ठूलो लगानी र मेहनत लगाएर ई–ड्राइभ नेपाल सञ्चालन गरेका छौं, छिट्टै पब्लिकको मन जित्छ : अध्यक्ष मास्के
काठमाडौं । ई-ड्राइभ नेपाल कम्पनीले इलेक्ट्रिक ट्याक्सीबाट सेवा दिने उद्देश्यसहित राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सञ्चालनमा ल्याएको छ । नेपाली सफ्टवेयर इन्जिनियरहरूको समूहले तयार गरेको यो एप सञ्चालनमा ल्याएर कम्पनीले सेवा प्रारम्भ गरेको हो । पृथक अवधारणासहित आएको यो कम्पनी आफैंले ईभीका ट्याक्सी खरिद गरी सञ्चालनमा ल्याएको हो । विद्युतीय ट्याक्सीको मूल्य सस्तो भएमा एक वर्षभित्र ३०० ट्याक्सीसम्म पुर्याउने लक्ष्य कम्पनीको छ । यो एपको प्रयोग कसरी गर्ने, यो एप अन्यको भन्दा के फरक छ, कम्पनीसँग चालक कसरी जोडिने, कम्पनीको आगामी योजना लगायत विषयमा कम्पनीका अध्यक्ष राजेश मास्केसँग विसकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । नेपालमा एकपछि अर्को राइड सेयरिङ एप आइरहेका छन् । यसै बिचमा तपाईंरूले पनि ‘ई–ड्राइभ नेपाल’ एप सञ्चालनमा ल्याउनु भएको छ । यो एप तयार गरेर सञ्चालनमा ल्याउने योजना कसरी बन्यो ? म देश तथा विदेश घुम्न रुचाउने मान्छे । यो एप सञ्चालनमा ल्याउनु पूर्व म युरोप भ्रमणमा गएको थिएँ । मैले यहाँ र त्यहाँ धेरै विषयमा फरक अनुभूति गरेँ । नेपालमा एउटा पर्यटक आउँदा उसले एयरपोर्टदेखि नै झमेला खेप्नु पर्ने बाध्यता छ । किनभने उनीहरूले कुनै ठाउँमा पुग्नुपर्दा ट्याक्सी प्रयोग गर्नुपर्छ । भाडाका ट्याक्सी नभएको हैन । तर, अधिकांश ट्याक्सी पुराना छन् भने पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको बाहुल्यता छ । नेपालमा पेट्रोल र डिजेलको खपतमा ठूलो रकम बाहिरिरहेको छ । यसलाई रोक्न तथा ईभीको सवारीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो एप अध्ययन गर्दै गयौं । नेपालमा पछिल्लो समय ईभीका सवारी प्रयोग बढ्दै गएको छ । ईभीको प्रयोगले वातावरण प्रदुषण र गाडीबाट निस्कने ध्वनीले न्यूनीकरण हुने भयो । त्यसैले ईभीको प्रयोग तथा विस्तार गर्नमा मद्दत गर्ने योजनासहित हाम्रो टिमले एक वर्ष अध्ययन गरी यो एप सञ्चालनमा ल्याएको हो । यो एपले कसरी काम गर्छ ? अन्यभन्दा यो के फरक छ ? यो अन्य राइड सेयरिङ एपजस्तै हो । यसलाई डाउनलोड गरेर सहज तरिकाले प्रयोग गर्न सकिन्छ । सुरक्षाको दृष्टिकोणले यो एप निकै उपयुक्त छ । अन्य राइड सेयरिङ एपबाट सवारी बोलाउँदा चालकसहित गाडी आउँछ र प्यासेन्जर लिएर जान्छ । तर, यस एपमा हामीले चालक र प्यासेन्जर बिचको पुष्टीकरणको लागि ओटीपी कोडको व्यवस्था गरेका छौं । जस्तो कुनै प्यासेन्जरले यसमार्फत सवारी बोलाउनु भयो भने चालकलाई ओटीपी दिएर एसेप्ट गरिसके पश्चात् मात्र यात्रा गर्न सकिन्छ । यस एप मार्फत ईभी र पेट्रोलबाट चल्ने सवारी बिचको मूल्य बारे भिन्न पनि देखाउन सकिन्छ । तपाईंहरुले ल्याएको यो एपको प्रयोग किन गर्ने ? यसमा राष्ट्रियता जोडिएको छ । किनभने नेपालमा चल्ने धेरै जसो राइड सेयरिङ एप विदेशी लगानीबाट सञ्चालित छन् । हामीले ल्याएको एप नेपाली सफ्टवेयर इन्जिनियरहरूको समूहबाट तयार भएको छ । यसमा लगानी पनि नेपालीको नै छ । त्यसैले विदेसिने