विकासन्युज

एनआईसी एशिया क्यापिटलले मंसिर ४ गतेदेखि एनआईसी एशिया ग्रोथ फण्ड २ बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले मंसिर ४ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड–२ बिक्री गर्ने भएको हो । ७ वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखी योजना हो । क्यापिटलले अंकित मूल्य प्रतिइकाई १० रुपैयाँका दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरुलाई बिक्री गरिनेछ । क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । फण्डको इकाईमा छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १८ गतेसम्म आवेदन दिन मिल्ने क्यापिटलले जनाएको छ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । फण्डमा लगानीकर्ताहरुले सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।

२ जलविद्युत् कम्पनीले घोषणा गरे लाभांश

काठमाडौं । दोस्रो बजारमा हाइड्रोपावर (जलविद्युत्) कम्पनीहरु थपिनेक्रम जारी छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार सूचीकृत ८७ वटा जलविद्युत् कम्पनीको सेयर कारोबार भइरहेको छ । नेप्सेमा जलविद्युत् कम्पनीको बाहुल्यता बढ्दै गएपनि प्रतिफल वितरणमा भने पछि पर्न थालेका छन् । गत आर्थिक वर्ष २०७९/८० सम्पन्न भएको ४ महिना भइसक्यो । तर, हालसम्म सूचीकृत २ वटा जलविद्युत कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७९/८० नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । सानिमा माइ हाइड्रोपावर र माण्डु हाईड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सानिमा माइ हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २३ गतेका दिन १२ औं वार्षिक साधारण सभा डाकेको छ । यस्तै, माण्डु हाईड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले १३ करोड ६३ लाख ६३ हजार ७ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले मंसिर १५ गते ठमेल काठमाडौंमा १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

भाग्यले बाँचेका भूकम्प पीडित भन्छन्, ‘बाहिर निस्कन खोज्दा घर गर्ल्याम्म ढल्यो’

काठमाडौं । जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भएका छन् । उनी गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए । उद्धारपछि कार्कीले भने, “भाग्यले बाँचे ।” दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला एक्कासी भूकम्प गएको र ब्युँझिएर अत्तालिएर घरबाट बाहिर निस्कन खोज्दा घर गल्र्याम्म ढल्दा माटोले च्यापिएर घाइते भएको उनले सुनाए । घाइते कार्कीले आफ्ना दुःख सुनाउँदै भने, “एक्कासी भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ र माटोले मेरो दुईवटै खुट्टा च्यापियो । रातिको समय थियो, एकछिन होसहवास गुम्यो, पछि होस आउँदा म बेस्सरी कराएँ । आधा घण्टापछि भतिज मन्दीप कार्की आयो । राति साढे १ बजे अस्पताल पुगेँ ।” काका एक्कासी चिच्चयाएको आवाज सुनेर म दौडेर पुगेको घाइते कार्कीका भतिज मन्दीपले बताए । उनले भन्नुभयो, “म पुगेपछि वरिपरिका मानिसलाई बोलाएर स्टेचरमा बोकेर जाजरकोट अस्पताल पुर्यायौं, र त्यहाँ पनि घटनाका घाइतेको ठूलो भीडभाड रहेछ, डाक्टरले उहाँलाई राति साढे ३ बजे नेपालगञ्ज सिफारिस गर्नुभयो ।” मन्दीपले काकालाई शनिबार बिहान साढे ७ बजे एम्बुलेन्समा राखेर भेरी अस्पतालमा ल्याइपुर्याएका हुन् । घाइतेमध्ये विमलकुमार नै पहिलो बिरामी उपचारमा आउनुभएको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सकले परीक्षण गर्दा विमलकुमारको दाहिने खुट्टाको दुई भाग भाँचिएको अस्पतालले जनाएको छ । २२ वर्ष पुरानो दुईतले कच्ची घरले झनै ज्यान बचाएको घाइते उनले बताए । विमलकुमारको घर नजिकै ससुरालीमा रहेकाले श्रीमती र तीन छोरी बाँचेको बताए । राति घरमा उनी एक्लै थिए । उनकी श्रीमती र छोरी ससुराली गएकाले बाँचे नत्र घटनामा परेर बाँच्थेन होला विमल कुमारले भने । भगवानले हाम्रो परिवारलाई जोगाएको घाइते विमलकुमारकी श्रीमती चन्द्रसिंहले बताए । उनले म घटनाको बारेमा थाहा पाउनैबित्तिकै श्रीमानलाई खोज्दै जाजरकोट अस्पताल पुगेको बताए । उनले भूकम्प गएपछि छोरीलाई उठाएर बाहिर भागेर ज्यान बचाएको सुनाए । उनी बसेको घर भूकम्पले सामान्य भत्किएको र चिरा परेको बताए । चन्द्रसिंहले घटनालाई सम्झेर यस्तो ठूलो विपद्ले हामी त सदरमुकामकालाई यस्तो भयो, भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रका मानिसको अवस्था के होला भनेर प्रश्न गरे । जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ । हालसम्म ३२ जना घाइतेलाई ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले बताए । उनका अनुसार ३२ घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको छ । अस्पतालका मेसु डा रायमाझीले अस्पतालका सम्पूर्ण चिकित्सकसहितका कर्मचारीलाई उपचारकार्यमा खटाइएको भन्दै घाइते सबैको निःशुल्क उपचार भइरहेको बताए । भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा उपचारको व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार घाइते तथा घाइतेका आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको छ ।

