भारत छाडेर एप्पलको लगानी भियतनाममा
एजेन्सी । आईफोन निर्माता एप्पलले पछिल्ला केही दिनदेखि चीनप्रति निराशा बढाएको छ । एप्पलका धेरै चिनियाँ विक्रेताहरू अब विश्वका अन्य देशमा कामकाज गर्ने योजनामा छन् । हालै एप्पलको चिनियाँ विक्रेता लक्स सेयरले आफ्नो योजनामा आश्चर्यजनक परिवर्तन गर्दै भियतनाममा ३३ करोड अमेरिकी डलर लगानी गरेको छ । एप्पलका लागि कम्पोनेन्ट बनाउने यो कम्पनीले यसअघि भारतमा लगानी गर्ने निर्णय गरेको थियो । तर, अचानक योजना परिवर्तन गर्दै भियतनाममा ३३ करोड डलर लगानी गरेको हो । लक्स सेयर नामको यो चिनियाँ कम्पनी एप्पलका लागि चीनको सबैभन्दा ठूलो कम्पोनेन्ट र फिनिश्ड प्रोडक्ट उत्पादन गर्ने इकाई हो । कम्पनीले अहिले आफ्नो लगानी भियतनाममा सारेको छ । कम्पनीले भारत र चीनबीचको राजनीतिक तनावका कारण भारतमा लगानी बढाउन नचाहेको जनाएको छ । कम्पनीले पछिल्लो तीन वर्षमा भारतमा आफ्नो कारोबार विस्तार गर्न धेरै प्रयास गरेको छ । लक्स सेयर इयरपड सप्लाई गर्ने एप्पलको मुख्य कम्पनी हो । आगामी दिनमा कम्पनीले आईफोन पनि बनाउने भएको छ । कम्पनीले उत्तरी भियतनामको बाक जियाङ नामक राज्यमा ३३ करोड डलर लगानी गर्ने घोषणा गरेको छ । लक्स सेयरको यो लगानीलाई गत साता भियतनाम सरकारले ग्रीन सिग्नल दिएको थियो । यससँगै लक्स सेयरले हालसम्म भियतनाममा ५० करोड ४० लाख डलर लगानी गरिसकेको छ । एप्पलले आफ्नो आपूर्ति श्रृंखला विविधीकरण योजनाअन्तर्गत चीनमा कार्यरत कम्पनीहरूलाई बाहिर सार्ने योजना बनाएको थियो । त्यसपछि लक्स सेयरले भारतमा मात्र स्मार्ट उपकरण, सञ्चार उपकरण, टच पेन र स्मार्ट घडी, पोजिसनिङ ट्याग र स्मार्ट घडी आदि उत्पादन गर्ने योजनामा काम गरिरहेको थियो । अब कम्पनीले यो योजना भियतनाममा सारेको छ । भियतनाममा लक्स सेयरको यो नयाँ सुविधा ७० एकड क्षेत्रफलमा फैलिने छ र आगामी १२ देखि २४ महिनामा सम्पन्न हुनेछ । लक्स सेयरले सन् २०१९ देखि भियतनाममा लगानी गर्दै आएको र यसै वर्ष अगस्टमा प्लान्ट स्थापना गर्न स्वीकृति पाएको थियो । यसअघि एप्पलको आइफोनको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनले पनि भियतनाममा दुई नयाँ परियोजनामा २५ करोड डलर लगानी गरेको थियो । कम्पनीले विद्युतीय सवारीसाधन, दूरसञ्चार र अन्य विद्युतीय सामग्री उत्पादन बढाउने योजना बनाएको छ ।
दसैँ-तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटिटी)का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ–तिहारमा धेरै माथि रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए । “चलचित्र भवनमा नेपाली चलचित्र हेर्न दर्शकको सङ्ख्या बढी पाइएको छ । गत दसैँमा जस्तै दर्शक नेपाली चलचित्र हेर्न आउनुभयो, तिहारमा पनि त्यही देखिएको छ”, वितरक श्रेष्ठले भने । दसैँ लक्षित गर्दै चलचित्र भवनमा प्रदर्शन गरिएको ‘पशुपति प्रसाद २ः भष्मे डन’ र ‘परदेशी २’ ले बक्सअफिसमा पनि राम्रो व्यापार गरेको छ । तिहारलाई लक्षित गर्दै प्रदर्शन गरिएको चलचित्र ‘दिमाग खराब’ ले पनि राम्रो व्यापार गरिरहेको छ । चलचित्र भवनसँगै ओटिटीमा समेत नयाँ चलचित्र प्रदर्शन गरियो । नेपालमा