पैसा रोक्नुका साथै रोजगारी सिर्जनामा पनि मद्दत पुर्याउछ भन्ने विश्वास छ । देशबाट ठूलो आर्थिक पेट्रोलियम पदार्थबाट बाहिरिरहेको छ । यसलाई धेरै हदसम्म रोक्न सकिने भयो । ईभीको प्रमोट गर्ने उद्देश्यसहित बनाइएको यो एपमार्फत् ईभीको प्रतिस्थापनको लागि सहयोग पनि पुग्छ । अर्को विषय देशमा भएको ऊर्जा उत्पादनको खपत हुन्छ । जसले गर्दा विद्युत निर्यात भएन भने समस्या भएन । कति लगानी गरेर यो एप सञ्चालनमा ल्याउनु भएको छ ? हामीले पहिलो चरणमा करिब १० करोड रुपैयाँ लगानी गरी यो एप सञ्चालनमा ल्याएका हौं । अहिले हामी आफैंले लगानी गरेर चार्जिङ स्टेशनको पनि निर्माण गरिरहेका छौं । सो स्टेशन सितापाइँला र एकान्तकुनामा निर्माणाधीन छ । चार्जिङ स्टेसनमा समेत भएको लगानी गर्दा १५ करोड रूपैयाँसम्म लगानी पुग्ने भएको छ । चार्जिङ स्टेशनको काम अहिले अन्तिम चरणमा पुगेको छ । सम्भवतः केही हप्ताभित्रै सो स्टेशन पनि सञ्चालनमा आउँछ । यो राइड सेयरिङ एप मार्फत ट्याक्सी बोलाउँदा अन्यको तुलनामा सेवा शुल्क महँगो पर्छ कि सस्तो ? ईभी ट्याक्सी बिजुलीबाट सञ्चालित हुने भएकाले भाडा पनि केही प्रतिशतसम्म सस्तो हुन्छ । तर, गाडीको मूल्य चाहिँ अत्यन्तै महँगो भयो । यदि प्रट्रोलबाट चल्ने ट्याक्सीकै सो सरह विद्युतिय ट्याक्सी पाइने भएको सेवा शुल्क एक दमै न्यून हुने थियो । अन्य भन्दा यसबाट १०/१५ प्रतिशत कम मूल्यमा यात्रा गर्न सकिन्छ । कुनै एउटा व्यक्ति ई-ड्राइभको राइडर बन्न के गर्नुपर्छ ? रजिस्ट्रेसन शुल्क कति लाग्छ ? ई-ड्राइभ कम्पनीमा अहिले चालकले आफ्नो गाडी निःशुल्क रजिस्ट्रेसन गर्न सक्नु हुन्छ । हामीले रजिस्ट्रेसन पुष १ गतेसम्मलाई निःशुल्क गरेका छौं । रजिस्ट्रेसन अवधि लम्बिन पनि सक्छ । कम्पनीमा सबै ईभीका चालकलाई जोडिने मैका दिनुपर्छ भन्ने हाम्रो चाहना हो । हामी रजिस्ट्रेसन शुल्कपछि हजारदेखि २५ सय रुपैयाँसम्म लिन्छौं । अन्य राइडिङ एपलाई १५ देखि २५ प्रतिशतसम्म कमिसन शुल्क लिन्छन् । अहिलेको लागि हामीले कमिसन शुल्क पनि लिएका छैनौं । शुल्क लिँदा ईभी ट्याक्सीबाट १० प्रतिशत र बाइकबाट १२ प्रतिशतसम्म कमिसन लिन्छौं । रजिस्ट्रेसन ईभीका ट्याक्सी मात्र हुने छन् । एक जना मात्रै कतै निस्कनु पर्यो भने ट्याक्सी बोलाउन आवश्यकता ठान्दैनन्, त्यसको लागि बाईक चाहिन्छ, तपाईंहरूले बाइक पनि इभी सञ्चालन गर्नु भएको छ हो ? हाम्रो चाहाना भनेको ईभीका स्कुटर तथा बाइक मात्र कुदाउने हो । तर, नेपाल सरकारको नीति अनुसार दुई पाँग्रे सवारी भाडाका रूपमा चलाउन पाइँदैन । त्यसले गर्दा हामीले दुई पाङग्रे सवारी खरिद गर्न सकेनौं । अहिले पेट्रोल वा ईभीबाट चल्ने दुई पाङग्रे सवारी दर्ता गरी सेवा दिन्छौं । बाइकको हकमा पेट्रोलबाट चल्ने बाइक पनि हाम्रोमा दर्ता गर्न सकिन्छ । यो एपमार्फत् अहिले कहाँ-कहाँ सेवा दिन थाल्नु भएको छ ? हामीले अहिले उपत्यकाभित्र र काभ्रेको बनेपासम्म सेवा दिन सुरु गरेका छौं । हाम्रो एपभित्र नेपाल यात्रा भन्ने सेग्मेन्ट छ । जुन सेगमेन्ट अन्तर्गत सिटी टु सिटी जोड्ने अवधारणा छ । यसलाई हामी बिस्तारै विस्तार गर्दै जाने छौं । यदि नेपाल सरकारको नीति, नियम तथा कानुन