विकासन्युज

लघुवित्तका एक कर्मचारीको भागमा १.८९ करोड ऋण दिने जिम्मेवारी, ४१ लघुवित्तमा बैंकको लगानी

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु माथि ऋण दिनु पर्ने दायित्व बढेको देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान अध्ययन प्रतिवेदनले लघुवित्तमा कार्यरत एक जना कर्मचारीले औसत १.८९ करोड रुपैयाँ ऋण लगानी गरेको देखाएको हो । अध्ययन प्रतिवेदन अनुसार २०७९ चैतसम्म प्रतिशाखा औसत ८ करोड ५५ लाख रुपैयाँ र प्रतिकर्मचारी औसत १ करोड ८९ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । वि.सं.२०७१ असारसम्म प्रतिशाखा ४ करोड १५ लाख रुपैयाँ र प्रतिकर्मचारी औसत ६८ लाख रुपैयाँ थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान अध्ययन प्रतिवेदनमा वि.सं.२०७९ चैत्रसम्म ६३ वटा लघुवित्त संस्थाहरुमध्ये ४१ वटा लघुवित्तमा बैंक तथा वित्तीय संस्थाको सेयर स्वामित्व रहेको छ । कुल ६३ वटा लघुवित्तमध्ये ५९ वटा खुद्रा कारोबार र ४ वटा थोक कारोबार गर्ने संस्था छन् । खुद्रा कारोबार गर्ने संस्थामध्ये २७ वटा विगतमा गैरसरकारी संस्थाबाट परिणत भएका, २७ वटा लघुवित्त वित्तीय संस्थाकैरुपमा स्थापित र ५ वटा वाणिज्य बैंकका सहायक कम्पनीका रुपमा रहेका छन् । ९ वटा लघुवित्तमा बैंक तथा वित्तीय संस्थाहरूको ५० प्रतिशतभन्दा बढी स्वामित्व छ भने २० वटा लघुवित्तामा २० प्रतिशतभन्दा कम स्वामित्व रहेको छ । मर्जर प्रक्रिया चलिरहेकोले लघुवित्त वित्तीय संस्थाहरूको संख्या घट्दै गइरहेको अध्ययन प्रतिवेदनले बताएको छ । चुक्ता पुँजीका आधारमा १० करोड रुपैयाँभन्दा कम पुँजी भएका ९ वटा संस्था, १० करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्म २२ वटा, ५० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म १० वटा, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म ६ वटा र २ अर्ब रुपैयाँभन्दा बढी पुँजी भएका २ वटा संस्था रहेका छन् । २०७९ चैतसम्म लघुवित्त वित्तीय संस्थाका कुल शाखा संख्या ५ हजार १६४, कर्मचारीको संख्या २२ हजार ८४६ र कर्जा लगानी ४ खर्ब ४१.४ अर्ब रुपैयाँ रहेको छ । विगतमा लघुवित्त वित्तीय संस्थाहरूको नाफा उच्च रहेकोमा हाल न्यून रहेको राष्ट्र बैंकले बताएको छ । लघुवित्त संस्थाहरूको स्प्रेड (प्रभावकारी ब्याजदर र कोषको लागत बीचको फरक) विगतमा ८ प्रतिशत भन्दा माथि रहेकोमा २०७९ चैत्रसम्म घटेर ६ प्रतिशत पुगेको छ । फलस्वरुप, कोभिडको अवस्थामा बाहेक पुँजीको प्रतिफल अधिकांश वर्षहरूमा २५ प्रतिशतभन्दा माथि रहेकोमा ५.२ प्रतिशतमा झरेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ । संस्थागतरुपमा २० वटाको पुँजीको प्रतिफल ऋणात्मक रहेको छ । २०७९ चैतमा कोषको लागत १०.५ प्रतिशत र प्रभावकारी ब्याजदर १६.४ प्रतिशत रहेको छ । कुल ५८ वटा (ग्रामीण लघुवित्त वित्तीय संस्था बाहेक) संस्थाबाट प्राप्त ऋणीहरूको तथ्याङ्कले बहुबैंकिङ्गको अवस्थालाई पुष्टि गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । कुल ३९ लाख ३५ हजार १७१ कर्जा खाता रहेकामा १ हजार रुपैयाँभन्दा कम रकमका ४ लाख १ हजार ८०६ खातालाई हटाई विश्लेषण गरिएको हो । कुल २३ लाख १ हजार २९३ ऋणीका ३५ लाख ३३ हजार ३२५ कर्जा खाता रहेका छन् । कुल ऋणीमध्ये ७०.४ प्रतिशतले १ मात्र खाताबाट, २७.८ प्रतिशतले २ देखि ५ वटा खाताबाट, १.५ प्रतिशतले ६ देखि १० वटा खाताबाट र ०.२ प्रतिशतले १० भन्दा बढी खाताबाट कर्जा लगेका छन् । यी समूहको कुल कर्जा लगानीमा हिस्सा क्रमशः ५२.२ प्रतिशत, ३९.५ प्रतिशत, ६.६ प्रतिशत र १.८ प्रतिशत रहेको छ ।

