सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाकाे नाम सिफारिस
काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले न्यायाधीश सिफारिस गरेको हो । परिषदले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानून व्यवसायीलाई न्यायाधीशमा सिफारिस गरेको छ । सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान उच्च अदालतको न्याधीशबाट सिफारिस भएका छन् । त्यस्तै, कानून व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । ६ जनाको नाम सिफारिस गरेपछि पनि अझै एकजना न्यायाधीशको स्थान रिक्त रहेको छ । परिषदले प्रस्तावित गरेका व्यक्तिहरु संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन् । हाल सर्वोच्च अदालतमा २१ मध्ये ७ जना न्यायाधीश रिक्त रहेको अवस्था छ ।
जुत्तामा आचार्य लेखेपछि सीआईबीमा उजुरी
काठमाडौं । आचार्य बन्धु समाज नेपालले जुत्तामा आचार्य लेखिएको भन्दै कम्पनीलाई अनुसन्धान गरी कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा निवेदन दिएको छ । आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले सोमबार महाराजगञ्जस्थित सिआइबीको कार्यालयमा निवेदन दर्ता गराएका हुन्। केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले साइबर ब्यूरोमा अनुसन्धानका लागि पठाइने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गर्ने बताए। केही दिन अगाडिको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीविरुद्ध सिआइबीमा निवेदन दिने निर्णय गरेको थियो।
ईंटा उद्योगमा मन्दी, व्यवसायीहरू मानसिक तनावमा
झापा । आर्थिक मन्दीका कारण झापाका ईंटा उद्योग धराशयी भएका छन् । उद्योगीहरु कोभिड–१९ को महामारी खेपेलगत्तै वित्तीय सङ्कट थपिएकाले व्यवसायबाटै पलायन हुने अवस्था आएको बताउँछन् । झापा ईंटा उद्योग सङ्घका अध्यक्ष गुणराज थापा जिल्लाका २३ वटा इँटा उद्योगमध्ये आर्थिक मन्दीका कारण १६ वटा बन्द भएको र चलिरहेका उद्योगले समेत ७० प्रतिशत उत्पादन कटौती गरिसकेको बताउँछन् । जिल्लाको हल्दिबारी, बाह्रदशी, विर्तामोड, गौरादह, कमल, दमक, मेचीनगर र गौरीगञ्जमा इँटा उद्योगहरु सञ्चालनमा रहेका छन् । यहाँ उत्पादित इँटाले जिल्लाबाहिर इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ र सुनसरीसम्म बजार ओगटेको थियो । दमकको गरिमा टायल्स उद्योग र गौरादहको ए–वान ईंटा उद्योगका प्रोपाइटरसमेत रहेका थापा आर्थिक सुधारको कुनै गुञ्जायस भएन भने सबै इँटा उद्योग धराशयी हुने उल्लेख गर्छन् । झापा ईंटा उद्योग सङ्घले जनाएअनुसार जिल्लाका इँटा उद्योगहरुमा रु दुई सय ५० करोड लगानी रहेको छ । कोभिडको महामारी आउनुअघि यहाँका उद्योगहरुले वार्षिक रु तीन अर्ब ५२ करोड मूल्य बराबरको इँटा उत्पादन गर्दै आएका थिए । हाल वार्षिक उत्पादन घटेर रु १८ करोड ३७ लाखमा झरेको छ । ईंटा व्यवसायी महासङ्घ कोशीका वरिष्ठ उपाध्यक्ष सीताराम भट्टराई उत्पादन भएका इँटा बिक्री नहुने र बैंकको ब्याजको तनावले इँटा व्यवसायीहरु मानसिक तनावमा रहेको गुनासो गर्छन्। ‘एकातिर इँटा बिक्री नभएर तनाव छ, अर्कातिर बैंकले ब्याजमा ताकेता गरेको गर्यै गर्छ,’ उनी भन्छन्, ‘सबै उद्योगीहरु डिप्रेसनमा परिसके । इज्जतको सवाल छ, न बाटामा निस्किएर रुनु, न कराउनु भइसक्यो ।’ हरेक ईंटाभट्टामा दुई सयदेखि अढाइ सय जनासम्मले प्रत्यक्ष रोजगारी पाएका हुन्छन् । बन्द भएका उद्योगबाट सयौँले रोजगारी गुमाइसकेका छन् भने चलिरहेका थोरै उद्योगमा समेत आधाभन्दा धेरै कामदार तथा कर्मचारी कटौती भइसकेका छन् । उद्योग सङ्कटग्रस्त हुनुमा सरकारले पूँजीगत खर्चमा गरेको कटौती मुख्य कारण भएको उद्योगीहरु बताउँछन् । पूँजीगत खर्च कटौतीसँगै सरकारी विकास निर्माणका योजना ठप्प प्रायः भएका छन् । मन्दीका कारण निजी क्षेत्रमा समेत निर्माण कार्य ठप्प हुँदै गएको छ । सरकारले काम भइसकेका निर्माण योजनाहरुको भुक्तानी रोकेका कारणसमेत ठेकेदारहरुले इँटाभट्टा व्यवसायीको भुक्तानी रोकेका छन् । वार्षिक छ प्रतिशत सर्तमा लिएको ऋणको ब्याज अहिले १६ प्रतिशतसम्म बैंकहरुले असुलिरहेको झापा इँटा उद्योग सङ्घका अध्यक्ष थापाको गुनासो छ । सरकारले पूँजीगत खर्च बढाउनुपर्ने र पुरानो कर्जालाई पुनःर्कर्जामा परिणत गरेर पुरानै ब्याजदर लागू गर्न ईंटा व्यवसायीहरुले माग गरेका छन् । रासस
मेटलाईफको ग्राहकलाई बीमालेख पुनर्जागरण गर्ने अवसर
काठमाडौं । मेटलाइफ नेपालले बीमालेख पुनर्जागरण अभियान संचालनमा ल्याएको घोषणा गरेको छ । नोभेम्बर ७ मा सुरु भएको यस अभियान अवधिमा कम्पनीले व्यतित बीमालेखहरुमा लिइने विलम्ब शुल्कमा छुट दिने कम्पनीले जनाएको छ । यस अभियान अन्तर्गत, मेटलाइफले बीमा अवधिको निर्धारित मिति समाप्त भएको व्यतित जीवन बीमालेखहरुमा लागू हुने बिलम्ब शुल्कको १०० प्रतिशत छुट दिनेछ । हालै प्रचलनमा ल्याईएको मध्यावधि बृद्धि बीमा योजनाका बीमालेख धारकहरुका लागि यो अभियान लागु हुने छैन । मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन्, ‘यस अभियानले मेटलाइफको ग्राहकलाई व्यतित बीमालेख पुर्नजागरण गरी आफनो र आफनो परिवारलाई निरन्तर सुरक्षा कायम राख्न मद्दत गर्नेछ ।’ थप जानकारीका लागि, मेटलाइफको ग्राहक सेवा विभागलाई ९७७–१–५९७०१६६ मा सम्पर्क गर्न सकिन्छ वा नजिकैको मेटलाइफ कार्यालयहरूबाट समेत जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
पप्पु कन्ट्रक्सनका विवादास्पद व्यवसायी रौनियारलाई ओलीद्वारा खादा ओढाएर एमालेमा स्वागत
काठमाडौं । निर्माण क्षेत्रमा निकै विवादित बनेको पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार नेकपा (एमाले)मा प्रवेश गरेका छन् । रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा भएको कार्यक्रममा खादा माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सदस्य समेत रहेका रौनियारको पप्पु कन्ट्रक्सनले जिम्मेवारी लिएर गरेका ठूला आयोजनाहरुका काम विवादित रहँदै आएका छन् । ०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा) बाट पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदमा निर्वाचित भएका रौनियार पप्पु कन्ट्रक्सन विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी निलम्बित भएका थिए ।
बैंक मर्जरले मर्कामा परेका बैंकर्स
