगमा प्रवेश गर्छ । छोटो अवधिमा महत्वपूर्ण फड्को मार्न सकिन्छ । यो सुरुङमार्ग नेपालमा गाडी गुडाउन मिल्ने पहिलो सुरुङमार्ग हुनेछ । यसले नेपाललाई सुरुङ युगमा प्रवेश गराउने छ । जापानी प्रविधिक तथा विज्ञले सो आयोजनाबाट प्रविधि हस्तान्तरण पनि गर्नेछन् ।’ यसबाट हुने प्रत्यक्ष अर्को फाइदा भनेको ट्राफिक जामका लागि चिनिएको नागढुङ्गामा घण्टौँ जाम हुने छैन । नौबिसेबाट थानकोटसम्मको सडकखण्ड घुमाउरो तथा उकाली–ओराली धेरै भएकाले र यस क्षेत्रमा सधैँजसो ट्राफिक जाम हुने गरेको छ । गाडी उकालोमा बिग्रिएर बस्ने अवस्थाको अन्त्य हुनेछ । बाटो पनि साढे तीन किलोमिटर छोटो हुनेछ । सुरुङमार्ग निर्माणपछि २० मिनेटमै नौबिसेबाट काठमाडौँ प्रवेश गर्न सकिने जनाइएको छ । रासस

