विकासन्युज

सरकारले भीपीएन पनि बन्द गर्ने, समितिले अध्ययन गर्दै

काठमाडौं । सरकारको निर्णयमा टिकटक सेवा बन्द गराएको नेपाल दूरसञ्चार प्राधिकरणले भीपीएन समेत बन्द गर्ने तयारी गरेको छ । सरकारको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गराउनको लागि प्राधिकरणले भीपीएन सेवा समेत बन्द तयारी गरेको हाे । सरकारको निर्णय कार्यान्वयन भए/नभएको विषयमा अध्ययन गर्नको लागि प्राधिकरणले शुक्रबार निर्देशक बिजयकुमार रायको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ । निर्देशक रायकाअनुसार सो समितिले अहिले टिकटक पूर्ण रुपमा प्रतिबन्ध भए/नभएको अवस्थालाई अध्ययन गरिरहेको छ । सो समितिले आगामी बिहीबारसम्म अनुसन्धानको काम गरेर प्राधिकरणलाई प्रतिवेदन बुझाउने उनले बताएका छन् । समितिले टिकटक पूर्ण रुपमा बन्द भएन/भएको र बन्द गर्नका लागि आवश्यक चाल्न सकिने कदमका बारेमा प्रतिवेदनमा सुझाव उल्लेख गर्ने निर्देशक रायले बताए । ‘भीपीएन सामान्यतया प्रयोग गर्न नहुने एप हो, त्यसले पनि जोखिम निम्त्याउँछ’, उनले भने, ‘भिपिएन प्रयोगको कोणबाट पनि हामीले हेरिरहेका छौं, टीकटक कुनै पनि एपबाट चल्नु भएन भन्ने हो ।’ प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले भीपीएन पनि बन्द गर्न सकिने बताए । उनले नेपालमा कुन-कुन भीपीएन बढी प्रयोग भइरहेको छ भन्ने विषयमा प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाउने बताए । ‘भीपीएन धेरै चलेका छन्, नेपालमा कुन-कुन भीपीएन धेरै चलेका छन्, सो विषयमा अध्ययन गर्नकै लागि यो प्राविधिक टोली गठन भएको हो, त्यसको प्रतिवेदनका आधारमा काम गर्ने हो’, उनले भने । उनले बढी चलेका भीपीएनहरूलाई आधार बनाएर प्राधिकरणले बन्द गर्न सक्ने बताएका छन् ।

नारायणी नदीमा मोटरबोट चढ्नेको भीड, कति लाग्छ शुल्क ?