काठमाडौं । वर्षौंदेखि संघर्ष गर्यो । संघर्षले सफलता पनि हात लाग्यो । त्यही सफलताको स्वाद चाख्नै लाग्दा त्यो पदबाट बाहिरिनुको बाध्यता, पीडा र सकस कस्तो हुन्छ होला ? एउटा संस्थालाई सुरूवाती दिनदेखि हुर्कायो, सानो संस्थाबाट देशभर शाखा सञ्जाल फैलायो, काम गर्ने कर्मचारीहरूलाई दक्ष बनायो अनि तिनै सहकर्मी साथीहरूको साथ एक्कासी छोडेर जाँदा कसको मन नदुख्ला ? अहिले बैंकिङ क्षेत्रमै यो परिस्थिती सिर्जना भएको छ । वर्षौंदेखि मेहनत गरेर बैंकमा जागिर खायो । जागिरपछि पनि बैंकले दिएको एकपछि अर्को ‘टार्गेट मिट’ गर्नुपर्ने दबाब, त्यो सकसकाबीच बढुवा भएर माथिल्लो पदमा पुग्यो । तर, माथिल्लो पदमा पुगेको केही वर्षमै काम छोड्नु पर्ने बाध्यता अहिले बैंकिङ क्षेत्रमा व्याप्त छ । बैंक तथा वित्तीय संस्थाहरूको नियामक नेपाल राष्ट्र बैंकले मर्जरको नीतिअघि सारेसँगै वित्तीय क्षेत्रमा कार्यरत ठूलो जनशक्ति बेरोजगार बन्न पुग्यो । यो बिचमा धेरै बैंकरहरू विदेसिए । कतिले आफ्नै व्यवसाय सुरु गरे भने कति बेरोजगार नै बस्नु पर्ने बाध्यतामा छन् । ठूलो जनशक्ति मर्जरको मर्कामा परेको छ । दुई संस्था मर्जरपछि ठूलो संस्थाका कर्मचारीले सानो संस्थाका कर्मचारीलाई गर्ने व्यवहारले धेरैको मन दुख्छ । मर्जरकै चपेटामा परेर बैंकिङ छोडेका एक पूर्व बैंकरले नाम नराख्ने सर्तमा भने, ‘बाहिर देख्दा बैंकर भनेर चिन्छन्, भित्र काम गर्दाको पीडा सौतेनी व्यवहारझैं हुन्छ, ठूलो संस्थाले सानो संस्थाका कर्मचारीलाई गर्ने व्यवहार असह्य भए पनि काम गर्नै पर्ने बाध्यतामा धेरै बैंकर छन्,’ उनले प्रश्न गर्दै गुनासो गरे तर, ती बैंकरको पीडा कसले सुनिदिने ?’ ती बैंकरकोजस्तै अनुभव अहिले धेरै बैंकरले गरेका छन् । त्यस्तै व्यवहारले कतिपयका सम्बन्धहरू टुटेका छन्, मनहरू फाटेका छन् । तर, विवश भएर काम गर्नु पर्ने बाध्यतामा उनीहरू छन् । कतिपय बैंकर त्यो सकस र त्यो पीडा सहन नसकेर बिचमै काम छोडेर बाहिरिएका छन् भने कतिपय त्यो हेपाई सहेर काम गर्नु पर्ने बाध्यतामा छन् । कर्मचारी मात्रै होइन बैंकको उच्च तह अर्थात् प्रमुख कार्यकारी अधिृकत (सीईओ) भएर काम गर्दै गरेका व्यक्ति सोही पीडा सहन नसेर बाहिरिएका छन् । उनीहरू पनि मर्जरको मर्कामा परेका छन् । ठूलो संस्थामा कार्यरत कर्मचारीहरूको व्यवहारसँगै बोर्डको दबाब सहन नसकेर पद त्याग्दै घर फर्केका छन् । आज हामी ती बैंकर्स जो मर्जरपछि पद त्यागेर घर फर्के, उनीहरूको विषयमा चर्चा गर्दैछौं । रमेशराज अर्याल कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका रमेशराज अर्याल केही दिनअघि मात्रै बैंकबाट बिदा भए । उनले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै सीईओबाट राजीनामा दिएको बताए पनि भित्री कथा भने बेग्लै भएको बैंक स्रोतको भनाइ छ । भित्री कहानी जेजस्तो भए पनि उनको बहिर्गमन भने दुःखदायी र नमिठो बन्यो । तत्कालीन एनसीसी बैंकमा दुई कार्यकाल सीईओ भएर काम गरिसकेका उनी कुमारी बैंकसँग एनसीसी मर्जर भएपछि पनि उनी नै कुमारी बैंकको सीईओ नै बने । मर्जरपछि बनेको कुमारी बैंकमा अनुभवी बैंकर अर्यालको नेतृत्वले थप उचाइ हाँसिल गर्ने अपेक्षा धेरैको थियो । तर, त्यो अपेक्षा पुरा नहुँदै उनले बैंकबाट बाहिरिनु पर्यो । उनले एनसीसी बैंकमा तीन दशक लामो समयसम्म काम गरे । साढे तीन दशक बढी बैंकिङ अनुभव भएका उनले वि.