राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष सुवेदीले लिए शपथ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ ग्रहण गरेका छन् । अध्यक्ष सुवेदीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बाबुराम सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । सुवेदीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनी नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव पनि हुन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम तिम्सिना ढुङ्गाना, राष्ट्र बैकका उच्च पदाधिकारीहरू र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, कम्पनी सचिव हेमराज खरेल लगायतको उपस्थिति रहेको थियो ।
भूकम्प प्रभावितका लागि सहयोग गर्न महासंघको अपिल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भूकम्प प्रभावितका लागि सहयोग गर्न अपिल गरेको छ । महासंघका सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी–व्यवसायी र व्यावसायिक संघ–संस्थालाई उद्धार र राहतमा सहयोग गर्न आह्वान गरिएको हो । शनिबार विज्ञप्ति जारी गर्दै प्रभावितलाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीजस्ता अत्यावश्यक सामग्री सहयोग गर्न अपिल गरिएको छ । ‘भूकम्प प्रभावित जनताहरूको सहयोगका लागि महासंघले आफ्ना तर्फबाट पहल गरिसकेको छ भने राहत र उद्धारकार्यलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसमक्ष अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रभावित जनताहरूलाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीजस्ता अत्यावश्यक सामग्रीहरू सहयोग गर्न महासंघ आफ्ना सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीहरूमा हार्दिक अपिल गर्दछ ।’ यसरी सहयोग गर्न चाहनेले महासंघको स्वास्थ्य तथा विपत् व्यवस्थापन समितिका सभापति भक्तबहादुर हमाल (९८५१०४३५६३) र महासंघ सचिवालयका उपनिर्देशक माधव मुल्मी (९८४१३२९३३५) लाई सम्पर्क गर्न सकिने पनि महासंघले जनाएको छ । महासंघले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । भूकम्पमा परी ज्यान गुमाएका आफन्तजनप्रति महासंघले समवेदना प्रकट गरेको छ ।
सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्ने अवस्था देखियो : महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सांसदहरुलाई पन्ध्र दिनको मात्रै तलव दिँदा पुग्ने अवस्था देखिएको टिप्पणी गरेका छन् । दिन गुजारेको हिसावले करिव ६ महिनाको तलव लिएपनि कामको परिणामको हिसावले १५ दिनको मात्रै तलव दिँदा पुग्ने खालको अवस्था देखिएको उनको भनाइ छ । महामन्त्री शर्माले संसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रुपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे । उनले संसदको वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छिपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनाले पनि काम गरेको बताए । उनले उपलब्धिका दृष्टिले संसदको वर्षे अधिवेशन कमजोर देखिएपनि अनुभव भने प्रशस्त भएको र त्यसले संसदको आगामी अधिवेशनहरुलाई चाहीँ अझ प्रखर, प्रभावकारी, परिणाममुखि र उपलब्धिमुलक बनाउनुपर्ने आत्माबोध भएको पनि पटकपटक उल्लेख गरे । ‘हामी यो संसदीय परिपाटीलाई व्यवस्थालाई परिमार्जन गर्ने र अवस्थालाई परिवर्तन गर्ने भन्ने मनोविज्ञानमा छौं । त्यसमा दृढ छौं । व्यवस्थालाई परिमार्जन गर्ने सन्दर्भमा पनि परिमार्जित सुसंस्कृत व्यवहारहरु हामीले यस बीचमा प्रस्तुत गरेका छैनौं संसदमा । कामको परिणाम अनुसार यदि पारिश्रमिक दिने हो भने दिन गुजारेको हिसावले २, ४, ६ महिनाको तवल प्राप्त गर्नु एउटा कुरा हो । तर परिणाम देशका सामुन्ने के पस्कियौँ भन्ने कोणबाट चाहीँ छुट्टयाएर तलव दिनुपर्यो भने केवल १५ दिनको मात्रै तलव दिँदा पुग्ने खालको अवस्था देखिएको छ’, उनले भने । महामन्त्री शर्माले नयाँ भनिएका दलहरुको गतिविधिले पनि संसदीय परिपार्टीलाई बलियो बनाउने अवस्था नदेखिएको बताए ।
नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने
काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ । र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल र ओमान दुवै सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप प्रतियोगितामा छनोट भइसकेका छन् । आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । नेपालले दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरालाई स्थान दिएको छ ।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७औं सम्मेलन सोमबारदेखि
