जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि शुरू गरेको छ । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम प्राधिकरणले पहिलो पटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा शुरू गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालनको शुभारम्भ गरेका हुन् । अध्यक्ष सिलवालले परीक्षामा सफल भई इजाजतपत्र पाउने बीमा अभिकर्ताहरूले गर्ने व्यवसायबाट बीमा सम्बन्धी सही सूचना प्रवाह हुने र हाल बीमा बजारमा देखिएको बीमालेख व्यतित तथा सरेण्डरको समस्या समाधानमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे । प्राधिकरणको केन्द्रीय कार्यालयबाट आज पहिलो दिन संचालित जीवन बीमा अभिकर्ता अनलाइन परीक्षामा देशका विभिन्न स्थानबाट ४७ जना परीक्षार्थीहरू अनलाइन माध्यमबाट सहभागी भएका थिए । अनलाइन परीक्षा संचालनको शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको समेत उपस्थिती थियो । जीवन बीमा अभिकर्ताका लागि हाललाई एकपटकमा १०० जनासम्मले अनलाइन माध्यमबाट परीक्षा दिनसक्ने व्यवस्था गरिएको छ । परीक्षा संचालन भएको मितिले ७ दिनभित्र जीवन बीमा अभिकर्ताको परीक्षाफल प्रकाशन गरिनेछ । जीवन बीमा अभिकर्ताको अर्को परीक्षा यही कात्तिक २०, २२ र २४ गतेका लागि तोकिएको छ । इन्स्याेरेन्स रेगुलेटरि मेनेजमेन्ट इन्मरमेसन सिस्टम (आइआरएमआइएस) मार्फत् बीमा अभिकर्ताको परीक्षाका लागि आवेदन दिने, एजेन्ट एक्जाम सिस्टमबाट आवेदन शुल्क बुझाउने, परीक्षा मिति चयन गर्ने तथा परीक्षा उत्तीर्ण हुनेले इजाजतपत्र शुल्क बुझाउने र (आइआरएमआइएस) बाटनै बीमा अभिकर्ताको इजाजतपत्र अनलाइन मार्फत प्रिन्ट गरेर लिन सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।
पाइलट कुटाकुट घटनामा रामेछाप विमानस्थल प्रमुख थापा निलम्बित
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको विषयमा रामेछाप विमानस्थल प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । रामेछाप मन्थली विमानस्थलमा शुक्रबार बिहान निजी वायुसेवा कम्पनी तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको थियो । सोही घटनामा थप अनुसन्धान गर्नुपर्ने भन्दै उड्डयन नियामक प्राधिकरणले रामेछाप विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख थापालाई अर्को सूचना नआउन्जेल निलम्बन गरेको जनाएको छ । ताराको ट्विनअटर जहाज सोलुखुम्बुको लुक्लाबाट मन्थली विमानस्थल ल्याएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएको थियो । प्राधिकरणले दुवै पाइलटको लाइसेन्स निलम्बन गरिसकेको छ ।
महानगरद्वारा तीन महिनामा १६ करोड २६ लाख राजस्व सङ्कलन
वीरगञ्ज । मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सो अवधिमा विभिन्न २१ शीर्षकमा रु १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन गरिएको हो । महानगरपालिकाको राजस्व शाखाका अनुसार चालु आर्थिक बर्षको साउनदेखि असोजसम्ममा सम्पत्ति करबाट सात करोड ४३ लाख ८२ हजार ४७, घरबहाल करबाट एक करोड ७२ लाख २४ हजार एक सय १७, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट एक करोड आठ लाख २६ हजार दुई सय ३०, सरकारी सम्पत्ति बहालबाट एक करोड २७ लाख ९६ लाख दुई सय चार, अन्य सेवा शुल्कबाट रु एक करोड २७ लाख सात हजार दुई सय ७८, नक्सा पास दस्तुरबाट एक करोड चार लाख ४४ हजार छ सय १२, अखेटोपहारमा लाग्ने करबाट ६१ लाख राजस्व सङ्कलन भएको छ । यस्तै सिफारिस दस्तुरबाट ७२ लाख २६ हजार पाँच सय ४१, साना सवारी साधन करबाट १० लाख ९९ हजार तीन सय ५०, भूमिकर/मालपोतबाट ३८ लाख ३२ हजार चार सय ७८, बहाल बिटौरी करबाट रु आठ लाख १२ हजार र प्रशासनिक दण्ड जरिवानाबापत २३ लाख २३ हजार ८३ राजस्व सङ्कलन भएको राजस्व शाखाप्रमुख मनोजकुमार कर्णले जानकारी दिए । यसैगरी व्यक्तिगत घटना दर्ताबाट नौ लाख ३८ हजार तीन सय छ, नाता प्रमाणित दस्तुरबाट सात लाख ७४ हजार सात सय ८०, सिफारिस दस्तुरबाट ७२ लाख २६ हजार पाँच सय ४१ राजस्व