सहजीकरण वा सहुलियत भयो भने हामी चार्जिङ स्टेशन उपत्यकाभित्र सयौं वटा र बाहिर पनि कम्पनी कै लगानीमा तयार गर्ने लक्ष्य छ । ईभी भएपछि भाडा पनि सस्तो हुनु पर्ने नागरिकको भनाइ छ । तर, पेट्रोल र ईभीको गाडीमा भाडादर उस्तै भएको धेरैको गुनासो छ । ईभीको भाडा किन सस्तो हुन नसकेको ? नेपाल सरकारले तोकिदिएको भाडादर यो एपमा कायम भएको छ । सरकारले तोकिदिएको भाडादर भन्दा १ रुपैयाँ पनि माथि रकम लिदैनौं । हाम्रो एपमा जोडिनु भएका साथीहरूले पनि त्यो दर भन्दा माथि भाडा लिएर गाडी चलाउन पाउनु हुन्न । अहिले बजारमा इनड्राइभर तथा पठाओ कडा प्रतिस्पर्धीको रूपमा छन्, यसलाई तपाईंले कसरी लिनु भएको छ ? उहाँहरूको विषयलाई लिएर टिप्पणी गर्नु उचित हुँदैन । हामी उहाँहरूसँग प्रतिस्पर्धामा उत्रिएका छौं । राइड सेयरिङ एपको लागि नेपाल सरकारले नीति निर्माण गरेर प्रतिस्पर्धात्मक रूपमा लानु भयो भने धेरै राम्रो हुन्छ । तपाईंको कम्पनी ईभी ट्याक्सी किनेर पनि सेवा दिन थालेको छ, पहिलो चरणमा कति ट्याक्सी खरिद गर्नु भयो ? कम्पनीका आफ्नै ट्याक्सी कति पुर्याउने लक्ष्य छ ? टाटा मोटर्सले ल्याएका ट्याक्सी नेपाल सरकारको मापदण्ड अनुरूपका छन् । एउटा ट्याक्सीको मूल्य करिव ३७ लाख रुपैयाँ पर्छ । हामीले पहिलो चरणमा ४० वटा गाडी बुक गरेका छौं । महँगो गाडी ल्याएर व्यवस्थापन गर्न समस्या देखिएकोले अहिले २० वटा गाडी ल्याएका छौं । जसमध्ये १४ वटा गाडी सञ्चालनमा ल्याइसकेका छौं । बाँकी ६ वटा गाडीमा कालो नम्बर प्लेट राख्ने प्रक्रिया सुरु भइरहेको छ । त्यसमा कालो प्लेट राखे पश्चात् सञ्चालनमा ल्याउँछौं । चालकले कम्पनीलाई निश्चित रकम दिएपछि गाडी पनि उपलब्ध गराउँछौं भन्नु भएको छ, यसको प्रक्रिया के छ ? हाम्रो कम्पनीमा ३ तरिकाले रजिस्टेशन गरेर गाडी चलाउन पाइन्छ । एउटा कम्पनीको आफ्नै गाडी, कम्पनीबाट गाडी सञ्चालन र व्यक्तिगत रूपमा पनि रजिस्टेशन गरेर यो एप चलाउन सकिन्छ । इभी गाडी किन्न अत्यधिक महँगो छ । एउटा गाडी किन्नलाई ३७ लाख रुपैयाँ पर्छ । नम्बर प्लेट पनि लिनु पर्यो लगायत सबै काम गरेर एउटा गाडी सोरुमबाट निकाल्दा करिव ४२ देखि ४३ लाख रुपैयाँसम्म खर्च हुँदो रहेछ । त्यसमा बैंक तथा वित्तीय संस्थाहरूले २० प्रतिशत डाउन पेमेन्टमा गाडी सहज रूपमा खरिद गर्ने व्यवस्था गरेको छ । त्यो २० प्रतिशत डाउन पेमेन्ट गर्दा पनि १३ देखि १४ लाख रुपैयाँ खर्च हुँदो रहेछ । सबैसँग १३/१४ लाख रुपैयाँ खर्च गर्न सक्ने क्षमता नहुन सक्छ । उनीहरूको लागि भनेर हामीले ५ लाख रुपैयाँ डिपोजिट गरेको खण्डमा र बाँकी रहेको रकमा किस्ता बन्दी गरेर सर्त सहित गाडी उपलब्ध गराइ दिन्छौं । ब्याज चाहिँ कति बुझाउनु पर्छ नि ? हामी ब्याज पनि लिन्छौं । उहाँहरूले हामीलाई १६/१७ प्रतिशत व्याज तिर्नु पर्छ । किनभने उहाँहरूबाट बीमा शुल्क लगायत थुप्रै सेवाको शुल्क लिदैनौं । उहाँहरू आफैले गाडी निकाल्नु भयो भने त झनै राम्रो भयो । जसले कस्नु हुन्न उहाँहरूको लागि मात्र यो सुविधा दिएका हौं । त्यसमा हामीले कुनै पनि मुनामा नराखीकन दिने व्यवस्था मिलाएका छौं । हाम्रो खरिद गरेका गाडीमा पनि चालकलाई तलब दिएर भने राखेका