भरतपुर । नारायणी नदी किनारमा मोटर बोट चढेर मनोरञ्जन लिन आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दसैँ तिहार र छठपर्वका समयमा यहाँ पर्यटकको भीड नै लागेको थियो । नदी किनारमा ‘रिभरबीच मोडल’को संरचना निर्माण गरिएपछि यहाँ घुम्न आउने र मोटरबोट चढ्नेको सङ्ख्या बढेको भरतपुर महानगरपालिका–१ का वडा सदस्य मनोज घिमिरेले जानकारी दिए। उनले महानगरपालिकाले नदी किनार क्षेत्रलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए। विसं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट अहिले साना ठूला गरी ३२ वटा दर्ता भएर सञ्चालनमा आएका छन् । मोटरबोट कम्पनीले विभिन्न ‘प्याकेज’मा सेवा दिइरहेका छन् । नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात उद्यान र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका छन् । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति रु दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति एक हजार पाँच सयसम्म तोकिएको छ । त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ । नारायणीमा ४० एचपीको इञ्जिनदेखि दुईसय एचपीको इञ्जिनसम्मका बोट रहेको मोटरबोट सञ्चालक समितिका अध्यक्ष अशेष मल्लले जानकारी दिए । विसं २०७२ मा कालीखोलादेखि गोलाघाटसम्म बोटिङ सञ्चालन गर्न नारायणी किनारको अध्ययन गरिएको थियो । कालीखोलादेखि सानो गढीसम्मका लागि बोटिङ सञ्चालन गर्न आफूहरुले अनुमति पाएको व्यवसायी विजयचन्द्र अधिकारीले बताए । विसं २०७५ बाट आफ्नो कम्पनीले नारायणीमा बोट सञ्चालन गर्दै आएको बताउँदै उनले भने, ‘सुरुवाती चरणमा कोरोनाका कारण व्यवसाय राम्रो नभए पनि गत वर्ष र यस वर्ष मोटरबोट चढ्ने पर्यटक बढेका छन् ।’ चाडपर्वको समयमा नारायणीमा दैनिक पाँच हजार जनासम्मले बोटिङ गर्ने गरेको उनले जानकारी दिए । उनले बिदाको दिनमा घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको बताए । नारायणी नदी नेपालको मध्यभागमा पर्ने भएकोले यहाँ पछिल्लो समय पर्यटकको आगमन क्रमिक रुपमा बढ्दै गएको व्यवसायी गोविन्द श्रेष्ठले जानकारी दिए । उनले पर्यटकको घुम्ने समय बढाउन थप प्याकेज र सुविधा ल्याउनुपर्ने बताए । पहिलो पटक नारायणी किनारमा बोटिङ गर्दा निकै रमाइलो भए पनि समय निकै कम भएको हेटौँडाबाट आएका विष्णु कालाखेतीले बताए । उनले  परिवारसँग आउँदा प्याकेजको व्यवस्था र मोटरबोटका लागि तिरेको शुल्क अनुसार समय बढाउनुपर्ने बताए ।  पहिले धेरै पटक बोटिङ गरे पनि यो पटक साथीहरुसँग बोटिङ गर्दा निकै रमाइलो भएको भरतपुरकी शान्ता खत्रीले बताए । उनले नारायणीमा बोटिङ गर्दा निकै रमाइलो हुने गरेको अनुभव सुनाए । नदी किनारमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक यहाँ जलविहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नारायणी किनारको दृश्यसँगै नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् । रासस

