नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद दोब्बर
काठमाडौं । नेपाल एसबिआई बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी
जाजरकोट । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो । रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पुर्याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको छ । ती जिल्लाका केही स्थानीय तहका विद्यालयमा मङ्गलबारदेखि नै पठनपाठन सुरु हुने भएको छ भने केही स्थानीय तहका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटको नलगाड नगरपालिकामा पनि मङ्गलबारदेखि नै पठनपाठन सुरु हुने भएको छ । जाजरकोटको उक्त नगरपालिका भूकम्पबाट अधिक प्रभावित क्षेत्र हो । नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलवीर विकका अनुसार भूकम्पबाट ५४ विद्यालयमा क्षति पुगेको छ । जसमा १२८ कक्षाकोठा पूर्णरूपमा क्षति पुगेको छ । नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले आंशिकरूपमा क्षति भएका विद्यालयमा भोलिदेखि नै पठनपाठन थालिने जानकारी दिए । विद्यालयका प्रधानाध्यापकले समेत विद्यालय सञ्चालन हुने भएकाले सबै शिक्षक विद्यालयमा आउन आग्रह गर्दै सूचनासमेत प्रकाशित गरेका छन् । अस्थायी टेन्ट निर्माण भइसकेकाले निरन्तर पढाइ हुने भन्दै पञ्च भयार माविका प्रधानाध्यापक नरेन्द्र केसीले विद्यालयमा आउन आग्रह गरे । ‘क्षति नभएका विद्यालयमा भोलिदेखि नै पठनपाठन हुन्छ, पूर्णरूपमा क्षति भएको विद्यालयमा पनि अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ, केही दिन चाहिँ समय लाग्ला । बनिसकेपछि पढाइ हुन्छ’, उनले भने । सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञबहादुर खत्रीले भूकम्पबाट प्रभावित सबै विद्यालयमा पठनपाठन थाल्न पहल गरिरहेको बताए । उनले भने, ‘क्षति नभएका विद्यालयमा भोलिदेखि नै पढाइ हुन्छ, क्षति भएकोमा पनि अस्थायी टहरा बनाएर भए पनि पढाइ थाल्न भनेका छौँ ।’ प्रदेश सरकारबाट सबै मिल्ने पहल र सहयोग हुने उनको भनाइ छ । अहिले जाजरकोटको छेडागाड, कुशेमा पाँचतारा युवा संरक्षण मञ्चले विद्यालयमा अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएको छ भने नलगाड, भेरी र बारेकोटमा युनिसेफले अस्थायी संरचना निर्माणको जिम्मेवारी लिएको छ । जिम्मेवारी पाएसँगै निर्माणका कामसमेत सुरु गरिएको छ । रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले नगरपालिकाभित्रको भूकम्प प्रभावित विद्यालयमा भोलिदेखि नै पठनपाठन थाल्ने जानकारी दिए । उनले भने, ‘जहाँ आंशिक क्षति पुगेको छ, त्यहाँको सबै अवस्था बुझी पठनपाठन मङ्गलबारदेखि नै हुन्छ, पूर्णरूपमा क्षति पुगेको ठाउँमा भने हामीले अस्थायी सिकाइ केन्द्र बनाएर तयारी अवस्थामा राखेका छौँ । त्यसैले पठनपाठन रोकिँदैन ।’ उनका अनुसार भूकम्पबाट नगरपालिकाभित्रका ६४ विद्यालयमा क्षति पु¥याएको थियो । जसमा ५२ विद्यालयमा पूर्णरुपमा क्षति पुगेको छ । पठनपाठन थाल्न एक सय ३९ अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । ‘अझै पनि प्रदेश सरकार, विभिन्न सङ्घसंस्थाले सहयोग गर्दै आएका छन्, अझै थप अस्थायी सिकाइ केन्द्र बनाएर सहजरूपमै पठनपाठन थाल्नेछौँ, किताबको व्यवस्था पनि गर्दै छौँ’, उनले भने । त्रासमा विद्यार्थी विद्यालय खोल्नका लागि पहल सुरु गरिए पनि विद्यार्थी भने त्रासमा रहेका छन् । भूकम्पबाट मनोबल कमजोर भएका विद्यार्थी घरदेखि विद्यालयसम्म भत्किएकाले विद्यालयमा गएर पढ्न मानसिकरुपमा तयार भएको पाइँदैन । भूकम्पको त्रासले गर्दा बालबालिका राति सुतेको समयमा कराउने, भूकम्प आयो भन्नेसम्मका गतिविधि देखाउन थालेको नलगाड नगरपालिका–१ कल्पतकी भावना विकले बताइन् । त्रिपालको बसाईका कारण बालबालिका बिरामी भइरहेको उनको भनाइ छ । केही विद्यार्थीको किताबसमेत घरभित्र पुरिएको अवस्थामा रहेको छ । ‘किताबविहीन अवस्था कसरी विद्यालय जानु ?’ जुनी कम्युन माध्यमिक विद्यालय नलगाड–५ का भावना सिंहले भनिन् । सबै विद्यार्थी त्रिपालमा बसेर पढ्नका लागि चुनौती हुने देखिएको छ । भूकम्प प्रभावित विद्यालयमा मनोपरामर्श सेवा सञ्चालन गर्नुपर्ने देखिएको छ । भूकम्पको परकम्पन आउन नछाडेकाले पनि अर्को समस्या भएको हो । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले पनि सक्रिया शैक्षिक क्रियाकलाप सञ्चालन गर्न गाह्रो हुने देखिएको छ । कात्तिकदेखि चैतसम्म भारी मात्रामा हावाहुरी चल्ने मौसम भएकाले निर्माण गरिएका त्रिपाल कसरी सुरक्षित गर्ने भन्ने चुनौतीसमेत छ । रासस