ट्यान्गोपे मार्फत युकेबाट पैसा पठाउँदा आइफोन जित्न सकिने

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले युके स्थित ट्यान्गोपे को साझेदारीमा आइफोन योजना ल्यएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागू हुने कम्पनीले जनाएको छ । जस अन्तर्गत युकेबाट ट्यान्गोपे मार्फत रेमिट्यान्स पठाउने एक भाग्यशाली विजेताले काठमाडौंमा घर जित्न सक्ने कम्पनीले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले जुनसुकै मध्यम अर्थात् ईसेवा वालेट, बैंक वा सोझै नगद पठाई आइफोन जित्ने मौका सुनिश्चित गर्न सकिनेछ । ईसेवा मनी ट्रान्सफर, ग्राहकहरुलाई सहज सेवा प्रदान गर्न प्रतिबद्ध छ र विदेशबाट जुनसुकै मध्यमबाट पैसा पठाउन सकिने हुदा सहज सुविधाको सुनिश्चित पनि गर्दछ। ईसेवा मनी ट्रान्सफर प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौ। ट्यान्गोपे को साझेदारीमा आइफोन योजना सुचारू भए संगै अब युके बस्दै गर्नु भएको नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रुपमा नेपाल पैसा पठाई आइफोन जित्न सक्नुहुनेछ।’ ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

मेरो माइक्रोफाइनान्स लघुवित्त १२औं वर्षमा प्रवेश

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड ११ वर्ष पूरा गरि १२औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्था देशकै अग्रणी लघुबित्त बित्तीय संस्था बन्न सफल भएको बताए । स्थापनाको ११ बर्षसम्म आइपुग्दा संस्थाले ग्राहक सन्तुष्टि र व्यावसायिक उत्कृष्टतालाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको प्रमुख कार्यकारी अधिकृतले बताए । यस संस्थाले देशका ६४ जिल्लामा छरिएर रहेका १४९ शाखाहरुबाट करिब १ लाख ६० हजार ग्राहकहरुलाई उच्च स्तरीय लघुबित्त सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