छैनौं । उहाँहरूले हाम्रो गाडी भाडामा रूपमा लिएर जान पनि सक्नु हुन्छ । दैनिक ३ देखि ४ हजार रुपैयाँ तिर्ने सर्त सहित लिएर जान सक्नु हुन्छ । अन्त्यमा, तपाईंको कम्पनीको आगामी योजना के छन् ? हामीले ईभी ट्याक्सीलाई मात्र प्रमोट गर्ने भएकाले हामीसँग धेरै चुनौती छन् । एउटा चुनौती ईभीका ट्याक्सी एकदमै न्यून छन् । जसले गर्दा व्यवस्थित रूपमा यो एपलाई सञ्चालन गर्नको लागि समस्या भई रहको छ । विभिन्न कम्पनीले ल्याएका न्यून मूल्य ईभी गाडी जति छन् । त्यी गाडीलाई नेपाल सरकारले भाडाका गाडी बनाइदिने वातावरण मिलाइ दियो भने एक वर्षभित्र हाम्रो आफ्नै लगानीमा २०० देखि ३०० गाडी खरिद गरी सञ्चालन गर्ने लक्ष्य छ । बजारमा हामी जसरी जानु पर्ने हो त्यसरी जान सकी रहेका छैनौं । गाडीको मूल्य महँगो भएकाले पनि समस्या भएको हामीले महसुस गरेका छौं ।
सांसद विकास कार्यक्रममा छुट्याएको पैसा भूकम्प पुनर्निर्माणमा खर्च गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ हाललाई भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको हो । त्यस्तै थप १ अर्ब ७५ करोड रुपैयाँ समेत सो कोषमा थप गरी जम्मा १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय भएको सरकारकि प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘चालु आर्थिक वर्ष २०८०/८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ हाललाई भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने र थप १ अर्ब ७५ करोड रुपैयाँ समेत सो कोषमा थप गरी जम्मा १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने ।’ बैठकले कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण आवासको पूर्ण क्षति भएका र आंशिक क्षति भएपनि बसोवास गर्न योग्य नरहेका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पनि उनले बताइन् । मन्त्री शर्माले यस्तो रकम विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा सिधै उपलब्ध गराउने जानकारी दिइन् । अनुदान रकम उपलब्ध गराउने कार्यविधि विपद् व्यवस्थापन कार्यकारी समितिले निर्धारण गरे बमोजिम हुने उनले स्पष्ट पार्नुभयो । त्यस्तै सहरी विकास मन्त्रालयले अस्थायी आवास निर्माणका लागि सम्बन्धित स्थानीय तहका प्राविधिकमार्फत प्राविधिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ । त्यसैगरी संघ र स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार जनशक्ति उपलब्ध गराउन तथा अस्थायी आवास निर्माण र प्राविधिक परिचालनको अनुगमन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । मन्त्री शर्माकाअनुसार अस्थायी आवास निर्माण लगायतका कार्यमा आवश्यक समझदारी कायम गर्न तथा सहयोग र समन्वय गर्न स्थानीय तह र वडामा निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा सम्बन्धित स्थानीय तह र वडामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधि सम्मिलित सर्वदलीय संयन्त्र निर्माण गरी परिचालन गर्ने निर्णय पनि भएको छ । उनले भुकम्पबाट प्रभावित क्षेत्रका स्थानीय प्रशासन र सुरक्षा निकायले तत्काल खोज, उद्धार र राहतका लागि उक्त निकायले उपलब्ध बजेटबाट गरेको इन्धन खर्च बापतको रकम अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई तत्काल उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिइन् ।