सिप्रदीले भूकम्प पीडितलाई गर्यो ५५ लाखको राहत वितरण
काठमाडौं । सिप्रदीले जाजरकोट र रूकुमपश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ । सिप्रदीयन सहायता संस्था, टाटाट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त पहलमा यही कार्तिक २६ गते प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई रू ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको हो । तिहारमालक्ष्मीपुजाको दिन संस्थाको प्रतिनिधित्वगर्दै सिप्रदीका७जनाकर्मचारीहरुले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरु त्रिपाल, म्याट्रेस, खाध्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपीलगायतकाअन्य सामाग्रीहरुको प्याकेज बनाएर सम्बन्धितकार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाका अनुसार हस्तान्तरण गरेको सामाग्रीहरुबाटझन्डै १,२०० घर परिवारका ४,८०० जनाभूकम्पपिडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् । सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालका अनुसार भूकम्पका कारणआफ्नो घर गुमाएका र बासको बैकल्पिक व्यवस्थापन भएका पीडितहरुलाई सिप्रदीयन सहायता संस्था,टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्तप्रयासमा स्थानीय प्रशासनसंग समन्वय गर्दै राहत वितरण गरिएको हो । अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाध्यान्न र न्यानो कपडाहरु हस्तान्तरण गरिएको र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रुपमा सहयोग गर्ने उपाध्यक्ष दाहालले प्रतिबद्धता जनाए । रुकुम आठविसकोटका नगर प्रमुख रबि केसीले जाजरकोट केन्द्रबिन्दु भएर विनासकारी भुकम्पप्रभावित यस नगरपालिकाजनताको लागिसिप्रदी सहायता संस्थाले गरेको खाधान्न, जिन्सी र औषधिलगायतका सामग्रीको सहयोग प्रति आभार व्यक्त गरेका छन् । उनले यो सहयोगले यस प्रकोपले दुखमा परेका नगरबासीलाई राहत मिलेको बताए । विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्टसँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को शुरूवात गरेको थियो । सो परियोजना अन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रविन्दु पछि सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्यचौकीको पुनःर्निमार्ण गरी हस्तान्तरण गरेको थियो ।
टिकटक प्रतिबन्धबिरुद्धको रिटमा आजदेखि सुनुवाई
काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबिरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाई प्रारम्भ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाई हुन लागेको हो । टिकटक प्रतिबन्धबिरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।
हल्का हिमपातको सम्भवाना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अहिले काठमाडौंको वायुको तापक्रम १७ डिग्री सेन्डीग्रेड रहेको तथा पारदर्शिता छ किलोमिटर भन्दा धेरै रहेको मौसमपूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा आंशिक बदली भइ अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेन्डीग्रेडको बिचमा रहने मौसमविद् पुडासैनीले बताए । यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
अर्थमन्त्रालय र राष्ट्र बैंकको नेतृत्वलाई साथमा राखेर प्रधानमन्त्रीले अर्थतन्त्रको विषयमा छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको विषयमा छलफलको आयोजना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई अपराह्न ४ बजे छलफलमा बोलाएको निजी सचिवालयले जनाएको छ । छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने जनाइएको छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा हुने निजी सचिवालयले जनाएको छ ।