युट्युब, डिसहोम, सिनेमा घर, भिडियो पसललगायत एप्लिकेसनमार्फत केही प्रतिक्षित चलचित्र दर्शकमाझ ल्याइयो । सिनेमा घर एपमार्फत चलचित्र ‘जारी’ प्रदर्शन गरियो । डिस होममार्फत ‘शत्रु गते’, ‘छक्का पञ्जा ४’, ‘माइकल अधिकारी’, ‘पासो’, ‘कृष्ण लिला’, ‘प्रेम गीत ३’, ‘चिसो मान्छे’ र ‘झिँगेदाउ’ प्रदर्शन गरियो । यस्तै, ‘कान्तिपुर सिनेमाज’ मार्फत चलचित्रतर्फ ‘ज्याकी ः आइएम ट्वान्टी वान’, ‘जुलेबी’ र ‘म’, ‘ची मुसी ची’, शृङ्खलातर्फ ‘मिस स्कार्लेट’, ‘लभ सूत्र’ र ‘ब्रह्माण्ड’, छोटो चलचित्रतर्फ ‘मदर’, ‘खरानी, ‘ऋतु’ र ‘नेपाली फिक्सन’ प्रदर्शन गरिएको छ । यसका सञ्चालक प्रकाश पुरीले दर्शकको सङख्या राम्रो देखिएको जानकारी दिए । “हामी दर्शकको अपेक्षाअनुसार कन्टेन ल्याउने छौँ । त्यही तयारीअनुसार सुरु गरेका छौँ”, सञ्चालक पुरीले भने । दसैँ तिहारमा चलचित्र भवनमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनाका साथै घरमै चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढ्ने गरेको छ । त्यसैले यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता उत्साहित देखिने गरेका छन् । रासस
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
काठमाडौं । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घय दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोर, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घय अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ । छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलोदिन शुक्रबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन शनिबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए । त्यस्तै षष्ठीका दिन अर्थात् आइतबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए । षष्ठीका दिन हिजो आइतबार साँझ व्रतीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घय अर्पण गरेका थिए । त्यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गरेका छन् । महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ । तर चढाउने सामर्थ नभएका गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ ।
एनआईसी एशिया ग्रोथ फण्ड २ बिक्री खुला, १ करोड इकाई आवेदन दिन मिल्ने
काठमाडौं । एनआईसी एशिया क्यापिटलले आज मंसिर ४ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड–२ बिक्री खुला गरेको हो । ७ वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखी योजना हो । क्यापिटलले अंकित मूल्य प्रतिइकाई १० रुपैयाँका दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरुलाई बिक्री गरिएको हो । क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । फण्डको इकाईमा छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १८ गतेसम्म आवेदन दिन मिल्ने क्यापिटलले जनाएको छ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । फण्डमा लगानीकर्ताहरुले सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
हिमालयन रिको आईपीओ प्रिमियममा बिक्री खुला, १० कित्ता खरिद गर्न कति चाहियो ?