पोखरामा विद्युतीय गाडी सेरेस-३ को डेलिभरी सुरु

पोखरा । विद्युतीय गाडी सेरेस–३ को डेलिभरी पोखरामा सुरु भएको छ । सेरेसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता थापा मोटर्सले गाडी बुकिङ गर्ने ग्राहकलाई डेलिभरी दिन सुरु गरेको हो । तिहार अगाडि नै १० जना ग्राहकले सेरेस गाडी गुडाउन पाउने गरी डेलिभरी सुरु गरिएको प्रालिका सञ्चालक राज बजिमयले जानकारी दिए । उक्त इलेक्ट्रिक कारले पोखरा क्षेत्रका उत्साहजनक प्रतिक्रिया पाइरहेको उनले बताए । ‘ग्राहकबाट प्राप्त प्रक्रियाबाट हामी उत्साही छौं,’ उनले भने, ‘यो गाडी विद्युतीय सवारी मध्येमा पहिलो रोजाईमा पर्नेमा हामी विश्वस्त छौं ।’ सेरेसका लागि नेपालको आधिकारिक आयातकर्ता एमएडब्लु बृद्धी अटोकर्प हो । कम्पनीका अनुसार पर्यावरणमैत्री डिजाइन, बलियो निर्माण गुणस्तर र प्रभावशाली दायराको साथ सेरेस–३ ले दिगो यातायातको क्षेत्रमा महत्वपूर्ण छलाङ प्रदान गरेको छ । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । यसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता समेत देखाएको छ । नेपालमा सेरेसले सेरेस–३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराए को छ । जसमध्ये सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्ट मा उपलब्ध छ भने मिनी ईभी तीनवटा भेरिएन्टमा बिक्री हुँदै आएको छ । सेरेस–३ कम्पफर्टको मुल्य ४९ लाख ९९ हजार र प्रिमियमको ५२ लाख ९९ हजार निर्धारण गरिएको छ भने मिनी ईभीको लो ट्रिमलाई १३ लाख ९९ हजार, मिड ट्रिमको १६ लाख ४९ हजार र टप ट्रिमको १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नेपाल शेयरहोल्डर अलायन्सद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौं । ‘रक्तदान नियमित काम’ ! मूल नाराका साथ नेपाल शेयरहोल्डर अलायन्सद्वारा तिहार, नेपाल सम्वत् ११४४ र वर्तमान अवस्थामा भइरहेको रगतको अभावलाई मध्य नजर राख्दै ‘आकस्मिक रक्तदान’ तथा चियापान र शुभकामना आदान प्रदान कार्यक्रम कात्र्तिक २४ गते शुक्रबार झीगु इच्छुमती खलः, काठमाण्डौं वडा नं. २८ मा सम्पन्न भएको छ । प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालै मात्र राष्ट्रिय रक्त नायक र रक्त सम्राट उपाधिबाट बिभूषित, नेपालका सर्वाधिक १७६ औं पटक रक्तदान गरिसक्नुभएका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रथम रक्तदाता सुजन थापालाई रगतको ब्याग हस्तान्तर गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । नेपाल शेयरहोल्डर अलायन्सका का.वा. अध्यक्ष लवराज जोशीले सभापतित्व गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव उत्सव सुन्दर श्रेष्ठले गरेका थियो भने कार्यक्रमको पूर्ण संयोजन संस्थाका कोषाध्यक्ष देवेन्द्र राईले गरेका थिए ।

नेपाल लाइफको नाफामा वृद्धि, पहिलो त्रैमासमा १५.७९ करोड नाफा

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.व को पहिलो त्रैमाससम्ममा उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १०.२५ प्रतिशतको वृद्धि भएकोे छ । आर्थिक मन्दी बाट गुज्रीरहेको समयमा पनि कम्पनीले उत्साहप्रद व्यवसाय गरेको छ । यस त्रैमासकको अन्त्य सम्ममा कम्पनीको जगेडा तथा कोषमा करिव ७९.३३ करोड रुपैयाँ रहेकोछ जुन अघिल्लो आ.व.को अन्त्य सम्मको आधारमा २१.८१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको अन्त्य सम्ममा करिव १६५ अर्ब ५२ करोड रुपैयाँ रहेको ग्रस इन्सुरेन्स कन्ट्र्याक्ट ल्याबलिटिज ५.८६ प्रतिशतले बढि करिव १७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । महाबिपत्ती कोषमा १०२ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको अन्त्य सम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो । कम्पनीको लगानी ५.३९ प्रतिशतले बढेको छ । आश्विन मसान्तसम्म कम्पनीले १७९ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको भुक्तानी हुन बाँकी दावी उलेख्य रूपमा घटेको छ । गत आर्थिक वर्षको अन्त्यमा करिव १ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९.३५ प्रतिशतले घटी ८३.९१ करोड रुपैयाँ रहेको छ । कम्पनीले सूचना प्रविधिको विकाशलाई अंगिकार गर्दै अनलाइन माध्यमबाट नै दाबी भुक्तानी गर्ने प्रणालीको विकाश गरि कार्यान्वयनमा ल्याई सकिएकोले आगामी दिनमा दावी भुक्तानी प्रक्रिया झन् सरल हुन गई ग्राहकहरु लाभान्वित हुने कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् । अहिलेको विषम परिस्थितिमा जीवन बीमा बजारको लिडरको रूपमा आफुलाई स्थापित गराउन सफल यस कम्पनीले आश्विन मसान्त सम्ममा १० अर्ब ९३ करोड कुल बीमाशुल्क आर्जन गरेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशतले बढी हो । यसै गरी कम्पनीले आश्विन मसान्त सम्ममा १ अर्ब ५८ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ जुन समिक्षा अवधिको तुलनामा १३.७९ प्रतिशतले बढी हो । ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.७ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.७२ रुपैयाँ, मूल्य अनुपात आम्दानी ८३.१४ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,३०७ रुपैयाँ रहेको छ । समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रुपमा लिन सकिन्छ । आगामी दिनमा कम्पनीलाई थप प्रभाबकारी रुपमा संचालन गर्न बिभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरु अबलम्बन गर्दै नेपालीहरुको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रबाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मुर्तरुप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।

