काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको खुद नाफा उल्लेख्य रुपमा घटेको छ । २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म १३ अर्ब ४७ करोड रुपैयाँ मात्रै नाफा गरेका छन् ।
गत वर्षको सोही अवधिमा यी बैंकहरुले १६ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष बैंकहरुले १९.०४ प्रतिशत नाफा कम गरेका हुन् ।
असोज मसान्तसम्ममा कृषि विकास बैंकको नाफा ऋणात्मक रहेको छ । बैंकले ८८ करोड ८० लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । गत वर्षको असोज मसान्तसम्म बैंकले २२ करोड रुपैयाँ नाफा गरेको थियो ।
प्राप्त तथ्याङ्क अनुसार ८ वटा बैंकले मात्रै नाफा बढाउन सफल भएका छन् । जसमध्ये सबैभन्दा धेरै हिमालयन बैंकको ९८.३५ प्रतिशत बढेर १ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै, प्रभु बैंकले ४६.७० प्रतिशत बढाएर १ अर्ब ३ करोड ४३ लाख रुपैयाँ नाफा गरेको हो ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३३.४६ प्रतिशत बढाएर १ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ । जुन पहिलो त्रैमासमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा गरेर नम्बर वान बनेको छ ।
यस्तै, प्राइम बैंकले ३१.७२ प्रतिशत बढाएर १ अर्ब १५ करोड रुपैयाँ, एनएमबि बैंकले ६.५३ प्रतिशत बढाएर ९६ करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ ।
यस्तै, ग्लोबल आइएमई बैंकले ३.०४ प्रतिशत बढाएर १ अर्ब २२ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ प्रतिशत बढाएर ८२ करोड ७७ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ०.१९ प्रतिशत बढाएर ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
नबिल बैंकको ६.५० प्रतिशत घटेर १ अर्ब ४६ करोड रुपैयाँ, एभरेष्ट बैंकको ९.४४ प्रतिशत घटेर ७८ करोड ७ लाख रुपैयाँ, सानिमा बैंकको ११.९१ प्रतिशत घटेर ४८ करोड २९ लाख रुपैयाँ, सिटिजन्स बैंकको १९.७० प्रतिशत घटेर ४० करोड २४ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकको २३.६१ प्रतिशत घटेर ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ३१.०३ प्रतिशत घटेर ८५ करोड ९८ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ४२.४८ प्रतिशत घटेर १ अर्ब १ करोड रुपैयाँ, कुमारी बैंकको ७३.६४ प्रतिशत घटेर २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
गत असोज मसान्तसम्म लक्ष्मी सनराइज बैंकको नाफा ७९.५३ प्रतिशत घटेर १० करोड ३० लाख रुपैयाँ र नेपाल बैंकको ७६.४३ प्रतिशत घटेर १४ करोड २३ लाख रुपैयाँ, खुद नाफा गरेका छन् ।