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले आज मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । यसअघि कम्पनीले कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने तयारी गरेको थियो । तर, निष्काशन अवधिमा तिहारको लामो सार्वजनिक बिदा परेका कारण लगानीकर्ताहरुको सहजीकरण लागि आवेदन दिने समय सारेको थियो । कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ३० लाख कित्ता, कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषलाई १५ लाख कित्ता सेयर बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीको आईपीओ न्यूनतम १० कित्ता आवेदन दिन मिल्ने भएकाले लगानीकर्ताले उक्त सेयर खरिद गर्न २ हजार ६० रुपैयाँको जोहो गर्नु पर्ने हुन्छ ।
भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेट
काठमाडौं । भारतलाई पराजित गर्दै अष्ट्रेलियाले आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि हात पारेको छ । आइतबार भारतमा भएको खेलमा अष्ट्रलेलियाले भारतलाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो । भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेटको क्षतिमा २४१ रन बनाएर जित हात पारेको हो । आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्न घरेलु टिम भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान त्रविस हेडले शतक पूरा गरे । यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।
चौथो ठूलो अर्थतन्त्र भएको देश बन्दै भारत, ४० खर्ब नाघ्यो जीडीपी
एजेन्सी । भारतको अर्थतन्त्रमा ऐतिहासिक वृद्धि भएकाे छ । भारतको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) ४० खर्ब भारतीय रुपैयाँ नाघेकाे छ । रिपोर्टका अनुसार पहिलोपटक भारतीय अर्थतन्त्र चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने नजिक पुगेको छ । आर्थिक वर्ष २०२३/२४ को पहिलो त्रैमासिकमा भारतको जीडीपी ७.८ प्रतिशतले बढेको थियो । भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले देशको अर्थतन्त्र सुधारोन्मुख हुनेमा आफू विश्वस्त भएकाे बताएका थिए । भारतको अर्थतन्त्र ४० खर्ब नाघेसँगै चौथो ठूलो जीडीपी भएको देशको लाइनमा देखिएको छ । हाल अमेरिका पहिलो, चीन दोस्रो, जर्मनी तेस्रो र जापान चौथो ठूलो अर्थतन्त्र भएको देशको रूपमा परिचित छन् ।
अनलाइन बैंकिङमा सिटिजन्सको क्रियटिभ आइडिया, यसरी राख्नुहोस् सुरक्षित
काठमाठौं । जुनसुकै कम्पनीलाई पनि कसरी आफ्नो प्रडक्टलाई बढीभन्दा बढी जनतामाझ पुर्याउने र लोकप्रिय बनाउने भन्ने चिन्ताचासो हुन्छ । बैंक तथा वित्तीय संस्थाहरूका कर्मचारी पनि आफ्नो प्रडक्टलाई कसरी अन्य संस्थाको भन्दा पृथक र श्रृजनात्मक बनाउने भनेर दिनरात मेहनत गरिरहेका हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरूले प्रडक्ट बनाउन लाखौं रकम र ठूलो समय खर्च गरेका हुन्छन् । सिटिजन्स बैंकले पनि डिजिटल बैंकिङ सम्बन्धि सचेतना फैलाउने उद्देश्यले श्रृजनात्मक भिडियो सार्वजनिक गरेको छ । बैंकले गत कात्तिक १६ गते आफ्नो आधिकारिक फेसबुक आइडी (सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेड)मा ३ मिनेट ५४ सेकेण्डको भिडियो पोस्ट गर्दै डिजिटल बैंकिङ सचेतना दिएको हो । उक्त भिडियो अन्य भिडियो भन्दा पृथक छ । भिडियोमा चर्चित अभिनेत्री प्रियंका कार्कीको खेलौना पसल हुन्छ । सिटिजन्स बैंकबाट कर्मचारीले उनलाई फोन गरेर एटीएम कार्ड तयार भएको