विविधताबिचको अनुपम संस्कार र संस्कृतिलाई विश्वभर पुर्याउनुपर्छ : नेता राजवंशी

काठमाडौं । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु–सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त  विशेषता भएको मुलुक हो । हामी अहिले दसैँ, तिहार र छठलगायतका चार्डपर्वको मनाउने तयारीमा छौ । विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव हाम्रो परिचय र सम्पत्ति हो । वर्गीय, जातीय, क्षेत्रीय भाषिक, धार्मिक, लैङ्गिक विभेद  र सबै प्रकारका जातीय छुवाछूतको अत्य गर्ने राज्यले सङ्कल्प लिएको छ । शान्तिकामी नेपाली हुनुका नाताले विविधतायुक्त समाजमा रहेका धर्म, संस्कृति, सामाजिक चालचलन, परम्परा, मूल्यमान्यता र रीतिरिवाजको सम्मान गर्दै प्रत्येक जाति–समुदायको चाडपर्वमा सरिक हुने र शुभकामना अदान प्रदान गरी सामाजिक सद्भाव कायम राख्नु सबैको कर्तव्य हो । यसैबीच, नेकपा एमाले नेता अमृतलाल राजवंशीले आउँदै गरेको बडादसैँ, दीपावली र छठपर्वको उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्दै सामाजिक विविधताका कारण एकअर्का समुदायको संस्कार र संस्कृतिको उच्च सम्मान गर्ने यस्तो अनुपम परम्परा नै हाम्रो राष्ट्रिय गौरव भएको बताएका छन् । उनले भने, “जुनसुकै जाति, धर्म, वर्ग र समुदायका चाडपर्वमा सहभागी हुने, शुभकामना आदानप्रदान गरी आपसमा सद्भाव कायम गर्ने हाम्रो अनमोल पहिचान छ, यो मूल्यमान्यता, संस्कार र संस्कृति हाम्रा अमूल्य निधि हुन्, एकाकार भएर यसलाई जोगाउनुपर्छ, संसारभर पुर्याउनुपर्छ ।” नेपाली समाजमा मनाइने सबै चाडबाड–पर्व र संस्कृतिप्रति एक–अर्काले सद्भाव राखी सहभागी हुने तथा सामाजिक सञ्जालद्वारा शुभकामना आदानप्रदान गरी सद्भाव कायम राख्ने गरिएको बताउँदै सांसद राजवंशीले भने, “हाम्रो यो अनुपम मौलिक पहिचान र संस्कृतिसहितको हार्दिकतालाई अझ उचाइ प्रदान गर्नुपर्छ ।” अर्नामणि बहुमुखी क्याम्पसको संस्थापक सदस्य तथा विसं २०३६ देखि राजनीतिमा प्रवेश गर्नुभएका राजवंशी सडक र पुल मात्र नभई संविधान निर्माणसम्म सक्रिय रहे । उनीसँग यसअघि विसं २०६४ देखि विसं २०७२ सम्म संविधानसभा सदस्य तथा विस २०७४ सम्म प्रतिनिधिसभा सदस्यका रुपमा काम गरेको अनुभव छ । झापा विर्तामोड स्थायी घर भएका सांसद राजवंशी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य हुन् भने यसअघि उनले कृषि समिति र सार्वजनिक लेखा समिति सदस्य भई काम गरे। उनले प्रतिनिधिसभाको निर्वाचन भएपछि ११ महिनाको संसदीय अभ्यासमा आफू र जनताले अपेक्षाअनुरुप कानुन निर्माण गर्न नसके पनि विधेयक सदनमा ल्याउने, छलफल गरी समृद्ध तुल्याउने, समितिमा पठाउने सन्दर्भदेखि पारित गर्नेसम्मका तितामिठा मिश्रित अनुभव हासिल गरेको प्रतिक्रिया दिए। सांसदको मुख्य काम कानुन तर्जुमा भए पनि जनताको अपेक्षाअनुरुप विकास निर्माणमा संलग्न हुनु पनि त्यतिकै जिम्मेवारी हुने उनले