‘फास्ट ट्र्याक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति

काठमाडौं । अनेकौँ बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाको भौतिक प्रगति २७.१९ प्रतिशत र वित्तीय प्रगति २९.३२ प्रतिशत छ । नेपाली सेना, विकास निर्माण निर्देशनालयका सहनिर्देशक प्राविधिक महासेनानी विश्वबन्धु पहाडीले उक्त आयोजना निर्धारित मितिमा सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको बताए । “नेपाली सेनाको जिम्मेवारीअन्तर्गत निर्माणाधीन द्रुतमार्ग निर्माण कार्यलाई गुणस्तरीयरुपमा लक्षित समय सीमाभित्र सम्पन्न गर्न सेना कटिबद्ध रहेको छ”, उनले भने । आयोजनाको मुख्य चुनौतीका रुपमा लिइएको सुरुङ र अग्ला विशिष्ट प्रकृतिका पुल निर्माण लक्ष्यअनुरुप र उत्साहजनक ढङ्गले प्रगति भइरहेको पहाडीको भनाइ छ । उनका अनुसार आयोजनाअन्तर्गत मकवानपुरको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ र अग्ला पुल निर्माण भइरहेका छन् । हालसम्म निर्माणाधीन सुरुङको कूल लम्बाइ ६.४१५ किलोमिटरमध्ये ३.१३५ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको आयोजनामा संलग्न प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार ३.३५५ किलोमिटर लामो महादेवटार सुरुङमा १.४९० किलोमिटर निर्माण भएको छ । यस्तै १.६३ किलोमिटर लम्बाइको धेद्रे सुरुङमा ८०६ मिटर तथा १.४३ किलोमिटरको लेनडाँडा सुरुङमा ८५७ मिटर निर्माण भइरहेको छ । सुरुङमार्गको दुवैतर्फबाट खन्ने र सँगसँगै ‘फिनिसिङ’ गर्ने काम भइरहेको छ । गहिरा खोचमा अग्ला प्रकृतिको पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको प्राविधिक प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए । आयोजनाअन्तर्गत हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नं १ देखि ५ सम्मका ४५ वटा पुलको डिजाइन सम्पन्न भएको र १ हजार ७६८ ‘पाइल’मध्ये १ हजार १७५ पाइल निर्माण भइसकेको सेनाले जनाएको छ । दु्रतमार्गमा ८२ मिटर अग्ला ‘टावर’ तथा ४ सय मिटरभन्दा लामा पुल निर्माण हुनेछन् । सेनाले उक्त आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्नेगरी १३ वटा प्याकेज बनाइ निर्माणलाई अगाडि बढाएको छ । प्याकेज नं १ देखि ७ सम्मका प्याकेज निर्माणाधीन अवस्थामा छन् । आयोजनाको पुरक विस्तृत परियोजना प्रतिवेदन समयमै स्वीकृत नहुँदा आयोजनाको बाँकी जग्गा अधिग्रहण एवं वातावरणीय प्रभाव मूल्याङ्कन तथा रुख कटानमा जटिलता थपिएको सेनाले जनाएको छ । यसअघि स्वीकृत विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’मा आयोजनाको दुवैतर्फका प्रवेश बिन्दु तथा विश्रामस्थलमा इन्टरचेञ्ज तथा टोल प्लाजाको व्यवस्था नभएकाले सेनाले पूरक विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृतिका पठाएको थियो । सो पूरक ‘डिपिआर’ स्वीकृत नहुँदा बाँकी प्याकेजमा ठेक्का लगाउन नसकिएको सेनाले जनाएको छ । पूरक डिपिआर स्वीकृतिका लागि सम्बन्धित निकायसमक्ष समन्वय भइरहेको र त्यसम्बन्धी कार्य छिट्टै निष्कर्षमा पुग्ने सेनाले विश्वास लिएको छ । आयोजनाको प्रस्थान बिन्दु खोकना क्षेत्रको जग्गा अधिग्रहणमा देखिएका समस्याको हालसम्म निक्र्योल हुन नसक्दा भने आयोजनालाई तीव्रता प्रदान गर्ने कार्यमा केही बाधा अड्चन पुगिरहेको छ । सेनाले भने सो खोकना इलाकामा दु्रतमार्गको सुरु बिन्दु निर्धारण, सवारी अवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधानपश्चात् खरिद प्रक्रिया सुरु गर्ने गरी तयारी अवस्थामा रहेको जनाएको छ । सरकारले विसं २०७४ वैशाख २१ गते काठमाडौँ र तराई–मधेसलाई जोड्ने सो रणनीतिक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । विसं २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढबाट सो आयोजनाको शिलान्यास गरेका थिए । सरकारले गत असोज ३० गते आयोजनाको परिमार्जित डिपिआर स्वीकृत गरेको थियो । उक्त डिपिआरअनुसार द्रुतमार्गको कूल लम्बाइ ७०.९७७ किलोमिटर रहेको छ । आयोजनामा छ वटा सुरङमार्ग रहेका छन् । सुरुङमार्गको कूल लम्बाइ १०.०५५ किलोमिटर रहेको छ । देविचौरमा १, सिसौटारमा ०.३९, चन्द्राम भिरमा २.२५, महादेवडाँडामा ३.३५५, धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर लामा सुरुङ निर्माण हुनेछन् । अहिले लेनडाँडा, महादेवडाँडा र लेनडाँडामा सुरुङ निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । उक्त द्र्रुतमार्ग ‘एसियन हाइवे’ मापदण्डको हुनेछ । सो सडकमा दुईपाङ्ग्रे सवारी गुडाउन निषेध गरिनेछ । आयोजनामा १२.८८५ किलोमिटर लम्बाइका विभिन्न ८९ वटा पुल निर्माण गरिनेछ । मकवानपुरको बुदुनेमा सडकको दुवै किनारामा दुई विश्रामस्थल हुनेछन् । ती विश्रामस्थलमा पेट्रोलपम्प, शौचालय, होटललगायतका सुविधा रहनेछ । द्रुतमार्गमा खोकना, बुदुने र निजगढमा प्रवेश गर्न र बाहिरिनसक्ने ‘इन्टरचेञ्ज’को व्यवस्था हुनेछ । सो सडकमा ती स्थानबाहेक अन्य स्थानमा प्रवेश गर्न र निस्कन पाइने छैन । यस्तै उक्त सडकमा गुड्ने सवारीको शुल्क उठाउने प्रयोजनका लागि खोकना, बुदुने र निजगढमा एकरएक वटा ‘टोल प्लाजा’ हुने सेनाले जनाएको छ । कूल एक घण्टा दुई मिनेटमा खोकनादेखि निजगढसम्मको यात्रा गर्न सकिनेछ । उक्त आयोजना विसं २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । रासस

गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्प पीडितलाई जुत्ताचप्पल सहयोग

काठमाडौं । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो । गत कार्तिक १७ गते शुक्रबार जाजरकोटमा केन्द्रविन्दु बनाई गएका भुकम्पमा भएको मानविय क्षतिप्रति गोल्डस्टारले श्रद्धान्जली अर्पण गरेको छ । यसका साथै कम्पनीले भूकम्पपीडित समुदायलाई महत्वपूर्ण सहयोग प्रदान गर्ने अग्रसरता लिएको छ । सङ्कटको घडीमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिकता व्यक्त गर्दै कम्पनीले विनाशकारी भूकम्पमा परेका पीडितलाई सहयोग प्रदान गरेको हो । गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले भनिन्, ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउदैछौं । हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौं र वहांहरुको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौं ।’ सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो । मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका लागि सुपरिचित छ । समयक्रममा गोल्डस्टारले बजारको मागसँग आफुलाई समायोजन गर्दै आज आफुलाई फेसन ब्रान्डका रूपमा सफलतापूर्वक स्थापित गरिसकेको छ । हालै मात्र यसले प्रिमियम तथा उच्च गुणस्तरका जुत्ताहरुको एक विशेष शृंखलाको सुरुवात गरेको छ ।