पश्चिम बंगालमा भारतकै ठूलो व्यापार सम्मेलन हुने
एजेन्सी । भारत पश्चिम बङ्गालमा केही दिनभित्रै देशकै ठूलो व्यापार सम्मेलन हुने भएको छ । जसमा देशका प्रमुख व्यवसायीसँगै विदेशी व्यवसायीको पनि सहभागिता हुनेछ । प्रदेश सरकारका एक वरिष्ठ अधिकारीका अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीसहित आईटीसी, अम्बुजा नेओटिया र हिरानन्दानी समूहजस्ता कम्पनीहरूका शीर्ष उद्योगपतिहरू अर्को साता कोलकातामा हुने ‘बेङ्गाल ग्लोबल बिजनेस समिट’ (बीजीबीएस) मा सहभागी हुने सम्भावना छ । अधिकारीका अनुसार अडानी समूहका अध्यक्ष गौतम अडानी दुई दिने शिखर सम्मेलनमा सहभागी हुनेछन् वा छैनन् भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि, समूहका प्रतिनिधिहरूको उपस्थिति रहने छ । ती अधिकारीले भने, ‘मुकेश अम्बानी यस वर्षको बीजीबीएसमा सहभागी हुने सम्भावना छ। सञ्जीव गोयन्का, सञ्जीव पुरी, पूर्णेन्दु चट्टोपाध्याय, हर्षवर्द्धन नेओटिया र सज्जन जिन्दलजस्ता अन्य उद्योगपतिहरू उपस्थित हुनेछन् ।’ पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले सेप्टेम्बरमा स्पेन र दुबई भ्रमणका क्रममा धेरै उद्योगीहरूसँग भेटघाट गरेकी थिइन् । सूचनाअनुसार यस वर्ष बीजीबीएस २१ र २२ नोभेम्बरमा आयोजना हुँदैछ । सहरको अलिपुर क्षेत्रमा रहेको धनधान्य थिएटरमा समापन समारोह हुनेछ । योसँगै बेलायतले बीजीबीएसको सातौं संस्करणमा अहिलेसम्मकै ठूलो प्रतिनिधिमण्डल ल्याउने छ । बेलायती उप–उच्चायोगले कोलकाताको बीजीबीएसमा व्यवसाय तथा संस्थाहरूको ५५ सदस्यीय प्रतिनिधिमण्डल आउने जनाएको छ । भारतका लागि बेलायतका उच्चायुक्त एलेक्स एलिसले भने, ‘म बेङ्गाल ग्लोबल बिजनेस समिटमा बेलायतको सबैभन्दा ठूलो प्रतिनिधिमण्डलको नेतृत्व गर्न तत्पर छु। मलाई आशा छ कि शिखर सम्मेलनले बेलायती व्यवसाय विस्तार गर्न मद्दत गर्ने छ र बङ्गाली कम्पनीहरूले बेलायतमा आफ्नो उपस्थिति बढाउन सक्षम हुनेछन् ।’
राष्ट्रिय आर्थिक बहसका लागि महासङ्घद्वारा सुझाव माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सदस्यहरूसमक्ष विद्यमान आर्थिक सङ्कटका समाधानका लागि सुझाव माग गरेको छ । विद्यमान सङ्कट समाधानका उपायहरू खोज्ने क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृङ्खलाअन्तर्गत महासङ्घले सुझाव मागेको हो । महासङ्घको तेस्रो कार्यकारिणी बैठकले प्रस्ताव गरेअनुसार विद्यमान आर्थिक सङ्घटको समाधानका उपाय खोज्ने क्रममा गत असोज २५ गते सरोकारवाला सबै सम्मिलित राष्ट्रिय आर्थिक बहस सम्पन्न गरेको थियो । काठमाडौँमा सम्पन्न सो बैठकमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीले अध्यक्षता गर्ने गरी उच्चस्तरीय संयन्त्र गठनका लागि सरकारसमक्ष गरेका थिए । उक्त प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयन्त्र गठन गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए । सोही शृङ्खलाअन्तर्गत नेपाल सरकारले नै आर्थिक क्षेत्रका सरोकारवाला, सरकारी निकाय र निजी क्षेत्रको सहभागितामा अर्को बहसको तयारी थालेको छ । सो बहसका लागि देशमा विद्यमान व्यावसायिक अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदमका लागि महासङ्घले जिल्ला उद्योग वाणिज्य सङ्घसँग आवश्यक सुझाव र परामर्शका लागि सर्कुलर जारी गरेको महासङ्घले जनाएको छ । “महासङ्घको सुझावबमोजिम निजी क्षेत्रसमेतको सहभागितामा एक उच्चस्तरीय आर्थिक सुधार संयन्त्र निर्माण हुने प्रक्रियामा छ । यसबारे सर्वपक्षीय छलफल आयोजना गरी सुधार प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्रीको सार्वजनिक भनाइसमेत आएको सन्दर्भमा निजी क्षेत्र मैत्री आर्थिक नीति निर्माण र तत्कालको समस्या सम्बोधनका लागि महासङ्घले सुझाव प्रस्तुत गर्नेछ”, सो सर्कुलरमा भनिएको छ । महासङ्घले सर्कुलरमार्फत विद्यमान आर्थिक अवस्थाको सुधार र निजी क्षेत्रमैत्री दिगो आर्थिक विकासका लागि सबै महासङ्घ सदस्यलाई सल्लाह, सुझाव भए उपलब्ध गराउन अनुरोध गरेको हो ।