स २०७२ देखि एनसीसी बैंकको नेतृत्व पनि गरे । तर, उनी मर्जरको चपेटामा परे । उनको नेतृत्वको कुमारी बैंकमा आन्तरिक कलह बढेपछि उनले बैंकबाट बिदा हुनु पर्यो । अहिले कुमारी बैंकको नेतृत्व रामचन्द्र खनालले गरिरहेका छन् । सुमन शर्मा बैंक बिग मर्जरको मर्कामा परेका अर्का एक अनुभवी बैंकर हुन सुमन शर्मा । नेपाली बैंकिङ क्षेत्रमा शर्माको नाम पनि अग्रणी रूपमा आउँछ । तर, उनलाई पनि बैंक मर्जरले बेरोजगार बनायो । वि.सं २०७७ माघमा तत्कालीन सनराइज बैंकको सीईओ बनेका उनी सनराइज बैंक लक्ष्मी बैंकसँग मर्ज भएपछि शर्मा बैंकबाट नै बाहिरिए । उनलाई बैंकले मर्जरपछि बन्ने लक्ष्मी सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिृकत बनाउने प्रस्ताव गरेपनि उनले सो प्रस्तावलाई अस्वीकार गर्दै बैंकबाट नै बिदा भए । करिब साढे तीन दशक बैंकिङ अनुभव भएका शर्माले माछापुच्छ्रे बैंकमा पनि सीईओ भएर काम गरे । तर, सनराइज बैंकको सीईओका लागि अफर आएपछि उनी २१ महिनामै पदबाट राजीनामा दिएर माछापुच्छ्रे बाट सनराइजको सीईओ बन्न पुगेका थिए । तर, कार्यकाल पुरा गर्न नपाउँदै उनले सनराइजमा पनि बिचमै हात धुनु पर्यो । उनले अब अध्ययन/अध्यापनमा व्यस्त हुने बताएका छन् । उनीसँग ग्लोबल आइएमई, नेपाल एसबिआई र एनएमबि बैंकमा पनि काम गरेको अनुभव छ । शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता समेत हुन् । श्रवणलाल मास्के बैंकर श्रवणलाल मास्केका लागि पनि बिग मर्जर फलामको चिउरा बन्यो । तत्कालीन बैंक अफ काठमाण्डूको सीईओ भएर काम गरिरहेका उनी सो बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि उनी वरिष्ठ डीसीईओ बने । तर विडम्बना, डीसीईओ बनेको ७ महिनामै उनी बैंकबाट बाहिरिए । उनले पनि आफ्नो स्वास्थ्य अवस्था कारण देखाउँदै राजीनामा दिए पनि ग्लोबल आइएमई बैंकमा आफ्नो भूमिका नदेखिएपछि बाहिरिएको बैंक स्रोतको दाबी छ । बैंकिङ क्षेत्रमा साढे तीन दशक समय बिताएका उनको बहिर्गमन पनि नमिठो बन्यो । मास्केले नबिल बैंकबाट बैंकिङ करिअर सुरु गरेका हुन् । उनले नबिल बैंकमा २१ वर्ष, लुम्बिनी बैंकमा १० वर्ष र बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक)मा ७ वर्ष काम गरेर बैंकिङबाट बाहिरिए । मास्केले बिकमसम्मको अध्ययन पुरा गरेका छन् । सुनिल पोखरेल तत्कालीन सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि सीईओको रूपमा काम गरिरहेका सुनिल पोखरेल नेपाली बैंकिङ क्षेत्रबाटै बाहिरिए । उनलाई हिमालयन बैंकको डीसीईओ बनाउने प्रस्ताव गरे पनि उनले त्यो प्रस्ताव अस्वीकार गर्दै बैंक छाडे । पछि सिभिल बैंकबाट हिमालयनमा जाने कर्मचारीमध्येबा सिनियर बने सचिनजंग रायमाझी । तर, रायमाझीका लागि पनि हिमालयन फापेन । उनी पनि केही महिनापछि हिमालयन बैंक छाड्न बाध्य भए । सिभिल बैंक छाडेपछि पोखरेल हाल पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंकको सीईओ भएर काम गरिरहेका छन् भने रायमाझी पनि पछि सोही बैंकमा काम गर्न गए । पोखरेल र रायमाझीका लागि मर्जर मर्का बन्यो । नेपाली बैंकिङ क्षेत्रका सम्भावित दुई बैंकर विदेशी बैंकमा गएर