क्यानले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने

काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । क्यानले आइसीसी विश्वकप टी–२० को एसिया छनोटअन्तर्गत आइतबार हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने भएको छ । क्यानले आज विज्ञप्ती जारी गर्दै आइतबार नेपाल र ओमानबीच त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुने फाइलन खेलको टिकट बिक्रीबाट उठेको रकमको आधा रकम भूकम्पपिडितलाई सहयोग गर्ने निर्णय गरेको हो । क्यानले भूकम्पबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।

सिटिजन्स बैंकले भूकम्प पीडितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं । सिटिजन्स बैंकले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई २५ लाख  रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ । बैंकले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्पनबाट पीडितहरुको उद्धार तथा उपचारमा सहयाेगको उद्देश्यले प्रधानमन्त्री उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोेग गर्ने बताएको हो । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा सहयोग पुर्याउँदै आएको र भविश्यमा समेत यस्तो सेवा सहयोग गर्दै जाने बताएको छ ।

लोमस फर्मास्युटिकल्स निर्देशक पाण्डेद्वारा भूकम्पपीडितलाई औषधी सहयोग

काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रालिका निर्देशक प्रनवजंग पाण्डेले भूकम्पमा घाइते भएकाको थप उपचार गर्न औषधी सहयोग गरेका छन् । भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका नागरिकको उपचारको लागि पाण्डेले औषधी सहयोग गरेका हुन् । पाण्डेले भूकम्पपीडितको थप उपचारमा प्रयोग हुने पेन किलर र दुखाइ कम गर्ने मलहम सहयोग गरेको कम्पनीले बताएको छ । काठमाडौं सिनामंगलस्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन प्लाटुन प्रमुख पूर्ण साउद र डाक्टरहरूको उपस्थितिमा पाण्डेले औषधी सहयोग गरेका हुन् । शुक्रबार मध्यराति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रिक्टर स्केलको भूकम्प जाँदा हालसम्म करिब डेढ सय भन्दा बढीको निधिन भएको छ भने सयौं घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अझै खोज तथा उद्धार कार्य जारी छ ।

बुद्ध एयरले भूकम्पपीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने

फाइल फोटो काठमाडौं । बुद्ध एयरले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका पीडितको लागि राहात स्वरुप एक करोड सहयोग गर्ने भएको छ । बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत् भूकम्प पीडितलाई राहत र पुननिर्माणका लागि साे रकम दिने घोषणा गरेको हो । गए राति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ३७ पुगेको छ । भूकम्पबाट जाजरकोटमा ८१, रुकुम पश्चिममा ७२, जुम्ला र दैलेखमा तीनरतीन तथा सल्यानमा एक जना घाइते भएका छन् ।अझै खोज तथा उद्धार कार्य जारी छ । ‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपत्मा परी त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ, बुद्ध एयरले सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ, हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड सहयोग दिने निर्णय गरेका छौं । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौं ।

भूकम्प अपडेट : १३७ जनाको निधन

  कर्णाली । गए राति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ३७ पुगेको छ । कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार भूकम्पबाट जाजरकोटमा ६९ महिला र ३० पुरुष गरी ९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रुकुम पश्चिममा १९ पुरुष र १९ महिला गरी ३८ जनाको मृत्यु भएको छ । भूकम्पबाट जाजरकोटमा ८१, रुकुम पश्चिममा ७२, जुम्ला र दैलेखमा तीन/तीन तथा सल्यानमा एक जना घाइते भएका छन् । उनीहरुको जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र बाँकेका विभिन्न अस्पतालमा उपचार भइरहेको जिसीले जानकारी दिए । घाइतेको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । जाजरकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भूकम्प प्रभावित क्षेत्रमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वगृहमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालगायत पुगेर मृतकका परिवारजन तथा घाइतेलाई भेटेका छन् । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । रासस