प्रतिक्रिया दिए । सांसद राजवंशीले भने, “जनप्रतिनिधि हुनुका नाताले आफूसँग मतदातले हाम्रा बाटो र पुल किन बनेनन्, पोखरी र सिँचाइमा बजेट परेन, कृषिका लागि मल खाद्य पाइएन, शिक्षाको विकासमा राज्यले ध्यान पु¥याएन भनी निरन्तर र स्वभाविक ढङ्गबाट आवाज उठाउने गरेका छन् ।” विकास निर्माण  जनप्रतिनिधिमार्फत नै हुनुपर्छ भन्ने समाजमा दृढ विश्वास र बुझाइरहेको बताउँदै सांसद राजवंशीले जनहितमा लागेकाले गाउँ, टोल र समाजमा एकाकार भएर काम गर्ने सिलसिलामा मतदातासँग नङ र मासुको जस्तै सम्बन्ध कायम गरी उठाइएका  माग र मुद्दा ५० प्रतिसतसम्म सम्बोधन गर्दैआएको बताए । जनताले सांसदसँग विकास निर्माणका विषय उठाउनुलाई स्वभाविक भन्दै उनले देशमा घाटा बजेटको स्थितिलाई जनताले बुझेकाले मुलुकको आर्थिक स्थितिमा सुधार आएपछि आगामी दिनमा बाँकी योजनालाई क्रमैसँग सम्बोधन गरिने आश्वासन दिने गरेको जानकारी दिए । जनताको अगुवाइ गरिरहेका नाताले प्रत्येक जनप्रतिनिधिले आफ्नो बोली–व्यवहार, प्रस्तुति र अनुशासनको पाटोमा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै नेता राजवंशीले असल प्रतिनिधिका रुपमा समयअनुसार विचार राख्नुपर्नेमा जोड दिए । राज्यको पहिलो प्राथमिकता नै सुशासन र भ्रष्टाचार न्यूनीकरण रहेको तथा प्रत्येक सरकारले त्यही नारा घन्काए ता पनि भ्रष्टाचार बढिरहेको रहेको बताउँदै नेता राजवंशीले राजनीतिक अस्थिरता, धेरै खाले संरचना, झन्झटिलो सरकारी प्रक्रिया र हालको निर्वाचन प्रणालीले त्यसमा मलजल पु¥याइरहेको प्रतिक्रिया दिए। उनले भने, “सरकारमा गएको दलले जबसम्म स्थायित्व पाउँदैन, तबसम्म सुशासन र भ्रष्टाचारको विषय कार्यान्वयन हुन कठिन र जटिल छ, समाजमा देखिएका छाडातन्त्र अन्त्य गर्न चुनौती छ, त्यसका लागि राजनीति प्रतिबद्धता र दृढ सङ्कल्प हुनुपर्छ ।” सबै वर्ग र समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व रहने सुनिश्चिता गरी प्रतिनिधिसभामा हाल रहेको सदस्य सङ्ख्या घटाएर प्रत्यक्ष निर्वाचन प्रणाली मात्र अवलम्बन गर्न आवश्यक रहेको विचार प्रकट गर्दै सांसद राजवंशीले सबैको सहभागिता हुने र दल विशेषको बहुमत आई राजनीतिक स्थिरता प्राप्त हुने भएकाले यसमा सबैको एकैखाले बुझाइको खाँचो औँल्याए। उनले भने, “यसमा नेताको इच्छाशक्ति र इमान्दारिता चाहिन्छ, यो मुलुक अल्पसङ्ख्यक जाति र समुदायको हो । भौगोलिक विविधता छ, सबै क्षेत्रको समावेशी र समानुपातिक प्रतिनिधित्व सवै दलमा गर्न सकियो भने प्रत्यक्ष निर्वाचनले राम्रै परिणाम दिन्छ, अनि सरकार र प्रणाली दुवै दीगो हुन्छ ।” मुलुकमा निष्ठा, इमान्दारी र मर्यादाको राजनीतिक स्थापित नभएसम्म सही नेता र राजनीतिक निकास प्राप्त गर्न कठिन हुने तर्क गर्दै उनले पछिल्लो समय राजनीति सेवा नभई व्यवसाय र व्यापार बन्न पुगेकाले समाजको मूल्य र मान्यता, अनुशासन, नैतिकतामा चोट पुगेको प्रतिक्रिया दिए। रासस