काम गर्न बाध्य भए । त्यो मर्जरले उनीहरूका लागि विदेशी बैंकमा काम गर्ने अवसर मिले पनि मर्जरकै कारण बैंक छोड्नु परेको पीडा भने स्वयम् पोखरेल र रायमाझीलाई थाहा छ । यसअघि पनि म्यानमारको युनाइटेड अमरा बैंक र एजीडी बैंकमा काम गरिसकेका पोखरेललाई धेरैले विदेशी बैंकिङ सम्बन्धि राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा चिन्छन् । अनुपमा खुञ्जेली नेपाली बैंकिङ क्षेत्रको पहिलो महिला सीईओको परिचय बनाएकी अनुपमा खुञ्जेलीलाई धेरैले ठूलो सम्भावना भएको ‘लेडी बैंकर’ को रूपमा हेरेका थिए । तर, उनले पनि बैंक मर्जरको पीडा भोग्नु पर्यो । मेगा बैंकको सीईओ भएर काम गरिरहेकी खुञ्जेलीले बैंकमा दोस्रो कार्यकालका रूपमा दोहोरिन खोजे पनि बैंक सञ्चालक समितिले उनको दोस्रो कार्यकाल नथप्ने निर्णय गरेपछि उनी बिचमै राजीनामा गरेर बैंकबाट बाहिरिन् । मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा थियो । त्यसैले पनि बैंक् सञ्चालक समितिले उनलाई दोहोर्याउन नखोजेको हो । करिब तीन दशक लामो समय बैंकिङ क्षेत्रमा बिताएकी खुञ्जेलीले तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेकी थिइन् । मनोज न्यौपाने तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका मनोज न्यौपाने अहिले प्रभु बैंकको वरिष्ठ डीसीईओ भएर काम गरिरहेका छन् । युवा पुस्ताका सफल बैंकरको परिचय बनाएका उनलाई पनि मर्जरकै कारण डीसीईओमा चित्त बुझाउनु पर्ने बाध्यता आयो । दुई दशक बैंकिङ अनुभव भएका न्यौपानेलाई धेरैले अब प्रभु बैंकको सीईओका रूपमा हेरेका छन् । प्रभु बैंकका सीईओ अशोक शेरचनको कार्यकाल सकिएपछि न्यौपाने नै सीईओ बन्ने लाइनमा देखिन्छन् । तत्कालीन लक्ष्मी बैंकबाट बैंकि करिअर सुरु गरेका न्यौपानेसँग हिमालयन र तत्कालीन सनराइज बैंकमा पनि काम गरेको अनुभव छ । उनले काठमाडौं विश्व विद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् । भुपेन्द्र पाण्डे तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकका सीईओ भुपेन्द्र पाण्डे सो बैंक नबिलमा गाभिएपछि उनी पनि नबिलको डीसीईओ बने । युवा पुस्ताका बैंकरमध्ये उनलाई पनि ठूलो सम्भावना भएको बैंकरका रूपमा चिनिन्छन् । एनबी बैंकमा जानुअघि उनी नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को डेपुटी सीईओ थिए । एनबी बैंकको सञ्चालक समितिले उनलाई सीईओ बनाउने योजनाका साथ नियुक्त गरेको थियो । र, सीईओ पनि बने । तर, सीईओ बनेको केही महिनामै बैंक नबिलसँग गाभियो र उनी पनि नबिल बैंकको डीसीईओ बने । विडम्वना, सीईओ बनिसकेका पाण्डे अहिले नबिल बैंकमा पाँचौं वरियतामा छन् । राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनी लामो समयसम्म सोही बैंकको विभिन्न पदमा रही काम गरे । निफ्रा खुलेपछि उनी त्यहाँ डीसीईओको रूपमा प्रवेश गरे । सञ्चालक समितिले निफ्राको नयाँ सीईओमा रामकृष्ण खतिवडालाई भित्र्याएपछि उनी असन्तुष्ट हुँदै एनबी बैंक पुगेका थिए । त्यहाँ पनि उनले लामो समय काम गर्न सकेनन् र अन्ततः नबिल बैंकको डीसीईओकै रूपमा काम गर्न बाध्य भए । अनलराज भट्टराई कमर्स एन्ड ट्रस्ट बैंक ग्लोबल आइएमई बैंकसँग मर्जर भएपछि सीईओका रूपमा काम गरिरहेका अनलराज भट्टराई पनि बैंकिङ क्षेत्रबाटै बिदा भए । त्यतिबेला उनले बैंक छाड्न नै खोजेको धारणा राखे पनि उनी पनि मर्जरको मर्कामा परे । धेरैले मर्जरकै कारण उनी बेरोजगार भएका टिप्पणी गरेका थिए ।