सङ्कलन भएको राजस्व शाखाप्रमुख कर्णले बताए । गत आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तुलनामा करिब तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको हो । महानगरपालिकाले गत आर्थिक वर्षको साउनदेखि असोजसम्म विभिन्न शीर्षकमा १३ करोड ४४ लाख एक सय ८१ राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा गत आर्थिक वर्षबाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व सङ्कलन हुन थालेको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाले सम्पत्ति करको दर घटाए पनि दायरा बढेको, लामो समयपछि जग्गाको कित्ताकाट खुल्ला गरिएको नक्सापास र जग्गा कारोबार सुरु भएकाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व सङ्कलन बढेको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए । रासस
भायानेटले ल्यायो रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग अफर
काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो नयाँ रोमान्चक अफर ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’को घोषणा गरेको छ । यस अन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको नि:शुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि नि:शुल्क प्राप्त गर्न सक्नेछन् । यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर चाडमा चौका अभियानको विस्तारको रूपमा आएको हो । चाडमा चौका अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट बाहेक ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्ने कम्पनीले जनाएकाे छ । कार्तिक १६ गतेबाट शुरू भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफर रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग१ मा भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेल हुनका लागि चारजना साथी वा परिवारका सदस्यहरूलाई रेफर गरी निम्नलिखित विशेष फाइदाहरू प्राप्त गर्नेछन् छुटहरू यसप्रकार छन्ः १. नि:शुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्सस् तोकिएको समयसीमा भित्र चारजना साथीहरूलाई सफलतापूर्वक रेफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमा एटम १९२ वायरलेस इयरबड नि:शुल्क प्राप्त गर्नेछन् । २. आफ्नो लागि चार महिनाको नि:शुल्क इन्टरनेटस् प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रेफरल योजना अन्तर्गत १ महिनाको नि:शुल्क इन्टरनेट सेवा पाउने छन् । यस अनुसार, चारजना ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको निस्शुल्क इन्टरनेट प्राप्त हुनेछ । ३. रेफर गरिएकाको लागि एक महिनाको नि:शुल्क इन्टरनेटस् ग्राहकद्वारा रेफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्रा-फाइ योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ ।
यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य, नेपालले कति ओभरमा समेट्ला ?
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ र कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १/१ विकेट लिए । खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।
राष्ट्रिय गौरवको हुलाकी राजमार्ग : स्तरोन्नतिको काम सुस्त, विवादले काम अघि बढ्न सकेन
काठमाडौं । पर्याप्त बजेट अभावमा राष्ट्रिय गौरवको कैलाली–कञ्चनपुर हुलाकी राजमार्गको सडकखण्ड स्तरोन्नतिको काम पछिल्ला वर्षमा सुस्त भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पनि हुलाकी राजमार्ग निर्माणले गति लिन नसकेको स्थानीय बासिन्दाको गुनासो छ । स्तरोन्नति गर्न सुरु भएको चार वर्षमा कैलाली खण्डमा ३१ किलोमिटर हुलाकी सडक स्तरोन्नति भएको छ । कैलालीमा धनगढीको मोहना पुलदेखि सत्ती खक्रौलासम्म हुलाकी सडक ६९ किलोमिटर लामो छ । बाँकी खण्डमा स्तरोन्नतिको काम भइरहेको धनगढीपस्थित हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । कैलालीकै लम्कीचुहादेखि टीकापुर बजार क्षेत्र (उत्तर