छ, समय मिलाएर लैजान आग्रह गरेको देखिन्छ । उनले पनि म लिन आउँछु भनेर फोन राख्छिन् । अब आफू पनि मोबाइल बैंकिङ एप डाउनलोड गरेर सबै कारोबार डिजिटल्ली गर्छु भनेर खुसी ब्यक्त गर्छिन् । सबै कारोबार डिजिटल्ली त गर्ने तर, डिजिटल्ली आफ्नो पैसाको सुरक्षा गर्न आउँछ ? एउटा आवाज सुनिन्छ । एक्लै पसलमा भएको बेला कसले प्रश्न गरेको होला भनेर अचम्मित पर्छिन् उनी। त्यत्तिकैमा अर्काे आवाज सुनिन्छ, हामीलाई माया गर्ने साहुनीको पैसा सुरक्षित राख्न सहयोग त गर्नु पर्याे नी । गुडीयाहरु बोलेको थाहा पाएपछि आफूहरुले के बोलिरहेको छ त्यो ध्यान दिएर सुन्नुहोस् भनेर जवाफ आउँछ । त्यसपछि पालैपालो गुडीयाहरूले डिजिटल मनीले पैसाको कारोबारलाई सजिलो बनाएको भएपनि अझ बढी सुरक्षित हुनु पर्ने जिम्मेवारी थपेको बताउँछन् । यस्तै, अनलाइन बैंकिङ लिनु भन्दाअघि यसका विषयमा सबै जानकारी लिनु पर्ने, सबै थाहा छ भन्दै जान्ने पल्टिँदा आफ्नै लागि घाटा हुन सक्ने ती गुडीयाहरुमार्फत् बैंकले सन्देश दिन खोजेको छ । अनलाइन बैंकिङ प्रयोग गर्दा बैंकको आधिकारिक वेभसाइट मात्रै प्रयोग गर्ने र आधिकारिक एप मात्रै डाउनलोड गर्नुपर्छ । अनलाइन बैंकिङ प्रयोग गर्ने ल्यापटप, मोबाइल वा कुनै पनि ग्याजेटमा पासवर्ड, पीन, प्याटर्न वा बायोमेट्रिकले अनिवार्य रुपमा लक गर्नुपर्छ । यस्तै, अनलाइन बैंकिङको यूआरएल सधैं टाइप गर्नुपर्छ । कहिल्यै पनि इमेल लिंक वा अन्य कुनै पनि हाइपरलिंक क्लिक गर्नु हुँदैन । त्यस्तै, अनलाइन बैंकिङका लागि मल्टिफ्याक्टर प्रमाणीकरण (अथेन्टिकेसन), टू फ्याक्टर अथेन्टिकेसन, मोबाइल नम्बर, ओटिपी, फिङ्गर प्रिन्ट आदीको प्रयोग गर्नुपर्छ । गुडीयाहरूले डिजिटल सुरक्षा सम्बन्धि सन्देश दिइरहेका बेला अभिनेत्री कार्कीले अनी गुरुहरू…यो अनेक किसिमको नोटिफिकेसन, अलर्टहरू चाहिँ लिनु की नलिनू ? भनेर प्रश्न गर्छिन् । ‘सबै किसिमका अलर्ट सेवाहरू लिनुपर्छ । त्यसले तपाईंको खातामा हुने कुनै पनि किसिमको गतिविधिको सूचना तुरुन्तै दिन्छ,’ गुडीयाहरूले जवाफ दिन्छन् । ‘आफ्नो बैंकको स्टेटमेन्ट समय समयमा चेक गरिरहनु पर्छ र आफ्नो बैंक अकाउन्ट, पासवर्ड, पीन कोड, सीभिसी, ओटिपी, एमपीन, ट्रान्जिक्सन पीन, कसैलाई कहिल्यै कुनै पनि माध्यमबाट दिनु हुँदैन । चाहे त्यसले बैंकको कर्मचारी नै हुँ भनेर फोन किन नगरोस् । अनलाइन बैंकिङका लागि बलियो पासवर्डको प्रयोग गर्नु पर्छ । र, बेला बेलामा परिवर्तन गरिरहनुपर्छ । यस्तो पासवर्ड कुनै पनि ब्राउजर इत्यादिमा सेभ गरेर राख्नु हुँदैन । सकेसम्म सार्वजनिक वाईफाईबाट मोबाइल बैंकिङ वा अनलाइन बैंकिङको प्रयोग गर्नु हुँदैन । यदि गरिहालेमा लगवाइट वा साइनआउट भए नभएको चेक गर्नु पर्छ । साथै, आफ्नो मोबाइल बैंकिङ एपलाई सधैं अप टु डेट राख्ने र कुनै पनि शंकास्पद गतिविधि देखिएमा आफ्नो बैंकलाई खबर गरिहाल्नु पर्छ । र, एटीएम कार्ड हराएको खण्डमा तुरुन्तै बैंकमा सम्पर्क गरी कार्ड ब्लक गर्न लगाउनु पर्छ । यी कुरा पालना गर्याे भने आफ्नो कारोबार सजिलो तरिकाले सुरक्षितसँग गर्न सकिन्छ नी । यो भन्ने बित्तिकै उनी निद्राबाट ब्युझिन्छिन् । यताउती हेर्छिन आफैं सबै कुरा सपनामा देखेकी हुन्छिन् । बैंकका कर्मचारीहरूले कहिले पनि कुनै पनि माध्यमबाट ओटीपी, ट्रान्जेक्सन पीन, लगायत खातावालाको ब्यक्तिगत बैंकिङ विवरण माग्दैनन् । यदि कसैले माग्छन् भने त्यो सरासर ठगी हो भनेर बुझ्नु पर्छ । भीडीयाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।