दुर्गा प्रसाईंजस्ता अराजकहरूलाई छुट दिन सकिँदैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्गा प्रसाईंजस्ता अराजक गतिविधि गर्नेहरूलाई सरकारले छुट नदिने बताएका छन् । अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मंगलबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले केही समूह ऋण मिनाह तथा ब्याज छुटको विषयमा अराजकता फैलाइरहेको बताउँदै त्यस्तालाई सरकारले छट नदिने धारणा राखेका हुन् । उनले कसैले पनि बैंकको सावाँ ब्याज तिर्दिन भन्न नमिल्ने बताएका छन् । उनले सहकारी, लघुवित्त क्षेत्रमा देखिएको संकट समाधानको उपाय खोज्नुपर्ने पनि बताएका छन् । उनले पछिल्लो समय अर्थतन्त्रका केही सूचक सकारात्मक भएपनि अर्थतन्त्र अझै दबाबमुक्त नभएको धारणा राखे ।
अर्थतन्त्र सुधार गर्ने प्रधानमन्त्री प्रचण्डको सक्रियताले पनि छोएन सेयर बजार
काठमाडौं । सरकारले अर्थतन्त्र सुधारसम्बन्धी गतिविधि अघि बढाए पनि सेयर बजारमा भने त्यसको रौनकता छाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सुस्ताएको अर्थतन्त्रलाई ‘यूटर्न’ गर्न रणनीतिक कदम चाल्ने तयारीमा भएपनि त्यसको असर पुँजी बजारमा परेको देखिँदैन । पछिल्लो केही दिनयता प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसहित विज्ञहरूसँग छलफल जारी राखेका छन् । तर, त्यसको प्रभाव भने पुँजी बजारमा पर्न सकेको छैन । साथै, नेपाल स्टक एक्सेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका भए पनि लगानीकर्ताहरूमा त्यसको सकरात्मक प्रभाव पर्न नसकेको सेयर जानकारहरू बताउँछन् । दशैंपछि खुलेको सेयर बजार सामान्य अंक बढ्दा उकालो लाग्ने अनुमान गरिएको थियो । तर, दोस्रो दिन नै दोहोरो अंकले घट्दा भने अझै कति ओरालो लाग्ने हो भन्ने चिन्ता लगानीकर्ताहरूमा बढेको छ । आज नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ अंकमा बन्द भएको हो । मंगलबार दिनभरि २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर ३७ हजार पटक खरिद बिक्री हुँदा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको तुलनामा सेयर कारोबार रकम पनि घटेको हो । हिजो १ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज म्युचुअल फण्ड समूह ०.४२ प्रतिशत बढ्दा अन्य सबै समूह राताम्य भएका छन् । आज सबैभन्दा धेरै म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ३.१२ प्रतिशत र लघुवित्त समूह २.८९ प्रतिशत घटेको छ । मंगलबार ३१ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ८.१३ प्रतिशत बढेको हो । यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशत अर्थात् २५.८० रुपैयाँ घटेको छ । आज हिमालयन डिस्ट्रिलरिको सेयर कारोबार धेरै भएको छ । कम्पनीको ७ करोड ७८ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको ४ करोड ३९ लाख रुपैयाँ, शिवम् सिमेन्टको ३ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।