खरायोपालनबाट मनग्य आम्दानी गर्दै जुम्लाका किसान

जुम्ला । यहाँका महिला  पछिल्लो समयमा खरायो पालनमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका करिब एक सय ८० घरधुरीका महिला खरायो पालनमा लागेका छन् । स्थानीय मन्न बुढाले खरायोबाट रारा गाउँका बासिन्दाले मनग्ये आम्दानी गर्ने गरेको बताए । सिङ्गो गाउँका महिला आत्मनिर्भर बन्नका लागि सीपमूलक तालिमदेखि विभिन्न पेश व्यावसायिकता लागेका छन् । सबैभन्दा सहज र राम्रो आम्दानीको माध्यम भनेको खरायो पालन हो । स्थानीय सरकारबाट दिएको सीपमूलक तालिमबाट व्यवसायी बन्न सहज भएको छ । प्रती खरायो पाँच सय रुपैयाँमा बिक्री हुने गरेको रारा गाउँका खरायो पालक किसान मुना रावतको भनाइ छ । तिलाका नौ वटै वडाका महिलालाई दिगोपन तालिम सञ्चालनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी आयआर्जनका तालिम सञ्चालन गरिने तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् । यहाँको चन्दननाथ नगरपालिका–८ को रोकायाबाडा गाउँ खरायो पालनका लागि प्रख्यात मानिन्छ । यहाँका किसानले खरायोको ऊनबाट टोपी उत्पादन गरेर बिक्री वितरण गर्छन् । उक्त टोपी रोकायाबाडाको पहिचान बनेको छ । सो गाउँलाई खरायोको गाउँ भनेर पनि चिन्छन् । हरेक घरमा खरायो पालिएको छ । खरायोको उनबाट टोपी बुन्ने काम पनि हुने गरेको छ । सो गाउँका ३७ वर्षीय विष्णु रोकायाले खरायो पाल्न थालेको २७ वर्ष बित्यो । अहिले ६० वटा खरायो पालेका छन् । बजार लगेर तीन हजार रुपैयाँमा बिक्री हुने गरेको छ । रोकाया गाउँमै एक नमूना खरायो पालक किसान हुन् । विष्णुको आम्दानीको स्रोत नै खरायोको टोपी हो । एक महिनामा आठ वटा टोपी तयार हुने गरेको छ । यसबाट महिनामा न्यूनतम २५ हजार रुपैयाँ आम्दानी हुने गरेको खरायो पालक किसान रोकायाले बताए । गाउँमा हुने शुभकार्यदेखि सदरमुकाम खलङ्गामा हुने बिदाइ तथा सम्मान कार्यक्रममा खरायोको टोपीको प्रयोग भइरहेको छ । अतिथिका रुपमा जुम्ला पुग्ने सेनाका उच्च अधिकारीदेखि सरकारी कर्मचारीदेखि ठूला व्यापारीलाई खरायोको टोपीले स्वागत गरिन्छ । जिल्लामा बुनेको खरायोको टोपी देशका उच्च तहका राजनीतिक दलका नेताले समेत लगाएको यहाँका खरायो पालक किसान बताउँछन् । प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ । टोपीका लागि कालो र सेतो ऊन भएको खरायो पालिन्छ । खरायो पालनमा लागेपछि किसानको प्रगति भइरहेको छ । खरायोको टोपी बेचेर पाँच लाख बचत गरेको किसान विष्णु रोकायाले जानकारी दिए । खरायोको टोपी आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा पर्ने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिए । एउटा खरायोको टोपीको मूल्य रु तीन हजारदेखि पाँच हजारसम्म रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारीले जनाएको छ । खरायो टोपीको माग सबैतिर छ, मागअनुसार पठाउन सकिएको छैन । खरायोको टोपी जुम्ली किसानको पहिचान बनिसकेको छ । सबैभन्दा बढी सुर्खेत, नेपालगञ्ज, काठमाडौँमा खरायोको टोपीको माग हुने गरेको रारा अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाको भनाइ छ ।  रासस

हराएका ४० लाख बराबरका सामान प्रहरीद्वारा हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारीसाधनमा छुटेका ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । साउनदेखि हालसम्म एक सय ३३ जनाले गाडीमा सामान हराएको भन्दै निवेदन दिएका थिए । प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार निवेदनका आधारमा ९९ जनाको धनमाल खोजी गरी सम्बन्धितलाई बुझाइएको छ । आफ्नो धनमालको सुरक्षा गर्न र सवारी साधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन अनुरोध गरेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले सवारी साधनमा छुटेको धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको छ । पछिल्लो पटक भने हिजो मात्रै काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा२ज ३४५३ नम्बरको ट्याक्सीमा करिब सात तोला बराबरको सुन र चार तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी सङ्गीता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेका थिए । प्राप्त खबर तथा लिखित निवेदनको आधारमा ट्राफिक प्रहरीले सिसीटिभी क्यामेराको सहायतामा खोजी गरिरहेको समयमा ट्याक्सी चालक रोशन वयलकोटी स्वयं सुनका गहना बुझाउन ट्राफिक प्रहरी वृत्त गौशालामा पुगे। त्यसपछि प्रहरीले उक्त सामान धनीलाई बुझाएको थियो ।

बर्दियाका बरुण घिमिरेको हत्यामा संलग्न थप १ जना पक्राउ

काठमाडौं । बर्दिया गुलरियाका बरुण घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका ५ स्थित सुहेलवा गाउँमा २० वर्षीय वरुण घिमिरेलाई खुडा प्रयोग गरेर हत्या गर्ने ८ जना पक्राउ परेका छन् । २ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले पक्राउ पर्नेमा गुलरिया नगरपालिका-६  का सुरेश भन्ने सुयस थापा रहेको जानकारी दिए । गुलरिया नगरपालिका-५ का २० वर्षीय बरुणलाई एक समूहले लक्ष्मी पुजाको मध्यरातमा धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएको थियो । उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।  

ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल

काठमाडौं । ज्योति विकास बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी कपिल ढकालले पाएका छन् । बैंक सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । साथै, सञ्चालक समितिले बैंकका सीईओ श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गरेको छ । अर्काे व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी ढकाललाई दिईएको कम्पनी सचिव बलदेव थापाले जानकारी दिए ।

सिंहदरबारकै कर्मचारी भन्छन्- यो देश कहिल्यै बन्दैन

काठमाडौं । सिंहदरबार देशको प्रमुख शासकीय र प्रशासनिक केन्द्र, अर्थात् राज्य सञ्चालनको केन्द्र हो । सिंहदरबारले अपनाउने सही वा गलत क्रियाकलाप, लिने प्रवृत्ति र दिने सन्देशले पूरै देशलाई प्रभाव पार्छ । सिंहदरबारमा राजनीतिक तहको नेतृत्व छ र सँगै ब्युरोक्रेसी (कर्मचारीतन्त्र) को नेतृत्व पनि छ । खासमा कर्मचारीतन्त्र भनेको स्थायी सरकार हो । हामीले बुझेकै छौं, देश कस्तो बनाउने भन्ने विषयमा दुवै क्षेत्रको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । सिंहदरबारमा बन्ने नीति नियमले सिंगो देश अगाडि बढ्छ । जस्तोनीति अघि सार्यो सिंगो राज्य संयन्त्रहले सोही नीतिलाई आत्मसात् गर्दै अघि बढ्छन् । त्यसैले पनि हरेकको नजर सिंहदरबारमा पर्छ । ‘हेर भाइ, मलाई त सिंहदरबारको हावा पनि भ्रष्ट छ जस्तो लाग्छ,’ धेरैबेरको गफगाफपछि छुट्टिने बेला सिंहदरबारको एउटा मन्त्रालयमा कार्यरत एकजना सहसचिवले पंक्तिकारसँग भने । दुई दशकभन्दा बढी समय सार्वजनिक प्रशासन क्षेत्रमा बिताएका ती सहसचिवको अनुभवमा ‘राम्रो काम गर्न सिंहदरबारमा वातावरण नै छैन ।’ उनले लामो समयदेखि सिंहदरबारमा बसेर हेर्दा धेरै नेता र कर्मचारीहरूले देशमा भविष्य देखेका छैनन् । ती सहसचिवसँगको संवादमा उनले काम गर्ने मन्त्रालयअन्तर्गतको कुनै कार्यालयले गरेको नीतिगत भ्रष्टाचारको विषय थाहा भयाे ।  पंक्तिकारका लागि त्यो विषय समाचारको मसला बन्यो । र, मन्त्रालयबाट बाहिरिए । त्यसपछि पंक्तिकार नजिकैको अर्को मन्त्रालयको लेखा शाखामा प्रवेश गरे । त्यहाँ दुई उपसचिवहरू सँगै गफिदै थिए । सिंहदरबारमा प्रत्यक्ष सेवाग्राहीको त्यति सम्बन्ध नहुँदा सामान्यतया भीडभाड कम नै हुन्छ । सिंहदरबारको दैनिकी चलाउनुमा मात्रै कर्मचारीलाई सायद काम पुग्दैन । त्यसैले कर्मचारी पनि फुर्सदिला देखिन्छन् । लेखा शाखाका दुई उपसचिवहरू पनि फुर्सदमै गफिइरहेका थिए । अचानक पंक्तिकारकाे प्रवेशले उनीहरूको प्रसङ्ग बदलियो, अनि देश र अर्थतन्त्रमा गएर जोडियो । ‘होइन तपाईं त पत्रकार, देशको अवस्था के छ ? बर्बाद भो नि !’ तीमध्ये एक सहसचिवले भने, ‘अब सरकारले कर्मचारीलाई तलब पनि खुवाउन सक्दैन रे !’ अर्का उपसचिवले चाहिँ देश असफल नै भएको तर्क सुनाए । अब आफूहरूले नै केही समयपछि तलब खान नपाउने उनको भनाइ थियो । ‘अहिले बजेट बनाउँदा आन्तरिक र वाह्य ऋणको किस्ता नै छुटाए रे, अब केही वर्षपछि राज्यको आम्दानीले ऋणको किस्ता बुझाउनसमेत नसक्ने अवस्था सिर्जना हुँदैछ रे !’, लेखाका ती उपसचिवले भने । तीमध्ये एक उपसचिवको जागिर अवधि १० वर्षजति र अर्काको पाँच वर्ष जति छ । तर, उनीहरूको भनाइअनुसार उनीहरू आफ्नो जागिरे जीवनबाट खुसी छैनन् भन्ने भाव प्रष्टै बुझिन्थ्यो । हुन त खर्चमा हुँदै गएको वृद्धि र नयाँ आवश्यकताहरूले हुनसक्छ, सिंहदरबारका कर्मचारीको पेसाप्रति भन्दा अन्य विषयमा ध्यान केन्द्रित भएको देखिन्छ । आम्दानीको दायरा बढाउन कर्मचारीले सेयर बजारमा लगानी गर्ने गरेका हुन्छन् । सरकारको कामका लागि टेबुलमा बसेका कर्मचारीको गफ भने प्रायः सेयर बजारकै विषयमा भएको सुन्न पाइन्छ । यतिमात्र होइन, प्रायः को कम्प्युटर वा ल्यापटपमा एउटा ब्राउजरमा स्टक मार्केट खुलिरहेको हुन्छ । यसले पनि कर्मचारीमा थप तनाव बढाइरहेको प्रष्ट संकेत गर्छ । अघि कुराकानी भएका सहसचिव ले भनेका थिए, ‘काममा मात्रै ध्यान दिन मिल्ने गरी सरकारले पारिश्रमिकको व्यवस्था गर्नुप¥यो नि, अनि पो नीति बनाउने तहमा भएको मान्छेले अन्यत्र ध्यान दिँदैन ।’ सबै कर्मचारीको सोच खराब नभएको लेखाका उपसचिव …….ले टिप्पणी गरे । नक्कली भुटानी प्रकरणदेखि ललिता निवास प्रकरणसम्म उच्च तहसम्मका कर्मचारी जोडिएपछि अचेल सिंहदरबारका कर्मचारीमा पनि निर्णय गर्ने विषयमा डर पैदा भएको उनीहरूको अनुभव छ । निजामती कर्मचारीहरू कतिपय समय पुगेर योग्यताले बढुवा हुन्छन् भने कतिपय माथिल्लो तहका लागि प्रतिस्पर्धा गरेर नाम निकाल्ने गर्छन् । पंक्तिकार अर्को नजिकैको मन्त्रालयमा प्रशासनतर्फका उपसचिवमा नाम निकालेका ……को कार्यकक्षमा प्रवेश गरे । त्यहाँ पनि फुर्सदिला थुप्रै कर्मचारी गफिइरहेका थिए । सामान्यतया जागिरमा प्रवेश गर्दा कामप्रतिको हुटहुटी वातावरणले गर्दा नै परिवर्तन हुने गरेको भर्खरै उपसचिवमा नाम निकालेका ……..ले अनुभव सुनाए । ‘यहाँ प्रणालीमा रहेर काम गर्ने भन्ने अवस्था नै छैन, जागिरमा प्रवेश गर्दा नयाँ ढंगले काम गरौं भन्ने हुन्छ, जोसजाँगर हुन्छ’, उनले भने, ‘मन्त्रीले भनेको गर्नुप¥यो, सचिवले भनेको गर्नुप¥यो, सिस्टम एकातिर हुन्छ, काम अर्कातिर हुन्छ ।’ कर्मचारीतन्त्रमा नै लामो समय बिताएकाहरूबीच मात्रै गरिने प्रतिस्पर्धाले कर्मचारीको उच्च तहमा नयाँ प्रकारको जनशक्ति आउन नसकेको उनले बताए । उनले अन्य क्षेत्रमा भएका योग्य मानिसलाई पनि उपसचिव र सहसचिवजस्तो पदमा प्रतिस्पर्धा गर्न दिएमात्रै ब्युरोक्रेसीमा नयाँ परिस्थिति पैदा हुन सक्ने बताए । सचिव र सहसचिव तहका झन्डै ९० प्रतिशत कर्मचारीका छोराछोरी पढ्ने नाममा विदेश पुगेका छन् । उनीहरूलाई आफ्ना छोराछोरी विदेश पढ्न पठाउँदा ढुक्कको महसुस हुने गर्छ । चियागफमा कहिलेकाहीँ निस्किने कुरामा कर्मचारीले देशमा आफ्ना बालबालिका राख्दा असुरक्षित हुने महसुस गरेको ती उपसचिवले सुनाए । ‘एक दिन एकजना साथीले आफ्नो छोराको विदेशको भिसा लागेको कुरा सुनाउँदै भन्नुभयो, अब त ढुक्क भयो, अब गरेर खान्छ,’ नवनियुक्त ती उपसचिवले सुनाए । सिंहदरबारका कर्मचारीमा किन प्रशासनतन्त्र सुधार गर्ने सोच विकास भएको देखिँदैन, केवल निराशामात्रै किन भेटिन्छ भन्ने सन्दर्भमा ती उपसचिवले भने, ‘सर, मान्छेहरू नै देशमा नरहलान् जस्तो भइसक्यो, सबै नरहेपछि सुधार नै नचाहिएलाजस्तो भइसक्यो ।’ सिंहदरबारमा विद्यमान समस्या अर्थ मन्त्रालयबाट धेरै भएको कर्मचारीहरूको भनाइ सुन्न पाइन्छ । ‘मन्त्रालयहरूमा कतिपय सुधारका निम्ति गर्नुपर्ने काम र नीतिगत व्यवस्थाका लागि अर्थको राय लिनुपर्ने अवस्था छ, उसले सधैं सबै निर्णयमा रोक्ने काम गर्छ, मेरो २५ वर्षको जागिरको अनुभव भनेको समस्या अर्थ मन्त्रालय हो,’ उनी भन्छन् । अर्थ मन्त्रालयका कर्मचारीको रवाफिलो जीवनशैलीमाथि धेरै कर्मचारीले टिप्पणी गरेको सुन्न पाइन्छ । त्यस मन्त्रालयका सहसचिवले खुलेरै भने, ‘त्यहाँका सहसचिवले चढ्नेजस्तो गाडी सबै मन्त्रालयका सहसचिवले चढ्न पाउँछन् ? त्यहाँका कर्मचारीले खाने खाजा सबै मन्त्रालयका कर्मचारीले खान पाउँछन् ? देश सुधार गर्ने हो भने अर्थ मन्त्रालयबाट सुरु गर्नुपर्छ ।’

सोल्टी होटलको बम्पर लाभांश, नगद मात्रै २६.५८ प्रतिशत बाँड्ने, बोनस कति ?

काठमाडौं । सोल्टी होटलले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २६.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हाल चुक्ता पुँजी ८८ करोड ४७ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ४९औँ वार्षिक साधारणसभा पुस २६ गते बिहान साढे १० बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा डाकेको छ । साथै, लाभांश तथा साधारणसभा प्रयोजनार्थ पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ४ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।