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन असोज २८ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बिहीबार स्कन्दमाता देवीको पूजा आराधना गरियो । छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्परा अनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रुपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रुपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउछन्। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व धुमधामका साथ मनाउँछन् । दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।  काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा घटस्थापनाको बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको जनाइएको छ । नवरात्र शक्ति प्राप्तिका लागि विशेष रुपमा साधनाको समय हो । रासस

प्रहरीद्वारा ९२ बोरा चिनी बरामद

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी अन्दाजी रु पाँच लाख ९८ हजारको चिनी र २८ बोरा अन्दाजी रु ४२ हजारको धान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनका अनुसार बिहीबार अपरान्ह ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा धुलिखेल नपा–२ का ३७ वर्षीय चालक राजु तिमल्सिनालाई चिनीसहित नियन्त्रणमा लिइएको हो । सवारी जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैधरुपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको  हरिहर भवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनायो । रासस

पहुँचवाला कर्मचारीलाई सधैँ सिंहदरबार

काठमाडौं । सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ जसो सिंहदबार आसपासका कार्यालयमा नै घुम्ने गरेका छन् । पुहँचविहीन कर्मचारी भने दुर्गम जिल्लामा नै बसेर सेवा प्रवाह गर्न बाध्य छन् । निजामती सेवा नियमावालीमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरुवा गर्न मिल्ने व्यवस्था छ तर पहुँचवाला कर्मचारीलाई भने उक्त नियम लागू हुने गरेको छैन । पहुँचवाला कर्मचारी भने १० देखि १७ वर्षसम्म पनि सरुवा नभई एउटै कार्यालयमा जरोकिलो गाढेर बसेको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ । १० वर्षभन्दा बढी एउटै कार्यालमा बस्ने कर्मचारीमा प्रशासन, लेखा, इन्जिनियरिङ, कृषि, वन, योजना तथा तथ्याङ्क, विविध, न्याय सेवा, शिक्षा, स्वास्थ्यलगायतका सेवाका कर्मचारी छन् । किताबखानाका अनुसार केन्द्रीय तथ्याङ्क विभाग, महालेखा परीक्षकको कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्ला हुलाक कार्यालय खोटाङ, भूमि सुधार कार्यालय बर्दिया, सर्वोच्च अदालत, सहरी विकास तथा भवन निर्माण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कृषि तथा सहकारी मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, जिल्ला अदालत सुर्खेतलगायतका तीन दर्जनभन्दा बढी कार्यालयमा १० वर्षभन्दा बढी समय सरुवा नभई बस्ने कर्मचारी पाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले कर्मचारीलाई दुई वर्षपछि सरुवा गर्न मिल्ने कानुनी व्यवस्था भए पनि सेवा प्रवाह चित्तबुझ्दो भएको र उनीहरूले दिने सेवाबाट कर्मचारी उत्साहित छन् भने सरुवा गरिरहन नपर्ने दाबी गरे । उनले भने, ‘कतिपय कार्यालयमा सबन्धित कर्मचारीलाई सरुवा गर्ने अन्य कार्यालय नै हुँदैन र उक्त कार्यालयमा सरुवा भइजाने कर्मचारी पनि नहुँदा लामो समयसम्म एउटै कार्यालयमा एकै जना कर्मचारी बसेर सेवा गर्नु परेको हो ।’ उनका अनुसार कतिपय कार्यालयमा कर्मचारी सरुवा भएर आउन र जानका लागि दबाब प¥यो भने मात्र दुई वर्षपछि कर्मचारीलाई सरुवा गर्ने हो तर दबाब भएन भने जति समय पनि बस्न मिल्छ । मन्त्रालयले तीन महिनाअघि सरुवा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनमा कर्मचारीको सरुवाको तत्कालीन र दीर्घकालीन सुधारबारे उल्लेख गरेको थियो । अविछिन्न रूपमा तीन वर्ष वा त्योभन्दा बढी अवधि काठमाडौँ उपत्यकाभित्रका निकायमा कार्यरत कर्मचारीका लागि ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्ने, राजपत्र अनङ्कित कर्मचारीको हकमा सुरु नियुक्ति भएको पदमा दुई वर्षसम्म सम्बन्धित प्रदेश क्षेत्रभित्र मात्र सरुवा हुने गरी व्यवस्थापन गर्ने गरी प्रतिवेदनमा उल्लेख गरिए पनि व्यवहारमा भने कार्यान्वयन भएको छैन । प्रशासनविद् एवं कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक डा. बालचन्द्र मिश्रले सत्ता र शक्तिको वरिपरि घुक्ने कर्मचारी लामो समयसम्म एउटै कार्यालयमा बस्ने गरेको बताए । उनले भने, ‘एउटै कार्यालयमा बस्ने कतिपय कर्मचारीले अतिरिक्त लाभ अर्थात् कर्मचारीले गर्ने मेहनतको फल राम्रोसँग प्राप्त गर्ने भएकाले ती कर्मचारी सरुवा नहुने गरेका हुन् ।’ सरकारले स्वचालित सरुवा प्रणाली बनाई निश्चित समय दुर्गम क्षेत्रका कार्यालयमा गएर सेवा गर्नैपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन नगरेसम्म पहुँचवाला कर्मचारी सधैँ सुगममा नै घुमिरहने उनको भनाइ छ । मन्त्रालयका अनुसार अहिले निजामती सेवामा एक लाख ३६ हजार कर्मचारीको दरबन्दी भए पनि करिब एक लाख जना कर्मचारी कार्यरत छन् । बाँकी दरबन्दी रिक्त छन् । आजको गोरखापत्रबाट ।

पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्छ : उद्यमी व्यवसायी

काठमाडौं । उद्यमी व्यवसायीहरूले पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि उद्योग क्षेत्रमा हरित वृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने धारणा उनीहरूको छ । वातावरणका इस्यूहरूमा नेपालले गरेको विश्वव्यापी प्रतिवद्धताहरू पूरा गर्न व्यापार र उद्योग क्षेत्रका लागि हरित वृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने बिहीबार धनगढीमा आयोजित एक कार्यक्रमका सहभागी उद्यमी व्यवसायीहरूले बताए । नेपाल उद्योग वाणिज्य महासंघले आइएलओको सहयोगमा स्ट्रेन्थेन इम्प्वयर्स क्यापासिटी फर इम्प्रुभ्ड डिसेन्ट वर्क थ्रु प्रमोटिङ वर्क वेज्ड लर्निङ स्कील याजवेल याज सेफ्टी एण्ड हेल्थ परियोजना संचालन गरीरहेको छ । सोही परियोजना अन्तर्गत आयोजना गरिएको कार्यस्थलमा आधारित सीप विकास तथा ग्रीन इकोनोमी विषयक कार्यक्रमका सहभागीहरुको हरित बृद्धि अभ्यासहरू अंगाल्दा वातावरण र समाजलाई समेत फाइदा पुग्ने कुरा सबैलाई बुझाउनु पर्ने सुझाव थियो । हरित वृद्धिका अभ्यासहरू अंगाल्दा आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन अवसरहरू समेत सृजना हुने धारणा सहभागी विज्ञहरू राखे । कार्यक्रम महासंघको सुदूर पश्चिम प्रदेश च्याप्टरको सहकार्यमा आयोजना गरिएको थियो । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दा वैज्ञानिक, समावेशी र सामाजिक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने सुझाव उनीहरूको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष एवं वस्तुुगत परिषद्का सभापति हेमराज ढकालले महासंघले निजी क्षेत्रलाई वातावरण परिवर्तनका मुद्दामा सचेत गराउंदै दीगो आर्थिक विकासमा काम गर्न सहयोग पुरयाउने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको बताए । उपाध्यक्ष ढकालले पछिल्लो पटक नेपालले अन्तराष्ट्रिय मंचमा जलवायु परिवर्तनका इस्यूमा गरेका प्रतिवद्धताहरुलाई समेत पुरा गर्ने अभिप्रायले महासघले आइएलओको सहयोगमा ग्रीन इकोनोमिको विषयलाई अगाडि बढाएको स्पष्ट  पारे । उपाध्यक्ष ढकालले महासंघले तालीमका लागि तालीमभन्दा पनि उद्योगहरुको मागका आधारमा कार्यस्थलमा आधारित तालीमलाई पनि मुख्य प्राथमिकता दिएको बताए । आउँदा दिनमा कार्यस्थलमा आधारित तालीमलाई थप प्रभावकारी बनाउन यस सम्बन्धी निर्देशिका बनाइएको स्पष्ट  पारे । यसले महासंघको सिंगो इको सिष्टम नै लाभान्वित हुने विश्वास उनले व्यक्त गरे । महासंघको प्रदेश च्याप्टरका अध्यक्ष शंकर बोगटीले कार्यक्रमबाट कार्यस्थलमा आधारित तालीम र दीगो आर्थिक विकासमा पर्यावरणको महत्व विषयमा सहभागीहरुबीच बुझ्न सहयोग पुगेको बताए । महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले कार्यस्थलमा आधारित सीप विकास तालीम निर्देशिका र वातावरण विज्ञ तथा परामर्शदाता डा. विजय थापाले ग्रीन इकोनोमिका पछिल्ला अभ्यास र नेपालले अवलम्वन गर्नुपर्ने उपायहरुका वारेमा आफनो प्रस्तुती दिए । कार्यक्रममा आइएलकोका परामर्शदाता महेन्द्र प्रसाई र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेले आइएलओले महासंघसंग अगाडी बढाएका कार्यक्रम वारे जानकारी गराए । परियोजना अन्तरगत सदस्य वस्तुुगत संघका लागि कार्यसंचालन विधि, कार्यस्थलमा आधारित सिप विकास निर्देशिका र ग्रीन इकोनोमी एवं न्यायोचित परिवर्तन, नेपालमा लगानीका अवसर तथा चुनौती विषयमा अध्ययन प्रतिवेदन प्रकाशन गरिने कार्यक्रम छन् । करिब ७५ जना उद्यमी व्यवसायीहरूको सहभागिता रहेको सो कार्यक्रममा महासंघ प्रदेश च्याप्टर तथा संघका पदाधिकारीहरू, उद्यमी व्यवसायी, निर्माण, सीप विकास, संचारकर्मी, महिला उद्यमी लगायतको सहभागिता थियो ।

विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता दिँदै एनबीए र फाइनान्सियल लिटरेसी

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) तथा फाइनान्सियल लिटरेसी नेपालबीच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा तथा फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर गरे । समझदारी अनुसार नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालले संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्नेछन् । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जीवी नेपालको उपस्तिथीमा भएको उक्त कार्यक्रममा फाइनान्सियल लिटरेसी नेपालको तर्फबाट भुवन दाहाल, निरज गिरि, रमेश शर्मा तथा नेपाल बैंकर्स संघका तर्फबाट सुनिल के.सी र अनिल शर्मा उपस्थित थिए । सो समारोहमा बोल्दै पूर्व गभर्नर डा. चिरन्जीवी नेपालले दुबै संस्था मिलेर वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाउदा थप प्रभावकारी हुनुका साथै आगामी दिनहरुमा यसले सार्थक भूमिका खेल्ने बताए । यसैगरी संघका अध्यक्ष सुनिल के.सी.ले यस सम्झौताले वित्तीय साक्षरता तथा बैंकिङ्ग प्रवर्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे । फाइनान्सियल लिटरेसी नेपालका अध्यक्ष भुवन दाहालले सम्झौता अनुसार संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरिने व्यवहोरा जानकारी गराए ।

यतीमा उड्ने यात्रुलाई उपहार नै उपहार, वासिङ मेसिनदेखि बाइकसम्म पाइने

काठमाडौं । यती एयरलाइन्सले दशैं, तिहार र छठ पर्वको अवसरमा ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत एयरलाइन्सले आफ्ना यात्रुहरुलाई विभिन्न उपहारहरु दिने घोषणा गरेको छ । यो योजना असोज २८ अर्थात् घटस्थापनादेखि मंसिर ७ गते (छठ पर्व) सम्म लागू हुने छ । यससँगै यो अवधिमा यतीमा यात्रा गर्ने यात्रुहरुमध्ये गोलाप्रथाद्वारा १ जनालाई बजाज पल्सर एनएस २०० बाइक दिने घोषणा गरेको हो । जुन पहिलो पुरस्कार हो । त्यस्तै, दोश्रो विजेताले जोडीलाई ब्याङ्कक एयर टिकेटस्, तेस्रो बिजेताले एलजी वासिङ मेसिन र चौथों विजेताले एसबीडी डायमण्ड एयर टप जित्ने एयरलाइन्सले जानकारी गराएको छ । साथै, यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये हरेक हप्ता १ जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्घार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’ पाउनेछन् । त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट स्योरसट प्राइजको रुपमा डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन् । डिस्काउण्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरुले विमानमा इन फ्लाइट इन्टरटेनमेन्ट सर्भिस प्रयोग गर्दै गर्दा दशैं क्याम्पेन ब्यानरमा क्लिक गरेर आफ्नो विवरण भरी पेश गर्नुपर्ने व्यवस्था रहेको छ । सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय-समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरुमध्येबाट ३ जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ । यो योजना आफ्ना यात्रुहरुबीच खुशी बाँडन र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको यती एअरलाइन्सले जनाएको छ । योजना सकिए लगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर बिजेताहरु घोषणा गरिने समेत जानकारी गराइएको छ ।