काठमाडौं । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७औं सम्मेलन सोमबारदेखि काठमाडौंमा हुने भएको छ। परिसंघ एसिया प्रशान्त क्षेत्रका २६ देशका २८ वटा राष्ट्रिय स्तरका उद्योग वाणिज्य महासंघ–संघहरुको छाता संस्था हो । नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यमा आयोजना हुने सम्मेलनको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दैछन् । समुद्घाटन कार्यक्रमलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्। अर्थमन्त्री डा. प्रकाशरण महत, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासघका पूर्वअध्यक्ष एवं क्यासीका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायतले सम्बोधन गर्नेछन् । सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी उद्यमी र नेपालका उद्यमी व्यवसायी, सरकारी प्रतिनिधि समेत गरी दुई सयभन्दा बढीको सहभागिता रहने छ। सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशीलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय सञ्जाल विस्तारलगायतमा छलफल हुनेछ। सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै कार्तिक २१ गते समापन गरिने छ । सन् १९६६ मा स्थापना भएको क्यासी एसिया–प्रशान्त क्षेत्रभित्रका व्यावसायिक संस्थाहरूलाई एकताबद्ध गर्दै यसका सदस्य राष्ट्रबीच आर्थिक सहयोग, व्यापार र लगानी प्रवर्द्धनमा काम गर्दै आएको छ।
भूकम्पबाट अवरुद्ध सडक खुला
जाजरकोट । शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ । त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाएको छ । राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख ई तेजस्वी शर्माले जानकारी दिए । राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो । मध्यपहाडी लोकमार्गमा रहेका सडकसमेत खुलाइएको छ ।
कामना सेवा फुटसल कप सिजन ३ सहित विभिन्न कार्यक्रम सम्पन्न
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न कार्यक्रमहरु शनिवार सम्पन्न गरेको छ । सो अन्तर्गत कामना सेवा फुटसल कप सिजन ३ सम्पन्न भएको छ । पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै उपाधी जितेको छ । त्यसैगरि महिला तर्फको फाइनल खेलमा माछापुछ्रे बैंकले आयोजक कामना सेवा विकास बैंकलाई २–० ले हराउदै उपाधी जितेको छ । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । विजेता तथा उपविजेता टिमलाई बैकको तर्फवाट ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, प्रमुख संचालन अधिकृत विकास ढुङ्गाना र एन्फा रेफ्रि नारायण अधिकारीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरे । त्यस्तै, बैंकको बुटवल क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकका संचालक भिम प्रसाद तुलाचनको प्रमुख आतित्यथा र नेपाल रक्तदाता संघ, बुटवलका अध्यक्ष दया वहादुर सिलवालको आतित्यथामा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुषालले बताए । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रम अन्तर्गत बैंकको कोशी प्रदेशले धरान उपमहानगरपालिकामा श्रमदान गरेको छ । धरान उपमहानगरपालिकाले कोकाह खोला देखी धरान सम्म पानी ल्याई रिचार्ज गर्नको लागि निर्माण गर्न लागिएको रिचार्ज ट्याङ्की निर्माण कार्यको लागि श्रमदान गरिएको हो । उक्त श्रमदान कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको समेत उपस्थिती रहेको बैंकका कोशी प्रदेश प्रमुख मोहन दत्त खनालले बताए । बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्दैछ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवार सम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।
एनआरएनएद्वारा १० करोडको राहत कोष बनाउने घोषणा, अध्यक्ष शर्माले २१ लाख दिने
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आर के शर्माले आउँदो दुई वर्षभित्र १० करोड रुपैयाँको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन्। उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेका छन्। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै १ करोड रुपैयाँबराबरको सहयोग जम्मा भएको छ । जूम माध्यमद्वारा आयोजित बैठकमा बोल्दै अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसारभरिका नेपालीले दिल खोलेर सहयोग गरेको स्मरण गरे । उनले तीनै तहका सरकारसँग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडितलाई सक्दो सहयोग गर्न आफुहरुले काम गर्ने बताए । उक्त कोषका लागि महासचिव बुद्धि सागर सुवेदी ले १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख, पूर्वअध्यक्ष कुल आचार्यले ५ लाख ५ हजार ५ सय ५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख, उपाध्यक्ष गोविन्द श्रेष्ठ ‘रोविन्द’ ले ३ लाख, कृष्णजीवि पन्थले २ लाख १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। त्यस्तै उपाध्यक्ष डा. केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही १ लाख रुपैयाँ प्रदान गर्ने जनाए । एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबार सम्ममा बैंक खाता खोली सबै साथीहरुलाई जानकारी गराउने बताए । भूकम्प पीडितका लागि संसारभरिका एनआरएनहरुबाट सहयोग आउने क्रम जारी छ।