दक्षिण) हुँदै सत्ती खक्रौलासम्मको २९ दशमलव पाँच किलोमिटर लामो सडकमध्ये आठ किलोमिटर खण्डमा कालोपत्रे भएको छ । टीकापुरदेखि खक्रौलासम्मको भागमा स्तरोन्नति हुन बाँकी छ । यो क्षेत्रको सिङ्गल लेन सडक ठाउँठाउँमा खाल्डाखुल्डी पर्दा आवागमन निकै असहज बन्ने गरेको स्थानीयवासीको गुनासो छ । कञ्चनपुरको डोकेबजारदेखि बेलौरी हुँदै दैजी बजारसम्मको ६२ किमी लामो हुलाकी सडकमध्ये सात वर्षमा ३८ किमी कालोपत्रे भइसकेको छ । डोके बजारदेखि बेलौरीसम्मको खण्डमा कालोपत्रे भइसकेको छ भने बेलौरीदेखि बेलडाँडी हुँदै दैजीसम्मको धेरै भागमा अझै कालोपत्रे हुन सकेको छैन । गत आर्थिक वर्षमा यो राजमार्गको स्तरोन्नतिका लागि ७५ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षमा बजेट घटेर आउँदा ४० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । यो राजमार्ग स्तरोन्नतिका लागि कैलालीको खण्डमा आव २०७६/७७ मा र कञ्चनपुरको खण्डमा आव २०७३÷७४ मा ठेक्का लागेको थियो । कञ्चनपुर खण्डमा स्तरोन्नति गर्न लागेको ठेक्काको अवधि गएको असारमै सकिएको छ । ठेक्काको अवधि सकिए पनि निर्माण कम्पनीको कार्यप्रगतिको आधारमा ठेक्काको म्याद थप्ने वा नथप्ने विषयमा निर्णय हुने हुलाकी राजमार्ग आयोजना कार्यालयका इन्जिनियर दीपक सुनार बताउँछन् । बजेट नथपिएमा चालु वर्षमा पनि स्तरोन्नतिको बाँकी काम पूरा नहुने उनको भनाइ छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको ‘सिङ्गल लेन’को हुलाकी राजमार्गलाई नेपाल सरकारद्वारा सहरी खण्डमा ‘चार लेन’ र ग्रामीण खण्डमा ‘दुई लेन’ बनाएर स्तरोन्नति गर्ने कार्य भइरहेको हो । निर्माण थालिएको सुरुका वर्षमा रुख कटानीको प्रक्रिया लम्बिँदा कञ्चनपुरको शुक्लाफाँटा आरक्ष क्षेत्र र कैलालीको बसन्ता वन क्षेत्रमा यो राजमार्ग निर्माणको काम ढिलो सुरु गरिएको थियो । धनगढी, लम्कीचुहा र टीकापुर नगर क्षेत्रको हुलाकी खण्डमा ‘चार लेन’ र ग्रामीण खण्डमा ‘दुई लेन’सडक स्तरोन्नति भइरहेको छ । राजमार्गअन्तर्गतको धनगढी खण्डका खोलमा दुई वटा पुल र कञ्चनपुरको दोदा नदीमा ‘डबल लेन’को पुल निर्माणका लागि ठेक्का लागिसकेको छ । कैलालीको भजनी हुलाकीखण्डको कान्द्रा नदीमाथि पुल निर्माण हालै पूरा भइसकेको छ । यो राजमार्ग स्तरोन्नतिका लागि अहिलेसम्म ४ अर्ब २२ करोड रुपैयाँको ठेक्का लागिसकेकामा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको काम पूरा भइसकेको हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ । विवादले दुई ठाउँमा काम अघि बढ्न सकेन : कञ्चनपुरको बेलौरी नगरपालिका–८ को पचुइ क्षेत्रको दुई किलोमिटर लामो भागमा र कैलालीको खक्रौला घाटको सीमानाका नजिकको तीनसय मिटर लामो भागको हुलाकी सडकखण्डमा विवादका कारण निर्माणको काम अघि बढ्न सकेको छैन । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सडक निर्माण गरिने भूमि दशगजा भएको भन्दै विवाद झिकेर बाधा अवरोध पु¥याएपछि काम अघि बढ्न नसकेको हो । यी दुवै जिल्लामा भारत सरकारको अनुदान सहयोगमा ‘सिङ्गल लेन’को हुलाकी राजमार्ग निर्माण गरिएको थियो । बनेको केही वर्षभित्रै यो राजमार्गको कालोपत्रे ठाउँठाउँमा उप्किएर खाल्डाखुल्डी परेको थियो । यी दुवै जिल्लाको दक्षिणी भेकमा हुलाकी राजमार्ग निर्माणसँगै आवागमन सहज हुँदा आर्थिक क्रियाकलापमा सकारात्मक परिवर्तन देखिन थालेको छ । राजमार्ग निर्माणपछि टीकापुरदेखि सदरमुकाम धनगढीसम्मको आउजाउ छोटिँदा आवागमन सहज हुनाका साथै आर्थिक क्रियाकलापमा सकारात्मक परिवर्तन देखिन थालेको स्थानीयवासी बताउँछन्। ‘राजमार्ग निर्माणपछि टीकापुर–धनगढीको दूरी छोटिएर आवागमन सहज भएको छ’, टीकापुरका विनय शर्मा भन्छन् । टीकापुरबाट लम्की, अत्तरिया हुँदै धनगढी पुगिने सडक झण्डै ८४ किमी लामो छ । धनगढीदेखि हसुलिया भजनी हुँदै टीकापुर पुगिने हुलाकी सडक झण्डै ६२ किमी लामो छ । दक्षिणी भेकमा पूर्व–पश्चिम हुँदै निर्माण भएको हुलाकी राजमार्गले सदरमुकाम धनगढीसँगको दूरी छोटिँदा बढेको आर्थिक क्रियाकलापले स्थानीय बासिन्दाको आम्दानीमा सकारात्मक प्रभाव परेको स्थानीयवासी दलबहादुर रोकाया बताउँछन् । ‘पहिले बजारको अभावमा गाउँमा उत्पादन हुने तरकारीको उचित मूल्य पाउन सकेको थिएनौँ’, उनी भन्छन्, ‘अहिले बाटो बनेपछि तरकारी धनगढी बजारसम्म पुर्याएर बेच्न पाएका छौँ ।’ हुलाकी सडक निर्माणसँगै सडक आसपासको जग्गाको मूल्य पनि वृद्धि भएको छ । सडक निर्माणपछि जग्गाको मूल्य ठाउँअनुसार निम्नकतम ५ लाखदेखि अधिकतम ४० लाख प्रतिकट्ठा पुगेको छ । हुलाकी राजमार्गले नछोएको ग्रामीण क्षेत्रको जग्गाको मूल्य प्रतिकट्ठा पुरानै तीन लाखदेखि पाँच लाखसम्म रहेको छ । सडक आसपासमा नयाँनयाँ बजार विस्तार हुने क्रम पनि बढ्दैजाँदा नयाँ व्यवसायसमेत खुल्न थालेका छन् । रासस
हालै आईपीओ जारी गरेको माण्डु हाईड्रोको लाभांश घोषणा
काठमाडौं । हालै सर्वसाधारणलाई आईपीओ जारी गरेको माण्डु हाईड्रोपावर लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक १६ गते बसेको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले १३ करोड ६३ लाख ६३ हजार ७ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्ने छन् । लाभांश पारित गर्न कम्पनीले मंसिर १५ गते ठमेल काठमाडौंमा १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगाले नबिल र ग्लोबल आइएमईलाई टप्यो, हिमालयनको आक्रामक सुरुवात
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको खुद नाफा उल्लेख्य रुपमा घटेको छ । २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म १३ अर्ब ४७ करोड रुपैयाँ मात्रै नाफा गरेका छन् । गत वर्षको सोही अवधिमा यी बैंकहरुले १६ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष बैंकहरुले १९.०४ प्रतिशत नाफा कम गरेका हुन् । असोज मसान्तसम्ममा कृषि विकास बैंकको नाफा ऋणात्मक रहेको छ । बैंकले ८८ करोड ८० लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । गत वर्षको असोज मसान्तसम्म बैंकले २२ करोड रुपैयाँ नाफा गरेको थियो । प्राप्त तथ्याङ्क अनुसार ८ वटा बैंकले मात्रै नाफा बढाउन सफल भएका छन् । जसमध्ये सबैभन्दा धेरै हिमालयन बैंकको ९८.३५ प्रतिशत बढेर १ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै, प्रभु बैंकले ४६.७० प्रतिशत बढाएर १ अर्ब ३ करोड ४३ लाख रुपैयाँ नाफा गरेको हो । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३३.४६ प्रतिशत बढाएर १ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ । जुन पहिलो त्रैमासमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा गरेर नम्बर वान बनेको छ । यस्तै, प्राइम बैंकले ३१.७२ प्रतिशत बढाएर १ अर्ब १५ करोड रुपैयाँ, एनएमबि बैंकले ६.५३ प्रतिशत बढाएर ९६ करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ३.०४ प्रतिशत बढाएर १ अर्ब २२ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ प्रतिशत बढाएर ८२ करोड ७७ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ०.१९ प्रतिशत बढाएर ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेका छन् । नबिल बैंकको ६.५० प्रतिशत घटेर १ अर्ब ४६ करोड रुपैयाँ, एभरेष्ट बैंकको ९.४४ प्रतिशत घटेर ७८ करोड ७ लाख रुपैयाँ, सानिमा बैंकको ११.९१ प्रतिशत घटेर ४८ करोड २९ लाख रुपैयाँ, सिटिजन्स बैंकको १९.७० प्रतिशत घटेर ४० करोड २४ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकको २३.६१ प्रतिशत घटेर ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ३१.०३ प्रतिशत घटेर ८५ करोड ९८ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ४२.४८ प्रतिशत घटेर १ अर्ब १ करोड रुपैयाँ, कुमारी बैंकको ७३.६४ प्रतिशत घटेर २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेका छन् । गत असोज मसान्तसम्म लक्ष्मी सनराइज बैंकको नाफा ७९.५३ प्रतिशत घटेर १० करोड ३० लाख रुपैयाँ र नेपाल बैंकको ७६.४३ प्रतिशत घटेर १४ करोड २३ लाख रुपैयाँ, खुद नाफा गरेका छन् ।