टिकटक बन्द गर्ने निर्णय सरकारले सच्याउनुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय सच्याउनुपर्ने बताएका छन् । सोमबार सरकारले गरेको निर्णयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महामन्त्री थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको तर्क गरेका छन् । ‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
टिकटक बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । नेपाल सरकारले चर्चित सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको उनले बताइन् । मन्त्री शर्माका अनुसार प्राविधिक रुपमा समय लागेपनि टिकटक बन्द गर्ने काम तत्काल अगाडि बढाउने बताइन् । भारत, अष्ट्रेलिया, बेल्जियम क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्कलगायतका देशहरुमा पनि टिकटकको प्रयोगमा प्रतिवन्ध लगाइएको छ भने अमेरिका सहित केही मुलुकहरुमा छलफलको विषय बनिरहेको छ ।
सेल्सबेरी ३०औं बर्ष पुरा गरेको उपलक्ष्यमा १० देखि ३० प्रतिशतसम्म छुट अफर
काठमाडौं । सेवा सुरु गरेको ३०औं बर्षको अवसरमा सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक सामान खरिदमा भारी छुटको अफर ल्याएको छ । यस सुखद अवसरमा सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको हो । यो अफर शनिबार र आइतबार लागू हुनेछ । खाद्यान्न लगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट–बहारको अफर ल्याइएको संस्थाले जनाएको छ । संस्थाका अनुसार यो छुट काठमाडौं र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ । साथै ५ हजार रुपैयाँ भन्दा माथीको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था गरिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सद्वारा भुकम्प प्रभावितका लागि दश लाख बराबरको राहत सामाग्री प्रदान
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पिडित जनताका लागि राहत सामाग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले दश लाख रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । यस कम्पनीका कर्णाली प्रदेश प्रमुख अन्नत अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बर बहादुर रावतलाई २०० थान, भेरी नगरपालिकाका नगर प्रमुख दल बहादुर धर्तिलाई २०० थान र आठबिसकोट नगरपालिका रुकुम पश्चिम अन्तर्गत १४ नं वडाका अध्यक्ष हुकुम बहादुर पुनलाई ३०० थान गरि कुल ७०० कम्बल हस्तान्तरण गरेका छन् । न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका भुकम्पबाट पिडित जनताका लागि कम्पनीले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ७०० थान कम्बल प्रदान गरेको हो । भूकम्पका कारण बाहिर बस्नु परेको र चिसोका सामना गर्नु परेर दैनिक जीवन कस्टकर भैरहेको कारण कसैले पनि कठिन परिस्थिको सामना गर्नु नपरोस भन्ने उद्देश्यका साथ पिडित परिवारलाई कम्पनीले कम्बल वितरण गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने अभिप्रायका साथ ७०० थान कम्बल प्रदान गरिएको कुरा बताएका छन् । अब आउने निकट भविष्यमा कम्पनीलले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी दिएका छन् ।
