काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सांसदहरुलाई पन्ध्र दिनको मात्रै तलव दिँदा पुग्ने अवस्था देखिएको टिप्पणी गरेका छन् ।
दिन गुजारेको हिसावले करिव ६ महिनाको तलव लिएपनि कामको परिणामको हिसावले १५ दिनको मात्रै तलव दिँदा पुग्ने खालको अवस्था देखिएको उनको भनाइ छ । महामन्त्री शर्माले संसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रुपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे ।
उनले संसदको वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छिपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनाले पनि काम गरेको बताए । उनले उपलब्धिका दृष्टिले संसदको वर्षे अधिवेशन कमजोर देखिएपनि अनुभव भने प्रशस्त भएको र त्यसले संसदको आगामी अधिवेशनहरुलाई चाहीँ अझ प्रखर, प्रभावकारी, परिणाममुखि र उपलब्धिमुलक बनाउनुपर्ने आत्माबोध भएको पनि पटकपटक उल्लेख गरे ।
‘हामी यो संसदीय परिपाटीलाई व्यवस्थालाई परिमार्जन गर्ने र अवस्थालाई परिवर्तन गर्ने भन्ने मनोविज्ञानमा छौं । त्यसमा दृढ छौं । व्यवस्थालाई परिमार्जन गर्ने सन्दर्भमा पनि परिमार्जित सुसंस्कृत व्यवहारहरु हामीले यस बीचमा प्रस्तुत गरेका छैनौं संसदमा । कामको परिणाम अनुसार यदि पारिश्रमिक दिने हो भने दिन गुजारेको हिसावले २, ४, ६ महिनाको तवल प्राप्त गर्नु एउटा कुरा हो । तर परिणाम देशका सामुन्ने के पस्कियौँ भन्ने कोणबाट चाहीँ छुट्टयाएर तलव दिनुपर्यो भने केवल १५ दिनको मात्रै तलव दिँदा पुग्ने खालको अवस्था देखिएको छ’, उनले भने ।
महामन्त्री शर्माले नयाँ भनिएका दलहरुको गतिविधिले पनि संसदीय परिपार्टीलाई बलियो बनाउने अवस्था नदेखिएको बताए ।