शान्त रूपले आक्रामक बिजनेस गर्दै म्याक्स इन्टरनेशनल, साढे २ अर्ब आम्दानी
काठमाडौं । सूचना प्रविधि (आईटी)सँग सम्बिन्धत सामानहरूको व्यापार गर्दै आएको म्याक्स इन्टरनेशल आक्रामक रुपमा व्यापार गरिरहेको देखिएको छ । नेपालका लागि डेल ल्यापटपको आधिकारिक बिक्रेता म्याक्स इन्टरनेशनलले सन् २०२३ मा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ भने अघिल्लो वर्ष अर्थात् सन् २०२२ मा ३ अर्ब करोड ३० लाख रूपैयाँको व्यापार गरेको थियो । अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा घटेपनि अन्य कम्पनीहरुको तुलनामा यो कम्पनीले आक्रामक रुपमा व्यापार गरेको देखिन्छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब ९ करोड रूपैयाँको व्यापार गरेको थियो । कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधाका लागि रेटिङ पनि गराएको छ । केयर नेपाल रेटिङ एजेन्सीले कम्पनीलाई ‘सर्ट टर्म लोन’का लागि ‘ए फोर’ पाएको छ भने ‘लङ्ग टर्म’का लागि ‘डबल बि’ रेटिङ पाएको छ । कम्पनीले व्यवसाय विस्तारका लागि कुल १ अर्ब ७३ करोड रूपैयाँ ऋण सुविधा लिने भएको छ । बजारमा खासै प्रचार नदेखिएको कम्पनी शान्त गतिमा आक्रामक व्यवसाय गर्ने रणनीतिमा देखिन्छ । यस कम्पनीको प्रमुख कार्यकारी अधिकृुत शाहिना हुुसैन हुन् भने लगानीकर्ता पनि उनी नै हुन् । यो कम्पनीको विषयमा केयर रेटिङ नेपालले एक जना मात्रै विदेशी लगानीकर्ता भएकोले कुनै दिन लगानी फिर्ता हुन सक्ने जोखिम पनिऔल्याएको छ । यो कम्पनीमा विदेशी लगानी छ, लगानीकर्ता एउटा मात्रै हुनु हुन्छ, लगानीकर्ता एउटा मात्रै भएकोले कुनैदिन लगानी फिर्ता हुन सक्ने जोखिम देखिन्छ, लगानीकर्ताको मृत्यु वा कुनै ठूलो समस्या भएमा कम्पनी बिघटन हुन सक्ने जोखिम देखिन्छ,’ केयर रेटिङ नेपालले भनेको छ । म्याक्स इन्टरनेशनल आईटीसँग सम्बन्धि सामानहरू व्यापार गर्दै आएको छ । सन् २००६ मा स्थापना भएको यो कम्पनी नेपालका लागि डेल ल्यापटपका आधिकारिक बिक्रेता पनि हो । यसले देशभर विभिन्न डिलरहरू सञ्चालन गरेर व्यापार गर्दै आएको छ । कम्पनीले एक हजारभन्दा बढी ब्राण्डका सामानहरू व्यापार गर्दै आएको दाबी गर्दै आएको छ । कम्पनीले आगामी दिनमा सूचना प्रविधिको क्षेत्र थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरेको छ । म्याक्स इन्टरनेशनले आफ्नो व्यापार विस्तार गर्ने रणनीतिका साथ विभिन्न बैंक तथा वित्तीय संस्था र सरकारी स्तरमा पनि आफ्नो सहभागिता जनाएको बताएको छ । कम्पनीले सूचना प्रविधि क्षेत्रमा आफुलाई नेपालको नम्बर वान कम्पनीका रुपमा चिनाउँदै आएको छ ।
राष्ट्रपति पौडेलले गरे गाई पूजा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन् । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका हुन् । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ । तिहारको चौथो दिन मङ्गलबार गोरुपूजारगोवद्र्धन पर्वतको पूजा गर्ने परम्परा छ ।